Category: समाचार

  • सरकारी वेवसाइट जोगाउन सरकारले जारी गर्यो एडभाइजरी, के के विषय समेटिए ?

    सरकारी वेवसाइट जोगाउन सरकारले जारी गर्यो एडभाइजरी, के के विषय समेटिए ?

    काठमाडौं । सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षा गर्न भन्दै सरारले सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको जनाएको छ ।

    एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश छन् । सरकारी कार्यालयको वेबसाइटमा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुनेलगायत समस्या देखिएपछि एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिए ।

    सरकारी वेबसाइट वा एप्लिकेसनमा समस्या देखिँदा कुन व्यक्तिलाई सम्पर्क गर्ने भनेर ‘फोकल पर्सन’ तोक्नका लागि पनि केन्द्रले सबै मन्त्रालय, आयोग, विभागलाई पत्राचार गरेको छ। वेबसाइट र नेटवर्क सुरक्षाका लागि नियमित रूपमा वेबसाइट अद्यावधिक गर्ने, सुरक्षा परीक्षण गराउने र डाटाको नियमित ‘ब्याकअप’ राखी व्यवसाय निरन्तरता योजना लागु गर्ने सल्लाह एडभाइजरीमार्फत दिइएको छ। त्यस्तै, एन्टिभाइरस, डेटाबेस, एप्लिकेसन लाइब्रेरी र अपरेटिङ सिस्टमहरू अद्यावधिक गर्ने र मल्टिफ्याक्टर प्रमाणीकरण लागु गर्न निर्देशन गरिएको छ।

    एडभाइजरीमार्फत डेस्कटप, ल्यापटप र प्रिन्टर सुरक्षाका लागि लाइसेन्स प्राप्त सफ्टवेयर मात्र प्रयोग गर्न, सिस्टम र बायोसलाई स्वचालित रूपमा अद्यावधिक गर्न र प्रिन्टरहरूलाई इन्टरनेट पहुँचबाट अलग राख्ने उपाय अपनाउन भनिएको छ। पासवर्ड व्यवस्थापनका लागि सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, तीन महिनामा कम्तीमा एक पटक परिवर्तन गर्ने र गोपनीयता कायम राख्न मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्न सिफारिस गरिएको छ। इन्टरनेट ब्राउजिङ सुरक्षाका लागि सुरक्षित ब्राउजिङ विधिहरूको प्रयोग, अद्यावधिक ब्राउजरको प्रयोग र व्यक्तिगत जानकारी अनधिकृत वेबसाइटमा सेयर गर्न भनिएको छ।

    सामाजिक सञ्जालमा अनधिकृत सामग्री पोस्ट नगर्न र व्यक्तिगत जानकारी सीमित मात्रामा प्रयोग गर्न तथा मोबाइल उपकरणको सुरक्षाका लागि अद्यावधिक गरिएको अपरेटिङ सिस्टम, विश्वसनीय स्रोतबाट मात्र एप डाउनलोड गर्नेलगायत विषयमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ। यी उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरूलाई नियमित रूपमा साइबर सुरक्षा तालिम दिने व्यवस्था गर्न पनि केन्द्रले आग्रह गरेको छ।

    केन्द्रले वेबसाइट अपडेट, डेटा ब्याकअप, सुरक्षित पासवर्ड, मल्टि–फ्याक्टर प्रमाणीकरण, नेटवर्क सेगमेन्टेसन र एन्टिभाइरस अपडेटलगायत कुरामा ध्यान पुर्‍याएर साइबर सुरक्षालाई सुदृढ बनाउन सकिने जनाएको छ। यी सुरक्षात्मक उपायहरूले सरकारी प्रणालीलाई साइबर खतराबाट बचाउने र नागरिक सचेतनासमेत बढ्ने अपेक्षा गरिएको केन्द्रका निर्देशक महर्जनले रासससँग बताउनुभयो।

    पासवर्ड व्यवस्थापन

    पासवर्ड सुरक्षित बनाउन सहजै अनुमान गर्न नसकिने र बलियो पासवर्ड बनाउने सल्लाह केन्द्रले दिएको छ। यसका लागि ठुला र साना अक्षर, सङ्ख्या र विशेष चिन्हको संयोजन भएको कम्तीमा आठ वर्णको पासवर्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै, तीन महिनामा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ। व्यक्तिगत जानकारीहरू जस्तैः नाम, जन्ममिति, ठेगाना आदिको प्रयोग पासवर्डका रूपमा नगर्न भनिएको छ। कुनै पनि प्रणालीको डिफल्ट पासवर्ड तुरुन्त परिवर्तन गरी मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।

    त्यस्तै, एउटै पासवर्डलाई विभिन्न सेवा वा प्रणालीमा प्रयोग नगर्न र पासवर्ड गोप्य राखी अनधिकृत व्यक्तिसँग सेयर नगर्न सुझाव दिइएको छ।

    इन्टरनेट ब्राउजिङ सुरक्षा

    सरकारी एप्लिकेसन, बैंकिङ सेवा वा अन्य महत्त्वपूर्ण सेवाहरू प्रयोग गर्दा सधैँ प्राइभेट ब्राउजिङ÷इन्कग्निटो मोड प्रयोग गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ। त्यस्तै, कुनै पनि वेबसाइटमा लिङ्कमा क्लिक नगरी ब्राउजरको एड्रेसबारमा डोमेन म्यानुअली टाइप गर्ने, ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने र यसलाई नियमित अद्यावधिक गर्न भनिएको छ। ब्राउजरमा पासवर्ड वा भुक्तानीसम्बन्धी जानकारी सुरक्षित नगर्नसमेत सुझाव दिइएको छ। अनधिकृत थर्ड पार्टी सेवाहरू, जस्तैः नर्ड भिपिएन, एक्सप्रेस भिपिएन वा प्रोक्सीहरूको प्रयोग नगर्न र शङ्कास्पद वा पायरेटेड सामग्री डाउनलोड गर्नबाट जोगिन भनिएको छ।

