काठमाडौं । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने जानकारी दिएका छन् । उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताए ।
उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिए । कुराकानीको क्रममा उनीहरुले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गरे जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत भएको क्रेमलिनले उल्लेख गरे । रासस,सिन्ह्वा
काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) स्ववियु चुनावमा नेविसंघको विद्रोही समूहको प्यानल विजयी भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।
सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ । पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी थियो ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए । उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीकी प्रजिता दर्नाल सभापतिको उम्मेदवार थिइन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार थिए ।
उनीहरु सबैलाई भुपीको प्यानलले हरायो । पद्मकन्यामा नेविसंघको दबदबा छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा पीकेको स्ववियु अध्यक्ष जितेकी थिइन् ।
काठमाडौं । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले अभ्यासका रुपमा यो खेलमा भाग लिन लागेको हो । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले नवनियुक्त प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । त्यसका लागि आफू निकै उत्साहित रहेको उनले बताएका थिए ।
मुख्य प्रशिक्षक रोसको लागि सिंगापुर विरुद्धको खेल ऐतिहासिक हुनेछ । किनकी उनी कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् । उनले सिंगापुर जानुअघि नै आफ्नो सपना पूरा हुने बताएका थिए । नेपालले ३६ वर्ष पछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो । यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार भेटमा नेपाल जितविहिन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो ।
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सो क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने सो दलले जनाएको छ । चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।
प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ । आज महासचिव पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।
एमाले केन्द्रीय सचिवालयको चैत ४ गते बसेको ४६ औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर रूपमा छलफलगरी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।
महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिनुभयो । महासचिव पोखरेलले पञ्चायतकालीन र लोकतन्त्रको अबधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराए ।
सो क्रममा उनले पञ्चायतको अन्त्यपछि कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे । ‘केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहाहुहु गरेको भरमा हुन्छ भन्ने,’ ओलीले भने, ‘नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् ।’ अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने प्रश्न रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्र कहाँ बच्यो ? ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ?’ जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरू पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्दाको तस्वीर साझा गर्दै गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् । कोइरालाको १५औं स्मृति दिवसको अवसरमा सम्मान प्रकट गर्दै प्रचण्डले कोइरालासँगको तस्वीर साझा गरेका हुन् ।
‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । १ फागुन २०५२ देखि चलेको १० वर्षको सशस्त्र संघर्षलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गर्ने क्रममा कोइरालासँग ऐतिहासिक सहकार्य गरेका प्रचण्डले उनले दिएका सुझाव कहिल्यै नबिर्सने बताएका छन् ।
‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन,’ प्रचण्डले लेखेका छन् । ‘त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’
५ मंसिर २०६३ मा तत्कालीन प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भएर मुलुकले वर्तमान राजनीतिक उपलब्धि आर्जन गरेको हो ।
काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा परेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ को हालै सार्वजनिक रिपोर्टका अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ । विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ ।
डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ । एसियामा पाकिस्तान १०९औ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।
यता विश्वको खुशि राष्ट्रको दोस्रोमा डेनमार्क छ। त्यस्तै तेस्रोमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ । सकारात्मक सोच, नकारात्मक भावना र जीवनको मुल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको बुझाइ छ । आज बिहान सामाजिक सन्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ ।’
उनले थप लेखेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले स्ववियु निर्वाचनमा विजयी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गरेका छन् ।
देशभरका क्याम्पसमा भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । नयाँ नतिजा अनुसार अघिल्लो निर्वाचनको तुलनामा माओवादी निकट संगठनले अधिक क्याम्पसमा जित निकालेको छ । पहिलो नम्बरमा कांग्रेस निकट र दोस्रो नम्बरमा एमाले निकट संगठन छन् । एमाले निटक संगठनले अघिल्लो चुनावको तुलनामा धेरै क्याम्पस गुमाएको देखिएको छ ।
काठमाडौं । भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ । “भूमध्यसागरमा नयाँ डुङ्गा दुर्घटनामा अझै धेरैको मृत्यु भएको छ”, ट्युनिसियाबाट सोमबार ५६ जना बोकेर निस्केको डुङ्गा डुबेको उल्लेख गर्दै युएनएचसिआरका इटालीका प्रतिनिधि चियारा कार्डोलेट्टीले एक्समा भन्नुभयो, “केही घण्टाको यात्रापछि डुङ्गा बिग्रन र पानी लिन थाल्यो । छ वटा शव निकालिएको छ, ४० जना हराइरहेका छन् ।” इटालीका मिडिया रिपोर्टहरू अनुसार इटालीको तटरक्षक र वित्तीय प्रहरीले लाम्पिओन नामक सानो चट्टानी टापुबाट छ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकालेका थिए ।
उद्धार गरिएकाहरूले जहाज छोड्दा ५६ जना सवार रहेको तर क्षेत्रबाट केवल छ वटा शव(सबै पुरुष(मात्र भेटिएको बताएका छन् । एजिआई समाचार एजेन्सीका अनुसार बाँचेका व्यक्तिहरूले बेपत्ता भएका मध्ये केही समुद्रमा खसेको बताएका छन् । आप्रवासीहरू आइभोरी कोस्ट, माली, गाम्बिया र क्यामरुनका थिए ।
आप्रवासीहरूलाई उद्धार गरेपछि ट्युनिसियाको स्फ्याक्सबाट धातुको डुङ्गामा यात्रा गरेपछि ४० जना आप्रवासीको छुट्टै समूह लम्पेडुसामा अवतरण गरेको एएनएसए समाचार एजेन्सीले जनाएको छ । मङ्गलबार लामपेडुसामा कुल दुई सय १३ आप्रवासीसहित पाँच वटा अवतरण भएका थिए । यसले टापुको स्वागत केन्द्रमा रहेका मानिसहरूको कुल सङ्ख्या दुई सय ३० पुगेको छ । इटालीको गृह मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म आठ हजार सात सय ४३ आप्रवासी इटाली आइपुगेका छन् । यो गत वर्षको यही अवधिमा आइपुगेका सङ्ख्याभन्दा केही बढी हो । रासस-एएफपी
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ ।
परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्, जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।
जापानका लागि पनि उत्तरपुस्तिका पठाइसकिएको छ भने प्रश्नपत्र परीक्षाकै समयमा त्यहाँ रहेको नेपाली दूतावासमार्फत पठाइने छ । त्यहाँको परीक्षा सञ्चालन दूतावासमार्फत नै गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधारगृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको बताइन् ।
मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्दै स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यबाट मात्रै परीक्षा सफलतापूर्वक सम्पन्न हुने बताइन् । नियमविपरीत कार्य गर्ने जोकोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूसमेत जिम्मेवार हुनुपर्ने बताइन् ।
काठमाडाचैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने दावि गरे । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताए । सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ ।
२८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, उनले भने, हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।ु
नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ छ । उनले नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतलाई धन्यवाद दिनुपर्ने दोहोर्याए । यसअघि प्रतिनिधिसभामा पनि भारतलाई लोडसेडिङ अन्त्य गरिदिएकोमा धन्यवाद दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।
‘निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है, बरु यो धन्यवाद भारतलाई दिऔं, निजी क्षेत्रलाई दिऔं । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो,’ उनले भने ।
मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफामा रहेको भनी गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क थियो ।
