Category: समाचार

  • मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

    मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो

    काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरेका हुन्। ओझाले ४०७ मत प्राप्त गरेका छन। उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन्। सागरले ४२२ मत पाउँदा संस्थापनकी शान्ति लिम्बूले ३९१ मत पाएकी थिइन्।

    गएको जेठमा सागर थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने कमिटीमा लिम्बू संयोजक थिइन्। सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याएर विजयी बन्दा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन्। उपसचिवमा सन्तोष वान्तावाले ४९० मत पाएर विजयी भएका छन्। संस्थापनका इरजा लाल राजबंशीले ३११ मत पाएका छन्। उपसचिवमा उषा झा विजयी भएकी छन्। उनले ४१८ मत र संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाएकी छन्।

  • पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

    पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त

    काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।

    सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ‘कोटीहोमवाला गर्ने भन्ने नगरपालिका अनुमति नदिएर गर्न नदिने भन्ने विषयमा विवाद हुँदा नगर प्रहरीसँग झडप भएको हो,’ शर्माले भने ।

    नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय यसअघि गरेको थियो ।

  • ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

    ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता गर्न लागिएको जनाएको छ ।

    अघिल्लो शुक्रबार ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच भएको वार्तामा माहोल तात्तिएको थियो । यस दौरान ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नरहेको बताएका थिए । त्यसलगत्तै अमेरिकाले युक्रेनमा युद्ध सहायता रोक्ने घोषणा गरेको थियो । उता युक्रेन भने आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकासँग सम्बन्ध बिगार्ने पक्षमा छैन । रुसले युक्रेनमा फेब्रुअरी २०२२ मा पहिलो आक्रमण गरेको थियो । त्यसयता युद्ध जारी छ । युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ ।

  • सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

    सिरियामा भीषण लडाईं, दर्जनौं हताहत

    काठमाडौं । सिरियामा भीषण लडाईं जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको राजधानी दमस्कमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र पूर्व शासक बशर अल असद समर्थकबीच भीषण लडाईं जारी रहेको समाचारमा उल्लेख छ । देशको उत्तर–पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एयरवेश नजिक लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं मानिस मारिएको खबर आएको छ । असदको शासन डिसेम्बरमा पतन भएको थियो ।

  • बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु

    बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु

    काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट र‌ङ्गहरुको पर्व होली सुरु भएको छ ।
    फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

    आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

  • साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु

    साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
    द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।

    त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए । उनका अनुसार बिहानै प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो ।

    प्रहरीका अनुसार अस्पतालका चिकित्सकले आज बिहान ४ः३३ बजे मृत घोषणा गरेका थिए । अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।

  • नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल

    नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन् ।

    उनले संघीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्न जरुरी नरहेको बताए । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दामात्र संघीयताको अभ्यास बलियो हुने बताएका छन् । उनले तयारीमा रहेका आयोजनाहरूको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्त्वपूर्ण आयोजनाको तयारीमा ध्यान पुर्‍याउन पनि अनुरोध गरेका छन् ।

    अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्र खुला गर्ने धारणा व्यक्त गरेका छन् । अहिलेको संसदबाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ बजेट बनाउने बताएका छन् ।

    सहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरू थिए भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जामन्त्री दीपक खड्का, सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए ।

  • अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद

    अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् । एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे ।

    ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्,’ उनले भने । उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए ।

  • लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री

    लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री

    काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए ।

    ‘४ सय मेगावाट उहाँहरू (भारत)लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ,’ उनले भने । केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसिडङको अन्त्य एकजना व्यक्तिले मात्रै नगरेको बताए ।

    उनले भने, ‘उहाँ एक जना (कुलमान घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौं भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौं भन्न चाहेको हुँ ।’

    मन्त्री खड्काले शून्य अंक दिएको विषयमा पनि प्रष्ट पारे । ‘कार्यसम्पादन मूल्यांकन समयमै नबुझाएका कारण शून्य अंक दिइएको हो,’ उनले भने, ‘हामीले पटक–पटक माग्दा बेवास्ता गरिएको थियो, एकैपटक पुसमा उहाँ आफैंले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई दिनुभयो । यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?’

