Category: समाचार

  • चितवनमा बस दुर्घटना, २३ घाइते

    चितवनमा बस दुर्घटना, २३ घाइते

    काठमाडौं । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएको प्रहरीले जनाएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका छन् ।

    उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य यात्रु सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

  • प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

    प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

    काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्। आज नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गरिने कार्यसूची छ।

    आजै गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन्। गृहमन्त्री लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। नेपाल प्रहरी विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ गर्ने कार्यसूची राखिएको छ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    विधायन विधेयक, २०८० सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने पनि आजको बैठकमा कार्यसूची छ। सरकारले यसबीचमा जारी गरेका अध्यादेश पारित गर्ने कार्यसूची भने आजको बैठकमा राखिएको छैन। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

  • दुई नेपाली युवाको भारतमा पौडी खेल्ने क्रममा ज्यान गयो

    दुई नेपाली युवाको भारतमा पौडी खेल्ने क्रममा ज्यान गयो

    काठमाडौं । बझाङका दुई युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा ज्यान गएको समाचार छ । मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक छन्।

    उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए। त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको खबर आएको समाचारमा उल्लेख छ ।

  • दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    ाकठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने निश्चित भएको छ।
    दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने निश्चित भएको हो । दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४७ सिटमा जित हासिल गरेको छ। थप एक सीटमा अग्रता लिइरहेको छ।

    विधानसभाको आधा अर्थात् ३५ सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ। प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका छन्, विकासको जित भएको छ, सुशासनको विजय भएको छ। सन् २०१३ यता दिल्ली सरकार सञ्चालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले २२ सीट मात्र जितेको छ।

    आपका नेता पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभा सीट गुमाएका छन्। उनी भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३,००० भन्दा बढी मतान्तरले पराजित भए। चुनावमा आफ्नो हार स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो सन्देशमा भनेका छन्, जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताको साथ स्वीकार गर्छौँ।

    उनले दिल्ली निर्वाचन परिणामलाई लिएर भाजपालाई बधाई दिएका छन्। देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए। भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो। मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो। तर पछिल्लो समय केजरीवालसहित उनको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ।

    केजरीवाल र आपका नेताहरूले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन। सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्त्वपूर्ण आधार पाएको छ।
    महाराष्ट्र र छत्तीसगढ लगायतका राज्यमा हालैका राज्यसभा निर्वाचनहरूमा सफलता हासिल गरेपछि भाजपाले आफ्नो सम्पूर्ण ध्यान दिल्ली निर्वाचनमा लगाएको थियो।

    प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह यहाँका चुनावी सभाहरूमा सहभागी भएका थिए। भारतको सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय न्याश्नल कांग्रेस पनि दिल्ली राज्यसभाको निर्वाचनमा सहभागी छ। यो दलले हालसम्म कुनै सीटमा अग्रता कायम गरेको छैन। कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो। तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्‍याएका थिए।

  • अमेरिकामा १० यात्रु बोकेको जहाज दुर्घटनामा परेको पुष्टी

    अमेरिकामा १० यात्रु बोकेको जहाज दुर्घटनामा परेको पुष्टी

    काठमाडौं । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ । उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

    खराब मौसम र कम भिजिबिलिटीका बिच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ । शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ । रासस-सिन्ह्वा

  • पाथिभरा केवलकार विवादमा चन्द्र ढकाल भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ

    पाथिभरा केवलकार विवादमा चन्द्र ढकाल भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ

    काठमाडौं । कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चामा छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार भएको देखिएको छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो ।

    यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । यसै सन्दर्भमा लगानीकर्ताले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजनाबारे स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका प्रमुख चन्दै ढकालले करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको बताएका छन् ।

    नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको उनले बताए । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो ।

    केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न भइसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरु भएको उनले जानकारी दिए ।


    ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकारमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुईवटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन् । केबलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ । केबलकारको सबै उपकरण तथा पार्टस् विश्व प्रसिद्ध केबलकार कम्पनीको प्रयोग गरिनेछ ।


    केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन ।

    केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरुका लागि सहज हुनुका साथै सम्पूर्ण तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिडेर जान चाहनेहरुको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।

    पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ । यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै आइएमई ग्रुपका यस अघिका पर्यटन पूर्वाधारहरुमा जस्तै यहाँ पनि स्थानीयलाई आयोजनाको शेयर तथा लगानीको अवसर मिल्ने कुरा त छदैछ ।

    केबलकार निर्माण हुँदा तिर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकलाका सामग्री) प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उनले बताए । आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेन्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुने छ । यसबाट राज्यलाई कर तथा राजश्व पनि वृद्धि हुनेछ ।

    केबलकार विश्वमा अहिले प्रचलनमा रहेका यातायतका साधनमध्ये सबैभन्दा सुरक्षित र वातावरणमैत्री यातायातको साधन हो । विद्युतीय यातायातको यस साधनले कुनै पनि किसिमको प्रदुषण नगर्ने हुनाले यसलाई दिगो विकासको मापदण्डभित्र राखिएको छ ।

    यसका साथै, वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने १ रुख बराबर २५ रुखका दरले बृक्षारोपण गरी बृक्षारोपण गरिएका ती विरुवालाई ५ वर्षसम्म स्याहार तथा संरक्षण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । त्यसैले, यस केबलकार आयोजना सञ्चालन हुँदा पनि जैविक विविधता र वातावरण विग्रिने नभई यसलाई जोगाउन थप सहयोग पुग्ने छ ।

    पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरुले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि सुरु गरेका छन् । त्यतिमात्र नभएर निजी क्षेत्रलाई नै कलुषित गर्ने र उनीहरुका व्यवसाय, व्यक्तिगत प्रतिष्ठा र सम्मानमा आँच पुर्‍याउने खालका आक्षेपहरु लगाएका छन् । केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै सम्मृद्धिमा उनीहरुको योगदानको अनादर गर्नु अत्यन्त दुखद् विषय भएको उनले बताए ।


    विकट भौगोलिक अवस्थिति, हाइ अल्टिच्युड र ठाडो उकालो बाटोले गर्दा तीर्थयात्री तथा पर्यटकलाई मन्दिरसम्मको आवागमन अत्यन्तै कठिन छ । अझ हिड्न नसक्ने, विरामी, अशक्त, बालबालिका र बृद्धबृद्धाहरुलाई त त्यहाँसम्म पुग्न निकै संघर्षमय नै हुन्छ । पैसा तिर्न सक्नेहरु मान्छेलाई बोक्न लगाएर प्रति किलो २०० रुपैयाँसम्म तिरेर मन्दिरसम्म पुग्ने गरेको पाइन्छ ।

    यसरी एक जनाको १०,००० देखि १५–२० हजारसम्म पर्ने गरेको तीर्थयात्रीहरुको गुनासो छ । त्यस्तै हुने खानेका लागि त हेलिकप्टर चार्टर्ड गरी पाथीभरा मन्दिर पुग्ने व्यवस्था पनि छ । त्यसैले आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्रीरपर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उष्कृष्ट यातायातको एकमात्र माध्यम केबलकार हो ।


    यसका अतिरिक्त केबलकारले आर्जन गरेको नाफाको केही प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय निकायमार्फत स्वास्थ्य, शिक्षा, स्थानीय पूर्वाधारलगायतमा खर्च गरिने कुरा आयोजनाले स्पष्ट गर्दै पनि आएको छ ।

    आइएमई समूह पाथीभरा केबलकार कम्पनीमा करिब दुई वर्ष पहिलेमात्र संलग्न भएको हो । चार दशकअघिदेखि केबलकार निर्माणको विषय उठेको यस पवित्र धार्मिकस्थलमा २०७५ मा केबलकार कम्पनी स्थापना गरी काम अघि बढेको देखिन्छ । त्यसैले केबलकार बनाउने वा नबनाउने कुरा आज आएर राष्ट्रियकरण गएिको उनले बताए । आइएमई ग्रुपको संलग्नतापछि केबलकार निर्माणको विषयले गति लिएको हो ।

