Category: समाचार

  • बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ

    बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ

    काठमाडौं । बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । राजदुत फेन्लेका पत्नी जुलिया फेनलेसँग आफ्नो जिवनको विशेष दिन २२ औं वैवाहिक वर्षगाँठ शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिला परम्पराअनुसार मनाएका हुन् ।

    गत वर्ष जनकपुरधाम भ्रमणका क्रममा यहाँको कला, संस्कृति र ऐतिहासिक महत्वबाट प्रभावित हुनुभएका राजदूत फेनलेले आफ्नो वर्षगाँठलाई यस क्षेत्रको सांस्कृतिसँग जोड्ने निर्णय गर्नुहुँदै वर्षगाँठ मनाएका हुन् । राम–सीताको प्रेमकथालाई सम्झँदै उहाँले जानकी मन्दिरको वातावरणले वैवाहिक सम्बन्धको नवीन अनुभूति दिएको बताए ।

    राजदूत फेनलेले भने, “जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्य हो, सबैले जनकपुरधाम भ्रमण गर्नुपर्छ ।” उनको भनाइले जनकपुरधामको पर्यटन र सांस्कृतिक प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास वैष्णवले राजदूत दम्पतीलाई मिथिलाशैली अनुसारको परम्परागत विवाहविधिमा सम्पन्न गराए । उनले यो अवसरलाई प्रेम र परम्पराको प्रतीक भन्दै जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न सरकारलाई अपिल गरे ।

    कार्यक्रममा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत प्रमुख व्यक्तित्वको उपस्थिति थियो ।

  • यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)

    यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भए ।

    समारोहमा १४ हजार बढी विद्यार्थीहरु दीक्षित भएका त्रिविले जनाएको छ । विभिन्न तह र विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पदकसहित सम्मानित पनि भएका छन् ।

    अब्बल नतिजा ल्याएर पदक पाउनेहरुमा छात्राहरु बढी छन् । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायका एमफील तहका हिरा श्रेष्ठले, इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्लेले पाउने, अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले, मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाएका छन् ।


    सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने, नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाएकी छिन् । डा. मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाएकी छन् । शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले, डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले, इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाए ।

    तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाएकी छन् । उनले खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाएकी छन् । उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी थिइन् । सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले र भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । आकृतिले सत्य माँ स्मृति स्वर्ण पदक पनि पाइन् ।

    लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले, शिवराज पन्त स्मृति पुरस्कार बीइ सिभिलका शाशिष थापाले, छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले र सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाएका छन् ।

  • क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

    क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

    काठमाडौं । क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ। १३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए।

    काठमाडौंकी श्रेष्ठ थरकी ती युवती ९ महिनाअघि मात्रै क्यानडा गएकी थिइन्। दुर्घटनामा मृत्यु भएपछि युवतीकी अभिभावकहरू क्यानडा पुगिसकेको र कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारको तयारी भइरहेको अध्यक्ष दुलालले जानकारी दिए।

  • त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै

    त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० ‍औं दीक्षान्त समारोह शनिबार हुँदैछ। ५० ‍औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाउँदैछ। दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ। समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् ।

    सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम् त्रिवी परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका उनले बताए। स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी)तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् ।


    समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिनेछ।

    त्रिविले गत वर्ष सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेको यसपालि त्योभन्दा २ हजार बढी विद्यार्थी दीक्षित हुने जोशीले बताए।
    जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको पनि शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

    दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव रहनेछन् । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।

  • प्रहरी जवानले आफैलाई हाने गोली

    प्रहरी जवानले आफैलाई हाने गोली

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।

    ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’

    उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइयो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ ।

  • मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए

    मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए

    काठमाडौं । मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिएको हो । बीबीसीका अनुसार मृत्यु हुनेमा कम्तीमा २५ जना नागरिक मालीका रहेका छन् । डुंगामा करिब ८० जना यात्री रहेको र ११ जना बाँच्न सफल भएको समाचारमा उल्लेख छ । दुर्घटना पछिल्लो साताको भए पनि मालीले भर्खर पुष्टि गरेको बीबीसीले जनाएको छ ।

