Category: समाचार

  • कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

    कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले सात पुसमा उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ । त्यसयता अदालतमा अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस चलिरहेको थियो ।

    सहकारी समस्याबारे छानबिन गर्न सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा बनेको संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनमा लामिछानेलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । तत्कालै मन्त्रिपरिषद् बैठकले संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।

    त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । पोखराको सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।

  • रविले आजै बुझाए धरौटी

    रविले आजै बुझाए धरौटी

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् ।

    रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ । लिला पछाईको हकमा भने भोलि मात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५–५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले रवि भने तत्काल छुट्ने छैनन् ।

  • रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    लामिछानेसहित पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।

  • अमेरिकी कम्पनी माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

    अमेरिकी कम्पनी माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

    काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे । टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ ।

    माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् । यो लगानीले भारतको द्रुत रूपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरू पूरा गर्ने लक्ष्य राखेको छ, ”टेक विशालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । रासस, सिन्ह्वा

  • रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

    रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।

    प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

    थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

  • मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुन्दरहरैंचा नगरपालिका–९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएका थियो ।

    दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैंचा नगरपलिका– ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो । सवारी दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुनसरी इटहरी बस्ने ४० वर्षीय नवीन सिंह ठकुरी घाइते भएका छन् ।

    बेलबारी नगरपालिका१० चाँदनी चोकस्थित भित्री सडक खण्डमा बेलबारी नगरपालिका १०४–२०८१–८२ नम्बरको सिटी सफारी दुर्घट्ना हुँदा सिटी सफारीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ । उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहाल घाइते छन् । उनको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

    दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

    काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।

    शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।

    रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् । ठाउँ-ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।


    नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटक(पटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।

  • संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारुढ दल कांग्रेसको आपत्ति

    संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारुढ दल कांग्रेसको आपत्ति

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८७ सालमा संविधान संशोधन हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल–सगरमाथा जागरण अभियानको शुभारम्भ गर्दै उनले ओलीको भनाइप्रति विमति जनाएका हुन् ।

    यदी उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु,’ शर्माले भनेका छन् । साथै, उनले सात बुँदे समझदारी हुँदैगर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको जिकिर गर्दै सोही जगमा रहेर पुनःमुल्याकंन आवश्यक रहेको जिकिर गरे ।

    ‘संविधान संशेधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागीता भएन भने दुई तिहाइको गणित पुग्दैन,’ शर्माले भने, ‘हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू ।’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी केन्द्रीय समिति बैठकलाई समापन गर्ने क्रममा संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए । ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए ।

  • सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी

    सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी

    काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबारसम्म मुख्य सुरुङ १ हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यो आयोजनाको मुख्य सुरुङ १ हजार ८९ मिटर लामो छ । मुख्य सुरुङ उत्तरतर्फबाट ४७७.२ मिटर र दक्षिणतर्फबाट ६ सय ४ मिटर खन्ने काम भइसकेको छ । आयोजनाका बाइपास सुरुङ तीन वटा छन् । ती बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् । पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति लिएको छ ।

    यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यहाँ टनेल सहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तब्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा छ ।

    यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।
    बुधबारसम्म आयोजनाको कुल भौतिक प्रगति ३८.८५ प्रतिशत पुगिसकेको छ । वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । स्लोप प्रोटेक्सन र टनेल लाइनिङको काम भने अझै बाँकी छ ।

  • नेपाल भित्रियो ‘मेगाट्रोल’, द क्लिफमा सञ्चालनमा आउने

    नेपाल भित्रियो ‘मेगाट्रोल’, द क्लिफमा सञ्चालनमा आउने

    काठमाडौं । साहसिक पर्यटनका लागि प्रख्यात कुश्मास्थित द क्लिफमा अब विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । मेगाट्रोल एक साहसिक गतिविधि हो । जसले जिपलाइन र रोलरकोस्टरको ‘ब्लेन्डेड’ अनुभव दिन्छ । २ सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १ हजार २ सय २८ मिटर छ । यसमा एक पटकमा तीन जनासम्म खेल्न सकिने कम्पनीले जनाएको छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

