Category: समाचार

  • मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्न ताकेता

    मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्न ताकेता

    ३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो ।

    हाल चुहिएको सुरुङ मर्मत र सुधारको काम धमाधम भइरहेको छ । १ सय २ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एवं मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समिति अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसन अनुगमन भ्रमण गरी निर्माण प्रगतिबारे जानकारी लिएको छ । मध्यभोटकोशीबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोक बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

    प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी छ । ४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिने छ । उक्त लाइन २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

    कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।

    प्रसारण लाइन अन्तर्गत सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामसमेत टोलीले निरीक्षण गरेको थियो । हिउँदयामको विद्युत् भार व्यवस्थापन गर्न ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजना निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैं फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र अगाडि बढाउन निर्देशन दिए ।

    बाह्रबिसे नगरपालिका–५ स्थित मध्यभोटेकोशी आयोजनाको विद्युत्गृह स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो । बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । आयोजना अन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

  • चोरीका ल्यापटप र मोवाइलसहित चार पक्राउ

    चोरीका ल्यापटप र मोवाइलसहित चार पक्राउ


    काठमाडौं । चोरीका ल्यापटप र मोबाइलसहित चार युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा दैलेखको दुल्लु नगरपालिका–९ का ३४ वर्षीय भक्तबहादुर रोकाय, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २७ वर्षीय टेकबहादुर रावल, नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का २७ वर्षीय अनिल नेपा र गुल्मीको धुरकोट गाउँपालिका–५ का ३८ वर्षीय रन्जित कुँवर छन् ।

    यो समूहले ६ फागुनदेखि पटक पटक विभिन्न स्थानहरूबाट चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूबाट चोरीका ल्यापटप ६ थान र मोबाइल ५ थान बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • आफ्नो तस्वीर जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको विरोध, प्रहरीले छाड्यो

    आफ्नो तस्वीर जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको विरोध, प्रहरीले छाड्यो


    काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी सीडीओ स्किम श्रेष्ठले आज ४ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राप्रपा र नेकपा माओवादी केन्द्रलाई राखेर समन्वयात्मक बैठक राखेकी थिइन् ।

    बमको रिहाइका लागि राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा र नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक भीम पाख्रिन तथा नेता प्रेमबहादुर पुलामीबीच सहमति भएको राप्रपा सहकोषाध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

    उनले हेटौंडाको एक कार्यक्रममा शनिबार प्रचण्डको तस्वीर जलाएका थिए । उनले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्वीर जलाएका थिए । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको थियो ।

    उता, प्रचण्डले समेत सामाजिक सञ्जालबाट विरोधका विभिन्न शैली हुने भन्दै ती नेतालाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।

  • गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

    गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

    काठमाडौं । गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरायल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको बीबीसीले लेखेको छ । संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावमा जारी युद्धविरामको पहिलो चरण एप्रिल महिनाको बीचसम्म लम्ब्याउने उल्लेख छ।

    यसअघि ट्रम्पले अमेरिका गाजा स्ट्रिप आफ्नो अधीनमा लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी पुनर्वास गराउन इच्छुक रहेको बताएका थिए। इजरायलले दोस्रो चरणमा गाजाबाट आफ्नो फौज फिर्ता गर्ने यसअघिको सम्झौता कार्यान्वयन गर्न विलम्ब गरेको छ। उसले गाजामा जाने सहायता र विद्युत् आपूर्ति पनि काटिदिएको छ।

    हमास लडाकु समूहले बन्धक बनाएका मानिसहरूलाई यथाशीघ्र मुक्त गरिनुपर्ने इजरायलको अडान छ। हमासको नियन्त्रणमा रहेकामध्ये अझै २४ जना जीवित रहेको ठानिएको छ। उक्त लडाकु समूहले बन्धक बनाएका अन्य ३५ जना मारिएको ठानिएको छ। जीवित रहेकामध्ये र इजरायली दोहोरो नागरिकता भएका २१ वर्षे सैनिक एडन एलेक्जेन्डर पनि रहेको बताइएको छ। हमासको नियन्त्रणमै रहेका अन्य चार अमेरिकी नागरिकको मृत्यु भइसकेको विवरण आएका छन्।

    सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिएको ठानिएको छ। यद्यपि उनको अवस्था अज्ञात छ। पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा जोशीको नाम समावेश नभएपछि नेपाली अधिकारीहरूले दोस्रो चरणको युद्धविराममा उनलाई रिहा गराउने पहल भइरहेको बताउँदै आएका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए।

  • फागुनमा बढ्यो घरजग्गा कारोबार

    फागुनमा बढ्यो घरजग्गा कारोबार


    काठमाडौं । घरजग्गा कारोबारबाट फागुन महिनामा मात्र चार अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । देशभर घरजग्गा कारोबार विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन बढेको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागले जनाएको छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार संकलन भएको छ ।

    विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मंसिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व संकलन गरेको थियो ।

    मालपोत कार्यालय कलंकीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।

  • कार घरको भित्तामा ठोक्कियो, चालकको ज्यान गयो

    कार घरको भित्तामा ठोक्कियो, चालकको ज्यान गयो

    काठमाडौं । कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले अनियन्त्रित भएको गाडी सडकभन्दा करिब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको बताए । घरको भित्तामा ठोक्किएपछि गम्भीर घाइते भएका चालक रानाको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।
    शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।

    इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

  • समाजवादी मोर्चाको पत्रकार सम्मेलन, १५ चैतमा प्रदर्शनको तयारी

    समाजवादी मोर्चाको पत्रकार सम्मेलन, १५ चैतमा प्रदर्शनको तयारी

    काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको दावि गरेको छ ।
    देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले सो धारणा राखेको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

    मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ । ‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ,’ मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा ‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ’ उल्लेख छ ।

    मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

  • दरबार हत्याकाण्ड छानविनबारे  फेरी बोले प्रचण्ड

    दरबार हत्याकाण्ड छानविनबारे फेरी बोले प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए । ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’

    प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए । अहिलेको संविधानमा रहेको समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्यसहित चारवटै पार्टी मिलेर समाजवादी मोर्चा बनेको उनले बताए । प्रचण्डले सार्वभौम जनताले ल्याएको गणतन्त्रमाथि धावा बोल्न संविधानले नै रोकेको भन्दै त्यस्तै अवस्था ल्याउन खोजे जनताको सार्वभौमसत्ता कायम गराइराख्न चुप लागेर नबस्ने बताए ।

  • पूर्वविशिष्ट व्यक्तिको सुविधाका नामको वेथिति रोकौं : गगन

    पूर्वविशिष्ट व्यक्तिको सुविधाका नामको वेथिति रोकौं : गगन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् ।
    स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ ।

    ‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन थियो । तपाईंको छोरो कतारमा काम गरेर बडो दुःख गरेर यहाँ पैसा पठाउने । गाउँको अस्पतालमा डाक्टर पुर्याउन मुस्किल हुने । अनि, ठूला नेता उपचार गर्न जापान, अमेरिका जाने र सरकारले पैसा दिने हुँदै आएको थियो,’ थापाले भने, ‘म स्वास्थ्यमन्त्री भएका बेला विदेशमा गएर उपचार गर्ने विशिष्ट होस् या सामान्य जनता कसैले पनि पैसा नपाउने कानुनी व्यवस्था गरियो । त्यस्तै व्यवस्था पूर्वविशिष्टहरूलाई दिइने सुविधाको विषयमा पनि गर्न जरुरी छ ।’

    शनिबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले राज्यकोषबाट पैसा बाँड्न नभई पैसा वितरण रोक्ने कानुन बनाउनु पर्ने बताए । ‘अहिले सरकारले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ उनले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’

  • तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं ३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए ।

    एसपी बोहोराका अनुसार, उनीहरुलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ । अर्का घाइते रमेश तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरीले विमानस्थलको कार्गोभित्र फेला पारेको छ भने चालक फरार छन् ।

  • पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप

    पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप

    पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक ः भाइमारादेखि सुन तस्करसम्मको आरोप
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले पूर्वाराजालाई भाइमारा देखि सुन तस्करसम्म भन्न भ्याए । उनले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको समेत बताए ।

    २०६४ चैत २८ मा संविधान सभाको चुनाव भएको केही महिनापछि प्रचण्ड प्रधानमन्त्री बने पनि ९ महिना मात्रै शासन गरेका थिए। तत्कालीन प्रधान सेनापति रूकमाङ्गद कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपतिले रोकिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए।