    मालीमा लामो समय हिंसात्मक द्वन्द्व चर्किएपछि २०२० र २०२१ मा सेनाले सत्ता हातमा लिएको थियो । सैनिक सरकारले सन् २०२४ आम चुनाव गराउने वाचा गरे पनि अहिलेसम्म हुन सकेको छैन । देशको अवस्था हेरेर मालीका अधिकांश नागरिक युरोप जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा तय गर्न खोजिरहेका छन् ।

  • तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग

    तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रमुख साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए ।

    उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने जिकिर गरे । उनले त्यसका लागि जग्गाधनीहरूले स्थानीय सरकार र सङ्घ सरकारलाई दबाब दिन सुझाव दिए ।

    उनले उक्त जग्गा सरकारले लुटेर राखेको र प्रक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरे । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको दाबी छ । प्रमुख साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताए ।

  • रविको अदालतमा सकियो बयान

    रविको अदालतमा सकियो बयान

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।

    अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

  • एसईई परीक्षाको फारम खुला

    एसईई परीक्षाको फारम खुला

    काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएको हो । यसका लागि एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ ।

    परीक्षार्थीले ५ सय दस्तुर तिरेर फारम भर्नसक्ने छन् । फारम भर्न रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।

  • आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

    आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे ब्रिफिङपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएका हुन् । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा काम गर्नसमेत निर्देशन दिए ।

    छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो।

    साथै, लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट, हेटौंडा कपडा, नेपाल ओरियन्डलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो। यसैगरी, पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्‌का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो।

  • रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै

    रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १९ देखि २१ पुससम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।

    सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा। विमल तिवारीलाई मनोनीत गरिएको छ ।

  • सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु

    सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु

    काठमाडौं । सिरियाका अपदस्थ नेता बशर अल असदप्रति बफादार समूहको आक्रमणमा परेर त्यहाँको विद्रोही(नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र अन्य १० अन्य घाइते भएका नयाँ प्रशासनका अधिकारीहरूले बताएका छन्। ती अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन्। यूके मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको हो।

    अलवाइत समूहको धार्मिक स्थलमा आक्रमण भएको एउटा भिडिओ सार्वजनिक भएपछि अन्य कैयौँ स्थानमा पनि प्रदर्शन भएका छन्। सिरियाको विद्रोही-नियन्त्रित सरकारका अधिकारीहरूले लडाइँ भूमध्यसागरको तटमा रहेको टार्टुस बन्दरगाहनजिकै मङ्गलवार भएको जनाएका छन्। दमास्कसनजिकैको कुख्यात सैदनाय जेलमा भएका गतिविधिसँग जोडिएको एक पूर्वअधिकारीलाई पक्राउ गर्ने प्रयास गरेका सुरक्षाकर्मीलाई एम्बुसमा परिएको विवरणहरूमा जनाइएको छ।

    दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए। इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ। यूके मुख्यालय भएको सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार तीन जना विद्रोही पनि उक्त झडपमा मारिएका थिए। उसका अनुसार त्यसपछि सुरक्षाकर्मीहरूले थप सहयोग मागेका थिए। विद्रोहीहरूले सिरियाको उत्तरपूर्वबाट सुरु गरेको लडाइँ देशभर विस्तार भएको थियो। त्यसले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो।

    त्यसपछि असद र उनको परिवार रुसमा भाग्न बाध्य भएका थिए। एचटीएसले सिरियाका विभिन्न धार्मिक र जातीय अल्पसङ्ख्यक समुदायको अधिकार र स्वतन्त्रता रक्षा गर्ने वाचा गरेको छ। उक्त सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेसहितका देशले आतङ्कवादी सङ्गठन सूचीमा राखेका छन्। मङ्गलवार एउट क्रिसमस ट्री जलाइएपछि देशभर प्रदर्शनहरू भएका थिए। त्यसपछि अल्पसङ्ख्यकको सुरक्षा गर्न नयाँ सरकारमाथि दबाव परेको थियो।

    सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा मध्य सिरियाको एउटा इसाईबहुल नगरको एउटा मुख्य चोकमा क्रिसमस ट्री जलिरहेको देखिएको थियो। भिडओ फुटेजमा मास्क लगाएका व्यक्तिहरूले सिरियाका इसाईहरूले क्रिसमस ईभ मनाउने तयारी गरेको अघिल्लो रात क्रिसमस ट्री पहिचान नखुलेको तरल पदार्थ छर्किरहेको देखाइएको थियो। उनीहरूले आगो निभाउन खोजेका वा त्यसलाई थप बाल्न खोजेका थिए भन्ने स्पष्ट भएको छैन। एचटीएसले उक्त घटनालाई लिएर विदेशी फौजका सदस्यहरूलाई पक्राउ गरिएको जनाएको थियो।
    बीबीसीबाट साभार

  • भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

    भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।

    मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’ सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।

  • प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ

    प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा तीन सय वटाभन्दा धेरै बाघ रहेको बताए ।

    अरूले भनेअनुसार बाघको सङ्ख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए । उनले भने, ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन् । जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई ।’

    प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जङ्गल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्याङ्कन र सम्मान हुन नसके नेपालले अरू देशका लागि जङ्गलको संरक्षण गर्न नसक्ने बताए । उनले नेपाललाई ४७ प्रतिशत जङ्गल राखेको सम्मान र कदर नगरेमा ३० प्रतिशत मात्रै जङ्गल राख्ने र बाँकी भू–भागमा अन्न उब्जाएर खाने बताए ।

  • भोली र पर्सी देशका धेरै स्थानमा हिउँदे वर्षाको सम्भावना

    भोली र पर्सी देशका धेरै स्थानमा हिउँदे वर्षाको सम्भावना

    काठमाडौं । भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भएपनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ ।

    पर्सि शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरैजसो ठाउँमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

    त्यसैगरी आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई पनि भनिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएको सोमवार र मंगलवार देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । पर्याप्त हिउँदे वर्षा र हिमपात भएमा हिउँदे खेतीबालीलाई फाइदा पुग्नेछ ।

    हिउँदे वर्षा र हिमपात हिउँदे बालीको उत्पादनमा निक्कै महत्वपूर्ण मानिन्छ । तर यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन । तर यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने यसअघि नै अनुमान गरिएको छ । पर्याप्त हिउँदे वर्षा र हिमपात नभए खेतीबालीको उत्पादनमा असर पुग्नुका साथै वायु प्रदुषण र आगलागीका घटनासमेत बढ्न सक्ने जोखिम हुन्छ ।

  • जापान एयरलाइन्समा साइबर आक्रमण

    जापान एयरलाइन्समा साइबर आक्रमण

    काठमाडौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठुलो एयरलाइन्स हो ।

    “हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनल्स्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।” यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताउनुभएको थियो ।

    स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बिच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्‍यौँ”, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २।५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।

    जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहमध्ये एक नागोया बन्दरगाह र्‍यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो ।

    जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी ९एनआइएससी० ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो ।

    हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठुलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस–एएफपी

  • जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाज अझ सशक्त  उठाउनुपर्छ : परराष्ट्र मन्त्री

    जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाज अझ सशक्त उठाउनुपर्छ : परराष्ट्र मन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताएकी छिन् । नगन्य कार्बन उत्सर्जन गर्ने तर त्यसको व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेकाले यस्ता चुनौतीको सामना गर्न नेपालले अन्तर्राष्ट्रिय स्तरमा अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता बढेको उनको भनाइ थियो।
    उनले भनिन्, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र यससँग जुध्न नेपालले गरिरहेका प्रयासहरूका बारेमा संयुक्त राष्ट्रसङ्घका विभिन्न फोरमहरू एवं जलवायु परिवर्तन सम्बन्धी सम्मेलनहरूमार्फत विश्व समुदायसमक्ष हामीले स्पष्ट र सशक्त रूपमा राख्दै आएका छौँ । आगामी दिनहरुमा यसलाई थप सशक्त बनाउनु जरुरी छ।’

