Category: समाचार

  • सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

    सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

    ११ वैशाख, काठमाडौं । एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् । चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    उनले भने, “सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती प¥यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ ।”

    “वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ । ती प्रहरीहरुलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

    आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

    ११ वैशाख, काश्मीर । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ । मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो ।

    बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ । यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दू राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ । उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको हस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताए । हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए ।


    उनका अनुसार ती विद्यार्थीलाई ‘आतङ्कवादी’ भनिएको थियो । “यो केवल सुरक्षाको मुद्दा मात्र होइन”, उनले भने, “यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो ।” उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन् । विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।

    सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन् । विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् । भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।

    बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो । पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।

  • भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

    भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

    ११ वैशाख, इश्लामावाद । भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए । बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।”


    भारतले कश्मीरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो । पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको छ र भारतीय नागरिकहरूको भिसा रद्द गरिएको छ, यद्यपि सिख तीर्थयात्रीहरूलाई यसबाट छुट दिइएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

    पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ। साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ । वक्तव्यमा भनिएको छ, “यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ ।” पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ ।

  • १३ बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

    १३ बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

    ११ वैशाख, काठमाडौं । सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३ बँुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फूटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो । सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट ९वाइएई०, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ९क्रिडाक०लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा संवाद सम्पन्न भएको सचिवालयले जनाएको छ ।

    सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायका अनुभव आदानप्रदान, बाल–संवेदनशील जलवायु समाधानका लागि वकालतलगायत विषय उजागर गरिएको वाइएईका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए । घोषणापत्र तीन तहका सरकार, सगरमाथा संवाद सचिवालय र विश्व समुदायलाई हस्तान्तरण गर्दै ध्यानाकर्षण गरिने उनले बताए । संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज, विभिन्न सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधि गरी एक सय ५० जनाको सहभागिता थियो ।

    घोषणापत्रमा हिमाली क्षेत्रका बालबालिका, युवा र समुदायमा जलवायु सङ्कटले पारेको असरलाई सम्बोधन गर्न सगरमाथा संवादमा यस विषयलाई प्राथमिकताका साथ छलफल गरी समाधानका उपायको खोजी गर्न माग गरिएको छ । त्यस्तै सगरमाथा संवादमा बालबालिकाहरूका आफ्ना भोगाइ, अनुभव र आवाज उठाउन विशेष सत्रको व्यवस्था गर्न आग्रहसहित सुझाव आएको वाइएईका कार्यक्रम संयोजक अञ्जु पोखरेलले जानकारी दिए । उनका अनुसार जलवायुसम्बन्धी शिक्षा र सचेतनालाई सबै समुदायमा सञ्चालन गर्न, जलवायु सङ्कटको समाधानका लागि सिमान्तकृत र सामाजिक रूपमा पछाडि पारिएका समुदायका जीवन्त भोगाइलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम लागू गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

    हिमाल बचाउन नेपालको प्रयास मात्र पर्याप्त नहुने भएकाले छिमेकी मुलुकदेखि समग्र विश्वसमुदायको सहकार्य र अन्तरराष्ट्रिय तहमा साझेदारी बढाउनका लागि पहल गर्न आग्रह गरिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए । समुदायले भोगेका हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गर्न सगरमाथा संवादमा यो मुद्दालाई प्राथमिकतामा राख्दै हानिनोक्सानी कोषमा समुदायको पहुँच सुनिश्चित गर्न आग्रह गरिएको उनले बताए ।


    हिमाली संवादले जलवायु परिवर्तनले तल्लोे तटीय क्षेत्रमा गम्भीर असर परेकाले उक्त क्षेत्रका समुदाय र बासिन्दामा पर्न गएको नकारात्मक असर सम्बोधन गर्नुपर्ने, पर्वतीय र सामुद्रिक अर्थतन्त्रलाई जोड्नुपर्ने, कर्णालीलगायत हिमाली क्षेत्रमा हुने परम्परागत रैथाने बालीको संरक्षण गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने, हिमाली क्षेत्रमा सञ्चालित जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न एकीकृत बस्ती विकास र अनुकूलनका असल अभ्यास प्रवर्द्धनका लागि सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिइएको छ ।

  • नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली

    नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली

    ११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका हुन् । सो क्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताए ।आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रका बारेमा जानकारी लिएर अघि बढ्ने बताए ।

    तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

  • अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

    अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

    ११ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुुपर्ने बताएका छन् । नेकपा एमालेद्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युुवा उत्सव (युुथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए ।


    “देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ”, प्रधानमन्त्री ओलीले भने, “वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ । निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ । सामन्ती व्यवस्थालाई पुनःफर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रकृति गलत हो । यस्ता कार्य सह्य हुँदैनन ।”

    एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गरे । एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै उहाँले आफ्नो पार्टीले सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको बताए । युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा यसतर्फ सचेत हुनुपर्ने बताए ।

  • कतारी राजकुमारीको चिन्ता : हिमालहरूमा जीवन छैन

    कतारी राजकुमारीको चिन्ता : हिमालहरूमा जीवन छैन

    सुवास दर्नाल / रासस

    ११ वैशाख, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् । सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।”

    सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिएकी छिन् । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ”, राजकुमारी अलथानीले भनिन् ।

    हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, “यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।”

    बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ ।” राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गरिन् ।

    “हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,” उनले चेतावनी दिइन् । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरणविज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए ।

    सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो ।

    सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उनको अन्तिम सन्देश थियो, “हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।”

    उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उनले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ ।

  • आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

    आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

    ११ वैशाख, काठमाडौं । आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

    बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ । ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नारायका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ ।

    सूचना प्रविधिको क्षेत्रमा केटीहरुलाई पनि समान रुपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रुपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ । अन्तरराष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो । अन्तरराष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहो¥याउँदै विश्वका १४४ राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले अन्तरराष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।

  • संरक्षण कुर्दै ‘तराईको झरना’

    संरक्षण कुर्दै ‘तराईको झरना’

    ११ वैशाख, पथरी । तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ ।

    महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्याले चाहेर पनि यहाँ जानसक्दैनन् । न त यसको उचित प्रचार हुनसकेको छ । तथापि थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन् । महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोरकिशोरी, युवालगायत आउने गरेका छन् ।

    यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ । महेन्द्र राजगमार्गमा पर्ने पथरीबजारबाट उत्तर जाँतेबजार हुँदै तेली खोलाको किनारै किनारको बाटोबाट यहाँ पुग्नुपर्ने हुन्छ । झरनामा आउने अधिकांशले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन्  । पर्यटकको सहजताका लागि आधारभूत संरचना बनाउन पनि कसैले ध्यान दिन सकेका छैनन् । स्वयम् मिक्लाजुङ्ग गाउँपालिकाले पनि यसतर्फ ध्यान दिएको छैन ।

    वडाअध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्द्धनमा स्थानीय सरकार लागिपरेको दाबी गर्छन् । खोलाका कारण झरनासम्म बाटो पु¥याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उनको भनाइ छ । ‘बाटो बनाउन तेली खोलाले समस्या बनाएको छ । खोला तीन–चारपटक ओहोरदोहोर नगरी झरनासम्म पुग्न सकिँदैन । वास्तवमा समस्या धेरै छ । यदि बाटोमात्रै बनाउन सकेको भए पनि धेरै पर्यटक यहाँ आउनसक्ने । यसका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ”, वडाध्यक्ष तामाङले भने ।


    हुन त पूर्वपश्चिम राजमार्गको मङ्गलबारेबाट १३ किलोमिटरको दूरीमा सामालिङ्गसम्म यातायातका साधन पुग्ने गरेका छन् तर झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ । यो समस्या समाधान भएमा धेरैले झरनाको आनन्द लिन सक्ने यहाँ पुगेका पथरीशनिश्चरेका विवेक गौतमको विश्वास छ । “माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि हुन्छ तर पूर्वाधार नभएकाले धेरैले जान सकिरहेका छैनन् ।

