Category: समाचार

  • रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

    रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिम विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्व लगायत विश्लेषण गरी रेटिङ गरिएको हो ।

    डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङ मार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा राय दिइन्छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेटिङमा तीन वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरेका छन् ।

    प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे आईपीओ निष्कासन प्रस्ताव गरिएको छ । सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौं,’ घिसिङले भने, ‘सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासन प्रक्रिया अगाडि बढाउन सकिने छ । सेयर निश्कासनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने योजना बनाएका छौं ।’

    उनले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे ।

    प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे आईपीओ निष्कासन प्रस्ताव गरिएको छ । प्रिमियम सहित प्रतिकित्ता करिब ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासन प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ ।

    विद्युत् उत्पादन, प्रसारण र वितरण सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्ति समुचित व्यवस्था गर्न सरकारको पूर्णस्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरण अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ ।

    सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रम कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा ब्याज–साँवा पूँजीकरण) र अन्य आवश्यक रकमरसञ्चालन मार्फत प्राधिकरणमा लगानी गर्दै आएको छ । प्राधिकरण सरकारको पूर्णस्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरिद–बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो ।

    धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा

    प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग झन्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । प्राधिकरणले गत आव २०८०–८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    २०७२–७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले सफलता हात पारेको छ ।

    आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा २०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो । प्राधिकरणले गत आव २०८०–८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    २०७२–७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आव प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । २०७२–७३ मा प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।

  • अर्थमन्त्री र पोखराका मेयरलाई भेट्न कीर्तिपुर अस्पतालमा भीआइपीको लर्को

    अर्थमन्त्री र पोखराका मेयरलाई भेट्न कीर्तिपुर अस्पतालमा भीआइपीको लर्को

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् ।


    प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् । शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको थप उपचार भइरहेको छ ।

    यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे लगायतले पनि कीर्तिपुर अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी गराएको थियो ।
    अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो ।

    ‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । तर, अस्पतालमा भीआईपी धाउने क्रम भने रोकिएको छैन ।

  • नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भाग दौड, कम्तिमा १८ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भएको भागदौडमा परी कम्तिमा १८ जनाको ज्यान गएको छ । नयाँ दिल्ली रेल्वे स्टेशनमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले समेत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    घटना रातको समयमा भएको त्यसमध्ये स्टेशनमा निकै भिड देखिएको समेत बताइएको छ । रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेसका लागि यात्रुको अधिक भिड थियो । सबै यात्रुले त्यहाँ रहेको रेल नै अन्तिम मानेर भागदौड मच्याउँदा घटना भएको उनले बताएका छन् ।

  • संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ । सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिने कार्यक्रम छ । आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्।

    सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्। त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ल्याएका अध्यादेश स्विकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने विषय आजको बैठकको कार्यसूचीमा पनि चढेको छैन।

  • डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । ३ फागुनको मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।

    काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल

    इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ । सोहीअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • भूमि अध्यादेशबाहेक अन्य अगाडी बढाउने तयारी

    भूमि अध्यादेशबाहेक अन्य अगाडी बढाउने तयारी

    काठमाडौं । सरकारबाट जारी ६ मध्ये पाँचवटा अध्यादेश मात्रै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने भएको छ । सत्ता गठबन्धनका दलहरूबीच शनिबार भएको बैठकमा भूमिसम्बन्धी अध्यादेशमा बहुमत जुटाउन असमर्थ रहेको निष्कर्षसहित बाँकी पाँच वटा अध्यादेश अघि बढाउने निर्णय भएको छ । भूमिसम्बन्धी अध्यादेशमा सहमतिको बिन्दु पहिल्याउन कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा सहभागी नेताहरुका अनुसार बैठक चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरी अध्यादेशमा सघाउन आग्रह गरेका थिए ।

    सरकारले अब आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रबद्र्धन

    दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

    तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णार्थ प्रस्तुत गर्नेछ ।

  • कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?

    कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?

