Category: समाचार

  • दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

    दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

    काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले देशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्न भन्दै मङ्गलवार राति सङ्कटकालीन मार्शल ल घोषणा गरेका थिए । त्यसलगत्तै संसद् भवनमा भेला भएका सत्तारूढ र विपक्षी दलका सांसदहरूले मतदानमार्फत् राष्ट्रपतिको उक्त कदमलाई रोक्ने निर्णय गरेका छन्।

    संसद्‌बाहिर राष्ट्रपतिको घोषणाविरुद्ध प्रदर्शन भइरहेको छ। दक्षिण कोरियाको राष्ट्रिय प्रसारक संस्थाका अनुसार संसद्ले मार्शल लको विपक्षमा उभिएको भए पनि दक्षिण कोरियाली सेनाले राष्ट्रपतिले फिर्ता नगरेसम्म उक्त कानुन लागु हुने जनाएको छ।


    मार्शल ल लागु हुनु भनेको सैन्य अधिकारीहरूले सङ्कटकालमा शासन गर्नु हो र यस अवधिमा सामान्य नागरिक अधिकारहरू निलम्बित पनि हुन सक्छन्।
    यउलको पीपल पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच अर्को वर्षको बजेटको विषयमा विवाद चुलिएको बेला राष्ट्रपतिले यो अप्रत्याशित कदम उठाएका हुन्। राति टेलिभिजनमार्फत् राष्ट्रपतिले घोषणा गरेपछि संसद् जाने द्वारहरू बन्द गरिएका थिए।

    प्रहरीले गरेको अवरोधका बीच सयौँ प्रदर्शनकारीहरू बाहिर भेला भएर मार्शल ल चाहिँदैन र तानाशाही हटाऊ को नारा लगाए। संसद् भवनभित्र भेला भएका १९० सांसदहरूले एकमतले राष्ट्रपतिको घोषणा गरेको कानुनविरुद्ध एकमतले निर्णय गरे। त्यसअघि सत्तारूढ र विपक्षी दुवै पार्टीले उक्त घोषणाको विरोध गर्दै त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको समाचारसंस्था योन्हापले जनाएको थियो।

    विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे(म्युङले उक्त घोषणालाई “असंवैधानिक” सङ्ज्ञा दिए। राष्ट्रपति यउल सदस्य रहेको सत्तारूढ दलका प्रमुख हान डोङ(हुनले पनि उक्त घोषणालाई “गलत” भने। ‘मार्शल ल’ भनेको सङ्कटका बेला गरिने सैन्य अधिकारीहरूको शासन हो र यसको अर्थ सामान्य नागरिक अधिकारहरू निलम्बन हुन सक्ने अर्थ लाग्छ। योन्हापका अनुसार ‘मार्शल ल’ उल्लङ्घन गर्नेलाई पक्राउ पुर्जी बिना पक्राउ गर्न सकिन्छ।

    त्यसबाहेक सञ्चारमाध्यम र प्रकाशकहरू पनि ‘मार्शल ल’कै नियन्त्रणमा आउँछन् भने संसदीय गतिविधिमा पनि रोक लाग्छ। प्रशिक्षार्थी चिकित्सकहरू सहितका चिकित्सासम्बन्धी कर्मचारीलाई ४८ घण्टाभित्र काममा फर्कन निर्देशन दिइएको छ। केम्ब्रिज विश्वविद्यालयका सहायक प्राध्यापक जोन निल्शन–राइटले सोलबाट बीबीसीसँग कुरा गर्ने क्रममा दक्षिण कोरियाली राजधानीको स्थितिको झलक दिएका छन्। ‘मार्शल ल’ लगाइँदा सामान्यतयास् सर्वसाधारणहरूले गर्न सक्ने कार्यमा प्रतिबन्ध लगाइन्छ।

    तर उनका अनुसार सोलका सडकहरूमा सेनाको कुनै सङ्केत देखिँदैन। उनले कुरा गरेका एकजना प्रहरी पनि “आफूजत्तिकै अनभिज्ञ थिए।” “सडक सामान्य देखिन्छ, मानिसहरू निश्चय नै विस्मित भएका छन्,” उनले भने। अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दक्षिण कोरियाली सरकारसँग सम्पर्कमा रहेको र “स्थितिलाई नजिकबाट नियालिरहेको” एकजना राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग बताएका छन्। यद्यपि यसबारे अमेरिकी राष्ट्रपतिको टिप्पणी आइसकेको छैन।
    बीबीसी

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो।


    त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्। ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा। गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै

    प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    चीनको चार दिने औपचारिक भ्रमणका लागि गत सोमबार बेइजिङ गएका प्रधामन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, चिनियाँ प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी ९ वटा सहमति–समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । प्रधानमन्त्री ओली मंसिर २० गते अर्थात् भोलि बुधबार स्वदेश फर्किंदै छन् ।

  • राहुल गान्धीलाई किन उत्तर प्रदेश प्रवेशमा रोक लगाइदैछ ?

