Category: समाचार

  • आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

    आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

    काठमाडौं । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियार पक्राउ परेका छन् । पङ्कज मृतकका दाजुका छोार हुन् । उनले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । घटनाको जानकारी समेत स्वयमः अभियुक्तले प्रहरीमा गएको समेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

    युवकले हत्या गरेको स्वीकारेका छन्, डिएसपी बस्यालले भने, प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले , “सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेर भनी स्वीकार गरेका छन् । एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए । यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिवार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन तीन पटक टाउकोमा प्रहार गरेका थिए ।

    प्रहरीले घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । डिएसपी बस्यालले हत्याको सूचना दिने पहिलो व्यक्ति नै पङ्कज भएको समेत जानकारी दिए । उनले भने, ‘जसले हामीलाई सबैभन्दा पहिला घटना शङ्कास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो ।’

  • आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान

    आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजबाट हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान थाल्दैछ । सोमबार झापाको कचनकबलबाट माओवादीले जागरण अभियान थाल्न लागेको जनाएको छ । यसका लागि अध्यक्ष प्रचण्ड आइतबार नै झापा पुगेका छन् । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष ‘प्रचण्डले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन्।

    कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ। अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको छ।

    गत पुसको २१ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समिती बैठकले अभियानको थालनी गर्ने निर्णय गरेको थियो। जागरण अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ। मओावादीले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियान गर्ने समेत जनाएको छ ।

  • आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा

    आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा

    काठमाडौं । आज पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ ।

    आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बागती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशमा वर्षा भएको छ । मोरङको केराबारी स्टेसनमा गत २४ घण्टामा ४०१.२ मिलिमिटर वर्षा मापन भएको छ ।

    आज पनि चट्याङसहित वर्षासँगै हिमपातको पनि सम्भावना भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने हँदा सतर्क रहन महाशाखाले अपिलसमेत गरेको छ ।

  • पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

    पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

    काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई सजिलै हराएको छ । यस क्रममा स्टार ब्याट्सम्यान विराट कोहरीले शतक प्रहार गरे । १११ बलको सामना गरेका उनी १ सय रन बनाएर नआउट रहे । भारतले पाकिस्तालाई ६ विकेटले हराएको हो । २४१ रनको लक्ष्य पाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

    भारतका लागि कोहलीबाहेक श्रेयस ऐयरले ५६, सुवनम गिलले ४६ तथा रोहित शर्माले २० रन जोडे । पाकिस्तानका लागि साहिन्सा अफ्रिदीले २ विकेट लिए । यसअघि सुरुमा ब्याटिङ गरेको पाकिस्तानले साउद शाखिलको अर्धशतक मद्दतमा ४९.४ ओभरमा अलआउट हुनुअघि २४१ रन बनाएको थियो । भारतले लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो । पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

  • हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार

    हाइकिङ जाँदा शिवपुरी निकुन्जमा अलपत्र परेका १० जनाको प्रहरीले गर्यो उद्धार

    काठमाडौं । प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको उद्धार गरेको छ । प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्दार टोलीले हराएका १० जनाको आज विहान उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

    एसपी बोहोरका अनुसार भक्तपुरको सूर्यविनायक ६का १७ वर्षीय दर्शन सुवाल, दार्चुला घर भई भक्तपुरको लोकन्थली बस्‍ने १६ वर्षीय बिहानअभि धामी, कास्की घर भई सानो भर्‍याङ बस्‍ने १८ वर्षीय विविक श्रेष्ठ, बाँके घर भई बबरमहल बस्‍ने १७ वर्षीय विपिन आचार्य र मोरङ घर भई पेप्सीकोला बस्‍ने १७ वर्षीय विवश बुढाथोकीको उद्धार गरिएको हो ।

    यस्तै भक्तपुर ठिमी बस्‍ने १७ वर्षीय दीपविजय खनाल, तारकेश्वर बस्‍ने १७ वर्षीय चिन्तन तिवारी, सामाखुसी बस्‍ने १७ वर्षीय गौरव पराजुली , कीर्तिपुर बस्‍ने १७ वर्षीय भरत ओली र ललितपुर बस्‍ने १७ वर्षीय चिरात भट्टको सकुशल उद्धार गरिएको एसपी बोहोराले बताए । उद्धार गरिएका उनीहरूलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

  • नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

    नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

    काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी अमदुल अहांक, २८ वर्षीय एमडी नसिर उद्धिन र ४६ वर्षीय एमडी मोसारी हुसेन होलादर छन् । उनीहरूलाई ठमेल र गौशालाबाट पक्राउ गरेर अध्यागमन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

  • सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

    सशस्त्रकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी एक महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । मृत भेटिनेमा पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

    प्यूठानमा दम्पत्ति मृत फेला

    उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् । पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकको एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टर विरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेको स्रोतले बताएको छ ।

  • नेपाल र म्यानमार बराबरी खेले

    नेपाल र म्यानमार बराबरी खेले

    काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

    इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

    ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले ट्याप इन गोल गर्दै खेल बराबरीमा ल्याइन् । १६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुनस् अगाडि ल्याइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकियो । खेलमा यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरको सदुपयोग गर्न सकेनन् । यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल बुधबार हुनेछ ।

  • इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

    इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

    काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म(अप सरह हुनेछ । म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १–० गोलअन्तरले हराएको थियो ।

    साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

    नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् । नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ । आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।

  • पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप

    पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप

    काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारमा तनाव बनेको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् ।

    पाथिभरामा केबुलकार बनाउन सुरु

    आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको उनले बताइन् । राज्यले गम्भीर रुपमा नलिँदा ताप्लेजुङमा केवलकार विवादले हरेक दिन झडपको स्थिति बनेको छ ।

  • प्यूठानमा दम्पत्ति मृत फेला

    प्यूठानमा दम्पत्ति मृत फेला

    काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले चिहाएर नियाल्दा भित्र परियार दम्पती लडेको अवस्थामा देखेपछि अरूलाई खबर गरेका थिए।

    त्यसपछि प्रहरीलाई खबर भएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले बताएका छन् । मृतकका शरीर तथा टाउकोमा घाउ चोट देखिएको प्रहरीले बताएको छ। घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको डिएसपी बस्यालले जानकारी दिए। कुकुर घटनास्थल आउन अझै केही समय लाग्ने उनले बताए।

  • प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्

    प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन्। शनिबार श्रीमती राधिकाको आत्मकथा करूणा लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राधिकालाई नभई राधिकाले चाहीँ आफूलाई विहे गरेर भित्र्याएको बताए ।


    त्यो कुरा उनले पुस्तकमा पनि उल्लेख रहेको प्रधानमन्त्री ओलीले बताए। ‘उनले ठीकै लेखेकी छन् कि मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको हो। भएको कुरा त्यही हो मलाई नै भित्र्याएको हो। धाकधक्कु विना त्यो स्वीकारेको छु, प्रधानमन्त्री ओलीले भने।

    प्रधानमन्त्री ओलीले सांसद भएर गृहमन्त्री हुँदा क्वाटरमै बस्दा सहज भएपनि त्यसपछि डेरा खोज्न सकस भएको बताए। त्यसपछि सालोले डेरा नपाउन्जेल यहीँ बसौं भने। पछि साथीहरूले कहाँ बस्नुभाछ भनेर सोध्दा घरज्वाइँ बसेको छु भनेपछि उनीहरूले पनि सोध्न छाडे, प्रधानमन्त्री ओलीले भने।

    बालकोटको घर पनि श्रीमतीले नै बनाएको प्रधानमन्त्रीले बताए। ‘घर पनि राधिकाले बनाएकी हुन्। मेरो बुताले मेरो हुतीले होइन। त्यो घर पनि ट्रस्टलाई दान गरिदिइसकेको छ, उनले भने। प्रधानमन्त्री ओलीले विवाह गर्नेबेलैमा राधिका शाक्यलाई खान लगाउन सक्दिनँ भनेर गरेको पनि स्मरण गरे।

