Category: समाचार

  • कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

    कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ

    काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं। १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच पुरानो रिसिइबीलाई झगडा हुँदा सो घटना घटेको थियो ।

    दोलखा जिल्लाको साविक भेड्पु गाविस हाल मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७ बस्ने स्वस्तिका तामाङको छोरा वर्ष २३ को अबे तामाङलाई स्थायी घर पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा न. १० स्युचाटार बस्ने वर्ष २१ को आशिष श्रेष्ठसमेतका व्यक्तिले धारिलो हतियार तथा फलामको रड प्रहार गरि घाइते बनाएका थिए । निज तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

    सो घटनामा सङ्लग्न श्रेष्ठसहित २१ वर्षीय सुजन तामाङ, २७ वर्षीय राज अर्याल, २० वर्षीय डेनिलय विश्वकर्मा, २० वर्षीय निश्चल ब्लोन तामाङ, १९ वर्षीय सुशान श्रेष्ठ, २३ वर्षीय विनय आले मगर, २१ वर्षीय खेमराज बहादुर मगर, २२ वर्षीय रन्जित श्रेष्ठ, २० वर्षीय साङ्गे तामाङ, २५ वर्षीय अजित बुढाथोकी, २५ वर्षीय रोहित खड्का, २० वर्षीय प्रबिन झेडी, १९ वर्षीय गौतम कमर जोगी, २२ वर्षीय प्रवेश गुरुङ र २२ वर्षीय डेबिड घले पक्राउ परेका हुन् ।प्रहरीकाअनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

  • देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ

    देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुवा आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए ।

    ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ,’ सभापति देउवाले भने ।

  • सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

    सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब सरकारको विरोधमा गरिने कार्यक्रमहरूमा सहभागी हुने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’

    साथै रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको पनि विरोध गरेको छ।

    ‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ। संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।

    रास्वपाले वर्तमान सरकारको औचित्यसमेत समाप्त भएको बताएको छ। सभापति रवि लामिछानेको धरपकडपछि रास्वपा सरकारप्रति आक्रामक छ ।

  • राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

    राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिएको छ । सो पार्टीले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।
    मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो।

    लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा समर्थन गर्ने निर्णय भएको छ। ‘वैशाख ४ र ७ गतेबाट काठमाडौं केन्द्रीत कार्यक्रम निरन्तर अघि बढाएर राप्रपा पूर्ण रूपले आन्दोलनमा होमिने निर्णय गरेको छ, उनले भने। पछिल्लो समय दूर्गा प्रसाइले समेत राजावादी आन्दोलन उचालिरहेका छन् ।

  • कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण

    कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण

    काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर नियुक्ति दिएका नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

    शाक्यले मंगलबार राती प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरे । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो । यसअघि उनले नोभेम्बर २०२० देखि अगस्ट २०२१ सम्म उनले प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए ।

  • कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल

    कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति प्रतीकात्मक विरोध जनाएका छन्। रास्वपा सभापति लामिछानेले फेसबुक लाइभमार्फत् बिजुली निभाउँदै मैन बत्ती सल्काएर साङ्केतिक रूपमा कुलमान घिसिङ हटाउने निर्णयको विरोध जनाए । उनको यो शैली अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

    उनले आफ्नो फेसबुक पेजमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भनेर लेखेका छन्। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यो निर्णयको एमाले नेताहरुबाहेक समाजका सबै पक्षबाट व्यापक विरोध भइरहेको छ ।

  • एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

    एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै

    काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता दिएको छैन ।

    यो छनोटअघि नेपालले शुक्रबार सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलमा हराएको थियो । नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन्। उनले नेपालले तीन अंकका लागि खेल्ने बाहेक अरु नसोचेको बताए । उनले मलेसिया बलियो टोली भएको बताउँदै बराबरीमा पनि सन्तुष्ट हुन सकिने भए पनि नेपालको सोच जित मात्र भएको प्रतिक्रिया दिए।

    कप्तान किरण चेम्जोङले पनि मलेसियामा राम्रो खेल खेल्ने विश्वास गरेका छन्। नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।

    छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

  • कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

    कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो

    काठमाडौं । कालिमाटीमा ग्याङ फाइट भएको छ । जसमा एक युवकको ज्यान गएको छ । सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकी एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए ।

    घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

  • सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस

    सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् ।

    ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ।’ उनले दलका नेताप्रति भएका संकेत गर्दै भनेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो ?’ आजै सरकारले कुलमान घिसिङलाई पदबाट हटाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

  • कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद

    कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
    तर, सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक रहेको प्रचण्डको भनाइ छ ।

    उनले सामाजिक सञ्जालमार्फत निर्णयप्रति आपत्ति जनाउँदै लेखेका छन्, ‘आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’ सरकारले कुलमानमाथि लामो समयदेखि स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको प्रचण्डको भनाइ छ ।

    ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो,’ प्रचण्डले भनेका छन्, ‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो ।’

  • पदबाट हटाइए कुलमान

    पदबाट हटाइए कुलमान

    काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

    सरकारले कुलमानलाई हटाउने उद्देश्यले पटक पटक स्पष्टीकरण सोधेको थियो । सोही आधारमा उनलाई पदबाट हटाइएको बताइएको छ । सरकारको यो निर्णयको चौतर्फी आलोचना सुरु भएको छ । कुलमान नेपालमा लोडसेडिङ हटाउने मूख्य पात्र हुन् ।

  • सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

    सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

    काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ ।

    ‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए । उनले वर्षायाममा ‘रनअफ रिभर’ मा आधारित आयोजना पूर्ण रूपमा सञ्चालनमा गर्नुनपर्ने भएकाले उक्त समयमा ड्याममा पानी सञ्चित गरेर राख्ने र सुक्खायाम सुरू भएपछि पूर्ण क्षमतामा सञ्चालन गरिने जनाए ।

    अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेको र आवश्यकताका आधारमा चौबीसैँ घण्टा विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ । यस केन्द्रबाट चालु आव २०८१–८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०–८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।

  • नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

    नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

    काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ । यमसा रेमिट्यान्स (विप्रेषण) को ठूलो भूमिका रहेको समेत प्रतिवेदनमा छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरलाई खुला गर्ने नीतिगत कदममा प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

    प्रगतिबीच नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि देखिन्छ । सन् १९९६ देखि २०२३ अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भएको देखिएको छ । जुन दक्षिण एसियाका आठ राष्ट्रमध्ये छैटौँ स्थानमा पर्छ । निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीले नेपालको अर्थतन्त्र पछाडि धकेलेको समेत प्रतिवेदनको निष्कर्ष छ । गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको र आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

    ‘गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ, तर मुलुकको आर्थिक सम्भावना अझै पूर्णरूपमा उपयोग हुन सकेको छैन,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युत्को कुशलतापूर्ण उपयोग गर्ने र डिजिटलाइजेसन प्रवद्र्धन गर्नेजस्ता सुधार मार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रशस्त सम्भावना छ ।’

    नेपाल सरकारको १६औं योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोण प्रस्तुत गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बताए । यसले उत्पादकत्व र प्रतिस्पर्धी क्षमता विकास, मर्यादित तथा फलदायी रोजगारी, सामाजिक सुरक्षा तथा अल्पविकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने प्राथमिकता राखेको उनले बताए । हरेक पाँच वर्षमा तयार गरिने ‘नेपाल ः राष्ट्रगत आर्थिक परिदृश्य’ ले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गर्ने गर्छ । यसले नेपालको आर्थिक सम्भावना उजागर गर्न चार प्रमुख क्षेत्रमा नीतिगत सुधार सिफारिस गरेको छ । जसमा आप्रवासनबाट थप लाभ उठाउन सकिने उल्लेख छ ।

    व्यवस्थित र समावेशी संस्थागत प्रवासन प्रणालीले आप्रवासनबाट थप लाभ हासिल गर्न मद्दत गर्ने विश्व बैंकको भनाइ छ । राष्ट्रिय विकास, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण रणनीतिहरूसँग आप्रवासनलाई एकीकृत गर्दा यस प्रकारको प्रणालीतर्फ काम गर्ने मञ्च (प्लेटफर्म) प्रदान गर्ने समेत प्रतिवेदनमा उल्लेख छ । नीतिहरू दीर्घकालीन सिप विकास र श्रम गन्तव्य विविधीकरण ध्यानमा राख्दै सिपयुक्त श्रमिकहरूको प्रवासन लागत घटाउने र लाभ एवं सुरक्षा बढाउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

    त्यस्तै थप द्विपक्षीय सम्झौता गर्ने र तिनीहरूको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण हुने सुझाव दिइएको छ । विदेशबाट फर्कने श्रमिकहरूलाई आन्तरिक श्रम बजारमा पुनः समायोजन गर्न उद्यमशीलता प्रवद्र्धन, पुनर्तालिम, तथा पुनः सिप विकास कार्यक्रमहरू लागु गर्न समेत भनिएको छ । राष्ट्रिय विकास, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण रणनीतिहरूसँग आप्रवासनलाई एकीकृत गर्दा यस प्रकारको प्रणालीतर्फ काम गर्ने मञ्च (प्लेटफर्म) प्रदान गर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।
    निर्यात क्षमतामा सुधार गर्ने समेत सुझाव दिइएको छ ।

    मुख्य क्षेत्रहरूमा बजार प्रतिस्पर्धा सुधार तथा पूर्वाधार न्यूनता सम्बोधन गरेर निर्यात बढाउन सकिने उल्लेख छ । मुद्रास्फीतिको दबाब राम्रोसँग व्यवस्थापन गर्दा निर्यातकर्ताको मूल्य प्रतिस्पर्धात्मकता सम्बोधन गर्न सकिने छ । विप्रेषणलाई लगानी र व्यवसाय वृद्धिका लागि उपयोग गर्न मानिसहरूलाई प्रोत्साहित गरे मुद्रास्फीति बढ्ने क्रम सुस्त हुने समेत विश्व बैंकको भनाइ छ ।

    व्यवसायले आयातित वस्तुमा कर फिर्ता प्राप्तिको प्रणाली सरलीकरण र आयात कर कटौतीले निर्यातकर्तालाई थप निर्यातका लागि सहज बनाउने उल्लेख छ । नेपालले अल्पविकसित राष्ट्रका रूपमा प्राप्त गर्ने व्यापार सुविधा कटौती हुने अवस्था मध्यनजर गर्दै प्रतिवेदनले थप सुविधायुक्त व्यापार सम्झौता खोज्न सुझाव दिएको छ । त्यसैगरी जलविद्युत् सम्भावना उपयोगको अर्को सुझाव पनि दिइएको छ । जलविद्युत् विकासका लागि स्पष्ट वित्तीय रणनीति निर्माण गरी आवश्यक लगानी आकर्षित गर्न सकिने समेत प्रतिवेदनमा उल्लेख छ ।

    यस रणनीति अन्तर्गत स्थानीय बचतपत्र (बन्ड) बजार विकास तथा ठूला सार्वजनिक–निजी साझेदारी (पीपीपी) का बृहत परियोजनाका लागि प्रभावकारी ढाँचा निर्माण आवश्यक रहेको समेत बताइएको छ ।

    प्रशासनिक झन्झट घटाएर र इजाजत (लाइसेन्स) प्रक्रिया सरलीकरण गर्नुका साथै नियमन तथा कानुनी संरचना सशक्तीकरण गर्न सुझाव दिइएको छ । यसले नेपालको विद्युत् बजार संरचना सुधार गर्ने छ र थप लगानी आकर्षित गर्ने उल्लेख छ । डिजिटल क्षेत्र प्रवद्र्धन गर्न विश्व बैंकले सुझाव दिएको छ । नेपालको डिजिटल क्षेत्रमा तीव्र सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अबलम्बन र डिजिटल पूर्वाधार विकासले यस क्षेत्रको विकासलाई विस्तार गर्ने उल्लेख छ ।

    नेपालमा कम डिजिटल सिप एउटा प्रमुख चुनौतीका रूपमा रहेकाले विद्यालय पाठ्यक्रममा डिजिटल सिप समावेश गर्नुका साथै विभिन्न उमेर समूहका लागि र जनसांख्यिक विशेषताका आधारमा तालिम कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ ।

  • अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

    अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ । प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

    आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ ।“लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए ।

    घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए । लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि एल पासो लगिएको बताए । चार जना बिरामी उपचार गरेर डिस्चार्ज भइसकेका छन् । अन्य चार जनाको अवस्था भने अज्ञात छ । रासस

  • राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

    राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

    काठमाडौं । देशभर पूर्वराजाको सक्रियता र राजतन्त्रको मागमा प्रदर्शन हुँदै गएका छन् । यसै सन्दर्भमा प्रमुख तीन दलको बैठक आज बस्ने भएको छ । संक्रमणकालीन न्यायबारे छलफल गर्न भन्दै आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएको हो ।

    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने भएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

    गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा

    काठमाडौं । यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए ।

    नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे ।

  • काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो।

    दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५–२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो। साँझ ५ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

    दुर्घटनामा थप ९ जना घाइते भएका छन्। घाइतेहरूमा चितवनको कालिका नगरपालिका ७ की ६८ वर्षीया तारादेवी कुमाल, काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका छोरा ३० महिनाका दिव्यन पोखरेल, चितवनको भरतपुर महानगरपालिका ६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर ४ का ३७ वर्षीय मोहित गुरुङ, चितवनको कालिका नगरपालिका ७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई छिन्।

    उनीहरूको काठमाडौंकै ट्रमा सेन्टर, अन्नपूर्ण न्यूरो अस्पताल र मेड पोइन्टमा उपचार भइरहेको छ। माइक्रो चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका(१३ का ३० वर्षीय राजेश घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

    वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

    काठमाडौं । बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा आमउपभोक्ताको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बारा अमलेखगञ्ज तथा प्रसौनी र पर्सा वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिटो सक्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

    वीरगञ्ज क्षेत्रको विद्युत् माग तथा आपूर्ति व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन एवं सबस्टेसन महत्त्पूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमै काम सक्न आग्रह गरे ।

    पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्ति समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगञ्ज १३२र६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । अमलेखगञ्ज सबस्टेसनलाई आगामी जेठ दोस्रो साता ९मे २०२५० भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेका छन् ।

    पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ ।

    त्यस्तै हेटौंडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौंडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।

    ६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति स्रोत हुने भएपछि अमलेखगञ्ज सबस्टेसन सञ्चालनमा आई सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

    सबस्टेसनमा १३२र६६ केभी २०० एमभएि र ६६र११ केभी २० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर छन् ।

    प्रसौनी तथा वीरगञ्ज सबस्टेसन र उक्त सबस्टेसन जोड्ने २।८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । भूमिगत प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । सबस्टेसनमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचनाको काम जारी छ ।

    भारत र नेपालबीचको रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन र लुप आउट गरिने छ । उक्त सबस्टेसनबाट भूमिगत प्रसारण लाइनमार्फत वीरगञ्ज सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ । हाल वीरगञ्जमा चालु रहेको ६६–३३–११ केभी सबस्टेसन विस्तार गरी १३२ केभी बनाउन लागिएको हो ।

    सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएपछि वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेसन अन्तरआबद्ध हुने भएकाले विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने छ ।

    हाल बारा कलैया क्षेत्रमा पनि वीरगञ्ज सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएकोमा प्रसौनी सबस्टेसन सम्पन्न भएपछि त्यहीँबाट आपूर्ति दिइने छ । यसबाट वीरगञ्ज सबस्टेसनको भार पनि घट्ने छ । प्रसौनी सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ३३ केभी र ११ केभीका ५र५ वटा फिडर रहने व्यवस्था गरिएको छ ।

    बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक बनाउन लागिरहेको छ ।

    वीरगञ्ज क्षेत्रका उद्योगले १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माण अगाडि बढाइएको हो । वीरगञ्ज क्षेत्रमा बढ्दो औद्योगिक विद्युत् माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी अर्को प्रसारण लाइन र पोखरिया सबस्टेसन निर्माण अगाडि बढाइएको छ ।

    हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बारा निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइन रमौली हुँदै पोखरियामा पुर्‍याउने गरी अर्को आयोजना सुरु गरिएको छ ।

    प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुनेछ । निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छ । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । रमौली सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भइसकेको छ ।

    निजगढ सबस्टेसन भारतको आयात–निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ । सिमरास्थित विशेष अर्थिक क्षेत्र (सेज), डुमरवाना लगायत क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइन निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

  • बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

    बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु

    काठमाडौं । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए ।

    बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको उनले बताए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

  • काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

    काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शनिबार फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले संकास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो । उनीहरुले भन्सार छलीका भेप ल्याएको प्रहरीको भनाइ छ । भेपसहित उनीहरुलाई विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

  • इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड

    इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गरे ।

    ‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन,’ प्रचण्डले भने । उनले आगामी चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गरे । आफुले देशको हितमा काम गर्न खोज्दा भ्रष्टाचारी, नोकरशाही प्रवृत्तिका व्यक्तिले हटाएको उनले बताए ।

  • पूर्वराजा गोर्खा दरबारमा, के भने ?

    पूर्वराजा गोर्खा दरबारमा, के भने ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।

    ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भने । उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए । ‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।

    ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।
    शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे । पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

    इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ । गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।

  • ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

    ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत ती देशहरूबाट ५ लाख ३० हजार मानिसहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो।


    उनीहरूलाई कानुनी रूपमा अमेरिका बसाइसराइका निम्ति बाटो खोल्ने उद्देश्यले बसोबास अनुमति दिइएको थियो। उक्त कार्यक्रमलाई सीएचएनभी भनिन्छ र त्यसमा ुस्पोन्सरशीपु प्रक्रियाका माध्यमबाट मानिसहरूलाई अमेरिकामा बसोबास गर्न दिइएको थियो। ट्रम्पले कार्यभार सम्हालेपछि त्यो कार्यक्रमलाई रद्द गरिदिएका छन्। ती आप्रवासीमध्ये कतिले अन्तरिम परिस्थितिमा अमेरिकामा बस्नका लागि कानुनी बसोबासको अनुमति लिने सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन। बाइडनका पालामा सन् २०२२ मा उक्त कार्यक्रम सुरु भएको थियो।

    अन्य देशहरूमा विस्तार गर्नुअघि सुरुमा भेनेजुएलाका नागरिकका लागि त्यो लागु भएको थियो। उक्त कार्यक्रम अन्तर्गत आप्रवासी र उनीहरूका नजिकका पारिवारिक सदस्यलाई अमेरिकी स्पोन्सर भए दुई वर्षका लागि अमेरिकामा बस्ने अस्थायी आप्रवासन सुविधा दिइएको थियो। त्यसलाई परोल भनेर चिनिन्छ।
    बाइडन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पुर्‍याउने तर्क गरेको थियो।

    डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शुक्रवार पहिलेको प्रशासन आफ्नो उक्त लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ। उसले जारी गरेको विज्ञप्तिमा बाइडनका अधिकारीहरूले उनीहरू आप्रवासीेलाई अमेरिकी रोजगारीका निम्ति प्रतिस्पर्धाको अवसर दिए र अमेरिकी कामदार कटौती गरे र झूटा विवरण पेस गरिएको थाहा हुँदाहुँदै सरकारी कर्मचारीहरूलाई उक्त कार्यक्रमको जबरजस्ती प्रवर्द्धन गर्न लगाए अनि त्यसपछि उत्पन्न अराजकता र अपराधका लागि संसद्‌मा रिपब्लिकनलाई दोष दिए, भनिएको छ।

    यद्यपि फेडरल रजिस्टरमा जारी भएको ३५ पृष्ठको सूचनामा अमेरिकामा सीएचएनभीअन्तर्गत आएका र रहेका केहीलाई उनीहरूको मूल्याङ्कनका आधारमा बस्न अनुमति दिन सकिने उल्लेख छ। योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका २ लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ।
    बीबीसी