    द क्लिफले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्विङ, स्काई साइक्लिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्ट समेत चलाइरहेको छ । अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागिएको अध्यक्ष कार्कीले बताए । एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए । अहिले यसको परीक्षणको काम जारी छ । उनका अनुसार कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ ।

  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव

    काठमाडौं । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्ने जिम्मेवारी पाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अधुरो भुक्तानी अर्थतन्त्र चलायमान हुन नसक्नुको प्रमुख बाधक भएको निष्कर्ष निकालेको छ । सरकारलाई अन्तरिम प्रतिवेदन बुझाउँदै आयोगले पूँजीगत खर्च बढाउँदै भएको कामको भुक्तानीको गति बढाउन सुझाव दिएको हो ।

    आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई बुधबार अर्थ मन्त्रालयमा अन्तरिम प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्र थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषय उल्लेख गरिएको मन्त्रालयले उल्लेख गरेको छ । जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिन सुझाव दिइएको छ ।

    वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीलाई सहजीकरण गर्न र व्यापारिक उधारो नियमन गर्न कानुन बनाउन समेत सुझाव दिइएको छ । सरकारले लामो समयदेखि निर्माण व्यवसायीको भुक्तानी चुक्ता गर्न सकेको छैन । यसमा व्यवसायीले सरकारको आलोचना गर्दै आएका छन् । आयोगको प्रतिवेदनमा चालू आर्थिक वर्ष नयाँ ठेक्का नलगाइ निर्माण सम्पन्न कामको भुक्तानीलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

    यसैगरी बहुवर्षीय ठेक्का लागेर सिर्जित दायित्व पूरा गरेर बजेट उपलब्ध हुन सक्ने भएमात्र नयाँ आयोजना आउने वर्षको बजेटमा राख्न समेत आयोगले सुझाव दिएको छ । सरकारले अर्थतन्त्रबारे सुझाव दिन गत असोज तेस्रो साता विज्ञ र निजी क्षेत्रको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो ।

    चालु आव बाँकी अवधिमा पूँजीगत खर्च बढाउन आयोगले सुझाव दिएको छ । जाजरकोट भूकम्प लगायत विपद्जन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधार पुनर्निर्माणमा तीव्रता दिन समेत आयोगले भनेको छ । सरकारले जग्गा प्राप्तिको कारबाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको मुआव्जा वितरणमा तीव्रता दिन र स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई थप सहजीकरण गर्न समेत भनेको छ ।

    आयोगले स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिएको छ । कोभिड अगाडि राम्रो अवस्थामा रहेको व्यवसाय अहिले समस्यामा रहेको तर पछि सुधार हुने अवस्था रहेमा विषय हेरेर एक वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न अवसर दिन समेत आयोगले सुझाव दिएको छ । घरजग्गा बजार शिथिल रहेको र बैंकहरूको गैरबंैकिङ सम्पत्ति बढ्दै गएको सन्दर्भमा सार्वजनिक–निजी साझेदारीमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न आवश्यक कानुन ल्याउन समेत आयोगले सुझाव दिएको छ ।

    सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेका अनुदानले उत्पादन र रोजगारीमा पारेको प्रभावका आधारमा स्रोतको उपलब्धता मध्यनजर गर्न र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्न पनि सुझाव दिइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    आयोगले प्रतिवेदनमा समस्याग्रस्त सहकारीबाट देखिएका समस्या सम्बोधन गर्न समेत सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यक्षेत्र एक स्थानीय तहको भौगोलिक क्षेत्रभन्दा बढी हुन नदिने गरी कानुनी व्यवस्था गर्न भनिएको छ ।

    सहकारी संस्थाले कम्पनीलाई वा कुनै संगठित संस्थालाई सदस्य बनाउन निषेध गर्ने, प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने व्यवस्था गर्ने सुझाव दिइएको छ । यसैगरी बचत तथा ऋण सहकारी संस्थामा वित्तीय संस्थामा जस्तै एकल कर्जा सीमाको कानुनी व्यवस्था गर्न, तत्कालका लागि एकै व्यक्तिलाई एउटा वा एकभन्दा बढी तमसुकबाट हुने कुल ऋण लगानी संस्थाको कुल सेयर पूँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्ने लगायत समेत सुझाव दिएको छ ।

    आयोगले चालु आव बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्न १० करोडभन्दा बढी रकम विनियोजन भएका सबै आयोजनाको नियमित अनुगमन र स्थलगत रूपमा समस्या समाधान गर्ने अधिकार सम्पन्न टोली परिचालन गर्नुपर्ने सुझाव समेत दिएको छ ।

  • सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी बालिका मृत फेला परेका छन् । प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

    मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेको पाइएको छ । प्रहरीका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका छन् । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको प्रहरीको भनाई छ ।

  • इरानले एक वर्षमा ९०१ जनालाई दियो मृत्युदण्ड

    इरानले एक वर्षमा ९०१ जनालाई दियो मृत्युदण्ड

    काठमाडौं । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ । “फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ”, भोल्कर टर्कले भने, “सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ ।”

    यो सङ्ख्या सन् २०२३ मा इरानमा मृत्युदण्ड दिइएका कम्तीमा ८५३ जनाको तुलनामा बढी हो । “इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ”, टर्कले विज्ञप्तिमा भने । इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुव्र्यवहार लगायतका प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्दछ । इरानमा फाँसीमा वृद्धिप्रति कार्यकर्ताहरू बढ्दो रूपमा चिन्तित छन् ।

    एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूका अनुसार इरानले चीनबाहेक अन्य कुनै पनि मुलुकको तुलनामा प्रतिवर्ष बढी मानिसलाई मृत्युदण्ड दिन्छ । यसका लागि कुनै विश्वसनीय तथ्याङ्क उपलब्ध छैन । उनीहरूले विशेष गरी सन् २०२२–२०२३ को देशव्यापी विरोधको पृष्ठभूमिमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका अधिकारीहरूमाथि समाजमा भय फैलाउने साधनको रूपमा मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्षको अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको तर ‘विद्रोही र सन् २०२२ को विरोध प्रदर्शनसँग सम्बन्धित मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको’ बताएको छ । “मृत्युदण्ड दिइएका महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भएको थियो ।” आइएचआरले सोमबार एक रिपोर्टमा सन् २०२४ मा इरानमा कम्तीमा ३१ महिलालाई मृत्युदण्ड दिइएको बताएको छ । रासस–एएफपी

  • तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६

    तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६

    काठमाडौं । मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ। भूकम्पमा परी १८८ जना घाइते भएका छन्।

    भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ। भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारका काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन्।

    बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो। काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्‍युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्। अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

  • जय ट्रफी: आज दुई खेल हुँदै

    जय ट्रफी: आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा सुरू भएको जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज दुई खेल सुरू हुँदै छन् । प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

    वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ । त्यसैगरी चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ । यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए ।

  • भूकम्पपछि चीनतर्फबाट सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द

    भूकम्पपछि चीनतर्फबाट सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द

    काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६।८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र (चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

    डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार चोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेसनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।

  • तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ९५ पुग्यो

    तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ९५ पुग्यो

    काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो । स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

    स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर छ ।

    यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।

  • पहिलो त्रैमासिकमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर

    पहिलो त्रैमासिकमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । जस अनुसार २०८०–८१ को पहिलो त्रैमासको तुलनामा चालु आव पहिलो त्रैमासमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको अनुमान छ

    । उता, गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयले गरेको छ । गत आव अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो । यस आव पहिलो त्रैमासमा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयको छ । चालु आव सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर भेट्ने लक्ष्य लिएको छ ।

    पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ । कार्यालयले अर्थतन्त्रका विभिन्न १८ क्षेत्र गणना गरी जीडीपीको अनुमान गर्ने गर्छ । आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान यस त्रैमासमा गरिएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत रहने अनुमान कार्यालयको छ ।

    त्यस्तै प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ । प्रथम त्रैमासमा निर्माणजन्य वस्तु आयातमा आएको गिरावट र निर्माणले गति लिन नसक्दा यो क्षेत्र संकुचनमा छ । निर्माण क्षेत्र ०.३ प्रतिशतले ऋणात्मक छ । निर्माण क्षेत्र कोरोना महामारीयता नै निरन्तर संकुचनमा छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशतमात्र रहने अनुमान छ ।

    धान लगायत वर्षेबाली वृद्धि, तरकारी र नगदेबाली वृद्धि तथा पशुपन्छी उत्पादनमा भएको वृद्धिले यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयले उल्लेख गरेको छ । समयमा मल उपलब्धता, उन्नत बीउ प्रयोग, पर्याप्त मनसुनी वर्षाले समेत कृषि उत्पादनमा सहयोग गरेको सरकारको भनाइ छ । वर्षायामको बाढी र पहिरोले क्षति गर्दा कृषिमा उल्लेख्य वृद्धि भने हुन नसकेको कार्यालयको विश्लेषण छ ।

    कार्यालयका अनुसार अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारमा समेत उल्लेख्य वृद्धिदर छैन । यो क्षेत्र पहिलो त्रैमासमा ०.५ प्रतिशतले मात्र विस्तार भएको देखिन्छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तु आयातमा भएको सामान्य वृद्धिका कारण व्यापार क्षेत्रमा केही सुधार देखिएको कार्यालयले जनाएको छ । यस त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान छ ।

    अघिल्लो वर्षको तुलनामा यस वर्ष यो क्षेत्रको उत्पादन बढेको कार्यालयले उल्लेख गरेको छ । यस वर्ष शिक्षा ०.४, स्वास्थ्य ४.१ र घरजग्गा कारोबारमा ३.१ प्रतिशतको वृद्धि भएको देखिन्छ । यसरी समग्र अर्थतन्त्रबारे कार्यालयले भनेको छ, ‘नेपालको आर्थिक वृद्धिदर कहिले घट्ने, कहिले बढ्ने गरेको भए पनि आव २०७९्–८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिन्छ ।’ गत आव अन्तिम त्रैमास (वैशाख–असार) को तुलनामा चालु आव पहिलो त्रैमास ९साउन–असोज० मा १८ औद्योगिक क्षेत्रमध्ये १२ क्षेत्रको उत्पादन बढेको देखिएको छ । ६ क्षेत्र संकुचनमा आएका छन् ।

    यी दुई त्रैमास तुलना गर्दा विद्युत् तथा ग्यासमा सबैभन्दा धेरै ८.५ प्रतिशत वृद्धिदर छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ७.७ प्रतिशत वृद्धि भएको अनुमान छ । कृषि, वन तथा मत्स्य भने ऋणात्मक हुँदै ०.८ प्रतिशतमा खुम्चिएको छ । ऋणात्मक रहेका ६ क्षेत्रमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन १३.९ प्रतिशत र व्यापार ३.७ प्रतिशतले खुम्चिएको छ । निर्माण क्षेत्र ०.६ प्रतिशतले खुम्चिएको छ ।

  • माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो

    माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्नेबारे दुई धार देखिएको थियो । बैठकमा सहभागी नेताहरूमध्ये केहीले तत्काल विशेष महाधिवेशनमा जानुपर्ने मत राखेका थिए भने केहीले सुरुमा अभियानमा जाने, त्यसपछि मात्रै महाधिवेशनको मिति तय गर्ने मत राखेका थिए ।