    यसमा ध्यान दिन आवश्यक छ”, उनले भने । “यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक विकास टेवा पुग्ने थियो ।” यो झरनाको दुई सय मिटरभन्दा लामो छ । सम्भावना भएर पनि संरक्षण र प्रवर्द्धनको अभावमा यो झरना ओझेलमा परिरहेको छ ।

  • बढ्दो तापक्रम : तराई भेगमा ‘हिट वेभ’को चेतावनी

    बढ्दो तापक्रम : तराई भेगमा ‘हिट वेभ’को चेतावनी

    ११ वैशाख, काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन, तत्काल लागु हुनेछन् यी निर्णय

    कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन, तत्काल लागु हुनेछन् यी निर्णय

    काठमाडौं । भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ुसिमा(पार आतङ्कवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो। विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको इन्डस जल सम्झौता तत्काल स्थगित गर्ने निर्णय गरेको छ। उनले भने, “जबसम्म पाकिस्तानले सिमा(पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।”

    इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन\तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो। भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ। यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ।

    भारतले थप रूपमा नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ। कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो। घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

    भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इन्डस नदी एशियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो । यस घटनासँगै भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

  • आज लोकतन्त्र दिवस, देशभरी मनाइदैं

    आज लोकतन्त्र दिवस, देशभरी मनाइदैं

    ११ वैशाख, काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

    त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”

    निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

    जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

    राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ । यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् ।

    लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

  • युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

    युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

    ११ वैशाख, काठमाडौं । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले बुधबार बताएका छन् । “दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’”, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन् “घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।” उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए ।

    युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् । किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ । रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ । तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

  • कश्मिर हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याइदैं

    कश्मिर हमलामा मारिएका नेपाली युवा सुदीपको शव नेपाल ल्याइदैं

    १० वैशाख, काठमाडौं । काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव नेपाल ल्याइने व्यवस्था भएको हो । मंगलबार कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो ।

    उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते छिन् । मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए ।


    सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाई जहाजमा तथा लखनौबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो । दिल्लीबाट लखनौँको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ । त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्‍याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छिन् ।

    घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो । सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । सो आतङ्ककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।

  • प्रधानमन्त्री र ब्राजिलियन फुटबलस्टार कार्लोसबीच भेटघाट

    प्रधानमन्त्री र ब्राजिलियन फुटबलस्टार कार्लोसबीच भेटघाट

    १० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग एनएसएल को तेस्रो सिजनको खेल हेर्न काठमाडौँमा छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।

    प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

  • तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १० लाख दिने

    तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १० लाख दिने

    १० वैशाख, काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी दिए ।

    सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्नेसमेत निर्णय गरेको उनले जानकारी दिए । वैशाख १६ देखि २२ गतेसम्म भारतको नयाँदिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव डा कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    सासेक विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनका लागि सैद्धान्तिक सहमति दिने र उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

    सरकारले आगामी जेठ २४ गतेदेखि ३१ गतेसम्म जापानमा आयोजना हुने ‘काउन्टर पार्ट प्रोग्राम’मा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई स्वीकृति प्रदान गर्ने, यही वैशाख २४ गतेदेखि २६ गतेसम्म श्रीलङ्का सरकारले कोलम्बोमा आयोजना गर्न लागेका १७औँ ‘रिमेस काउन्सिल मिटिङ एण्ड फोर्थ रिमेस मिनिस्टेरियल कन्फ्रेन्स’मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

    बैठकले यही वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने दोस्रो ‘विलाटेरल टक्स विटविन नारकोटिक्स कन्ट्रोल अथोरिटिज अफ नेपाल एन्ड इन्डिया’मा गृह मन्त्रालयका सहसचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । यही वैशाख ८ गतेदेखि १२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द पेसिफिक (युनेस्क्याप) को ८१औँ सत्रमा अध्यक्षता गर्नेगरी सहभागी हुन परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

    सरकारका नाममा दर्ता स्रेस्ता रहेको कपिलवस्तु जिल्ला, साविक बहादुरगञ्ज गाविस वडा नं ८ ख को ८–१०–९ बिघा सरकारी जग्गा प्रदेशस्तरीय बागवानी स्रोत केन्द्र निर्माण गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई उपयोग गर्न सरकारले स्वीकृति दिएको छ ।

  • कुलमान हटाउने निर्णयको विरोध गरेका ऊर्जा राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट गरे बर्खास्त

    कुलमान हटाउने निर्णयको विरोध गरेका ऊर्जा राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट गरे बर्खास्त

    १० वैशाख, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदा सो निर्णयको विरोध गरेका कांग्रेस सांसद तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट बर्खास्त गरेका छन् । गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएको बताइएको छ ।

    मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएपछि तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेको समेत बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले फरक मत राख्नै सबैलाई आफ्नो निसाना बनाइरहेका छन् ।

  • शिक्षा मन्त्री बने रघुजी पन्त

    शिक्षा मन्त्री बने रघुजी पन्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा मन्त्री बनाएका छन् । विद्या भट्टराइले राजिनामा दिएसँगै रिक्त सो मन्त्रालयको जिम्मेवारी पन्तले पाएका हुन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।


    ८ वैशाखमा एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी हुन् । पन्त एमालेका स्थायी कमिटी सदस्य हुन् । आजको पुनर्गठनमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् । तामाङ बर्खास्तमा परेसँगै ओली क्याबिनेट २४ सदस्यीय बनेको छ ।

  • डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    १० वैशाख, दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ । पछिल्लो समय स्थानीय सडकमा दुर्घटना हुने दर बढ्दो क्रममा छ ।

  • भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

    भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

    १० वैशाख, काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

    “नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी कम्तिमा २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

  • विश्वभर हिउँचितुवाको संख्यामध्ये १० प्रतिशत हिस्सा नेपालमा

    विश्वभर हिउँचितुवाको संख्यामध्ये १० प्रतिशत हिस्सा नेपालमा

    भीष्मराज ओझा/रासस

    १० वैशाख, काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ ।

    अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् । पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् ।

    तथ्याङ्कअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मङ्गोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए । वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत सङ्घसंस्थाको सहयोगमा विभिन्न तथ्याङ्क र अनुसन्धानको विश्लेषण र मूल्याङ्कन गरी सो तथ्याङ्क निकालिएको उनले बताए ।


    यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्याङ्क निकालिएको हिउँचितुवा विज्ञ शशाङ्क पौडेलले जानकारी दिनुभयो । यो तथ्याङ्क क्यामेरा ट्रयाप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँचितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको उनले बताए । यस मूल्याङ्कन उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

    यो मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

    विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ । साथै द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

    हिउँचितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छन् । हिउँचितुवालाई आइयुसिएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् त्यसमध्ये डोल्पा क्षेत्रमा हिउँचितुवाको सङ्ख्या ९० रहेको छ ।

    डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले हिउँचितुवाको पछिल्लो तथ्याङ्क नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यस तथ्याङ्कले हिउँचितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र नभई भविष्यका संरक्षण रणनीतिलाई सूचीत गर्ने बताए । उनले यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्ने बताउँदै मूल्याङ्कनका निष्कर्षहरूले हिउँचितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेको अवगत गराए ।


    वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०) तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ । कार्ययोजनामा हिउँचितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँचितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

    छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँचितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।
     
    हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् ।

  • युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

    युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

    १० वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।

    परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् । उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

  • जम्मू–कश्मीर आक्रमण  : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता

    जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता

    १० वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी भारत फर्किएका छन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

    घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्। यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर(ए(तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।

    प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् । यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू(कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ। सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहनुभएको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए ।


    मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भन्नुभयो, “पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन्।”

    राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

  • जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

    जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

    ९ वैशाख, काश्मीर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । यसको पुष्टी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पु¥याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखें, जस्ताको त्यस्तै मृत देखिन्थे ।” पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो ।

    प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् । प्रधानमन्त्री मोदीले केही दिनअघि अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्ससँग भेट गरेका जुन सन्दर्भमा यो आक्रमण भएको हो ।

    मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताएका छन् । गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएको समाचारमा उल्लेख छ । उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन् । अनन्तनागस्थित अस्पतालमा केही घाइतेहरू पु¥याइएको छ, जसमा दुई जनालाई गोली लागेको र एक जनाको घाँटीमा गोली लागेको उल्लेख गरिएको छ ।


    विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए । भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पु¥याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

  • एक तोला सुनको मूल्य दुई लाख नजिक

    एक तोला सुनको मूल्य दुई लाख नजिक

    ९ वैशाख, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

    सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

    ९ वैशाख, इटहरी । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उहाँका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताए ।

    गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उनले जानकारी दिए । प्रवक्ता खतिवडाले भने, “हिजो पानीको सतह बढेको र धमिलो भएकाले खोजीमा समस्या भएको थियो । आज बिहानैदेखि खोजी भइरहेको छ ।” सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । उनीहरु बराह क्षेत्र मन्दिरमा पूजागर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

  • बेलौरीमा जलेको अवस्थामा भेटियो एक जनाको शव

    बेलौरीमा जलेको अवस्थामा भेटियो एक जनाको शव

    ९ वैशाख, कञ्चनपुर । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ ।

    बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए । “घटनास्थलमा प्रहरी टोली पुगेको छ,” प्रहरी नायब उपरीक्षक जोशीले भने, “के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ ।”

  • विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

    विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

    ९ वैशाख, जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छिन् । गतराति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

    विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री

    मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री

    ९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट पारे ।

    “कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नुपर्दैन । केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ, भने त्यो पूरा हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “कसैले एमाले बिनाको देशको पनि कल्पना गरेका छन् । केपी ओली बिनाको एमाले किन खोजेको होला रु तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।”

    अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइँमा नभइ विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण भएर आउने उद्घोष गरे । गणतन्त्रलाई नमूनाका रूपमा स्थापित गर्दै विकास र सुशासन तथा समृद्ध नेपाली सुखी नेपालीको महान उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलनलाई कमजोर हुन नसक्ने पुष्टि भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिका रूपमा स्थापित भएको पार्टी एमाले भएकाले कुनै पनि प्रकारको दुविधा मनमा नलिन र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिले कम्युुनिष्ट आन्दोलन ध्वस्ता बनाउन षड्यन्त्रकारीबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरूले आन्दोलनलाई पुनःगठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताए ।

    “हामी विकास र सुशासनको बाटोमा अगाडी बढेका छौँ । बिग्रिएको स्थितिलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ । हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहान्छौँ । आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरूपमा ल्याउँदैछौँ”, अध्यक्ष ओलीले भने, “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेलाई एक्काइशौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ । जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने ? राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेहरूको तमासा पनि देखिइसकिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ ।”

    प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको अवगत गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट पारे ।

  • भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ हुँदै

    भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ हुँदै

    ९ वैशाख, काठमाडौं । ‘नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १० औँ’ नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ । यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी), ललितपुर उद्योग वाणिज्य सङ्घ, नेपाल हस्तकला महासङ्घको सहकार्यमा मेला आयोजना गरिँदैछ ।

    आयोजकका अनुसार मेलामा नेपालसँगै मुख्यगरी चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्डलगायत देशका उद्योगी–व्यवसायीहरू सहभागी हुनेछन् । यो वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टल राखिनेछन्, जहाँ विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछन् । आयोजकहरूले २० हजारभन्दा बढी अवलोकनकर्ता मेलामा आउने अपेक्षा राखेको छ ।

    महासङ्घका अनुसार मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, व्यावसायिक शिक्षा तथा विद्युतीय सवारीसाधनजस्ता विभिन्न क्षेत्रका सामग्री प्रदर्शित हुनेछन् । साथै, मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीका सम्भावनामा पनि छलफल हुनेछ । मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पहिचान दिलाउने र विदेशी लगानी तथा प्रविधि भित्र्याउन सघाउने विश्वास व्यक्त गरे ।