Category: समाचार

  • अर्जेण्टिनाको अग्लो हिमाल आरोहणमा जान लागेका पाण्डेलाई प्रधानमन्त्रीको बिदाई

    अर्जेण्टिनाको अग्लो हिमाल आरोहणमा जान लागेका पाण्डेलाई प्रधानमन्त्रीको बिदाई

    काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् । आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिइ नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिए । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।

    सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।

    रामेछाप लिखु तामाकोशी ७, तिल्पुङ स्थायी घरभई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहेका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आएका छन् । अब नियमितरुपमा सबै महादेशका हिमालहरु चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले उनको यो अभियान हिमाल चढ्ने अभियान मात्रै नरहेको प्रतिक्रिया दिए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको उनले बताए ।

    जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भएपनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको हुँदा सबै ठूला र शक्तिशाली राष्ट्रहरुको चासोको विषय हुनुपर्ने उनले बताए । अन्य आरोहणमा जस्तै यस आरोहणमा पनि जलवायु परिवर्तनका विषयमा उक्त हिमाल रहेको देशमा छलफल गर्ने र परिवर्तनका असरलाई नजिकैबाट नियाली आफ्नो अनुभव सम्बन्धित तहसम्म लैजाने विचार रहेको उनले बताए ।

    लोकप्रिय खेल फुटबल मार्फत अर्जेन्टिना चिनेका धेरैजसो नेपाली मध्ये थोरैलाइ मात्र दक्षिण अमेरिकाको उच्च हिमशिखर अर्जेन्टिनामा छ भन्ने थाहा हुनसक्छ तरपनि आफनो आरोहण अभियानले नेपाली युवामाझ अर्जेन्टिनाका बारेमा जानकारी पुग्ने र अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने विश्वास पाण्डेको छ ।

    सन् १९६२ मा दौत्य सम्बन्ध कायम भएका दुई देश नेपाल र अर्जेन्टिना बीच भौगोलिक दुरीकै कारण हुनुपर्छ, सामान्य व्यापारिक सम्बन्ध बाहेक विशेष आदानप्रदान भएको देखिंदैन । तरपनि एउटा नेपाली युवाले आफूबाट पृथ्वीको अर्को छेउमा रहेको देश अर्जेन्टिनामा भएको समग्र अमेरिकी महादेशकै उच्च हिमाल आरोहण गर्नुले दुई देशको दौत्य सम्बन्धका लागि पनि सेतुको काम गर्ने विश्वास उनले लिएका छन् ।

    समृद्ध रहिसकेको अर्जेन्टिनाले हालैका दिनमा आर्थिक र राजनीतिक उतारचढाव भोगिरहेको भएपनि लाखौं अर्जेन्टिनीहरु बिदामा विश्वका विभिन्न मुलुकको भ्रमणमा निस्कन्छन् । अर्जेन्टिनाबाट घुम्न निस्कने ठूलो संख्याको पर्यटकको उल्लेख्य हिस्सा भित्र्याउन सक्ने गरी नेपालको पर्यटनको प्रवर्द्धन र प्रचारप्रसारमा समेत आफ्नो अभियानले टेवा पुर्‍याउन सक्ने पाण्डे बताउँछन् ।

    हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरुमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताए । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आवद्ध छन् ।

    स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि उनले दुइपटक चढिसकेका छन् । स्काउट र रोटरी मार्फत पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरेको पर्वतारोही पाण्डे बताउँछन् । उनको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिंग गियरहरु उपलब्ध गराएको छ भने अन्य व्यवसायिक तथा रणनीतिक साझेदारहरु जोडिने क्रम बढ्दै गएकोले आफ्नो अभियान छिटै सफल हुनेमा आरोही पाण्डे विश्वस्त छन ।

  • इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानेर हत्या

    इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानेर हत्या

    काठमाडौं । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ । सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।
    उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या गरेको बताइएको छ । सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।

    मिजान अनलाइनका अनुसार मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह हुन् । उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताएको छ । उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभएको मिजानले जनाएको छ । आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ ।

    मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् । अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो । उक्त समयमा आरोपहरूमा प्रमाणको अभाव रहेको भन्दै इरानले आरोपका खण्डन गरेको थियो । मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेका थिए । यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।

    न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ । गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो । सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैंकमा गोली हानी हत्या गरिएको थियो ।

    सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए । उनको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो । (रासस–एएफपी)

  • खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

    खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

    काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेकोछ । खोखो विश्वकपको महिलातर्फ टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।


    नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

    नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । यसक्रममा नेपालले हालसम्म खेलेको सबै ६ खेल जित्यो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

    नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो । खो खो विश्वकपमै पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

  • राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान

    राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार पाँच सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भन्नुभएको छ, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउनेभन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।”

    उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम’ बताए । राष्ट्रपति बाइडेनले भने, “यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।” कानुनमा कम्युटेसन भनेको अपराधको लागि दोषी ठहरिएपछि दिइने कम दण्डको प्रतिस्थापन हो ।

    राष्ट्रपति बाइडेनले गत महिना करिब एक हजार पाँच सय व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका थिए । गत डिसेम्बरमा माफी पाउनेमा बन्दुक र करसम्बन्धी अपराधमा दोषी ठहर भएपछि जेल सजाय सुनाइएका राष्ट्रपति बाइडेनका छोरा हन्टर पनि थिए । यसैबिच बाइडेनले केही सहयोगी र पूर्व अधिकारीहरूलाई पूर्ण माफी दिने वा नदिने भन्ने विषयमा बहस गरिरहेका छन्, किनकि ट्रम्पले यसअघि ‘प्रतिशोध’ को संज्ञा दिएका थिए । गत डिसेम्बरमा राष्ट्रपति बाइडेनले सङ्घीय मृत्युदण्डमा रहेका ४० मध्ये ३७ जना कैदीको मृत्युदण्डको सजाय घटाइएको थियो ।

    सन् २०१३ को बोस्टन म्याराथन बम वर्षकमध्ये एक, सन् २०१८ मा ११ जना यहूदी उपासकको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्च गएको आरोपमा हत्या गर्ने श्वेत सर्वोच्चतावादीलाई यस सजाय छुटको निर्णयबाट हटाइएको थियो । रिपब्लिकन नेता ट्रम्पले बाइडेनको कार्यकालमा रोकिएका सङ्घीय मृत्युदण्ड पुनः सुरु गर्ने सङ्केत दिएका छन् ।

  • सरकारविरुद्ध विपक्षी दलको एक स्वर, के भने ?

    सरकारविरुद्ध विपक्षी दलको एक स्वर, के भने ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलले संसद छलेर अध्यादेश ल्याउने सरकारको कदमलाई निरंकुश प्रवृत्तिको प्रदर्शनको संज्ञा दिएका छन्। संघीय संसद भवन परिसरमा शुक्रबार बसेको विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश ल्याउने सरकारको कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास भएको बताए।

    ‘संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारले खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ,’ उनले भने।

    सरकारले हालै पाँच वटा अध्यादेश ल्याएको थियो। सरकार र सत्तारूढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्ति गर्न संसद छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुन अध्यादेशमार्फत् ल्याएको भन्दै विपक्षी दलहरूले त्यसको निन्दा गरेका हुन्। साथै उनीहरूले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको बताएका छन्।

    ‘सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरूद्ध गरेको छ। भ्रष्टाचारीहरूलाई जोगाएको छ, भ्रष्टाचार बढाएको छ। विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइल बन्द हुन पुगेका छन्। सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ,’ उनले भने। साथै सरकार विद्युत महसुलको बक्यौता नतिर्नेहरूका पक्षमा उभिएको उनको भनाइ छ।

    ‘नेपाल विद्युत प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप बढाइएको छ। भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको छ,’ विपक्षी दलहरूले आरोप लगाउँदै भनेका छन्। विपक्षी दलहरूले देशमा महँगी र सार्वजनिक ऋण बढेको, सुधारोन्मुख अर्थतन्त्र झनै समस्यातर्फ उन्मुख भइरहेको र आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन नसकेको बताएका छन्।

