Category: समाचार

  • सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    १९ वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

    सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरेका छन् । यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।

    सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

  • भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

    भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

    गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् । परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’

  • भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

    भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो, उद्योगलाई सहज

    १८ वैशाख, काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । भारतको इण्डियन एक्सचेञ्ज मार्केट ९आइएक्स०मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।

    भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।

    औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ । प्राधिकरणले मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमासमेत आयतको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकमा देखिएको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिएको छ ।

  • छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

    छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

    १८ वैशाख, गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ । यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ । चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ ।

    छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । “स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमिरहेको छ”, उनले भने, “यो वर्ष हिउँ ढिला प¥यो, लेक गएका पनि हिउँ पन्छ्याउँदै होलान् ।” वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन् । स्थानीय बासिन्दाले करिब दुई–अढाइ महिनालाई पुग्ने गरी याक–चौंरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन् ।

    यार्साको मोसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् । “लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चा पनि लेकमै लान्छन्, याक, चौंरी पनि लेकमै लान्छन्”, लामा पासाङ भन्नुहुन्छ, “कसै–कसैका घरमा हिँड्न नसक्ने बुढाबुढी छन् भने रोङ्बा (तल्लो भेगका मान्छे)लाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन् ।”

    यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो । उनीहरुले यार्सागुम्बा बेचेर रु दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन् । “अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र पाइन्छ”, छिरिङ फुञ्जो भन्छन्, “अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला ।” यार्सागुम्बा सङ्कलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र पालिकाका लागि रु ५०० तिर्नुपर्ने व्यवस्था छ ।

  • छ महिनामा दुई हजार बढी पर्यटक पुगे शुक्लाफाँटा

    छ महिनामा दुई हजार बढी पर्यटक पुगे शुक्लाफाँटा

    १८ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।
    सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

    कात्तिकमा ३१६, मङसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए । आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।

    दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् । निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन् ।

  • मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

    मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी

    १८ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम महिला राष्ट्रपति भण्डारीले भनिन्, “मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।”

    सरकार सञ्चालनमा रहेका पार्टी अल दल केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिको आकाङ्क्षा र महत्वाकाङ्क्षाभन्दा हाम्रो राष्ट्रिय आकाङ्क्षा के हो भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने बताइन् । उनले भनिन्, “दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने÷नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।”

    सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् । उनले भनिन्, “राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ । पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ ।”

    मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उनले भनिन्, “यो व्यक्ति विशेषका मनको कुरामात्रै हा । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त रु जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नी ।” उहाँले देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचो औँल्याइन् ।

  • फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

    फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

    १८ वैशहाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे ।


    “फालिएको राजतन्त्र पक्षधरको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो । उनीहरुको प्रशंसा नगर्ने कलाकारको चलचित्र नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ”, प्रधानमन्त्री ओलीले भने “यसमा श्रमजीवी वर्ग विगतमा झैँ सचेत हुनुपर्छ ।”

    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेको उल्लेख गर्दै उनले रगत पसिना बगाएर लोकतान्त्रिक प्रणाली ल्याएकाले यसको रक्षा गर्ने बताए । “हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डा राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ”, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, नेपाल उद्योग वणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

  • राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

    राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

    १८ वैशाख, म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।
    तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।

    आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ । आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    १८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । केही स्थानमा आंशिक बदली हुनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
    –––

  • श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

    श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

    १८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ भनेका छन् । श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेखेका छन्, “ आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।
    श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू ग¥यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुप¥यो ।

    तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ । छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ । श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ । जय श्रमिक, जय देश

  • उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

    उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

    १८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

    उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् ।


    नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताए ।


    “मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ”, सन्देशमा उनले भनेका छन् ।


    राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

    श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

  • आज श्रमिक दिवस, सार्वजनिक बिदा

    आज श्रमिक दिवस, सार्वजनिक बिदा

    १८ वैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

    सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो ।

    पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस। २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो ।

    विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ । यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ ।