    ‘मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्नेछ भनेको थिएँ। मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटि छानबिन गरेर माइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो,’ सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार भएको कार्यक्रममा उनले भने, ‘अहिले यिनीहरू चुरीफुरी गरेका छन्, धेरै नगरे हुन्छ।’

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्ष्य गर्दै धेरै मुर्खता नगर्न आग्रह गरेका छन्। ‘अर्को मुर्खता गरे भने जनता उदार हुँदैनन्, राजनीतिक दल पनि उदार हुँदैनन्,’ उनले भने।

    भयानक दरबार हत्याकाण्ड गर्ने मुख्य योजनाकार परिवारभित्रै रहेको दाबी पनि उनको थियो। उनले मूर्तिचोर, सुन तस्कर र वंशनाश गर्ने को हुन् भनेर नेपाली जनताले बुझेको पनि बताए। २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह परिवारको हत्या भएको थियो। पूर्वराजा शाह पोखराबाट गत आइतबार काठमाडौं आउँदा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईलगायतले स्वागत गरेका थिए।

  • दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

    दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

    काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

    सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको बताए ।

  • कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

    कैलालीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन् । शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन पसेका दुवै जना डुबेर बेपत्ता भएका थिए ।

    घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूको खोजतलास गरेको थियो । खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार

    नेपाली बजारमा सूनको मूल्यले राख्यो रेकर्ड, पुग्यो १ लाख ७४ हजार

    काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

    यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।

  • चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    काठमाडौं । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् ।

    भारतको असममा १९८९ सालमा जन्मिएका उनको बसाइँ चर्चित उपन्यास हो । ब्रह्मपुत्रको छेउछाउ बाट उनले सन् १९८६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए । उनका ुअतृप्त, प्रतिध्वनिहरु विस्मृतिको, असममा नेपाली भाषाको साह्रोगाह्रो, तीन दशक बीस अभिव्यक्ति लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।

    उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।


    क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको थियो । उपन्यासको कथामा फिल्म पनि बनिसकेको छ । ‘बसाइँ’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।

  • आज तराई मधेशमा होली, सार्वजनिक बिदा

    आज तराई मधेशमा होली, सार्वजनिक बिदा

    काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ ।

    हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ। तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

    पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

    हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

  • यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् ।

    यसअघि उनले अमेरिकामा प्रवेश गर्ने सबै स्टील र अल्मुनियममा २५ प्रतिशत भन्सार कर बढाएका थिए । त्यसको जवाफमा युरोपेली संघले १ अप्रिलदेखि लागू हुने गरी २८ अर्ब डलर बराबरका डुंगा, बर्बन ह्विस्की र मोटरसाइकल लगायतका अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । त्यसको प्रतिक्रियामा ट्रम्पले युरोपेली मदिरामा २ सय प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले ट्रम्प प्रशासनले चालेका कदमको ‘बलियो तर समानुपातिक’ जवाफ दिने बताएकी छन् । तर उनले युरोपेली संघ अमेरिकासँग ‘अर्थपूर्ण संवादमा संलग्न हुन तयार’ रहेको बताएकी छन् । ‘आयात शुल्क व्यवसायका लागि खराब छन् र उपभोक्ताहरूका लागि पनि खराब छन्,’ उनले भनेकी छन् ।

    आर्थिक अवरोधले रोजगारीलाई खतरामा पार्ने र मूल्यवृद्धि हुने उनको भनाइ छ । ‘कसैलाई पनि यसको आवश्यकता छैन, युरोपेली संघका लागि होस् वा अमेरिकाका लागि,’ उनले भनिन् । ट्रम्पले विदेशी सामानमा आयात शुल्क बढाउँदा अमेरिकी उत्पादनलाई बढावा मिल्ने र रोजगारी सुरक्षित हुने बताउँदै आएका छन् । तर आलोचकहरूले भने ट्रम्पका कदमले अमेरिकी उपभोक्ताहरू मूल्यवृद्धिको मारमा पर्ने बताएका छन् ।

  • पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

    पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

    काठमाडौं । दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ।

    पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएको दाबी गरेका छन्। बलोच लिबरेशन आर्मी (बीएलए)ले रेलमा आफूले आक्रमण गरेको दाबी गरेको छ। यद्यपि पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ।

    पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ समेत बिहीवार उक्त दक्षिण पश्चिमी प्रान्तको राजधानी क्वेटा पुगेर त्यहाँ घातक रेल हमलापछिको सुरक्षा अवस्थाको समीक्षा गरेका छन्। पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो।

    मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बीएलएका लडाकुले गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा करिब ४४० यात्रु सवार रहेको सैन्य प्रवक्ताले बताएका छन्। सेनाले उक्त क्षेत्रमा अन्य जोखिम भए नभएकोबारे जाँच गरिरहेको जनाएको छ।

    अङ्ग्रेजी पत्रिका ुडनुका अनुसार पाकिस्तानी सेनाले उक्त घटना अफगानिस्तानभित्र रहेका लडाकुहरूले गराएको आरोप लगाएको छ। पाकिस्तानको गुप्तचर निकायले आफूसँग उक्त आक्रमणका योजनाकारहरू अफगानिस्तानमा रहेको कुरा पुष्टि गर्ने ‘अकाट्य प्रमाणू रहेको जनाएको छ। पाकिस्तानी पक्षले तालिबानलाई आफ्ना ‘अन्तर्राष्ट्रिय उत्तरदायित्वू वहन गर्न आह्वान गरेको छ। पाकिस्तानले यसअघि आफ्नो भूमिमा भएका केही आक्रमणमा तालिबानको संलग्नता भएको आरोप लगाउने गरेको थियो।

    सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरूले बन्धकहरू समेत लिएर वरपरको पहाडी भूभागतिर गएको विवरण प्रकाशित गरेका छन्। आक्रमणका समयमा वरपरको क्षेत्रमा भागेका यात्रुहरूको खोजी भइरहेको पाकिस्तानी सेनाले जनाएको छ। कति यात्रुहरू सम्पर्कविहीन छन् भन्नेबारे स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।

  • भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

    भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

    काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ। बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका(७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएको भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

    घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका ५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्। उनीहरू सबैको मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।

  • परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

    परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् ।


    मन्त्री राणाले कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ रु नामक फरक–फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ । उनले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    कार्यक्रमका दौरानमा मन्त्री डा। राणाले भारतका विदेशमन्त्री डा. एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन् । राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार नयाँदिल्ली पुगेको उनको सचिवालयले जनाएको छ ।


    मन्त्री राणालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए ।

  • अक्टोबरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापकहरू प्रतिबद्ध

    अक्टोबरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापकहरू प्रतिबद्ध

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले शेष घले नेतृत्वको समितिलाई आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न सुझाव दिएका छन्। संघमा अहिले देखिएको असहज अवस्थालाई निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरूले सबै पक्षबाट हदैसम्मको लचकता अपनाउनुपर्ने बताएका छन्।

    शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारे पनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने उनीहरूले बताएका छन्। यसर्थ अक्टोबरमा महाधिवेशन गर्दा उपयुक्त हुने उनीहरूको निष्कर्ष छ। राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाइमा मात्रै सम्पन्न हुने र त्यो चुनाव नभई महाधिवेशन सम्भव नहुने उनीहरूको तर्क छ।

    गैरआवासीय नेपाली संघद्वारा मंगलबार भर्चुएल रूपमा गरिएको छलफललाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्बोधन गरेका थिए। उनले नेपाललाई समृद्ध बनाउन र संसारभरि छरिएर रहेका नेपालीहरूबीच भाइचारा बढाउन संस्था स्थापना गरिएको उल्लेख गरेका थिए। उनले सबैलाई आ–आफ्नो हठ त्यागेर सबै नेपालीलाई जोड्न साझा विचार लिएर अघि बढ्नुपर्ने धारणा राखे।

    ‘उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘वास्तविक एकताको महाधिवेशनमा म सहभागी हुन्छु। नेपालको समृद्धिको अभियानमा मेरो सधैं साथ रहन्छ।’ एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले २०२३–०२५ को लागि निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिलाई शुभकामना दिँदै गत साता परराष्ट्रमन्त्री आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताए। उनले सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानुपर्ने पनि बताए। उनले केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनुपर्नेमा सबै एकमत हुनुपर्ने समेत औंल्याए।