काठमाडौं । संयुक्त राज्य अमेरिकाका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएका छन्। आफ्नो आदेशमा न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने जनाएका छन्। इलोन मस्कको द डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) ले अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न दिइएको उक्त आदेशविरुद्ध आफूले पुनरावेदन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्। अमेरिकी प्रसारक फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले छ्वाङजस्ता न्यायाधीशहरू अमेरिकाका लागि राम्रो नभएको टिप्पणी गरेका छन्।
गत हप्ता अमेरिकी विदेशमन्त्री मार्को रुबिओले विश्वभरि अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य र आपत्कालीन सहयोगसम्बन्धी ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्न लागिएको बताएका थिए। आफ्नो आदेशमा न्यायाधीश थिओडर छ्वाङले ट्रम्पका साझेदार मस्कको नेतृत्वमा रहेको डीओजीईले यूएसएआईडी बन्द गर्न गरिरहेको प्रयासले ूएकभन्दा बढी कोणबाटू अमेरिकी संविधानको उल्लङ्घन गरिरहेको हुन सक्ने उल्लेख गरे।
उनले उक्त निकायलाई कर्मचारीहरूलाई यूएसएआईडीको कम्प्युटरमा पहुँच दिन र बिदामा राखिएका कर्मचारीहरूलाई तलब उपलब्ध गराउन आदेश दिएका छन् ती न्यायाधीशले यूएसएआईडीका कर्मचारीहरूको बर्खास्ती रोकिनुपर्ने आदेश पनि दिएका छन्। तर उनले विगतमा बिदामा पठाइएका कर्मचारीहरूलाई पुनर्बहाली गरिनुपर्ने आदेश भने दिएनन्।
ज्यानुअरीमा ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेलगत्तै डीओजीईले यूएसएआईडीलाई निसाना बनाएको थियो। उक्त निकायले ९० दिनसम्मका लागि सबै अमेरिले दिँदै आएको वैदेशिक सहयोग स्थगित गर्न आदेश दिएको थियो। मस्क र डीओजीईले अदालतमा बुझाएका दस्तावेजमा मस्कको भूमिका सल्लाहकारको मात्र भएको उल्लेख गरिएको छ।
तर न्यायाधीश छ्वाङले मस्क र डीओजीईले यूएसएआईडीमाथि नियन्त्रण कायम गरेको र त्यसो गर्दा विभिन्न तरिकाले अमेरिकी संविधान उल्लङ्घन गरेको हुन सक्ने जनाएका छन्। ती कदमबाट मुद्दा दायर गर्ने पक्षहरूमात्रै नभई नागरिकको स्वार्थमा समेत क्षति पुगेको उनको आदेशमा उल्लेख छ। उक्त निर्णयको असर यूएसएआईडीको सञ्चालनमा कस्तो पर्छ स्पष्ट छैन। तर अमेरिकी अधिकारीहरूले उक्त निकायका ८० प्रतिशतभन्दा बढी गतिविधि रोकिएको जनाएका छन्।
अमेरिकी सरकारको निर्णयानुसार नेपालमा सञ्चालित कैयौँ परियोजनाहरू पनि प्रभावित भएका अधिकारीहरूले बताउँदै आएका छन्। नाम नखुलेका यूएसएआईडीका २६ कर्मचारीको तर्फबाट दायर गरिएको मुद्दामा उक्त निर्णय आएको हो। उनीहरूले अदालतमा मस्कले अनुमान गर्न सकिने र लापरबाहीपूर्वक अमेरिकी सरकारी निकायहरूलाई भङ्ग गरिरहेको आरोप लगाएका थिए।
फेब्रुअरी १३ मा दायर गरिएको मुद्दामा ती कर्मचारीका वकिलहरूले मस्कको शक्ति अवैधानिक भएको दाबी पनि गरेका थिए। उनीहरूले उनी औपचारिक रूपमा सरकारी पदमा मनोनीत नभएको र सिनेटले पनि उनको नियुक्ति अनुमोदन नगरेको भन्दै उनले नेतृत्व गरेको निकायको गतिविधि स्थगित गर्न र उल्टाउन माग गरेका थिए। बीबीसीको सहयोगमा
काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरूलाई पूर्णतयारी साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न कर्मचारीलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरूले संक्रमणकालीन रणनीतिहरूलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट बनाउँदा प्रस्ताव गरिेने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनुपर्नेमा जोड दिइएको छ । अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्छन् ।
यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन् । स्तरोन्नतिका मापदण्डमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचक, आर्थिक तथा वातावरणीय जोखिम सूचक लगायत छन् ।
स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनीयतामा वृद्धि लगायत प्रभाव पर्न सक्ने आकलन गरिएको छ । यसैगरी वस्तु निर्यात, मूल्य, रोजगारी लगायतमा पनि प्रभाव पर्न सक्ने आकलन गरिएको छ । नेपाल नोभेम्बर २०२६ मा अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ ।
काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।
नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशय आउने गरी विभिन्न प्रचार भइरहेका थिए । त्यसतर्फ इंगित गर्दै सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’
साथै, सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको प्रष्ट पारेको छ ।
‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले विज्ञिप्तिमा भनेको छ ।
नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाद्वारा आग्रह गरिएको छ ।
काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका ५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको मल्लले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको मल्ले जानकारी दिए ।
६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ९० मिनेट भन्दा लामो वार्ता भएको छ । उनीहरुबीच युद्ध रोक्नेबारे टेलिफोन वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले वार्ताको पुष्टी गरेको छ । उनीहरुले ९० मिनेटसम्म कुराकानी गरेका थिए ।
दुई नेताबीच युक्रेनी भूमीमा रहेका ऊर्जा केन्द्रहरुमा कम्तिमा ३० दिन आक्रमण नगर्ने सहमति समेत भएको बताइएको छ । ट्रम्पको यो सुझावमा पुटिनले सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ । १९ मार्चका दिन रुस र युक्रेनबीच १७५ जना युद्धबन्दी आदान प्रदान गर्ने सहमति समेत भएको छ । साथै गम्भीर रुपले घाइते २३ युक्रेनी सैनिक समेत रुसले युक्रेनलाई फिर्ता गर्ने भएको छ । उनीहरुको अहिले रुसमै उपचार भइरहेको छ ।
काठमाडौं । बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा (एसईई)मा जापानबाट २९ जना विद्यार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिनेछन् । नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको छ ।
टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपाली मिलेर स्थापना गरेको एभरेस्ट इन्टरनेशनल स्कुलमा विसं २०७७ सालबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ। उक्त विद्यालयबाट हालसम्म एसईई दिएका ८५ सबै जना विद्यार्थीले पहिलो प्रयासमै उत्तीर्ण गरेका छन्। नेपालमा बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षा जापानमा भने स्थानीय समयअनुसार ११ बजेबाट सञ्चालन हुन्छ।
अनलाइनबाट प्रश्नपत्र पठाइने भएको छ । जापानमा रहेको नेपाली राजदूतावासका राजदूत र कर्मचारीले अनुगमन र निरीक्षण गर्नेछन् । परीक्षा सम्पन्न भएपछि त्यहाँका उत्तरपुस्तिका लाहाछाप भएर नेपाल नै आउँछन् । नेपालमा सम्परीक्षण गरेर नतिजा प्रकाशित गरिन्छ । सन् २०१३ मा स्थापना भएको उक्त विद्यालयमा जापानमा रोजगारीका लागि पुगेका र व्यवसाय गरिरहेका नेपाली परिवारले आफ्ना सन्तान पढाउने गरेका छन् ।
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित गए राति एक जना ट्रक चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी ट्रक चालक र बरामद विदेशी मुद्राबारे जानकारी गराएको हो ।
प्रहरीका अनुसार ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुशाङ लामा (फुच्चे) हुन्। उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए। ट्रक उनको आमाको नाममा छ। उनले ट्रकमा विदेशी मुद्रा राख्नुअघि २० दिनदेखि रङ लगाउन ट्रक ग्यारेजमा राखेका थिए।
लामा सुन तस्करी आरोपमा पाँच वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि उनले ट्रक चलाउन थालेको देखिएको छ । चालक लामाले ट्रक रसुवागढीसम्म लगेर छाड्ने र रसुवाकै मानिस वा भिसाप्राप्त व्यक्तिको प्रयोग गरी त्यहाँबाट ट्रकलाई सीमा कटाएर केरूङसम्म पुर्याउने योजना बनाएको बताइएको छ । ‘उनले यतिका धेरै विदेशी मुद्रा कसरी संकलन गरे खुलिसकेको छैन ।
काठमाडौं । मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।
यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।
काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो । बारा जितपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाह आएको हो ।
२० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो । सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडक मार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने तेल आयात कम्पनीका पदाधिकारी बताउँछन् ।
सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गोमात्र आउने गरेको थियो । १६ असार २०८० देखि लुज कार्गो (कोइला) आउन थालेको थियो । अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु थालेको हो । यसले वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने देखिएको छ । ट्यांक कन्टेनर पूर्णरूपमा शिल भएर आउने भएकाले बाटोमा तेल चोरीका घटना नहुने जनाइएको छ । सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्याबाट समेत आयातकर्ताले छुट पाएका छन् ।