    राहुल गान्धीलाई किन उत्तर प्रदेश प्रवेशमा रोक लगाइदैछ ?

    काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ । लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको हिंसामा मृत्यु भएकाका परिवारलाई भेट्न राहुल गान्धी सम्भल जान लागेका हुन् । तर उनलाई रोक्ने प्रयास स्थानीय प्रहरी प्रशासनले गरेको छ

    राहुललाई उत्तर प्रदेशमै प्रवेश गर्न नदिन सम्भलका जिल्ला अधिकारीले छिमेकी चार जिल्ला गाजियाबाद, गौतमबुद्ध नगर, बुलन्द शहर र अमरोहा प्रशासनलाई पत्राचार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । पत्रमा लेखिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू र सम्भल जाने क्रममा आफ्नो सीमामै रोक्नू ।’

    उत्तर प्रदेश प्रहरीका एक शीर्ष अधिकारीले राहुल गान्धीलाई उत्तर प्रदेशमै प्रवेश गर्न रोक्न हरसम्भव कोसिस गर्ने बताएका छन् । राहुल गान्धी आज बिहान १० बजे गाजिपुर बोर्डर एरिया हुँदै सम्भल जाने तयारीमा छन् ।

  • एनपीएल : आज पनि दुई खेल हुँदै

    एनपीएल : आज पनि दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

    कर्णाली र काठमान्डुबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले यसअघि पहिलो खेलमा हार व्यहोरेकोले पहिलो जित निकाल्ने लक्ष्यमा छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । अर्कोतर्फ काठमान्डु चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।

    सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स र करण केसीको कप्तानीमा रहेको काठमान्डुबीच खेल रोमाञ्चक हुनेछ । कर्णालीमा भारतीय स्टार क्रिकेटर शिखर धवन छन् । उनको आगमनले कर्णाली र एनपीएलकै चर्चा बढाएको छ । तर पहिलो खेलमा जनकपुरविरुद्ध भने धवनको ब्याट चलेन । उनले १३ बलमा जम्मा १४ रन बनाएर आउट भएका थिए ।

    कर्णाली र काठमान्डु दुवैमा नेपालमा खेलिसकेका खेलाडीहरु पनि छन् । कर्णालीमा धवनबाहेक नेपालमा धेरै खेल खेलेका हङकङका बाबर हायत र ओमानका जिसान मक्सुद छन् । काठमान्डुमा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका कप्तान जेरार्ड एरासमस छन् ।

    यसैगरी यसअघिका दुवै खेलमा पराजित विराटनगर किंग्स लुम्बिनीसँग खेल्दा दबाबमा हुनेछ । सन्दीप लामिछानेको कप्ताद्दीमा रहेको विराटनगर यसअघि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भइसकेको छ । न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल विराटनगर टिममा छन् । पहिलो खेलमा अर्धशतक हानेको उनी दोस्रो खेलमा खाता नखोली आउट भएका थिए ।

    रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने पहिलो खेल खेल्दैछ र विजयी सुरुवात गर्न चाहन्छु । लुम्बिनीको टिममा चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङ छन् भने सन् २०१२ मा भारतलाई यू१९ विश्वकप विजेता बनाउने कप्तान उन्मुक्त चन्द पनि छन् । यस्तै क्यानडाका साद बिन जफर, इंग्ल्याण्डका टम मुर्स र बार्बाडोसका रामोन सिमोन्ड्स पनि छन् ।

  • एसीसी यु १९ एसिया कप : नेपालको सान्त्वना जित

    एसीसी यु १९ एसिया कप : नेपालको सान्त्वना जित

    काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

    नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाए । बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले तीनरतीन विकेट लिए । हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल यसअघि बङ्गलादेशसँग पाँच विकेट र श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।

  • दक्षिण कोरियामा सैनिक कानून घोषणा, गहिरिँदै राजनीतिक संकट

    दक्षिण कोरियामा सैनिक कानून घोषणा, गहिरिँदै राजनीतिक संकट

    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलेले मंगलबार इमरजेन्सी मार्सल ल (सैनिक कानून) घोषणा गरेका छन्। विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै उनले आपतकालीन मार्सल ल घोषणा गरेका हुन् । द न्यूयोर्क टाइम्सका अनुसार दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक कुनै राष्ट्रपतिले मार्सल ल घोषणा गरेका हुन्।

    मार्सल ल घोषणा गरे पनि नागरिक र राजनीतिक दलहरूका कुन कुन अधिकार निलम्बित हुन्छन् भनेर राष्ट्रपति यूनले घोषणा गरिसकेका छैनन् । तर मार्सल लका कमान्डर नियुक्त भएका सेनाका जनरल पार्क आन सूले भर्खरै राजनीतिक दलहरूका गतिविधि र नागरिकले गर्ने र्‍यालीहरू सहित सबै प्रकारका राजनीतिक गतिविधि माथि प्रतिबन्ध लगाएका द न्यूयोर्क टाइम्सले जनाएको छ।

    सबै मिडिया र प्रकाशनहरू मार्सल लको कमान्डको नियन्त्रणमा रहनेछन्, जनरल पार्कले भनेका छन्। उनका अनुसार मार्सल ल मंगलबार राति ११ बजेबाट लागू हुनेछ। आदेश उल्लंघन गर्नेलाई अदालतको वारेन्ट बिनै पक्राउ गर्न सकिने पनि उल्लेख छ। स्थानीय सञ्चार माध्यमहरूले भने मार्सल लले अभिव्यक्ति स्वतन्त्रता नै संकुचित र सीमित गर्न सक्ने बताएका छन्।

    सन् २०२२ मा राष्ट्रपति निर्वाचित यून विपक्षी पार्टीसँग लगभग लगातार राजनीतिक संघर्षमा छन्। दक्षिण कोरियाको संसदलाई ुनेसनल एसेम्ब्लीु भनिन्छ र त्यहाँ विपक्षी दलहरूको बहुमत छ। त्यसैले राष्ट्रपति यून र संसदबीच केही समयदेखि द्वन्द्व जारी थियो।

    बजेट पास गर्ने कुरामा पनि राष्ट्रपतिसँग संसदको विमति थियो। यो परिदृश्यमा मंगलबार राति राष्ट्रपति यूनले राष्ट्रिय रूपमा प्रसारण भएको सम्बोधनमा विपक्षी पार्टीलाई आफ्नो बहुमत प्रयोग गरेर बारम्बार उनका क्याबिनेट सदस्यलाई महाभियोग लगाउने र सरकारको बजेट योजनाहरू अवरूद्ध गरेको आरोप लगाए।

  • चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता

    चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनियाँ राष्ट्रपति सिलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको उनले बताएका छन् । चिनियाँ प्रधानमन्त्री लीलाई भने उनले समकक्षीको रुपमा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

    उनीहरू दुवैले उपयुक्त समयमा नेपाल आउने जानकारी गराउँदै निमन्त्रणका लागि धन्यवाद दिएको प्रवक्ता ढकालले बताए । सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज ९मंगलबार० उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

  • प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

    प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत


    बेइजिङ, १८ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् ।
    प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए ।  प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराए । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराए।

    आजै  दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता  भएको छ । त्यसपछि हस्ताक्षर समारोह आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।

    भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् ।

  • नेपाल र चीनबीच यी विषयमा भयो समझदारी

    नेपाल र चीनबीच यी विषयमा भयो समझदारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान


    नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र


    नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान


    फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल


    विकास योजना सम्बन्धी समझदारी पत्र
    आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र


    नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
    स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र


    नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

  • त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन

    त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन

    काठमाडौं । काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गत राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।


    प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम गरिरहेको हो । विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माणको काम तीब्र गतिमा काम भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्मार्णले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।


    पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुने बताए । “दस घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीब्र गतिमा सबै साईडमा काम भइरहेको छ । निर्धारित समय आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, त्यो भन्दा पहिला नै काम हुन्छकी भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले सङ्केत गरेको छ”, उनले भने ।
    उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।

  • चीनमा प्रधानमन्त्रीले आज उच्चस्तरीय भेटघाट गर्दै

    चीनमा प्रधानमन्त्रीले आज उच्चस्तरीय भेटघाट गर्दै

    काठमाडौं । चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सुरुमा प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने छन् ।

    त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता हुने छ । यी बेग्लाबेग्लै हुने यी भेटवार्तापछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने कार्यक्रम छ । ‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ ।


    चिनियाँ नेतृत्वले चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने र नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

    सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने छ । चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार बेइजिङ पुगेका थिए । उनलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् ।

  • एनपीएल : आज दुई खेल हुँदै

    एनपीएल : आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्रदैछन् । दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल ९ बजे र दोस्रो खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो ।

    पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ । यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् । उता पहिलो खेलमा विराटनगर जनकपुरसँग पराजित भएको थियो । विराटनगर पहिलो जितको खोजीमा हुनेछ । सुदूरपश्चिम भने उत्कृष्ट सुरुवातका लागि भिड्नेछ ।

  • कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो

    कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले पाँच हजार ३३४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे । यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो भए ।

    सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए । त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।

  • एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै

    एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

    ‘क्यान्सरको उपचारसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ’, लालले भने, ‘यस वर्ष अभियानकै रुपमा एकैसाथ परीक्षण गर्न लागेका हौं ।’ यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए । नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार २५५ नयाँ बिरामी भेटिएका छन् ।

    हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्जरभेटरीका अनुसार विश्वभर प्रति एक लाख बिरामीमा सात जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

    विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियान समेत सञ्चालन हुँदैछ । १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीले खोप पाउँछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप दिने सरकारले तयारी थालेको छ ।

  • कांग्रस-एमालेको गठबन्धन हराउँदै माओवादी रुकुममा विजयी

    कांग्रस-एमालेको गठबन्धन हराउँदै माओवादी रुकुममा विजयी

    काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् । बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो । वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

  • कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत

    कांग्रेसको पक्षमा उत्साहजनक देखिएन जनमत

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस उपनिर्वाचनको नतिजाबाट निरास बनेको छ । उसले अघिल्लो पटक जितेका क्षेत्र समेत जोगाउन सकेन । एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ ५ स्थानको नतिजा आउँदा कतैपनि जितिसकेको छैन । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् । जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि कांग्रेसले जितेको थियो । ०७९ मा कांग्रेसले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन ।

    मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते । माझीले ६९६९ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । यो पालिकामा यसअघि कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७६०५ मत ल्याएर जितेका थिए । त्यसबेला निकटतम् प्रतिद्वन्द्वी थिए, एमालेका शिवनारायण माझी ।

    एमालेका माझीले ६०९३ मत ल्याउँदा माओवादीका विजयकुमार सरदार २७२७ मतमा सीमित भएका थिए । त्यस समयको तेस्रो स्थानको माओवादीले उपचुनावबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट खोस्यो । यहाँ पालिका प्रमुख जिताउन पार्टी महामन्त्री गगन थापा आफैं पुगेका थिए भने गुरुराज घिमिरे निरन्तर लागिपरेका थिए ।

    दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष त सत्ता साझेदार एमालेले नै खोस्यो । एमालेका जंगबहादुर शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा सीमित भए । २०७९ को चुनावमा एमालेलाई नै कांग्रेसले हराएका थिए । कांग्रेसबाट लछुमन गुरुङले अध्यक्षमा जित्दा एमालेका हरिप्रसाद उपाध्याय त्यसबेला पराजित भएका थिए ।


    ०७९ को चुनावमा गठबन्धन गरेको माओवादीले यो उपचुनावमा जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर कांग्रेसबाट खोसेको छ । माओवादी केन्द्रकी देवका लामिछाने ४२७२ मत ल्याएर उपमेयर निर्वाचित हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन् । बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्ष पद सत्ता साझेदार एमालेको पोल्टामा पुगेको छ ।

    कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीलाई एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले हराइन् । निर्वाचित बुढाले १७४० मत प्राप्त गर्दा कांग्रेसकी शाहीले १४७४ मत पाइन् । २०७९ मा कांग्रेस उम्मेदवार मैना जोशीले १८१० मत ल्याई निर्वाचित हुँदा हाल एमालेबाट निर्वाचित बुढाले त्यसबेला १६३७ मत प्राप्त गरी पराजित भएकी थिइन् । वडातर्फ कांग्रेसले यसअघि जितेको काठमाडौं–१६, नुवाकोटको ककनी–२, ओखलढुङ्गाको मोलुङ–५ लगायत १६ क्षेत्र गुमाएको छ । यद्यपि पहिले नजितेका ९ वडा जितेर कांग्रेसको जित संख्या १६ पुगेको छ ।

    जिल्ला समन्वय सभापति, पालिका पदाधिकारी र वडाध्यक्ष गरी उपचुनाव भएको ४४ पद मध्ये २७ स्थानमा यसअघि कांग्रेसले जितेको थियो । उपचुनावमा जिसस सभापतिसहित १८ पद कांग्रेसले जितेको छ । ४ स्थानमा नतिजा आउन बाँकी छ । कांग्रेसको उपचुनाव हार्ने सूचीमा काठमाडौं–१६ को वडाध्यक्ष पनि प¥यो । जहाँ उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफैले मतदान गरेका थिए । जबकी यो वडा यसअघि दुईपटक कांग्रेसले जितेको थियो । तर पहिलोपटक स्थानीय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रोजिना श्रेष्ठले २९०२ मत ल्याएर वडाध्यक्ष जितिन् ।

    कांग्रेसले जितेको वडाहरूः
    कीर्तिपुर नगरपालिका–१ र ४
    लालीगुराँस नगरपालिका–८
    सुनसरीको गढी गाउँपालिका–६
    रौतहटको ईशनाथ नगरपालिका–७
    रौतहटको राजपुर नगरपालिका—६
    मकवानपुरको हेटौंडा उपमहानगर–१२
    गुल्मीको मुसिकोट–१
    रोल्पाको रुन्टीगढी गाउँपालिका–४
    बर्दियाको ठाकुरबाबा नगरपालिका–४
    जाजरकोटको कुशे गाउँपालिका–७
    रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५
    बझाङको सूर्मा गाउँपालिका—४
    डोटीको पुर्वीचौकी गाउँपालिका–६
    दार्चुलाको दुहु गाउँपालिका–५
    कञ्चनपुरको भीमदत्त नगरपालिका–६

  • बेइजिङ पुगे प्रधानमन्त्री

    बेइजिङ पुगे प्रधानमन्त्री

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेका थिए ।

    भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

  • मोरङमा कांग्रेसको बिरासत भत्काउँदै माओवादी विजयी

    मोरङमा कांग्रेसको बिरासत भत्काउँदै माओवादी विजयी

    काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए ।

    त्यस्तै, समावेशी समाजवादी पार्टीका बोधनारायणी माझीले २३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी थारूले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारुले ८९, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशीले ४७, मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोद कुमार माझीले ४२, राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टीका प्रशुराम विश्वास थारुले २६, जनता समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरीले १८ र नेपाल समाजवादी पार्टीका रामुकुमार चौधरीले १५ मत पाए ।

    २०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो । अध्यक्षमा निर्वाचित माझी यसअघि २०७४ को निर्वाचनमा वडा नम्वर १ को वडाध्यक्ष थिए । उनले त्यो बेला मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । एक दशकभित्र तीन वटा दल फेरेका उनी पछिल्लो समय गत भदौमा माओवादी प्रवेश गरेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

  • भिआइपीको स्वागत र बिदाईमा अब लामो लर्को नलाग्ने व्यवस्था गरिँदै

    भिआइपीको स्वागत र बिदाईमा अब लामो लर्को नलाग्ने व्यवस्था गरिँदै

    काठमाडौं । अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ । गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सो व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा बिदाइका क्रममा प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष उपस्थित हुनुपर्ने छैन ।

    मौजुद कार्यविधिको दफा ३ संशोधन गरेर सभामुख तथा राष्ट्रिय सभा अध्यक्षको उपस्थिति हटाइएको हो । राज्यका तीन अङ्गमध्ये अहिले पनि न्यायपालिका प्रमुख (प्रधान न्यायाधीश) यस्ता बिदाइ तथा स्वागतमा उपस्थित हुने व्यवस्था छैन । व्यवस्थापिका प्रमुखलाई पनि कार्यविधि संशोधन गरेर सूचीबाट हटाइएको हो । अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थालाई प्रभावकारी र व्यवस्थित बनाउन तथा स्वागत तथा बिदाइ कार्यक्रमलाई भिडभाडरहित बनाउन भन्दै सरकारले कार्यविधि संशोधन गरेको हो । संशोधित कार्यविधि मन्त्रालयले आन्तरिक परिपत्र गरिसकेको छ ।

    संशोधित व्यवस्था अनुसार राष्ट्रपति विदेश जाँदा वा फर्कंदा भिभिआइपी कक्षमा अब उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधान सेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव उपस्थित हुनुपर्ने छ । यस्तै दुवै प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक र परराष्ट्रका शिष्टाचार महापाल उपस्थित हुनुपर्ने छ ।

    यस्तै उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्कंदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधान सेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव र परराष्ट्रका शिष्टाचार महापालको उपस्थिति विशिष्ट कक्षमा हुने छ । बिदाइका क्रममा कारकेडसम्म जाने सुविधा भने प्रधानमन्त्री, परराष्ट्रमन्त्री र उपराष्ट्रपति कार्यालयका सचिवलाई मात्र हुने छ ।

    यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किंदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थिति विशिष्ट कक्षमा हुने छ । यस्तै नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापतिको पनि उपस्थिति विशिष्ट कक्षमा हुने छ । परराष्ट्र र सञ्चार मन्त्रालयका सचिव, दुवै प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक पनि विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने छ ।

    शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोग प्रमुख पनि प्रधानमन्त्रीको बिदाइका क्रममा उपस्थित हुन सक्ने छन् । मिनी कारकेडसम्म उपस्थित हुने अधिकार भने कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव र शिष्टाचार महापाललाई हुने कार्यविधिमा उल्लेख छ ।

  • एनपीएलमा आज दुई खेल हुँदै

    एनपीएलमा आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।

    काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् ।

    नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ््ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् । चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

    चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् ।

    त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

    उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

    यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् ।

    सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् ।

    कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।

  • प्रधानमन्त्रीको के के छ चीनमा कार्यक्रम ?

    प्रधानमन्त्रीको के के छ चीनमा कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् ।

    भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी हुनेछन् । बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा ८ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् । यसरी समग्रमा प्रधानमन्त्रीको भ्रमण टोली ८६ सदस्यीय हुनेछ ।

    आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरुलाई अन्तिमरुपमा दिइसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौं चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ ।

    यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ ।

    यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

    नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

  • आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री

    आज चीन भ्रमणमा जाँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् ।

    भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

    मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते २ः३० बजे स्वदेश फर्कने छन् ।

  • दैलेखको महाबुमा एमालेका शाही विजयी

    दैलेखको महाबुमा एमालेका शाही विजयी

    काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ । एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।

    रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए । एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए । ०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाटे उठेका उनी २२६८ मत ल्याएर तेस्रो भएका थिए ।

  • काठमाडौं १६ नं वडामा रास्वपा विजयी, कांग्रेसको गढ भत्कियो

    काठमाडौं १६ नं वडामा रास्वपा विजयी, कांग्रेसको गढ भत्कियो

    काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।

    रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए । यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए ।

    यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् । यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

  • कीर्तिपुर वडा नं १ मा कांग्रेसका महर्जन विजयी

    कीर्तिपुर वडा नं १ मा कांग्रेसका महर्जन विजयी

    काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।

  • कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

    कालिकोट तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

    काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् ।

    एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए । ०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो ।

    माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अर्थात् यहाँ नेमकिपा पहिले पनि बलियो प्रतिस्पर्धी शक्ति थियो, र यसपटक वडाध्यक्ष जित्यो । तर कांग्रेस र एमाले भने पहिले पनि दयनीय अवस्थामा थिए ।

  • दार्चुलाको दुहुँ गाउँपालिका –५ मा कांग्रेसका कुँवर विजयी

    दार्चुलाको दुहुँ गाउँपालिका –५ मा कांग्रेसका कुँवर विजयी

    काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् ।

    यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।

  • जाजरकोट ७ वडाध्यक्षमा कांग्रेसका सिंह निर्वाचित

    जाजरकोट ७ वडाध्यक्षमा कांग्रेसका सिंह निर्वाचित

    काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।

    यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।

  • कीर्तिपुरमा आजै मतगणना हुने

    कीर्तिपुरमा आजै मतगणना हुने

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकले सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

    यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ । त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ । यसअघि आज मेयरको मतगणना नगर्ने समझदारी दलका प्रतिनिधिहरुबीच भएको थियो । तर सर्वदलीय बैठकले मेयरको पनि मतगणना गर्ने निर्णय गरेको थियो ।