Category: समाचार

  • दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता

    दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता

    काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो ।

    विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

    उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो । अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीसम्म पुगेको थियो ।

    यसरी धम्की दिनेले प्रसाईंलाई सहयोग गर्न भन्न गरेका थिए । सीआईबीले भारतको आसामबाट धम्की दिने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि यसमा प्रसाईं पनि जोडिएका थिए । फुयाँलले प्रसाई‌को निर्देशनमा आफूले त्यसरी फोन गरेको बताएपछि प्रसाईंविरुद्ध अहिले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको थियो ।

  • जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक

    जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक

    काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।

    निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उडान तथा अवतरण गर्ने विभिन्न कम्पनीका हेलिकप्टरले उडान–अवतरण गर्नुअघि निकुञ्ज कार्यालयबाट अनुमति लिएर मात्र उडान गर्नुपर्छ । तर, यस्तो काम प्रभावकारी नभएको र राजस्व चुहावट समेत भएको भन्दै निकुञ्जले अब व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो ।

    हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान–अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको कार्यालयले जनाएको छ । यसले मानव बस्तीमा ध्वनि प्रदूषण बढाएको समेत निकुञ्जले हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ ।

    निकुञ्ज कार्यालयका अनुसार अब निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान–अवतरणमा पूर्णरोक लागेको छ । निकुञ्ज भ्रमण गर्न आउने पर्यटक, स्थानीय र पदमार्गीको स्वास्थ्य ध्यानमा राख्दै सर्तसहित उद्धार उडान भने गर्न पाइने छ । जसमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती उपभोक्ता समिति र वडा कार्यालयलाई मौखिकरलिखित सिफारिसपछि मात्र निकुञ्जले अनुमति दिने छ ।

    उद्धार उडान गर्नुपर्ने अवस्था आए निकुञ्जबाट पूर्वसहमति लिएर हेलिकप्टर अवतरण गर्ने स्थान तय गर्नुपर्ने छ । उद्धार हुने व्यक्तिको विवरण निकुञ्ज कार्यालयमा पेस गर्नुपर्ने भएको छ । हेलिकप्टरमा उद्धार (रेस्क्यु) गर्नुपर्ने पर्यटक बाहेक अरूलाई ओसारपसार गर्न रोक लगाइएको छ । खुम्बु क्षेत्रको भौगोलिक अवस्था मध्यनजर गरी स्थानीय स्तरमा आवश्यक सामग्री ढुवानीका लागि भने पूर्वसहमतिमा कार्गो उडान गर्न पाइने छ । सगरमाथा आरोहणका लागि कार्गो ढुवानी गर्न पाङबोचे भन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न पाइने छैन ।

  • काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्रिमा झर्यो

    काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्रिमा झर्यो

    काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

    जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

    प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

  • परराष्ट्र मन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्रीबीच भेट

    परराष्ट्र मन्त्री राणा र लक्जमबर्गका उपप्रधानमन्त्रीबीच भेट

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मंगलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए । लक्जमबर्ग सिटीस्थित उनको कार्याकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।

    त्यस अवसरमा उनीहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबीचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरेको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।

    नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा देउवाले सो भेटका क्रममा जानकारी गराएका थिए । उनीहरूले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गरेका थिए । त्यस अवसरमा मन्त्री डा देउवाले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरेका थिए ।

    मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिकलगायत क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेका थिए । नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जमबर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा देउवाले बताएका थिए ।

    सो भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुंग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराए । साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र मानवअधिकार आयोगको सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जमबर्गलाई आग्रह गरेका थिए । नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

  • एनपीएल : आज दुई खेल हुँदै

    एनपीएल : आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर र सुदूरपश्चिम भिड्नेछन् । दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

    चार वटै टोलीलाई आजको खेल महत्वपूर्ण छ । जनकपुर र सुदूरपश्चिमबीचको खेललाई फाइनल अगाडीको रिहर्सलका रुपमा हेरिएका छ । दुबै टोलीले उत्कृष्ट क्रिकेट पस्किरहेका छन् । काठमाण्डु र लुम्बिीनको खेलमा भने आफ्नो अस्तित्व जिवित राख्ने प्रयास हुनेछ ।

  • एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन

    एमालेको निष्कर्ष : स्थानीय तह उपनिर्वाचनको परिणाम अपेक्षित आएन

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    उनले सहरी जनमतलाई पार्टीसँग आबद्ध गर्न नसकेको निष्कर्ष निकालिएको बताए । मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरिएको उनले बताए । समग्रमा एमालेले थप उपलब्धि हाँसिल गरेको भन्दै खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाको नतिजा अपेक्षा अनुसार नआएको एमालेको निष्कर्ष छ । सहरी मतदातालाई पार्टीसँग जोड्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि ज्ञवालीले जानकारी दिए ।

  • कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड

    कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

    कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले र कानले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’ साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए ।

    ‘रवि लामिछाने भर्खर एउटा आन्दोलनको रुपमा देखा परेको, नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । म प्रधानमन्त्री बन्नुअघि रविलाई प्रस्ताव राख्दा म होइन अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेको हो,’ प्रचण्डले भने, ‘एमालेले आफ्नो पकेटको मान्छे बनाउन कम मिहेनत गरेको होइन । चितवनवासी जनतालाई साँचो कुरा भन्नुपर्छ भनेर मैले यो भन्दैछु ।’

  • विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै

    विश्व क्रिकेटका स्टार ब्रायन लारा नेपाल आउँदै

    काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक क्यानले लारा एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जानकारी गराएको छ । ‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने भएका छन् । उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेको बताइएको छ ।

    लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । उनी पहिलोपटक नेपाल आउन लागेका हुन् । यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।

  • प्रधानसेनापति भारत प्रस्थान

    प्रधानसेनापति भारत प्रस्थान

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् ।

    यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउनेछन् ।

  • हुस्सुको कहरले जनजीवन प्रभावित

    हुस्सुको कहरले जनजीवन प्रभावित

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै

    अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाईंदै

    काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ। ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो। यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।

    मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ। आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिए।

  • एमाले सचिवालय बैठक आज बस्दै

    एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ। यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेन।

    स्थानीय तहका कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमाले ८ स्थानमा निर्वाचित भएको थियो। एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जित्यो। यसअघि जितेका ७ स्थानमा चुनाव भए पनि यसअघि निर्वाचित भएको ठाउँ एमालेले जोगाउन सकेन।

    उपनिर्वाचनको मुखमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर अफवाह फैलाइएको तथा व्यवसायी मीनबहादुर गुरूङबाट दान लिएर पार्टी कार्यालय बनाउने विषयलाई पनि नकारात्मक तवरले प्रचार गरिँदा चुनावी परिणामममा त्यसले असर पारेको एमालेको प्रारम्भिक विश्लेषण छ। प्रधानमन्त्री ओली भर्खरै चीनको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका छन्।

    भ्रमणका बेला नेपाली परियोजनामा चिनियाँ सहयोग रहने गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर भएको थियो। बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर हुनुलाई एमालेले उपलब्धीका रूपमा चित्रण गरेको छ। यी विषयमा आज सचिवालय बैठकमा छलफल हुने एमालेले जनाएको छ।

  • एनपीएलमा आज दुई खेल

    एनपीएलमा आज दुई खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ।

    कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौं थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।

  • बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारका अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए ।


    सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो । अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।

    निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको छ । उनी निजामती सेवामा रहँदा कुटनीतिक राहदानी र विशेष राहदानी लिएका थिए । त्यसक्रममा भरेको फर्ममा उनले २४ कार्तिक, २०१८ लाई जन्ममिति भनी उल्लेख गरेका थिए । वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।

    निजामती सेवामा सचिवबाट अवकाशपछि सिलवाल १९ माघ, २०७७ मा विमा समितिमा नियुक्त भएका थिए । त्यतिबेला ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार उनको नियुक्ति भएको थियो ।

    मापदण्डमा ६५ वर्ष उमेर पुरा भएको पदाधिकारी स्वतः अवकाश हुने व्यवस्था थियो । उनले त्यसैलाई स्वीकारेर बीमा समितिको अध्यक्षमा नियुक्त भएको अख्तियारको दाबी छ । बिमा समिति अहिले प्राधिकरणमा रुपान्तरण भएको छ । समितिका अध्यक्ष सिलवालले प्राधिकरणको अध्यक्षमा निरन्तरता पाए ।

    १५ साउन, २०८० मा अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको हो । आफैंले स्वीकारेको जन्ममिति परिमार्जन गरेर थप तीन वर्ष पदावधि लम्ब्याउन खोजेको भनी अख्तियारले उनीमाथि प्रश्न उठाएको हो । अनि झुटा विवरणकै आधारमा ३ वर्ष उमेर घटाएर राहदानीको कागजात पेश गरेको आरोप हो ।

    ६५ वर्ष पूरा भएपछिको पदावधिमा कायम रहेको भनी अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त आरोपपत्र दर्ता भएसँगै सिलवाल स्वतः निलम्बनमा परेका छन् ।

  • नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय

    नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो ।

    विश्वका धनी तथा विकसित मुलुकहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा केन्द्रित रही मन्त्री डा. देउवाले उक्त अदालतमा नेपालको धारणा राखेको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

    सो अदालतको सुनुवाइका क्रममा उनले नेपाल दोहोरो मारमा परेको दृष्टान्त पेस गर्दै भनिन्, “जलवायु परिवर्तनका कारकमा नेपालको योगदान अति नगण्य छ तर पनि अहिले हामी जलवायुजन्य सङ्कटसँग जुध्नका लागि आवश्यक स्रोतको अभाव झेलिरहेका छौँ । त्यसैले हामी दोहोरो मारमा परेका छौँ ।”

    नेपालको भौगोलिक अवस्थिति र विकासको स्तरका कारण जलवायु परिवर्तनको प्रतिकूल असर देखिएको मात्र नभई नेपाल उच्च जोखिममा रहेको उनले बताइन् । नेपालका उच्च पहाड र हिमालहरुले प्राकृतिक रुपमा जलवायु सन्तुलन कायम गर्दै आएका तथा यहाँका नदीहरुको स्रोत हिमाल रहेको र यही नदी स्थानीय बासिन्दाको पानीको स्रोत रहेकामा अहिले तिनै हिमाल कालापत्थरमा परिणत भइरहँदा यो नै प्राकृतिक विपत्तिको कारण बनेको उनले बताइन् ।

    इसिमोडको हालैको एक अध्ययनले अहिलेकै अनुपातमा हिउँ पग्लिँदै जाने हो भने हिन्द कुश हिमालय क्षेत्रका हिमनदीहरुले यो शताब्दीको अन्त्यसम्ममा हाल विद्यमान अवस्थाको ८० प्रतिशतसम्म हिउँ गुमाउने देखाएको दृष्टान्त पेस गर्दै मन्त्री डा. राणाले यसका कारण उच्च पहाडी क्षेत्रहरुमा बाढीपहिरोका साथै अन्य पूर्वाधारसम्बन्धी समस्या थप बढ्ने खतरा रहेको बताइन् ।


    उहाँले नेपालको संवेदनशीलतालाई सङ्केत गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ को अक्टोबरमा नेपालको संसदलाई सम्बोधन गर्दै नेपालले जलवायु सङ्कट ज्यादै नराम्रोसँग भोगिरहेको बताएको पनि मन्त्री डा. राणाले स्मरण गराइन् । उनले भनिन्, “हामीले यसै वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको सामना गर्नुपर्यो । नेपालमा भीषण वर्षा भयो र हामीले अकल्पनीय क्षति पनि व्यहोर्नु पर्‍यो । जसका कारण २५० भन्दा बढी मानिसको ज्यान गयो भने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुग्यो ।”