    एनआरएनएका पूर्वअध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्नुपर्ने बताए। उनले उच्चस्तरीय समिति एकताबद्ध बन्दा मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा नअल्झिन सुझाए। एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई सर्वोपरि राख्न पनि सुझाव दिए। एनआरएनएका संस्थापक सचिव भीम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने धारणा राखेका थिए।

    एनआरएनएका अध्यक्ष बद्री केसीले २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको स्मरण गरे। आफूले जहिले पनि कानुनतः काम गरेको र आगामी दिनमा पनि वैधानिक रूपमै अघि बढ्ने उनको जोड थियो। ‘सर्वोच्चको दोश्रो फैसलाले हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो। हामी एकताको लागि सधैं लचक छौं। सर्वोच्च अदालतको दुईवटै फैसलाको सम्मान गरेर जाऊँ’ उनले भने, ‘उच्चस्तरीय समितिले अनुगमन गरोस्। हामी तयार छौं। ११ औं कार्य समितिको वैधतामाथि कुनै प्रश्न छैन। निष्पक्ष चुनाव गर्न हामी तयार छौं।’

    उच्चस्तरीय समिति साझा र विश्वासको थलो बन्न योग्य भए आफू सम्पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले बताए। ‘हामी एकताका विरोधी होइनौं तर उच्चस्तरीय समिति सबैले विश्वास गर्न योग्य बन्नुपर्‍यो। सबै सदस्य त्यहाँ हुनुपर्‍यो। एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको छ,’ उनले भने। उनले पनि अक्टोबरमै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखे।

    कार्यक्रममा एनसिसीका अध्यक्षहरूले यही मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको बताएका थिए। उनीहरूले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफूहरूलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे।

    झन्डै साढे चार घन्टा चलेको छलफलको निष्कर्ष बुधबार सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालयलगायत नेपाल सरकारका सम्बद्ध निकायलाई बुझाउने तयारी छ। कार्यक्रममा ७ सय भन्दा बढी एनआरएनए अभियन्ता जोडिएका थिए।

  • पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

    पाकिस्तानमा रेल अपहरणमा परेकामध्ये ३ सयको उद्धार

    काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् । मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो ।

    रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना सैनिक पनि थिए । अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई गोली हानेर मारिदिएका बीबीसीले जनाएको छ । पाकिस्तानी सेनाले ३६ घण्टाको अपरेसनपछि सबै यात्रीहरुलाई सकुशल उद्धार गरिएको जनाएको छ । जति यात्रुहरुको मृत्यु भएको छ, ती अप्रेसन सुरु हुनुभन्दा अगाडि नै अपहरणकारीले मारेको सेनाका अधिकारीहरुको भनाइ छ ।

    पाकिस्तानका सञ्चार मन्त्री अत्ता तरारले रेलमा कूल ४४० यात्रु रहेका र सेनाले सावधानी एवम् कुशलतापूर्वक उद्धार गर्न सफल भएको बताएका छन् । सेनाको अप्रेसनको क्रममा यात्रीहरुलाई कुनै पनि क्षति नभएको उनले बताए । बीएलएले रेलका यात्रीहरु अपहरण गरी आफ्ना कार्यकर्ताहरुलाई ४८ घण्टाभित्र विनासर्त रिहा गर्न माग गरेको थियो । तर सरकारले उनीहरुका कुरा नसुनी सैनिक टोली परिचालन गरेको थियो ।

  • राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

    राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा अर्थात् होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् । होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरे ।

    ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

    राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि भएको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

    रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

  • आज फागु पूर्णिमा, पहाडी भेगमा होली खेलिँदै

    आज फागु पूर्णिमा, पहाडी भेगमा होली खेलिँदै

    काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

    होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

    यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

  • पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

    पाकिस्तानमा रेलमा बन्धक बनाएकामध्ये १९० जना मुक्त, २७ लडाकु मारिए

    काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १९० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। सैन्य अधिकारीहरूका अनुसार सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा कम्तीमा २७ लडाकुको मृत्यु भएको छ। यद्यपि बीबीसीले उक्त सूचना स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको लेखेको छ ।

    बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।
    उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि पहाडी भेगमा अवस्थित सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल नियन्त्रणमा लिएको दाबी गरेको थियो।

    उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बन्धकहरूलाई मुक्त गर्न सुरक्षा कारबाही जारी छ। सो अभियानमा सयौँ सुरक्षाकर्मीहरू परिचालित छन्। उनीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्। रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरू बाहिर गइसकेको विवरण प्रकाशित गरेका छन्।

    पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्। उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ। बीबीसीले क्वेटामा बुधवार काठका सयौँ शवपेटिका लगिएको देखेको छ। रेल्वेका एक अधिकारीका अनुसार ती शवपेटिका खाली छन् तर आक्रमणका बेला र कारबाहीका बेला मानिसहरूको मृत्यु भएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मगाइएको छ।


    स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो।

    उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ। गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो। बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो।

  • धेरैपछि काठमाडौंमा मध्यम वर्षा

    धेरैपछि काठमाडौंमा मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकामा धेरै पछि मध्यम खालको वर्षा भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति बागमती प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । ती स्थानमा मेघगर्जनसहित चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

    मौसमविदहरूका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ ।

    त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन । वर्षासँगै उपत्यकामा प्रदुषण घट्ने आशा गरिएको छ ।

  • विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

    विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराएका थिए । ७ अक्टोबर २०२३ मा पश्चिमी इजरायलमाथि आक्रमण गरेका हमास लडाकुले विपिनसहित इजरायली र अन्य मुलुकका दुई सय ५१ जनालाई बन्धक बनाएका थिए । इजरायल–हमासबीच युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा हमासले ३३ बन्दी रिहाइ गरिसकेको छ । हाल दोस्रो चरणको बन्दी आदानप्रदानको प्रक्रियामा दुवै पक्ष जुटेका छन् । यस्तोमा विपिनलाई दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा समावेश गराउन पहलका लागि प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

    टेलिफोन संवादको क्रममा प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्वपूर्ण भएको उल्लेख गरेको सचिवालयको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरेका छन् । वातावरणसम्बन्धी विश्व सम्मेलन ९कोप–२७० को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरे ।

    नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृंखलाको आयोजना गर्न लागेको हो । संवादका क्रममा संयुक्त राष्ट्रसंघका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो ।

  • प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

    प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई पुनः अगाडि बढाइएको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले सरकारले संविधान संशोधनको विषय अगाडि बढाएसँगै आफूहरूले संविधान सभामै राखेको एजेण्डलाई पुनः अगाडि सारेको बताए ।

    ‘अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ प्रचण्डले भने, ‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ।’

    जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उनले बताए । उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै उनले थपे, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ ।’

    प्रतिगामी तत्वहरू व्यवस्थामाथि धावा बोल्न खोज्दै रहेको पनि उनले बताए । भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेको भन्दै उनले अगाडि भनेका छन्, ‘सबैखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी हाम्रो हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’

    सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर राजावादीहरू समेत सलबलाएको उनले बताए । ‘इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेका छन् । यी हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गरिन्छ,’ उनले भने ।

  • अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

    अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

    काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस योजना अन्तर्गत करिब आधा कर्मचारी हट्ने भएका छन् । करिब २ हजार १०० कर्मचारी प्रभावित हुने र उनीहरुलाई २१ मार्चदेखि बिदामा पठाइने समाचारमा उल्लेख छ ।

    बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो । हाल अमेरिकी शिक्षा विभागमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरूका लागि वार्षिक बजेट करिब २३८ अर्ब डलर खर्च भइरहेको छ ।

    सन् १९७९ मा स्थापित यो विभागले सार्वजनिक विद्यालयहरूलाई कोष वितरण, विद्यार्थीलाई शैक्षिक कर्जा र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । तर, अमेरिकामा विद्यालयको सञ्चालन र पाठ्यक्रम निर्धारणको जिम्मा प्रदेश र स्थानीय सरकारको हुन्छ । संघीय शिक्षा विभागबाट विद्यालयहरूले जम्मा १३ प्रतिशत मात्र कोष प्राप्त गर्छन् ।