    इमेल तथा फिसिङ आक्रमणबाट सुरक्षा

    इमेलमार्फत हुने फिसिङ आक्रमणबाट बच्न अपरिचित व्यक्तिबाट आएका इमेल तुरुन्त नखोल्न र शङ्कास्पद अट्याचमेन्ट वा लिङ्क खोल्नबाट बच्नुपर्ने सल्लाह दिइएको छ। शङ्कास्पद इमेललाई स्प्याम रिपोर्ट गरी मेटाउनुपर्ने र आवश्यकबाहेक वेबपेजहरूमा सस्क्राइब नगर्न भनिएको छ। इमेल सेवामा मल्टिफ्याक्टर प्रमाणीकरण सक्रिय गर्ने, सार्वजनिक वाइफाइ प्रयोग गरेर व्यावसायिक इमेल नखोल्ने र सकेसम्म सुरक्षित भिपिएनको प्रयोग गर्नुपर्ने एडभाइजारीमा उल्लेख छ।

    रिमुभेबल मिडिया सुरक्षाको उपाय

    रिमुभेबल मिडिया प्रयोग गर्दा यसलाई प्रयोग गर्नुअघि स्क्यान गर्नुपर्ने र त्यसमा भएका संवेदनशील सामग्रीलाई पासवर्ड वा इन्क्रिप्सनका माध्यमबाट सुरक्षित गर्नुपर्ने जनाइएको छ। अनधिकृत स्रोतबाट प्राप्त मिडियाहरू प्रयोग नगर्न र कार्यालयद्वारा स्वीकृत मिडियाहरू मात्र प्रयोग गर्न एडभाइजरीमार्फत निर्देशन दिइएको छ।

    सामाजिक सञ्जाल सुरक्षासम्बन्धी

    सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत जानकारी सीमित राख्न, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट वा मेसेज स्वीकार गर्नुअघि राम्रोसँग जाँच गर्न र सरकारी जानकारी सार्वजनिक गर्नबाट जोगिन भनिएको छ। सरकारी इमेल ठेगाना सामाजिक सञ्जालमा पोस्ट नगर्न र सामाजिक सञ्जाल खातामा मल्टिफ्याक्टर प्रमाणीकरण लागु गर्न सुझाव दिइएको छ।

    मोबाइल सुरक्षा उपाय

    मोबाइल उपकरणको सुरक्षाका लागि पछिल्लो अपडेटरप्याच लागु गर्न, एप्लिकेसन विश्वसनीय स्रोतबाट मात्र डाउनलोड गर्न र एप्लिकेसनले मागेको अनुमति ध्यानपूर्वक जाँच्नुपर्ने सल्लाह दिइएको छ।

    आवश्यकताबाहेक वाइफाइ, ब्लुटुथ, एनएफसी जिपीएसजस्ता सेन्सरहरू निष्क्रिय राख्न र मोबाइलमा एन्टिभाइरस सफ्टवेयर राख्न भनिएको छ। मोबाइल हराएमा ट्याक गर्न सकिने सुविधा सक्षम गर्न र आइएमइआई नम्बर सुरक्षित राख्न पनि एडभाइजरीमा उल्लेख छ।राससको सहयोगमा

  • अछाममा दुई किशोरी मृत फेला

    अछाममा दुई किशोरी मृत फेला

    काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

    ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए । खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए । थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ ।

  • अमेरिकाले विश्वभर एकसाथ रोक्यो सहायता

    अमेरिकाले विश्वभर एकसाथ रोक्यो सहायता

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको एउटा आन्तरिक पत्राचारमा उसले हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको पाइएको छ। अमेरिकी विदेश मन्त्रालयले आफू मातहतका निकायलाई पठाएको उक्त आन्तरिक मेमो चुहिएर बाहिर आएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले गत सोमवार अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

    उक्त आदेशपछि मन्त्रालयले आफू मातहतका निकायहरूमा त्यस्तो पत्र पठाएको पाइएको हो। ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघि बढाउने उद्देश्यसाथ उक्त कार्यकारी आदेश जारी गरेको बताइएको छ। सरकारी तथ्याङ्कअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो। उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो।

    विदेश मन्त्रालयको सूचनापछि विकासदेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिएको छ।यद्यपि उक्त पत्राचारमा आपत्कालीन खाद्य सहायता र इजरेल तथा इजिप्टको सैन्य कोषका निम्ति रोक नलगाइएको बीबीसीले पुष्टि गरेको छ। उक्त पत्राचारमा कर्मचारीलाई निर्देशन दिँदै भनिएको छ, प्रत्येक प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुने छैनन्।ू

    त्यसमा अमेरिकी अधिकारीहरूलाई सहायाताबारे समीक्षापछि विदेशमन्त्रीले निर्धारण गरेको समयसम्मका लागि सम्बन्धित सहायता अघि बढाउने सबै कार्यहरू तत्काल रोक्न पनि निर्देशन दिइएको छ। उक्त पत्रमा सबै वैदेशिक सहायताबारे व्यापक रूपमा ८५ दिनभित्र समीक्षा गरेर त्यसले राष्ट्रपति ट्रम्पका विदेश नीतिसम्बन्धी लक्ष्य पूर्ति गर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ।

    ुअमेरिकी विदेशमन्त्री मार्को रुबिओले पहिले नै विदेशमा गर्ने सबै खर्चले अमेरिकालाई मजबुत, सुरक्षित वा अझ समृद्ध बनाउँछ भन्ने सुनिश्चित गर्नुपर्ने बताएका थिए। विदेश मन्त्रालयका एक जना वरिष्ठ पूर्व अधिकारीले उक्त सूचनाले अमेरिकाले अनुदान दिने सहायता कार्यक्रममा सम्भावित रूपमा ठूलो प्रभाव पार्न सक्ने बीबीसीलाई बताए।