  • दिल्लीमा चुनाव हारे केजरीवाल, अन्य ठूला नेता पनि पराजित

    दिल्लीमा चुनाव हारे केजरीवाल, अन्य ठूला नेता पनि पराजित

    काठमाडौं । दिल्ली विधानसभा निर्वाचनमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । दिल्लीमा निरन्तर लोकप्रिय मतले जित्दै आएका हाम आदमी पार्टीका संयोजक अरविन्द केजलीवालले नै चुनाव हारेका छन् । आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका हुन् । अर्का ठूला नेता मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्। वर्तमान मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

    केजरीवाललाई भाजपा उम्मेदवार प्रवेश वर्माले हराएका हुन् । दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो, तर सन् २०२५ मा ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।

    केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरेका छन् । केजरीवाल प्रवेशबर्मासँग ३ हजार मतले पराजित भएका छन् । उता संदीप दीक्षितले केवल ३ हजार ८७३ भोट मात्र पाए । सन् २०२० को तुलनामा भाजपाले ३९ सिट थप्ने देखिएको छ आपले ३९ सिट गुमाउने सम्भावना देखिएको छ । भाजपाको भोट शेयर ९ प्रतिशतले बढेको छ भने आपको भोट शेयर १० प्रतिशतले घटेको छ । कांग्रेसले कुनै सिट जित्न नसके पनि भोट शेयर २ प्रतिशतले बढाएको छ ।

  • विपि राजमार्गको फिल्ड भिजिटमा भौतिक मन्त्री, वर्षाअघि बन्ला ?

    विपि राजमार्गको फिल्ड भिजिटमा भौतिक मन्त्री, वर्षाअघि बन्ला ?

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन् । वर्षायाममा यातायात अवरुद्ध हुन नदीने गरि काम शुरू गर्न उनले निर्देशन दिए । शनिवार सो राजमार्गको निरीक्षण गरि उहाले उक्त कार्यका लागी श्रोत अभाव हुन नदीने प्रतिबद्धता पनि जनाए ।

    राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसंग जोड़ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघी बढ़ाउन सड़क विभागलार्इ उनले निर्देशन दिए । अनुगममानै रहनु भएका मंत्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन ग़रेर काम शुरू गर्न आग्रह गरे ।

    सड़क विभागका महानिदेशक रामहरि पोखरेलले अल्पकालिन र दीर्घकालीन तयारी सहित मर्मत र पुननिर्माणको काम थालिने बताए । संघीय सड़क सुपरीबेक्षण तथा अनुगम कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सड़कको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भई रहेको जानकारी दिए । मन्त्री दहाल साहितको टोलीले सूर्यविनायक धुलिखेल सड़कको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।

    त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको बताए । टोलीले बीपी राजमार्गको धुलिखेल देखि नेपालथोक सम्मको निरीक्षण गरेको हो । अनुगमनमा सड़क विभागका उप महानिदेशक अर्जुन अर्याल, सड़क डीभीजन भक्तपुर तथा खालड़ेका प्रमुख तथा प्राविधिक लगायतको सहभागिता रहेको थियो।

  • दिल्ली विधानसभा निर्वाचन रुझान : कमजोर देखिए केजरीवाल

    दिल्ली विधानसभा निर्वाचन रुझान : कमजोर देखिए केजरीवाल

    नयाँ दिल्ली । दिल्ली विधानसभा निर्वाचनको प्रारम्भिक रुझान आउन थालेको छ । सो क्रममा आम आदमी पार्टी कमजोर देखिन थालेको छ । धेरै सिटमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी अगाडी छ ।

    त्यसपछि आम आदमी पार्टी रहेको छ । यो अरविन्द केजरीवालको पार्टी हो । केजरीवाल स्वयमः भने केही मतले अगाडी छन् । उनी नयाँ दिल्लीमा उठेका हुन् । प्रारम्भिक रुझानमा ४३ सिटमा भाजपा अगाडी छ । २७ सिटमा आम आदमी पार्टी अगाडी छ । कांग्रेस अग्रतामा छैन ।

  • खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो

    खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो

    काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको केही मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।

    एसएसपी खनालका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो । उनका अनुसार आगलागीमा खानेपानी मन्त्रालयको भवनमा क्षति भएको छ । क्षतिको विवरण आइसकेको छैन ।

  • विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    काठमाडौं –रासस । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा. राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेको मन्त्रालयले जनाएको छ ।

    त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।

    हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा. देउवाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको मुक्तिका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् । इजरायल सरकार र हमासबीच युद्धविरामको प्रयास भएदेखि नै मन्त्री डा. देउवाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।

    केही साताअघि मन्त्री डा. देउवाले इजरायलका विदेशमन्त्रीसँग पनि यसै विषयमा टेलिफोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको मुक्तिका निम्ति आग्रह गरेका थिए । जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा( देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छिन् ।

  • बालयौन दूराचारमा मदन राईलाई कैद सजाय

    बालयौन दूराचारमा मदन राईलाई कैद सजाय

    काठमाडौं । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो। जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ २५ गते सजाय निर्धारण गरेको हो। दुई वर्ष ६ महिना कैद र एक लाख जरिवाना सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले जानकारी दिए ।

    पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने सजाय फैसला भएको उनले जानकारी दिए । कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग थियो। यौन दुरुपयोग कसुरमा अदालतले राईलाई गत माघ १० गते कसुर ठहर गरेको थियो। फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए।

    मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउनेगरी उनी २०८० जेठ २२ गते पुर्पक्षका लागि चार लाख धरौटी तारेखमा रिहा भएका थिए। आरोपितविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोग पत्र दायर गरेका थिए। अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो।

  • झापामा युवतीसँगै होटलमा बसेका युवाको मृत्यु

    झापामा युवतीसँगै होटलमा बसेका युवाको मृत्यु

    काठमाडौं । झापाको बिर्तामोड नगरपालिका ४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका १ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए ।

    राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए । राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

  • २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

    २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने दावि गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने स्पष्ट पारे । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने बताए ।

    २०८४ सालको संसदीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने दाबीसहित उनले भने, ‘पहिलो पार्टी बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्छ, सबै मिलेर पहिलो पार्टी बनाउनुपर्छ ।’ एकताबद्ध ढङ्गले अघि बढेमा जित सुनिश्चत भएको उनको भनाई छ । यसअघि प्रचण्डले बिहीबार संसदमा सम्बोधन गर्दै माओवादी सत्ताको खेलमा नरहेको बताएका थिए । उनले अब माओवादी सच्चिने र सोही अनुसार जनतामा फर्किएको समेत बताएका छन् ।

  • रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

    रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालले सार्वभौम संसदले पनि रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधको समर्थन गरेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापतिसमेत रहेका अर्यालले संसदको चौथो ठूलो दलको सभापतिसँग सरकारले प्रतिशोध साँधेको र त्यसलाई संसदले समर्थन गरेको बताएका हुन्।

    सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ, उनले भने। उनले संसदको चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोध साँधिएको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्ने बताए। झुट्टा मुद्दा लगाएर फसाउने सरकारको कूनीयत जनताले बुझिसकेका छन्। सरकारको यस्तो रवैयालाई संसदले समर्थन नगरोस्। प्रतिनिधि सभा नियमावलीको सही प्रयोग होस्, उनले भने।

    त्यसकारण थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न अर्यालले माग गरे।

  • अझै बढ्यो डलरको मूल्य

    अझै बढ्यो डलरको मूल्य

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य अझै बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २६ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।

    कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १४ पैसा र बिक्रीदर चार रूपैयाँ १६ पैसा तथा युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

    यसैगरी स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा तोकेको छ ।

    कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा तथा ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७४ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • कैलालीमा आमाछोरी मृत फेला

    कैलालीमा आमाछोरी मृत फेला

    काठमाडौं । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।


    मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

    दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

    काठमाडौं । संघीय संसद्मा वर्तमान सरकारसँग दुई तिहाई हाराहारी बहुमत छ । सोहीकारण सरकारले पेलेरै जाने सोचसहित दुवै सदनमा बिहीबार अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो । प्रतिनिधिसभामा स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा सत्तारुढ दलसँग आवश्यक बहुमत नपुग्दा सरकार विपक्षी दलको घेराबन्दीमा परेको छ । सोहीकारण पुनः सत्ताको बार्गेनिङ सुरु भएको छ । यसलाई भरपुर उपयोग गर्ने दाउमा छन् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । सत्तापक्ष उनलाई सहमतिमा ल्याउन केन्द्रित छ ।