    काठमाडौं । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

    पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    ‘आज २०८१ फागुन ३ गते शनिबार पोखराबाट जलन घाइते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारार्थ सघन उपचार कक्षमा भर्ना हुनुभएको छ, विज्ञप्तिमा लेखिएको छ, उहाँहरूको प्रारम्भिक मूल्यांकनअनुसार ५, ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।


    उनीहरूको उपचारमा प्रा डा बीडी झा, डा. प्रवीण गिरी लगायतको सघन उपचार कक्षको टोली, प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादवलगायतको जलन विशेषज्ञहरू, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।

    पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा शनिबार रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको लप्काले बेलुन पड्किएको थियो । आगोका झिल्का उनीहरुको शरीरमा लागेको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।

  • पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

    काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ ।

    उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

  • प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?

    प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?

    काठमाडौं । नेपाली कांग्रेस प्युठानले प्युठानले नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिको विरोध गरेको छ।
    कांग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन्।

    गिरीले सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम प्रतिनिधिसभा सदस्य थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रमस्थलमा टाँस्न नदिएको, टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएको आरोप लगाएका छन्।

    त्यस्तै गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा थापाले समावेशी समानुपातिक प्रणालीविरूद्ध अभिव्यक्ति दिएको, त्यो भन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइन्युट च्यात्न लगाएको, कांग्रेसबाट प्रदेशमा मन्त्री भएका व्यक्ति इंगित गरी ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ,’ भन्ने जस्ता अभिव्यक्ति दिएको आरोप पनि थापामाथि लगाइएको छ।

    ‘जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने होरु,’ विज्ञप्तिमा भनिएको छ। गिरीले गठबन्धनको गरिमालाई बिखण्डन गर्ने हेटस्पिच बन्द गर्न तथा जितको उन्माद नराख्न ध्यानाकर्षकण गराएका छन्।

    जिल्ला सभापति गिरीले एमाले सांसद थापामाथि अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरीत चरित्र पर्दशन गरेको तथा वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव पर्दशन गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

  • अदानी ग्रुप श्रीलंकामा गर्ने ठूलो लगानीको योजनाबाट किन भयो फिर्ता ?

    अदानी ग्रुप श्रीलंकामा गर्ने ठूलो लगानीको योजनाबाट किन भयो फिर्ता ?

    कोलम्बो । भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो । बिहीबार कम्पनीले एक बयान जारी गर्दै योजनाबाट पछि हटेको बताएको हो । जरुरी अनुमति पाइसकेको भए पनि यो कम्पनीले श्रीलंकामा वातावरणीय प्रभाव सम्बन्धी अनुमति पाउन ढिला भएको थियो । साथै यो मामला श्रीलंकाको अदालतसम्म पुगेको अवस्था समेत थियो ।

    गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

    कम्पनीले श्रीलंकाको सम्प्रभुता र फैसलाको सम्मान गर्दै यो परियोजना फिर्ता लैजाने घोषणा गरिएको ग्रुपले उल्लेख गरेको छ । यो परियोजनाबाट ४८४ मेगावाट बिजुली निकाल्ने योजना थियो । मन्नार र पुनेरिनमा यस्तो योजना बनाउने तयारी थियो । साथै २२० केभि र ४ सय केभि प्रसारण लाइन बिस्तारको योजना समेत रहेको थियो । अघिल्लो वर्ष श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएसँगै यो परियोजना जाँचको घेरामा आएको थियो । उनले चुनावी अभियानका दौरान आयोजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका थिए ।

  • अध्यादेशमा अझै सकसमा दलहरु, आज पनि बैठक बस्ने

    अध्यादेशमा अझै सकसमा दलहरु, आज पनि बैठक बस्ने

    काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

    उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

  • बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता

    बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता

    काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ५मा रहेको ३ नम्बर पुलबाट फागुन शुक्रबार बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

    दूर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरेर खोजीकार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

  • कक्षा १२ को परीक्षा १२ वैशाखबाट

    कक्षा १२ को परीक्षा १२ वैशाखबाट

    काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले जनाएको छ।

    विस्तृतमा..

    https://neb.gov.np/detail/24

  • सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु

    सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु

    काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार मःमको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

    मृतक उदयपुर गढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्दै आएका २२ वर्षीय प्रदीप तामाङ छन्। यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि सोमबार रविन राई र मंगलबार भीमबहादुर घलेको मृत्यु भएको थियो। माघ २३ गते शानदार मस्ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।

  • भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन

    भारतीय प्रधानमन्त्रीसँग ट्रम्पले भने : बंगलादेशको सत्ता परिवर्तनमा हाम्रो हात छैन

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको हात नरहेको दावि गरेका छन् । उनले मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् ।

    बंगलादेशमा शेख हसिनाको सत्ता उल्टाउने गरी ठूलो हिंसात्मक आन्दोलन भएको थियो । हसिनालाई अहिले भारतले शरण दिइरहेको छ । बंगलादेशमा अहिले मोहम्मद यूनुसको सरकार छ । यस सरकारका तर्फबाट हसिनालाई बंगलादेशमा हस्तान्तरणको माग भइरहेको छ ।

  • ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी

    ट्रम्प–मोदी भेटवार्ता : आप्रवासी मुद्दामा यस्तो भयो कुराकानी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । ह्वाइट हाउसमा भएको भेटपछि दुबै नेताले प्रेस कन्फ्रेन्समा बोलेका छन् । उनीहरुले एक अर्काको तारिफ गरे । दुई नेताबीचको भेटमा व्यापार मुद्दामा बढी कुराकानी भएको समेत उनीहरुले बताए ।

    ट्रम्पले भारतबाट आउने सामानमा बराबरको आयात शूल्क लगाउने घोषणा गरे । मोदीले दुबै देशबीच व्यापार वार्ता सुरु गरिने बताए । उनले अमेरिकाका सहयोगी दुस्मन भन्दा पनि खराब रहेको समेत त्यस समय बताएका थिए ।


    भेटमा मोदीले अवैध आप्रवासीलाई फिर्ता लैजान भारत तयार रहेको वाचा दिए । उनले रुस–युक्रेन युद्ध रोकिने आशा समेत गरेका छन् । ट्रम्पले अमेरिकाबाट अधिक तेल भारत निर्यात गरिने समेत बताए । अहिले भारतले इराक र साउदी अरबबाट ९० अर्ब डलर बराबरको ग्यास र तेल खरीद गर्छ ।

  • पोखराबाट चीनमा नियमित उडान थाल्दै हिमालय एयरलाइन्स

    पोखराबाट चीनमा नियमित उडान थाल्दै हिमालय एयरलाइन्स

    काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले अब पोखरा–चीन नियमित उडान गर्ने भएको छ । कम्पनीले आगामी महिनाबाट पोखरा–ल्हासा रुटमा नियमित उडान गर्ने घोषणा गरेको छ । यद्दपी मिति भने तय भएको छैन । मार्च २०२५ बाट कम्पनीले नियमित उडानको योजना बनाएको बताएको छ ।

    हिमालयले विभिन्न चिनियाँ शहरलाई काठमाडौंसँग सिधा उडानमा जोडेको छ । उसले पोखरामा समेत यस्तै ऐतिहासिक उडानको तयारी गरेको हो । हिमालय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी हुनेछ ।

    यसअघि पोखरामा चार्टर्ड उडानहरु भने भएका छन् । तर, नियमित उडान हुन नसक्दा यो विमानस्थलमा गरिएको लगानीको औचित्यमाथि प्रश्न उठिरहेको थियो । भैरहवा विमानस्थलमा भने विभिन्न कम्पनीले राम्रो अक्कुपेन्सीमा नियमित उडान गरिरहेका छन् ।

  • नेपाली कामदारले अब यूएईबाट समेत श्रम स्वीकृति लिन सक्ने

    नेपाली कामदारले अब यूएईबाट समेत श्रम स्वीकृति लिन सक्ने

    काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।


    उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए। मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको बताए ।
    संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए ।

    उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए । राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे ।

    त्यसअवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो ।

    वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो । यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गरेका थिए।

    उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो । उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिएका थिए।

  • काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल

    काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ। कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ।

    कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ। यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो।

    ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ। जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।

    तीन पांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। दुई पांग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।

    सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। राससको सहयोगमा

  • म्यानमारमा किन फसिरहेका छन् नेपाली ?

    म्यानमारमा किन फसिरहेका छन् नेपाली ?