ट्यांक कन्टेनर सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुका साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा आउने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । कोइला र तेल व्यवस्थापन आफैंमा महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ । ‘हाम्रा बन्दरगाहहरूलाई क्षमता वृद्धि गरिरहेका छौं, आधुनिकीकरण गरिरहेका छौं,’ उनले भने ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुँदैछ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । ‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ ।
१५ दिनभित्र चुनाव गराउन भनेका छौं,’ त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले भनेका छन् । त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्समा चुनाव भएको थियो ।
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनको तयारी भइरहेका बेला त्रिविको चर्चित क्याम्पस रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार मध्यराति अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।
५ चैत, काठमाडौं । अछाम केन्द्र विन्दु भएर आज पश्चिम नेपालमा भूकम्प गएको छ । बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो ।
तर भूकम्पले क्षति पुर्याएरनपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए–नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा सानो क्षमताको भूकम्प निरन्तर गइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान आपत्तिजनक रहेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको प्रतिस्थापन विधेयक’माथिको दफावार छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् । गौतमले बाध्यता र अन्य कारणले बाहिर रहेका तथा आफ्नो जीवन चलाउने क्रममा गैरआवासीय भएका नेपालीलाई १० वर्ष फ्रि भिसा दिने व्यवस्था कुनै बहादुरीको काम नभएको जिकिर गरिन् ।
गैरआवासीय नेपालीको नाता देशसँग टुट्दा घाटा नेपाललाई नै हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘यसले कसैलाई फाइदा गर्दैन । उहाँहरूलाई देशसँगै जोड्नुपर्छ । देश राम्रो हुँदा फर्किने वातावरण हुन्छ । त्यसैले दूरी नबनाऔं ।’रेमिट्यान्स र लगानीका क्षेत्रमा नेपालीहरूको ठूलो हात रहेको भन्दै उनले गैरआवासीय नेपालीलाई भिसा दिने कुराले धेरैलाई चिढ्याउनसक्ने पनि जिकिर गरिन् ।
‘अर्को नेपालभन्दा बाहिरका नेपाली समुदायमा धेरै राजनीति भएको सुनिन्छ । अनि नेताहरू गैरआवासीय नेपालीहरूलाई फकाउन गएको पनि सुनिन्छ । देशमा राजनीति गर्न उहाँहरूलाई फकाउन जाने, अनि उहाँहरूलाई भिसा दिने कुराले झन् धेरै चिढ्याउँछ होला,’ गौतमले भनिन् ।
साथै, उनले भिसा निःशुल्क नभई आवश्यक प्रावधान चाहिँ राख्नुपर्ने तर्क गरिन् । ‘जोसँग एनआरएन नागरिकता छ, उहाँहरूलाई भिसा नै नहुने प्रावधान आवश्यक छ,’ उनले भनिन् । सरकारले विधेयकमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय नेपाली भिसा निःशुल्क उपलब्ध गराइने’ भनेको छ ।
सांसद गौतमले यसमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न भिसाको आवश्यकता पर्ने छैन’ भनेर संशोधन पनि राखेकी छिन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् । गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम दिन सकेको थिएन ।
संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए । आज छनोट समितिका अन्य दुई सदस्य डा। अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए । छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।
काठमाडौं । नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा थिए । प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । सरकारले पहिलो वरियतामा रहेका थापालाई आईजीपी बनाएको छ । भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए।
उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए । भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए ।
उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए । तर, तत्कालीन सरकारले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ ।
कुँवरको बिदाइ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा साँझ ५ बजे राखिएको छ । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् । प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे ।
पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे । ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।
काठमाडौं । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ । तत्कालीन शेख हसिनाको सरकारले भारतसँग पानी बाँडफाँट सन्धिमा हस्ताक्षर गरेकोमा आलोचना गर्ने फेसबुक पोस्ट प्रकाशित गरेको केही घण्टापछि बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (बुइट) का २१ वर्षीय विद्यार्थी अबरार फहादको हत्या भएको थियो ।