    ‘सुरूमै कुरा छिनालेर गरेको छु। जीन्दगीमा एक कप चिया खुवाउन सक्दिनँ। एक धरो कपडा दिन सक्दिनँ। एउटा रूमाल दिन सक्दिनँ भनेको थिएँ, ‘प्रधानमन्त्री ओलीले भने, ‘एक छाक खुवाउने त टाढाको कुरो जीन्दगीभरि साथ दिन्छु पनि भनिनँ, जीवन नै अनिश्चित थियो।’ उनले आत्मकथा पढेरै श्रीमतीको पनि केही इच्छा र मागहरू रहेको थाहा पाएको बताए।

    ‘केही इच्छाहरू रहेछन्। यसो गर्दिए हुन्थ्यो उसो गर्दिए हुन्थ्यो भन्ने रहेछ, उनले भने, ‘जन्मदिनमा फूल दिऊँ भने भोलिपल्ट थाहा पाउँछु। सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दो रहेछ। भन्दिए हुन्थ्यो भन्ने मलाई पर्थ्यो। म सम्झिन नसक्ने उनले नसम्झाउने। ३७ वटा जन्मदिन, विवाह उत्सव यसैगरी बिते।’ श्रीमतीले आफ्नो जन्मदिन भने सधैँ भव्यताका साथ मनाउने गरेको पनि प्रधानमन्त्रीले बताए। अझै आफू बिरामी भएपछि भव्यताका साथ श्रीमतीले आफ्नो जन्मदिन मनाइदिने उनले बताए।

    उनले आफू अहिलेसम्म बँच्नुको कारण पनि श्रीमतीको हेरचाह रहेको बताए। ‘राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न सम्भव थिएन। म आँगनको माथिल्लोपट्टी जतन गरेर मठ बनाएर हरेक बिहान बेलुका पानी हालेर हुर्काएको तुलसी जस्तै गरेर बाँचेको मान्छे हो। जतनले मात्रै बाँचेको मान्छे हुँ,’ उनले भने।

  • यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?

    यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे ।

    यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछिन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

    भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन् । मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछिन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

    च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

    काठमाडौं । च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाउँदै
    अलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २–२ तथा मार्को जनसेन र केशव महाराजले १–१ विकेट लिए। अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ९० रन बनाए। उनले ९२ बलमा ९ चौका र १ छक्का हाने।

    च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

    रसिद खान र अजमतउल्लाह ओमरजइले १८–१८, इब्राहिम जद्रानले १७ र सेदिकउल्लाह अटलले १६ रन बनाए। कप्तान हसमतउल्लाह शून्यमै आउट भए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३१५ रन बनाएको थियो। ओपनर र्‍यान रिकेल्टनले शतक हाने। उनले १०६ बलमा ७ चौका र १ छक्का हानेर १०३ रन बनाए। कप्तान तेम्बा बावुमाले ७६ बलमा ५ चौका हानेर ५८ रन बनाए। रसी भ्यान देर दुसेनले ४६ बलमा ३ चौका र २ छक्का हानेर ५२ रन बनाए। एडेन मार्क्रम ३६ बलमा ६ चौका र १ छक्का हानेर ५२ रन बनाउँदै नट आउट रहे। च्याम्पियन्स ट्रफीमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया खेल्दैछन्। यो हेविवेट भिडन्त मानिन्छ ।

  • आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

    आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै

    काठमाडौं । इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको समाचार छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनी र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेस्टिनी छन् ।

    हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण

    ६०३ प्यालेस्टिन रिहाको बदलामा हमासले ६ जना इजरायली बन्दी मुक्त गर्नेछ । मुक्त गरिन लागेकाहरूमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल-सैयद रहेका छन् । हालसम्म इजरायलले १९ जना बन्धकहरूलाई फिर्ता पाइसकेको छ भने चार जनाको शव प्राप्त गरेको छ ।

    आगामी हप्तामा थप चार शव फिर्ता गर्ने हमासको तयारी छ । यससँग सम्झौताको पहिलो चरण सम्पन्न हुनेछ । यस सम्झौताअन्तर्गत इजरायलले अहिलेसम्म एक हजार १३५ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ, जसमा आजीवन कारावास भोगिरहेका थुप्रै कैदीहरू समावेश छन् ।

  • सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’मा

    सम्पत्ति शुद्धीकरणमा नेपाल ‘ग्रे लिस्ट’मा

    काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । यो दोस्रो पटक भएको हो । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची लिस्टमा राखेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसको पुष्टी गरेका छन् ।

    उनले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताए । एफएटिएफले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’

    अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

    दुई वर्षअघि एफएटीएफको एसिया प्यासिफिक ग्रूप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदन (एमईआर) ले दिएका सुझाव कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि नेपाल ग्रे लिस्टमा परेको हो । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक लिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ ।

    यसअघि फिलिपिन्सको मनिलामा हालै भएको एपीजी बैठकमा नेपालको प्रगतिबारे समीक्षा भएको थियो । त्यसमा नेपालको प्रगति चित्तबुझ्दो नभएको निष्कर्षसहित एपीजीले नेपाललाई जोखिमपूर्ण सूचीमा राख्नुपर्ने गरी सिफारिस गरेको थियो । सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानूनहरुको कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान र कारबाहीमा नेपालले सुधार गर्न नसकेको निष्कर्ष एपीजीले निकालेको थियो । सो बैठकमा सहभागी नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै नेपाल ग्रे लिस्टमा पर्नसक्ने बताएका थिए ।

  • त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका

    त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ ।

    प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामवली दाखिला सोही दिन हुने समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ गते सम्मको समय कायम गरिएको छ । २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

    चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनमा भाग लिन संघ, संगठन, समूह दर्ता गर्ने मिति फागुन १९ गतेलाई कायम गरिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । देशभरका ६४ आंगिकसहित सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्नसक्नेछन् । २५ गते मददाता उपर दाबी विरोध र सोही दिन छानबिन गरी अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

    निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिने लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो । क्याम्पसहरुले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

  • प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो

    प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे ।

    “हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । हामीले खोलायौँ । अहिले तिनैले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् ।”, प्रधानमन्त्री ओलीले भने, “स्वतन्त्रताका नाममा देशको विरुद्ध, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जभाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।

    ”प्रजातन्त्र दिवसको बिदामा स्काईवाक टावर माथि प्रधानमन्त्री

    प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको बैँकका आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, “मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवा खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन ।”

    उनले सुशासनबाट मात्रै हामी समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रूपमा रहेकाले छिटो छरितोरूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए ।

  • विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

    विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई नेता मुलुकको राजनीतिक इतिहास बदल्ने नेताका रूपमा स्थापित भएको उल्लेख गरे ।

    ‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपीले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरू हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।’

    मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

    प्रचण्ड १०औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रूपमा इतिहासले स्वीकार गर्ने दाबी गरे । यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए । आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैं उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए ।

    जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोश्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरूमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे । ‘म जनयुद्धको पहिलो फौजी कमाण्डको कमाण्डर हुँ । २८ वर्षदेखि प्रचण्डसँग काम गर्दै आएको छु ।

    बिग्रिएका जति सबै प्रचण्डको थाप्लोमा हाल्ने र राम्रो सबै हामीले गरेको भन्ने पक्षमा हामी हुनुहुँदैन’, पुनले भने, ‘मेरो भनाइ कोही साथीप्रति लक्षित छैन । हामीले राम्रा जति सबै प्रचण्डबाट भएको भन्ने वा नराम्रा जति सबै प्रचण्डको टाउकोमा हाल्ने र जसजति आफूले लिने गल्ती गर्नुहुँदैन । राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी नेतृत्वमा भएका हामी सबैले लिनुपर्छ ।’

    पुनले पार्टीभित्र आफ्नो छुट्टै समूह नभएको पनि स्पष्ट गरे । कार्यशैली, विचार र दृष्टिकोणमा समानता हुनेहरूबीच बढी नजिक सम्बन्ध हुनुलाई अन्यथा मान्न नहुने भए पनि त्यसैलाई स्थायी गुट बनाउन नहुने भन्दै उनले आफूले गुट निर्माण नगरेको बताए ।

    फरक प्रसँगमा पुनले आगामी ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कसैसँग तालमेल नगरिने दोहोर्‍याए । प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि चालेका कदमका कारण जनतामा माओवादीको लोकप्रियता बढेको भन्दै उनले त्यही एजेण्डाका साथ चुनावमा जाने नीति रहेको बताए ।

    उनले सरकारले राम्रो गर्दा समर्थन र खराब काम गर्दा प्रतिपक्षमा रहेर भण्डाफोर र प्रतिवाद गर्ने भन्दै सरकार प्राथमिकतामा नरहेको स्पष्ट गरे ।
    ‘प्रचण्ड नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर कांग्रेस र एमाले मिलेका हुन् । हामी ०८४ सम्म यही सरकार चलोस् भन्ने चाहन्छौं’, पुनले भने, ‘सरकारमा हाम्रो ध्यान छैन । राम्रो गर्दा सरकारलाई साथ दिन्छौं । नराम्रो गर्दा भण्डाफोर र प्रतिवाद गर्छौ ।’

    कांग्रेस र एमालेसँग आफूहरूले राजतन्त्र अन्त्यदेखि संविधान निर्माणसम्म सहकार्य गरेको र त्यो सही रहेको भन्दै उनले संविधान कार्यान्यवनसम्म आउँदा आधारभूत रूपमै ती दुई दलसँग फरक परेको बताए । कांग्रेस र एमाले प्राप्त उपलब्धीबाट पछि फर्कन खोजेको आरोप पनि पुनले लगाए । अर्को एक प्रसंगमा पुनले प्रधानमन्त्री केपी ओलीको लोकप्रियताको ग्राफ धेरै घटेको दाबी गरे ।

  • परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

    परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी शनिबार प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ ।
    मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनी विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसंघीय निकाय र अन्तरराष्ट्रिय संगठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने बताइएको छ ।

    कलिंगा घटनाबारे परराष्ट्रमन्त्री र ओडिसाका शिक्षामन्त्रीबीच टेलिफोन संवाद

    परराष्ट्र डा राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउने बताइएको छ । उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । परराष्ट्रमन्त्री राणा फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम भएको मन्त्रालयले जनाएको छ ।

  • च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

    च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

    काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले समूह ‘ए’ मा जित निकालेको हो । यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको छ । ट्रफीमा भारतका खेल युएई र अरु देशका खेल पाकिस्तानमा जारी छन् ।

    आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा ४६.३ ओभरमा भेट्टायो । भारतको जितमा शुभमन गिलले शतक प्रहार गरे। उनले १२९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै नटआउट १०१ बनाए । केएल राहुलले नटआउट ४१ रन जोडे । ओपनर तथा कप्तान रोहित शर्मा ४१ रनमा आउट भए। विराट कोहली २२ रन, श्रेयस अय्यर १५ रन र अक्षर पटेल ८ रनमा आउट भए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश दुई बल खेल्न बाँकी छदा २२८ रनमा अलआउट भयो। कठिन परिस्थितिमा बंगलादेशको इनिङ सम्हालेका तोहिद हृदोयले शतक प्रहार गरे। पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी ४९.२ ओभरमा १०० रनमा अन्तिम विकेटको रुपमा आउट भए।

    कुनै समय ३५ रन बनाउँदा ५ विकेट गुमाएको बंगलादेशका लागि हृदोयसँगै जकर अलीले ६८ रन जोड्दा टोली संकटबाट बाहिर निस्कन सफल भयो। दुईबीच छैटौं विकेटका लागि १४४ रनको साझेदारी भयो। बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए भने हर्षित रानाले ३ विकेट हात पार्न सफल भए। अक्षर पटेलले २ विकेट आफ्नो नाममा लेखाए। आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् ।

  • राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा

    राप्रपाले प्रदेशहरुमा भण्डाफोर कार्यक्रम गर्दै, आज पोखरामा सभा

    काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
    राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको छ ।

    प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट राप्रपा अहिले उत्साहित देखिन्छ । ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए । उनले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै अहिलेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका थिए ।

    लगत्तै राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान थाल्न सक्रिय छ । गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते, लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते, मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र
    कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते कार्यक्रम आयोजना गर्दैछ । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

  • हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा

    हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा

    काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएका छन् । यस प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    नेपालमा सडक दुर्घटनाका कारण प्रतिदिन औसत ७ जनाको मृत्यु

    उनले भने, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।” मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाले आफुलाई थप्पड हानेका कारण बाँसको चिर्पटले हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरु १८ वर्ष भन्दा कम उमेरका रहेका कारण प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

  • दिल्लीको मूख्यमन्त्रीका रुपमा भाजपा नेतृ रेखा गुप्ताले लिइन् सपथ

    दिल्लीको मूख्यमन्त्रीका रुपमा भाजपा नेतृ रेखा गुप्ताले लिइन् सपथ

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, सङ्घीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए ।

    दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
    समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ ग्रहण गरेसँगै उहाँको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको शपथ लिएका छन् ।

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित


    राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, “गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुसी लागेको छ । नियुक्ति शपथ लिएको मितिदेखि लागु हुनेछ ।” ७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४८ सिट जितेको छ ।

    सांसद रेखा गुप्ताले यो ‘चमत्कार’ र ‘नयाँ अध्याय’ भएको र यसले राजनीतिमा महिलाका लागि परिवर्तनकारी अध्यायको सुरुवात गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै गुप्ताले भ्रष्टाचारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक रुपियाँको दुरुपयोगको जवाफ उनीहरूले दिनुपर्ने बताइन् ।
    “यो एक चमत्कार हो, यो एक नयाँ प्रेरणा र नयाँ अध्याय हो। यदि म मुख्यमन्त्री बन्न सक्छु भने यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ ।”

    उनले आफ्नो नेतृत्वमा रहने सरकारले जो कोही भ्रष्टाचारी भए पनि एक–एक रुपियाँको हिसाब किताब माग्ने बताइन् । उनले भारतीय जनता पार्टीको उच्च नेतृत्तप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय राजधानीमा शासन गर्न आफूमाथि विश्वास गरेकोमा आभार व्यक्त गरिन् ।

    यसअघि, भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूको बैठकले रेखा गुप्तालाई विधायक दलको नेतामा चयन गरेको थियो । यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्त्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उनको नेतृत्वमाथि विश्वास व्यक्त गरेका थिए ।

  • एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक

    एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक

    काठमाडौं । एप्पलले एसई मोडलको सट्टा १६ ई शृंखलाको नयाँ आइफोन सार्वजनिक गरेको छ । बहुप्रतीक्षित बुधबारको कार्यक्रममा कम्पनीले बजेट फोनअन्तर्गतको पुरानो एसई भर्सनलाई अन्त्य गर्दै नयाँ आइफोन शृंखला बजारमा ल्याएको बताएको छ । किफायती मूल्यको यस स्मार्टफोनमा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि एप्पल इन्टेलिजेन्स समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    आईफोन १६ भित्र सामेल ‘ई’ भर्सनलाई एप्पलले सस्तो मूल्यमा आकर्षक फिचरसहित प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको बताएको हो । आईफोन १६ ई मा ए१८ चिप, फेस आईडी, यूएसबी सी पोर्ट, एप्पल इन्टेलिजेन्स र असाधारण ब्याट्री लाइफ समावेश रहेको कम्पनीको भनाई छ । यसमा ४८ मेगापिक्सेल क्यामेरा सिस्टम रहेको यो पानी र धुलो प्रतिरोधिसँगै सेरामिक सिल्ड कभरमा उपलब्ध हुने एप्पलले जनाएको छ ।

    आइफोन-१६ सिरिज सार्वजनिक

    फेब्रुअरी २१ देखि आईफोन १६ ई को प्रि–अर्डर खुला गरिने र फेब्रुअरी २८ बाट बजारमा उपलब्ध हुने एप्पलको विज्ञप्तिमा उल्लेख छ । सीएनएनका अनुसार १२८ जीबी स्टोरेजको आइफोन १६ ईको मूल्य ५९९ डलर (करिब ८० हजार रुपैयाँ) तोकिएको छ ।

    सस्तो आइफोनमा एप्पल इन्टेलिजेन्स समावेश गरेर कम्पनीले आफ्नो एआई प्रविधि सक्दो धेरै उपभोक्तामाझ पुर्‍याउन चाहेको सीएनएनको विश्लेषण छ । ‘सस्तो स्मार्टफोन बजार र एआई क्षेत्रमा एप्पलले पछिल्लो समय गुगल र सामसङबाट बढ्दो प्रतिस्पर्धा सामना गरिरहेको छ,’ सीएनएनको समाचारमा भनिएको छ, ‘अब १६ईमार्फत एप्पललाई धेरै ग्राहकमाझ पुग्न महत्वपूर्ण हुन सक्छ ।’

  • हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण

    हमासद्धारा चार इजरायली बन्धकको शव हस्तान्तरण

    काठमाडौं । हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ। बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइलबाट बन्धक बनाएर हमासले गाजा पुर्‍याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो।

    हमासले बन्धक बनाएका युवतीलाई खाना पकाउने र भाडा धुने काममा लगाइयो, सूर्यको मुख देख्न दिइएन

    केफिर हमासले बन्धक बनाएर गजा पुर्‍याउँदा ९ महिनाका मात्रै थिए। उनीहरू सबैभन्दा कम उमेरका बन्धक भएकाले केफिर र एरियल इसराइलभरि परिचित छन् । उनीहरूको मृत्यु भएको र शव हस्तान्तरण गर्न लागिएको भन्ने खबरले पूरै इसराइल स्तब्ध भएको टाइम्स अफ इसराइको समाचारमा उल्लेख छ। केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएको मुस्कानका साथ सिधै क्यामेरामा हेरिरहेको उनको तस्बिर विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ।

    प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इसराइलका लागि आज सबैभन्दा दु:खद दिन रहेको बताएका छन्। यस कठिन समयमा हाम्रो हृदय शोकमा परेका परिवारहरूसँगै छौं, नेतन्याहूले भनेका छन्। हमासले पहिलो पटक बन्धकको शव छाडेको हो। यसअघि गत शनिबारसम्म हमासले २४ जना बन्धक जिवित छाडेको थियो। आगामी शनिबार हमासले ६ जना जिवित बन्धक छाड्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

    काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनल पुगेका हुन् । नेपालको जितमा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । दुवै टोलीले थप गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

    ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    १०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । १७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

    समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ । ३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

    दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

  • काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु

    काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।

    चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए

    धादिङबाट बिवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा बिहीबार बिहान ५ स् ४० बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।

  • पाकिस्तानी सेनाको कारवाहीमा ३० आतंककारी मारिएको दावि

    पाकिस्तानी सेनाको कारवाहीमा ३० आतंककारी मारिएको दावि

    काठमाडौं । पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतङ्ककारीलाई मारेको दावि गरेको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो । आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्ककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ ।

    पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

    “पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् । हाम्रा सुरक्षा बलहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ,” आईएसपीआरको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले यस कारबाहीका लागि सुरक्षा बलको प्रशंसा गरे । पाकिस्तानका राष्ट्रपतिले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूह (टीटीपी) लाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्पलाई पुनः पुष्टि गरेको बताए ।

  • आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै

    आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै

    काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो । मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।

    आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

    समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
    हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।