Category: समाचार

  • नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

    नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

    १६ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना गरेको छ । पर्यटकीयउपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवर्द्धनका लागि प्रोत्साहित गर्न र मुलुकको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने काम भइरहेको बोर्डले जनाएको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रवर्द्धन र प्रचारका लागि नयाँ पुस्तालाई जोडेर प्रविधिको उपयोग गर्नुपर्ने बताए । उनले भने, “लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।”

    हाल देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सिइओ जोशीले त्यसको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “देशभरका सातै प्रदेशमा ‘कन्टेन्ट क्रियटर’का रूपमा लागिरहेका युवा पुस्ताले खोजीका साथै दूरदराजका वैभव र विशेषतालाई प्रचार एवं प्रवर्द्धन गरिरहनुभएको छ । उहाँहरूलाई पर्यटकीयउपज उत्पादकसँग जोड्नका लागि पनि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।”

    कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रवर्द्धन हुन नसकेका गन्व्यहरूको भिडियो सामग्रीसमेत समावेश गरिएका थिए । सिइयो जोशीले आगामी दिनमा पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेका युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकासमेत बताए । लेखक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटनउपज उत्पादक र कन्टेन्ट क्रियटरलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न आग्रह गरे ।

  • सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?

    सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?

    १६ वैशाख, काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको सहभागीले बताएका छन् । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए । महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, “केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।”

    शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए । महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए ।

    उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

  • लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित

    लुम्बिनीमा पर्यटक चढाउन किनिएका विद्युतीय सवारी प्रयोगविहित

    १६ वैशाख, लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको सम्पत्तिमा असर पारेको छ । यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । विसं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।

    कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि रु २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन् । बस्नेतले चलाउनुभएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु१झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ ।

    “ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु१झ ६९५ नं भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ”, उनले भने । एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।

    लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्नसक्ने उक्त बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ । अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “उक्त समय सीमा नाघीसक्यो, अवस्था जस्ताको त्यस्तै छ ।”

    “कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ ।”

  • जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    १६ वैशाख, धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो ।

    साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

    जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ । सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ ।

  • दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

    दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

    १६ वैशाख, मध्यविन्दु । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

    “दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ”, उनले भने, “सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।” यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।


    नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

  • ट्युनिसियामा डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार

    ट्युनिसियामा डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार

    १५ वैशाख, काठमाडौं । मध्य ट्युनिसियाको स्फ्याक्सको तटमा डुङ्गा पल्टिँदा विभिन्न देशका आठ आप्रवासीको मृत्यु हुनुका साथै अन्य २९ जनाको उद्धार गरिएको ट्युनिसियाली नेसनल गार्डले सोमबार एएफपीलाई जानकारी दिएको छ । नेसनल गार्डका प्रवक्ता होउसेम एडिन जेबाब्लीका अनुसार ती सबै आप्रवासी ‘विदेशी’ थिए । उनीहरूमध्ये अधिकांश उप–सहारा अफ्रिकाका र अन्य विभिन्न मुलुकका नागरिक राष्ट्रियताका थिए । ट्युनिसियाको रक्षा मन्त्रालयले आइतबार बिहानै ड्ङ्गा दुर्घटना भएको जनाएको छ ।

    ट्युनिसिया प्रत्येक वर्ष समुद्रमार्गबाट युरोप पुग्न चाहने हजारौं उप–सहारा आप्रवासीहरूको लागि एक प्रमुख आकर्षण हो र यहाँबाट इटालीको लाम्पेडुसा टापु मात्र १५० किलोमिटर (९० माइल) टाढा छ । यसै महिनाको सुरुमा अधिकारीहरूले स्फ्याक्स नजिकैको अनौपचारिक शिविरहरू भत्काउन सुरु गरेका थिए । उक्त शिविरहरूमा मुख्यतया उप–सहारा अफ्रिकी देशहरूबाट आएका हजारौं आप्रवासीहरू रहेका थिए । युरोपेली सङ्घले आप्रवासी आगमन रोक्न गरेको बढ्दो प्रयासका कारण धेरै अनियमित आप्रवासीहरू ट्युनिसियामा फसेको महसुस गर्छन्।