    अजरबैजानको बाकुमा सम्पन्न २९औँ विश्व जलवायु सम्मेलन एवं अन्तर्राष्ट्रिय न्यायालयमा नेपालको उपस्थितिबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित समीक्षा कार्यक्रममा उनले सो धारणा राखेकी हुन् । मन्त्री डा. राणाले गत डिसेम्बर ९ मा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले ‘जलवायु परिवर्तनका सम्बन्धमा राज्यको दायित्व’ सम्बन्धमा पहिलो पटक नेपालका आधारहरु मौखिक रुपमा प्रस्तुत गरेको जानकारी गराए ।

    सो अदालतमा सुनुवाइका क्रममा आफूले नेपालले कहिल्यै नगरेको गल्तीको सजाय भोगिरहेको कुरा सशक्त रूपमा उठाउँदै जिम्मेवार विकसित राष्ट्रहरूले जलवायु सङ्कट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिई जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्नेमा जोड दिएको जानकारी मन्त्री डा। राणाले दिइन् ।

    नेपालजस्तो संवेदनशील भूबनोट भएको पर्वतीय मुलुकका लागि जलवायु परिवर्तनको प्रभाव गम्भीर रहेको भन्दै उनले नेपालका हिमालहरू पग्लिरहेका, जैविक विविधतामा ह्रास आइरहेको, प्राकृतिक विपत्तिहरू बढ्दै गएको र जसका कारण नेपालको अर्थतन्त्र, सामाजिक जीवन र वातावरणमा नै नकारात्मक असर पारिरहेको उनले बताइन्।

    इसिमोडको एक प्रतिवेदनले यही गतिमा कार्बन उत्सर्जन भइरहेमा यस शताब्दीको अन्त्यसम्ममा हिन्द कुश हिमालयमा रहेका हिमनदीहरूले ८० सम्म हिउँको मात्रा गुमाउने देखाएकाले यो नेपाललगायत पर्वतीय मुलुकका लागि चिन्ताको विषय रहेको उनको भनाइ थियो।

    पर्वतीय क्षेत्र सबैभन्दा बढी जलवायु जोखिममा परेकाले त्यहाँका नागरिक अन्यत्रै जान बाध्य भएका र जलवायु परिवर्तनले मानिसको आधारभूत मौलिक अधिकारमा समेत खलल पारेको भन्दै मन्त्री डा राणाले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सबै मुलुकहरूको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।

    जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत जटिलता, कोषको बाँडफाँडमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग गहन छलफल हुन जरूरी रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘त्यसैले पनि जलवायु परिवर्तनको वित्तीय समस्या समाधान गर्न, हानी नोक्सानी कोष परिचालन गर्न र हिमाल लगायतका विषयको उचित सम्बोधन गर्ने दिशामा अन्तर्राष्ट्रिय स्तरमा थप सहकार्य गर्न जरूरी देखिन्छ।’

    उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपालले आफ्नो अनुकूलन क्षमतालाई पनि बलियो बनाउँदै जानुपर्नेमा जोड दिइन् । जलवायु परिवर्तनका कारण प्रत्यक्ष प्रभावित भएका समुदायहरूलाई सहयोग पुर्‍याउन विशेष योजना र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, जलविद्युत् र सौर्य ऊर्जा प्रवद्र्धन गरी दिगो र हरित ऊर्जामा जोड दिनुपर्नेमा मन्त्री डा. राणाको जोड थियो।

  • पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

    पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

    काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो ।

    फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए । सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लियो । पोखरामा भएको यो ८ औं चार्टर्ड उडान हो ।

  • गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट(६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलले बताए ।जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो

    सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष व्यक्ति तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पानीमा तैरिरहेकालाई प्रहरीले उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए । उनीहरुलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको एसपी भुजेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • मोजाम्बिकमा हिंस्रक प्रदर्शन जारी, १५ सय जना जेलबाट फरार

    मोजाम्बिकमा हिंस्रक प्रदर्शन जारी, १५ सय जना जेलबाट फरार

    काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा हिंस्रह प्रदर्शन जारी छ । सो क्रममा कम्तिमा १५ सय मानिस जेलबाट फरार भएको समाचार माध्यमहरुले जनाएका छन् । यस मुलुकमा चुनावी नतिजाबाट असन्तुष्टी जनाएसँगै प्रदर्शन जारी छ । प्रदर्शन हिंस्रक बन्दै गएको छ ।

    अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको समेत समाचारमा जनाइएको छ । मोजाम्बिक प्रहरीका अनुसार १५ भन्दा धेरै घाइते छन् । १५० भन्दा धेरै मानिसलाई गिरफ्तार गरिएको छ । सोमबार अदालतको एक आदेशपछि यहाँ प्रदर्शन सुरु भएको हो । जसमा सत्तारुढ दलको जितको पक्षमा फैसला आएको हो ।

  • शुक्रबारबाट मौसम बदली, के छ सम्भावना ?

    शुक्रबारबाट मौसम बदली, के छ सम्भावना ?

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।

    ‘आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ, उनले भनिन्, शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरे । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ । पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन्, मंगलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।

  • पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

    पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् । बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ ।

    तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो । आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ । तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ । उसले भनेको छ, ‘पाकिस्तानी सेनाले बजिरिस्तानका शरणार्थीहरुमाथि अन्तराष्ट्रिय नियमको उल्लंघन गरेर बर्बर आक्रमण गरेको छ । यस क्रूर आक्रमणको जवाफ दिइने छ ।’

  • जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का

    जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का

    काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

    २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ ।

  • कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो टेकओभर

    कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो टेकओभर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो। राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ।

    ुनेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो। साथै, अर्को व्यवस्था नभएसम्मका लागि सोही ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ,ु विज्ञप्तिमा भनिएको छ।

    उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ। समूहमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ।

    राष्ट्र बैंकले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ।

    व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ।

    न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्ने लगायत कारण देखाएर राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो।

    संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिइराख्दा निक्षेपकर्ताको रकम सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ।

    न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएपछि राष्ट्र बैंकले एक महिना अघि गत मंसिर ११ गते थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको थियो। संस्थामा देखिएका सबै समस्या हल गर्न सुधारात्मक कारबाहीसहित राष्ट्र बैंकले छ महिनाको समय दिएको थियो। तर बैंकमा थप समस्या देखिने अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको हो।

  • कजाकस्तानमा यात्रुबाहक जहाज दुर्घटना, कैंयौ हताहत

    कजाकस्तानमा यात्रुबाहक जहाज दुर्घटना, कैंयौ हताहत

    काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । जहाजमा ६७ जना सवार थिए । जसमध्ये २५ जनाको जीवितै उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ ।

    दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘यो विमान अजरबैजान एयरलाइन्सको हो । जुन बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’

  • भीम रावल एमालेको सदस्यबाट हटाइए, दुई महिला नेतृ निलम्बन

    भीम रावल एमालेको सदस्यबाट हटाइए, दुई महिला नेतृ निलम्बन

    काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो । भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार थिए । रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए ।

    यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए पनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर आजको सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

    ‘

  • नासाको ‘प्रोब’ले रच्यो इतिहास, पुग्यो सूर्यको निकट

    नासाको ‘प्रोब’ले रच्यो इतिहास, पुग्यो सूर्यको निकट

    काठमाडौं । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो । सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।

    मङ्गलबारको ऐतिहासिक उडान बिहान ठीक ६ः५३ बजे (११५३ जिएमटी) मा भएको हुनुपर्ने थियो । यद्यपि मिसन वैज्ञानिकहरूले पुष्टिका लागि शुक्रबारसम्म पर्खनुपर्नेछ किनभने सूर्यको निकटताका कारण केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । यदि पृथ्वी र सूर्यबीचको दूरी अमेरिकी फुटबल मैदानको लम्बाइ बराबर छ भने अन्तरिक्ष यान नजिकको दृष्टिकोणको क्षणमा अन्तिम क्षेत्रबाट लगभग चार गज (मिटर) हुनुपर्दछ । यसलाई पेरिहेलियन भनिन्छ ।

    “यो नासाको साहसी मिसनको एउटा उदाहरण हो, यसले हाम्रो ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको कुरा गरेको छ”, पार्कर सोलर प्रोब कार्यक्रमका वैज्ञानिक एरिक पोसनरले सोमबार एक विज्ञप्तिमा भने, “हामी अन्तरिक्ष यानबाट त्यो पहिलो स्थिति अद्यावधिक प्राप्त गर्न र आउँदो हप्ताहरूमा वैज्ञानिक डाटा प्राप्त गर्न प्रतीक्षा गर्न सक्दैनौँ ।”

    ताप ढाल यति प्रभावकारी छ कि प्रोबले सूर्यको बाहिरी वातावरणको अध्ययन गर्दा पनि यसका आन्तरिक उपकरणहरू कोठाको तापक्रम – लगभग ८५ फरेनहाइट (२९ सेल्सियस)– मै रहन्छन् । सूर्यको बाहिरी वातावरणलाई कोरोना भनिन्छ । पार्कर पनि करिब चार लाख ३० हजार माइल प्रतिघन्टा (छ लाख ९० हजार किलोमिटर प्रतिघण्टा) को तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

    “कुनै पनि मानव निर्मित वस्तु ताराको यति नजिक कहिल्यै गएको छैन, त्यसैले पार्करले साँच्चै अज्ञात क्षेत्रबाट डाटा फर्काउनेछ” “मेरिल्यान्डको लरेलस्थित जोन्स हप्किन्स एप्लाइड फिजिक्स लेबोरेटरी (एपिएल) का मिसन अपरेसन म्यानेजर निक पिङ्किनले भन्नुभयो, “हामी अन्तरिक्षयान सूर्यको वरिपरि घुमेर फर्किँदा यसबाट सुन्न उत्साहित छौँ ।”

    यी चरम अवस्थाहरूमा प्रवेश गरेर पार्करले वैज्ञानिकहरूलाई सौर्य हावा कसरी उत्पन्न हुन्छ, कोरोना किन तलको सतह भन्दा तातो छ र कसरी कोरोनल मास इजेक्सनहरू– अन्तरिक्षमा फ्याँकिने प्लाज्माका विशाल बादलहरू–गठन हुन्छन् भन्ने जस्ता सूर्यका केही सबैभन्दा ठूला रहस्यहरू सामना गर्न मद्दत गरिरहेको छ । क्रिसमस इभको यो उडान तीन रेकर्ड–सेटिङ नजिकको पासहरूमध्ये पहिलो हो । अर्को दुई – सन् २०२५ मार्च २२ र सन् २०२५ जुन १९ मा – दुवैले प्रोबलाई सूर्यको उस्तै नजिकको दूरीमा फर्काउने अपेक्षा गरिएको छ । रासस–एएफपी

  • म्यानमारमा नेपालीलाई बन्धक बनाएर काममा लगाएको भेटियो, सरकारले गरायो सचेत

    म्यानमारमा नेपालीलाई बन्धक बनाएर काममा लगाएको भेटियो, सरकारले गरायो सचेत

    काठमाडौं । म्यानमारमा गैरकानुनी रूपमा नेपालीलाई बन्धक बनाएर काममा लगाइएको पाइएको छ । उनीहरूलाई राम्रो पैसाको प्रलोभन दिएर त्यहाँ जबरजस्ती काम गराइएको परराष्ट्र मन्त्रालयको भनाई छ । अझै धेरै नेपाली त्यहाँ बन्धकका रूपमा काम गरिरहेको र उद्धारमा पहल भइरहेको समेत मन्त्रालयको भनाई छ । त्यहाँबाट पाँच जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । म्यानमारको द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र परेका पाँच नेपालीको उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार नेपाली पुरुष व्यक्तिलाई थाई सरकारी निकाय, थाइल्यान्ड आप्रवासी सङ्घ तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा एक साताअघि नेपाल फर्काइएको दूतावासले जानकारी दिएको छ । त्यस्तै दूतावासका अनुसार मङ्गलबार उद्धार गरिएकी एक नेपाली महिलालाई नेपाल फिर्ता पठाइएको छ ।

    नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गर्दै युद्धग्रस्त क्षेत्रमा नजान अपिल गरेको छ । कसैको प्रलोभनमा परेर धेरै पैसा कमाउने उद्देश्यसहित कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नजान परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । साथै आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत यस्ता गतिविधिका बारेमा आमनागरिकमाझ सचेतना दिन अनुरोध गरिएको छ ।

    थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईलगायतका मुलुकमा रहेका नेपालीलाई म्यानमार पु¥याउने गरिएको मन्त्रालयले स्पष्ट पारेको छ । थाइल्यान्डको बैङ्कक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाएको पाइएकाले त्यस्ता यात्रामा सहभागी नहुन यसअघि नै अपिल गरिएकाले सजग रहन भनिएको छ ।

    मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्या देखा परेको मन्त्रालयले वक्तव्यमार्फत जनाएको छ ।

    अप्ठ्यारोमा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैङ्ककमा आवेदन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

    यस्तै अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शङ्कास्पद आइटी फर्महरूले बैङ्ककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैङ्कक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले थाइल्यान्ड र म्यानमारमा रोजगारीका विज्ञापन सामाजिक सञ्जालमार्फत विभिन्न स्थानका एजेन्टबाट प्रवाह हुने भएकाले त्यस्ता सामाजिक सञ्जाल वा अन्य स्रोतमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न भनिएको छ ।

    वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म, कम्पनी तथा रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा त्यस्ता निकायको आधिकारिक वेबसाइट जाँच गर्न भनिएको छ । ती विषयमा जानकारी लिनुपरेमा तोकिएका सहजकर्ता वा नेपाली राजदूतावास, याङ्गुनका तोकिएका अधिकारीलाई सम्पर्क गर्न भनिएको छ ।

  • धरहराबाट एक महिनामा ५५ लाख राजस्व संकलन

    धरहराबाट एक महिनामा ५५ लाख राजस्व संकलन

    काठमाडौं । धरहराबाट एक महिनामा ५५ लाख रूपैयाँ राजस्व उठेको छ। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्मा ५५ लाख रूपैयाँ राजस्व संकलन भएको हो। कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार हरेक बुधबार धरहरा बन्द हुन्छ। यसबाहेक अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढिरहेका छन्। ९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। यसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन, उनले भने।

    बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो। समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन, उनले भने। पछिल्लो समय छिमेकी मुलुक भारतबाट समेत धरहरा अवलोकन गर्न आउने गरेका छन्।

    बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सय बढीले धरहरा चढ्ने अनुमान छ। धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क छ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम शुल्क लिई गत मंसिर ९ देखि धरहरा सञ्चालनमा आएको हो। त्यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो। यहाँ पार्किङ गर्दा चारपांग्रेका लागि प्रतिघण्टा २० र दुईपांग्रेलाई १० रूपैयाँ तोकिएको छ।

    धरहरा परिसरमा प्रवेशका लागि ५० रूपैयाँ निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रूपैयाँ तोकिएको छ। व्यावसायिक भिडिओ छायांकनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रूपैयाँ शुल्क छ।

  • आज क्रिसमस डे’ देशभर सार्वजनिक बिदा

    आज क्रिसमस डे’ देशभर सार्वजनिक बिदा

    काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।


    उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराज बताउँछन् ।

    विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । यस दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

    हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने महासंघका अध्यक्ष गहतराजले बताए ।

    पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।