Category: समाचार

  • सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे

    सिरियामा विद्रोहीको कब्जा, राष्ट्रपति भागे

    काठमाडौं । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन्। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन्।

    असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट छैन। सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरेका छन्।


    सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ। विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई पूर्ण रूपबाट स्वतन्त्र पारेको बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।

    विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो। सिरियाका विपक्षी नेता हदि अल(बहराले अरबीक समाचार संस्था अल(अरबीयालाई असदको शासन ढलेको र सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको बताएका छन्।

    सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्। हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ, उनले एक्समा लेखेका छन्। त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।

  • दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने

    दक्षिण कोरियाली राष्ट्रपतिलाई तत्काल महाअभियोग नलाग्ने

    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।

    उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा भएको मतदानमा राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पिपिपी)का तीन जना संसद् सदस्यबाहेक अन्यले मतदान बहिष्कार गरेपछि प्रस्ताव विफल भएको हो ।


    प्रस्ताव पारित हुनका विपक्षी दलका १९२ सदस्यबाहेक अन्य (सत्तारूढ दलका) आठ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो तर प्रस्तावको पक्षमा तीन सांसदले मात्रै मतदान गरेका बताइएको छ । ‘सैन्य कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति योललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए ।

    सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेता समेतलाई पक्रन आदेश दिएको बताइएको छ । तर महाभियोग प्रस्ताव पारित हुन आवश्यक संख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन् । उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन् । त्यसअघि यूनले ‘सैन्यकानुन’ लागु गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका थिए ।

    मंगलबार राति राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि विपक्षी दल (डेमोक्रेयाटिक पार्टी) ले संसद्‌मा उनीविरूद्ध महाभियोगको प्रस्ताव पेश गरेका थिए । मतदान हुनुभन्दा पहिले राष्ट्रपति यूनले टेलिभिजन मार्फत् छोटो सम्बोधन गर्दै माफी मागेका थिए । ‘म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन् ।

    मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टील यो संकट समाधानका लागि महाभियोग भन्दा पनि ’सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ ।

  • सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही

    सिरियामा राजधानी कब्जा गर्न अगाडी बढे विद्रोही

    काठमाडौं । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ । विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेको हल्लासमेत चलेको थियो । तर असदको कार्यालयले त्यसलाई खण्डन गरेको छ ।

    बीबीसीको सहयोगी सीबीएसका अनुसार राजधानी दमस्कि अब विद्रोहीको अधिनमा रहेको एक उपनगर जस्तो बन्ने देखिएको छ । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने जनाएका छन् । यसैबीच इजरायलले सिरियाले विद्रोहीहरुको आक्रमण विफल बनाउन सैन्य सहयोग गरेको जनाएको छ ।

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिरियामा विद्रोहीहरुबाट भइरहेको पछिल्लो आक्रमणमा आफूहरुको कुनै सरोकार नभएको बताएका छन् । उनले भनेका छन्, ‘सिरिया हाम्रो साथी होइन, यो एक झन्झट हो । अमेरिकाका लागि यसमा कुनै सरोकार हुनुहुँदैन ।’ यसमा उनको थप टिप्पणी छ, ‘यो हाम्रो लडाइँ होइन । यसलाई आफैं सुल्झिन दिनुपर्छ । यसमा संलग्न नहोऔं ।’ उनले सामाजिक सन्जाल एक्समा सिरियाका विपक्षी लडाकुहरुले एक अभूतपूर्व कदम चाल्दै धेरै शहरहरु पूर्णरुपमा कब्जा गरिसकेको लेखेका छन् ।

    युक्रेनसँगको लडाइँमा रुस नराम्रोसँग फसेको र आफ्ना ६ लाख भन्दा धेरै सैनिक गुमाएको जनाउँदै ट्रम्पले अब सिरियाले पनि आक्रमण पूर्णरुपमा रोक्न असमर्थ जस्तो देखिएको उल्लेख गरेका छन् । सिरियालाई रुसले वर्षौंदेखि समर्थन गर्दै आएको छ । सिरियामा सन् २०११ मा राष्ट्रपति असदविरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह अहिले गृहयुद्धमा परिणत भएको छ । हालसम्मको लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

  • मन्त्री दाहाल मनिला प्रस्थान

    मन्त्री दाहाल मनिला प्रस्थान

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायात सम्वन्धि १६ औं उच्च स्तरीय एशियाली क्षेत्रीय सम्मेलन’मा सहभागीताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । उनि शनिबार (आज) राती ९ बजे त्यस तर्फ लागेका हुन् ।


    दिगो विकासको लक्ष्यका लागि सहरी गतिशिलता, कार्वन उत्सर्जननमा न्युनिकरण एवम् पर्यावरणमैत्री सहरहरुको विकास र सशक्तिकरण लगायतका सम्वन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाईएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधीहरुले आआफ्नो देशमा भई रहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरुका बारेमा धारणा राख्ने र विभिन्न शत्रहरुमा सम्वन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुती एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

    सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषण सम्वन्धि लक्ष्यमा केन्द्रित रहने शत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उहाँका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी छन् ।


    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी छन् ।

    कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरुको आयोजनामा हुन लागेको हो ।


    मंशिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कने छ । मन्त्री दाहाललाई मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतले विमानस्थलको विशिष्ट कक्षबाट बिदाई गरे ।

  • विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो । जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश कीर्तनले सर्वाधिक ४० रन बनाए । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन् सकेनन् ।

    बलिङमा कर्णालीका नन्दन यादवले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

    कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले । विलियमले सर्वाधिक ६६ रन बनाए । उनले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए ।


    उनले १७ रन खर्चिए । वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिए । कर्णालीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको विराटनगरले तेस्रो हार खेपेको छ ।

  • राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए ।

    प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो । उनलाई भेट्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए । राष्ट्रपति पौडेल १६ वर्षदेखि प्रोस्टेटको समस्याबाट पीडित छन् ।

  • पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा

    पत्रकार महासंघ निर्वाचनमा कांग्रेसमा विद्रोह, असन्तुष्ट समूह माओवादीसँग गठबन्धनमा

    काठमाडौं । नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेको छ । महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका हुन् ।

    कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ । यसमा असन्तुष्टि जनाउँदै प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । विष्टलाई माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सहयोग गर्ने गरी चुनावी गठबन्धन बनेको हो । प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका थिए ।

    गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी सहितका विपक्षी दलहरूले कांग्रेसको बिद्रोहीसँग चुनावी गठबन्धन गरेको हो । यो गठबन्धनले पत्रकार सम्मेलन गर्दै गरेर आफूहरूको प्रतिवद्धता समेत सार्वजनिक गरेको छ । जसमा नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ । ‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउने छौं’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।
    यो गठबन्धनबाट अध्यक्षमा रमेश विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने रहेका छन् । खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाती सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी रहेका छन् ।

    खुला केन्द्रीय सदस्यमा केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन र रामकुमार श्रेष्ठ उम्मेदवार छन् । महिला सदस्यमा आदीवासी, जनजातीतर्फ सरु राना, मधेसीतर्फ मिनाकुमारी यादव, खस आर्यतर्फ दिया चन्द रहेका छन् । दलित केन्द्रीय सदस्यतर्फ लक्ष्मण दर्नाल उम्मेदवार छन् । आदीवासी जनजातीतर्फ अर्जुन बहादुर तामाङ उम्मेदवार छन् ।

    मधेसीतर्फबाट चन्द्रदेव कामती, महिलातर्फ ललिताकुमारी साह, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अलि रहेका छन् । लेखा समिति संयोजकमा ध्रुव रावल र लेखा समिति सदस्यमा गणेश प्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन् । प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट उम्मेदवार छन् ।

  • हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै

    हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिए ।

    पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणका लागि कानुनी प्रक्रिया अघि बढेको बताए ।


    मन्त्री पाण्डेले यो आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबिच सहकार्य गर्न सके हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ‘दिगो भविष्य स् आगामी ८० वर्षको लागि सँगै’ भन्ने नारा तय गरिएको छ ।

  • एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

    एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित निकाल्दै लुम्बिनी लायन्सले भने लगातार तेस्रो खेल गुमाएको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

    सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

    ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकीय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।

    म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए । कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले ११ विकेट लिए ।

  • कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी

    कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी

    काठमाडौं । सैनिक शासन (मार्शल कानुन) लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाली जनतासँग माफी मागेका हुन् । उनले मार्शल कानुन लागू गरेको २ घण्टामै संसद त्यसलाई खारेज गर्ने प्रस्ताव दर्ता भएको थियो ।

    उनले त्यसलाई स्वीकार गर्दै मार्शल कानुन खारेज गर्दै सेनालाई फिर्ता गरेका थिए । ‘यो प्रक्रियामा मैले नागरिकहरूलाई धेरै असुविधा दिएँ र डराउनुभयो होला,’ असफल प्रयासपछि उनले भनेका छन्, ‘यसको बारेमा दुस्ख व्यक्त गर्दै भित्री ह्रदयदेखि माफी माग्छु ।’

    माफी माग्दै उनले यसपछिका दिनमा आफूले यो कानुन लागू नगर्ने वाचा पनि गरेका छन् । उनले भनेका छन्, ‘म यहाँहरूलाई आश्वस्थ पार्न चाहन्छु, यो कानुन दोस्रो पटक लगाउने छैन ।’ राष्ट्रपति योलले आफ्नो कार्यकालमा भएका घटनाको जिम्मेवारी आफू र पार्टीले लिएर अघि बढ्नेसमेत बताएका छन् ।

  • भुटानी राजाको काठमाडौंमा धार्मिक यात्रा

    भुटानी राजाको काठमाडौंमा धार्मिक यात्रा

    काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी सिधै स्वयम्भू पुगेका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ पुगेका थिए ।

    उनलाई स्थानीय जनताले स्वागत गरेका थिए । त्यहाँ पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किए । त्यहाँबाट उनी स्वदेश फर्किएका छन् । उनी विमानस्थलबाट करिब २ः४० बजे फिर्ता भएका हुन् । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको थियो । उनी भारत हुँदै नेपाल आएका हुन् । नेपालमा रहँदा उनले राजनीतिक भेटघाट भने गरेनन् ।

  • पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

    पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

    काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनमा अलगअलग प्यानल बनेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । उनी चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी छन् ।

    चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको छ । महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

    प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी गरेको छ ।
    सत्तारुढ दल निकट युनिनयन र चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनेको छ । यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ । गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ ।

    यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ । महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार छन् । कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।

  • दशौं राष्ट्रिय खेलकुदको मिति तय

    दशौं राष्ट्रिय खेलकुदको मिति तय

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य(सचिव टंकलाल घिसिङले जानकारी दिए ।

    यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

  • परराष्ट्र मन्त्री राणा यूरोप जाँदै

    परराष्ट्र मन्त्री राणा यूरोप जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप प्रस्थान गर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्व गर्न उनी युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् ।

    डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार यो सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म हेग, नेदरल्याण्ड्समा भइरहेको छ। आईसीजेको कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जानेछिन् ।

    डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा आयोजित उक्त कार्यक्रममा सहभागी जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी जर्मन जान लागेकी हुन् । भ्रमणको क्रममा उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी, युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

    उनको टोलीमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू रहनेछन् । मन्त्री राणा डिसेम्बर २० (पुस ५ गते) स्वदेश फर्कनेछिन् ।

  • आज विवाह पञ्चमी, धनकपुरमा धुमधामसहित मनाइदैं

    आज विवाह पञ्चमी, धनकपुरमा धुमधामसहित मनाइदैं

    काठमाडौं । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ । मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो।

    त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ । आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्कन्छ । यी डोलाहरू जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुगेर मिलन भएपछि डोलाफेर गरी स्वयम्बर गरिन्छ ।

    राम मन्दिरका महन्थ रामगिरी भगवान रामका पिता राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव राजा जनकको भूमिकामा छोरी पक्षको प्रतिनिधित्व गर्छन् । स्वयम्बरपश्चात दुवै डोलाले नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गर्छन् । साँझदेखि वैदिक परम्पराअनुसार राम र जानकीको विवाह विधि सुरु हुन्छ। मैथिली परम्पराअनुसार रातभर विशेष विवाह विधि सम्पन्न गरिन्छ ।

    राम र जानकीको डोला अवलोकन गर्न र स्वयम्बर तथा विवाह समारोह हेर्न जनकपुरधाममा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । यसपटक अयोध्याबाट आएका साधुसन्तहरूको जन्तीले महोत्सवलाई थप रौनक बनाएको छ। श्रद्धालुहरूको आगमन जारी छ । सप्ताहव्यापी महोत्सवअन्तर्गत हिजो पाँचौँ दिन जानकीको मटकोर सम्पन्न भएको थियो। यसअघि महोत्सवका पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

    आज रामसीताको विवाहपछि भोलि रामकलेवा कार्यक्रमसँगै महोत्सव विधिवत रूपमा समापन हुनेछ। रामकलेवामा जन्तीलाई मिथिलाको ५६ व्यञ्ज भोजन खुवाएर दक्षिणा दिएर बिदा गरिन्छ । विवाहपञ्चमी महोत्सवमा स्थानीय कला र संस्कृतिको झल्को दिने विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। बालबालिकाले राम, सीता, र लक्ष्मण बनेर नाटक प्रदर्शन गर्छन् भने नाचगान, भजन–कीर्तन, झाँकी, र पूजाआजा गरिन्छ । यसैबीच, विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर

    वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । जसमा विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

    विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैंया नै भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले आरोपपत्रमा दावी गरेकै अंक भ्रष्टाचार भएको ठहर भएको हो । विशेष अदालतले कसुरदारहरूबाट दामासाहीले बिगो असुल्ने फैसला गरेको छ ।

    विशेष अदालतले निगमका महाप्रवन्धक कंसाकारलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । विशिष्ट पदमा रहेकाले उनलाई थप ३ महिना कैद हुनेछ । तर जेष्ठ नागरिक भएकाले शुरुमा तोकिएको कैदमध्ये आधा मिनाहा हुनेछ । विशेष अदालतले आरोपितहरूलाई १२ करोड २४ लाख रुपैंयाका दरले जरिवाना सुनाएको छ ।

    विशेषले तत्कालिन पर्यटन सचिव शंकर अधिकारीलाई एक वर्ष छ महिना अनि थप तीन महिना गरी एक वर्ष ९ महिना कैद सजाय तोकेको छ । सहसचिवहरू शिशिर ढुंगाना र बुद्धिसागर लामिछानेलाई डेढ÷डेढ वर्षका दरले कैद सजाय हुने भएको छ । तत्कालिन सहसचिव ढुंगाना पछि सचिव भएर अवकाश पाएका थिए । लामिछाने भने भ्रष्टाचारको आरोप लाग्नुअघिसम्म पर्यटन मन्त्रालयमै कार्यरत थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको थियो ।

    विशेष अदालतले बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गरेको छ । उनी अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो । दोषी ठहर भएका जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान बिक्री प्रक्रियामा जोडिएका तीनवटा कम्पनीसँग आबद्ध छन् । रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई विशेष अदालतले कसुरदार ठहर्‍याएको छ ।

    यो समूहले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक डलर पूँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको छ । १० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।

    अख्तियारले उनीहरूमाथि नेपाल वायुसेवा निगमलाई नोक्सान हुने गरी वाइडबडी विमान खरिद सम्झौता गरेको र त्यसबापत भुक्तानी लिएर भ्रष्टाचारको मतियार बनेको आरोप लगाएको थियो । विशेष अदालतले एस्क्रो अकाउन्ट सञ्चालन गर्ने कम्पनी र तिनका प्रतिनिधि बाहेक विमान खरिदमा जोडिएका सबै कम्पनी र तिनका सञ्चालक एवं प्रतिनिधिलाई दोषी ठहर गरेको छ ।

    निगमसँग सुरूमा ठेक्का सम्झौता गरेको अमेरिकाको एएआर इन्टरनेसन र त्यसका अध्यक्ष एवं सीईओ जोन होल्मेस थियो । त्यसैगरी जर्मनीको जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक आना टोपा, पोर्चुगलको हाइफ्लाई ट्रान्सपोर्ट एरोज र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरीविरुद्ध पनि दोषी ठहर भए ।

    आयरल्याण्डको हाइफ्लाई एक्स, उक्त कम्पनीका निर्देशकहरू गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन पनि कसुरदार ठहर भएका छन् । वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

  • भुटानका राजा -रानी बिहान १० बजे काठमाडौं आउने

    भुटानका राजा -रानी बिहान १० बजे काठमाडौं आउने

    काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ ।

    भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । उनी काठमाडौं आउने सूचना पाएपछि बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सलसमेत गरेको थियो । भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ ।

    त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । काठमाडौंबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । उनको नितान्त निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ ।

  • अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

    अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो ।

    यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ । भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।

    स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन । हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।

  • फ्रान्सका प्रधानमन्त्रीले किन दिए राजिनामा ?

    फ्रान्सका प्रधानमन्त्रीले किन दिए राजिनामा ?