    उनले ‘घिसिङ कानुनभन्दा माथि छन्, कानुन लाग्दैन’ भन्ने हो भने संविधान लेख्नुपर्‍यो भन्दै जवाफ पनि फर्काए । यस्तै उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई काँधमा बोकेर नहिँड्न पनि सुझाव दिए । ‘एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा गाउँघरतिर भने जस्तै बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस्,’ मन्त्री खड्काले भने ।

    मन्त्री खड्काले कुलमानको विषयमा जति खोतल्यो उति नै भ्वाङ पर्ने पनि बताए । ‘सबैले राम्रो काम गर्नुभएको छ भन्नुभयो होला भनेर म पनि उहाँसँग खुसी नै थिएँ, उत्साहित नै थिएँ । तर, जति खोतल्यो उति भ्वाङ पर्छ,’ उनले भने । मन्त्री खड्काले राम्रो कामका लागि पुरस्कृत गर्न पनि आफू तयार भएको बताए ।

  • अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?

    अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?

    काठमाडौं । गत जनवरीमा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधवार पहिलो पटक अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिकी सपना नरोकिने बताए । संसद्‌मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्।

    उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त भाषण गरेका हुन्। उक्त भाषणका बेलाम विपक्षी डेमोक्र्याटहरूले चाहिँ ट्रम्पलाई उल्याएका थिए। आफ्नो १०० मिनेट लामो भाषणको सुरुवाततिरै ट्रम्पले आफ्ना अरबपति सल्लाहकार इलोन मस्कको नाम लिए। मस्क चाहिँ ग्यालरीमा बसेर उनको भाषण सुनिरहेका थिए।

    प्रविधि क्षेत्रका सर्वाधिक धनीमध्येका एक मस्क ट्रम्पले स्थापना गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीका हर्ताहर्ता हुन्। उक्त निकायले दशौँ हजार सङ्घीय कर्मचारीहरूलाई हटाएको छ भने अर्बौँ डलर वैदेशिक सहायतालाई रोकिदिएको छ। राष्ट्रपतिले मस्कको खर्च कटौती योजनाअनुसार हटाइएका योजना र कार्यक्रमको सूची पनि त्यहाँ सुनाएका थिए। त्यस बेला रिपब्लिकनहरू हाँसेका थिए।

    डेमोक्र्याटहरूले चाहिँ इलोनले चोर्छन् र झूट भन्दै चिच्याएका थिए। ट्रम्पले भाषण सुरु गरेको पाँच मिनटभित्रै टेक्ससबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि एआई ग्रीनलाई त्यहाँबाट सुरक्षाकर्मीले बाहिर निकाले। उनले सभामुखले राष्ट्रपति बोलिरहँदा अवरोध नगर्न र आफ्नो सिटमा बस्न दिएको आदेश पालन नगरेपछि बाहिर पठाइएको थियो। ह्वाइट हाउससहित अमेरिकाका दुवै सदनमा रिपब्लिकनहरूको कब्जा भएकाले डेमोक्र्याटहरू नेतृत्वविहीन जस्ता देखिएका छन्।

    उनले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत कर लगाएपछि उत्पन्न हुन सक्ने व्यापार युद्धको असरबारे पनि बोलेका छन्।
    तर उनले त्यसको खासै असर नहुने जस्तोगरी भाषण गरे। आफ्नो कर नीतिले अमेरिकालाई फेरि महान् र धनी बनाउने पुरानै कुरा ट्रम्पले आफ्नो भाषणमा दोहोर्‍याए।

    ट्रम्पले मतदाताहरूलाई उनी राष्ट्रपति बनेपछि मुद्रास्फीति कम हुने बताएका थिए। तर उनैका पालमा अण्डाको भाउ बढेपछि आलोचना भएको हो। तर भाषणमा उनले अण्डाको भाउ बढ्नुमा आफू जिम्मेवार नभएको बताए। ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडनले अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिएको आरोप लगाउँदै त्यसलाई लयमा फर्काउन आफूले काम गरिरहेको दाबी गरे।

  • निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

    निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

    काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल नजिकको स्थान, चन्द्रमाको उत्तरपूर्वी नजिकको भागमा मारे क्रिसियममा रहेको एक ज्वालामुखी विशेषतालाई लक्ष्य गरेको छ ।

    “ल्यान्डरले वास्तवमै राम्रोसँग व्यवहार गरेको छ”, ब्लु घोस्टका कार्यक्रम प्रबन्धक रे एलेन्सवर्थले अस्टिन, टेक्सासमा मिसन कन्ट्रोलबाट प्रत्यक्ष वेबकास्टमा भने, “हामीसँग कुनै ठूला विसङ्गतिहरू छैनन्, जुन अद्भुत छ ।”“हामी अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ, हामी अमेरिकालाई गर्वित तुल्याउँदैछौँ, हामी यो अमेरिकी नागरिकहरूका लागि गर्दैछौँ”, नासाकी कार्यवाहक निर्देशक जानेट पेट्रोले भने ।

    ‘घोस्ट राइडर्स इन द स्काई’ को उपनाम दिइएको यो मिशन पहिलो निजी चन्द्र अवतरणको एक वर्षभन्दा अलि बढी समयपछि आएको छ र यो आर्टेमिस कार्यक्रमलाई समर्थन गर्न र खर्च कम गर्न उद्योगसँगको नासा साझेदारीको हिस्सा हो । यो कार्यक्रमले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फिर्ता गर्ने लक्ष्य राखेको छ ।

    हिप्पोपोटामसको आकारको सुनौलो ल्यान्डर जनवरी १५ मा स्पेसएक्स फाल्कन ९ रकेटमा प्रक्षेपण गरिएको थियो र यसले बाटोमा पृथ्वी र चन्द्रमाको आश्चर्यजनक फुटेज खिचेको थियो । यसले मे महिनामा अवतरण प्रयास गर्ने जापानी कम्पनीको अवतरणकर्तासँग यात्रा साझा गरेको थियो । ब्लु घोस्टले १० वटा उपकरणहरू बोकेको छ । यसमा चन्द्र माटो विश्लेषक, विकिरण–सहिष्णु कम्प्युटर र चन्द्रमामा नेभिगेट गर्न विद्यमान ग्लोबल स्याटेलाइट नेभिगेसन प्रणाली प्रयोग गर्ने सम्भाव्यता परीक्षण गर्ने प्रयोग समावेश छ ।

    पूर्ण चन्द्र दिन ९१४ पृथ्वी दिन० का लागि सञ्चालन गर्न डिजाइन गरिएको ब्लु घोस्टले मार्च १४ मा पृथ्वीले चन्द्रमाको क्षितिजबाट सूर्यलाई रोकेको बेला पूर्ण ग्रहणको उच्च परिभाषा इमेजरी खिच्ने अपेक्षा गरिएको छ । मार्च १६ मा यसले चन्द्र सूर्यास्त रेकर्ड गर्नेछ । अपोलो अन्तरिक्ष यात्री युजिन सर्नानले पहिलो पटक दस्तावेज गरेको रहस्यमय चन्द्र क्षितिज चमक सिर्जना गर्दै यसले सौर्य प्रभावमा धुलो सतहभन्दा माथि कसरी उठ्छ भन्ने विषयमा अन्तर्दृष्टि प्रदान गर्नेछ । रासस, एएफपी

  • पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

    पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

    काठमाडौं । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ ।

    लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको छ । उनले भने ‘स्वीकृति प्राप्त हुनेबित्तिकै आफ्नै मातहतबाट सेवा सुरु गर्छौं । मार्च दोस्रो सातासम्म सबै प्रक्रिया पूरा हुने अपेक्षा राखेका छौं, कम्तीमा मार्च २० बाट सेवा दिन सक्नेछौं ।’

    राजदूतावास भवन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कार्यवाहक राजदूतसमेत रहेका नेपालले भने, ‘हामीले भारत, पाकिस्तान, बंगलादेशको दूतावास नजिकै सुविधाजनक स्थान खोजेका छौं।हालसम्म सम्झौतामा हस्ताक्षर भइसकेको छैन, तर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

    पोर्चुगलमा रहेका नेपालीहरूका लागि आफ्नै दूतावासबाट सेवा लिन आतुर रहेका छन् । हालसम्म नेपालीहरूले पेरिसस्थित नेपाली दूतावासको भर पर्नु परेको थियो । नेपालले भने, ‘कागजात प्रमाणीकरणदेखि राहदानी सेवासम्म हामी लिस्बन दूतावासमार्फत प्रक्रिया अघि बढाउनेछौं । नेपाली समुदायलाई सेवा दिने हाम्रो प्राथमिकता हुनेछ।’

    नेपाल सरकारले स्थापना गरेको पोर्चुगलस्थित नेपाली दूतावास सबैभन्दा नयाँ हो । दूतावासमा राजदूतसहित चार जनाको दरबन्दी छ । दूतावासका अनुसार नेपाली राजदूत प्रकाशमणि पौडेल एक साताभित्रै लिस्बन आइपुग्नेछन् । उनले पहिलो राजदूतको रुपमा दूतावासको औपचारिक कार्यभार सम्हाल्नेछन्।

  • राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश

    राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश

    काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो ।

    आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ निर्णयार्थ प्रस्तुत हुने छ । यी अध्यादेशहरु प्रतिनिधि सभाले बुधबार पास गरिसकेको छ ।

    संवैधानिक व्यवस्थाबमोजिम संसद सुरु भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ । सरकारले संसद् अधिवेशन नरहेका बेला ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश अधिवेशन सुरु भएको पहिलो दिन अर्थात् माघ १८ गते नै संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा प्रस्तुत भएको थियो ।

    २४ माघमा दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । तर, सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेपछि २४ माघमा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची दुवै सदनमा स्थगित भएको थियो ।

    राष्ट्रिय सभामा अध्यादेश पारित गर्न ३० जना सदस्य आवश्यक रहेकोमा अध्यादेशको पक्षमा अधिकतम २८ जना सदस्य मात्रै छन् । सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबाहेकलाई मात्रै स्वीकार गर्ने अडान लिएपछि सरकारले भूमिबाहेकका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको हो ।

    निर्णयार्थ पेस हुन लागेका पाँच वटा अध्यादेशको विपक्षमा १२ वटा अस्वीकारको सूचना दर्ता भएका संघीय संसद सचिवालयले जनाएको छ । तिनलाई राष्ट्रिय सभा नियमावली बमोजिम प्रक्रिया अघि बढाइने संसद सचिवालयले जनाएको छ । नियमावली अनुसार सुरुमा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस हुनेछ । सो प्रस्ताव पेस भएपछि सदस्यहरुले छलफलमा भाग लिने छन् । त्यसपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने छन् । त्यसपछि सो प्रस्ताव निर्णयार्थ पेस हुने छ ।

  • प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

    प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

    काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो ।


    गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसलाई प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो ।

    निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो । यी अध्यादेश पनि बुधबार प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । अब राष्ट्रिय सभाबाट समेत स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।

  • नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल

    नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा बीच बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ ।

    अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा उनको थियो । संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिनु भएको छ । मन्त्रालयहरु र विभिन्न निकायबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।

    विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनु भएको छ । अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरुलाई स्थगन गर्दै कार्यान्वयन योग्य योजनाहरु मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।

    त्यसैगरी साना योजनाहरुलाई रोकी क्रमागत योजनाहरुको संख्या घटाउन पनि सुझाव दिए । पूर्व तयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजनाहरु मात्र समावेश गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रमहरु प्रस्ताव गर्न पनि सुझाव समेत दिए ।

    छलफलमा भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा लगायत सहभागी थिए ।

    मन्त्रालयलाई अर्थमन्त्री पौडेलको आग्रह यस्तो छ
    प्राप्‍त बजेट सीमाभित्र रहेर कार्यान्वयनको क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्नु नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नु
    साना आयोजनामा श्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु
    क्रमागत आयोजनाको संख्या घटाउनु
    कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गर्नु
    कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनु
    नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्व तयारी सम्पन्न आयोजनमात्र प्रस्ताव गर्नु
    कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्नु
    क्रमागत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरी सकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नु
    आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका आयोजनामा मात्र समावेश गर्नु
    चालु कार्यक्रम तथा आयोजनाहरको हालसम्मको कार्यान्वयन अनुभवको आधारमा पुनर्संरचना तथा एकीकृत गर्नुपर्ने भएमा सो अनुसार गर्नु
    आयोजना प्रस्ताव गर्दा अन्तर तह तथा अन्तर निकायमा दोहोरोपना नपर्ने सुनिश्चित गर्नु
    विपद्पछिको पुनर्निर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गर्नु
    सशर्त अनुदानका आयोजनाहरुलाई पुनस् प्राथमिकीकरण गरी गुणस्तरीय आयोजनामात्र निरन्तरता दिने
    तयारी पूरा नभएका तथा लागानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव नगर्नु
    राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी एअरमार्क भएको भन्दा कम नहुने गरी विनियोजन प्रस्ताव गर्नु

    राष्ट्रिय गौरवका आयोजनामा पछिल्ला दुई वर्षमा बजेट विनियोजन घटेको देखिएको हुँदा राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्षको आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने मार्गदर्शनमा गरिएको प्राथमिकीकरण र सुझावमा आधारित रहेर आवश्यक बजेट प्रस्ताव गर्नु

  • पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

    पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा पर्वत बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका ५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।

    घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’

  • प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन

    प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय संसद सचिवालयको आरोप छ।

    सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा तानाशाह र हिटलरजस्ता अमर्यादित शब्द प्रयोग गरेका थिए । संसद्का महासचिवको निर्णयअनुसार उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ । प्रकाश ओली सुनौलो नेपाल र किशोर श्रेष्ठ युवा मन नेपालमा कार्यरत छन् ।

  • अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

    अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

    काठमाडौं । आधिकारिक कागजात बिना नै अमेरिकामा रहेका ८ नेपाली निष्कासनमा परेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको छ । सात पुरुष र एक महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

  • प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

    प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो ।

    सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो । आज दिउँसो १ बजेका बस्ने बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

    सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश तत्काल संसदमा होल्ड हुने भएको छ । बाँकी अध्यादेश भने अगाडि बढाउने कार्यक्रम तय भएको हो ।

    सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २९ पुसमा जारी भएका थिए । यस्तै, गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो ।

    यी ६ वटै अध्यादेश गत माघ १८ गते दुवै सदनमा पेस भइसकेका छन् । यसमध्ये आज बस्ने प्रतिनिधि सभाको बैठकबाट पाँच वटा अध्यादेश स्वीकृत गराउने र प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ । प्रतिस्थापन विधेयक ल्याउन अध्यादेश दुवै सदनबाट स्वीकृत गराउनुपर्छ । राष्ट्रिय सभाको बैठक भोलि बिहीबारलाई राखिएको छ । बिहीबार राष्ट्रिय सभाले पनि अध्यादेश स्वीकृत गरेको खण्डमा सरकारलाई विधेयक ल्याउने बाटो खुल्नेछ ।

    अध्यादेशले गरेका नयाँ व्यवस्था र संशोधित व्यवस्थाले निरन्तरता पाउन प्रतिस्थापन विधेयक आएर पास भएर ऐनमा रुपान्तरित हुनुपर्छ । यसका लागि सरकारलाई संसद अधिवेशन सुरु भएपछि ६० दिनको समयसीमा हुन्छ । गत माघ १८ गते संसद् अधिवेशन सुरु भएकाले सरकारलाई त्यसको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने दबाब छ । यसअनुसार सरकारसँग अब एक महिना भन्दा कम समय बाँकी छ ।

  • कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

    कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

    काठमाडौं । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।उनकाअनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको आरोप छ ।

    एसपी जोशीका अनुसार बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए । तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो । तर, खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • अर्थ मन्त्रालयले दियो पौने ४ अर्ब रुपैयाँ बराबर निकासा

    अर्थ मन्त्रालयले दियो पौने ४ अर्ब रुपैयाँ बराबर निकासा

    काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्।

    जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थमन्त्रालयले जनाएको छ।

  • ग्यास उद्योगी र सरकारबीच के भयो सहमति ?

    ग्यास उद्योगी र सरकारबीच के भयो सहमति ?

    काठमाडौं । ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकले पाँच बुँदे सहमति गरेको हो। सरकार र ग्यास उद्योगीबीच सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगम र उद्योग संघबीच प्रतिसिलिण्डर १२ रूपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको छ।


    उक्त कमिसन बढाउँदा उपभोक्तालाई भार नपर्ने निगमले बताएको छ। त्यसको भार भने आयल निगमले बेहोर्ने छ। हाल निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय ३० रूपैयाँ घाटा बेहोरिरहेकोमा अब कमिसन बढाएसँगै घाटा तीन सय ४२ रूपैयाँ ७५ पैसा पुग्नेछ।

    यस्ता छन् पाँच बुँदे सहमतिः

    मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो।

    निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पिडिओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने।

    निगम र संघ दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने

    निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने।
    नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पिडिओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने।

  • थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित काठमाडौं विमानस्थलबाट २ जना पक्राउ

    थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित काठमाडौं विमानस्थलबाट २ जना पक्राउ

    काठमाडौं । थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    उनीहरु थाई एयरवेजको उडान नं. टीजी ३१९ बाट नेपाल आएका थिए । लगेज भित्र चक्लेटको प्याकेट बनाइ गाँजा ल्याइएको थापाले बताए । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

  • खैरो हेरोइनसहित चार जना कलंकीबाट पक्राउ

    खैरो हेरोइनसहित चार जना कलंकीबाट पक्राउ

    काठमाडौं । खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् ।

    उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ । उनीहरू मोटरसाइकल र बा १५ च १७७३ नम्बरको क्रेटा गाडीमा खैरो हेराइन बोकेर हिँडेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • अमेरिकाले युक्रेनलाइ दिदै आएको सहायता रोक्यो

    अमेरिकाले युक्रेनलाइ दिदै आएको सहायता रोक्यो


    काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने समेत अमेरिकी अधिकारीले बताएका छन् ।

    अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच भएको चर्को बहसपछि चालिएको हो ।

    युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने अमेरिका मुख्य राष्ट्र हो । ह्वाइट हाउसका एक अधिकारीले भने, ‘समस्या समाधानमा मद्दत मिलोस् भनेर नै हामीले सैन्य सहायता रोकेर समीक्षा गर्न लागेका छौँ ।’

    अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प एकमात्र यस्तो नेता हुन्, जसले युक्रेनमा युद्धलाई स्थायी रुपमा अन्त्य गर्न सक्ने बताएका छन् ।

    उनले भने, ‘हामी रुसलाई वार्ताको टेबलमा ल्याउन चाहन्छौँ । शान्ति सम्भव छ कि छैन भनेर हामी पत्ता लगाउन चाहन्छौँ ।’

    सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्पीको विद्रोही व्यवहारलाई धेरै समय सहन नसक्ने चेतावनी दिएका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘रुसका साथ युद्धविराम सम्झौताविना जेलेन्स्की लामो समय सत्तामा टिक्न सक्दैनन् ।’

    युक्रेनलाई अमेरिकी सैन्य सहायता तीन माध्यमबाट प्राप्त हुँदै आएको छ । पहिलोमा अमेरिकी राष्ट्रपतिबाट सोझै, दोस्रोमा अमेरिकी विदेश मन्त्रालयको ‘फरेन मिलिट्री फाइनेन्सिङ’का माध्यमबाट दिइने सहयोग र तेस्रोमा ‘युक्रेन सिक्योरिटी असिस्टेन्ट इनिशिएटिभ’का माध्यमबाट

  • थापाथलीमा फुट्यो मेलम्चीको पाइप, भयो जलमग्न

    थापाथलीमा फुट्यो मेलम्चीको पाइप, भयो जलमग्न

    काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।

    पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।

    वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ । घरका भुइँतला डुबानमा परेका छन् ।

    आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।

    यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो ।

  • नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक

    नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक


    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

    यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही निर्णय गरेन ।


    भदौमा मात्र एन्फाले आधिकारिक रुपमा एनेसको सम्झौता नविकरण नगर्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ४०० भन्दा बढीले आवेदन हालेकोमा एन्फाले म्याट रोसलाई छानेको हो 

    यस बीचमा नेपालले ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नविन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

    रोस पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसका लागि उनी आफु उत्साहित रहेको बताएका छन् । प्रशिक्षक नियुक्त भएपछि उनले एन्फा टिभीसँग कुरा गर्दै सर्ट टम र लङ टमका केही उद्देश्य समेत सुनाएका छन् ।

    इंग्ल्याण्डको न्युक्यासलमा जन्मिएका अस्ट्रेलियन नागरिक म्याट रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता प्राप्त प्रशिक्षक हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए ।

    उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए । यस्तै रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।

    उनी सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो ।

    त्यसअघि उनले चीनको यू-१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । चीन छाडेर उनी कोरिया पुगेका थिए ।

  • युक्रेनका रास्ट्रपति बेलायत पुगे, सैन्य सहायतामा सम्झौता

    युक्रेनका रास्ट्रपति बेलायत पुगे, सैन्य सहायतामा सम्झौता

    काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पसँग बाझाबाझ भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत गएका छन् । बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र जेलेन्स्कीबीच भएको भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको छ ।

    ह्वाइटहाउसबाट अपमानित महसुस गरी बाहिरिएका जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए ।

    बीबीसीका अनुसार भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।

    जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । यो घटनाले युक्रेन-अमेरिका सम्बन्धलाई संकटमा पुर्‍याएको विश्लेषकहरुले बताएका छन् ।

  • ग्याल्पो ल्होसार आज, देशभर सार्वजनिक बिदा

    ग्याल्पो ल्होसार आज, देशभर सार्वजनिक बिदा


    काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।

    शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए ।

    यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

  • सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का

    सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का


    काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।  

    राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण मस्त निद्रामा रहेका मानिसहरु ब्युँझिएका थिए । अहिले क्षतिको आङ्कलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।