  • हमासले छाड्यो चार महिला बन्दी

    हमासले छाड्यो चार महिला बन्दी

    काठमाडौं । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु चारैजना इजरायली सेना सैनिक हुन् । हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो ।

    हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए । त्यसपछि हमासले चारैजनालाई गाडीबाट ओरालेर मञ्चमा पुर्‍याएको थियो । त्यसपछि उनीहरूलाई रेडक्रसको जिम्मा लगाइएको हो । यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६ साताभित्र हमासले ३३ बन्दी रिहा गरिने जनाएको छ । अबका केही साताभित्र थप २६ बन्धक रिहा हुने अपेक्षा गरिएको छ ।

  • नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो

    नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको छ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दुई दिन चल्ने समेत बताइएको छ ।

    सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको हो । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

  • हमासले नाम सार्वजनिक गरेका चार महिला सैनिक बन्धक छुट्टै

    हमासले नाम सार्वजनिक गरेका चार महिला सैनिक बन्धक छुट्टै

    काठमाडौं । हमासले युद्धबिरामका दौरान भएको समझदारी अनुसार छाड्ने बन्दकको दोस्रो सूची सार्वजनिक गरेको छ । दोस्रो सूचिमा चार महिला सैनिकको नाम समावेश छ । उनीहरु इजरायली सैनिक करीना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी हल्बाग छन् । यी चार सैनिकलाई हमासले आफ्ना १८० कैदीको बदलामा छाड्न लागेको बताइएको छ । गत आइतबारबाट लागु भएको युद्धबिराममा दोस्रो पटक कैदीहरु छाड्ने गरी सम्झौता कार्यान्वयन हुन लागेको सञ्चारमाध्यमले जनाएका छन् ।

    पहिलो चरणमा ९० प्यालेस्टाइन कैदीको बदलामा तीन बन्धकलाई रिहा गरिएको थियो । ७ अक्टोवर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसबेला १२ सय मानिसको मृत्यु भएको थियो । हमासले २५१ जनालाई बन्धक बनाएको थियो । बदलामा गरिएको आक्रमणमा अहिलेसम्म ४७ हजार प्लालेस्टिनीको ज्यान गइसकेको छ ।

  • गर्भपतनमा जाने सरकारी सहायता रोक्दै ट्रम्प सरकार

    गर्भपतनमा जाने सरकारी सहायता रोक्दै ट्रम्प सरकार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि जाने सरकारी सहायता रोक्ने सम्बन्धी कार्यकारी आदेश जारी गरेका छन् । गर्भपतनका लागि मिल्ने सरकारी सहायतालाई हाइड संशोधनका रुपमा चिन्ने गरिन्छ । यो प्रावधान पहिलो पटक १९८० मा लागू भएको थियो ।

    यसमा निकै पटक संशोधन समेत गरिएको छ । जो बाइडेनले यो कानूनको रद्द गर्ने कोसिस गरेका थिए । तर, सफल हुन सकेनन् । यो नियम हटाएर अलग अलग राज्यमा आफ्नो आवश्यकता अनुसारका नियम बनाउनु पर्ने पक्षमा ट्रम्प छन् ।

  • पूर्वराष्ट्रपति केनेडीको हत्यासम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने

    पूर्वराष्ट्रपति केनेडीको हत्यासम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपति जोन एफ केनेडी, उनका भाइ सिनेटर रोबर्ट एफ। केनेडी र मार्टिन लुथर किङ जुनियर हत्यामा जोडिएका सबै गोप्य सरकारी दस्तावेज सार्वजनिक गर्न निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । ती दस्तावेज सार्वजनिक गर्ने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेको समेत खबर छ ।

    तत्कालीन राष्ट्रपति केनेडीको १९६३ मा गोली हानी हत्या भएको हो । साथै सन् १९६८ को राष्ट्रपती निर्वाचनमा बलियो दावेदार उनका भाइ रोबर्टको सोहीवर्ष गोली हानी हत्या गरिएको थियो । काला अमेरिकीका लागि पनि समान अधिकारको अभियान चलाएका किङको समेत १९६८ मै गोली हानेर हत्या भएको हो ।

  • ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस

    ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस

    काठमाडौं\रासस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन् ।

    ुइतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् । ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए र यसै साता आफ्नो दोस्रो कार्यकालको सुरुवात संयुक्त राज्य अमेरिकामा प्रवेशमा सुधार गर्ने उद्देश्यले कार्यकारी निर्णयमा यसलाई समावेश गरेका थिए ।

    राष्ट्रपतिको रूपमा आफ्नो पहिलो हप्ताको दोस्रो दिन ट्रम्पले भारी आयात करको साथ प्रहार गर्ने आफ्नो निर्वाचन अभियानमा बारम्बारको प्रतिज्ञाका बावजुत फक्स न्यूजसँगको अन्तवार्तामा भने, ‘अमेरिकाको सबैभन्दा ठूलो आर्थिक प्रतिद्वन्द्वी (चीन)लाई भारी आयात करको साथ प्रहार गर्ने आफ्नो बारम्बार प्रतिज्ञाका बावजुत चीनमाथि तत्काल कर वृद्धि हुनेछैन ।


    उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफूले यसअघि तीन पटक भेटेको र उनलाई ‘स्मार्ट मान्छे’ को संज्ञा दिएका थिए । आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए र आप्रवासीलाई ‘आपराधिक एलियन’को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने वाचा गर्दै त्यस क्षेत्रमा थप सेना तैनाथ गर्ने घोषणा गरेका थिए । संयुक्त राज्य अमेरिकामा अनुमानित एक करोड १० लाख गैरकानुनी आप्रवासी छन् ।