    नेपालले यस वर्ष धेरै मात्रामा जलवायुजन्य विपदहरूको सामना गर्नु परिरहेको, बाढी पहिरोमा परेर ३०० जनाको ज्यान जानुका साथै पिउने पानी, सडक, ऊर्जा, सिँचाइ तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुग्दा देशमा एक अर्ब तीन करोड अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको जानकारी मन्त्री डा. राणाले सो अदालत सामु गराइन् ।


    जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नु परिरहेको यो अवस्था निकै नै अन्यायपूर्ण रहेको उनको तर्क थियो । उनले भनिन्, “यो अवस्था हेर्दा लाग्छ हामीले कहिल्यै नगरेको गल्तीको सजायँ भोग्दैछौँ, हामीले कहिल्यै नगरेको अपराधमा हामीलाई दोषी सावित गरिँदैछ ।”

  • सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि

    सिरियामा रासायनिक हतियार प्रयोग गरेको इजरायलको दावि

    काठमाडौं । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो । “बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरम पन्थीहरूका हातमा नपरुन् भनेर हामीले हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्यौँ”, इजरायलले विद्रोहीहरूको कार्यलाई निगरानी गरिरहेको भन्दै पत्रकार सम्मेलनमा सारले भने, “हामीले गरेका कदमहरू, हाम्रो एकमात्र सरोकार इजरायलको सुरक्षा र त्यहाँका नागरिकहरूको हो।”

    इजरायली मिडियाले शुक्रबार सेनाले सिरियामा रासायनिक हतियारको भण्डारमा आक्रमण गरेको रिपोर्ट गरेको छ । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सोमबार इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा फैलिएको धेरै स्थानमा रातभर आक्रमण गरेको बताएको छ । “पूर्व शासनको पतनको घोषणा भएको प्रारम्भिक घन्टादेखि नै इजरायलले जानाजानी हतियार र गोला बारुद भण्डारहरू नष्ट गर्दै सघन हवाई आक्रमण गर्न थाल्यो”, अब्जर्भेटरीले भन्यो।

    सोमबार एएफपीका तस्बिरहरूले दमास्कसको बाहिरी भागमा रहेको माजेह सैन्य विमानस्थलमा क्षति देखायो, जसमा नष्ट हेलिकप्टर र जेटहरू थिए । त्यहाँ इजरायली सेनाले नजिकैको हतियार भण्डारहरूमा आक्रमण गरेको थियो । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि इजरायलले मुख्यतया सेना र इरान समर्थित समूहहरूलाई लक्षित गर्दै देशमा सयौँ आक्रमण गरेको छ ।

    इजरायलले सिरियामा व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्छ तर बारम्बार इरानलाई देशमा आफ्नो उपस्थिति विस्तार गर्न नदिने बताएको छ । इजरायलले शनिबार सिरियाको सिमानामा रहेको गोलान हाइट्स क्षेत्रको असैन्यीकृत बफर जोनमा पनि सेना पठाएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले ‘कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा आफूलाई स्थापित गर्न दिने छैन’ भने । मन्त्री सारले सोमबार बफरको अधिग्रहण ‘सुरक्षा कारणका लागि हामीले लिएको सीमित र अस्थायी कदम’ भएको बताए । रासस\एएफपी

  • जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

    झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए। त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्धार गरिएको थियो।

    उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी र सोही आधारमा शिवाकोटीलाई पक्राउ गरिएको प्रहरी भनाइ छ।
    बालिकाकी आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएको बताउँदै प्रहरीले जनाए अनुसार बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए। तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए।

  • अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा

    अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने घोषणा गरेका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताए । ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दैछन् । आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई उद्धृत गर्दै लेखेको छ।

    अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाउने तर कुनै पनि कागजात नभई अमेरिका पुर्‍याइएका आप्रवासीहरूबारे भने डेमोक्र्याटसँग मिलेर काम गर्ने ट्रम्पले बताएका छन्। अमेरिकी संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मिने सबै अमेरिकी नागरिक हुने भनेको छ। यस्तो नीतिले संसारका अरू देशका मानिसहरू अमेरिका गएर बच्चा जन्माउने प्रवृत्तिलाई रोक्ने बताइएको छ।

    अमेरिकाको आप्रवासी नीतिका सम्बन्धमा बाइडेन र डेमोक्र्याटभन्दा ट्रम्प र रिपब्लिकनहरू कडा मानिन्छन् । ट्रम्पले आफूले जिम्मेवारी सम्हाल्नेबित्तिकै आप्रवासन, ऊर्जा र अर्थतन्त्र लगायतका विषयहरुमा नयाँ घोषणा हुने बताएका छन्।

    उनले सबैभन्दा पहिले गर्ने कामको पनि उद्घोष गरेका छन्। बिबिसीले एनबिसीको अन्तर्वार्तालाई उद्धृत गर्दै लेखेको समाचारमा ट्रम्पले सन् २०२० मा अमेरिकी संसद भवनमा आक्रमण गर्नेहरूलाई माफी दिने विषयमा निर्णय हुने भनेका छन्। ‘तिनीहरू नारकीय जीवन बाँचिरहेका छन्, पहिलो दिन नै त्यसमा निर्णय हुन्छ, ’उनले भने। ट्रम्पले युक्रेनलाई दिने सहायता पनि घट्न सक्ने बताए ।

  • नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्

    नेपाली सेनाले भन्यो : सिरियामा खटिएका शान्ति सैनिक सुरक्षित छन्

    काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन् । विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो ।

    यो घटनाक्रम हुँदा नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा पनि हतियारधारी समूह जबरजस्ती प्रवेश गरेका थिए । यसपछि उत्पन्न परिस्थितिबारे जानकारी दिँदै सैनिक प्रवक्ता गौरवकुमार केसीले भनेका छन्, ‘उक्त सुरक्षा पोष्ट लगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसन अन्तरगत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ ।’

  • अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट

    अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्रीबीच भेट

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका छन् ।

    अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेको मन्त्रालयले जनाएको छ । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए ।

  • गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन

    गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन

    काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो ।


    ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि सकिएका खाद्यान्न बिक्री, खाद्य वस्तु तार्न एउटै तेल बारम्बार प्रयोग, मसी भएको कागजमा प्याकिङ, अखाद्य रङ प्रयोग र सरसफाइ कमीजस्ता समस्या देखिने गरेको थियो । यसैलाई मध्यनजर गरी हामीले अनुगमन गरेका हौं,’ विभाग प्रवक्ता मोहनकृष्ण महर्जनले भने । प्रवक्ता महर्जनका अनुसार १७ भदौदेखि पुनः सञ्चालनमा रहेको ‘मोबाइल फुड ल्याब भ्यान’ ले पहिलो पटक सांस्कृतिक मेला, महोत्सव निरीक्षण अनुमगन सुरुवात गरेको हो ।

    शुक्रबार र शनिबार मोबाइल फुड ल्याब भ्यानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय पर्साको संयुक्त टोलीले अनुगमन गरेको थियो । शनिबार रातिसमेत बिक्री स्थल अनुगमन गरेको थियो । अनुमगनका बेला दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्यान्डी, लड्डु, जेरी, चप, पानीपुरी तथा तेल लगायत १ सय ३८ नमुना स्थलगत प्रयोगशाला परीक्षण भएको थियो ।

    परीक्षणमा कैफियत पाइएका तेल, रंगिन मिठाई र कटन क्यान्डी नष्ट गरी कारबाही गरेको विभागले जनाएको छ । मेला सञ्चालन अवधिभरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साबाट नियमित अनुगमन हुने व्यवस्था समेत मिलाएको छ ।

  • राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति

    राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति

    काठमाडौं । राजस्व छली रोक्न सरकारका तीन विभागले सहकार्य गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तरविभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजस्व चुहावट जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा तिनको कार्यान्वयनका लागि एकापसमा सूचना आदान–प्रदान गर्ने निर्णय गरेको छ ।

    राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचना एकापसमा अन्तरआबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने सहमति पनि तीन विभागबीच भएको छ ।

    राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ । तीनवटै विभागबाट सूचनाका आधारमा प्रदर्शनीय प्रभाव पर्ने गरी संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ । शंकास्पद कारोबार र अनधिकृत गोदामको विशेष निगरानी गरिने भएको छ । कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृत्ति रोक्न अन्तरनिकाय सूचना आदान–प्रदान गर्ने र शंकास्पद कारोबार निगरानी तथा अनुगमन गरी कारबाही दायरामा ल्याउने निर्णय समेत गरिएको छ ।

    राजस्व चुहावटका नयाँ प्रवृत्ति पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने निर्णय गरिएको छ ।

    सामान्य तथा आर्थिक रूपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छानबिन गरी कारबाही दायरामा ल्याउने निर्णय पनि भएको छ । त्यस्तै फर्म तथा कम्पनीको फेक (नक्कली) दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने निर्णय समेत तीन विभागले गरेका छन् ।

    बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक स्रोतविना बिलबिजक मात्र खरिद–बिक्री गर्ने प्रवृत्ति देखिएको हुँदा यस्तो प्रवृत्ति निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय समेत गरिएको छ ।

    त्यसैगरी खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न तथा कर छलीका कार्य निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ननफाइलर तथा बक्यौता कायम रहेका करदाताको आयात–निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउने निर्णय भएको छ ।

  • नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

    काठमाडौं । नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन्। आइतबार बिहान किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका हुन्।
    आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

    घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको थियो। चन्दीमायाका श्रीमान रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन्। प्रहरीले शव जिल्ला अस्पताल त्रिशुलीमा पठाएको छ।

  • शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति

    शरण लिन मस्को पुगे सिरियाली राष्ट्रपति

    काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूका अनुसार बसर अल असद परिवारसहित मस्को गएका हुन् । सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ। विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

    असद चढेको विमान दुर्घटनामा परेको हल्ला पनि चलेको थियोे । सिरियाली सत्ता ढलेसँगै राजधानीसहितका शहरमा खुसीयाली मनाइएका खबर सार्वजनिक भएका छन् ।

  • हिमाली भेगमा हिमपात सुरु

    हिमाली भेगमा हिमपात सुरु

    काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    राष्ट्रिय समाचार समिति (रासस) ले आज बिहानसम्म हुम्ला सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा पनि एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहरालाई उद्धृत गर्दै राससले जनाएको छ । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

    यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हिमपातले बालीनाली र फलफूल सप्रिने किसानहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरे भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना छ।

  • रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो

    रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो

    काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

    लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन,१३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप ४ दिन म्याद थप गरिएको हो ।

  • प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

    प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे ।

    ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ इंगित गर्दै देश चलाउन सहकारी ठगेजस्तो सहज नहुने पनि बताए ।

    ‘सहकारी ठगेजस्तो हुँदैन, देश चलाउन । अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउन,’ प्रधानमन्त्री ओलीले भनेका छन् । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् । रास्वपा कार्यकर्ताले प्रधानमन्त्रीलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाएका थिए ।

  • एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
    उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए ।

    एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

    कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाएँ’ उनले भने ।

  • अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी

    अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आजै काठमाडौं आएका लु अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।

    नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने बताए ।

    ‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं’, उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ ।’ नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद समेत दिए ।

    ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथै टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो’,’ प्रचण्डले भने, ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’

    अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताए । नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले हालै उनी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने बताए ।

    अमेरिकी सहायक मन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए । नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।

  • अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?

    अमेरिकी सहायक विदेशमन्त्री र देउवाबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    नेपाल भ्रमणका क्रममा आजै नेपाल आएका विदेशमन्त्री लुले शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ ।