Category: समाचार

  • नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

    नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्।

    उनले भनिन्, ‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौं। त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको छ।’

    नेपालले ती विमानस्थल महङ्गो खर्चमा निर्माण गरेकाले तिनलाई पूर्ण रूपमा कामयवी बनाउनका लागि पनि आफ्ना छिमेकीसँग सहयोगको याचना गरिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सहरूलाई नेपालमा थप उडानका लागि आग्रह गरिन्।

    उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकारले यसका लागि धेरै भन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराइन्। यी विमानस्थलहरूको सञ्चालनमार्फत् दुई देशबीचको पर्यटन प्रवर्द्धन हुने त छँदैछ, अझ त्योभन्दा पनि ठूलो कुरा त दुई देशका जनता जनताबीचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने मन्त्री राणाले बताइन्।


    नेपालले अतिरिक्त हवाई रुट प्राप्त गर्ने र यी दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सक्ने हो भने नेपाल र भारतका पर्यटकीय सम्भावनाहरू थप उजागर हुनुका साथै दक्षिण एसियाकै कनेक्टिभिटीमा पनि थप सहयोग पुग्ने उनको धारणा थियो। नेपाल र भारतका धार्मिक र सांस्कृतिक पर्यटनको अधिक सम्भावनाहरूको चर्चा गर्दै उनले रामायण सर्किट र बुद्ध सर्किट जस्ता संयुक्त पहललाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेर दुवै देशले पर्यटनबाट पारस्परिक लाभ लिनसक्ने र यसका लागि संयक्त सहकार्य आवश्यक पर्ने धारणा राखिन्।

    सो सम्मेलनमा मन्त्री राणाले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गरिन्। भारत नेपालमा सबैभन्दा ठूलो लगानी गर्ने राष्ट्र हो भन्दै उनले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रसस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गरिन्। औपचारिक रूपमा गरिएका आर्थिक सहकार्यबाटै पछिल्लो समय सीमापारका ठूला पूर्वाधार रेल सम्पर्क, पेट्रोलियम पाइपलाइन, विद्युत् प्रसारण लाइन, सडक, मोटर चल्ने पुलहरू लगायतका पूर्वाधार निर्माण भएका उनले बताइन्।

    मन्त्री राणाले पछिल्लो समय सीमापार विद्युत व्यापारमा अभूतपूर्व प्रगति भएको भन्दै यस पहलको सुरूआत सन् २०२२ को अप्रिलमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनीबीच भएको ऐतिहासिक सम्झौताबाट भएको स्मरण पनि गरिन्। सोही सम्झौताको आधारमा १० वर्षभित्र नेपालबाट भारतलाई १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्षको सुरूआत भइसकेको उनले बताइन्।

  • नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी

    नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी

    काठमाडौं । नेपाली नागरिकमा पहिलो पटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । एयरपोर्टबाट उनी सिधै मेडिसिटी अस्पताल पुगेका थिए । त्यहाँबाट टेकु अस्पताल रिफर भएको थियो ।

    टेकुले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखिएको छ । यसअघि गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

    एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ । पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।

    विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने गर्छ ।

    सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।

  • काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं विवादमा तानिएका छन् । उनीमाथि महागरले छानबिन गर्ने भएको छ । आधिकारिक प्रणालीबिनै पुरानो बसपार्कस्थित रहेको काठमाडौं टावरको नक्सापास गरेको भन्दै महानगरले छानबिन प्रक्रिया अघि बढाएको हो ।

    भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (इबीपिएस) मार्फत् प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ । ‘अहिले इबीपिएसमार्फत् बाहेक अन्यन्त्रबाट नक्सा पास नै हुँदैन । तर प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा उक्त प्रणाली बाहिरबाट पनि नक्सा पास भएको देखिन्छ,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने । उनका अनुसार महानगरपालिकाले हस्ताक्षर कसरी भयो ? भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सहित संग्नलहरूलाई छानबिन गरेर निर्णय गर्छ ।

    यस्तो छ महानगरको स्पष्टीकरण

    पुरानो बसपार्कमा टावर बनाउन महानगरपालिकाले २०७१ फागुन २० निर्णय गरेर २२ फागुनमा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र महानगरबीच दुई पक्षीय सम्झौता भएको थियो । त्यसपछि २०७२ साउन २३ मा सूचना प्रकाशित गरेर २०७२ भदौ ६ मा प्लिन्थ लेभलसम्म नक्सा पास भएको र २०७३ साउन ३० जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र काठमाडौंबीच निर्माणको अवधि पाँच वर्षसहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षीय सम्झौता भएको थियो ।

    यस्तै २०७४ वैशाख ८ गते दुवै पक्षबीच मिति २०७३ वैशाख १३ मा महानगरले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सापास गरेकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राविधिक जाँचपश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछिमात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो नगरी डबल बेसमेट प्लिन्थ लेभलभन्दामाथि दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिवेदनमा पेस भएको छ ।

    जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबाट मिति २०८०–७–१ मा नक्सापास म्याद थप तथा नक्सा संशोधन गर्न (भवन निर्माण मापदण्ड २०८० का फार मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ ।

    सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्टसहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली इबीपिएस मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो ।

    सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षबीच भएको सम्झौता विपरीत भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो । इबीपिएस बमोजिम मिति २०८०–११–२२ देखि प्राविधिक कारणले रोकिएको प्रकृया विद्युतीय नक्सा पास प्रणालीमा मिति २०८१-५-३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ ।

    साथै २०८१–६–१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर, अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई, शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ ।

    २०८१–६–१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१–६–१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१–६–२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ । उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन ।

    तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ । यस विषयमा थप छानबिन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ ।

  • अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

    अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् ।
    थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् ।
    सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो ।


    एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।


    परामर्श बैठकबाट आएका सुझावहरुलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्ताबेज तयार पारिनेछ ।

  • दुर्गा प्रसाईंलाई  रिहा गर्न अदालतको आदेश

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

    प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।

    प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

  • भारतमा डुङ्गा दुर्घटना : कम्तीमा १३ जनाको मृत्यु

    भारतमा डुङ्गा दुर्घटना : कम्तीमा १३ जनाको मृत्यु


    काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

    उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् ।

    उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् । मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

  • एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै

    एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

    लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वान मा सुदूरपश्चिम रोएल्ससलाई पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ ।

    लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्याटरले ब्याटिङ गरेमा कर्णालीको ब्याटिङ अज राम्रो बन्नेछ ।

  • एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै

    एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै


    काठमाडौं । मलेसियामा जारी  एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् ।

    नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।

    भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

    समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

    पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

  • कर्णाली याक्स एनपिएल क्वालिफायरमा

    कर्णाली याक्स एनपिएल क्वालिफायरमा


    काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो 
    कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।


    चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
    बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाए ।

    त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

    चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।

  • भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

    भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।

    अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिप बहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।

    चक्कु प्रहारबाट गम्भिर घाईते भएका शाहीलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शव पोष्मार्टमका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ ।

    मृतकका बुबा दिप बहादुर शाहिलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

  • पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा

    पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

    चालु आवको साउनदेखि  असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्च भएको छ ।

    सो अवधिमा प्राधिकरणले रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम रु २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा रु २६ अर्ब ७७ करोड ६६ लाख ५७  हजार रहेको छ ।

    प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट रु ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि रु २१ अर्ब नौ करोड १७ लाख बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी रु १० अर्ब ८८ करोड ८७ बराबरको आम्दानी गरेको छ ।

    नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत रु १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार बराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि रु १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ । त्यस्ते वैदेशिक भुक्तानीतर्फ रु छ अर्ब पाँच करोड ५३ लाख १७ करोड बराबर रहेको छ । 

  • एनपिएल : चितवन कर्णाली बिच खेल जारी

    एनपिएल : चितवन कर्णाली बिच खेल जारी


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा बुधबार (आज) चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा सुरु भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए ।  

    यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ । यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जित्ने टोलीले भने फाइनल पुग्न अर्को खेल खेल्न पाउनेछ । 

    लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाको हो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।

    चितवन आज लिग चरणमा कर्णालीसँग हारेको बदला लिने दाउमा छ । यता कर्णाली लिग चरणको जितलाई कायम राख्दै अगाडि बढ्ने अभियानमा छ । लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो ।

    आजै दिउँसो पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ । 

  • एनपिएल बिजेताले १ करोड १० लाख पाउने

    एनपिएल बिजेताले १ करोड १० लाख पाउने


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।

    क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

    प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो ।

    एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।

  • सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने

    सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने


    काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ ।

    गत २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


    उनका अनुसार सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्नुपर्नेछ ।

    सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्ने । उदाहरणका लागि डस्टबिन पनि स्वदेशी हुनुपर्‍यो,’ गुरुङले भने, ‘हाम्रो टेबलमा राख्ने चिज पनि स्वदेशी हुनुपर्यो । विभिन्न मन्त्रीहरूले लगाउने ड्रेस पनि स्वदेशी हुनुपर्‍यो ।’

  • अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान


    काठमाडौं  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् ।एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको अर्थ मन्त्रालयले जनाएको छ ।


    एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ ।

  • सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर

    सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर


    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको नेपाली संचारमाध्यमले जनाएका छन ।

    कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताएका छन् ।

    ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाए पनि ३७ जना फरार प्रतिवादी छन् ।
    अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

  • कोरियाली रास्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

    कोरियाली रास्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित

    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।

    राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।

    विपक्षीले भने उनलाई पदबाट हटाउनैपर्ने भन्दै महाअभियोग प्रस्ताव ल्याएको थियो । सुरुमा ८ मत नपुग्दा महाअभियोग प्रस्ताव विफल भएको थियो । दोस्रो प्रयासमा शनिबार (आज) फेरि संसदमा महाअभियोगको पक्ष–विपक्षमा मतदान भएको थियो ।

    यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महा अभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले लेखेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएका थिए ।

    संसदका सभामुख वु योन शिकले महाअभियोग प्रस्ताव बहुमतले पास भएको जानकारी गराए । सैनिक शासन घोषणाको ११ दिनपछि राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको हो ।

    राष्ट्रपति योलले ‘राष्ट्रविरोधी शक्तिहरू’ बाट देशको रक्षा गर्न र सामाजिक व्यवस्था कायम राख्न सैनिक शासन लगाउनु परेको तर्क गरेका थिए । ‘राष्ट्रविरोधी शक्तिहरू’ भन्ने शब्दलाई प्रतिपक्ष र अन्य विरोधी समूहहरूसँग जोडेर व्याख्या गरिएको छ ।

    महाभियोग प्रस्ताव पारित भएपछि युनको राष्ट्रपतिको जिम्मेवारी तत्काल निलम्बन गरिएको छ । अब यो प्रस्तावलाई संवैधानिक अदालतले अनुमोदन गर्ने वा खारेज गर्ने भन्ने निर्णय लिनेछ । यस बीचमा, प्रधानमन्त्री हान डक–सु कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहने कोरिया टाइम्सले जनाएको छ ।

  • हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

    हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

    राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरेका छन् ।

    उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भनेका छन्, ‘यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।’

    प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उनको भनाइ छ ।

    विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

    राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।

  • आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा

    आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा


    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

    उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

    किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

    भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।

    उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ । यो पर्वका अवसरमा आज  सार्वजनिक बिदा दिइएको छ ।

  • काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो

    काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो


    काठमाडौं । निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ ।
    आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

    शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो 

    आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ । काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन । केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ । केही दिन यस्तो जाडो कायमै रहने पूर्वानुमान गरिएको मौसमविद् अधिकारीले बताए ।

  • इजरायली आक्रमणमा गाजामा ३८ जनाको मृत्यु

    इजरायली आक्रमणमा गाजामा ३८ जनाको मृत्यु


    काठमाडौँ । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् ।

    गाजा सहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताए । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा घरमा इजरायली हवाई आक्रमणमा १५ प्यालेस्टाइनीहरू मारिएका छन् ।

    प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले अल–नुसेरातको पश्चिममा कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरी एक घरलाई निशाना बनाएका थिए । इजरायली सेनाले यी आक्रमणहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ८३५ पुगेको छ । 

  • जिप दुर्घटनामा तीन जनाको मृत्यु

    जिप दुर्घटनामा तीन जनाको मृत्यु


    काठमाडौं । बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने छन् । गौरी खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । 

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ पुल पार गरिसकेपछि घुमाउरो मोडमा जिप दुर्घटनामा परेको हो ।

  • विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने

    विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने

    काठमाडौँ, मङ्सिर २९ गते । विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार उक्त रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो । 

    नेपालको दिगोपनाका लागि सक्षम वातावरण सुधार गर्ने लक्ष्य राखेका तीन वटा विकास नीति सञ्चालन कार्यक्रमको शृङ्खलामा यो दोस्रो रहेको विश्व बैङ्कले जनाएको छ । नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि विश्व बैङ्कका क्षेत्रीय निर्देशक डेभिड सिक्लेनका अनुसार यो व्यावहारिक शृङ्खला नेपालका लागि थप उत्थानशील र दिगोपन निर्माण गर्न र सबै नेपालीका लागि दीर्घकालीन विकासको आधारलाई चलाउन र संरक्षण गर्न उत्प्रेरक हो । 

    यस सहायता सञ्चालनले हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, र जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रिमलाई समर्थन गर्छ ।

    सन् २०२१ देखि नेपाल सरकारले वातावरणीय दिगोपन, लचिलोपन र समावेशी विकासको क्षेत्रमा कार्यको महत्वाकाङ्क्षी कार्यक्रम तय गरेको छ । यस दृष्टिकोणले बेरोजगारी, महामारी, जोखिममा परेका समूहका लागि आर्थिक अवसरको विस्तार र नेपालको जनता, समृद्धि र वातावरणलाई असर गर्ने जलवायु र अन्य वातावरणीय जोखिमका अन्तक्रियात्मक चुनौतीलाई सम्बोधन गर्न विकास मोडेलको आवश्यकतालाई मान्यता दिने उक्त बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

  • गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

    गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

    काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराएका छन् । परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई शुक्रबार पत्र बुझाउँदै गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाईले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको उल्लेख गरे ।

    अध्यक्ष डा केसीले भने, ‘गैरआवासीय नेपाली नागरिकता जारी भईसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि यस मन्त्रालयबाट समेत सहजीकरण गरिदिनु पर्यो ।’

    जवाफमा का.मु सचिव राईले गैरआवासीय नेपाली नागरिकता जारी हुनुअघि नै त्यसको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण नभएकोले समस्या भएको बताए ।  उनले भने, वास्तवमा संविधानले आर्थिक सामाजिक तथा सांस्कतिक अधिकार दिने भनेको छ तर त्यसको लागि आवश्यक कानून निर्माण नहुदै  नागरिकता जारी भएको छ । त्यसमा पक्कैपनि त्रुटि भएकै हो । अब अहिले बल्ल एनआरएन एक्टको मस्यौदा भएको छ त्यो कानून बनेपछि के कसो गर्ने थप स्पष्ट होला ।’

    भेटमा अध्यक्ष केसीले  पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) लाई पनि सम्बोधन गर्न अनुरोध गरे । उक्त अवसरमा अध्यक्ष केसीले हाल जारी इराकमाथिको प्रतिबन्ध हटाउन पुनरावलोकन गर्न पनि आग्रह गरे ।  उनले भने, ‘इराकको कुर्दिस्तानमा ठूलो संख्यामा नेपालीहरु विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन् ।

    ती नेपालीहरुलाई पासपोर्ट नविकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनको लागि कुवेत स्थित नेपाली दूतावास तोकिएको छ तर कुवेत र कुर्दिस्तानवीच अन्तरिक द्वन्दको कारणले आवत जावत बन्द छ । यसर्थ उक्त सुविधा कतार तथा युएईको नेपाली दुतावासबाट पाउनेगरी व्यवस्था गर्न जरुरी छ ।’

    जवाफमा का.मु सचिव राईले उक्त विषयमा मन्त्रीस्तरीय निर्णय गरी छिट्टै पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा रुसमा बर्षौ देखी विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन एवं नो अब्जेक्सन लेटर समेत तत्काल खारेज गरी उक्त प्रक्रियालाई सहजीकरण गर्न,  चेक रिपब्लिकमा कोभिड–१९ पछि श्रम स्वीकृती नविकरण रोकिएकोले पुनः श्रम स्वीकृती एवं नविकरण कार्यलाई सहजीकरण गरिदिन पनि अध्यक्ष केसीले ध्यानाकर्षण गराए ।

    भेटमा संघको तर्फबाट अध्यक्ष डा केसीले गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्नको लागि पहल गरिदिन,  गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न,संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुदा यथाशिघ्र उक्त धारा परिवर्तन गर्न आवश्यक पहल गरिदिन पनि आग्रह गरे ।

    यस्तै, विदेशमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन तथा नियोग वा दूतावास नभएका तथा नोपलीहरुको बढी घनत्व भएका देशमा गैरआवासीय नेपाली संघको सुझावमा मानार्थ प्रतिनिधि  नियुक्त गर्न,गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला  तर्जुमा गरी तत्काल समाधान गर्न पनि अनुरोध गरे ।

    सो अवसरमा नेपाल सरकार द्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरुलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधा प्रदान गर्न,विदेशका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई पासपोर्ट नविकरणको लागि पासपोर्ट प्रदान गर्ने टोली खटाउनको लागि सहजीकरण गर्न र ब्रिटिश गोर्खा सैनिकको समान हक तथा अधिकार लगायतका विषयहरुलाई कूटनीतिक माध्यमबाट समाधानका लागि पहल गरिदिन समेत आग्रह गरे ।