    सन् २०२३ मा ट्युनिसियाले युरोपेली सङ्घसँग २५ करोड ५० लाख युरो ९२९ करोड अमेरिकी डलर० को सम्झौता गरेको थियो। यो सम्झौतालाई इटालीको कट्टर दक्षिणपन्थी सरकारले कडा समर्थन गरेको थियो, जसको उद्देश्य ट्युनिसियाको समुद्री तटबाट डुङ्गाहरू छुट्नबाट रोक्ने क्षमता बढाउनु थियो। इयूको सीमामामिला हेर्ने निकाय फ्रन्टेक्सले मध्य भूमध्यसागरीय मार्गका लागि गत वर्ष सेप्टेम्बरसम्म अनियमित सीमा पार गर्नेको सङ्ख्या ६४ प्रतिशतले घटेको जनाएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सैदले गत महिना अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) लाई अनियमित आप्रवासीलाई आफ्नो देशमा स्वेच्छिक रूपमा छाडिदिन आह्वान गर्नुभएको छ ।

  • शिक्षक आन्दोलनबारे मन्त्रिपरिषद्मा छलफल, के भयो कुराकानी ?

    शिक्षक आन्दोलनबारे मन्त्रिपरिषद्मा छलफल, के भयो कुराकानी ?

    १५ वैशाख, काठमाडौं । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए । त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय दुवै सदनलाई सम्बोधनमार्फत प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

  • सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे

    सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे

    १५ वैशाख, किमााथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

    चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ । पछिल्लो केही दिनयता चट्याङका कारण मानवीय तथा अन्य भौतिक क्षति भइरहेको छ ।

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उपसमितिको ठहर, बुझायो प्रतिवेदन

    पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उपसमितिको ठहर, बुझायो प्रतिवेदन

    १५ वैशाख, काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आज नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले राससलाई जानकारी दिए ।

    प्रतिवेदन ग्रहण गर्दै समितिका सभापति पोखरेलले पूर्ण प्रतिवेदनमाथि समितिको आगामी बैठकमा छलफल हुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद लिङ्देनको नेतृत्वमा पोखरा विमानस्थलको अनियमितताबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले करिब एक वर्षअघि उपसमिति गठन गरेको थियो ।

    उपसमितिले आफूले तयार गरेको निष्कर्ष र सुझावसहितको प्रतिवेदन समिति सभापतिलाई बुझाएको उपसमितिका संयोजक लिङ्देनले बताए । उनका अनुसार विमानस्थलमा भएका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित गुनासाका बारेमा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अनुगमन, अन्तर्क्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदनमा छ वटा निष्कर्ष निकालिएको छ ।

    उक्त उपसमितिमा सांसदहरू जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेमबहादुर आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणि राना सदस्य थिए । उपसमितिले यस आयोजनामा घोटाला भएको निष्कर्ष निकालेको छ ।

  • पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

    पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

    १५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

    भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पु¥याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो । भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका थिए ।

  • झण्डै १८ अर्ब अवैध कारोबार, २१ जना पक्राउ

    झण्डै १८ अर्ब अवैध कारोबार, २१ जना पक्राउ

    १५ वैशाख, काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणवापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा भन्सार छली, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छलीलगायतमा संलग्न व्यक्ति तथा समूहले कारोबार गरेको गैरकानुनी रकमलाई ट्रान्सफर गरेको उनले बताए ।

    त्यसरी रकम ट्रान्सफर गरी विप्रेषणबापतको रकम हिसाब मिलान गरेको देखिएकाले मनी टान्सफर कम्पनी र त्यसका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरीत कार्य गरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरउपर अनुसन्धान थालिएको प्रवक्ता शाहीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    यसरी पक्राउ पर्नेहरुमा मोरङका वीरेन्द्र साह र दीपेन्द्र शाह, महोत्तरीका श्रवणकुमार शाह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महत्तो, धनुषाका निरोजकुमार महत्तो, सञ्जिवकुमार महतो र अलितादेवी महतो, प्रकाश सिंह, पर्साका अरुणकुमार साह, नवलपरासीका राजकमल लोनिया र भीमकुमारी गुरुङ रहेका छन् । त्यसैगरी सप्तरीका रामविलास साह तेली, पर्साका विकर्ष जङ्ग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमारी शाह, चितवनका गोविन्दप्रसाद आचार्य, सप्तरीका शम्भू मेहता र ममताकुमारी साह पनि पक्राउ परेका छन् ।

  • अरुण नदीमा जीप खस्यो, तीन जना घाइते

    अरुण नदीमा जीप खस्यो, तीन जना घाइते

    १५ वैशाख, खाँदबारी । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् । प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८ सूर्तिवारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताए । गाडी नदीमा डुबेकाले झिक्ने अवस्था नरहेको र घाइते तीनै जनाको उद्धार गरेर मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको उनले जानकारी दिए ।

  • खुम्बु क्षेत्रमा भारी हिमपात, पर्वतारोही र स्थानीय प्रभावित

    खुम्बु क्षेत्रमा भारी हिमपात, पर्वतारोही र स्थानीय प्रभावित

    १५ वैशाख, सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । खुम्बु क्षेत्रमा रहनुभएका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन् । उनले भने, “हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन ।”

    स्थानीयवासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको बताए । यसैबीच सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन् ।

    “उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियोे । त्यसपछि सम्पर्कमा आउनुभएको छैन,” उनले भने, हिमपातका कारण खोजी गर्न समस्या भएको छ । हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरु आधार शिविरमै रोकिएका छन् । प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ ।

  • तरबूजा खेती गरेरै जीविका चलाउँँदै कन्चनपुरका दुई सय परिवार

    तरबूजा खेती गरेरै जीविका चलाउँँदै कन्चनपुरका दुई सय परिवार

    १५ वैशाख, कञ्चनपुर । कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका छन् । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पर्दथ्यो”, उउनले भने, “हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।”

    बगरमा तरबूजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् । एक परिवारलाई भागमा चार कठ्ठादेखि पाँच कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताए । भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

    बगरमा माघको पहिलो हप्तादेखि तरबूजा, लौका, काँक्रा रोप्ने गरिन्छ । “फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ”, लालु चौधरीले भने, “तरबूजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ ।” बगरमा उत्पादित लौका, काँक्रा, तरबूजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जङ्गली जनावरले हरानी दिने गरेको लालुले बताए । उनीहरु माघदेखि नै झोपडी बनाएर बगरमा बस्ने गरेका छन् । “बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकवार निर्माण गर्नमै दिन बित्ने गरेका छन्”, अर्का स्थानीय छल्ली चौधरीले भने, “रातिका बेला जङ्गली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन रखवारी गर्नुपर्ने हुन्छ ।”

    अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । अरु किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने उनीहरु बताउँछन् । भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन् ।
    बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरी बताउँछन् । “१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ”, उनले भने, “सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ ।” स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छन् ।

  • चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    १५ वैशाख, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए ।

    सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।

  • कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

    कास्कीमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

    १५ वैशाख, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

    घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताए । उनले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।” नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

  • आरोहीको भीडले गुलजार सगरमाथा आधारशिविर

    आरोहीको भीडले गुलजार सगरमाथा आधारशिविर

    सिबी अधिकारी/रासस

    १५ वैशाख, काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट) उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।

    “सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्”, सगरमाथा आधार शिविरमा रहनुभएका पर्वतारोही लाक्पा शेर्पाले भने, “आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।” ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१आँै आरोहणका लागि सगरमाथा पुगेका छन् । आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ ।

    समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधार शिविरमा छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताए ।
    सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताउँछन् । “सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको छ”, उनले भने । केही दिनयता सामाजिक सञ्जालमा चाँदी झैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बीर र सुन्दरगाउँको भझल्को दिने सगरमाथा आधारशिविरले संसारको ध्यान खिचेको छ । यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ ।

    file


    लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउँछन् । “वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आइरहेका आरोहीले नयाँ माहोल बनेको छ, यसले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ”, उनले भने ।

    सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए । यो सिजनमा सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् ।

    सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपीसिसी) ले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अबको साता, १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ । आरोहण अनुमति लिएका आरोही झण्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् ।

    सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन् । अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् । वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ । पर्यटन विभागका अनुसार आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् ।

    विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिनुभयो । त्यसमध्ये ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।

    सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् । यो सिजनमा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्किएका छन् । सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँनयाँ कीर्तिमान थपिने क्रम जारी छ ।

  • उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?

    उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?

    १५ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

    पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

    १५ वैशाख, तानसेन । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् । घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रमुख प्रतिपक्षी दल माओवादीले भन्यो : शिक्षकका समस्या समाधान गर

    प्रमुख प्रतिपक्षी दल माओवादीले भन्यो : शिक्षकका समस्या समाधान गर

    १५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ । उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय भएको बताए ।


    “शिक्षकमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ । यो कार्य सरकारको विवेकशून्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लङ्घन हो”, विज्ञप्तिमा भनिएको छ । उपाध्यक्ष सापकोटाले शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ताका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्न आग्रह गरे ।

    शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन माग गर्दै प्रवक्ता सापकोटाले प्रदर्शनका क्रममा गम्भीर घाइते शिक्षक एवम् सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

  • तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

    तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

    १४ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    “सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठकमा यस्तो बताएका थिए । उनलाई उदृत गर्दै सञ्चारमाध्यमले समाचार लेखेका थिए ।

  • पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

    पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

    १४ वैशाख, इश्लामावाद । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारीलाई सेनाले मारेको पाकिस्तान सेनाले आइतबार जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो ।

    सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतङ्ककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, “यस्तो संवेदनशील समयमा भारतले पाकिस्तानमाथि बिना आधार आरोप लगाइरहेका बेला यस्ता क्रियाकलापले स्पष्ट सङ्केत गर्छ कि ती सशस्त्र समूहहरू कसको प्रभावमा सञ्चालित छन् ।”

    पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार गरिँदै आएको छ । यता, भारतले अप्रिल २२ मा कश्मीरमा भएको एक भीषण आक्रमणपछि पाकिस्तानमाथि सीमापार आतङ्कवादको आरोप लगाएको छ, जुन पाकिस्तानले खारेज गरेको छ । पाकिस्तानी सेनाले उक्त कारबाहीमा ठूलो मात्रामा हतियार, विस्फोटक सामग्री तथा गोलीबारुदसमेत बरामद गरिएको जानकारी दिएको छ ।

    शनिबार पनि सोही प्रान्तमा भएको भिडन्तमा १५ जना सशस्त्र व्यक्ति मारिएको तथा दुई जना सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ । गृहमन्त्री मोहसिन नकवीले आइतबार लाहोरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “विदेशी शक्तिहरूको निर्देशनमा यी तत्वहरू पाकिस्तान प्रवेश गर्न प्रयास गरिरहेका थिए, जसलाई सुरक्षाबलले तीनवटै दिशाबाट घेरेर कारबाही गरे ।”

    उनले थपे, “हालसम्मको सुरक्षाप्रक्रियामा यो सबैभन्दा ठूलो सफलता हो, यसअघि यति ठूलो सङ्ख्यामा तत्वहरू समाप्त पारिएको थिएन ।” पाकिस्तानी सरकारले अफगान सरकारलाई आतङ्कवादी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।

  • खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

    खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

    १४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ ।

    अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ रु पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ । चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९ लाख, निर्वाचन आयोगले रु दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो ।

    पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ । एमसिए–नेपालले रु दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिनुभयो । पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले रु ३० करोड र महालेखा परीक्षकको कार्यालयले रु एक करोड ६१ लाख फिर्ता गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ ।

    गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसिए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ । चालु आर्थिक वर्षका लागि एमसिए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो ।

    उक्त रकममध्ये रु नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो । तर एमसिए–नेपालले बजेट खर्च नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ ।

    चालु आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसिए नेपालको खर्च निकै कमजोर थियो । एमसिए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो । एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो । विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो ।

  • दुर्गा प्रसाई र रवीन्द्र मिश्रलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    दुर्गा प्रसाई र रवीन्द्र मिश्रलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    १४ वैशाख, काठमाडौं । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भने २० दिनको म्याद मागेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो । गत चैत १५ गते भएको उक्त घटनामा पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । घटनामा ८५ जनालाई पक्राउ गरिएकामा २१ जना हाजिर जमानीमा छुटेका छन् भने ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।

    तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो लगाउने र तोडफोड गर्ने कामसमेत भएको थियो ।

  • राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    १४ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बाहक बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते मगरातीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा सप्तकोशी–१ की २१ वर्षीया सुवेता दाहाल, सोही स्थानकी २६ वर्षीया चेतना भट्टाई, झापाका मनोज भट्टराई, सोही स्थानकी मिना भट्टराई, उदयपुरको चौडण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, नाम नखुलेका एक पुरुष गरी २९ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कञ्चनरुप–१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • बेडरुमसम्म विचौलियाको पहुँच रहेको पुष्टी गर्न गगनलाई प्रधानमन्त्रीको चुनौती

    बेडरुमसम्म विचौलियाको पहुँच रहेको पुष्टी गर्न गगनलाई प्रधानमन्त्रीको चुनौती

    १४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाएको बताए । यसअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको सार्वजनिक भाषणमै बताएका थिए ।

    प्रधानमन्त्री ओलीले देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । उनले भने, एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको उनको भनाई छ । पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुुझाव दिए । “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन”, उनले भने ।

  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    १४ वैशाख, काठमाडौं । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरु ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचितछन् । मह जोडीका रुपमा उनीहरुको सहकार्य आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उहाँहरू दुईको इमान्दारिताको उदाहरण हो ।

    यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हावी हुन् दिएनन् । फलतः सहकार्यको झण्डै आधा शताब्दी कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न मह जोडी सफल भएको देखिन्छ । यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रुपमा बुझेका छन् ।

    किनकी कलाकारिताको दौरान उनीहरुले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए । “हामीले रङ्गमञ्चमा प्रहना गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृङ्खला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रुपमा उपलब्ध गराएका छौँ”, अभिनेता आचार्यले रासससँग भने ।


    उनले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । “दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधँै सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो । हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहले आरिस राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरह्यौँ”, अभिनेता आचार्यले भने ।

    यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए । उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् । उनले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन् नदिएको बताए । उनले भने, “हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काअम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमान्दारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रुपमा यात्रा तय गर्न सकेका हौँ ।”

    उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’ मा काम गरेका थिए । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसकेका छन् । यस्तै अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन् । छुट्टिएर चलचित्रको छायाङ्कन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ ।

    “मलाई हरिजी खोइ भनेर सोध्नु भयो भने यही त छन् नी, म भित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन चलचित्रको छायाङ्कनमा पनि सोधिरहनु हुन्छ”, अभिनेता श्रेष्ठले भने । उनीहरुले दुई जनाको कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्य झैँ देखिन्छन् । सामान्य सहयोगीका रुपमा शृङ्खलामा काम गर्न जोडिएका निर्देशक भट्टराईले धेरै शृङ्खलामा मुख्यसहायक निर्देशक र केही शृङ्खलामा निर्देशक नै भएर काम गरे । चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा मह जोडीलाई निर्देशक भट्टराईले निर्देशन गरे ।


    “उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनहुन्छ । उहाँहरुको कर्म जस्तो छ, व्यवहार पनि त्यस्तै छ । मलाई त कर्म सिकाउने गुरू नै उहाँहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रुपमा माया गर्नुहुन्छ”, निर्देशक भट्टराईले भने । मह जोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देखेका छन् । टेली शृङ्खलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो । र, उहाँले मह जोडीलाई ‘दुईमै एक र एकमै दुई’ देख्नुभएको छ । जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ । त्यसकारण मह जोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उनको छ ।

    ्उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ । कथा पनि सोचिरहेको छु, किनकी उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन । त्यसकारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शक झैँ खुसी हुन्छु”, निर्देशक भट्टराईले भने । हास्य कलाकारका रुपमा चिनिनुभएका मह जोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहेका छन् । अभिनेता आचार्यले अभिनय गर्नुभएको ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ । ‘बलिदान’ पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत भएका छन् । यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा उनीहरु हास्य कलाकारका रुपमा बढी प्रस्तुत भएको निर्देशक भट्टराईले बताउँछन् ।


    “उहाँ दुई नै पूर्ण कलाकार हुनुहुन्छ । हामीले शृङ्खलामै केही फरक र भिन्न काम गरेका छौँ । मैले उहाँहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रुपमा प्रस्तुत गरेँ । अहिले दर्शकले पनि विस्तारै बुझ्दै हुनहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्नसक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ”, निर्देशक भट्टराईले भने । गत वर्षमात्र मह जोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उहाँहरू हुनुहुन्छ । छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमान्दारिता र सम्मान नै हो ।

  • हिंसात्मक बन्यो शिक्षक आन्दोलन, झडपमा २६ घाइते

    हिंसात्मक बन्यो शिक्षक आन्दोलन, झडपमा २६ घाइते

    १४ वैशाख, काठमाडौं । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो ।

    सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो । सरकार शिक्षकको आन्दोलनप्रंति गम्भीर नभएको भन्दै आलोचना भइरहेको छ ।

  • इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

    इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

    १४ वैशाख, काठमाडौं । ईरानको दक्षिणी भागमा रहेको शाहिद राजीमा बन्दरगाहमा शनिबार भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा चार जनाको ज्यान गएको र पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको ईरानी सञ्चार माध्यमहरूले जनाएका छन् । विस्फोटको कारण यकिन भइनसकेको भए पनि बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट यो घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    घटनास्थलमा उद्धार तथा आगो नियन्त्रण कार्य जारी छ । राष्ट्रपति मसउद पेसेश्कियानले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् । सुरक्षात्मक दृष्टिले बन्दरगाह क्षेत्र खाली गराइएको र घाइतेहरूलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा उपचारको लागि स्थानान्तरण गरिएको छ ।

  • मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

    मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

    १४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको समेत उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।