Category: समाचार

  • माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश अश्विकार गर्ने

    माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश अश्विकार गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत हिसाबमै गलत भएको निष्कर्ष निकाल्दै अश्विकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दल बैठकले अध्यादेश प्रक्रिया गलत भएको निष्कर्ष निकालेको र त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो,’ पाण्डेले भने, ‘त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठि लेखेर लिएर गएको छ । त्यो छिटो गर्न खोजेको भनाइलाई त्यो तथ्यले आफैं खण्डित गर्छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

    त्यस्तै, भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफूहरू जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय पनि भएको उनले जानकारी दिए । ‘हाम्रो दुईवटा जिम्मेवारी छ । एउटा त आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज संसद्मा उठाउने । सँगै विपक्षी दलहरूलाई पनि लिएर मतऐक्यता हुनसक्ने विषयमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने,’ पाण्डेले निर्णय सुनाउँदै भने ।

  • अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

    अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

    अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किएका छन् । अहिलेसम्म हताहतिको सङ्ख्या सार्वजनिक भइसकेको छैन । वासिङ्टन डिसिस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । स्थानीय समय अनुसार रातको ९ बजे भएको यो घटनापछि जहाज पोटोम्याक नदिमा खसेको छ । जहाजमा चालक दलका चार र ६० यात्रु सवार थिए ।

    दुर्घटनामा परेको सेनाको हेलिकप्टरमा तीन सैनिक सवार थिए । उनिहरुको अवस्था समेत अज्ञात छ ।

  • भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

    भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

    काठमाडौं । एक वर्षमा भ्रमणका लागि विदेशिने नेपालीको संख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ मा विदेश घुमफिरमा २ लाख ७४ हजार ४२८ जना नेपाली गएका छन् । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् ।

    यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा धेरै हो । सो वर्ष २ लाख ४ हजार ५१८ जना नेपाली विदेश घुमफिरमा गएका थिए । सन् २०२४ मा कुल १७ लाख ७४ हजार २२५ जना नेपाली नागरिक विभिन्न प्रयोजनमा विदेश गएका छन् । विभागले सन् २०२३ बाट प्रयोजनगत रूपमा नेपालीहरुको विदेश यात्राबारे विवरण सार्वजनिक गर्न थालेको हो ।


    नेपालीको प्रमुख गन्तब्य भारत र थाइल्याण्ड छन् । यसबाहेक खाडीमुलुकहरु समेत रहेका छन् । मलेसिया, इण्डोनेसिया, भियतनाम र श्रीलंकामा पनि नेपालीको जाने क्रम बढेको पाइन्छ । एक वर्षको अवधिमा बिजनेस प्रयोजनमा भने २० हजार १०१ जना नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार ४०५ पुरुष र २ हजार ६९५ महिला छन् । यो संख्या गत वर्षको तुलनामा बढी हो ।

    सन् २०२३ मा १८ हजार ९६४ जना बिजनेस प्रयोजनमा विदेश यात्रा गरेका थिए । सन् २०२४ मा विभिन्न तालिम, सेमिनार र सम्मेलनमा भाग लिन भने २४ हजार २६२ नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार १६६ पुरुष र ७ हजार ८९ महिला छन् । यो अवधिमा आधिकारिक भ्रमणमा विदेश उड्नेहरू भने १३ हजार २९३ जना छन् । जसमा १० हजार १०१ पुरुष र ३ हजार १९१ महिला रहेको तथ्यांकमा देखिन्छ ।

    आधिकारिक भ्रमणमा विदेश जानेको संख्या यसवर्ष केही कम भएको छ । सन् २०२३ मा १६ हजार १११ यस्तो प्रयोजनमा विदेश उडेका थिए । पर्यटनसहित सेवा क्षेत्रको आय पछिल्लो समय ऋणात्मक देखिन्छ । नेपालमा आउने पर्यटकभन्दा नेपालीले विदेश भ्रमणमा बढी खर्च गर्दा सो देखिने गर्छ । सन् २०२४ मा विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भने साढे ११ लाख हाराहारी रहेको छ ।

  • महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

    महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

    काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका हुन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् ।

    नेपाली कप्तान इन्दुले ‘साढे दुई वर्षपछि घरेलु मैदानमा नै हुन लागेको यस श्रृंखलाका लागि धेरै उत्साहित रहेको बताएकी छिन् । पहिलोपटक नेपाल आउँदा उत्साहित भएको बताउँदै डच कप्तान डे लिडेले नेपालसँग पहिले खेल्ने अवसर नपाएपनि अब पाएको अवसरमा राम्रो खेल प्रदर्शन गर्ने बताएकी छिन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् ।

    नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

  • कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    प्रयागराज । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या ३० पुगेको प्रशासनले पुष्टी गरेको छ । घटनाबारे मूख्यमन्त्री योगी आदित्यनाथले औपचारिक बयान दिएका छन् । उनले घटना दुर्भाग्यपूर्ण रहेको बताए । उनका अनुसार घटना संगम तट निर भएको हो । भीड नियन्त्रण गर्न राखिएका ब्यारियर्स तोड्ने र त्यसमाथि भीड कुद्ने काम भएको उनले जानकारी दिए ।

    प्रशासनले प्रयागराजको सबै घाटमा स्थान खुला गरी सहज बनाए पनि केही मानिस संगम तटमै पुग्ने अडिगमा रहँदा घटना भएको बताइएको छ । उनका अनुसार घटनामा ३६ भन्दा बढी घाईते छन् । उता राज्य सरकारले मृतकका परिवारलाई २५÷२५ लाख क्षतिपूर्ति दिने घोषणा समेत गरेको छ ।

  • आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

    आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

    काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

    भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।

    देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

  • नेपाल छाडेर स्थायी बसोबासमा विदेशिए ६६ हजार ८३५ नेपाली

    नेपाल छाडेर स्थायी बसोबासमा विदेशिए ६६ हजार ८३५ नेपाली

    काठमाडौं । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।

    जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजिमा विदेशिनेको रहेको छ । स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।

    यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ । विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।

    अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना विदेशिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।

  • सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

    सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

    काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालका अनुसार राजधानी जुबाका लागि उडेको विमान बुधबार युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनामा परेको हो ।

    विमानमा २१ जना सवार थिए । जसमध्ये एक जना मात्रै बाँचेका छन्,’ गतवेच विपालले भने । ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए । उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

  • स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

    स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए।

    सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका हुन् । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धि निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै बीमा रकम ५ लाख पुर्‍याउने तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी मन्त्री पौडेलले गरेका छन्।

  • कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

    कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् ।

    १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर, मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो ।

  • कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा

    कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो ।

    राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारहरूलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् । मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीहरूलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारहरूलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ ।

    यदि, उनीहरूले त्यो मितिसम्म आफ्नो जागिर छोड्न राजी भए,’ सन्देशमा भनिएको छ, ‘उनीहरूले विच्छेद प्याकेजको रूपमा करिब आठ महिनाको तलब पाउनेछन् ।’ बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्प प्रशासनले कर्मचारीहरूले प्रस्ताव स्वीकार गर्ने वा संघीय सरकारले काम गर्ने २० लाखभन्दा बढी कामदारहरूमध्ये करिब दुई लाखले स्वीकार गर्ने अपेक्षा गरेको छ ।

    ट्रम्पका वरिष्ठ अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई उक्त खरिदले सरकारलाई एक सय अर्ब डलर (८० अर्ब पाउण्ड)सम्म बचाउन सक्ने बताए ।
    अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ ऐतिहासिक ‘विकल्प’ का रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको छ । २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेयता संघीय खर्च कटौतीविरुद्ध यो अहिलेसम्मकै ठूलो कदम हो ।

  • कुम्भ भेलामा भागडौड, कम्तिमा १० जनाको मृत्यु

    कुम्भ भेलामा भागडौड, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । करोडौं मानिस सहभागी हुने भारतको उत्तरप्रदेशस्थित बहुचर्चित प्रयागराज कुम्भ मेलामा भागदौड मच्चिएको छ । सो क्रममा कैयौं व्यक्ति हताहत भएको भारतयि सञ्चारमाध्यमले लेखेका छन् । अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टी गरिएको छ । घटना गएराति भएको हो । समाचार एजेन्सी एएफपीले १५ जनाको मृत्यु भएको पुष्टी भएको लेखेको छ । सरकारी निकायबाट औपचारिक तथ्यांक सार्वजनिक भइसकेको छैन ।

    घटनापछि अमृत स्नान रद्द गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरिसकेका छन् । बुधबार मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान छ । मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको हो । धेरै व्यक्तिको भिडमा कुल्चिएर ज्यान गएको हो । भारतीय

  • लेवनानमा इजरायलको आक्रमण, थप २५ मारिए

    लेवनानमा इजरायलको आक्रमण, थप २५ मारिए

    काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए । आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दा आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् ।

    लेबनानी बासिन्दा इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् । तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ । सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटना आएका छन् । रासस, सिन्ह्वा

  • काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

    काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला परेका छन्। चन्द्रागिरि नगरपालिका १५ ढुंगेअड्डा पिपल चौतारी स्थित प्रगति युवा क्लबको पक्की तिनतले खाली भवनको दोस्रो तलामा मंगलबार साँझ सुतिरहेको अवस्थामा एक पुरूष मृत अवस्थामा फेला परेका हुन् ।

    थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छैन। उमेर अन्दाजी ५८ देखि ६० वर्ष छ। मानिस मृत फेला परेको खबर आएपछि प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा प्रहरी टोली खटेर गएको उनले बताए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

    आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

    काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार शहीद सप्ताहको अन्तिम दिन बुधबार भएकाले सरकारको तर्फबाट आज शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी हुनेछन् ।

    विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न संघसंस्थाले मात्र कार्यक्रम गरी दिवस मनाउने गरेका थिए । तर यस वर्ष प्रधानमन्त्री ओली आफैं शहीदगेट पुग्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ । यस वर्ष शहीद सप्ताहको अन्तिम दिन सरकारकै तर्फबाट शहीद दिवस मनाउन लागिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

    माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद गेट र शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

    यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर स्थित राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको छ । गोकर्णेश्वरमा वनमन्त्रीको सहभागितामा कार्यक्रम गर्ने तयारी छ । पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर त्यो सञ्चालनमा आउन सकेको छैन ।

  • संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय

    संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिए । उनले सरकारले ल्याएको अध्यादेश संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको बताए ।

    अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको जानकारी दिए । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘‘हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट हामीले राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरुलाई फास्ट ट्रयाकबाट संसदबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’’

    यसैगरी, सरकारले सहिद दिवस भव्य रुपमा मनाउने भएको छ । उनले सहिद सप्ताहको बुधबार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा सहिदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए । उहाँले सहिद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि जानकारी दिए ।


    उनले भने, ‘‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यस कारण भोलि सरकारको तर्फबाट सहिद दिवस मनाउने काम हुन्छ । भोलि प्रधानमन्त्रीसहित हामी सबैजना सहिदगेट जान्छौं । त्यहाँ सहिदहरुप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौं । त्यसपछि जहाँ ठाउँ खालि हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ ।’’

  • शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

    शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

    काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।

    बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधि सभामा पेस हुने छन् ।

  • सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक, व्यापक आलोचना

    सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक, व्यापक आलोचना

    काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न कडा प्रावधानसहितको विधेयक ल्याएको छ । प्रयोगकर्तालाई आर्थिक जरिवानादेखि कैदसम्मका प्रावधन समेटिएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मंगलबार संसदमा दर्ता गरिएको छ । विधेयकमा सामाजिक सञ्जाल प्लाटफर्म र यसका प्रयोगकर्तालाई आर्थिक जरिवाना र जेल सजायसम्मको व्यवस्था राखिएको हो । सरकारले नेपालमा अनुमति नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने व्यक्तिलाई २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी विधेयक बनाएको छ ।

    कुनै व्यक्ति वा संस्थाले राष्ट्रहीत प्रतिकूल हुने कार्य गरे कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । साइबर बुलिङ कसुर गर्नेलाई दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय तोक्ने प्रस्ताव गरिएको छ । साइबर स्टकिङ कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था राखिएको छ । दफा २१ मा कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरी व्यवस्था प्रस्ताव गरिएको छ ।

    फिसिङ वा इम्पोष्टर स्क्याम गरे तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय राखिएको छ । सेक्सटोर्सन वा एक्सटोर्सन कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । विभत्स तस्वीर वा अडियो वा भिडियो पोस्ट वा सेयर गरे कसूर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय तोकिने व्यवस्था राखिएको छ । अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्नेलाई दुई वर्षसम्म कैद सजाय वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।

    डिपफेक भिडियो अपलोड वा प्रसार गरे दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राखिएको छ । सामाजिक सञ्जालमा बेनामी भएर लेख्नलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय राखिएको छ ।

    छद्मवेशी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गरे कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम सजाय हुनेमा सोहीबमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख भएको रहेनछ भने पाँच वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि गरिएको छ ।

    कसैले सामाजिक सञ्जालको प्रयोग गरी प्रचलित कानुन बमोजिम कसुर हुने कार्य गरेमा वा त्यस्तो कसूर गर्न दुरूत्साहन गरेमा प्रचलित कानुन बमोजिम सजायमा एक वर्षसम्म थप कैद सजाय हुने प्रस्ताव गरिएको छ । सरकारले ल्याएको विधेयक बाहिरिएसँगै विश्लेषकहरुबाट भने यस कानूनको कडा विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तासँग कानून बनाउने मानिसहरु बढी नै तर्सिरहेको भान हुने उनीहरुको तर्क छ ।

  • बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता कारागार चलान

    बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता कारागार चलान

    काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको मंगलबारको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

    काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी पक्राउ परेपछि पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले निलम्बन गरेको थियो ।

  • भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुबै मुलुकले वार्ता सार्थक भएको उल्लेख गरेका छन् । ह्वाइट हाउसले जारी गरेको बयानमा दुई नेताबीच अमेरिका र भारतबीच सहयोग मजवुत गर्ने र अझ अगाडी लैजाने सन्दर्भमा कुराकानी भएको उल्लेख छ । दुई नेताबीच इन्डोप्यासिफिक, मध्यपूर्व तथा यूरोपको ताजा अवस्थाका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

  • ट्रम्पमाथि अनुसन्धान गरिरहेका १२ अधिकारी बर्खास्त

    ट्रम्पमाथि अनुसन्धान गरिरहेका १२ अधिकारी बर्खास्त

    काठमाडौं । ट्रम्प प्रशासनले जस्टिस डिपार्टमेन्टमा काम गरिरहेका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी १२ अधिकारी ट्रम्पविरुद्धको अनुसन्धानमा खटिएका बीबीसीले जनाएको छ । विभागका कार्यबाहक प्रमुख जेम्स मेक हेनरीले १२ अधिकारीलाई हटाउने निर्णय गरेका हुन् । यी अधिकारीले ट्रम्पका एजेण्डामा पुरा इमानदारीसाथ काम गर्ने विश्वास नभएको भन्दै हटाउने निर्णय गरिएको समेत बताइएको छ ।

  • नाइजेरियामा भिडन्त, कम्तिमा २२ सैनिक मारिए

    नाइजेरियामा भिडन्त, कम्तिमा २२ सैनिक मारिए

    काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको सेनाले जनाएको छ । सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले आक्रमण गरेको पुष्टि गरे ।

    उनले सशस्त्र विद्रोहीहरूले आक्रमणको योजना बनाएको बताए । सेनालाई रोक्न सशस्त्र विद्रोहीले विस्फोटक उपकरण तैनाथ गरेका थिए । सेनामाथि हालै बोर्नोमा धेरै सशस्त्र विद्रोहीको प्रयास विफल पारेको थियो । सशस्त्र सशस्त्र विद्रोही नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा प्राथमिक सुरक्षा खतरा भएको छ । राससको सहयोगमा

  • छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित

    छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित

    काठमाडौं । तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।


    २०७६ सालको भदौ २२ गते मन्त्री परिषदले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोहि अन्तर्गत सेनाले ‘ट्र्याक ओपन’ गराएको हो । रानी बिराटनगर देखि संखुवासभाको किमाथाङ्का सम्मको ३९० किलोमिटर सडकले नेपाललाई दुवै छिमेकी मुलुकसँगको सडक सम्पर्क थप सहज बनाएको छ । च्याम्ताङ् देखि घोङ्प्पा सम्मको १०।५१ किलोमिटरको ट्र्याक निर्माणसँगै यस क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय व्यापार समेत वृद्धी हुने अपेक्षा गरिएको छ ।
    ट्र्याक ओपन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकमा श्रोत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कोशी करिडोर पूर्ण सञ्चालनमा आएसँगै यहाँको कृषि, पर्यटन तथा व्यवसायीक क्षेत्रमा हुने विकासले स्थानीयको आर्थिक स्तर समेत उक्सिने मन्त्री दाहालले बताए । भौगोलिक विकटता र प्राकृतिक प्रतिकुलताका विच पनि नेपाली सेनाले ट्र्याक खुलाउन निरन्तर मेहनह गर्नु सह्रानिय भएको पनि उनले उल्लेख गरे ।


    ट्र्याक खुल्ला गराउने कार्यक्रममा मन्त्री दाहालका साथै रक्षा मन्त्री मानवीर राई, उर्जामन्त्री दिपक खड्का, पूर्व सांसद राजेन्द्र गौतम लगायत उपस्थित थिए । मन्त्री दाहाल सोमबारनै सोलुखुम्बूकै नेचासल्यान–३ स्थित हिमाल दर्शन माविको स्वर्ण जयन्ती समारोहमा समेत सहभागी भए ।

  • सार्वजनिक कार्यक्रममा जान थाले प्रधानमन्त्री, भक्तपुर पुगेर के भने ?

    सार्वजनिक कार्यक्रममा जान थाले प्रधानमन्त्री, भक्तपुर पुगेर के भने ?

    काठमाडौं । शारीरिक अस्वस्थताका कारण निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा जान थालेका छन् । उनी सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटनमा पुगेका थिए । सो कार्यक्रममा बोल्दै नउले सत्ता खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार विकास र स्थिरताको बलियो आधार भएको बताए । उनले राजतन्त्रको पालामा शासन टिकाउन मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको दावि गरे । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास नहुने भन्दै उनले देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्ने दावि समेत गरे ।


    प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने ब्त्ँउ । उनले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे ।

  • सांसदसँग समन्वय गरेर काम गर्न कांग्रेसका मन्त्रीलाई सभापति देउवाको निर्देशन

    सांसदसँग समन्वय गरेर काम गर्न कांग्रेसका मन्त्रीलाई सभापति देउवाको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीले सांसदसँँग समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । सोही अनुसार अघि बढ्न उनले निर्देशन समेत दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिए । सांसद रामहरी खतिवडाका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए ।


    मन्त्रीहरूले यस बारे जवाफ दिनुपर्ने भएकाले माघ १८ मा पुनः संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताए । उनले बैठकमा सांसदहरूले दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

  • ट्रम्प नीतिको नेपालमा प्रभाव : चार आयोजनामा दायित्व सिर्जनामा रोक

    ट्रम्प नीतिको नेपालमा प्रभाव : चार आयोजनामा दायित्व सिर्जनामा रोक

    काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका चार परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै युएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो ।

    “युएसएआइडी र नेपाल सरकारबिच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको युएसएआइडी नेपालले पत्रमार्फत जानकारी गराएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा स्थगित भएका आयोजनाअन्तर्गत युएसएआइडी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरूलाई जानकारी गराइएको छ ।”

    मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘युएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएआइडी एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘युएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा युएसएआइडीले सहवित्तीय लगानी गरेको छ ।

    युएसएआइडीले यी आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिए । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर जाने अनुदान ९० दिनका लागि रोक्ने निर्णय गराएका थिए ।

  • दक्षिण कोरियामा दुई नेपालीको मृत्यु

    दक्षिण कोरियामा दुई नेपालीको मृत्यु

    काठमाडौं । दक्षिण कोरियामा दुई नेपालीको मृत्यु भएको छ। दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।

    क्षयरोगका कारण उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष बुद्धि गुरूङलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । एक सातादेखि अस्पतालमै रहेका खतिवडाको निधन भएको हो । त्यस्तै ३९ वर्षीय एक युवाको हृदयघातका कारण मृत्यु भएको एनआरएनए अध्यक्ष गुरूङले बताएका छन् ।

  • माओवादी अध्यक्ष प्रचण्ड ओलीको जन्म गाउँ जाँदै, जनयुद्ध संग्रहालय उद्घाटन गर्दै

    माओवादी अध्यक्ष प्रचण्ड ओलीको जन्म गाउँ जाँदै, जनयुद्ध संग्रहालय उद्घाटन गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम प्रस्थान गरेका छन् । उपमहासचिव वर्षमान पुनसँगै उनी सोमबार सैनिक हेलिकप्टरमार्फत् त्यसतर्फ लागेका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ । आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जाने कार्यक्रम छ ।

    आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्नेछन् । हाल आठराई गाउँपालिका ३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए ।

    पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा दाहाल सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् । सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम छ ।

  • अछाममा दुई किशोरी मृत्यु प्रकरणमा दुई किशोर पक्राउ

    अछाममा दुई किशोरी मृत्यु प्रकरणमा दुई किशोर पक्राउ

    काठमाडौं । अछाममा दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । सोहीकारण पहिचान खुलाइएको छैन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।


    शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन् ।

    मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । शङ्कास्पद व्यक्तिका बारेमा परिवारका सदस्यले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।

  • कंगोमा १३ शान्ती सैनिकको मृत्यु, नेपालीको अवस्था के छ ?

    कंगोमा १३ शान्ती सैनिकको मृत्यु, नेपालीको अवस्था के छ ?

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम२३ समूहसँगको भिडन्तमा मारिएका छन्। दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ। त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएको बीबीसीले लखेको छ । नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बीबीसीलाई बताएका छन्।

    राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो। फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहँदा लडाइँ चर्किएपछि १० लाखभन्दा धेरै जनसङ्ख्या रहेको गोमाबाट राष्ट्रसङ्घले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ।