काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।
घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ । एफबीआईले ट्रकमा विद्रोही समूह इस्लामिक स्टेट, आईएसको झण्डा भेटिएकोले चालक आतङ्कवादी समूहसँग जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । चालकले अधिकारीहरुमाथि गोलीसमेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरणसमेत भेटिएको थियो ।
काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि सबै होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्ट समेटेर बृहत सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् । होटेल रेष्टुरेन्टमा १० अर्ब रुपैयाँ माथि विदेशी लगानी रहेको देखिएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले विमानस्थलमा रहेका अधिकारीहरुसँग छलफल गर्दै जोखिम फैलन नदिने गरी प्रभावकारी सेवा दिन आग्रह गरे । मन्त्रालयले मंकीपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।
हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भैरहेको छ । उनले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जनाए ।
उनले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए ।
काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । उनलाई एमालले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो । उनले बुधबार पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने बताए ।
‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको अभियान, भोलिको देशभक्तिपूर्ण संगठन निर्माणको आधार हुनेछ । देश र जनतासँग परामर्श गरेर अघि जाने कुरा हो,’ उनले भने, ‘देश र जनतासँग सम्बन्धित समय विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।’
उनले देशको हितको पक्षमा काम गर्ने अभियान चलाउने जानकारी दिए । ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधनमात्र हुन्, देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ ।
राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ ।’ उनले विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्ने प्रतिबद्धता गरेका छन् ।
उनले प्रमुख दलहरु पद र सत्ताको स्वार्थमा लागेको आरोपसमेत लगाए । ुदेश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तया सरकार पदको भागबन्ड र निहित स्वार्थको साधनमा झारिएको छ,ु उनले भने, ‘राजनीतिक परिवर्तनपछि जनताको जे अपेक्षा र आकांक्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् । घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन र गन्तव्यहीन बाटोमा धकेलिएको छ ।
उनले देशभक्तिपूर्ण भावना र चेतले मुक्त जनमत र सरकारको आवश्यकता भएको बताए । देश बलियो भयो भने जनता बलिया, नयाँ हुन्छन् जनता समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ, उनले थपे, यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ ।
भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने दाबी गरे ।
काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ । गतराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले थिच्दा गम्भीर घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए । छतौनाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ०१(००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएको बताइएको छ ।
काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन्। काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन्। साथै उनले एमालेको भण्डाफोर गर्ने समेत बताएकाछन् ।
रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्। केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन्।
रावल पत्रकारसम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्। देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ। पुस १० गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले रावललाई संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। उनले एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला २२३ मत ल्याएका रावल निरन्तर ओलीसँग संघर्षमा थिए।
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ । अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ ।
तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् । दुई सातासम्म चल्ने यो अभ्यास २०६७ सालदेखि सुरु भएको हो । दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् । कोरोना महामारीका बेला भने दुई वर्ष यो अभ्यास स्थगित भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । ‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’
साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामुहिकताको भावना नै राष्ट्रियता भएको जिकिर गरे । ‘माटो छ, भूगोल छ, मेची महाकालीको नक्सा छ । त्यो नक्साभित्र हामी बसेका छौं । कुनैबेला समस्या के थियो, हिंसा थियो । कुनैबेला हाम्रो अधिकार थियो,’ थापाले भने, ‘‘आजकहिँ न कहिँ छटपटी देखिन्छ । हामीबाट पार्टीभित्र सघन छलफल गरेर अघि बढ्नुपर्छ ।’
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।
शाखाका अनुसार सन् २०२२ मा ५३ वटा घटना भएको अभिलेख छ । प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको शाखाको भनाइ छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको अनुगमन शाखाले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ ।
विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्ट ट्र्याकको मान्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङ लगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको जनाएको छ ।
फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्ने छ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ । विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था अन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट मान्डुसम्मको पहिले चालु ६६ केभी लाइन ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौंमा जगेडा रहेको २२।५ एमभीएको पावर ट्रान्सफर्मर ढोर्सिङ सबस्टेसन लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने छ ।
ढोर्सिङ सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर पूर्णभारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो । ११ र १२ असोजको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले मान्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको २२ मेगावाट बागमतीखोला साना जलविद्युतको विद्युतगृह लगायत संरचनामा ठूलो क्षति पुर्याइ विद्युत् उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्र्याक अन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।
बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने स्विचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मर लगायत उपकरण समेत बगाइदिएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइन मार्फत ढोर्सिङ र ३३ केभी लाइनमार्फत ललितपुर माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।
तर, बाढीपहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजना पुनर्निर्माण चलिरहेको छ ।
विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल लगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार मान्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
टोलीले पुनर्निर्माण भइरहेको बागमतीखोला साना जलविद्युत् आयोजना र ढोर्सिङ सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पमा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो ।
आयोजना पुनर्निर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्था अनुसार विद्युत् आपूर्ति दिइने छ ।
कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्म ढोर्सिङ सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ–मान्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए ।
‘हाम्रा कारणले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनु हुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्म वैकल्पिक व्यवस्था मार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौं,’ घिसिङले भने ।
उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनस्र्थापना गर्न स्थानीय रूपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौंडा वितरण केन्द्र प्रमुखलाई निर्देशन दिएका छन् ।
काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ ।
पहिलो दिनको थुनछेक बहस सकिएको छ । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।
काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो।
भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।
उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटिएको थियो । टोलीले सो वस्तु निष्कृय पारेको छ । उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।
आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ । प्रहरीले शंकास्पद वस्तु राख्ने र प्रहरीलाई सूचना दिने व्यक्तिको खोजी गरिरहेको प्रहरीले बताएको छ ।
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका(९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।
डीएसपी गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राति नै अस्पतालमा उपचारका क्रममा मृत्यु हो । ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका(७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् ।
उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा चैनपुरकै २६ वर्षीय सुभम राई घाइते छन् । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भैंसेपाटीमा माइक्रो बसको ठक्करबाट महिलाको मृत्यु
यसैगरी सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भई बाटो किनारमा हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेलीलाई ठक्कर दिएको थियो । ललितपुरको मगरगाउँ बस्ने गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित हुँदा रोकिराखेको बोलेरो गाडि र एउटा पसलमा समेत क्षति पुगेको छ ।
काठमाडौं । थाइल्यान्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा अन्य पाँच विदेशी र दुई थाई नागरिक घाइते भएको बैङ्कक महानगर प्रशासनले सोमबार जनाएको छ ।
बैङ्ककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै छ तले होटल रहेकोे घटनास्थलमा पुगेका थिए र तीनवटा क्रेनसहित पुगेका उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेका थिए । आगलागीको कारण खुल्न सकेको छैन । अधिकारीहरूले घटनापछि होटल बन्द गर्न र चेतावनी प्रणालीको अनुसन्धान गर्न आदेश दिएका छन् । रासस\एएफपी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।
उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भनेका छन् । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’ आइतबार मात्रै पर्साको वीरगञ्ज पुगेर प्रधानमन्त्री ओलीले प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको टिप्पणी गरेका थिए ।
साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे । सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावल नयाँ पार्टी घोषणाको निष्कर्षमा पुगेका छन् । उनले बुधबार पत्रकार सम्मेलन आह्वान गरेका छन् । उनले पार्टी घोषणासँगै झापाबाट देशदौडाहा थाल्ने तयारी समेत गरेका छन् । देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुने समेत बताइएको छ ।
बुधबारको पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहार उजागर हुने समेत बताइएको छ । माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने बताइएको छ । रावलले सोमबार नेपाली कांग्रेस डडेलधुराका पूर्वनेता कर्ण मल्लसहितका नेतासँग भेटेका छन् ।
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार बिहानदेखि मासु खाएका सबै परिवारमा स्वास्थ्य समस्या देखिएपछि प्रहरीको सहयोगमा जिल्ला अस्पतालसम्म पुर्याएको उनले बताए ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट अन्य कुखुराको परीक्षण गर्न पनि पहल भएको भण्डारीले बताए । ‘ प्रारम्भिक अनुसन्धानबाट फुड पोइजनको कारण मृत्यु भएको र सोही कारण बिरामी भएको हुन सक्ने देखिएको छ । सबै स्वास्थ्य रिपोर्ट आइसकेको छैन,’ प्रहरी प्रमुख भण्डारीले भने । ‘मरेको कुखुराको मासु खाने एक जनाको मृत्यु भइसकेको छ । तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनिन् ,‘हजुरामा र नातीनीको अवस्था भने गम्भीर छ । भोलि (सोमबार) बिहानसम्म पनि स्वास्थ्य अवस्थामा सुधार भएन भने अन्तै रेफर गर्नु पर्ने देखिन्छ ।’
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।
४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएको र त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । त्यस्तै उनकी पत्नीको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।
उनी विरुद्ध शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको २५ लाख रुपैयाँ बराबरको रकम तिरिदिएको आरोप समेत लागेको छ । अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।
अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ । मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप समेत लगाएको छ ।
अख्तियारको आरोप पत्रमा मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानले मन्दिर बनाउने भनी जग्गा बिक्री गर्नका लागि स्थानीहरुलाई सहमत गराएको उल्लेख छ । पछि त्यो जग्गामा पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलले प्लटिङ गराइ हाउजिङहरु बेचेका थिए । मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए ।
“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्। मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ। झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ। तपाईंहरुको एमालेमा आउने छनोट सही छ। तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ। हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ। हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ। युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ।”
प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे । कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरे ।
पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे । कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । मन्त्री डा राणा आइतबार साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
मन्त्री डा राणाले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भनेकी छिन् । उक्त पुस्तिकामा मन्त्री डा राणाले स्वर्गीय सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उहाँ सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरिन् ।
मन्त्री डा राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताइन् । भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको थियो ।
काठमाडौं । राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न नसकेको भन्दै सरकारले वैकल्पिक विकास वित्त खोज्ने भएको छ । सोही प्रयोजनका लागि वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरिएको र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराइने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । विकासको उच्च आकांक्षा सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको उनले बताए ।
‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहना सम्बोधन गर्न चुनौतीपूर्ण छ,’ अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकता समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौं ।’
अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोण साथ अघि बढ्न आवश्यक रहेको उनले बताए । वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन र लगानी गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनको छ । ‘आर्थिक समृद्धिका लागि पूर्वाधारमा मात्र नभएर दक्ष जनशक्ति विकास र सफ्टपावरमा पनि ठूलो लगानी गर्न जरुरी छ,’ अर्थमन्त्री पौडेलले भने, ‘वैकल्पिक वित्तले सार्वजनिक विकासका धेरै क्षेत्रमा सिर्जनशील र नयाँ–नयाँ दृष्टिकोणका लागि ढोका खोल्ने छ ।’
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार वैकल्पिक विकास वित्तले पूर्वाधार क्षेत्रको प्राथमिकीकरण, पूर्वाधार लगानीका लागि स्वदेशी तथा विदेशी स्रोत लगानीको व्यवस्था, विभिन्न वित्तीय उपकरणको सही प्रयोग लगायतमा सहयोग गर्छ ।
यसैगरी सार्वजनिक–निजी साझेदारी, पूर्वाधार बन्ड, पूर्वाधार कोष लगायतले निजी क्षेत्र पनि अघि बढ्ने अझ फराकिलो अवसर सिर्जना गर्छ । वैकल्पिक वित्तीय स्रोत अन्तर्गत विभिन्न प्रकारका लगानी संरचना जस्तै भेन्चर क्यापिटल, म्युचुअल फन्ड, परियोजना विशेष ऋणपत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्कुबेसन कोष तथा अन्य वित्तीय साधन प्रयोग हुने गर्छन् ।
यसका लागि सरकारी योगदान अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीको लगानी, संस्थागत लगानी, ग्रिन बन्ड, जलवायु कोष लगायतबाट स्रोत व्यवस्थापन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
काठमाडौं । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ पुगेको छ । समाचार एजेन्सीहरुका अनुसार आइतबार बिहानै भएको जहाज दुर्घटनामा २ जनाको जिवितै उद्वार गरिएको थियो । जहाजमा १८१ यात्रु सवार थिए । उनीहरु बाहेक अन्य सबैको ज्यान गएको समाचारमा उल्लेख छ । थाइल्यान्डको बैंककबाट जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
काठमाडौं । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ूप्रारम्भिक सङ्केतू अमेरिकाले पाएको जनाएका छन्। डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए। चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।
तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो। यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ। तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण निकै जटिल रहेको जनाएको छ। किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ। अजरबैजानका उड्डयन विज्ञ र अन्यले इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताएका छन्। अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताएका छन्।
ूबिना अपवाद बाँच्न सफले सबैले विमान चेचन्याकोे ग्रोज्नी माथि हुँदा तीनवटा विस्फोटनको आवाज सुनेको बताएका छन्, रशाद नबियबले बताए। नबियबले अनुसन्धानहरूले कस्ता खाले अस्त्र वा अझ कस्तो खाले रकेट प्रयोग भएको थियो भनेर जाँच गर्ने बताए। समाचार संस्था एएफफीसँग कुरा गर्दै उनले विमान क्षतिग्रस्त भइसकेपछि पाइलटले गोज्नीमा आपत्कालीन अवतरण गर्न दिन भनेको बताए। नजिकैका विमानस्थलतर्फ पठाउनुका साटो जीपिएसबीनै क्यास्पिअन सागरतर्फ निकै पर पठाइएको बताए।
एम्ब्राएर १९० विमानका पाइलटहरूलाई विमानमा सवार २९ जनाको जीवन बचाउन सकेको श्रेय दिइएको छ। यद्यपि दुर्घटनाका क्रममा उनीहरू स्वयंले ज्यान गुमाए। अजरबैजान एअरलाइन्सको उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीको प्रहार लागेको भन्दै व्यापक रूपमा आइरहेका खबरबारे प्रतिक्रिया जनाउन क्रेमलिनले अस्वीकार गरेको छ। बीबीसीको सहयोगमा
काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन नारा सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । अवतरणका दौरान धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।