  • रुसी आक्रमणबाट युक्रेनको कुस्र्कमा २८८ सर्वसाधारण मारिए

    रुसी आक्रमणबाट युक्रेनको कुस्र्कमा २८८ सर्वसाधारण मारिए

    १७ वैशाख, काठमाडौं । रुसले बुधबार युक्रेनले कुस्र्क क्षेत्रमा गरेको महिनौँ लामो आक्रमणका क्रममा २८८ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
    युक्रेनविरुद्ध मस्कोले गरेको पूर्ण आक्रमणको प्रतिशोधस्वरूप किएभले सन् २०२४ को अगष्टमा आफ्ना सैनिकहरू सीमापार पठाएको थियो । क्रेमलिनले हालैका दिनहरूमा उत्तर कोरियाली सेनाको सहयोगमा पश्चिमी सीमा क्षेत्रबाट युक्रेनी सेनालाई हटाएको बताएको छ भने किएभले कुस्र्कमा अझै लडिरहेको बताएको छ ।

    “रूसको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अगस्ट यता ७९१ जनाको स्वास्थ्यमा क्षति पुगेको छ, जसमध्ये २८८ जनाको मृत्यु भएको छ,” कुस्र्क क्षेत्रका गभर्नर अलेक्जेन्डर खिन्स्टीनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् । उनले अधिकारीहरूले सीमा क्षेत्रबाट मारिएका नागरिकहरूको सबै शवहरू अझै सङ्कलन भइरहेको बताए ।

    खिन्स्टाइनले ती सर्वसाधारणको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत विवरण भने खुलाएनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क क्षेत्रमा बन्दी बनाइएका कुनै पनि युक्रेनी सेनालाई दण्डित गर्ने र उनीहरूलाई ‘आतङ्ककारी’ को रूपमा व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध आक्रमण सुरु गरेको थियो ।

  • गुहेश्वरीमा एक महिला मृत फेला

    गुहेश्वरीमा एक महिला मृत फेला

    १७ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनले भने, “गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।”

  • सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

    सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

    काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। अब यो सहमतिलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्ने भएको छ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । सहमति अनुसार अब काठमाडौं केन्द्रित सडक आन्दोलन फिर्ता हुने भएको छ । सहमति अनुसार अब शिक्षकको उपचारमा सहुलियत हुने भएको छ । आजैबाट भर्ना र परीक्षाका काम सुचारु हुने भएका छन् । तोकिएको समयमा माग सम्बोधन नभए अझ कडा आन्दोलन हुने शिक्षक महासंघले जनाएको छ ।

  • आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

    आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

    १७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१\८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।

    यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०\८१ को अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब बराबर रहेको कार्यालयले जनाएको छ ।
    त्यसैगरी, चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ ।

    गत आर्थिक वर्ष नेपालले तीन दशमलव ९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान तीन दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको चार दशमलव २८ प्रतिशत रहने तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०\८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र तीन दशमलव २५, द्वितीय क्षेत्रको चार दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

    निरन्तर दुई आर्थिक वर्षमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा दुई दशमलव ०२ प्रतिशत र निर्माण क्षेत्रमा दुई दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यसवर्ष उद्योग क्षेत्र तीन दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्र दुई दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।


    त्यस्तै, चालु आर्थिक वर्ष २०८१\८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय १७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ६७ अमेरिकी डलर रहने संशोधित अनुमान रहेको छ । प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरुमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताए ।

  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

    १७ वैशाख, काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न कारागार कार्यालयय डिल्लीबजारलाई पत्र पठाएको थियो । उनले भने, “नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहाइ गरिएको छ । अनधिकृत पत्र लेख्ने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ ।” जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको आज गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो ।

  • सर्वोच्चको फेक पत्रले रेशम चौधरी पक्राउ प्रकरण : राजनीतिमा हङ्गामा

    सर्वोच्चको फेक पत्रले रेशम चौधरी पक्राउ प्रकरण : राजनीतिमा हङ्गामा

    १७ वैशाख, काठमाडौं । एक कर्मचारीले लेखेको फेक पत्रका आधारमा रेशम चौधरी पक्राउ परेसङ्गै बुधबार राजनीतिमा हलचल मच्चिएको छ । प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई काठमाडौंमा एक कार्यक्रम स्थलबाटै पक्राउ गरेको थियो । तर, उनलाई पक्राउ गर्ने सम्बन्धि पत्र नै फेक भएको खुलेको छ । सर्वोच्च अदालतले अर्को सूचना जारी गर्दै सो पत्र आधिकारिक नभएको स्पष्ट पारेको छ । साथै चौधरीलाई छाड्न समेत सर्वोच्चले पत्र लेखेको छ । यससङ्गै चौधरी आजै रिहा समेत भएका छन् । फेक पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमान विष्ट पक्राउ परेका छन् ।

  • क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?

    क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?

    १७ वैशाख, काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको हो । सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् । तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट छैन । कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल भए । तर उनको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।

    पहिले कहिल्यै निर्वाचित पदमा नरहेका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए । ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।

    साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गरे । र भने, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।” कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गरेका छन् । “डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहन्छन्, ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उनले चुनावी अभियानमा भने, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”

    जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए । “म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उनकै स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भने, “ट्रम्प एक व्यापारी व्यक्ति हुन्, कार्नी एक व्यापारी व्यक्ति, मलाई लाग्छ उनीहरु दुवै सम्बन्धित हुन सक्छन् ।’ ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए । प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेका थिए ।

  • शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने

    शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने

    १७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मध्यराती भएको शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्री रघुजी पन्तले भने शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताए । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमा सञ्चारकर्मीसँग बताएका हुन् । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।


    महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थिए । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको थियो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ । आज मन्त्रिपरिषद् बैठकले कतिपय माग सम्बोधन गर्ने र त्यसका आधारमा महासंघले आन्दोलनको स्वरुप फेर्ने तयारी समेत गरेको छ ।

  • आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

    आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

    १७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

    कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

    डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

    १७ वैशाख, दिपायल । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

  • उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

    उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

    १७ वैशाख, काठमाडौं । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो । “अप्रिल २९ को दिउँसो १२ः२५ मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।”

    राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ । उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।


    अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ । चीनको टिकटकको संस्करण डुयिनमा प्रकाशित अन्य प्रमाणित भिडियोहरूमा प्यारामेडिकहरूले एक पीडितलाई स्ट्रेचरमा एम्बुलेन्समा चढाइरहेको र धेरै अग्नि नियन्त्रकहरू पाइपहरूको सहायताले आगो निभाउँदै गरेको देखाइएको छ । घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन् ।

    यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो । जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

  • सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

    सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

    १७ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार गत वर्ष आप्रवासन मार्गमा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको योपछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु थियो । आईओएमकी प्रमुख एमी पोपले एक विज्ञप्ति जारी गर्दै असुरक्षा, अवसरको अभाव र अन्य दबाबका कारण र घरमा सुरक्षित वा व्यवहारिक विकल्प नहुँदा मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेको दुःखद स्मरण गराएको बताएकी छिन् ।
    सन् २०१४ यता विश्वव्यापी रूपमा भएका सबै आप्रवासी मृत्यु र बेपत्तामध्ये करिब तीन चौथाइ मानिस असुरक्षा, द्वन्द्व, विपद् र अन्य मानवीय सङ्कटबाट भागेर आएको उहाँको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ । आईओएमको वेपत्ता आप्रवासीको रिपोर्टमा भनिएको छ, “मानवीय सङ्कटबाट हजारौं अफगानी, रोहिङ्ग्या र सिरियाली नागरिकको मृत्यु भएको छ र प्रभावित मुलुकका चार जनामध्ये एक जना ती मुलुकका नागरिक रहेका छन् ।

    संयुक्त राष्ट्रसङ्घको सङ्कट प्रतिकार्य योजना वा मानवीय प्रतिकार्य योजना रहेको विश्वका ४० देशमध्ये एकबाट भाग्ने क्रममा ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । दिवङ्गत पोपले अन्तर्राष्ट्रिय लगानीका लागि समुदायभित्र स्थायित्व र अवसर सिर्जना गर्न आग्रह गर्दै आप्रवासन आवश्यकता नभई विकल्प भएको बताएका थिए । उनले भनेका थिए, “जब कुनै देशमा बस्नसम्भव छैन, हामीले सुरक्षित, कानुनी र व्यवस्थित मार्गहरू खोज्न सँगै काम गर्नुपर्छ जसले जीवनको रक्षा गर्दछ।”

    मध्य भूमध्यसागरीय क्षेत्र विश्वकै सबैभन्दा घातक आप्रवासन मार्गका रुपमा रहेको र पछिल्लो एक दशकमा करिब २५ हजार मानिसले समुद्रमा ज्यान गुमाएको आईओएमले जनाएको छ । तीमध्ये १२ हजारभन्दा बढी युद्धग्रस्त लिबियाबाट प्रस्थान गरेपछि समुद्रमा हराएका थिए भने अन्य अनगिन्ती सहारा मरुभूमिमा ट्रान्जिट गर्ने क्रममा बेपत्ता भएका थिए। सन् २०२१ मा तालिबानले पुनः सत्ता सम्हालेयता विगत एक दशकमा सङ्कटग्रस्त अफगानिस्तानबाट बाहिरिने क्रममा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    यस अवधिमा म्यान्मामा उत्पीडनमा परेका रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायका तीन हजार १०० भन्दा बढी सदस्यको मृत्यु भएको थियो । आईओएमको मिसिङ माइग्रेन्ट प्रोजेक्टकी संयोजक तथा प्रतिवेदनकी लेखिका जुलिया ब्ल्याकले भनिन्, “प्रायजसो आप्रवासीहरू दरारबाट गुज्रन्छन्।” उनले भनेकी छिन्, “विशेषगरी युद्ध क्षेत्र र विपद् क्षेत्रमा तथ्याङ्कको अभावका कारण वास्तविक मृत्यु हुनेको सङ्ख्या हामीले रेकर्ड गरेको भन्दा धेरै हुन सक्छ ।”

  • पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

    पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

    १६ वैशाख, इश्लामावाद । पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदीलाई रिहा गरिएको छ । उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो । ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ ।

    अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन् । अफगानिस्तानको अन्तरिम सरकारले शरणार्थीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    १६ वैशाख, महेन्द्रनगर । महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंहको आज डुबेर मृत्यु भएको हो ।

    आयुषकुमार आफ्नो आफन्तको घरमा आएका थिए । प्रहरीका अनुसार, पोखरीमा डुबेर अशक्त भएका उनीहरूको उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो तर उपचारका क्रममा दुवैको ज्यान गएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

  • कांग्रेस महामन्त्री गगन थापासँग किन माग्यो सर्वोच्च अदालतले लिखित जवाफ ?

    कांग्रेस महामन्त्री गगन थापासँग किन माग्यो सर्वोच्च अदालतले लिखित जवाफ ?

    १६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज लिखित जवाफ माग्ने आदेश गरेको हो ।

    आदेशमा भनिएको छ, “संविधानको धारा १०५ ले आत्मसात गरेको सन्दर्भमा अदालतमा विचाराधीन मुद्दामा निस्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नुनगराउनु ।” कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको उल्लेख गर्दै कांग्रेस महामन्त्री थापाविरूद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

  • भन्सार विधेयक बहुमतले पारित

    भन्सार विधेयक बहुमतले पारित

    १६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताए । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो ।

    सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताए । पर्याप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उनले जोड दिए । सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विधेयक सहयोगी हुने बताए । विधेयकका माध्यमबाट आयात–निर्यात सहज हुने उनले बताए । सांसद शिव नेपालीले भन्सार प्रशासनमा प्रविधिको प्रयोगलाई विधेयकले बढावा दिने विश्वास व्यक्त गरे ।

    सांसद गणेश पराजुलीले भन्सार क्षेत्रमा देखिएका समस्या समाधानका लागि नयाँ कानूनी व्यवस्था आवश्यक रहेको र नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील देशमा रुपान्तरण हुँदा व्यहोर्ने कर तथा गैरकर अवरोधबारे बुझ्न सहज हुने बताए । विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, माधव सापकोटा, रणेन्द्र बराली, किरण कुमार साहलगायत प्रतिनिधिसभा सदस्यले आफ्ना धारणा प्रस्तुत गरेका थिए । विधेयकका सम्बन्धमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थ समितिमा पर्याप्त छलफल भएर परिष्कृत रुपमा संशोधनसहित विधेयक आएको बताए ।

    “भन्सार बिन्दुहरुमा बेथिति नहोस् । व्यवसायीहरु पनि अनावश्यक रूपमा पीडित नहुन् भन्नेलगायत सुझाव आएका छन् । यी सुझाव सकारात्मक छन् । यो विधेयक पारित हुँदा भन्सार व्यवस्थापनमा गुणात्मक सुधार आउने छ । भन्सार प्रशासनमा सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पुग्नेछ,” उनले भने । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक भएकाले सरकारले यो विधेयक सदनमा पेस गरेको हो ।

  • काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे

    काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे

    १६ वैशाख, काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो । ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसके÷एभरेष्ट जेभीबीच ठेक्का सम्झौता गरेको थियो । आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले यही वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो ।

    उक्त सडकखण्ड बागमती प्रदेश सरकारको रु नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो । कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्काअन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताए । यसैबीच सोही क्षेत्रअन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे सडकअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ ।


    बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ । यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ । अर्को डिजाइन नहुँदासम्म यो क्षेत्रमा हाल काम नहुने आयोजनाका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार विस्तारित सडकखण्डमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    एसियाली विकास बैङ्क ९एडिबी०को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले रु १२ करोड ९भ्याटबाहेक०मा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ । हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।