    यद्यपि, अध्यक्ष प्रचण्डले यसलाई ६ महिना अभियान र त्यसपछि अधिवेशन भन्दै घुमाउरो शैलीबाट हलमा नेताहरूलाई कन्भिन्स गराएका थिए । बैठकले पहिला ६ महिने अभियानमा जाने र त्यसको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय नै गरेको छ ।

    ६ महिने अभियानपछि आगामी असारमा केन्द्रीय समिति समिति बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् । प्रचण्ड निकटका नेताहरूले नियमित अधिवेशनको पक्षमा धारणा राखेका थिए भने उपमहासचिव जनार्दन शर्मा निकट नेताहरूले विशेष महाधिवेशनको माग चर्को रुपमा उठाएका थिए । अहिलेकै बैठकले विशेष महाधिवेशनको मिति तोक्नुपर्ने शर्मा निकट नेताहरूले बताएका थिए ।


    अर्का उपमहासचिव वर्षमान पुन अनन्तले पनि विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । तर, उनले अहिले नै मिति तोक्नुपर्ने भने केन्द्रीय समितिमा बताएनन् ।

  • सेताम्य ह्वाइट हाउस (फोटो फिचर)

    सेताम्य ह्वाइट हाउस (फोटो फिचर)

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ। एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ। उता, राष्ट्रपति कार्यालयले आजै ह्वाइटहाउसको सुन्दर तस्वीरहरु सार्वजनिक गरेको छ ।

    Snow falls on the White House, Monday, January 6, 2025, in Washington, D.C. (Official White House Photo by Oliver Contreras)

    जसमा हिँउले कार्यालयलाई पूर्णतया ढाकेको छ । कार्यालय सेताम्य बनेको छ । क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको क्यान्ससदेखि ईस्ट कोस्टसम्मका ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको न्याश्नल वेदर सर्भिस (एनडब्ल्यूएस)ले जनाएको छ।

    Snow falls on the White House, Monday, January 6, 2025, in Washington, D.C. (Official White House Photo by Oliver Contreras)

    ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अपेक्षा गरिएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आर्कन्सा, मिजोरी राज्यहरू अनि न्यूजर्सीका कतिपय ठाउँमा सङ्कटकाल घोषणा गरिएको छ।

    Snow falls on the White House, Monday, January 6, 2025, in Washington, D.C. (Official White House Photo by Oliver Contreras)

    साधरणतया मौसम राम्रो हुने फ्लोरिडामा पनि अत्यधिक चिसो महसुस हुने आकलन गरिएको छ। मौसमविद्हरूले उक्त चरम मौसमी अवस्था पोलर भोर्टेक्सका कारण उत्पन्न भएको बताएका छन्। आर्क्टिकमा फैलिने चिसो हावा भएको एउटा क्षेत्रलाई पोलर भोर्टेक्स भनिन्छ।

    Snow falls on the White House, Monday, January 6, 2025, in Washington, D.C. (Official White House Photo by Oliver Contreras)

    यसपालिको हिउँदे आँधीले ईस्ट कोस्टलाई स्थानीय समयानुसार आइतवार साँझदेखि प्रभावित गर्ने ठानिएको छ। न्यूयोर्क राज्यका कतिपय उत्तरी भागहरूमा अहिलेसम्म कम्तीमा तीन फिट हिउँ परिसकेको छ। वाशिङ्टन डीसीमा पाँचदेखि नौ इन्च हिमपात हुने भनिएको छ। त्यहाँका नगरप्रमुखले हिमपातका कारण कम्तीमा आइतवार साँझसम्म लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन्।

    Snow falls on the White House, Monday, January 6, 2025, in Washington, D.C. (Official White House Photo by Oliver Contreras)


    मेरिल्यान्ड राज्यको बाल्टिमोरनजिकै रहेको एनपोलिस क्षेत्रमा आठदेखि १२ इन्चसम्म हिमपात हुने भविष्यवाणी एनडब्ल्यूएसले गरेको छ। त्यसबाहेक क्यान्सस, मिजोरी र नेब्रास्कामा पनि हिमपात हुने चेतावनी जारी भएको छ। उत्तरी मिजोरीमा झन्डै १४ इन्च असिना र हिउँ परेको छ भने क्यान्ससमा १० इन्च हिउँ जमिसकेको जनाइएको छ।

    ू

  • आजको भूकम्प २०७२ सालकै स्तरको ‘शक्तिशाली’

    आजको भूकम्प २०७२ सालकै स्तरको ‘शक्तिशाली’

    काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६स्५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।


    भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

    केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ । रासस

  • तिब्बतमा केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गयो, नेपालमा ठूलो धक्का

    तिब्बतमा केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गयो, नेपालमा ठूलो धक्का

    काठमाडौं । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ ।

    तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए–नभएको बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए ।

  • काठमाडौंसहित पूर्वी नेपालमा ठूलो भूकम्पको धक्का

    काठमाडौंसहित पूर्वी नेपालमा ठूलो भूकम्पको धक्का

    काठमाडौं । भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान भूकम्प गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए । पूर्वी नेपालमा पनि भूकम्पको ठूलो धक्का महसुस भएको छ । आज बिहान ६ः५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

  • एमाले बैठकमा सरकारको काम प्रभावकारी नभएको गुनासो

    एमाले बैठकमा सरकारको काम प्रभावकारी नभएको गुनासो

    काठमाडौं । एमाले केन्द्रीय कमिटी सदस्यहरूले सरकारले अपेक्षित रूपमा काम नगरेको भन्दै प्रभावकारी र परिणाममुखी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा बोल्दै नेताहरूले जनताका अपेक्षा पूरा गर्न सरकारलाई आग्रह गरे ।

    ‘केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा जोड दिन सुझाव दिएका छन्,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । एमालेलाई निर्णायक शक्ति बनाउन नेता तथा कार्यकता वडासम्म केन्द्रित नभएसम्म सम्भव नहुने बताए ।

    ‘पार्टीलाई प्रभावकारी, जनआधारित बनाउन सबै नेताहरूलाई पार्टी काममा केन्द्रित गर्नुपर्ने, कार्यकर्ता र जनताका गुनासोहरूलाई सम्बन्धित ठाउँमै गएर सुन्न, समाधान गर्न विशेष जोड दिएका छन्,’ उनले भने । नेताहरूले स्थानीय तह उपनिर्वाचनको परिणामलाई ध्यानमा राखेर संगठन सुदृढीकरण गर्नुपर्ने बताएका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटीका सदस्यहरूले आ(आफ्नो सुझाव दिएका हुन् ।

  • माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग

    माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग

    काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग उठेको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग भएको छ,’ एक केन्द्रीय सदस्यलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । पार्टीमा काम गर्ने र नगर्नेको सही मूल्याङ्कन नभएको भन्दै गुनासो समेत बैठकमा भएको छ । ‘कामको सही मूल्याङ्कन गर्न, दण्ड पुरस्कारको व्यवस्था गर्नुपर्छ,’ ती केन्द्रीय सदस्यको भनाइ छ ।

    आइतबार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मूलभूत पक्षको सबैबाट समर्थन गर्दै यसलाई कार्यान्वयनमा कडाइ गर्न जोड दिएका छन् । नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र माग, स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रस्ताव स्वागतयोग्य भए पनि त्यसको खाका बनाउन आग्रह गरेका छन् । केही सदस्यले पार्टीको महाधिवेशन तालिका ल्याउन आग्रहसमेत गरेका छन् ।

    दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा ६ महिने अभियान चलाएपछि महाधिवेशनमा जान सकिने प्रस्ताव गरेका छन् । स्थानीय तहको उपनिर्वाचन परिणामले माओवादीको पक्षमा माहोल बनेकोमा बेला सङ्गठन पार्टीभित्र कुनै विवाद र बहसमा अल्झिन आवश्यक नभएको बैठकमा बोल्ने केही नेताको भनाइ छ भने केहीले महाधिवशेनबाट पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

  • कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

    कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेका हुन् । सात दिनभित्र चित्त बुझ्दो जवाफ प्राप्त नभए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने समेत उक्त पत्रमा उल्लेख गरिएको छ ।

    मन्त्रालयले पठाएको पत्रको ८ नम्बर बुँदामा प्राधिकरणको सञ्चालक समितिको बैठकमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक–पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादाविपरीतका कार्यहरू गरेको र मन्त्रालयको निर्देशनसमेतलाई अवज्ञा गर्दै आएको उल्लेख छ ।

    यस्तै ४ नम्बर बुँदामा यही पुस ४ को सञ्चालक समितिको बैठकको माइन्युटमा डेडिकेटेड फिडर र ट्र‌ंकलाइन महसुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशनमा मन्त्रालयले गठन गरेको प्राविधिक जाँच समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने एजेन्डामा नेपाल सरकारबाट नियुक्त भएका प्राधिकरणका कार्यकारी निर्देशकले नोट अफ डिसेन्ट लेखेर सरकारको निर्देशनको अवज्ञा गरेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण ‌ऐन, २०४१ को दफा २५ को उल्लंघन हुने गरी सरकारको निर्देशनको अवज्ञा गरेको मन्त्रालयले जनाएको छ ।


    ऊर्जा मन्त्रालयले गठन गरेको अरविन्दकुमार मिश्र संयोजकत्वको समितिलाई सेवासुविधा उपलब्ध गराउने प्रस्तावमा घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । मन्त्रालयले मिश्र संयोजकत्वको समिति डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटर अध्ययन गर्न गठन गरिएको हो ।

    तर, प्राधिकरणले अदालत वा विद्युत् नियमन आयोगमार्फत यस्तो समिति गठन हुनुपर्ने अडान लिँदै आएको छ । मन्त्री खड्काले भने समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले व्यहोर्नुपर्ने जनाउँदै आएका छन् । यसअघि नै मन्त्री खड्काले घिसिङलाई मन्त्रिस्तरीय निर्णय गरेर १५ बुँदे र सचिवस्तरीय निर्णय गरेर ६ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । उनले प्राधिकरणमै आफ्‌नो कार्यालयसमेत खोलेका छन् ।

  • सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

    यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

    भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए । विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।

    यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दशैंमा अग्रिम बुकिङ खुलाउने क्रममा व्यवसायीसँग भएको सहमति अनुसार सरकारले मूल्य समायोजन गरेको भन्दै खुसी व्यक्त गरे । यो गत वर्षसम्मको मूल्यमा आधारित रहेर समायोजन गरिएको भन्दै उनले यसबीचमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दा समेत भाडा समायोजन नभएको बताए ।

    तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने विभागले जनाएको छ । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ। यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ ।

    कुन गन्तब्य पुग्न कति भाडा ?

  • व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?

    व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?

    काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका छन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको छ ।

    निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीबाट रोक लगाउने निर्णय गरेका थिए । उक्त निर्णय फिर्ता लिन वायुसेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरण सहितका निकायले आग्रह गरिरहेका छन् । पटक–पटकको वार्ता निक्र्योलमा पुग्न नसकेको, हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध गरिएको र आपतकालीन अवतरण गर्ने वातावरण समेत नभएको भन्दै वायुसेवा कम्पनीहरूले त्यस क्षेत्रमा अब अत्यावश्यक सहित सबै उडान रोक्ने निर्णय गरेका हुन् ।

  • विपद्‌ पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन

    विपद्‌ पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन

    काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकको निर्णयबमोजिम उक्त योजनाका प्रस्तावित विषयहरु प्रस्तुत गरिएको थियो ।