  • आइपीएलको १८ औं संस्करण आजबाट

    आइपीएलको १८ औं संस्करण आजबाट

    काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।
    उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय छ ।

    अभिनेत्री दिशा पटनी, गायिक श्रेया घोसाललगायतको प्रस्तुति रहनेछ । गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो उपाधि जितेको कोलकाताले पहिलो खेलदेखि नै विजयी सुरुवात गर्दै उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । त्यस्तै हालसम्म उपाधि जित्न नसकेको बेंगलुरु यसपटक नयाँ कप्तानको साथमा पहिलो उपाधि जित्ने लक्ष्यमा फेरि पनि रहनेछ ।

    सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् । त्यस्तै कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १(१ पटक उपाधि जितेका छन् ।

  • नेपाली फूटबल टोली मलेसिया पुग्यो

    नेपाली फूटबल टोली मलेसिया पुग्यो

    काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ । नेपालले शुक्रबार सिंगापुरलाई हराउँदै इतिहास रचेको थियो । मलेसियाविरुद्ध सोही लय कायम गर्ने लक्ष्य नेपालको छ ।

  • लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

    लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

    काठमाडौं । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलमा रहेको लक्ष्मी स्टिलले २३ करोड ७९ लाख रूपैयाँ बक्यौतामध्ये शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रूपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। लक्ष्मीले २८ किस्तामा बक्यौता तिर्ने छ।

    यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रूपैयाँ बुझाएको हो। सर्वोत्तमको बक्यौता ११ करोड ९६ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

  • ढल्केबर–बारा खण्डको प्रसारण लाइन निर्माण सकियो

    ढल्केबर–बारा खण्डको प्रसारण लाइन निर्माण सकियो

    काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषा ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुर सीमानामा पर्ने सरस्वती डाँडासम्मको १ सय किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । धनुषा ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १ सय ५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई गत असारदेखि सञ्चालनमा आइसकेको छ ।

    ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाह थप सहज बनाउन रौतहट चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जंगलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालन ९चार्ज० मा ल्याइएको छ । हाल चालु पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई उक्त स्थानमा ट्यापिङ गरी बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको हो ।

    घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको बताए । ‘हिउँदयाममा हाल देखिएको ऊर्जा अभाव समाधान गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ,’ घिसिङले भने, ‘यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी जस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझको पिक र राति चलाउन सकिन्छ, यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ ।’

    उनका अनुसार वर्षायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत् निर्यात परिमाण बढाउन सकिन्छ । साथै, हाल चालु १३२ केभी प्रसारण लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको छ । प्राधिकरणले मकवानपुर हेटौंडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन स्तरोन्नति ९तार फेर्ने० काम गरिरहेको छ । पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता बृद्धि गर्न हेटौंडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १ सय ३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तार बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागिएको हो ।

    यसमध्ये हेटौंडाबाट बारा पिलुवा सबस्टेसनसम्मको दुबै सर्किटको तार फेर्ने काम सम्पन्न भइसकेको छ । ढल्केबरबाट सर्लाही लालबन्दीसम्मको एउटा सर्किटको काम सम्पन्न भएको छ । स्थानीयको अवरोधका कारण लालबन्दीभन्दा अगाडि तार फेर्ने काम रोकिएको छ । तार फेर्न लाइन बन्द (सट डाउन) गर्नुपर्ने र यसले गर्दा त्यस क्षेत्रको विद्युत् आपूर्ति नै प्रभावित हुने भएकाले काम अगाडि बढ्न सकेको थिएन । अब ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएकाले उक्त लाइनबाट विद्युत प्रवाह गरी तार फेर्ने काम अगाडि बढाउन सकिने भएको हो ।

    अहिले पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४ सय मेगावाट प्रवाह हुन्छ । यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसन मार्फत भारततर्फ निर्यात गर्न सकिन्छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्मको २ सय ८८ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।

    प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १ सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा १ सय ५४ किलोमिटर दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ । यस खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका वडा १५, १६ तथा १७ स्थिति हटिया क्षेत्रका केही स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै करिब आठ वर्षदेखि निर्माणमा अवरोध गरिरहेका छन् । हटिया क्षेत्रमा १६ वटा र हेटौडा–११ स्थित थानाभर्‍याङमा २ वटा गरी १८ वटा टावर निर्माण गर्न बाँकी छ । बाँकी २ टावर निर्माणाधीन छन् ।

    आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत३ प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । विश्व बैंकको ऋण अवधि सकिएपछि बाँकी काम हाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।

  • पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

    पर्यटन बोर्ड र यूएनडीपीबीच ५० लाख डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

    काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) नामक नयाँ परियोजना सुरु गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र यूएनडीपीको एसिया र प्रशान्त क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा जोशी र योकोसुकाले सम्झौतापत्र आदान–प्रदान गरे । स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य सहित पर्यटन सेवा सुविधा सुधार, पर्यटन कार्यबललाई सिपमूलक तालिम र पर्यटन गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताए ।


    कुल ५० लाख अमेरिकी डलर लागत रहेको यो परियोजनामा पर्यटन बोर्ड र यूएनडीपी प्रत्येकले १५ लाख डलर योगदान गर्नेछन् । २० लाख डलर संयुक्त रूपमा परिचालन गरिने छ । यस परियोजनाले तीन वर्ष अवधि (२०२५–२०२८) मा २ हजार ५ सय दिगो रोजगारी सिर्जना गर्ने र ५ हजार जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । प्रमुख पर्यटन स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्ग निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसन प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिने परियोजनाको लक्ष्य छ ।

    पर्यटन बोर्डका सीईओ जोशीले यस परियोजनाले नेपालमा पर्यटन अनुभवलाई उन्नति गर्ने र स्थानीय समुदायलाई रोजगार तथा उद्यमशीलताका अवसर प्रदान गर्ने बताए । यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा यूएनडीपी जोडिन पाउँदा गर्व महसुस गरेको बताइन् ।

    परियोजनाले नेपालको १६औं योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेको प्राथमिकता ९२०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्‍याउनु र नेपाललाई विश्वभरिका यात्रुका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउनेलाई बल पुर्‍याउने बोर्डले जनाएको छ ।

    पर्यटन बोर्ड र यूएनडीपी–नेपालले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको दिगो पर्यटन मार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटीएलआरपी) ले कोभिड–१९ महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    यो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दै १ हजार ६ सय जनालाई रोजगार सिर्जना गरेको थियो । यो नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तन मार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ ।

  • सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

    सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलको मद्दतमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।

    त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन । सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए । एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।

    तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो ।
    नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।

  • भारतमा माओवादी सेना झडप, दुई दर्जन मारिए

    भारतमा माओवादी सेना झडप, दुई दर्जन मारिए

    काठमाडौं । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेख्नुभएको छ, “हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।” बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् । दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ । शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मोदी सरकार नक्सलवादीहरूविरुद्ध निर्मम दृष्टिकोणका साथ अगाडि बढिरहेको छ र आत्मसमर्पण नगर्ने नक्सलवादीहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाइरहेको छ ।”

    सन् १९६७ मा चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित सशस्त्र अभियान सुरु भएको क्षेत्रमा नक्सलवादी भनेर चिनिने विद्रोहीहरू लामो समयदेखि निरन्तर लड्दै आएका छन् । शाहले भारत सरकारले अर्को वर्षको मार्चको अन्त्यसम्ममा विद्रोहको अवशेषलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । गत वर्ष सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका थिए जसमध्ये अधिकांश छत्तीसगढमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

    भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया९पिटिआई० का अनुसार यस वर्ष अहिलेसम्म ८० भन्दा बढी माओवादी मारिएका छन् । माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ । भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रवेश गरको उक्त आन्दोलनले सन् २००० को दशकको सुरुसम्म शक्ति र सङ्ख्यामा वृद्धि गरेको थियो तर पछिल्ला दुई दशक यता यो आन्दोलन कमजोर देखिएको छ ।

    सन् २००० पछि नयाँ दिल्लीले ‘रेड करिडोर’ नामाकरण गरेको उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ गरेको छ । यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन् । गत जनवरीमा सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो । रासस-एएफपी