    उनीहरूले विश्वविद्यालय, संस्थानहरू र कर्मचारीतन्त्रमा चरम हस्तक्षेप, राजनीतिकरण भइरहेको तथा केही सीमित समूहको स्वार्थमा सरकारका संयन्त्रहरू परिचालित हुन पुगेको निष्कर्ष निकालेका छन्। ‘मिटरब्याज पीडितहरूका समस्या समाधानमा सरकारले कुनै काम गर्न सकेको छैन।

    गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयमार्फत् कानुनी प्रक्रियामा दलीय छायाँ र विधिको चरम राजनीतिकरण गर्दै सहकारी ठगीमा आफू निकटलाई जोगाउने र विपक्षीहरुमाथि प्रतिशोधपूर्ण र पूर्वाग्रही तवरले अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाइएको छ। सहकारी पीडितहरूलाई न्याय दिनुको साटो उल्टै थप पीडा दिने किसिमले सहकारी अध्यादेश जारी गरिएको छ,’ विपक्षी दलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    सरकारले बहुमतको दम्भमा एकपछि अर्को जनविरोधी कार्य गरिरहेको र त्यसको जनस्तरबाटै विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकी अध्यादेशको भर पर्नुपर्ने अवस्था आएको विपक्षी दलहरूको आरोप छ। यसकारण पनि सत्तारूढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको प्रष्ट हुने उनीहरूले बताएका छन्।

    मौजुदा संविधानले बहुदलीय प्रतिस्पर्धालाई लोकतन्त्रको एक महत्वपूर्ण अन्तरवस्तुका रूपमा आत्मसात गर्दै लोकतन्त्रमा जनमत नै सर्वोपरि हो भन्ने तथ्य स्थापित गरेको विपक्षी दलहरूले बताएका छन्। ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले नगरेको उनीहरूको भनाइ छ।

    ‘तर स्वेच्छाचारी र तानाशाही ढंगले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक–पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ। लोकतन्त्रको सुन्दरता नै फरक मत र विविधताको सम्मान हो। यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका उपर्युक्त कदमको हामी विरोध गर्दछौं,’ विपक्षी दलले भनेका छन्।

    शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएको उनीहरूको आरोप छ। उक्त प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन पनि विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    ‘यसका साथै, हामी सरकारलाई खराब नजीर बस्ने गरी बिना आधार संवैधानिक परिषदमा शक्ति सन्तुलन खल्बल्याउने दुष्प्रयास नगर्न समेत चेतावनी दिन चाहन्छौं। संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ। सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

    उनीहरूले संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग पनि गरेका छन्। ‘सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहन्छौं,’ उनीहरूले भनेका छन्।

  • द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

    द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार अवलोकन गरेका छन् । अवलोकनको क्रममा राष्ट्रपति पौडेलले निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका छन् ।

    मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र नै पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

    काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

  • नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री

    नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने उनको भनाइ छ ।

    ‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलामखानी र मल कारखाना खोल्दैछौं । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ,’ प्रधानमन्त्री ओलीले भने । ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको उनको भनाइ छ । यस क्षेत्रमा नयाँ(नयाँ सम्भावनाको खोजी गर्नुपर्ने भन्दै उनले भने, ‘देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्यांकन र प्रशंसा गर्दछु । तपाईँहरू लगानी गर्नुस् ।’

    आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र सरकारले तयार गरिसकेको उनले बताए । प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताउँदै उनले व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।

  • पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

    पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

    काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको द डनको अनलाइन संस्करणले जनाएको छ । यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो ।

    ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए । उनी अदिआला जेलमा बन्द छन् । सजायँ सुनाउँदा उनीहरूलाई अदालत उपस्थित गराइएको थियो । त्यसपछि उनीहरूलाई पुनः जेलमा पठाइएको थियो ।

    यो मुद्दामा अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ । यदि यो रकम बुझाउन नसके उनीहरूले थप ६ महिना जेलमा बस्नु पर्ने छ । सरकारको आरोप अनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ती शुद्धीकरण मुद्दामा फसाइएको थियो । लण्डनबाट उनीबाट ४० अर्ब रुपैयाँ जफत गराइएको थियो ।

    यो रकम बेलायत सरकारले पाकिस्तान सरकारलाई दिलाएको थियो । तर इमरान खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप छ ।

    त्यसपछि इमरान खानले अल कादिर ट्रस्ट बनाएका थिए । यसमार्फत् तालिम दिका लागि अल कादिर विश्वविद्यालय बनाइएको थियो । त्यसका लागि अरबौं मूल्य बराबरको जग्गा व्यवसायी रियाजले दिएको बताइएको छ । उनले इमरान पत्नी बुशरालाई हिराको औंठी पनि दिएका थिए । त्यसपछि रियाजविरुद्धका मुद्दा खारेज गरिदिएको आरोप इमरान माथि लगाइएको छ । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भनेका छन्, ‘यसबाट सरकारी ढुकुटीमा ५० अर्ब रुपैयाँ नोक्सान भएको छ । चार वर्ष भइसक्दा पनि यो विश्वविद्यालयमा केबल ३२ विद्यार्थी छन् ।’

  • बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

    बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

    काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई धारिलो हतियारले आक्रमण भएको बताइएको छ । उनको जिउको ६ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

    खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबिच मुठभेड भएपछि छुट्याउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।

    बलिउड अभिनेता खानको उपचारमा संलग्न लीलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उनको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

    उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताए ।

  • उत्तरी म्यानमारमा खानीमा गयो पहिरो, कम्तिमा ३२ जनाको मृत्यु

    उत्तरी म्यानमारमा खानीमा गयो पहिरो, कम्तिमा ३२ जनाको मृत्यु

    काठमाडौं । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।

    स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।” उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एक जनाको अस्पतालमा मृत्यु भएको थियो।” केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रासस,सिन्ह्वा

  • १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

    १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

    काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छाडिने छ ।

    त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम कार्यान्वयनका लागि वार्ता पनि जारी रहने छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएका वेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् ।

    यो सम्झौताले लाखौं विस्थापित गाजावासीहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ । इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए ।

    नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।

  • दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

    दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

    काठमाडौं । सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल रहेका छन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ । पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

  • बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

    बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् ।

    बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

    सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।

    ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवनरक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

    थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।

    अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

    मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा। राजु पौडेलले बताए ।

  • काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

    काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौं गोकर्णेश्‍वरमा एक जना पुरुष मृत फेला परेका छन् । गोकर्णेश्‍वर नगरपालिका(५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नस्केका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • एनआरएनएको एक समूहले गर्यो भिसा व्यवस्थाको विरोध

    एनआरएनएको एक समूहले गर्यो भिसा व्यवस्थाको विरोध

    काठमाडौं । गैर आवासीय संघको आरके शर्मा समूहले सरकारले गैर आवासीय नेपालीलाई १० वर्षे निःशुल्क भिसा प्रदान गर्ने व्यवस्था संविधान विपरित हुने बताएको छ । एनआरएनएको एउटा समूहको अध्यक्ष रहेका शर्मा र महासचिव बुद्धिसागर सुवेदीले विज्ञप्ति निकालेर अध्यादेशमा उल्लेखित १० वर्षे भिसाको व्यवस्थाले मूल कानुन कानुनसँग मेल नखाने बताएका हुन्। ‘

    अध्यादेशले गैरआवासीय नेपाली नागरिकताधारीले नेपालमा कम्पनी स्थापना गर्न र विदेशी लगानीका रूपमा अनुमति नलिई आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने प्रावधानसमेत गरेको छ । लगानीसम्बन्धी यो व्यवस्थालाई सकारात्मक रूपमा लिइए तापनि १० वर्षे भिसाको प्रावधानले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई चिन्तित बनाएको छ,’ शर्मा र सुवेदीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

    संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक अन्य सम्पूर्ण अधिकार सुनिश्चित गरेको ध्यानाकर्षण गराइएको छ। ‘मूल कानुनसँग असंगत हुने गरी कुनै कानुनी प्रावधान वा अध्यादेश ल्याइनेमा हामीलाई विश्वास छैन। सरकार संविधानको मर्मलाई बेवास्ता गरेर अघि बढ्छ भन्ने हामीलाई लाग्दैन । बरु हामीलाई विश्वास छ कि हालको बहुमतप्राप्त सरकारले नागरिकताको निरन्तरताका लागि आवश्यक पहल गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    गैरआवासीय नेपालीहरूले नेपालको जीडीपीमा झन्डै ३० प्रतिशत योगदान दिएको विज्ञप्तिमा दाबी गरिएको छ । गैरआवासीय नेपालीहरूले नेपालमा जोडेको सम्पत्ति र पुख्यौली सम्पत्तिको भविष्यबारे देखिएको अन्योललाई चिर्न सरकारको सहजीकरण आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

  • रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

    रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएका हुन् ।

    उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइएको एक प्रहरी अधिकृतले बताए ।

  • काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

    काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेले बयानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा आफ्नो कुनै संग्लनता नरहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘मिसिल संग्लन मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औंठाछाप मेरो हो । तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर बापतको पैसा लगानी गरेको पनि होइन र लिएर गएको पनि होइन ।’

    उनले बयानमा गोर्खा मिडिया नेटवर्कका लगानीकर्ता गितेन्द्रबाबु राई भएको बताउँदै लगानीकर्ताको निर्देशनबिना उल्लिखित प्रक्रियाबिना आफूले कम्पनीको चेक जारी गर्न नसक्ने अवस्थाबारे बताएका छन् । बयानमा उनले भनेका छन्, ‘छविलाल जोशी अधिकांश समय विदेश गएका थिए र गितेन्द्रबाबु राई अत्यन्तै व्यस्त थिए । म मात्र लेखाका कर्मचारीहरुले खोज्दा स्टेशनमा रहेको हुँदा मेरो हस्ताक्षर लिन उनीहरुलाई सहजता थियो,’ बयानमा रविले थपेका छन, ‘आफूमात्रै कार्यालयमा भएका कारण सहजकर्ताका रुपमा मात्रै मैले चेकहरु हस्ताक्षर गरेको हुँ ।’


    उनले बयानमा आफ्नो कार्यकालमा गितेन्द्रबाबु राईबाट लगभग २२ करोड ऋण आएको बताउँदै भनेका छन, ‘आफूले लिएको ऋण उनले को को बाट लिए र कहाँ कहाँबाट लिए त्यो मेरो जानकारीको विषय होइन ।’ उनले लेखासम्बन्धी कार्यको पूर्ण नियन्त्रण कार्यकारी अध्यक्ष गितेन्द्रको हुने भएकाले त्यसमा आफूले केही सोच्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले भनेका छन्, ‘प्राविधिक रुपमा चेकमा सही गर्न म कहाँ चेकहरु ल्याइने भए पनि कम्पनीका लगानीकर्ताको मात्रै त्यसमा नियन्त्रण थियो ।’

  • रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड

    रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । ‘रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने जनतामा परेकै छ ।

    रविमाथि अत्याचार नै हो भन्ने जनतामा परेको छ’ प्रचण्डले भनेका छन् । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा विभिन्न ६ वटा राजनीतिक दलका नेताहरू सहभागी थिए । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत थिए ।

    नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल र वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्याल थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङ, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ सहभागी थिए ।

    बैठकमा प्रचण्डले विपक्षी दलहरूबीच एजेण्डागत रुपमा सहकार्य आवश्यक रहेको बताएका थिए । त्यसक्रममा उनले रास्वपा सभापति लामिछानेबारे टिप्पणी गरेका हुन् ।

  • अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री

    अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    ‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अक्षरमा पनि कहिँ कतै असहमति छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरू आएका छन् ।’ उनले नेपाली कांग्रेसको शीर्ष नेतृत्व, ब्युरोक्रेसीको नेतृत्व, विज्ञहरूको सल्लाह सुझाव, उद्यमीको समस्या सुनेर मात्रै अध्यादेश ल्याइएको पनि दाबी गरे ।

    धेरै मिहेनत र तयारीका साथ अध्यादेश ल्याइएको दाबी गर्दै उनले भने, ‘जनताका समस्या पनि सम्बोधन गर्छ, सुशासन र विकासलाई पनि अघि बढाउँछ ।’ उनले राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश रोकिएको भन्ने व्याख्या नमिलेको पनि जिकिर गरे ।

  • रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् ।

    यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

    कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

  • न्यायाधीश चढेको कार दुर्घटनामा

    न्यायाधीश चढेको कार दुर्घटनामा

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्। न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

    पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको ‘मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५’ उद्घाटन गर्दै मन्त्री पाण्डेले मुन्दुम पदमार्ग कोसी प्रदेश पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको बताए । ‘यो पदमार्गले किराँती र मुन्दुम संस्कृति संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ उनले भने, ‘यस पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन् । यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ ।’

    झन्डै १ सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन् । ‘मुन्दुम’ मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ‘मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे । भोजपुर र खोटाङ सीमामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट सुरु हुने पदमार्ग ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पा पोखरीसम्म पुग्छ ।

    मौसम सफा भएका बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला ६ हिमाल देख्न सकिन्छ । फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विकास पनि उत्तिकै आवश्यक रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाज नभएकाले जहाज संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

  • इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

    इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

    काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् । इजरायल र हमासबीचको शान्तिवार्तामा कतार सरकारले मध्यस्थता गरिरहेको छ । र, विदेशराज्यमन्त्री अल–खुलाइफी एक प्रमुख वार्ताकार हुन् ।

    कतारी विदेशराज्यमन्त्रीसँगको टेलिफोन वार्ताबारे जानकारी दिँदै मन्त्री राणाले यथासक्य चाँडो विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरिएको जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै परराष्ट्रमन्त्री डा। राणाले टेलिफोन वार्तामा अल खुलाइफीले हमासलाई युद्धविराममा ल्याई बन्दीहरूलाई रिहा गर्ने वातावरण बनाउन कतार सरकारले प्रयास गरिरहेको भन्दै छिट्टै सकारात्मक खबर आउने विश्वास दिलाएको उल्लेख गरेकी छन् ।

    समाचार संस्था बीबीसीका अनुसार गजा युद्धविरामको लागि काम गरिरहेका दुवैतर्फका वार्ताकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्दैछन् । रोयटर्सका अनुसार अन्तिम चरणमा रहेको शान्तिवार्ताको प्रयास केही दिनभित्रै टुंगोमा पुग्ने अनुमान मध्यस्थकर्ताहरूले गरेका छन् ।

    यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत युद्धविराम सम्झौतालाई अन्तिम दिन आवश्यक तयारीका लागि आफ्नो प्रशासनसमेत सक्रिय रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग तथा सोमबार मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमद अल–थानीसँग कुराकानी गरेका थिए ।

  • चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको उनले बताए ।

  • नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव

    नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव


    काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ ।

    माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।

    जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् । ‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपू्र मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ ।’

    ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ ।

    तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।

    यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

    गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटका अनुसार गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।

    वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन ।

    माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

    किसानले पालेका गोरुलाई एकअर्कासँग अर्थात् ‘वान भर्सेस वान’का आधारमा नछुट्टिएसम्म जुधाइने हुँदा त्यसको अवलोकनका लागि स्वेदश तथा विदेशी पर्यटकहरूको पनि ध्यान केन्द्रित गर्दै आएको छ ।

  • एसईई परिक्षाको तालिका सार्वजनिक

    एसईई परिक्षाको तालिका सार्वजनिक


    काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ ।

    पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
    दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।

    चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

  • ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी

    ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी


    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
    चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४०  प्रतिशत हो ।

    चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो ।  पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए ।
    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारेपनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको बताए ।

  • अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु

    अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु

    काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ 

    सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

    आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो ।

    मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।

  • जापानमा भूकम्प : सुनामीको चेतावनी जारी

    जापानमा भूकम्प : सुनामीको चेतावनी जारी

    काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

    युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ । तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।” रासस, एएफपी