१४ वैशाख, काठमाडौं । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो ।
सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो । सरकार शिक्षकको आन्दोलनप्रंति गम्भीर नभएको भन्दै आलोचना भइरहेको छ ।
१४ वैशाख, काठमाडौं । ईरानको दक्षिणी भागमा रहेको शाहिद राजीमा बन्दरगाहमा शनिबार भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा चार जनाको ज्यान गएको र पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको ईरानी सञ्चार माध्यमहरूले जनाएका छन् । विस्फोटको कारण यकिन भइनसकेको भए पनि बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट यो घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थलमा उद्धार तथा आगो नियन्त्रण कार्य जारी छ । राष्ट्रपति मसउद पेसेश्कियानले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् । सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको र घाइतेहरूलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा उपचारको लागि स्थानान्तरण गरिएको छ ।
१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको समेत उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
१४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन् । पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताउनुभयो । “फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो÷भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो”, उनले भने, “साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ ।” पछिल्लो समय यहाँ फोटो र भिडियो बनाउनेकोे भीड लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन् ।
पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन् । “यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्”, उनले भने, “पछिल्लो समय दोधारा चाँदनी झोलुङ्गे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन् ।” उनले यहाँ विभिन्न म्युजिक भिडियोसमेत छायाङ्कनका हुने गरेको बताए ।
पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ । साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन् ।
पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए ।
“पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन् ।” उनले भने, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।” उनले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई–तीन सय जना पुग्ने गरेका बताए । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन् । अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ ।
१४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।
मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
१३ वैशाख, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो ।
खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे । त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।
ललितपुरले लिग चरणको सुरूआतमा काठमाडौंँसँग २–२ को बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि ३–२ को जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि २–१, बुटवलविरुद्ध २–० को जित र झापासँग १–१ को बराबरी खेल्दै प्रतियोगितामा अपराजित रह्यो । यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो । पोखराले लिग चरणको सुरुआत चितवनसँग २–० को हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग ३–२ ले पराजित भयो ।
काठमाडौँमाथि २–० को जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग १–१ गोलको बराबरी खेलेपछि बुटवलमाथि २–० को जित निकालेको थियो । २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुग्ने चौँथो टोली बनेको थियो । इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो । दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
१३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् । सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोरÞ्याउने प्रयास गरेका थिए ।
सेन्ट पिटर्स बेसिलिकामा तीन दिनसम्म राखिएको उनको शवदाहगृहमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए । लस एन्जलसबाट शनिबारको प्रार्थनासभामा भाग लिन आएकी ३९ वर्षीया एन्ड्रिया उगाल्डेले भनिन्, “उहाँ पोप मात्र हुनुहुन्न, उहाँ मानव हुनुको परिभाषा हो ।”
स्थानीय समयअनुसार बिहान १० :०० बजे सुरु उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी भएको अपेक्षा छ । करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् । उक्त क्षेत्रलाई नो फ्लाई जोन राखिएको छ, लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ भने सुरक्षाकर्मीहरूलाई भ्याटिकन सिटीका भवनहरूका छतछतमा तैनाथ गरिएको छ ।
In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine’s President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)
सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा दिएपछि पदभार ग्रहण गरेका फ्रान्सिसको मृत्यु भएको भ्याटिकनको आधिकारिक शोकको नौ दिनमध्ये पहिलो दिन उनको अन्त्येष्टि गरिनेछ । शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।
फ्रान्सिसका धेरै सुधारहरूले परम्परावादी क्रिश्चियन नेतृत्वलाई चिढाएको भएपनि उनको क्रिश्चियन इतर पक्षधरबाट पनि प्रशैसा हुने गरेको छ । आप्रवासीहरूमाथिको न्यायिक व्यवहारदेखि विश्व तापमान वृद्धिका बिषयमा उनले दिएका प्रतिक्रिया कतिपय राजनीतिक नेतृत्वका लागि आलोचनाको बिषय बनेका थिए । तैपनि ब्यूनस आयर्सका पूर्व आर्कबिशपको करुणा र करिश्माले उनलाई विश्वव्यापी स्नेह र सम्मान दिलाएको छ ।
ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गरेकोमा पोपले आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्प आफ्नी पत्नी मेलानियासँग ‘विश्वलाई माया गर्ने’ ‘एक असल व्यक्ति’ लाई श्रद्धाञ्जली दिन शुक्रबार अबेर रोम हुँदै भ्याटिकन सिटी पुगेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा ट्रम्पले अन्य मुलुकका दर्जनौं नेतासँग भेट्ने सम्भावना छ । ट्रम्पले आफूले सुरु गरेको कर वृद्धिका विषयमा वार्ता गर्न इच्छुक छन् ।
जेलेन्स्कीले फेब्रुअरीमा ह्वाइट हाउसमा भएको प्रदर्शनपछि पहिलो पटक बैठक हुने आशा व्यक्त गरेका छन् । अन्त्येष्टिमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु ,अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, फ्रान्सका इमानुएल म्याक्रोँ र लेबनानका जोसेफ औन पनि सहभागी छन् । समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।
फ्रान्सिसले गाजामा इजरायली कदमको विरोध गरेका कारण आक्रोशित इजरायलले आफ्ना राजदूतलाई मात्र पठाउने भएको छ । पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो ।
A missionary man from Belize records a video after the funeral of Pope Francis in St. Peter’s Square at the Vatican, Saturday, April 26, 2025. (AP Photo/Andreea Alexandru)
उनको अन्तिम सार्वजनिक कार्य, उनको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उनले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गरेका थिए । जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोजेका उनले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहेका थिए । उनमा महङ्गो लुगा र पोप महलको लालसा थिएन । चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्थे । आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहन्थे । उहाँ एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी बनेका छन् ।
उनको अन्तिम बिदाइ समारोहमा २२४ जना कार्डिनल, ७५० जना बिशप र पादरीका साथै विश्वका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् । विश्वभरिका क्याथोलिकहरूले ब्यूनस आयर्सलगायत अन्य स्थानहरूमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। नम्र पोपले आफ्नो मृत शरीरलाई एउटा साधारण संगमरमरको चिहानमा काठको एउटा कफिनभित्र राख्न आग्रह गरेका थिए । अन्त्येष्टिपछि कफिनलाई रोमको प्राचीन मन्दिर रहेको फोरी इम्पेरियली र कोलोसियम हुँदै सान्टा मारिया म्यागियोर बेसिलिकामा लगिनेछ ।
भ्याटिकनले भनेको छ, “‘गरिब र सामान्य जनजीवनका बाँच्ने आवश्यकताका लागि सङ्घर्षशील’ मानिसहरूको एक समूहले शववाहन चिहानमा आइपुग्दा स्वागत गर्नेछ । फ्रान्सिसका प्रशंसकहरूले उनलाई चर्चको धारणा परिवर्तन गर्न र दशकौंको लिपिकीय यौन दुव्र्यवहार काण्डपछि विश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्याएको श्रेय दिन्छन्।
सम्बन्धविच्छेद भएका विश्वासीहरूलाई सान्त्वना प्राप्त गर्न अनुमति दिने, तेस्रोलिङ्गी विश्वासीहरूको बप्तिस्मालाई अनुमोदन गर्ने र समलिङ्गी दम्पतीहरूका लागि आशिष दिने र समलिङ्गी क्याथोलिकहरूको न्याय गर्न इन्कार गर्ने कतिपयले उहाँलाई कट्टरपन्थी ठानेका थिए। उनले चर्चले गर्भपतनको विरोध गरेकोमा अडिग रहेका थिए ।
फ्रान्सिसको १२ वर्षे पोपको पहिलो यात्रा इटालियन टापु लाम्पेडुसामा भएको थियो जुन प्रायः भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि कलको पहिलो बन्दरगाह हो । उनले ग्रीसको लेस्बोस टापुको भ्रमण गरेका थिए । अलपत्र शरणार्थीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन पहल गरेका थिए । तीमध्ये केही शरणार्थीहरू उनको अन्त्येष्टिमा उपस्थित हुने बताइएको छ । राससबाट
१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् । भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् । मन्त्री डा राणाले भनिन्, “नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।”
आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरिन् । यसैले काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन् । नले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन् ।
नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन् । “हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुसी या सङ्कटको समयमा एकसाथ उभिएका छौँ ।
भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो”, उनले भनिन् । मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् । त्यस अवसरमा उनले उक्त आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरिन् ।
१३ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ । बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ । मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढङ्गले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्याउन एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो । मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।”
१३ वैशाख, मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।
पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् । भारतको विहार राज्यबाट इलामको कन्याम घुम्न आउनुभएका कम्लेश शर्मा भन्छन्, “नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ सुनेकोभन्दा पनि धेरै राम्रो लाग्यो, साथीहरूसँग नेपाल घुम्न आएको दुई दिन भयो एक साता बसेर मात्र फर्कने योजना बनाएका छौँ ।”
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो । “हामी होटल व्यवसायी एकदमै खुसी छौँ, आशा छ पर्यटन वर्ष २०८२ ले कोरोना माहामारीपछि थलिएको होटल व्यवसाय अव चलायमान हुनेछ”, होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले भने ।
यहाँ विशेषगरी भारतीय पर्यटक आउनेगरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकामा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाउको अध्यक्ष लिम्बू बताउँछन् । कोशी प्रदेश सरकारले सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गरेका थिए । पर्यटकलाई सहज होस् भनेर यो अभियान सुरू गरेको प्रदेश सरकारले जनाएको छ । दैनिक १०० को हाराहारीमा भारतीय पर्यटकको सवारी भेडेटार आइरहेको बताउँदै अध्यक्ष लिम्बूले भेडेटार र आसपासमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने व्यवस्थित होटल तथा होमस्टे रहेको उनको भनाइ छ ।
गत सालभन्दा यो साल सुरुआती दिनमै आन्तरिक पर्यटकको चहलपल बढेको अनुमान गर्न सकिने धनकुटा साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले बताए । अरू दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने यस ठाउँमा अरू दिनमा पनि पर्यटकको चाप बढ्न थालेको उनको भनाइ छ ।
नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ वटा घर आबद्ध रहेको र ती घरमा ९० देखि १०० जनासम्म राख्न सकिने उनको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटन गर्नेको सङ्ख्या बढेको बताउँदै घुम्नका लागि गाडी भाडामा जाने गरेको यातायात व्यवसायी मोरङ बेलबारी–९ का नगेन्द्र भट्टराईले बताए। कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन वर्ष २०८२ सञ्चालन गरिरहँदा प्रदेशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र यो कार्यक्रम सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउँछन् ।
चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका थिए । पर्यटन वर्षमा विशेषगरी धार्मीक, प्राकृतिक, सांस्कृतिक पर्यटक कोशी घुम्न आउने कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन् । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक यहाँ आउने गरेका छन् । पर्यटन वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
१३ वैशाख, लुम्बिनी । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ । महोत्सवअन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ ।
नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
१३ वैशाख, काठमाडौं । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे दुर्घटना भएको हो । प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताए । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।
राजधानीबाट एक सय ३० किलोमिटर ९८० माइल० दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ । प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
१३ वैशाख, झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । “म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।”
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।
१३ वैशाख, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ । ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो जसका कारण उनले कार्यकालको आधा समयमा राजीनामा दिन बाध्य हुनुपरेको थियो । नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै प्रहरी स्रोतले दिएको जानकारी अनुसार ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरिएको हो ।
अदालतमार्फत् पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई बिहीबार अदालतले अस्वीकार गरेको थियो । अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्। कोलर डी मेलो ब्राजिलको कानुनको उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन् ।
सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार जना राष्ट्रपतिलाई दोषी ठहराइएको, जेल चलान गरिएको वा महाभियोग लगाइएको थियो । सन् २०२२ को चुनावमा पराजित भएपछि अति दक्षिणपन्थी पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई ‘कू’ को षडयन्त्र गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिइएको छ ।
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।”
वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भने, “हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।” इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उनलाईटाइमले सोधेको प्रश्नमा उनले भने, “यो सही होइन ।”
उनले भने, “मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ कि हामी आक्रमण बिना सम्झौता गर्न सक्छौँ त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन कोशिस गरेको हो ।” “म त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु,”उनले भने । नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा आफू चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भने, “उनी युद्धमा जान सक्छन् । तर हामी तानिएका छैनौं। यदि हामीले सम्झौता गर्न सकेनौं भने म युद्धमा जान सक्छु।सम्झौता भएन भने म इरानविरूद्धको लडाइको नेतृत्व गर्नेछु,” ट्रम्पले टाइमसँग भने ।
ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग भएको आणविक सम्झौता तोडेका थिए । मध्यपूर्वको एक मात्र आणविक शक्ति सम्पन्न राष्ट्र मानिने इरानविरूद्ध इजरायल र पश्चिमा शक्तिले लामो समयदेखि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी वा राष्ट्रपति मसूद पेजेशकियानसँग भेट गर्न चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “अवश्य भेट्नेछु ।”
१३ वैशाख, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ ।
दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा पुगेपनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाई हुँदा काममा ढिलाई भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
चार लेनतर्फ ३३ दशमलब ५६ र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । उनले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।” पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
१२ वैशाख, गोरखा । गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो प्रदर्शनीको उद्घाटन गरे ।