    बिहीबार न्यूजर्सीको नेवार्क सहरका डेमोक्र्याटिक मेयर रास बाराकाले एक विज्ञप्ति जारी गर्दै भने, अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) का एजेन्टहरूले एक स्थानीय प्रतिष्ठानमा छापा मारेको र बिना कागजात वा अवैध कागजातबाहक विदेशी निवासीलाई हिरासतमा लिइएको छ। बाराकाका अनुसार छापामार्ने क्रममा पक्राउ परेकामध्ये एक जना अमेरिकी सेनाका भूतपूर्व सैनिक थिए ।

    आईसीईले एक्समा अद्यावधिक गरेको रिपोर्टमा ‘५३८ जनाको गिरफ्तारी गरी र ३७३ जनालाई हिरासतमा राखिएको’ जानकारी गराइएको छ । आइसिईले आपराधिक अभियोगमा पक्राउ परेका र अमेरिकी कानुनअनुसार निर्वासित गर्न सकिने गैर–नागरिकहरूलाई हिरासतमा राख्छ ।

  • ‘ब्रेक थ्रु’ भयो सिद्धबाबा सुरुङ मार्ग

    ‘ब्रेक थ्रु’ भयो सिद्धबाबा सुरुङ मार्ग

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण थालिएको एक वर्षको अवधिमै ‘ब्रेक थ्रु’ भएको हो । दुई वर्षअघि नै ठेक्का लागेपनि सुरुङ् मार्गको काम भने एक वर्ष अगाडीबाट सुरु भएको हो । सुरुङ मार्ग छिचोलिएपछि अब लाइनिङ र विद्युतीकरणको काम सुरु हुने भएको छ । सुरुङ मार्गको भित्री भागमा लाइनिङ र विद्युतीकरणको काम गर्न अझैँ दुई वर्ष लाग्ने आयोजनाको कार्यालयले जनाएको छ । यस्तै बाहिर भागमा पनि दुई वटा हेलिप्याडसहितको काम गर्न बाँकी छ । सुरुङ् मार्गको बाहिरी क्षेत्रमा वाल उठाउने, बाटो चौडा गर्ने, रक सेड र रकनेट गर्ने कार्य भइरहेको छ ।

    सुरुङ् मार्गको दक्षितर्फ दुई हजार तीन सय वर्गमिटर र उत्तरतर्फ एक हजार एक सय वर्गमिटर रकनेट र रकसेड प्रविधिमा प्रोटेक्सनको काम हुने आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् । सुरुङ् मार्ग छिचोलिए पनि भित्र र बाहिरको कामले तीव्रता पाउने उनले बताइन् । पाँच वर्षमा काम सक्ने गरी सरकारले वि.स. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम थालेको थियो । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

    हालसम्म एक हजार एक हजार ८९ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । कुल एक हजार १२६ मिटर सुरुङ खन्नुपर्ने भएपनि एक हजार ८९ मिटरमै सुरुङ् जोडिएको छ । सुरुङ मार्गको हालसम्म मार्गको भौतिक प्रगति ४० प्रतिशत भएको छ । यस्तै वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सुरुङको दक्षिणतर्फ ६१० र उत्तरतर्फ ४७७।२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ ।

    पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ र तेस्रो १३० मिटर लामा बाइपास टनेल छिचोलिएका छन् । सिद्धार्थ राजमार्ग बनेको ५० वर्षपछि यही मार्गको जोखिम मानिएको पाल्पाको तिनाउ–३, स्थित सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन सुरु गरिएको हो । सिद्धार्थ राजमार्ग भएर हाल पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, रुपन्देही, बाग्लुङ्, पर्वतलगायतका नागरिकले यात्रा गर्दछन् ।

    यसैबीच सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सहभागी भए । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, चिनियाँ राजदूत चेङ् सोङ्लगायत सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी भए ।

  • बुटवल-गोरुसिङ्‍गे सडक बिस्तार आयोजना शिलान्यास

    बुटवल-गोरुसिङ्‍गे सडक बिस्तार आयोजना शिलान्यास

    काठमाडौं । बुटवल–गोरुसिङ्‍गे सडक अब ६ लेनको बन्ने भएको छ । विश्व बैंकको सहयोगमा सरकारले यो सडक खण्ड बिस्तारको काम हुन लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यो आयोजनाको शिलान्यास गरे । प्रधानमन्त्री ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको दावि गरे । बुटवल–गोरुसिङ्‍गे सडक खण्ड विस्तारको काम आगामी तीन वर्षभित्र गरिसक्ने उनको दावि छ । महेन्द्र राजमार्गलाई ६ लेनमा बिस्तार गर्न विभिन्न खण्डमा काम भइरहेको छ ।


    उच्च संकल्प र आँटका साथ देशको विकास नेपाली आफैंले गर्नुपर्ने उनको भनाई छ । विकास निर्माणमा विदेशी सहयोगी हात आवश्यक पर्ने उनले बताए । पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे सडकखण्ड ५० किलोमिटर लम्बाईको छ । बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारीसाधन र यात्रुहरूलाई सास्ती नहोस् भनेर बुटवल–गोरुसिङ्‍गे सडक विस्तार गर्दा अहिलेको पिच नभत्काई सुरुमा दायाँ–बायाँतर्फको लेन बनाइसकेर मात्र बीच भागको सडक भत्काइने समेत आयोजनाले जनाएको छ ।


    चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत १३ असारमा ठेक्का पाएका हुन् । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर (६ लेन) , सहरोन्मुख क्षेत्रमा ३७ दशमलव ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा (चार लेन) कायम हुनेछ ।

    आयोजनाका अनुसार ५० किलोमिटर सडक खण्ड दुई चरणमा २५–२५ किलोमिटरमा विभाजन गरी विस्तार गर्न लागिएको छ । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ ।

  • रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार निरन्तर

    रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार निरन्तर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार समेत सम्पन्न हुन सकेन । शुक्रबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट बहस सुरु भएको हो । मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

    न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको हो । बिहीबारबाट थुनछेक बहस जारी छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।

    उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।

  • पर्वत केन्दविन्दु भएर भूकम्प गयो

    पर्वत केन्दविन्दु भएर भूकम्प गयो

    काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

  • ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

    ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।
    सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् । ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए ।

    यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।

  • सिद्धबाबा सुरुङमार्गको मूख्य सुरुङ आज छिचोलिँदै

    सिद्धबाबा सुरुङमार्गको मूख्य सुरुङ आज छिचोलिँदै

    काठमाडौं । सिद्धबाबा सुरुङमार्ग आज ब्रेक थ्र्रु गरिने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिन लागेको हो ।
    प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए ।

    सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताए । यस्तै गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।

    आयोजनाकी सूचना अधिकारी सबिता ज्ञवालीका अनुसार आयोजनमा विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई पनि गति दिइने छ । यस्तै सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने आयोजनाले जनाएको छ । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र मानिने हुँदा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि सारेको थियो ।

    सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पाँच वर्षमा निर्माण सक्नेगरी काम अघि बढाएको थियो । वि।स। २०८० माघ ४ गतेदेखि सुरुङ खन्न सुरु भएको थियो । हालसम्म सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बाँकी कामलाई गति दिएर अबको दुई वर्षभित्र सबै काम सक्ने लक्ष्य आयोजनाले राखेको छ ।

  • बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार हुँदै, आज शिलान्यास

    बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार हुँदै, आज शिलान्यास

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् । आज दिउँसो एक बजे सिद्धबाबा सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी भएपछि उनी सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति एवम् विस्तार हुन लागेको हो ।

    सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । हाल यो सडकखण्ड दुई लेनको छ । बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा बुटवल–नारायणगढ सडकखण्डमा जस्तो सबै पिच एकैपटक भत्काइने छैन । सबै सडक भत्काउँदा यात्रा कष्टकर हुने भएकाले सुरुमा दुवै छेउँका सडक बनाइसकेपछि मात्र बीचको भाग भत्काएर काम गरिने बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले बताइन् ।

    सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्री ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, कटान गर्ने रुख गणना गर्ने तथा पुल र ‘अन्डर पास’ बन्ने स्थानका माटो परीक्षण लगायत पूर्व तयारीका सबै काम सम्पन्न भइसकेका छन् । आयोजनाका अनुसार सडक विस्तारको क्रममा करिब सात हजार रुख काटिने छन् ।

    उनका अनुसार ५० किलोमिटर सडकखण्डलाई दुई चरणमा २५र२५ किलोमिटर छुट्याएर विस्तार गर्न लागिएको हो । तीन वर्षभित्र काम सक्ने सर्तमा चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सडक विस्तारको ठेक्का पाएका छन् ।

    ती कम्पनीले लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का पाएका थिए । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो । यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदलयात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ओभरहेड ब्रिज र वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने छ ।

  • भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्र मन्त्रीद्धारा दुख व्यक्त

    भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्र मन्त्रीद्धारा दुख व्यक्त

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी हुन् । मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

    मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरेकी छिन् । गतराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।

  • नेपाली फूटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

    नेपाली फूटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो । एन्फाले रोसको नियुक्तिलाई छिट्टै औपचारिकता दिन बाँकी रहेको जनाएको छ । रोस आफ्नो परिवारसहित नेपाल आएका छन् ।

    रोस बिहीबार कांग्रेस सभापति कप नकआउट फुटबल हेर्न दशरथ रङ्गशाला समेत पुगेका थिए । रोसले नेपाली प्रशिक्षक बन्ने दौडको अन्तिम सुचीमा रहेका स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै बाजी मारेका छन् ।

    ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए । नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकबिहीन थियो ।

  • ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा सेना तैनाथ गर्ने तयारी

    ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा सेना तैनाथ गर्ने तयारी

    काठमाडौं । ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमानाका भएर अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूमाथि कडाइ गर्नेतर्फ द्रुत कदम चालिरहेको बताइएको छ । अहिले पठाउन लागिएका १,५०० फौजहरूले अमेरिका प्रवेश गर्नबाट रोक्न तत्काल थप भौतिक अवरोधहरू खडा गर्न थाल्ने बीबीसीले लेखेको छ । सैनिक स्रोतले बीबीसीलाई बताएअनुसार ती फौजहरू कानुन कार्यान्वयनको काममा चाहिँ संलग्न हुने छैनन्। मेक्सिकोसँगको सीमानाकामा थप दश हजारसम्म फौज पठाउन सकिने अमेरिकास्थित बीबीसीको समाचार साझेदार सीबीएसले हेरेको ट्रम्प प्रशासनको आन्तरिक पत्राचारमा उल्लेख छ।


    अमेरिकी रक्षा मन्त्रालयले क्यालिफोर्निया र टेक्ससस्थित थुनुवा केन्द्रहरूमा रहेका हजारौँ अवैध आप्रवासीलाई स्वदेश फिर्ता गर्ने कार्यमा उडानहरूमार्फत् सघाउने छ। नवनियुक्त राष्ट्रपति डोनल्ड ट्रम्पले शृङ्खलाबद्ध कार्यकारी आदेशमार्फत् अवैध आप्रवासनमा कडाइ गर्ने र लाखौँ मानिसलाई देश निकाला गर्ने कदम चालिरहेका बेला भारतले प्रतिक्रिया जनाएको छ। आफ्ना अमेरिकी समकक्षी मार्को रुबिओसँग बुधवार भेटवार्ता गरेका भारतीय विदेशमन्त्री एस जयशङ्करले कागजपत्र नभएका भारतीय आप्रवासीहरूको वैध फिर्तीका लागि आफ्नो देश तयार रहेको पत्रकारहरूलाई बताएका छन्।