    यस्तै अध्यक्ष डा केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरु नेपालमा आउँदा आन्तरिक हवाई भाडा विदेशी सरह लिने गरेकोले उक्त असमान व्यवस्थालाई हटाउन समेत अध्यक्ष डा केसीले आग्रह गरे । जवाफमा कामु सचिव राईले क्रमशः सबै समस्याहरु समाधान हुने बताए । उनले सम्बद्ध मन्त्रालयहरुसँग पनि समन्वय गर्ने प्रतिबद्धता जनाए ।

  • खुम्बु क्षेत्रमा उडान नरोक्ने वायुसेवा संचालकको अडान

    खुम्बु क्षेत्रमा उडान नरोक्ने वायुसेवा संचालकको अडान


    काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ ।सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।

    साथै संघले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गरेको छ ।

  • नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

    नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न


    काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरिएको हो ।
    नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।
    कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न म्याग्दीको दानाबाट सुरु भई नयाँ बुटवल सबस्टेसनमा अन्त्य हुने कालीगण्डकी करिडोर र नयाँ बुटवल–नयाँ भरतपुर–हैटौंडासम्मको २२० केभी प्रसारण लाइन लिङ्क बनेको छ ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरबाट पूर्व–पश्चिम विद्युत प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने बताउनुभयो ।
    ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् ढल्केबर हुँदै भारततर्फ निर्यात गर्न र हिउँदयाममा अपुग विद्युत् आयात गरी पश्चिमतर्फ पठाउन सहज हुनेछ, नयाँ बुटवल–गोरखपुर दोस्रो सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत् आयात/निर्यातको थप ढोका खेल्ने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘मुख्य रुपमा कालीगण्डकी तथा मस्र्याङ्दी र ती नदीहरुका सहायक खोलानालाबाट उत्पादित विद्युत् प्रवाहका लागि सहज हुनेछ ।’
    मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सबस्टेसनमा समाहित हुने छ । नयाँ भरतपुरबाट विद्युत्लाई हेडौंडा र नयाँ बुटवलतर्फ पठाउन सकिने छ । भारतसँगको नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ ।

  • २०३४ विश्वकप साउदी अरेबियामा

    २०३४ विश्वकप साउदी अरेबियामा


    काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ ।

    साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ ।
    ९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ । खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बीबीसीले जनाएको छ ।

    त्यसैगरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपम आयोजना गर्नेछन्  । प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?


    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ  ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

  • जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

    प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

    घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    -राससबाट

  • एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

    एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । यसमध्ये १ करोड ५० लाख डलर (२ अर्ब रुपैयाँ) अनुदान र ११ करोड डलर (१४ अर्ब ८८ करोड रुपैयाँ) बराबर ऋण सम्झौता भएको हो । अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका नेपालका लागि देशीय प्रबन्धक अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् ।

    यस आयोजनाबाट किसानले प्रिपेड कार्ड प्रणाली मार्फत उन्नत सिँचाइ प्रविधि प्रयोगबाट आफ्नो खेतको आवश्यकता अनुसार सिँचाइका लागि पहुँच प्राप्त गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजना मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागु हुनेछ । यसबाट १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने भएका छन् । परियोजनाको प्राथमिक उद्देश्य कृषि उत्पादकत्वमा सुधार, वर्षभरि सिँचाइ सुनिश्चित गर्न र खाद्य सुरक्षामा योगदान पुर्‍याउनु रहेको समेत जनाइएको छ ।

    त्यसैगरी परियोजनाले यस क्षेत्रमा भूमिगत सिँचाइ प्रणालीको दीर्घकालीन दिगोपनका लागि डिजाइन, निर्माण र सञ्चालन (डीबीओ) मोडालिटी प्रयोग गर्ने छ र सिँचाइ व्यवस्थापन कम्पनीको समेत स्थापना गर्ने अर्थले जनाएको छ । सीएलआरआरपी कार्यान्वयनका लागि २ करोड २० लाख डलर (करिब २ अर्ब ९७ करोड रुपैयाँ) अनुदान सम्झौता तथा १ करोड डलर (करिब १ अर्ब ३५ करोड रुपैयाँ) ऋण सम्झौतामा समेत बुधबार नै सम्झौता भएको छ ।

    सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र एडीबीका देशीय प्रबन्धक कचोइसले हस्ताक्षर गरे । सीएलआरआरपीले जलवायु परिवर्तन प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायको जलवायु लचिलोपन बढाउन केन्द्रित छ ।