    काठमाडौं । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न स्क्याम सेन्टरमा कार्यरत २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त भएका छन्। म्यान्मारको स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो। उनीहरू सबै जनालाई थाईल्यान्ड ल्याइएको छ।
    मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९ महिला छन्। उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ।

    अहिले थाईल्यान्ड पुग्नेमा इथियोपिया, केन्या, बुरुन्डी, नाइजिरिया, तान्जानिया, घाना, क्याम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्का, चीन, इन्डोनेशिया, ताइवान, यूगान्डा, लाओस, र ब्राजिलका नागरिक छन्। गत साता चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट हुँदा थाई प्रधानमन्त्री पेतोङ्ताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्रहरू बन्द गर्न प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

    ‘थाई सरकारले थाई भूमिबाट हुने बिजुली र ऊर्जा आपूर्ति रोकिदिएको थियो। थाईल्यान्डलाई कामदार र पैसा ओसार्ने क्रममा ट्रान्सिटका रूपमा प्रयोग गर्न नदिन ब्याङ्किङ र भिसासम्बन्धी नियममा कडाइ गरेको थियो। केही विपक्षी सांसदहरूले विगत दुई वर्षदेखि नै यस्तो कडाइ गर्न माग गर्दै आएका थिए।

    स्क्याम सेन्टरहरूले विदेशी कामदारहरूलाई राम्रो तलबको लोभ देखाएर तथा म्यान्मारमा नभई थाईल्यान्डमा र स्क्याम सेन्टरमा नभई अन्यत्र काम गर्ने भनेर पनि ल्याएका हुन्छन्। त्यस्ता केन्द्रहरू सञ्चालन गर्ने स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्।

    उनीहरूले अन्लाइनमा पिग बुचरिङ भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैर कानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन्। केही विदेशहरू त्यस्तो काम गर्न तयार हुन्छन्। तर कैयौँलाई त्यहाँ बस्न बाध्य पारिन्छ र परिवारबाट ठूलो मात्रामा फिरौती ल्याए मात्र छोड्ने भनिन्छ। कुनै हिसाबले छोडेर भागेकाहरूलाई यातना दिइएको बताइन्छ।

    यसरी उद्धार गरिएका विदेशी कामदारहरू डेमोक्र्याटिक करेन बेनभोलन्ट आर्मी (डीकेबीए)ले थाई सेनालाई हस्तान्तरण गरेको हो। डीकेबीए उक्त राज्यमा सक्रिय सशस्त्र समूहमध्ये एउटा हो। सशस्त्र समूहहरूले स्क्याम व्यवसायीहरूलाई ठाउँ उपलब्ध गराएको र संरक्षण प्रदान गरेको अनि त्यहाँ काम गर्न बाध्य पारिएका र मानव तस्करीमा परेका मानिसहरूले भोग्नुपरेको यातनालाई बेवास्ता गरेको आरोप खेप्नुपरेको छ।

    म्यान्मार सन् १९४८ मा स्वतन्त्र भएदेखि नै त्यहाँको सरकारले करेन राज्यमा आफ्नो नियन्त्रण कायम राख्न सकेको छैन। थाईल्यान्डको विशेष अनुसन्धान विभागले करेन न्याश्नल आर्मी नामक एउटा सशस्त्र समूहका तीन कमान्डरहरूविरुद्ध मङ्गलवार पक्राउपुर्जी जारी गरेको थियो। तीमध्ये एक सअ चित थू हुन् जसले चिनियाँ कम्पनीसँग सन् २०१७ मा श्वे कोक्को भन्ने सहर स्थापना गर्न एउटा सहमति गरेका थिए। यो नयाँ सहरमा विशेष गरी ठगी धन्दाबाट आर्जित पैसा लगानी भएको ठानिन्छ।
    बीबीसी नेपाली सेवाबाट

  • ठमेलमा प्रहरीलाई कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता पक्राउ

    ठमेलमा प्रहरीलाई कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।


    माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका ५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो । उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए । पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् ।

    घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो । क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।

  • नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई विजयी

    नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई विजयी

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्। भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएका छन् । भट्टराई ६८८ मतान्तरले विजयी भए ।

    कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए। भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो। महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो। उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्।

    साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए। महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए। सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका हुन्। ९९ सदस्यीय केन्द्रीय समितिमा ७० पदका लागि निर्वाचन भएको थियो।

  • रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे ।

    मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । यस्तै, हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।

    प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमान रूपमा अनावश्यक भएका संरचनाहरू थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे । यस्तै, आगामी २६, २७ चैत मा काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्य रूपमा गर्न छलफल भएको छ ।

    प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्द शर्मा र डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी थिए । बैठकमा कृषि लगानी दसक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण गराए ।

  • ११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप

    ११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप

    काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् ।

    सबैभन्दा कम खोप कर्णाली प्रदेशमा लगाइएको छ । कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन् । यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको छन्।

    जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ । महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमले खोपलको उपलब्धिका आधारमा कोशी प्रदेशमा धेरै देखिएको बताए । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइनेछ।

    डा। गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । गौतमका अनुसार लक्षित वर्गको ९० प्रतिशतभन्दा बढी खोप लिइने लक्ष्य राखिएको छ । नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ। चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

    एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन। वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन।

    त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ।’

    एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ। एचपीभी भाइरस संक्रमण पुरुषबाट सर्ने गर्छ। त्यसकारण यौन सम्पर्कका क्रममा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ। यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ। २५ वर्ष उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसमा संक्रमण हुन्छ, सर्छ।

    धेरैजसो मानिसमा भाइरस प्रवेश गरेको १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन् । महिनावारी भएको बेला एचपीभी खोप लगाउन मिल्छ । किशरीहरूमा महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपीभी खोप लगाउँदैमा किशोरीको महिनावारीको समय प्रभावित हुँदैन।

  • ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी

    ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी

    काठमाडौं \बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार वाशिङ्टन डीसी पुगेर राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्दा न्यानो स्वागत पाउने छन्। तर उनको भ्रमण त्यतिमा मात्र सीमित हुने छैन। पछिल्ला वर्षहरूमा ट्रम्प र मोदीले बलियो व्यक्तिगत सम्बन्ध विकास गरेका छन्। दुई देशबीच उच्चस्तरीय भेटघाटहरू भएका छन् र उनीहरू सँगसँगै देखा पनि परेका छन्।

    सन् २०१७ मा वाशिङ्टनमा भएको पहिलो भेटघाटपश्चात् उनीहरूको सम्बन्ध झाँगिएको छ। ह्यूस्टन र अहमदाबादमा भएका विशाल र्‍यालीहरूमा उनीहरूको संयुक्त रूपमा उपस्थिति रहे। विश्वमामिला तथा राजनीतिमा समान दृष्टिकोण अनि चीनसँग जुझ्ने विषयमा रहेको आपसी रणनीतिक दृष्टिले उनीहरूको सम्बन्ध मात्र नभई अमेरिका-भारत साझेदारी पनि थप बलियो बनाएको छ।

    सम्भवतः त्यसैले बेलाबेला भारतको आलोचना गरे पनि ट्रम्पले कहिल्यै मोदीको आलोचना गरेका छैनन्। मोदीको भ्रमणका बेला दुई नेताहरूले अमेरिका-भारत रणनीतिक साझेदारीका आगामी कार्यदिशाबारे पक्कै केही समय बिताउने छन्। मोदीले ट्रम्पका कैयौँ वरिष्ठ मन्त्रीहरूलाई भेट्ने छन्। उनले अमेरिकी अग्रणी व्यापारीहरू तथा भारतीय-अमेरिकी समुदायका सदस्यहरूसँग पनि कुराकानी गर्ने छन्। उनले स्पेसएक्स र टेस्लाका प्रमुख इलोन मस्कसँग पनि भेट्ने सम्भावना छ। मोदी भारतमा विद्युतीय गाडीको क्षेत्रमा विकास गर्न उत्सुक देखिन्छन्। उनी मस्कले भारतमा टेस्लाको कारखाना खोलेमा निकै खुसी हुने छन्।

    तर ट्रम्प-मोदी मित्रता र रणनीतिक साझेदारीका कुराकानीले एउटा गम्भीर वास्तविकता छोपेको छ, मोदीको भ्रमणताका सम्बन्धको कारोबारी प्रकृति केन्द्रबिन्दुमा देखा पर्ने छ जहाँ दुवै नेता, अझ खास गरी ट्रम्पसँग मागहरूको सूची हुन सक्छ। दिल्लीले ट्रम्पलाई राम्रै बुझेको छ। अहिले मोदीको मन्त्रिपरिषद्‌का कतिपय सदस्यहरू उनको अघिल्लो कार्यकालमा पनि थिए।

    त्यति बेला ट्रम्प आफ्नो पहिलो कार्यकाल सम्हाल्दै थिए। गत महिना भएको ट्रम्पको शपथग्रहण समारोहमा पनि यो चिनजान झल्किएको थियो स् अनि दिल्लीले अमेरिकी आयातमा शुल्क घटाउन, गैरकानुनी भारतीय आप्रवासी फिर्ता लिन र अमेरिकी तेल किन्न तयार रहेको सार्वजनिक सङ्केत दिइसकेको छ।

    उसले केही वस्तुमा आयात शुल्क घटाइदिसकेको छ भने गत साता पहिलो खेपमा विमानमार्फत् आइपुगेका १०४ गैरकानुनी आप्रवासी भारतीयहरूलाई स्वीकार गरिसकेको छ। भारतमाथि ट्रम्पले कुनै लक्षित मागहरू नगरून् अनि नयाँ ट्रम्प प्रशासनसँग तनावको सम्भावना घटाउन यी कदमहरू चालिएका छन्।

    पछिल्ला वर्षहरूमा भारतसँगको वस्तु तथा सेवा व्यापारमा अमेरिकाले बेहोरिरहेको करिब ४६ अर्ब डलरको घाटा कम होस् भन्ने उद्देश्यले ट्रम्पले मोदीसँग अमेरिकी आयातमा लगाइएका शुल्क अझै घटाउने माग राख्न सक्छन्। तर यो अवरोधले नयाँ अवसरको ढोका खोल्न सक्छ स् दुवै तर्फ शुल्क घटाउने गरी एउटा आर्थिक साझेदारी सहमतिका निम्ति द्विपक्षीय वार्ता थाल्न आग्रह मोदीले ट्रम्पलाई आग्रह गर्न सक्छन्।

    हालैका वर्षहरूमा दिल्लीले व्यापार सम्झौताका लागि तयार रहेको सङ्केत दिएको छ। बाइडन प्रशासनभन्दा ट्रम्प प्रशासन यो मामिलामा खुला हुन सक्छ। बाइडन प्रशासनले नयँ व्यापार सम्झौताहरूमा थुप्रै वातावरणीय एवं श्रमसँग सम्बन्धित सर्तहरू तेर्स्याउने गर्थ्यो।

    मोदीलाई थप गैरकानुनी भारतीय आप्रवासी फिर्ता लग्न पनि ट्रम्पले भन्न सक्छन्। कतिपय विवरणहरूमा त्यो सङ्ख्या सात लाख भनिएको छ – अमेरिकामा रहेका त्यस्ता मानिसहरूको यो तेस्रो ठूलो समुदाय हो। यो विषय चाहिँ दिल्लीका निम्ति अलि कठिन र संवेदनशील हुन सक्छ।


    गत साता भारतीय विदेशमन्त्री एस जयशङ्करले संसद्‌मा बोल्दै भारत आफ्ना नागरिकहरूमाथि गलत व्यवहार नगरियोस् भन्ने निश्चय गर्न अमेरिकासँग मिलेर काम गरिरहेको बताए। गत साता फिर्ता पठाइएका भारतीयहरूलाई हतकडी लगाइएको विवरणले भारतमा क्रोध फैलिएको थियो।

    ट्रम्पले अझ धेरै अमेरिकी तेल किन्न पनि मोदीलाई भन्न सक्छन्। सन् २०२१ मा अमेरिकी तेल निर्यातका लागि भारत मुख्य गन्तव्य थियो। तर युक्रेनमा रुसको अतिक्रमणले विश्वको तेल बजारमा उथलपुथल भयो अनि दिल्लीले उसको साझेदार रुसबाट सस्तोमा धेरै परिमाणमा तेल किन्न थाल्यो। तेलको मूल्यले नै भारतले अमेरिकाबाट कति परिमाणमा तेल किन्न चाहला भन्ने निर्क्योल गर्ने छ।
    मोदीले ऊर्जाको क्षेत्रमा विशेष आग्रह गर्न सक्छन् । दिल्लीले उसको परमाणु दायित्व कानुन परिमार्जन गर्दै छ अनि नयाँ परमाणु ऊर्जा अभियानको घोषणा गरेको छ। सन् २०३० सम्ममा आफ्नो ऊर्जा आवश्यकताको आधा नविकरणीय ऊर्जा स्रोतबाट पूर्ति गर्ने भारतको लक्ष्य छ।

    ट्रम्पलाई परमाणु ऊर्जामा लगानी गर्न अनुरोध गरेर उसले बीचको बाटो खोज्न सक्छ स् यो ऊर्जा परम्परागत इन्धनभन्दा सफा मानिन्छ तर ट्रम्प प्रशासनले लगानीका लागि खासै नरुचाउने सौर्य वा वायु ऊर्जा जस्तो पनि होइन। बाइडन कालमा द्विपक्षीय सम्बन्धमा प्रविधिको ठूलो महत्त्व रह्यो। सन् २०२२ मा आईआईटी भनिने इनिशटिभ अन क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलजिजको कार्यान्वयन गरियो। दुवै पक्षले यसलाई रणनीतिक साझेदारीको नयाँ पाटो माने।

    कर्मचारीतन्त्रमा पुगेर यो विषयमा कुनै ढिलाइ नहोस् भनेर आईसीईटीको नेतृत्व दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको काँधमा दिइयो। मोदीले ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जसँग यस मामिलामा उनीहरूको प्रतिबद्धताबारे आश्वस्त हुन खोज्ने छन्। चीनसँग जुझ्नका लागि भारतलाई विश्वको प्रविधि आपूर्ति शृङ्खलामा बढी भूमिका दिने रुचिका कारण सायद उनीहरूले त्यस्तो प्रतिबद्धता व्यक्त गर्ने छन्।

    साथै प्रविधिको क्षेत्रमा मोदीले ट्रम्पसँग एच(वनबी भिसाको व्यवस्था कायम राख्न अनुरोध गर्न सक्छन्। यस्ता प्रवेशाज्ञा प्रतिभाशाली विदेशी कामदारहरूलाई दिइन्छ। ट्रम्पका कतिपय प्रभावशाली समर्थकहरूले यसको आलोचना गर्दै आएका छन्। अमेरिकामा रहेका ठूलो सङ्ख्याका भारतीय प्राविधिकहरूले यस्तो प्रवेशाज्ञा पाएका छन्।

    तर गत साता अमेरिकी प्रशासनले तेहरानविरुद्ध अत्यधिक दबावको नीति घोषणा गरेको छ। चाबहारमा व्यापारीक गतिविधि गर्नेहरूविरुद्ध आर्थिक प्रतिबन्ध नलाग्ने गरी पहिले गरिएका व्यवस्था हटाइदिने सङ्केत उसले दिएको छ। मोदीले यस विषयले दिल्लीलाई पार्ने असरबारे प्रस्टता खोज्ने छन्।

    अनि युक्रेन र गाजामा युद्ध रोक्ने उनको ठूलो विदेश नीति प्राथमिकताबारे पनि ट्रम्पले मोदीको विचार जान्न चाहलान्। दिल्ली दुवै युद्ध समाप्त भएको हेर्न चाहन्छ। युक्रेनको हकमा मोदीको नीति – युद्ध अन्त्यको आह्वान गर्ने तर रुस वा पुटिनको आलोचना नगर्ने – ट्रम्पसँग मेल खान्छ। भारतको रुससँगको विशेष सम्बन्ध अनि इजरेलसँगको निकटताका कारण ट्रम्पले मोदी ती द्वन्द्व समाधानमा तेस्रो पक्ष मध्यस्थकर्ताको भूमिका वहन गर्न इच्छुक छन् कि भनेर बुझ्न खोज्लान्। यदि सङ्घर्षरत पक्षहरू बाह्य मध्यस्थताबारे सहज भएमा मात्र मोदी यस्तो भूमिका वहन गर्न राजी होलान्। तर यी संवेदनशील कुराकानीका बाबजुद दुवै नेताहरूले सकारात्मक सन्देश दिन चाहने छन्। यहाँनेर इन्डो-प्यासिफिक क्वाडले उचित स्थान पाउने छ।

    बेइजिङकेन्द्रित अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित यो समूहलाई ट्रम्पले बलियो समर्थन दिएका छन्। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले क्वाडको वार्षिक बैठकलाई विदेशमन्त्रीस्तरीय बनाइदिए भने पछि बाइडनले त्यसलाई शीर्ष नेता तहमा उचालिदिए। यो वर्षको क्वाड बैठक भारतमा हुँदै छ। मोदीले त्यसमा सहभागी हुन ट्रम्पलाई निम्तो दिन सक्ने छन्। अन्तर्राष्ट्रिय यात्रा गर्न ट्रम्प खासै रुचाउँदैनन्। तर सायद भारत भ्रमणका लागि भने उनी इच्छुक हुने छन् – मोदीसँगको व्यक्तिगत सम्बन्ध थप गहिरो बनाउन अनि बहुआयामिक द्विपक्षीय साझेदारीलाई अघि बढाउन।


    बीबीसी नेपाली सेवाबाट साभार

  • काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो

    काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो

    काठमाडौं । काठमाडौंमा लापरवाहीपुर्वक चलाइएका स्कुल बसका कारण दुई दिनमा चार जनाको ज्यान गएको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटनामा परेको छ । जसमा ३ जनाको ज्यान गएको छ । पिक्निक मनाएर फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले बताएको छ । जसमा परी क्रिसल पुरी, सुरेश तामाङ र शुशांका डोटेलको मृत्यु भएको छ ।

    कपन बस्ने ११ वर्षका मोरङका क्रिसल पुरीको त्रिवि शिक्षण अस्पतालमा र भिम्सेनगोला बस्ने १४ वर्षका सिन्धुपाल्चोका शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको हो । चाबहिल बस्ने २४ वर्षका सिन्धुपाल्चोकका सुरेश तामाङको नेपाल मेडिकल कलेजमा मृत्यु भएको थियो । तामाङ विद्यालयका शिक्षक हुन् ।

    दुर्घटनामा ४० जना घाइते भएका थिए । विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो पिक्निकबाट फर्कने क्रममा ४:५० बजे दुर्घटना भएको थियो । बसमा २ देखि ९ कक्षासम्मका विद्यार्थी थिए ।

    यसअघि आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै गर्दा चालक र १ विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । जुनकिरी इंग्लिस बोर्डिङको बा १ क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खस्दा ३५ वर्षका चालक राधाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।

  • ३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश

    ३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश

    काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाइरहेका छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउने गरेका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् ।

    ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन् । दमनविरुद्धको प्रतिरोध नै जनयुद्धका रूपमा प्रकट भएकोसमेत प्रचण्डले दाबी गरेका छन् । उनले भनेका छन्, ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’

    दिवस मनाउन भन्दै माओवादीले जितेका देशका विभिन्न पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलले भने विरोध गरिरहेका छन् । ०७९ माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्‍को उक्त निर्णय सर्वोच्च आदेशले रोक लगाएको थियो । ०८० पुल १३ गते जारी भएको आदेशले ‘जनयुद्ध दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरेको थियो ।

  • इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की

    इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की

    काठमाडौं । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले गाजामा पुनः आक्रमणको चेतावनी दिएका छन् । गाजामा अहिलेसम्म ४४ हजारभन्दा माथि निहत्था मानिसको ज्यान गइसकेको छ । इजरायली बन्धकको रिहाई हमासका तर्फबाट रोकिएसँगै इजरायली प्रधानमन्त्रीको यस्तो धम्की आएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सोही धम्की दिइसकेका छन् ।

    इजरायली प्रधानमन्त्रीले आफ्नो सेनालाई गाजा आसपास तैनाथ हुन आदेश गरेका छन् । हमासले भने इजरायलले युद्धबिराम पालना नगरेको आरोप लगाउँदै आएको छ । इजरायल र हमासबीच १९ जनवरीमा युद्धबिराम लागु भएको थियो । त्यसयता १६ इजरायली र ५ थाई बन्धकको रिहाई भइसकेको छ । यसबीचमा इजरायलले ५६६ प्यालेस्टाइनलाई छाडेको छ ।

  • स्वस्थानी व्रत कथा आजबाट समापन

    स्वस्थानी व्रत कथा आजबाट समापन

    काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

    विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

    सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

    यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

    आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए।

    उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।

  • झापामा एक महिला मृत फेला

    झापामा एक महिला मृत फेला

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् ।

    छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो । गंकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङ्गबोले बताए । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।