    प्रतिनिधिसभाले दैनिक कार्यसूची फाइनल गर्दा आज संसद् नरहेका बेला ल्याएका सबै अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लाबेग्लै भेटेर सघाउन आग्रह गरे पनि यादवले स्पष्ट जवाफ नदिएपछि सरकार पछि हट्न बाध्य भयो ।

    प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्दैछ । शुक्रबार पनि अध्यादेश अगाडि बढाउने सरकारको तयारी छैन । जसपा नेपाल फेरि पनि हतारमा निर्णय गर्ने पक्षमा छैन । मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

  • गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल

    गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार बिहीबार जजिरा एयरवेजबाट १ सय २ यात्रु भैरहवा आएका छन् भने सोही जहाजमा १ सय ४९ जना उडेका छन् । त्यस्तै थाई एयर एसियाबाट १ सय २८ यात्रु उडेको उनले बताए ।

    दुबईबाट आएको फ्लाइ दुबईबाट ४४ यात्रु भैरहवा अवतरण गरेका छन् भने २९ जना भैरहवाबाट उडेका छन् । महानिर्देशक तिवारीले यो विमानस्थलमा पुनः उडानले गति लिन थालेको समेत बताए । यो विमानस्थलमा हिउँदमा भने धेरै उडान कटौती भएका थिए । प्रतिकूल मौसमले कम भिजिबिलिटी हुँदा उडान नियमित हुन नसकेका हुन् ।

  • युवकलाई हनी ट्र्यापमा फसाएर पैसा असुल्ने युवती पक्राउ

    युवकलाई हनी ट्र्यापमा फसाएर पैसा असुल्ने युवती पक्राउ

    काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ । कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम समेत असुलेको पाइएको प्रहरीले जनाएको छ ।


    पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • चितवनमा ५४ लाख धरौटीमा छुटे रवि

    चितवनमा ५४ लाख धरौटीमा छुटे रवि

    काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएसँगै रवि छुटेका छन् । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित थिए । उनको बुधबार थुनछेक बहस नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

    कास्की, काठमाडौँ र रूपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ । मिसिल संलग्न उल्लेखित तत्काल प्राप्त प्रमाण भएको प्रस्तुत मुद्दामा थुनछेकतर्फ विचार गर्दा यी प्रतिवादी रवि लामिछानेले यस अदालतमा बयान गर्दा आफू निर्दोष रहेको भनी कसूरमा इन्कार रहेको भएता पनि निजले आफ्नो वयान व्यहोरामा आफू गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको, सो कम्पनीमा आफ्नो शेयर रहेको विषयलाई अन्यथा नभनेको, निजले प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको भन्ने तथ्यलाई स्वीकार गरेको त्यसै गरी निज प्रतिवादीले मौकामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा समेत आफु निर्दोष रहेको भनी कसूरमा इन्कार रहेता पनि निजले अनुसन्धान अधिकारी समक्षकै बयानमा आफू गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा प्रबन्ध निर्देशक रही काम गरेको, आफूलाई सो प्रालिमा १५ प्रतिशत शेयर प्राप्त भएको, कम्पनीका चेकमा आफूले हस्ताक्षर गरी विभिन्न व्यक्ति र संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेक जारी भएको, ती चेक अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरिएको भनी बयानमा उल्लेख गरेको, गीतेन्द्रबाबु राई समेत मुल मुद्दामा प्रतिवादी रहेको देखिएको, साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा रकम आएको भन्ने मिसिल संलग्न चेकको प्रतिलिपीबाट देखिएको, यी प्रतिवादी रवि लामिछानेले समेत ठगी गरेको भनी निज उपर समेत जाहेरवालाहरुको किटानी जाहेरी परेको, मौकामा अनुसन्धान अधिकारी समक्ष सह प्रतिवादी छबिलाल जोशी र कुमार रम्तेलले यी प्रतिवादी रवि लामिछानेलाई समेत पोल गरी वयान गरेको, मौकामा घटना विवरण कागज गर्ने मानिसहरु शैलेन्द्र रेग्मी, अर्जुन श्रेष्ठ समेतका मानिसहरुको भनाई तथा मुल मिसिल संलग्न बरामदी मुचुल्का समेतका उल्लिखित तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमान बुज्दै जाँदा ठहरेवमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४,००,०००। (चौबन्न) लाख रुपियाँ धरौट वा जमानत वा बैड्क जमानत लिनु। सो माग भएको धरौट वा जमानत वा वैड्क जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु। सो दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु।