    काठमाडौं । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ ।

    प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयक पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले अविश्वासको प्रस्ताव ल्याएका थिए ।

    प्रस्तावउपर बुधबार संसद्को‌ तल्लो सदन राष्ट्रिय सभामा मतदान भएको थियो । ५ सय ७७ मध्ये ३ सय ३१ सांसद बार्नियरविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका थिए । मतदानपछि सभामुख याएल ब्राउन-पिभेटले बार्नियरले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुपर्ने बताउँदै संसदको सत्र बन्द भएको घोषणा गरेका थिए ।

    फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति म्याक्रोंले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । गत संसदीय चुनावमा सबैभन्दा बढी सिट जितेको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले यसअघि नै बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति म्याक्रोंको निर्णयको आलोचना गरेको थियो । एनएफपीसँगै चरम दक्षिणपन्थी दल नेसनल र्‍याली (आरएन) ले बार्नियरले ल्याएको बजेटलाई अस्वीकार्य भएको बताउँदै आएका छन् ।

    आरएन नेता मारिन ले पेनले बजेट फ्रान्सका लागि विषाक्त भएको बताएकी छन् । संसद्मा‌ मतदान हुनुअघि बार्नियरले आफूलाई पदबाट हटाउँदैमा देशको आर्थिक समस्या समाधान नहुने बताएका थिए । हामी सत्यता, जिम्मेवारीको क्षणमा पुगेका छौं, उनले भनेका थिए, हामीले हाम्रो ऋणको वास्तविकता हेर्नु आवश्यक छ ।

  • चीनमा निर्माणाधिन रेलमार्ग भत्किदा कम्तिमा १३ जना वेपत्ता

    चीनमा निर्माणाधिन रेलमार्ग भत्किदा कम्तिमा १३ जना वेपत्ता

    काठमाडौं । चीनको दक्षिणी सहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । बाओआन जिल्ला विपत् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन-जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।” बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटनासम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

    विपत् व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । उद्धारकार्यका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रुत रेलमार्ग बन्द गरिएको सहरका अधिकारीहरूले बताएका छन् ।

    दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो । कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्यरुपमा लिने गरिएको छ । गत अगस्टमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो ।

    उत्तरी चीनको हेबेई प्रान्तमा गत मार्चमा भएको ग्यास विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । पूर्वी सहर नानजिङमा गत फेब्रुअरीमा एक आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो । रासस-एएफपी

  • चीनबाट फर्किए प्रधानमन्त्री, विमानस्थलमा के भने ?

    चीनबाट फर्किए प्रधानमन्त्री, विमानस्थलमा के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताए ।

    “भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत विभिन्न परियोजनाहरुको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ”, प्रधानमन्त्री ओलीले भने, “हरेक परियोजनाअन्तर्गतपछि छुट्टै छलफल र सम्झौता गर्छौं।”

    बिआरआई सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ। बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको थियो। उक्त समझदारीमा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

    नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन्। त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी ‘प्रोटोकल’मा समझदारी भएको जनाइएको छ।

    विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ भने स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायत क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

  • इलाका प्रशासन र विदेशी नियोगमा सूचारु भयो राहदानी सेवा

    इलाका प्रशासन र विदेशी नियोगमा सूचारु भयो राहदानी सेवा

    काठमाडौं । राहदानी विभागले २२ जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ ।


    अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनाएको छ । सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन सकेको छैन ।

    ‘हालसम्म जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

    यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ । सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ ।

    विद्युतीय राहदानी प्रणालीमाथि साइबर हमला भएपछि ५ मंसिरदेखि १० मंसिरम्म विभागको सेवा ठप्प भएको थियो । त्यसपछि विभागको कार्यालयबाट द्रुत सेवामा मात्रै राहदानी दिने सुविधा दिइएकोमा विभागले क्रमशः जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा सेवा पुनः सुरु गर्दै लगेको छ ।
    अझै दर्जनौं कार्यालयहरू मा राहदानी सेवा कहिले सुरु हुन्छ भन्ने अनिश्चित छ ।

  • जाजरकोटमा जीप दुर्घटना : दुई जनाको मृत्यु

    जाजरकोटमा जीप दुर्घटना : दुई जनाको मृत्यु

    काठमाडौं । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो।

    उनीहरुलाई उपचारका लागि अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिएका छन् ।

    दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए।

  • आज स्वदेश फर्किदैं प्रधानमन्त्री

    आज स्वदेश फर्किदैं प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

    त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका छन् । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ । विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत दिएका थिए ।

  • धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?

    धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने धम्की दिएका छन् । दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए ।

    त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । यसबारे उनले आज १० बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन् । सोही समाचारका आधारमा हर्कले सामाजिक सन्जाल फेसबुकमा बुधबार स्टाटस लेखेका हुन् ।

    हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’ फेरि अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् । दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

  • दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अगाडी बढाइयो

    दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अगाडी बढाइयो

    काठमाडौं । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए ।
    राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय सभा ९संसद्‌० मा प्रवेश गरे र उनको निर्णय रोक्न मतदान गरेका थिए ।

    केही सांसदले भवनमा प्रवेश गर्न सुरक्षाकर्मीका अवरोध तोडेका बताएका थिए । एक सांसदले आफू पर्खालमा चढेर संसद् भवनमा पसेको र त्यसका लागि प्रदर्शनकारीहरूले मद्दत गरेको बताएका थिए । संसद्मा‌ उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गरेका थिए ।

    तर बुधबार सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेका हुन् । राष्ट्रपति युनले दक्षिण कोरियालाई ‘उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको’ दाबी गरेका थिए । उनले उत्तर कोरियालाई उद्धृत गरे पनि राष्ट्रपति युनको निर्णयलाई घरेलु दबाब र घोटालाहरूको श्रृंखलाको प्रतिक्रियाको रूपमा हेरिएको छ ।

    सांसदहरूले अब आगामी दिनहरूमा राष्ट्रपतिविरुद्धको महाभियोगमा मतदान गर्नेछन् । संसद्को‌ दुई तिहाई बहुमतबाट महाभियोग अनुमोदन भएको खण्डमा युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि उनीविरुद्धको महाभियोग पारित भयो भने त्यसको ६० दिनभित्र नयाँ निर्वाचन हुन्छ ।

  • रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी

    रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतर्ला उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।


    यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

    यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ । त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।

    लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

    अहिले उनीमाथि चितवनमा बयान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं हुँदै अहिले चितवन लगिएको हो । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ ।

  • अमेरिकाले विद्यार्थी भिसा आवेदन अप्रिलबाट खोल्दै

    अमेरिकाले विद्यार्थी भिसा आवेदन अप्रिलबाट खोल्दै

    काठमाडौं । अमेरिकामा अध्ययन गर्न चाहेन नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्‍ने भएको छ । अमेरिकी दूतावास काठमाडौंले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो । दूतावासले सामाजिक सञ्‍जालमार्फत सूचना जारी गर्दै आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

    सूचना अनुसार अप्रिल महिना २०२५ का आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ जनाइएको छ । यस्तै जुन २०२५ का आवेदन १७ अप्रिल बिहान ८ बजे खुल्नेछ भने जुलाई २०२५ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावाले सूचनामा उल्लेख गरेको छ ।

  • तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी

    तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी

    काठमाडैं । सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार तालिका तय गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको थियो ।

    बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो । दुइटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डर मर्मतसम्भार आगामी पुस १० भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो ।

    यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलान भत्काएर मर्मत गरिने छ । यसैगरी कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराको ‘ग्राउटिङ’ गर्ने काम समानान्तर अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

    दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ ।
    यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

    आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।

    टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्र विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

    हिउँद याममा विद्युतगृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युतगृह सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपाय तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

    कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिए देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे ।

    ‘आगामी मार्चसम्म दिउँसो र रातिमात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँद यामको साँझ र बिहान ९पिक समय० को विद्युत् माग धान्न गाह्रो छ,’ घिसिङले भने, ‘मार्च र अप्रिलमा रातिसमेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ ।’ उनका अनुसार दायाँतर्फको डिस्यान्डर मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाउनुपर्छ ।

    ‘त्यसो गर्न सकिएन भने उत्पादन गर्न नसकी वर्षायाममा विद्युत् खेर फाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत सम्भारमा लागौं,’ उनले भने । अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाब उच्च भएपछि ११ असोज साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।

    बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो, जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सीईओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपाय अवलम्बन गरी तय गरेको तालिका बमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए ।

  • दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

    दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

    काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले देशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्न भन्दै मङ्गलवार राति सङ्कटकालीन मार्शल ल घोषणा गरेका थिए । त्यसलगत्तै संसद् भवनमा भेला भएका सत्तारूढ र विपक्षी दलका सांसदहरूले मतदानमार्फत् राष्ट्रपतिको उक्त कदमलाई रोक्ने निर्णय गरेका छन्।

    संसद्‌बाहिर राष्ट्रपतिको घोषणाविरुद्ध प्रदर्शन भइरहेको छ। दक्षिण कोरियाको राष्ट्रिय प्रसारक संस्थाका अनुसार संसद्ले मार्शल लको विपक्षमा उभिएको भए पनि दक्षिण कोरियाली सेनाले राष्ट्रपतिले फिर्ता नगरेसम्म उक्त कानुन लागु हुने जनाएको छ।


    मार्शल ल लागु हुनु भनेको सैन्य अधिकारीहरूले सङ्कटकालमा शासन गर्नु हो र यस अवधिमा सामान्य नागरिक अधिकारहरू निलम्बित पनि हुन सक्छन्।
    यउलको पीपल पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच अर्को वर्षको बजेटको विषयमा विवाद चुलिएको बेला राष्ट्रपतिले यो अप्रत्याशित कदम उठाएका हुन्। राति टेलिभिजनमार्फत् राष्ट्रपतिले घोषणा गरेपछि संसद् जाने द्वारहरू बन्द गरिएका थिए।

    प्रहरीले गरेको अवरोधका बीच सयौँ प्रदर्शनकारीहरू बाहिर भेला भएर मार्शल ल चाहिँदैन र तानाशाही हटाऊ को नारा लगाए। संसद् भवनभित्र भेला भएका १९० सांसदहरूले एकमतले राष्ट्रपतिको घोषणा गरेको कानुनविरुद्ध एकमतले निर्णय गरे। त्यसअघि सत्तारूढ र विपक्षी दुवै पार्टीले उक्त घोषणाको विरोध गर्दै त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको समाचारसंस्था योन्हापले जनाएको थियो।

    विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे(म्युङले उक्त घोषणालाई “असंवैधानिक” सङ्ज्ञा दिए। राष्ट्रपति यउल सदस्य रहेको सत्तारूढ दलका प्रमुख हान डोङ(हुनले पनि उक्त घोषणालाई “गलत” भने। ‘मार्शल ल’ भनेको सङ्कटका बेला गरिने सैन्य अधिकारीहरूको शासन हो र यसको अर्थ सामान्य नागरिक अधिकारहरू निलम्बन हुन सक्ने अर्थ लाग्छ। योन्हापका अनुसार ‘मार्शल ल’ उल्लङ्घन गर्नेलाई पक्राउ पुर्जी बिना पक्राउ गर्न सकिन्छ।

    त्यसबाहेक सञ्चारमाध्यम र प्रकाशकहरू पनि ‘मार्शल ल’कै नियन्त्रणमा आउँछन् भने संसदीय गतिविधिमा पनि रोक लाग्छ। प्रशिक्षार्थी चिकित्सकहरू सहितका चिकित्सासम्बन्धी कर्मचारीलाई ४८ घण्टाभित्र काममा फर्कन निर्देशन दिइएको छ। केम्ब्रिज विश्वविद्यालयका सहायक प्राध्यापक जोन निल्शन–राइटले सोलबाट बीबीसीसँग कुरा गर्ने क्रममा दक्षिण कोरियाली राजधानीको स्थितिको झलक दिएका छन्। ‘मार्शल ल’ लगाइँदा सामान्यतयास् सर्वसाधारणहरूले गर्न सक्ने कार्यमा प्रतिबन्ध लगाइन्छ।

    तर उनका अनुसार सोलका सडकहरूमा सेनाको कुनै सङ्केत देखिँदैन। उनले कुरा गरेका एकजना प्रहरी पनि “आफूजत्तिकै अनभिज्ञ थिए।” “सडक सामान्य देखिन्छ, मानिसहरू निश्चय नै विस्मित भएका छन्,” उनले भने। अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दक्षिण कोरियाली सरकारसँग सम्पर्कमा रहेको र “स्थितिलाई नजिकबाट नियालिरहेको” एकजना राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग बताएका छन्। यद्यपि यसबारे अमेरिकी राष्ट्रपतिको टिप्पणी आइसकेको छैन।
    बीबीसी