फहादलाई २५ विद्यार्थीको समूहद्वारा क्रिकेट ब्याटले करिब छ घण्टासम्म पिटिएको थियो । उनीहरू सबै बङ्गलादेश छात्र लिगका सदस्य थिए । बङ्गलादेश छात्र लिग पूर्व प्रधानमन्त्री हसिनाको राजनीतिक दल अवामी लिगको विद्यार्थी शाखा हो । गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिना अपदस्थ हुनुअघि विश्वविद्यालय परिसरमा आतङ्कको शासन सिर्जना गरेको आरोप उक्त विद्यार्थी शाखामाथि लगाइएको थियो ।
“म सन्तुष्ट छु । कानूनी प्रक्रिया चाँडै पुरा हुने र न्याय हुने मलाई आशा छ”, फहादका बुबा बरकत उल्लाले आइतबार अदालतले फैसला सुनाएपछि पत्रकारहरूलाई भन्नुभयो, “म आफ्ना छोराहरूलाई शीर्ष विश्वविद्यालयमा पठाउने अभिभावकहरूलाई दोष दिन चाहन्न, तर तिनीहरू खराब राजनीतिमा संलग्न भए । म अरूलाई हानिकारक गतिविधिहरूबाट टाढा रहन आग्रह गर्दछु ।”
फहादको हत्याले देशव्यापी विरोध प्रदर्शन निम्त्यायो । प्रदर्शनले हसिनालाई अपराधीहरूलाई उच्चतम सजाय दिने वाचा गर्न बाध्य तुल्याएको थियो ।
फैसला कार्यान्वयन गर्न उचित कानूनी प्रक्रिया अपनाइने महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले पत्रकारहरूलाई बताए । “बीसजनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय दिने तल्लो अदालतको फैसलाई उच्च अदालतले सदर गरेको छ”, असदुज्जमानले भने, “दोषीहरूलाई फैसलाविरुद्ध अपील गर्न अनुमति दिइनेछ र अदालतले सुनिश्चित गरेका सबै अधिकारहरू प्राप्त हुनेछन् ।”
समूहका प्रतिरक्षा वकिलहरू मध्ये एक सैयद मिझानुर रहमानले भने, “हामी फैसलाविरुद्ध अपिल गर्नेछौँ ।” मृत्युदण्डको सजाय सुनाइएका २० जनामध्ये चार जना अझै फरार छन् । फहादको हत्यामा दोषी ठहर भएका तीमध्ये एक मुन्तासिर अल जेमी अगस्ट ६ मा उच्च सुरक्षा जेलको पर्खाल तोडेर भागेका थिए । बङ्गलादेशमा मृत्युदण्डको सजाय सामान्य छ । यहाँ सयौँ मानिस मृत्युदण्डको लाइनमा छन् । सबै मृत्युदण्ड झुण्ड्याएर दिइन्छ । यो बेलायती औपनिवेशिक शासनको विरासत हो । रासस, एएफपी
४ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी सुन्दर शहर बैंककमा सम्पन्न भएको छ । सम्मेलन शनिबार र आइतबार चलेको हो । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेका थिए । सम्मेलनमा ३५ भन्दा बढी देशबाट भौतिक एवम भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिको उपस्थिति थियो। गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओ सम्मेलनका विभिन्न सत्रमा छलफल पश्चात विभिन्न निष्कर्ष निकालेको छ ।
यस्ता छन् निष्कर्ष विदेशमा बस्ने नेपाली विभिन्न किसिमका छन्। अहिलेको संविधान ऐनले तीन पुस्तालाई मात्र कल्पना गरेको देखिन्छ। तर त्यो भन्दा बढी पुस्ता विदेशमा रहेका नेपालीलाई पनि सम्बोधन गर्न अनिवार्य भएको छ जो नेपाली मूलका विदेशी नागरिक हुन्। त्यसैले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्ने गरी व्यवस्था गरिदिन साथै गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधनको लागि सरकार समक्ष पहल अनुरोध अनुरोध गर्दछौं।
विदेशमा रहेको युवा तथा दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्न विभिन्न योजना बनाई विदेशमा रहेका नेपालीका सन्तानलाई नेपालसँग भावनात्मक, सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने कार्यक्रमहरू अघि बढाइनेछ र बौद्धिक सम्पत्तिलाई प्रबर्धन गर्दै नेपाली युवालाई नेपालमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न पहल गरिनेछ। विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन सरकारसँग अनुरोध गरिन्छ।
मातृभूमि नेपाल र गैरआवासीय नेपाली संघसँग बिदेशमा रहेका पिएनओ तथा दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई जोड्न सहयोग गर्ने जिम्मेवारी सहित दमकडा नमूना मा बि पाल्पाकी ओजस्वी आचार्य तथा थाईल्याण्ड निवासी पिएनओ खुसी कार्कीलाई एनआरएनए ब्राण्ड एम्बासडरका रूपमा घोषणा गर्ने यो सम्मेलन सर्वसम्मत निर्णय गर्दछ । गैरआवासीय नेपाली सघको बिधानको धारा १७.२ मा ब्यबस्था भएनुसार दोश्रो पुस्ता गैरआवासीय नेपाली संयोजकमा थाईल्याण्ड निवासी श्री बारामी राईलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गर्दछ।
एनआरएनएको प्रस्तावमा प्रत्येक बर्ष दुई जना नेपाली विद्यार्थीलाई एसियन इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराइने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ। ती दुई जना विद्यार्थीको छनोटमा पारदर्शिता अपनाउने घोषणा गर्दछौं र भविष्यमा पनि यस्ता अवसरहरूको खोजी गर्नेमा प्रतिबद्धता समेत जनाउँदछौँ ।
गैरआवासीय नेपाली नागरिकता जारी भईसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि सहजीकरण गरिदिनुहुन सरकारको ध्यानाकर्षण गराउँछौं। गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपाली सरह नै प्रयोग गर्न दिने क्रममा अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साविक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न लगायतका विषयमा सहज गरिदिनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयलाई परिपत्र गरिदिन र पैत्रिक सम्पत्ति आफ्नो नाममा ल्याउनको लागि सहजीकरण गरिदिन हुन सविनय अनुरोध गर्दछौं।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न प्रतिबद्ध छ। यसलाई साकार बनाउन विभिन्न एसियन राष्ट्रसंग सशक्त साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गर्दछौं।
बृहत एकताका लागि हदैसम्मको लचकता अपनाउने साथै संघको व्यापक हितका लागि सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै आगामी अक्टोबर ११ देखि १४ मा १२ औँ महाधिवेशन एवं विश्व सम्मेलन आयोजनाका लागि एकबद्ध भई काम गर्न आह्वान गर्दछौं।
अन्त्यमा, हामीले विभिन्न क्षेत्रहरूमा नेपाली मूलका विदेशी नागरिक० र दोस्रो पुस्ताका युवाहरूलाई समेट्यौं, उनीहरूमा ध्यान केन्द्रित गर्यौं, उनीहरूको सफलताको कथा सुनायौं जसले यो सम्मेलनलाइ महत्त्वपूर्ण ऐतिहासिक बनाएको छ । पीएनओ, गैरआवासीय नेपालीहरु र विश्वभरिका ८० लाख नेपालीलाई आपसी विश्वास, समझदारी, एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्ने अवसर प्रदान गर्ने दिशामा यो सम्मेलन फलदायी रहेको हाम्रो निष्कर्ष छ । यस सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, विज्ञहरू, सञ्चारकर्मी, प्रायोजक, आतिथ्य राष्ट्र एनसीसी थाईल्याण्ड, थाई नेपाली एसोसियसन, उद्घाटन शत्र आयोजना गरेकोमा तथा अन्य स्थानीय संघहरु, सामाजिक अभियन्ता तथा अग्रजहरु सहित सबै सरोकारवालाहरूलाई संघ हार्दिक आभार व्यक्त गर्दछ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने भएका छन्। थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज सम्मेलनमा एसियन इन्टरनेसनल युर्निभर्सिटीमा एमबिबिएस अध्ययनका लागि दुई जना नेपालीलाई अवसर पाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर एसएस देखकानोयले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्बन्धि सम्पूर्ण प्रक्रियामा एनसिसी किर्गिस्तानका अध्यक्ष किसान भण्डारीले विशेष भूमिका निर्वाह गरेका थिए। उनकै पहलमा एनआरएनए र युर्निभसिटीबीच सम्झौता भएको हो।
त्यस्तै, पाल्पाकी ओजस्वी आचार्यलाई एनआरएनए ब्रान्ड एम्बसेडर घोषणा गरिएको छ। पाल्पास्थित दमकडा नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आचार्य एनआरएनएद्वारा आयोजित अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताकी अतिथी वक्ता समेत हुन्। सानै उमेरमा विदेशमा बस्ने नेपालीहरूलाई नेपालसँग जोड्न योगदान गरेको भन्दै संघको तर्फबाट अध्यक्ष डा. केसीले उनलाई एनआरएनए ब्रान्ड एम्बसेडर घोषणा गरेका हुन्।
३ चैत, काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला भएर कुनै पनि प्रदर्शन गर्न नपाउने भन्दै मन्त्री निवास लगायत केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आइतबार जारी भएको विज्ञप्तिमा पुल्चोकस्थित पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र निषेधाज्ञा लगाइएको उल्लेख छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्यमुख्य प्रशासनिक केन्द्रमा भेला भई धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश ढकालले जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सोमबारदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेका हो।
काठमाडौं । प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवा सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआई मार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने छन् । यसले मुक्तिनाथ मन्दिर आउने भारतीय भक्तजनलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्ध थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
साथै, यो सेवाबाट क्रस बोर्डर ।सीमापार) डिजिटल भुक्तानी प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्ति उपस्थित थिए ।
राष्ट्र बैंक गभर्नर अधिकारीले भीम यूपीआई सेवा सुरुवातले डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानी सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधि प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए । उनले डिजिटल भुक्तानी प्रविधि नेपालभरि सर्वसुलभ बनाउने तथा वित्तीय पहुँच विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने उल्लेख गरे ।