    क्षतिको विस्तृत लेखाजोखा (डीडीए) गर्न बाँकी भए सम्बन्धित मन्त्रालयबाट गराउन र सोका लागि अर्थ मन्त्रालयलाई परिषद्ले दिनुपर्ने प्रस्ताव बैठकमा आएको थियो । प्रस्तुत प्रस्तावका अधारमा ठोस योजना बनाइ यही पुस २८ गते बस्ने परिषद्को बैठकले निर्णय गर्ने गरी आजको बैठक स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    परिषद्मा सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ, निजी आवास, खानेपानीलगायत क्षेत्रमा आगामी तीन वर्षका लागि ९८ अर्ब ६५ करोड २९ हजार ६८ रुपैयाँ लागत लाग्ने अनुमान प्रस्तुत गरिएको छ । डोटी भूकम्प ९बाजुरा, बझाङसमेत० पञ्चातको निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने र २०८० सालको बाढीजन्य विपद्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने विषयमा प्राधिकरणले तयारी गरेको छ ।

    आगामी माघ २ गते हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रममा पुनःनिर्माणबारे घोषणा गर्ने सरकारको तयारी रहेको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिवलगायतको सहभागिता थियो ।

  • यूरोपका विभिन्न शहरमा भारी हिमपात, जनजीवन प्रभावित

    यूरोपका विभिन्न शहरमा भारी हिमपात, जनजीवन प्रभावित

    काठमाडौं । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्याएको छ । बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य भएको खबर सार्वजनिक भएको छ । बेलायतमा अझै केही दिन मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । त्यहाँ तीन सय मिटर (९८५ फिट) माथिको भू–भागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय अलग्गिन सक्ने चिन्ता छ ।

    देशको विद्युत सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत आपूर्ति बन्द भएपछि पुनःस्थापना गर्ने काम गरिरहेको बताएको छ । कम्पनीको प्रत्यक्ष नक्शाले मध्य इङ्गल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती देखाएको छ । धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् तर लिभरपूल र म्यानचेस्टर युनाइटेड बीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ । यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ ।

    लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द गर्नुपरेको थियो तर तर दुवै आइतबार बिहान ढिलोसम्ममा पुनः खोल्न तयार देखिन्थे । यद्यपि लिड्स ब्राडफोर्ड विमानस्थलले आइतबार बिहान आफ्नो धावनमार्ग बन्द गरेको बताएको छ । क्रिसमस र नयाँ वर्षको बिदाबाट धेरै परिवारहरू घर फर्किने र विद्यार्थीहरू विश्वविद्यालयतर्फ फर्कने दिन भएकाले अत्यन्त व्यस्त हुने यो दिनमा सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएको थियो ।

    स्थानीय अधिकारीहरूले धेरै सडकहरू पहिले नै बन्द गरेका थिए तर अन्यत्र फसेका सवारी साधन र दुर्घटनाहरूले अवरोध सिर्जना गरेका छन् । रेलमार्गमा धेरै सेवाहरू रद्द गरिए र राष्ट्रिय रेलले अवरोध कार्य हप्तासम्म जारी रहने चेतावनी दिएको छ ।

    बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले आइतबार हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इङ्गल्यान्ड र दक्षिणी स्कटल्याण्डमा सबैभन्दा बढी हुने बताएको छ । अति चिसो पानी ठोक्किएर जम्ने जमाउने वर्षाको अनुभव गरेपछि दक्षिणी क्षेत्र केही न्यानो हुनेछ ।

    वातावरण एजेन्सीले दक्षिणी इङ्गल्यान्डमा टाव नदी र एभन नदीमा आठवटा बाढीको चेतावनी पनि जारी गरेको छ । हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ । त्यहाँ जहाँ दक्षिणपश्चिमबाट जाडो मौसम फैलिएको छ । अधिकारीहरूले चालक र पैदल यात्रीहरूका लागि कालो बरफ चेतावनी जारी गरेका छन् र मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन् ।

    फ्रेङ्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनायो । म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो । बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन सहर नजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठ जना घाइते भए । फ्रेङ्कफर्ट क्षेत्रमा लामो दूरीका रेल सम्पर्कहरूमा पनि अनियमितता देखियो । रासस, एपी