  • बजेटको आकार घटाइयो, झण्डै १७ खर्ब मात्र खर्च हुने

    बजेटको आकार घटाइयो, झण्डै १७ खर्ब मात्र खर्च हुने

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ । बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ अनुमान सार्वजनिक गरेका हुन् ।

    यो आव सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, आर्थिक वर्ष अन्त्यसम्म १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अर्थमन्त्री पौडेलको भनाइ छ । उनका अनुसार चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान गरिएको छ ।

    पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान सरकारले गरेको छ । वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९.०९ प्रतिशत हो । त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँमात्र हुने अनुमान सरकारले गरेको छ । सरकारले यसबीच राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान गरेको छ ।

    बाँकी रकम जुटाउन वैदेशिक अनुदान र वैदेशिक ऋणमा भर पर्नुपर्छ । त्यसको अनुमान क्रमशः ३६ अर्ब ६२ करोड र १ खर्ब ८० अर्ब ८३ करोड रुपैयाँ बराबर गरेको छ ।

  • चितवनमा रविको थुनछेक बहस आज

    चितवनमा रविको थुनछेक बहस आज

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज चितवन अदालतमा उपस्थित गराइँदै छ । बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको छ । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।

    बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए । अन्यको बहस आज अदालत खुलेपछि सुरु हुने बताइएको छ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।

  • प्रतिनिधिसभा बैठक आज, प्रचण्डको विशेष सम्बोधन

    प्रतिनिधिसभा बैठक आज, प्रचण्डको विशेष सम्बोधन

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

    अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

    संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन् । प्रचण्डले पनि त्यसै विषयसँगै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

  • नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

    नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

    काठमाडौं । चितवन सौराहा क्षेत्रमा देखिरहने मकुना जंगली हात्तीको गोली लागेर ज्यान गएको छ । जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जको जिकिर छ ।
    उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले विज्ञप्तिमार्फत दाबी गरेको छ । स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि निकुञ्जले जनाएको छ ।

    बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती ९चुरेगज० लाई आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।

    ‘हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको’, विज्ञप्तिमा भनिएको छ, ‘पछि खोज्दै जाने क्रममा करिब १ किमी टाढा ढलेको अवस्थामा साढे १ बजे फेला परेको ।’ पोस्टमार्टमका क्रममा हात्तीको दाहिनेपट्टी घाँटीमा १ वटा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको पनि निकुञ्जले जनाएको छ।

  • ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

    ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

    काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि भनेर खटिएका थिए ।

    उनीसँग एउटै कोठामा बस्ने तीन जना ड्युटीमा खटिएकोमा दुई जनाले भने शाली नदी मेलामै खाना खाएका थिए । चौधरी भने ब्यारेकमै खाना खाने भन्दै फर्किएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन् । खाना खान भनेर आएकी चौधरी आफू सुत्ने कोठामा पसेकी थिइन् । तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केको र बोलाउँदा पनि नबोलेपछि झ्याल फोडेर हेर्दा उनी सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ ।


    बर्दिया घर भएकी २३ वर्षीया चौधरी प्रहरी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भयो । प्रहरी वृत्त गौशालामा कार्यरत उनी शाली नदी मेलाको ड्युटीका लागि थप मद्दत भन्दै खटिएकी थिइन् । विवाहित चौधरीका श्रीमान भने वैदेशिक रोजगारीमा विदेश रहेको पाइएको छ । परिवारका आफन्त आएपछि शव उठाएर पोस्ट मार्टमका लागि पठाउने तयारी प्रहरीको छ ।