    पिऊ रिसर्च सेन्टरको हालैको तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिकामा कागजपत्र नभएका आप्रवासीहरूमध्ये भारतीय आप्रवासीहरू तेस्रो स्थानमा छन्।
    भारत फर्काइने अवैध आप्रवासीहरूको प्रमाणीकरण प्रक्रिया जारी रहेको विवरणमा जनाइएको छ। कागजपत्र नभएका करिब १८,००० भारतीय आप्रवासीहरूको स्वदेश फिर्ती प्रक्रियामा भारतले ट्रम्प प्रशासनसँग सहकार्य गरिरहेका भन्ने रिपोर्टहरूलाई इङ्गित गर्दै जयशङ्करले उक्त सङ्ख्यालाई आवश्यक अध्ययनबिनै स्वीकार्न नसकिने आशय व्यक्त गरेका छन्।

    ूमैले केही सङ्ख्याहरू देखेको छु‘ म त्यसप्रति सजग गराउन चा्हन्छु किनकि हाम्रो लागि त्यो सङ्ख्या तब मात्र स्वीकार्य हुने छ जब हामी उनीहरूको भारतीय मूललाई प्रमाणित गर्न सक्छौँ, उनले भने। सरकारी कागजपत्र र अधिकारीहरूका अनुसार ट्रम्प प्रशासनले जनस्वास्थ्य र राष्ट्रिय सुरक्षासम्बन्धी कानुन सक्रिय तुल्याएपछि अब देश निकाला हुनुअघि अवैध आप्रवासीहरूले शरणका लागि आवेदन दिन पाउने छैनन्।

    पदभार ग्रहणपश्चात्‌ ट्रम्पले जारी गरेको कार्यकारी आदेशबमोजिम आप्रवासीहरूले सो मामिलासम्बन्धी न्यायाधीश तथा अधिकारीहरूसम्म पहुँच नपाउने दुईजना अधिकारीले सीबीएसलाई बताए। स्वदेश फर्केमा खतरा हुन सक्ने मानिसहरूको रक्षासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनप्रतिको अमेरिकी उत्तरदायित्वलाई ट्रम्पको कार्यकारी आदेशले निलम्बन गरिदिएको छ। कागजपत्र नभएका आप्रवासीहरूलाई देश निकाला गर्ने कदमबाहेक ट्रम्पले शरणार्थीहरूले अमेरिकामा पुनर्वास गर्न पाउने कार्यक्रमलाई पनि निलम्बन गरिदिएका छन्।

  • रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

    रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

    काठमाडौं । सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ । त्यस क्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहवरमा मुचुल्का उठाइ गाड्न समेत पाइन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपककुमार खरालका अनुसार विभिन्न सर्तसहित रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो ।

    सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एक वर्षका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । सर्त अनुसार बाँदरलाई मार्ने उद्देश्यले गतिविधि गर्न पाइने छैन । तर, लखेट्ने वा पक्रने क्रममा मर्‍यो भने त्यस्तो बाँदरको संख्याको विवरण राख्नुपर्ने गरी सर्त तोकिएको छ । स्थानीय स्तरमा जंगली बाँदरको आतंकप्रति किसानले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

    कृषि मन्त्रालयका अनुसार जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधन हानि नोक्सानी पुर्‍याए किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने छ । रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्ने छ ।

    बाँदर धपाउने क्रममा मर्‍यो भने सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहवरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ । साथै, स्थानीय तहको वडामा समेत त्यसको जानकारी गराउनुपर्ने छ । रातो बाँदर मारिएमा कार्यालयहरूले हरेक दुई–दुई महिनामा मन्त्रालयमा विवरण पठाउनुपर्ने छ ।

    राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न र पक्रन पाइँदैन । उता, सरकारले जंगली बँदेललाई समेत थप एक वर्षका लागि कृषि हानिकारिक वन्यजन्तु घोषणा गरेको छ । योसँगै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेक जंगली बँदेललाई विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न पाइने भएको छ ।

    बँदेल पक्रिए निकुञ्ज वा नजिकको कार्यालयमा बुझाउनुपर्छ । त्यसको सूचना स्थानीय वडा कार्यालयमा समेत गराउनुपर्छ । धपाउने, लखेट्ने वा पक्रने क्रममा बँदेल मरे त्यसलाई सम्बन्धित वडाका एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहवरमा सम्बन्धित वडाभित्र उपयोग गर्न वा गाड्न पाइने छ ।

    तर, बँदेलको मासुलाई व्यावसायिक प्रयोजनमा बिक्री गर्न भने रोक लगाइएको छ । त्यसको जानकारी भने निकुञ्ज कार्यालय वा वडा कार्यालयमा गराउनुपर्ने गरी सर्त राखिएको छ । निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र भने बँदेल मार्न पाइँदैन । सरकारले गत वर्ष पनि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

  • पोखरा र भैरहवाबाट विदेश उड्दा विमानस्थल सेवा शुल्क नलाग्ने, ३ हजार भाडा घट्ने

    पोखरा र भैरहवाबाट विदेश उड्दा विमानस्थल सेवा शुल्क नलाग्ने, ३ हजार भाडा घट्ने

    काठमाडौं । सरकारले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको छ । यस्तो शुल्क प्रतियात्रु ३ हजार रुपैयाँ बराबर छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार भदौ २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको हो ।

    योसँगै यी विमानस्थलबाट हुने उडानमा अब प्रतिटिकट कम्तीमा ३ हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ। यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

  • भक्तपुरमा कार र मोटरसाइकल ठोक्कियो, एक महिलाको मृत्यु

    भक्तपुरमा कार र मोटरसाइकल ठोक्कियो, एक महिलाको मृत्यु

    काठमाडौं । भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत सोमबार मध्यपुरथिमि नगरपालिका २ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा ५० प ७४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।


    दुर्घटनामा गम्भीर घाइते भएकी सपनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल लिइएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लिइएकोमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । सपनाको शव अस्पतालमै राखिएको छ । दुर्घटनामा घाइते भएकी उनकी तीन वर्षीया छोरी ईश्वरीको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । कार चालक रामेछाप सुनापाती गाउँपालिका १ घर भइ बूढानीलकण्ठ ४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • भारतीय रेल दुर्घटनामा कम्तिमा चार नेपालीको मृत्यु भएको पुष्टी

    भारतीय रेल दुर्घटनामा कम्तिमा चार नेपालीको मृत्यु भएको पुष्टी

    काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

    अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

  • लस एन्जलसमा पुनः फैलिँदै आगो, हजारौं मानिसलाई सुरक्षित स्थानमा लगियो

    लस एन्जलसमा पुनः फैलिँदै आगो, हजारौं मानिसलाई सुरक्षित स्थानमा लगियो

    काठमाडौं । अमेरिकाको लस एन्जलसमा पुनः आगो फैलिएको छ । यहाँको जंगलमा फैलिएको आगोबाट बचाउन हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो फैलिएको क्षेत्र शहरबाट ४५ मिल मात्र टाढा रहेको समाचारमा बताइएको छ ।

    अहिले कास्किट क्षेत्रमा आगो फैलिएको र यहाँ महंगा घर र विद्यालयहरु रहेका छन् । पछिल्लो पटक फैलिएको आगोका कारण अहिलेसम्म मानवीय क्षति भने भएको छैन । फायर फाइटर टीम आगो निभाउन खटिएको छ । यसअघिको आगोलागीमा परी २५ जनाको ज्यान गएको थियो भने सयौं विलाशी घर जलेका थिए ।

  • देशैभर बढ्न थाल्यो तापक्रम

    देशैभर बढ्न थाल्यो तापक्रम

    काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ ।

    लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको उनी बताउँछन् । न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए । तर, पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए ।

    विभागले आज साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । गत २४ घण्टामा सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।

  • एमाले नेता महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अगाडी बढाउन अदालतको आदेश

    एमाले नेता महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अगाडी बढाउन अदालतको आदेश

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ । बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ । आफू महरबाट बलत्कृत भएको भन्दै पीडितले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

    तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो ।
    प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला उच्च अदालत गएकी थिइन् । बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको हो । ‘तामेलीमा राखेको प्रक्रिया नमिलेको हुनाले प्रमाणहरू बुझि अनुसन्धानको प्रक्रिया अघि बढाउनू भन्ने आदेश भएको छ । सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।

    बझाङ स्थायी घर भएका महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो । एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

  • एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा श्रीकृष्ण नेपाल मनोनीत

    एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा श्रीकृष्ण नेपाल मनोनीत

    काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्तिका लागि मनोनीत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सहसचिव नेपाललाई वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गर्ने निर्णय गरेको हो ।
    एडीबीको वैकल्पिक कार्यकारी निर्देशकले फिलिपिन्स मनिलास्थि एडीबी मुख्यालयमा बसेर पूर्णकालीन भएर काम गर्ने छ । एडीबीको नेतृत्वमा बसेर काम गर्ने वैकल्पिक कार्यकारी निर्देशकको पदावधि २ वर्षको हुन्छ । यसअघि तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई सरकारले २०७३ सालमा वैकल्पिक कार्यकारी निर्देशक बनाएर पठाएको थियो । तर, बीचमै उनलाई फिर्ता बोलाएर २०७५ सालमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रामशरण पुडासैनीलाई उक्त पदमा पठाइएको थियो ।
    त्यसपछि नेपालले वैकल्पिक कार्यकारी निर्देशक पठाउने पालो अहिले पाएको हो । अब सन् २०२८ मा मात्रै यस्तो पालो नेपालले पाउने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका सहसचिव नेपाल लामो समय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख भएर काम गरेका थिए ।

  • ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी

    ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी

    काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ ।

    ट्रम्पका अनुसार च्याटजीपीटी निर्माता ओपेनएआई, सफ्टबैंक र ओर्‍याकलले ‘स्टारगेट’ नामक संयुक्त परियोजना सुरु गर्न लागेका छन् । यसमार्फत उनीहरूले अमेरिकामा डेटा सेन्टरहरू स्थापना गर्दै १ लाखभन्दा धेरै रोजगारी सिर्जना गर्न लागेका छन् । यसका लागि १ सय अर्ब डलर सुरुवाती लगानीसहित चार वर्षमा सम्पन्न गर्ने गरी स्टारगेट सुरु गरिने ट्रम्पले जानकारी दिएका छन् ।

    सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनले ह्वाइट हाउसमा ट्रम्पसामू नै स्टारगेट परियोजना उद्घाटन गरेका थिए । परियोजनाअन्तर्गत टेक्ससमा पहिलो डेटा सेन्टर स्थापना सुरु भइसकेको ओर्‍याकलका प्रमुख एलिसनले बताएका छन् । ‘तपाईँले चुनाव नजित्नु भएको भए हामी यो परियोजना सुरु गर्ने थिएनौँ,’ सफ्ट बैंकका प्रमुख सनले ट्रम्पसमक्ष भनेका थिए । ओपेनएआईका अल्टम्यानले पनि राष्ट्रपतिका रूपमा ट्रम्प नभइदिएको भए एजीआई भनिने ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ जस्तो शक्तिशाली प्रविधि विकास गर्न आफूहरू सफल नहुने बताएका थिए ।


    ट्रम्पले आफ्नो दोस्रो कार्यकालको दोस्रो दिन नै पूर्व राष्ट्रपति जो बाइडेनद्वारा जारी गरिएको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याएका छन् । बाइडेनले सन् २०२३ मा उपभोक्ता, कामदार र राष्ट्रिय सुरक्षामा एआईले पार्न सक्ने जोखिम न्यूनीकरणका लागि एआईसम्बन्धी कार्यकारी आदेशमा जारी गरेका थिए । सो आदेशमा अमेरिकी राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, सार्वजनिक स्वास्थ्य र सुरक्षामा जोखिम निम्त्याउन सक्ने एआई प्रणाली सार्वजनिक गर्नुअघि निमकर्ताहरूले त्यसको सुरक्षा जाँचको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने उल्लेख थियो ।

  • लेखा समितिको निर्देशनः मूल्यवृद्धि नियन्त्रण गर

    लेखा समितिको निर्देशनः मूल्यवृद्धि नियन्त्रण गर

    काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले पछिल्लो समय अस्वाभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

    समिति सभापति ऋषिकेश पोखरेलले समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएको निष्कर्षमा समिति पुगेकाले तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए । सिमेन्टको मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जवाफ पेस गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक अध्ययन गरी अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिइएको हो । ‘माग र आपूर्ति तथा प्रतिस्पर्धी बजार, वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने, प्राथमिक आधारभूत पक्ष, उपभोक्ता हित संरक्षण, प्रवर्द्धन गर्ने दायित्व हो । भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक प्रमुख निर्माणजन्य सामग्री सिमेन्टको मूल्यवृद्धिले सार्वजनिक भौतिक पूर्वाधार निर्माणको लागतसमेत बढ्दै जाने देखिन्छ, समितिको निर्णयमा भनिएको छ, सिमेन्ट निर्यात गरिएको मुलुकमा भन्दा आन्तरिक उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्थालाई स्वार्थ प्रेरित छैन भन्न मिल्दैन । खुलाबजार प्रतिष्पर्धा भएपनि उपभोक्ता संगठित भई समझदारीमा गर्न सकिने मूल्यवृद्धि चुनौतीपूर्ण एव गैरजिम्मेवारीपूर्ण हुने भएकाले सम्बन्धित मन्त्रालयको हस्तक्षेप जरुरी देखिन्छ । मूल्यवृद्धि तथ्यमा आधारित एवं न्यायोचित हुनुपर्छ । पुरानो घाटालाई पूर्ति गर्नेगरी मूल्य समायोजन गर्ने विषयलाई वैध मान्न सकिँदैन ।

    समितिले तत्काल मूल्यवृद्धि नियन्त्रणका कदम चाल्न सरकारलाई निर्देशन दिएको हो । सिमेन्टमा भएको मूल्यवृद्धि अस्वभाविक देखिएकाले विस्तृत अध्ययन र अनुसन्धान गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न समिति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन गर्दछ, समितिको निर्देशनमा भनिएको छ, कुनै वस्तु तथा सेवाको मूल्यनिर्धारण तथा नियमति रुपमा परिक्षण गर्न मूल्य निर्धारण प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन गर्दछ । सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकाले त्यो विषयमा जानकारी दिन ऊर्जा मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको छ ।’

  • ट्रम्पको सपथ लगत्तै चीन र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?

    ट्रम्पको सपथ लगत्तै चीन र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल वार्ता भएको छ । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई ुअझै उचाइमाु पुर्‍याउने सहमति भएको चिनियाँ दुवै देशका सरकारी सञ्चार माध्यमले जनाएका छन् । पुटिनले रुस र चीनले बाह्य दबाबको बाबजुद मित्रता, आपसी विश्वास र समर्थनको आधारमा सम्बन्ध निर्माण गरिरहेको बताए । सीले पुटिनलाई रणनीतिक समन्वयलाई गहिरो बनाउन, आपसी समर्थनलाई सुदृढ गर्न र वैध हितको रक्षा गर्नु आह्वान गरेका बीबीसीले जनाएको छ ।

    राष्ट्रपतिको पदभार ग्रहणलगत्तै ट्रम्पले चीन दुरुपयोगकर्ता भएको बताउँदै कर लगाउने चेतावनी दिएका थिए । रुसले युक्रेन युद्ध अन्त्य गर्न सम्झौता नगरे ुठूलो समस्याु आउने ट्रम्पको भनाइ छ । विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले सीसँगको भिडियो कुराकानीमा युक्रेन मामिलामा रूसको पनि हित हुने अवस्थामा मात्र सम्झौता हुने बताएका थिए ।

    चीनले युक्रेनमा युद्धका लागि महत्वपूर्ण सहयोग गर्दै आएको पश्चिमा देशहरूको आरोप छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि दुवै देशबीचको व्यापार सन् २०२३ मा २ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् २०२१ यताको ६४ प्रतिशतले बढी हो । ट्रम्प प्रशासनले चासो देखाएको खण्डमा पुटिन र सीले अमेरिकासँग पारस्परिक लाभकारी र सम्मानजनक आधारमा सम्बन्ध निर्माण गर्न तयार रहेको पुष्टि गरेका छन्, उशाकोभले भने । उनले ट्रम्पको सत्तारोहरणसँग सम्बन्धित नभएको उनको दाबी छ ।


    करिब डेढ घण्टासम्म चलेको भिडियो कुराकानीका क्रममा दुई नेताबीच पश्चिम एसिया, दक्षिण कोरिया र ताइवानको पछिल्लो अवस्थाबारे पनि छलफल गरेका उशाकोभको भनाइ छ । चिनियाँ राष्ट्रपति सीले गत साता ट्रम्पसँग टेलिफोन कुराकानी गरेका थिए । उक्त कुराकानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशका लागि धेरै राम्रो छलफलका रूपमा व्याख्या गरेका थिए । पुटिनले भने ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि कुराकारी गरेका छैनन् । तर शपथग्रहण समारोहअघि भने उनले ट्रम्पलाई बधाई दिएका थिए ।