Category: समाचार

  • ८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

    ८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

    ९ पुस, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।


    अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।


    गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।


    दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।


    पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय ९पिक०मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।


    जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि। सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।

    कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए ।

    डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन, विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं’, घिसिङले भने, ‘देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’

    कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावहरुलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाकासाथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगनबाट तोकिएको दिनभन्दा अगाडिनै विद्युत् उत्पादन गर्न सफल भएको बताए । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको सिइओ गौतमले उल्लेख गरे ।


    जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो । कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।

  • सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

    सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

    काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु भएको थियो।

    यी दुई बाइपास क्रमशः १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् । सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ। जसको पछिल्लो विवरण अनुसार ८ सय मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमा लाइनिङको काम भने अझै सुरु भइसकेको छैन ।

    सुरुङ खन्न एक वर्ष अगाडिदेखि सुरु भएको थियो । यो आयोजना निर्माण जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।

  • हुम्लामा हिमपातले जनजीवन प्रभावित

    हुम्लामा हिमपातले जनजीवन प्रभावित

    काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

    चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

    (राससबाट)

  • फुल्चोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

    काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा बाटो बिराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार साँझ ५ बजे उनीहरूले प्रहरीलाई आफूहरूले बाटो बिराएको भनी उद्धार गर्न खबर गरेको प्रहरीले जनाएको छ । लगत्तै प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवरत्न पौडेलले बाटो बिराएका उनीहरू सम्पर्कमा रहेको र प्रहरीले खोजी जारी राखेको बताएका छन् । फुल्चोकीमा प्रत्येक वर्ष हिउँ खेल्ने, हाइकिङ जाने र गोदावरी पिकनिक जाने युवकयुवती हराउने गरेका छन् । बाटो बिराएका १३ जनामध्ये १० पुरुष र तीन महिला रहेका छन् ।

  • भक्तपुरमा बाबु-छोरा मृत फेला, प्रहरीले कसरी गर्दैछ अनुसन्धान ?

    भक्तपुरमा बाबु-छोरा मृत फेला, प्रहरीले कसरी गर्दैछ अनुसन्धान ?

    काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् ।

    “दुवै कोठाको बाहिर ताल्चा लगाइएको छ, भित्र दुई जना मृत अवस्थामा भेटिएका छन् । मृतक दुवैको टाउको र शरीरका अङ्गमा चोट लागेकाले घट्ना हत्याका कारण भएको हुनसक्ने आधारमा हामीले अनुसन्धान अगाडि बढाएका छौँ”, उनले भने, ,“घट्ना भएपछि अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घट्नास्थलमा अनुसन्धान सुरु गरेका छौँ ।”

    छिमेकीले शनिबार साँझ तीनैजना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएको बुझिएको छ ।

    दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बुढाथोकीले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र सम्पर्कविहीन रहेका मिलन सम्पर्कमा आएपछि घट्नाको वास्तविकता खुल्ने बताए । रासस

  • मध्यपूर्वी मुलुक जान चाहने नेपालीलाई सरकारले जारी गर्यो ट्राभल एडभाइजरी

    मध्यपूर्वी मुलुक जान चाहने नेपालीलाई सरकारले जारी गर्यो ट्राभल एडभाइजरी

    काठमाडौं । सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायत देशमा जान चाहने नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न नगराउन पनि मन्त्रालयले भनेको छ ।

    थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकहरुमा रहेका नेपालीहरूलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडी पुर्‍याएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयबाट २०७९ पुस महिनामा यात्रा सम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गरेपछि उक्त क्षेत्रमा पुग्ने नेपाली नागरिकहरुको संख्यामा कमी आएको थियो ।

    तर हालका दिनहरुमा मानव वेचविखन एवं अन्य अपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरुलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरु देखिन थालेको मन्त्रालयले जनाएको छ ।

    समस्यामा परेकाहरुले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम उल्लेखनीय रुपमा बढोत्तरी भैरहेको मन्त्रालयले जनाएको छ । त्यसैले मन्त्रालयले आज फेरि ट्राभल एडभाइजरी जारी गरेको हो । मन्त्रालयले प्रायः सामाजिक सन्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न, रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि कम्पनी र रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन पनि सबैलाई अनुरोध गरेको छ ।

  • रविको तस्वीर सार्वजनिक गर्दा पक्राउ परेका डा. भुसाल रिहा

    रविको तस्वीर सार्वजनिक गर्दा पक्राउ परेका डा. भुसाल रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् । आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो । हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।

  • परराष्ट्र मन्त्री देउवा स्वदेश फिर्ता

    परराष्ट्र मन्त्री देउवा स्वदेश फिर्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् । सोमबार उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।

    परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्व गरेकी थिइन् । मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गरिन् । उनले जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गरेकी थिइन् ।

  • रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित

    रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

    लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । हिजो लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो । संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो । लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसको जानकारी जिल्ला प्रहरी कार्यालयले त्यसबेलै गरेको थियो । जानकारी पाएपछि संघीय संसद् सचिवालयले लामिछाने पक्राउ परेको सूचना निकालेको थियो ।

  • ब्राजिलमा बस्तीमा खस्यो प्लेन, कम्तिमा १० जना मारिए

    ब्राजिलमा बस्तीमा खस्यो प्लेन, कम्तिमा १० जना मारिए

    काठमाडौं । ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना भएको छ । सो क्रममा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो ।

    प्लेन खसेपछि आगो लागेको थियो । प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए । ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ ।

    यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ । क्रिसमसको बिदामा यो शहरमा पर्यटकहरुको निकै भिड लाग्ने गर्दछ । यो शहरलाई जर्मन र इतालवी प्रवासीहरुले बसालेको बताइन्छ । ब्राजिलमा आइतबार मात्रै बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो ।

  • पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

    पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

    काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ आयोजना हुने भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । १४ देखि १५ पुस ९२९–३० डिसेम्बर २०२४० सम्म आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभलमा नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी हुने आयोजकले जनाएको छ ।

    २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ ।

    ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक २०२३ मा ड्रागन बोट फेस्टिभल सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्ने गरेको छ । प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाका साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ ।

    चिनियाँले मनाउने यस पर्वलाई २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ ।

    चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा छ । यो चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउँछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिका रूपमा लिइन्छ ।

    चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि हो । २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ चिनीयाँ पर्यटक नेपाल आएका थिए ।

  • वैदेशिक व्यापारमा सुधार, आयात-निर्यात दुबै बढ्यो

    वैदेशिक व्यापारमा सुधार, आयात-निर्यात दुबै बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०–८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो । आयात र निर्यात दुवैमा सुधार हुँदा यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेको देखिएको छ । गत आवको ५ महिनामा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार भएको तथ्यांकमा देखिन्छ ।

    भन्सार विभागका अनुसार पहिलो ५ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ३ प्रतिशत धेरै हो । अघिल्लो आवको मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.५४ प्रतिशत धेरै हो । यस वर्ष भारतले वनस्पति तेलको आयात सहज बनाएसँगै नेपालबाट हुने निर्यात बढ्न थालेको हो ।

    अघिल्लो आवको यसै अवधिमा निर्यात ६३ अर्ब २० करोड रुपैयाँ मात्र रहेको थियो । मंसिरसम्म नेपालको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर रहेको देखिन्छ । व्यापार घाटा अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले मात्र विस्तार भएको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर धेरै हुँदा व्यापार घाटा धेरै नबढेको हो । अघिल्लो आवको मंसिरसम्म ५ खर्ब ७९ अर्ब रुपैयाँ हाराहारी व्यापार घाटा रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत रहेको छ । निर्यातको हिस्सा १०.०२ प्रतिशत रहेको छ । निर्यातको हिस्सा केही बढेको देखिन्छ ।

    यस वर्ष पाँच महिनामै पेट्रोलियम पदार्थको आयातमा १ खर्ब भन्दा बढी खर्च भएको छ । तथ्यांक अनुसार मंसिर मसान्तसम्म १ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालमा कुल निर्यातले पेट्रोलियम पदार्थ आयात मात्र धान्न समेत नपुग्ने अवस्था छ । मंसिरसम्म आइरन तथा स्टीलको आयात ५४ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ । विद्युतीय उपकरण र त्यसका पाटपुर्जाको आयातमा ४५ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । ४१ अर्ब रुपैयाँ बराबरका सवारीसाधन आयात भएको तथ्यांकमा देखिएको छ । साढे १९ अर्ब रुपैयाँ बराबरको तरकारी र तरकारीजन्य वस्तु आयात भएको छ ।

    मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । यस अवधिमा भारतबाट नेपालले ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भारतमा ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग ३ खर्ब ५८ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । चीनबाट नेपालमा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आएको छ । नेपालबाट चीनमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांकमा देखिन्छ ।

  • हिरासतमा रवि सुतेको तस्वीर खिच्ने व्यक्ति पक्राउ

    हिरासतमा रवि सुतेको तस्वीर खिच्ने व्यक्ति पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।

    सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो । हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।

  • सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

    सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

    काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था मुल्‍यांकन गर्न र सुधार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, राजनीतिक संयन्त्रमा रहेका नेताहरु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालगायत सहभागी बैठकमा सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।

    छलफलमा प्रधानमन्त्री ओलीले यस स्थितिलाई सबैले गम्भीरतापूर्वक लिएर स्थितिमा सकारात्मक परिवर्तन ल्याउन भोलिदेखि नै प्रभावकारीरुपमा काम गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक क्रियाकलापमा कतै बढी कडाइ र कतै बढी नरम हुँदा असन्तुलन देखिएको र अनेक कार्यविधि र संयन्त्रका कारण उद्योगी, व्यवसायीहरु निरुत्साहन पनि भएकामा यस अवस्थामा सुधार ल्याउनुपर्ने बताए । उनले भर्खरै स्थिरताको लक्ष्यका साथ नयाँ सरकार बनेको र स्थितिमा सुधार गर्न पहल गरिरहेकाले भरपर्दो राजनीतिक प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय मञ्चलाई त्यही आधारमा रिपोर्टिङ गर्नुपर्ने बताए ।

    कांग्रेस सभापति देउवाले कस्ले कहाँ के सामान किन्छ भन्ने हिसाब किताब नै नहुने भएकाले सम्पत्ति शुद्धीकरणलाई कार्यान्वयन गर्नु धेरै गाह्रो कुरा भएको बताए । उनले आर्थिक करोबारका विविध पक्षबारे जनतालाई सिकाउनुपर्ने र स्थितिमा सुधार ल्याउनुपर्नेमा जोड दिए । यस्तै फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० ले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानीजस्ता गैह्रकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ।

    सदस्य राष्ट्रले एफएटीएफका मापदण्डहरु पालना गर्नुपर्नेछ भने नेपाल विसं. २०५९ को सदस्य भएको थियो । तत्पश्चात यस क्षेत्रमा कानुनी, नीतिगत र संरचनागतरुपमा काम हुँदै आएको छ । एसिया प्रशान्त क्षेत्रमा एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपिजी)ले यहाँका मुलुकहरुबीच यस विषयमा साझा काम गर्दै आएको छ।

    एपीजीले गरेको मूल्याङ्कनमा नेपालसहित विश्वका २५ मुलुक ‘जुरिस्डिक्सन अण्डर इन्क्रिइज्ड मनिटरी’ (ग्रे लिस्ट)मा पर्र्ने अवस्थामा रहेकाले यसमा सुधारका लागि बैठकमा सघन छलफल भएको थियो । आगामी जनवरीमा फिलिपिन्समा हुने एपिजीको ‘फेस टु फेस’ बैठकमा नेपालको राजनीतिक प्रतिबद्धता र सुधारका पहलससिहत प्रस्तुति राखेर नेपाललाई ‘ग्रे लिस्ट’ मा पर्न नदिन पहल गर्न छलफलमा सुझाव दिइएको छ।

    सम्पत्ति शुद्धीकरणको अवस्थामा सुधार ल्याउन सरकारले गत असार १७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपालमा सम्पत्ति शुद्धीकरण तथा आङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गरेको छ । यही पुस ५ गतेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारणका लागि तीन वटा नियमनकारी निकाय तोक्ने निर्णय गरेको थियो। सो बैठकले सवारीसाधन खरिद कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषका लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोकेको थियो।

  • नाइजेरियामा खाना वितरण हुने केन्द्रमा भागदौड, कम्तिमा ३२ जनाको मृत्यु

    नाइजेरियामा खाना वितरण हुने केन्द्रमा भागदौड, कम्तिमा ३२ जनाको मृत्यु

    काठमाडौं । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो । दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ जनाको मृत्यु भएको थियो । यसअघि प्रहरीले घटनामा ‘धेरै’ मानिसको मृत्यु भएको चेतावनी दिएको थियो ।

    साथै सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै कुल्चाइमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गरेका थिए । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशले नोभेम्बरमा मुद्रास्फीति बढेर ३४.६ प्रतिशत पुगेर एक पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला खाद्य वितरण केन्द्र बाहिर भागदौड भएको छ ।

    ओकिजामा २२ जनाको मृत्यु भएको पुष्टि गर्दै अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले मृतकका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरे । “यो दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुकु इकेङ्गाले आइतबार एक विज्ञप्तिमा भनेका छन् । मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् । रासस, एएफपी

  • रविको थुनछेक बयान सोमबारबाट

    रविको थुनछेक बयान सोमबारबाट

    काठमाडौं । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा फर्काइएको छ। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो। जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता पनि थुनछेक बहस आरम्भ भएन।

    यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो। लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका पाँच प्रतिवादी थुनछेक बहस नसकिञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनेछन् ।

    सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। त्यसपछि दुवै पक्षको बहसप्रति बहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनेछन् । अदालतका सूचना अधिकारी सुरज अधिकारीले आइतबार अबेरसम्म मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमबारबाट थुनछेक बहस सुरु हुने जानकारी दिएका छन् ।

  • रवि लामिछानेको सांसद पद निलम्बन हुने

    रवि लामिछानेको सांसद पद निलम्बन हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

    ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, ऐनमा भनिएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

  • रवि लामिछानेमाथि झण्डै २८ करोड बराबरको सम्पत्ति शुद्धीकरणको आरोप

    रवि लामिछानेमाथि झण्डै २८ करोड बराबरको सम्पत्ति शुद्धीकरणको आरोप

    काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे भने केही बताएकी थिइनन् ।

    निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।

    त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो । सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो ।

    यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् । सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।

  • यसै महिनादेखि पाइपलाइनबाट डिजेल र मट्टितेल पनि ल्याउने तयारी

    यसै महिनादेखि पाइपलाइनबाट डिजेल र मट्टितेल पनि ल्याउने तयारी

    काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।

    निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्यांक निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।”,’ उनले भने ।

    निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।

    ‘स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ । यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ’, कार्यालय प्रमुख आचार्यले भने, ‘ट्रक ट्यांकरमा तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ । पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्यांकर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ ।’

    पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन । ‘दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन’, प्रमुख आचार्यले भने, ‘डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ ।’

    यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९ दशमलव दुई किमी रहेको छ । यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६ दशमलव दुई किमी रहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    निगमको मधेश प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

  • सोमबारबाट दिउँदे वर्षाको सम्भावना

    सोमबारबाट दिउँदे वर्षाको सम्भावना

    काठमाडौं । यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भेगमा सोमबार रातिदेखि हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ । यस वर्षको पहिलो हिउँदे वर्षा गत मंसिर २३ र २४ गते पश्चिम नेपालका भूभागमा भएको थियो ।

    सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान मौसमविदले गरेका छन् । मौसमविद डा. विनोद पोखरेलका अनुसार सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने छिटपुट वर्षा हुने र बादल मात्र लाग्ने उनले बताए ।

    मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार कर्णाली र सुदूरपश्चिममा बादल लाग्ने तथा एक–दुई स्थानमा हल्का पानी पर्नसक्ने प्रक्षेपण गरेको छ ।
    महाशाखाका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    कर्णाली प्रदेशमा सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा सोमबार दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

    सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ ।

  • परराष्ट्रमन्त्री देउवा सोमबार स्वदेश फर्कने

    परराष्ट्रमन्त्री देउवा सोमबार स्वदेश फर्कने

    काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रहेको बताइएको छ । नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो ।

    त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य जाँच गराउने गरेको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै आरजु नेदरल्याण्ड्सको हेग गएकी थिइन् । त्यहाँ उनी जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरुको दायित्वबारे ९० देशको कार्यक्रममा सहभागी भएकी थिइन् ।

    फर्किँदा उनी सिधै काठमाडौं नगइ दिल्ली आइन् । दिल्लीमा उनले शुक्रबार नेपाल भारत आर्थिक सम्मेलनलाई समेत सम्बोधन गरिन् । सम्मेलनमा उनले भारतका निजी क्षेत्र र व्यवसायीलाई नेपालमा लगानी गर्न अनुरोध गरिन् । उनले नेपालको लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा साथ दिन भारतका निजी वायुसेवा प्रदायक कम्पनीलाई पनि आग्रह गरिन् ।

  • एउटै सिटमा बसेर देउवा र प्रचण्डले हेरे क्रिकेट

    एउटै सिटमा बसेर देउवा र प्रचण्डले हेरे क्रिकेट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेलका दौरान प्रचण्ड र शेर बहादुर देउवा एउटै सिटमा बसेर खेल हेरेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा हेरेका थिए । एनपिएलको फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह लगायतका नेताहरु पनि कीर्तिपुर पुगेका थिए ।

    एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न दर्शक उल्लेख्य उपस्थित थिए ।

  • जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि, रच्यो इतिहास

    जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि, रच्यो इतिहास

    काठमाडौं । जनकपुर बोल्ट्सले प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाए । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

    सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बन्न सफल भयो । बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो ।

    जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए ।

    आसिफले सातौं ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

    सुदूरपश्चिम रोएल्सका ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे । जैब र विनोदले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

    ओपनरले राम्रो सुरुवात दिलाए पनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो । बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए । जनकपुरका ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए ।

    जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् । जनकपुरका ललित र सुदूरका स्कट कुगेलेइन दुवैले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिए । फाइनलमा सानदार ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा पनि अर्धशतक बनाएका उनले दुई अर्धशतक सहित १० खेलमा सर्वाधिक २९३ रन बनाएका हुन् ।

  • पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

    पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

    ६ पुस, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१\८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ ।


    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।


    साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड,असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।


    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरुमा विद्युत् निर्यात घटेको र शुख्खायाम सुरु भएसँगै जलविद्युत आयोजनाहरुको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नु परेको कार्यकारी निर्देशक घिसिङले बताए ।


    अहिले विद्युत निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन कमी भई देशभित्रको विद्युत माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नु पर्ने छ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरुभएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ ।

    यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ । चालू आवमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ ।

    बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोर क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरुको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।


    माथिल्लो तामाकोशी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमश: घट्दै जाने छ ।


    पाँच महिनामा भारतर्फको विद्युत् निर्यात
    महिना विद्युत निर्यात (रुपैयाँ) प्रतियुनिट औसत दर (रुपैयाँ)
    साउन ४ अर्ब १५ करोड ८.३५
    भदौ ३ अर्ब ६८ करोड ६.७०
    असोज ३ अर्ब ७ करोड ८.५०
    कात्तिक १ अर्ब ८७ करोड ६.२९
    मङ्सिर २८ करोड १४ लाख ४.६४
    जम्मा १३ अर्ब ४ करोड ७.३९
    स्रोत : नेपाल विद्युत प्राधिकरण ।


    प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।


    गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

  • आव विश्व ध्यान दिवस मनाइदैं

    आव विश्व ध्यान दिवस मनाइदैं

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

    राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए । यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

  • मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान

    मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान

    काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।

    मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ । साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।

  • एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै

    एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ । नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले विश्व क्रिकेटमा राम्रो छाप पार्न सफल भएको छ ।

    फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेख दुवैले हजारौं दर्शकमाझको यस फाइनल खेलका लागि तयार रहेको बताए । मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने दुवैको साझा धारणा थियो ।

    राम्रो तालिम भइरहेको बताउँदै सुदूरका कप्तान दिपेन्द्रले जनकपुरलाई लिग चरणमा दुईपटक हराएको भएपनि हल्का रूपमा लिन नहुने बताए । ‘जनकपुरको टिम पनि राम्रो छ, टफ नै हुन्छ । हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ दिपेन्द्रले भने ।


    जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै पछिल्ला खेलमा आफूहरूले बेस्ट दिन नसकेको उल्लेख गरे । जित्नु छ भने आफ्नो बेस्ट दिनुपर्छ, दुई खेल खेल्दा पनि बेस्ट दिएका छैनौं, शनिबारको खेलमा उत्कृष्ट खेल्ने प्रयास रहनेछ, कम्पिटेटिभ हुनेछ गेम’ उनले भने, ‘हामी प्रोसेसलाई फलो गर्दै जाने हो, खेलाडीहरूलाई ब्याक गरिराख्छौं अनि हौसला पनि दिइरहेका छौं।’

    सुदूर र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि लिग चरणमा भएको भेटमा सुदूरले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो । त्यसैगरी पहिलो क्‍वालिफायरमा जनकपुरमाथि ८ विकेटको जित निकालेर सुदूर सोझै फाइनलमा पुगेको थियो ।

  • बाजुरामा भुकम्प, क्षतिको विवरण आउन बाँकी

    बाजुरामा भुकम्प, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । शनिबार बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५।२ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाकि छ। पछिल्लो समय पश्चिम नेपालमा भूकम्पले निरन्तर धक्का दिइरहेको छ ।

  • एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने

    एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले तीन वटा परियोजना कार्यान्वयन गर्न नेपाललाई एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण रहेको अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार यो रकम दोस्रो चरणको काठमाण्डौ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना र समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उपयोग गरिनेछ ।

    अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवम् अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव घिमिरेले यो सहयोगबाट सिँचाइ प्रणाली, जल सुरक्षा र कृषिमा सुधार मात्र नभई नेपालको सबैभन्दा बढी प्रभावित समुदायमा जलवायु प्रतिरोधी क्षमतालाई सुदृढ पार्ने र योगदान पुर्‍याउने बताए ।

  • भारतमा ग्यास बोकेको ट्याङ्करमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

    भारतमा ग्यास बोकेको ट्याङ्करमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

    काठमाडौं । भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो ।

    आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । ग्यास ट्याङ्करमा लागेको आगो निकै टाढासम्म फैलिएको थियो । यसैबीच भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई जनही ६ लाख र घाइतेलाई २र२ लाख भारु दिने घोषणा गरेको छ ।