भूकम्पका बेला खिचिएका बारपाकका ६० वटा फोटो प्रदर्शनीमा राखिएको पत्रकार तिमिल्सिनाले जानकारी दिए । पूर्वप्रधानमन्त्री दाहालसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टलगायत स्थानीयबासीले प्रदर्शनी अवलोकन गरे । भूकम्पका कारण केन्द्रबिन्दु बारपाक गाउँमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।
१३ वैशाख, काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ ।
“हामी दुवै सरकारलाई, अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपील गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूलाई भने, “पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।”
भारतीय प्रहरीले तीन फरार बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पहलगाम लोकप्रिय पर्यटकीय स्थलमा २६ नागरिकको हत्या गर्ने बन्दुकधारीहरूलाई पक्रने प्रतिज्ञा गरेका छन् । “म सारा विश्वलाई भन्छु ः भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ”, उनले भने ।
कुनै पनि संलग्नतालाई अस्वीकार गर्दै इस्लामाबादले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भनेको छ र कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ । “पाकिस्तानको सार्वभौमसत्ता र यसका जनताको सुरक्षामा कुनै पनि खतरालाई सबै क्षेत्रमा दृढ पारस्परिक उपायहरूद्वारा सामना गरिनेछ”, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शीर्ष सैन्य प्रमुखहरूसँग दुर्लभ राष्ट्रिय सुरक्षा समितिको बैठक गरेपछि पाकिस्तानी विज्ञप्तिमा भनिएको छ ।
Members of Kashmiri refugee organization “Pasban-e-Hurriya” chant slogans behind a burning banner with pictures of Indian Prime Minister Narendra Modi with others during a demonstration to denounce the suspension of the water sharing treaty by India, in Muzaffarabad, the capital of Pakistan-administered Kashmir, Friday, April 25, 2025. (AP Photo/M.D. Mughal)
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्दै आएका छन् । विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कश्मीरमा विद्रोह गर्दै आएका छन् । भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन् । भारतीय प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तान–आधारित लश्कर–ए–तैयबा समूहका सदस्य हुन् । लश्कर–ए–तैयबा संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन सङ्गठन हो ।
उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्ने सूचनाका लागि २० लाख रुपैयाँ (२३ हजार पाँच सय डलर) इनामको घोषणा गरेका छन् । आक्रमणको एक दिनपछि नयाँदिल्लीले पानी साझेदारी सन्धि निलम्बन गर्यो, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गर्यो, कूटनीतिक सम्बन्धहरू कम गर्यो र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लियो ।
जवाफमा इस्लामाबादले बिहीबार भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गर्न र आफ्नो छेउबाट मुख्य सीमा क्रसिङ बन्द गर्न आदेश दिएको छ । सिन्धु नदीबाट पानीको आपूर्ति रोक्ने भारतको कुनै पनि प्रयास ‘युद्धको कार्य’ हुने चेतावनी पनि पाकिस्तानले दिएको छ ।
पहलगाम हालैका काश्मीरी विद्रोही आक्रमणहरूमा नाटकीय परिवर्तन हो जसले सामान्यतया भारतीय सुरक्षा बलहरूलाई लक्षित गर्दछ । विशेषज्ञहरूका अनुसार सैन्य प्रतिक्रिया अझै आउन बाँकी हुन सक्छ । केहीले यो केही दिनभित्र आउन सक्छ भन्ने अनुमान गरेका छन् भने अरूले हप्ताहरू लाग्ने बताएका छन् । सन् २०१९ मा काश्मीरमा भएको आत्मघाती आक्रमणमा ४१ जना भारतीय सैनिक मारिएपछि भारतीय वायुसेनाले पाकिस्तानभित्र आक्रमण गर्यो । यसले दुई मुलुकलाई पूर्ण युद्धको सँघारमा पुर्याएको थियो ।
“यी आतङ्कवादीहरूको जति पनि थोरै भूमि छ त्यसलाई धुलोपिठो बनाउने समय आएको छ”, मोदीले बिहीबार मृतकहरूको सम्झनामा दुई मिनेट मौन धारण गरेपछि भने, पहलगाम आक्रमणमा मारिनेमा एक नेपालीबाहेक सबै भारतीय थिए । भारतले विगतका आक्रमणहरूको जवाफ दिन समय लिएको छ । हालका वर्षहरूमा भएको सबैभन्दा खराब आक्रमण सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको थियो । उक्त आक्रमणमा विद्रोहीहरूले विस्फोटकले भरिएको कार उडाएर प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु र कम्तीमा ३५ अन्य घाइते भएका थिए ।
भारतीय लडाकू विमानहरूले १२ दिनपछि पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेका थिए । मङ्गलबारको आक्रमण पर्यटकहरू पहलगामको लोकप्रिय स्थलमा शान्त पहाडी दृश्य मनाइरहेका बेला बन्दुकधारीहरू जङ्गलबाट निस्केर आएर स्वचालित हतियारहरूले भीडमाथि गोली बर्साएका थिए । बाँचेकाहरूले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेका थिए र इस्लामिक विश्वास घोषणा दिन सक्नेहरूलाई छोडिदिएका थिए ।
भारतीय सुरक्षा बलले ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिएर आक्रमणकारीहरूका लागि व्यापक खोजी सुरु गरेको छ । यस आक्रमणले हिन्दू राष्ट्रवादी समूहहरूलाई क्रोधित बनाएको छ, र भारतभरका संस्थाहरूमा काश्मीरका विद्यार्थीहरूले उत्पीडन र धम्की अनुभव गरेको रिपोर्ट गरेका छन् ।
काठमाडौं । नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । जसले २०३५ सालको पर्यटन ऐन विस्थापित गर्ने छ । सरकारले ७ हजार मिटरभन्दा अग्लो नेपालको कुनै पनि हिमाल आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमतिपत्र जारी गर्ने उक्त विधेयकमा उल्लेख छ ।
यसका साथै स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य गर्दै विधेयकमा स्वास्थ्य स्थिति सन्तोषजनक नदेखिए पर्वतारोहण गर्न वा पर्वतारोहण दलसँग जान अनुमति नदिइने प्रावधान समेत विधेयकमा समेटिएको छ । अहिले सगरमाथामा अन्धाधुन्ध अनुमति दिइएको भन्दै आलोचना हुने गरेको छ । नयाँ प्रावधान अनुसार पर्वतारोहण दलको सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतारोहण पथप्रदर्शक र अन्य पर्वतारोही सहयोगीका लागि नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पछिल्लो एक महिनाभित्र गरिएको स्वास्थ्य परीक्षण प्रमाणपत्र समेत पेस गर्नुपर्ने प्रावधान विधेयकमा छ ।
विधेयकमा हिमालचुलीमा साहसिक पर्यटन गतिविधि गर्न भने अनुमति लिनुपर्ने भएको छ । हिमालचुलीबाट प्याराग्लाइडिङ, स्काई डाइभिङ, हेली स्किइङ, अल्ट्रालाइट वा यस्तै प्रकृतिका अन्य साहसिक पर्यटन क्रियाकलाप गर्न चाहे पर्वतारोहीले पर्यटन मन्त्रालय वा तोकिएको निकायबाट अनुमति लिर्नुपर्ने गरी सर्त राखिएको छ । एक पटक आरोहण अनुमति लिएको समूहले सोही वर्ष आरोहण नगरे दस्तुर फिर्ता नहुने समेत प्रावधान राखिएको छ । तर, काबु बाहिरको परिस्थितिमा भने सरकारले निर्णय गरेर समय सार्न सक्ने भएको छ । पर्वतारोहण दलले निर्धारित पर्वतारोहण मार्गमात्र प्रयोग गर्नुपर्ने भएको छ ।
१२ वैशाख, काठमाडौं । शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ । रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उनको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ । समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्राको गोली लागेको बताए ।
उनले अनुसन्धानकर्ताहरू घटनास्थलमा रहेको जानकारी दिए । रुसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा जलिरहेको सवारी साधनको भिडियोहरू प्रसारण गरेका छन् । समितिले सम्भावित संदिग्धहरूको उल्लेख गरेको छैन । यो आक्रमण लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो । डिसेम्बर १७ मा उहाँको अपार्टमेन्ट भवन बाहिर पार्क गरिएको विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि युक्रेनलाई दोष दिएका थिए ।
१२ वैशाख, काठमाडौं । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ, काठमाडौँ–८ गौशाला बस्ने मागुरा मागुरासदर थाना बेरोइलग्राम घर भएका ४७ वर्षीय मिल्टन भन्नेकाजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार बङ्गलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा निजहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरिएको हो ।
निजहरूले नेपाल हुँदै वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायत मुलुकमा पठाउन सहज हुने भनी एजेन्टमार्फत पर्यटक भिसामा बङ्गलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५०० अमेरिकन डलर लिई सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूका साथबाट राहदानी १९ थान, मोबाइल चार थान, अमेरिकन डलर नौ हजार ८५०, बङ्गाली टाका ३९ हजार ९०५ र नेपाली रु २५ हजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित शिवसताक्षी गेष्ट हाउसबाट काठमडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता आचार्यले बताए ।
१२ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । ८ वैशाखका दिन ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई दुर्घटना कसरी, किन, र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्न र यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
१२ वैशाख, म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको थिएँ”, उनले भने, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे ।”
उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पालेका छन् । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् । सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने बताए ।
मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन् । बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ । फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन् । बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउँछन् । “छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए”, तारानाथले भने, “पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन् ।”
सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गर्नुहुन्छ । फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।
सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ । “घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ”, उनले भने, “विदेश जाने योजना बनाएको छैन । स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु । बङ्गुरपालनबाट सन्तुष्ट छु ।”
१२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा यस्तो बताइएको छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सन्देशमा उनले भनेका छन्, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु ।’
नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गरेका छन् ।
उनले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । सन्देशमा राष्ट्रपतिले प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने हुँदा भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवं पुनःस्थापनालगायत कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
१२ वैशाख, दाङ । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।
१२ वैशाख, म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु १० करोड ७० लाखको लागतमा सिम–पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।
मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिका गाउँपालिका–६ दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर कालोपत्र भएको छ । दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप रु ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ ।
१२ वैशाख, काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन् । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू ।
अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७।६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइ (भवन तथा आवास) तथा त्यसअन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ । एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ ले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ ०ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालले सरकारले उपलब्ध गराएको रु तीन लाख अनुदानले निजी आवास निर्माणको काम सम्पन्न नहुने र थप लगानीका लागि क्षमता नहुने सर्वसाधारणले ढिलो निर्माणकार्य थालनी गरेको जानकारी दिए । “थप लगानी जुटाउन सक्ने सर्र्वसाधरणले त छिट्टै घर निर्माणको काम सम्पन्न गरेका छन् । तर कतिपयले लगानीको अभावले समयमा घर निर्माण गर्न नसक्दा लामो समयसम्म निजी आवास निर्माणको काम सम्पन्न हुन सकेन”, उनले भने, “भूकम्प गएको छ वर्षसम्म पनि लाभग्राही छनोटमा गुनासो बढिरहँदा ती गुनासो सम्बोधनका लागि पनि थप समय लागेको हो ।”
अर्यालले लगानी व्यवस्थापन, पुरातात्विक सम्पदा निर्माणको क्रममा स्थानीय बासिन्दासँगको विवाद, अनुुदान ल्याउन प्रक्रिया लम्बिँदालगायत कारण पुनर्निर्माणको प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै आगामी एक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुने बताए । उनका अनुसार विभिन्न जिल्लामा भूकम्पपश्चात आंशिक क्षति भई मर्मत गरिएका सरकारी भवन सङ्ख्या दुई सय ५३ रहेका छन् । विभिन्न जिल्लामा भूकम्पपश्चात सरकारी कार्यालय सञ्चालन गर्नका लागि निर्माण भएका नमूना सङ्ख्या दुई सय ८८ रहेका छन् ।
“विभिन्न १० जिल्लामा भूकम्पपश्चात अस्थायी रूपले बसोबास गर्नका लागि बनाइएको सामुदायिक भवनको सङ्ख्या सात सय ५६ परिवारका लागि निर्माण गरिएकामा ५० वटा (हात विभिन्न उद्देश्यका लागि प्रयोग भइरहेको) छ”, अर्यालले भने, “विभिन्न जिल्लामा सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सम्पन्न सरकारी भवनको सङ्ख्या एक सय ५१ रहेका छन् । भवन प्रवलीकरणतर्फ कुल ११ वटा राणाकालीन भवनमा आठवटा सम्पन्न, तीनवटाको प्रवलीकरण कार्य भइरहेको छ । भारतीय सरकारको सहयोगमा संरक्षण तथा पुनर्निर्माण भइरहेका पुरातात्विक सम्पदा आयोजना सङ्ख्या २८ रहेका छन् । कार्यान्वयन नभएका आयोजना सङ्ख्या दुईवटा छन् । सम्पन्न भएका आयोजना सङ्ख्या १३ वटा रहेका छन् ।”
File Photo : CNN
यसैगरी निर्माणाधीन आयोजना सङ्ख्या १२ वटा रहेको एकाइले जनाएको छ । एकीकृत बस्ती विकासतर्फ विभिन्न जिल्लामा ९७ वटा बस्ती विकासका कार्य सम्पन्न भइसकेको र नौवटा कार्यकम कार्यान्वयनको क्रममा छ । यसैगरी भूकम्पपश्चात निर्माण भएका एक हजार १२६ वटा स्वास्थ्य भवनमध्ये एकाइमा राष्ट्रिय पुनर्निर्माण प्रधिकरणमार्फत हस्तान्तरण भएका पाँच सय ४४ भवनमध्ये तीन सय ३६ वटा स्वस्थ्य भवन निर्माण सम्पन्न भएका र अरू निर्माणाधीन रहेको एकाइको भनाइ छ । एकाइका अनुसार धरहरा पुनर्निर्माणको काम पनि अझै १४ प्रतिशत बाँकी नै छ ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव, नीतिगत अस्पष्टता, आवश्यक कच्चा पदार्थको अभावले समयमा नै निर्माणको काम सम्पन्नमा चुनौती रहेको बताए । “विश्व सम्पदा क्षेत्रभित्रका एक सय ७० र बाहिरका सात सय ५०, गुम्बा दुई सय १५, अन्य भूकम्पबाट क्षति भएको तर सूचीकृत नभएका तीन सय ६५ गरी एक हजार ५०० वटा संरचना क्षति भएको थियो । जसमध्ये गुम्बासहित आठ सय १५ वटाको काम सम्पन्न भएको छभने एक सय ५४ को काम निररन्तर अघि बढिरहेको तथा पाँच सय ३१ संरचनाको काम बाँकी छ । हालसम्मको खर्च करिब रु सात अर्ब २० करोड भएको छ”, उहाँले भन्नुभयो, “सम्पदा पुनर्निर्माणका क्रममा परम्परागत समानको अभावले गर्दा निर्माणको काम पनि पछि धकलिएको हो ।”
महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणकार्य सम्पन्न गरी भूकम्पबाट विस्थापित भएका व्यक्ति र परिवारको पुनर्वास तथा स्थानान्तरणको काम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको सुझाव दिएको छ । प्रतिवेदनअनुसार पुरातात्विक सम्पदा र एकीकृत बस्ती विकास तथा सुधारलगायत क्षेत्रमा चालु कार्य सम्पन्न भएका छैनन् । बाँकी कार्य सम्पन्न गर्न पहल गर्नुपर्नेमा प्रतिवेदनको जोड छ । पुनर्निर्माण प्राधिकरणले २०७६ पुस २८ मा विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्लाभ कार्य ढाँचा तयार गरी पुनर्निर्माण कार्यको संशोधित लागत अनुमान रु चार खर्ब ८९१३ करोड ५३ लाख कायम गरेको थियो ।
प्राधिकरण स्थापना हुँदा पाँच वर्षमा पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकामा प्राधिकरण खारेज भई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)लाई कार्यकम हस्तान्तरण गरिएको हो । बाँकी रहेका लाभग्राहीको अनुगमन गरी प्रवलीकरणको कार्यलाई पूर्णता दिनुपर्ने प्रतिवेदनको सुझाव छ । अनुदान वितरण भूकम्प प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७३ को अनुसूची–१ मा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण एवं प्रवलीकरण अनुदानका लागि छनोट मापदण्डको व्यवस्था गरेको थियो ।
पहिलो र दोस्रो किस्ता लिई कार्यसम्पन्न नगर्ने लाभग्राहीको सन्दर्भमा अनुगमन गरी अनुदान रकमको सदुपयोग भएको सुनिश्चित हुनुपर्नेमा पनि महालेखाको सुझाव रहेको छ । निर्माण सम्पन्न निजी आवास प्रयोजनमा नगई अन्य प्रयोगमा आएकाले सदुपयोगको सुनिश्चितता गर्नुपर्नेमा पनि महालेखाको सुझाव छ ।
पूर्र्वाधारविद् कमलराज पाण्डेले दीर्घकालीन योजनाको अभावले समयमा नै पुनर्निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । “पूर्वतयारी कमजोर हुँदा समयमा विपद् व्यवस्थापन गर्न सकिँदैन । पुनर्निर्माणको काममा ढिलाइ हुनुको मुख्य कारण यही हो । अनि प्राथमिकरण राम्रो हुन सकेन”, उनले भने ।
विसं २०७२ मा गएको विनाशकारी भूकम्पपछि समेत सरकारले पुनर्निर्माणका लागि पैसा जम्मा गर्न भन्दै दाता सम्मेलन गरेको थियो । जुन सम्मेलनमा रु चार खर्बभन्दा बढी रकम सहयोग गर्ने घोषणा भएको थियो । तर घोषणाअनुरूप अनुदान भने आउन सकेन । गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।
भूकम्पले के सिकायो ? के सिकेनौँ ?
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिका के हुने ? लगायत विषयमा २०७२ सालको भूकम्पले पाठ सिकाएको बताए । “नेपालमा जुनसुकै बेलामा पनि भूकम्प जाने जोखिम छ । काठमाडौँदेखि दक्षिणतिरको चुरे क्षेत्रसम्म भूकम्कपीय जोखिम बढी छ ।
भूकम्प जाँदा अब कसरी सुरक्षित हुने, कसरी आफ्ना संंरचना भूकम्प प्रतिरोधी बनाउनेलगायत विषयमा हामीले पाठ सिकेका पनि छौँ”, उनले भने । “२०७२ सालको विनाशकारी भूकम्पपछि कतिले त उपत्ययकामा अग्ला घर भत्काएर होचा पनि बनाएका थिए । संरचना बलियो हुनुपर्ने चेतना आएको थियो । त्यसपछि भवन आचारसंहिता अधिकांश स्थानीय तहले लागू गरेका छन् । खुला स्थान चाहिन्छ र पूर्वतयारी आवश्यक रहेको पाठ सिकायो ।”
अझै पूर्वतयारीका गतिविधि अगाडि बढाउन सकेमा भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण हुन सक्ने अधिकारीको भनाइ छ । “हामीले भनिरहेका छाँै, अझै पनि भूकम्पीय जोखिम छ । विसं २०७२ को भूकम्पले कति कुरा सिकायो । कति कुरा हामीले सिक्नै बाँकी रह्यो”, उनी भन्छन्। “पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने, भूकम्पीय शिक्षा र जनचेतना अभिवृद्धि गर्नुपर्ने, खुला स्थानको व्यवस्था गर्नुपर्ने, बलियो संरचना निर्माण गर्नुपर्र्नेलगायत कतिपय कुरा सिक्नै बाँकी छ ।”
अधिकारीले २०७२ सालपछि भूकम्पसम्बन्धी अध्यायन अनुसन्धानलाई प्रथामिकता दिनु सकरात्मक रहेको टिप्पणी गर्नुभयो । आर्किटेक इन्जिनियर अमितप्रसाद तिमल्सेनाले पनि भूकम्पपछि संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्ने चेतना बढाएको बताए । “भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यन्वयन गराउनुपर्छ । संहिताको कार्यन्वयन भएरनभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ”, उनले भने “भूकम्पप्रतिरोधी संरचना निर्माणसम्बन्धी व्यापक प्रचारप्रसार भने अझै जरूरी छ ।”
ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्कीले २०७२ सालको भूकम्पको मनोवैज्ञानिक त्रास अझै बाँकी रहेको र सानासाना भूकम्पको पराकम्पनमा पनि मानिस अत्तालिने समस्या अझै बाँकी रहेको बताए । “प्राकृतिक विपद्मा कोही आफन्त, कोहीले बासस्थान गुमाएका हुन्छन् । कति घाइते हुन्छन् । कतिलाई फेरि भूकम्प आएर केही घटना हुन्छ कि डर हुन्छ । यसले मनोवैज्ञानिक स्वास्थ्यमा असर बढाएको हुन्छ,” उनी भन्छन्, “मनोवैज्ञानिक रूपमा कसरी मानसिक स्वास्थ्यको विषयमा पनि विपद्मा मनोवैज्ञानिक परामर्शको समेत जरूरी भएकाले पूर्वतयारी जरूरी छ ।”
१२ वैशाख, काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने छ । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले राससलाई बताए ।
बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ । त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ । अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
१२ वैशाख, काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।
आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गराँै, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
११ वैशाख, काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मा नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह त्यागिन । तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ । बिरामीको सेवा लाग्नुपर्ने उनी अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिएर बसिराखेकी छिन् । उनीसँगै सोही कलेजमा आवासीय चिकित्सकको रुपमा कार्यरत डा निशा थापा पनि छिन् । टण्टलापुर घाममा उनीहरुजस्तै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकसरकारी सरह निर्वाह भत्ताको माग गर्दै २२ दिनदेखि आन्दोलनरत छन् ।
चिकित्सक शर्मा भन्छिन्, “आफूलाई चिकित्सक भनेर के गर्ने, अहिलेसम्म मासिक रुपमा बुवाआमासित पैसा माग्नु परिरहेको छ । आमबुझाइमा चिकित्सकले धेरै पैसा कमाउँछ भनेर सोचिन्छ । तर पैसा हामीले होइन अस्पताल सञ्चालकले कमाउँछन् । न्यूनतम पारिश्रमिक दिइएको छैन ।” हाल उनी कार्यरत अस्पतालले आवसीय चिकित्सकलाई मासिक रु १९ हजार दिइरहेको छ ।
“सोही तहमा सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको रु ४८ हजार पाइरहनुभएको छ, हामीले रु १९ हजारले के गर्ने ? कोठा भाडा तिर्न र कलेजको खर्चमै जान्छ । त्यति पनि पुग्दैन । डेन्टल विधामा हामीले आफ्नो अभ्यासकालागि सामान समेत आफै किन्नुपर्छ । जसका लागि महिनाकै २२ देखि २५ हजार जान्छ । हामी कसरी बाँचिरहेका छौँ । अबको दुई तीन वर्षमा चिकित्सकहरु नै बस्दैनन् होला”, उनले भनिन् । डा थापा देशको अवस्थाले गर्दा काम गर्न मनोबल नै घटेको प्रतिक्रिया दिइन् ।
लुम्बिनी मेडिकल कलेज, पाल्पामा कार्यरत आवासीय अर्थोपेडिक चिकित्सक डा कुन्दन सिंहको समस्या पनि त्यस्तै छ । हप्तामा १३६ घण्टा काम र तलब जम्मा रु १९ हजार आठ सय निकै कम भएको उनको भनाइ छ । डा सिंह भन्छन्, “हामीले रहरले सडकमा आएका होइनौँ । सरकारीमा त्यही तहका चिकित्सक त्यही ड्युटी तर हामीलाई सेवा सुविधामा भने त्यति कम ? निर्णय कार्यान्वयन हुन्छ भनेर बोलीमा आश्वसान पटक पटक पाएका छौँ ।”
कतिपय आवासीय चिकित्सक भने आफूहरुलाई आन्दोलनमा गएकै कारण डर धम्की प्राप्त गरेको सुनाए । “जति डर धम्की आए पनि हाम्रो खातामा पैसा नआइकन हामी काममा फर्किदैनौँ । आन्दोलन जारी रहन्छ”, एक चिकित्सकले भने । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णयले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको थियो तर निजी मेडिकल कलेजहरुले निर्णय कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवसीय चिकित्सकलाई मासिक रु ४८ हजार निर्वाह भत्ता दिने आयोगले निर्णय गरेको थियो । आयोगको १६औँ बैठकले गरेको उक्त निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल कलेजले त्यो निर्णय मान्न अटेरी गरिरहेका छन् । हाल देशभरका करिब दुई हजार ५०० आवासीय चिकित्सकहरु आन्दोलित छन् । उनीहरुले सेतो एप्रोनमा दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । आजबाट नेपाल चिकित्सक सङ्घले पनि आवासीय चिकित्सकहरुको आन्दोलनमा सहकार्य गर्ने निर्णय गरेको छ ।
उनीहरुले सम्पूर्ण निजी मेडिकल कलेजका एमडी, एमएस, एमडीएस आवासीय चिकित्सकहरुको मासिक पारिश्रमिक (सरकारी आठौं तह सरह) हुनुपर्ने माग गरिरहेका छन् । प्रतिबद्धताअनुसार छुटै नियामक अङ्कको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था, विश्वविद्यालय र मेडिकल कलेज प्रशासन आचरण र व्यवहार, अध्यापक जनशक्तिहरुको आचरण र व्यवहारलगायत विषय समेटी स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने मस्यौदा समिति समेत बनाउनुपर्ने उनीहरुको माग छ ।
उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै जाने समेत निर्णय गरेका छन् । आन्दोलनरत सम्पूर्ण आवासीय चिकित्सकको पारिश्रमिक उपलब्ध नहुन्जेलसम्म र स्नातकोत्तर कार्यक्रम कार्यविधि नबनुन्जेलसम्म गरिएका कुनै पनि निर्णय र कार्यदल स्वीकार्य नहुने सङ्घर्ष समितिको भनाइ छ ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’ का संयोजक शेषराज घिमिरेले नियमसङ्गत भएको निर्णय नै कार्यान्वयन गर्न आन्दोलनमा उत्रिनु परेको बताउँछन् । उनी भन्छन्, “आवासीय चिकित्सकले गर्ने श्रमको मूल्य दिनुस् भन्ने नै हाम्रो माग हो । कानुन विपरीतका कुरा मागेको होइन । श्रमको न्यूनतम मूल्य मागेका हौँ । राज्यले गम्भीरतापूर्वक लिएर कार्यान्वनयनमा जोड दिनुपर्छ ।” नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले आवासीय चिकित्सकहरुको मुद्दामा सुरुदेखि नै काम गरेको बताउँछन् ।
“राज्यले आफ्नो निर्णय कार्यान्वयन गराउनुपर्छ । पुरस्कृत गर्नेलाई पुरस्कार र दण्ड पाउनेलाई दण्डित गर्नुपर्छ । राज्यले आफ्नो निर्णयको अपनत्व लिनुपर्छ । आवासीय चिकित्सकको मात्र मुद्दा बुझिएको छ तर अस्पतालभित्रका स्वास्थ्यकर्मीका श्रम शोषणका त कुरै निस्केको छैन”, उनी भन्छन् । डा कार्कीका अनुसार सरकारी सरह निर्वाह भत्ता खातामा नराखेसम्म आन्दोलन गरिराख्ने र आकस्मिक र सघन उपचार कक्षबाहेक अन्य उपचार सेवामा सहभागी नहुने निर्णय भइसकेको छ ।
हप्ताको १४० घण्टा बढी काममा घोटिनुपर्ने त्यसमाथि तलब रु १७ देखि रु १९ हजार मात्र हुनु चर्को श्रम शोषणको नमूना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा मङ्गल रावलले बताए । डा रावलले श्रमको उचित सम्मान नपाएकै कारण भारी मात्रामा स्वास्थ्यकर्मीहरु विदेश पलायन हुनुपरिरहेको बताउँछन् ।
उनले भने, “आवासीय चिकित्सकलाई ७२ घण्टाभन्दा बढी काममा लगाइनहुँदैन भन्ने निर्देशन दिइनुपर्छ । देशमा सुरक्षित भविष्य नदेखेकै कारण स्वास्थ्यकर्मी पलायन भइरहेका छन् । यस्तो अवस्थामा कुन मनोबलले काम गरिरेहका होलान् चिकित्सकहरु ? चिकित्सा शिक्षा आयोगले गरेको निर्णय अक्षरसः कार्यान्वयन हुनुपर्छ ।” उनले नेपालको चिकित्सा शिक्षाको गुणस्तर हुने गरी र नेपालमा कार्यरत चिकित्सक मनोबल उच्च हुने गरी निर्णय सरकारले गर्नुपर्ने माग गरे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच भएको वार्तामा निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नभएसम्म सम्बन्धित कलेजले मन्त्रालयबाट कुनै सहयोग नपाउने बताएका छन् । निर्णय कार्यान्वयन गराउनमा मन्त्रालयको साथ रहेको उनको भनाइ छ ।