  • रविलाई चितवनमा न्यायिक हिरासतमा पठाइयो

    रविलाई चितवनमा न्यायिक हिरासतमा पठाइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

    जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।

    बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याए । अन्यको बहस भोलि अदालत खुलेपछि सुरु हुने बताइएको छ ।

  • अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

    अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

    काठमाडौं । अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ । जसमा चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरूमा मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नुपर्ने व्यवस्था राखिएको छ ।

    यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो । जुन व्यवस्था संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदी पौडेलले शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् । ‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’

    यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएका छन् । नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ । नेपालले यसअघि ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्‍याउँदा ब्लुमबर्ग अवार्ड समेत प्राप्त गरेको थियो ।

    निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । चुरोटका लागि निर्देशिकामा विभिन्न पाँच वटा खतराका चित्र र सन्देशहरू राखिएको छ । यस्तै बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था निर्देशिकामा छ ।

    यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र र्‍यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा घातक चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०र२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश र पछाडिको भागमा भने एउटा सन्देश २० प्रतिशत र अर्कोमा १० प्रतिशत हुने व्यवस्था छ ।

    निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक सन्देश, सहायक दायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन, धुम्रपान गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्ने छ ।

    त्यस्तै सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साईडले मुटु र फोक्सोको रोग लाग्छ धुम्रपान गर्न छोडौं’ भन्ने चेतनामूलक सन्देश र तल्लो दश प्रतिशत भागमा उत्पादकको नाम र ठेगाना छाप्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

    यसैगरी सन्देश र चित्र स्पष्ट देखिनेगरी प्याकेजिङ र लेबलिङ गर्नु पर्ने पनि भनिएको छ । उत्पादकले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छपाई गर्नुपर्ने चेतावनीमूलक सन्देश र चित्रहरुको अपभ्रंस नहुने, नबिग्रने र नछोपिने गरी सूर्तीजन्य पदार्थहरू प्याकेजिरू र लेबलिरू गर्नु पर्ने भनिएको छ ।

    निर्देशिकाले सूर्तिजन्य पदार्थको प्रवद्र्धन हुनेगरी प्याकेजिङ वा लेबल गर्न निषेध गरेको छ । ‘उत्पादक लगायत कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तिजन्य पदार्थको प्रवद्र्धन हुने गरी कुनै सन्देश, सामग्री, रंग, चित्र आदि राखेर प्याकेजिङ वा लेबल गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ ।

    निर्देशिकाअनुसार उत्पादकले अबको ६ महिनाभित्र बजारमा रहेका ९० प्रतिशत चेतावनीयुक्त प्याकेट तथा प्याकेजहरु हटाइसक्नुपर्नेछ । यो निर्देशिका पारित भएको मितिले १८० दिनपछि लागु हुने निर्देशिकामा उल्लेख छ । नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

  • सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

    सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो । अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए । सोही नीति अनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो ।

    बुधबार मात्रै अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ । पक्राउ परकोहरूविरुद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ । एसएसपी बस्नेतका अनुसार समाजमा अशान्ति मच्चाउनेविरुद्ध विशेष अपरेशन नै बनाएर काम सुरु गरिएको छ ।

    ‘एसएसपी बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुण्डागर्दी हेर्ने ४ नम्बर पिलरले उनीहरूलाई पक्राउ गरेको हो । ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरे कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूले १०–१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।

  • दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

    दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

    काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावमा मतदान सुरू भएको छ। दिल्लीको सबै ७० विधानसभा सिटमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । मतदानको समय साँझ ६ बजेसम्म तोकिएको छ । दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवार मैदानमा छन्। मतदान गर्न १ करोड ५६ लाख मतदाता योग्य छन् ।

    आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा दिइएको छ। दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो। २०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो। यसबीच अरबिन्द केजरिवाल पक्राउ, लोकसभा चुनावपछि बढेको भारतीय कंग्रेस आईको शक्ति लगायत विभिन्न हिसाबले दिल्ली बिधानसभा चुनावलाई चासोका साथ हेरिएको छ।