Category: समाचार

  • विकल पौडेललाई ८ वर्ष कैद सजाय

    विकल पौडेललाई ८ वर्ष कैद सजाय

    काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ । विशेष अदालतले पौडेललाई १४ कार्तिकमा दोषी ठहर गरेर सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो ।

    विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ । उनीहरू अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका हुन् । अख्तियारले विकलसहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।

  • प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, टोलीमा ८७ जना

    प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, टोलीमा ८७ जना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो ।

    प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गएकी छिन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।

  • परराष्ट्र मन्त्री राणा छेङ्दुमा

    परराष्ट्र मन्त्री राणा छेङ्दुमा

    काठमार्डौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेङ्दु पुगेकी हुन् । मन्त्री डा. राणालाई छेङ्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरे ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भेटवार्ता शुक्रबार चीनको छेङ्दु सहरमा नै हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप डा. राणा चीन गएकी हुन् । परराष्ट्रमन्त्री डा. राणा शनिबार नै स्वदेश फर्किनेछिन् । प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । परराष्ट्रमन्त्री डा. राणा स्वदेश फर्किएर प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पुनः सामेल हुनेछिन् ।

  • परराष्ट्र मन्त्री आज चीन भ्रमणमा जाने

    परराष्ट्र मन्त्री आज चीन भ्रमणमा जाने

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् । मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ ।’

    भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ । आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन् । उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

  • लिभरपुलसँग रियल मड्रिड हार्यो

    लिभरपुलसँग रियल मड्रिड हार्यो

    काठमाडौं । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको हो। लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो।

    ५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको गोल निर्णायक भएपछि लिभरपुल विजयी भएको हो। च्याम्पियन्स लिगमा लिभरपुलको यो पाँचौं जित हो। ऊ अहिलेसम्म अपराजित छ। रियलको भने यो लगातार दोस्रो हार हो। अघिल्लो खेलमा एसी मिलानसँग पराजित भएको थियो।

    जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। उसले पाँच खेलबाट १५ अंक जोडेको छ। रियल मड्रिड २४ औं स्थानमा छ। उसको ६ अंक छ। १३ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ। गएराति नै एस्टन भिल्ल र युभेन्ट्सले गोलरहित बराबरी खेले भने रेड स्टार बेलग्रेडले स्टुटगार्टलाई ५–१ गोलले पराजित गरेको थियो।

  • पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको तयारी पुरा

    पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको तयारी पुरा

    काठमाडौं । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्ने तयारी छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए ।


    बाला चतुर्दशी पर्वका लागि रातभर जाग्राम बस्ने भक्तजनका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ ।

    शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिए । पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ ।

    यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।
    मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

  • आज रातीबाट निर्वाचनको मौन अवधि सुरु

    आज रातीबाट निर्वाचनको मौन अवधि सुरु

    काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

    मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।

    आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

    ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

  • इजरायलका लागि छनोट भएका सबै नेपाली कामदार लैजाने तयारी

    इजरायलका लागि छनोट भएका सबै नेपाली कामदार लैजाने तयारी

    काठमाडौं । नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले ‘केयरगिभर’ का लागि छनोट भएका नेपाली कामदारहरू लैजाने प्रतिबद्धता जनाएका छन् । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँगको भेटमा राजदूत बासले इजरायलमा युद्धविरामको घोषणा भइसकेकोले उत्तीर्ण भएका सबै नेपाली कामदारलाई लैजाने जानकारी गराए । सो क्रममा उनले केयरगिभिङका क्षेत्रमा नेपाली कामदार उत्कृष्ट रहेको पनि उल्लेख गरे । साथै, नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायतका अन्य क्षेत्रमा समेत लैजान सकिने बताए ।

    भेटवार्ताका क्रममा नेपाल र इजरायलबीचको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयनको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउन पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

  • बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र

    बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न प्राधिकरणको पत्र

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।

    घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् । आयोगले उद्योगको लाइन काट्नबाहेक अन्य दबाबमूलक कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

  • परराष्ट्र मन्त्री राणा बिहीबार चीनको छेन्दु जाँदै

    परराष्ट्र मन्त्री राणा बिहीबार चीनको छेन्दु जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार राणा बिहीबार छेन्दु पुगेर शनिबार काठमाडौं फर्कने छिन् ।

    त्यसपछि प्रधानमन्त्री ओलीसँग मंसिर १७ देखि २१ सम्म फेरि चीन भ्रमण गर्ने छिन् । परराष्ट्र मन्त्रालयले राणा र वाङ बीचमा द्विपक्षीय कुराकानी हुने उल्लेख गरेको छ । साथै, उक्त अवसरमा बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीको कुराकानी हुने उल्लेख छ ।

  • एनपीएलको उद्घाटन खेलका टिकट सोल्ड आउट

    एनपीएलको उद्घाटन खेलका टिकट सोल्ड आउट

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आगामी शनिबार सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफैँ आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज लिगको चर्चा चुलिएको छ। त्रिवि मैदानका हुने उद्घाटन खेलका लागि क्यानले खुला गरेको १० हजार टिकट तीन दिनअघि बिक्री भएको छ।

    विराटनगर किंग्स र जनकपुर बोल्टबीच हुने उद्घाटन खेलका लागि भाइआइपीतर्फ ८ सय टिकट बिक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। खल्ती एपबाट टिकट बिक्री खुला गरिएकोमा साधारण टिकट पनि सबै बिक्री भएको उनको भनाइ छ।

    क्यानले अरु दिन भने १३ हजार टिकट बिक्री गर्ने योजना बनाएको छ। पहिलो दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रूपैयाँ टिकट दर तोकिएको थियो। पहिलो दिनमा नै टिकट बिक्रीबाट क्यानले ३३ लाख रूपैयाँ बढी कमाइसकेको छ। क्यानले अरू दिनका लागि टिकट बिक्री सुरु गरिसकेको छ।

    अरू दिनको पनि टिकट किन्नेको चाँप बढेको प्रवक्ता लामाले बताए। लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।

    फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ। सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ। मंसिर र १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

  • हनी ट्र्यापमा पारेर रकम असुली धन्दा गरेको अभियोगमा तीन पक्राउ

    हनी ट्र्यापमा पारेर रकम असुली धन्दा गरेको अभियोगमा तीन पक्राउ

    काठमाडौं । हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
    यो समूहले मेडिकल जाँच गर्ने भन्दै हनी ट्रयापमा पारेर रकम असुल्न गरेको प्रहरीले जनाएको छ । भक्तपुरको ठिमीमा वर्षाले घाउ ड्रेसिङ गर्ने भन्दै अनलाइनबाट व्यक्ति सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई रकम असुल्न खोजेको आरोप छ ।

    रकम नदिए बलात्कार कसुरमा फसाइदिन्छ भन्दै १८ लाख रुपैयाँ माग गरिएको थियो । पछि ८ लाख रुपैयाँ दिने सहमति भएको थियो । २५ हजार रुपैयाँ भने पीीडत युवाबाट यो समूहले असुलेको थियो । पछि क्युआरमार्फत थप २५ हजार पीडित युवाले पठाएका थिए । ७५ हजारको चेक समेत ती युवाले यो समूहलाई दिएको थियो । यो समूहका एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

  • अनलाइन जुवामा ५५ करोड कारोबार, एक युवक पक्राउ

    अनलाइन जुवामा ५५ करोड कारोबार, एक युवक पक्राउ

    काठमाडौं । ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

    ललितपुरबाट पक्राउ परेका राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ । पक्राउ परेका राईविरुद्ध जुवा खेल्न नहुने कसुर, अभौतिक मुद्राको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

  • एमाले मन्त्रीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति

    एमाले मन्त्रीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै स्थानीय तहको उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    ‘यो अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिने काम गरेको छ, यसमा हाम्रो घोर आपत्ति छ’ प्रवक्ता सापकोटाले भने, ‘मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’

    बैठकले स्थानीय तहमा एकैसाथ पालिका सम्मेलन गर्ने कार्यविधि तयार गरेको छ । बैठकले निर्वाचन आयोगमा पेश गर्न तीन महलेसँगै समग्र सम्पादन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । ‘पालिका सम्मेलनको कार्यविधि बनेको छ र त्यो अब तल जान्छ’ उनले भने, ‘पालिका सम्मेलन र खबरदारी सभा सँगै गर्ने निर्णय भएको छ ।’

    बीआरआईबारे पहिला नै सम्झौता भइसकेकोले राम्ररी कुरा गरेर त्यसलाई अगाडि बढाउनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिए । ‘दुई थरी बसेर पक्षीय कुराकानी गरेर एउटा निष्कर्ष निकालेर अगाडि बढाउनु उपयुक्त हुन्छ । त्यो देशको हितमा छ,’ उनले भने ।

  • इजरायल र लेवनानबीच युद्धबिराम

    इजरायल र लेवनानबीच युद्धबिराम

    काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ ।

    यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।

  • कीर्तिपुरमा समाजवादीका उम्मेदवारले माओवादी उम्मेदवारलाई समर्थन गर्ने

    कीर्तिपुरमा समाजवादीका उम्मेदवारले माओवादी उम्मेदवारलाई समर्थन गर्ने

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार भानु रिजालले माओवादीलाई समर्थन गर्ने जनाएका छन् । उनले आफ्नो उम्मेदवारी निष्कृय रहेको र माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै रिजालले मंसिर १६ मा हुने कीर्तिपुर नगरपालिका मेयरको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार महर्जनलाई समर्थन गर्न आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका छन् ।

    मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मैले उम्मेदवारी दिएकामा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्कृय गरेको छु,ु रिजालले विज्ञप्तिमा भनेका छन् । कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्राडा शिवशरण महर्जनलाई मतदानु गर्न पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार रिता खड्कालाई मतदान गर्न पनि रिजालले विज्ञप्तिमा लेखेका छन् । कीर्तिपुरको उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । माओवादीबाट मेयर उम्मेदवार र वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार छन् ।

  • आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई परराष्ट्र मन्त्रीको आग्रह

    आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई परराष्ट्र मन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्द्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्द्धनमा लाग्न आग्रह गरेका हुन् ।


    ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीति प्रवर्द्धन गर्नुपर्ने जरूरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई उजागर गरी निर्यात प्रवर्द्धनमा लाग्नुहोला,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

    उनले नियोगमार्फत् हुने आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै संगठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताए ।

    नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरूले आफ्ना उत्पादनहरूलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव थियो । मन्त्री डा राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय ‘प्याकेजिङ’ सहित निर्यात गर्न सुझाव दिए ।
    मन्त्री डा. राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरूका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरूलाई आग्रह गरेका थिए ।

  • एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने

    एनपीएलका खेल युट्युबमा समेत हेर्न पाइने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो। दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

    प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कबाट प्रसारण हुनेछ । प्रतियोगिता यही मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्ने छन् ।

  • धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण

    धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ ग्रहण

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् ।

    अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण क्षमतामा सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले बताए । लगानी र लगानीकर्ताको सुरक्षा, नयाँ प्रोडक्ट सञ्चालन, बजारको पहुँच विस्तार लगायतका कार्यमा आफूले ध्यान दिने उनले बताए ।

  • सरकारले ठोस योजना ल्याउन नसक्दा सामाजिक सुरक्षामा आवद्धता कम भयो : एनआरएनए

    सरकारले ठोस योजना ल्याउन नसक्दा सामाजिक सुरक्षामा आवद्धता कम भयो : एनआरएनए

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सरकारले ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर रहेको बताएका छन् ।

    सामाजिक सुरक्षा कोषको सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखीकरण कार्यक्रम गर्नुभन्दा औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रिया मात्रै सञ्चालन गरेको बताए । यसले विदेशमा रहेका श्रमिकले कोषको महत्त्व नै बुझ्न नसकेको उनको भनाइ छ ।

    ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढीभन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकालाई कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन,’ केसीले भने ।

    उनले विदेश जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाका रूपमा मात्रै सञ्चालन भइरहेको बताए । सोहीकारण ५० लाख बढी नेपाली वाह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै कोषमा आबद्ध भएको उनको भनाइ छ । कोषमा निरन्तर योगदान हुन नसकेको भन्दै उनले ठोस योजना ल्याउन आग्रह गरे ।

  • आइपीएल अक्सनमा के के भयो ?

    आइपीएल अक्सनमा के के भयो ?

    काठमाडौं । आइपीएल २०२५ को अक्सन सम्पन्न भएको छ । यस पटक साउदी अरवको जेद्दामा अक्सन आयोजना गरिएको हो । अक्सनबाट १८२ जना खेलाडी बिक्रि भए । जसमाथि ६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरियो । यस पटक कैंयौं रेकर्ड समेत बने । जसमध्ये केही रोचक आंकडा यहाँ प्रस्तुत गरिएको छ । यस पटक ६२ जना विदेशी खेलाडीले आइपीएलमा आफ्नो स्थान बनाउन सफल भए । यस पटक एक जना पनि नेपाली खेलाडीले आफ्नो नाम टिपाएका थिएनन् ।

    यस पटक ऋषभ पन्त सबैभन्दा महंगो खेलाडी बने । उनलाई लखनऊ सुपर जायन्टले २७ करोड रुपैयाँमा खरीद गर्यो । उता १३ वर्षिय वैभव सूर्यवंशी सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई राजस्थान रोयल्सले १ करोड १० लाखमा किनेको छ । यस पटक श्रेयस अय्यर दोस्रो महंगो खेलाडी बने । उनलाई पन्जाव किंसले २६ करोड ७५ लाखमा किन्यो । वंैकटेश अय्यर तेस्रो सबैभन्दा महंगो खेलाडी बने । उनलाई कोलकाताले २३ करोड ७५ लाखमा किन्यो ।


    यस पटक केही दिग्गज खेलाडी भने बिक्रि भएनन् । जसमा अष्ट्रेलियाका डेविड वार्नर एक हुन् । जोन वेयरेष्टो, केन विलिम्सन, स्वीव स्मीथ, शार्दुल ठाकुरजस्ता ठूला खेलाडी समेत यस पटक बिक्रि भएनन् । यस पटक चेन्नई सुपर किंसले २५ खेलाडी किन्यो । जसमा ७ विदेशी खेलाडी छन् । दिल्लीले २३, गुजरातले २५, कोलकाताले २१, मुम्बईले २३, पन्जावले २५, राजस्थानले २० र बैंलौरले २२ खेलाडी किनेका छन् । सनराइजर्सले २० खेलाडी किनेको छ ।

  • सुनको भाउ एकै दिन झण्डै १६ हजारले घटेपछि..

    सुनको भाउ एकै दिन झण्डै १६ हजारले घटेपछि..

    काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष अर्जुन रसायलीले जानकारी दिए । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

    यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो । चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ थियो । चाँदीमा पनि भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको भन्सार विभागले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेको भन्सार दर २० पुर्‍याएको थियो ।

    उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ । सुनको भाउ घटेसँगै काँचो सुन किन्न चाहनेहरुको संख्या समेत बजारमा बढेको छ ।

  • सिस्टम बिग्रिएपछि माल्टामा सञ्चालन हुने भनिएको राहदानी शिविर स्थगित

    सिस्टम बिग्रिएपछि माल्टामा सञ्चालन हुने भनिएको राहदानी शिविर स्थगित

    काठमाडौं । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

    माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे ।

  • मूख्य कार्यालयबाट राहदानी सेवा सूचारु

    मूख्य कार्यालयबाट राहदानी सेवा सूचारु

    काठमाडौं । बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै विभागले आफ्नो कार्यालयबाट सेवा लिने गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि एक–दुई हप्ता लाग्न सक्ने विभागको भनाइ छ ।

    जिल्ला–इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा सेवा थाल्न भोलिदेखि परीक्षणको काम थालिने विज्ञप्तिमा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइको काम नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला\ईलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागले जानकारी दिएको छ ।

    आ–आफ्नो जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि सम्पर्क गर्नुहुन समेत सूचित गरिएको छ । ‘सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।’

  • रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै

    रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै

    काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने सम्भावना छ ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

    लामिछानेलाई पछिल्लोपटक मंसिर ९ गते १५ दिन म्याद थप भएको छ । १५ दिनको म्याद मंसिर ८ गतेदेखि गणना हुने छ । लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरु पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

    चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरुलाई छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।

    गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारी संस्थालाई ब्याजस्वरुप चेक काटेर रकम दिएको फेला परेको प्रहरी स्रोतको दाबी छ । तर लामिछानेले भने हस्ताक्षरसहितको चेक आफूले टेबुलको घर्रामा राख्ने गरेको र कसैले त्यसको दुरुपयोग गरेको हुनसक्ने जिकिर गरेका छन् ।

  • इमरान खानका हजारौं समर्थक सडकमा, के छ माग ?

    इमरान खानका हजारौं समर्थक सडकमा, के छ माग ?

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी इस्लामावादमा मात्रै दशौं हजार समर्थकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र खान समर्थक प्रदर्शनकारीबीच झडपहरू भएका छन् । त्यसक्रममा प्रहरीले प्रदर्शनकारविरुद्ध अश्रु ग्यास हान्नुका साथै सयौंलाई पक्राउ गरेको छ ।

    इस्लामावादको प्रदर्शन तथा र्‍यालीको नेतृत्व खानकी पत्नी बुशरा बीबीले गरेकी छन् । त्यसक्रममा बीबीले पूर्वप्रधानमन्त्री खानलाई रिहा नगरिएसम्म प्रदर्शन जारी रहने बताएकी छन् । ‘जबसम्म खान हामीबीच आउँदैनन्, हामी यो विरोध प्रदर्शन अन्त्य गर्दैनौं,’ उनले भनिन् । जनवरीमा खानसँगै सजाय सुनाइपछि जेल परेकी बीबी अक्टोबर अन्त्यमा जमानतमा रिहा भएकी हुन् । ‘यो मेरो श्रीमानको मात्र कुरा होइन, यो देश र यसका नेताको कुरा हो, ‘र्‍यालीलाई सम्बोधन गर्दै उनले भनिन्, म मेरो अन्तिम सास सम्म उभिनेछु र तपाईंहरूले मलाई साथ दिनुपर्छ ।’

    देशका विभिन्न स्थानबाट खानका समर्थकहरू भेला हुन थालेपछि अधिकारीहरूले राजधानी जोड्ने राजमार्गहरू अवरुद्ध गरेका छन् । कतिपय क्षेत्रमा मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरिएको छ । खानको पार्टी पाकिस्तान तेहरिक–ए–इस्लाम (पीटीआई) को गढ रहेको खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री अली अमीन गण्डापुरको नेतृत्वको विशाल र्‍याली आइतबार दिउँसो पेशावरबाट इस्लामावादतर्फ अघि बढेको थियो ।

    पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार उक्त र्‍याली केही घण्टामा नै इस्लामावाद पुग्ने जनाएका छन् । यसअघि खानले आफ्ना समर्थकहरूलाई अन्तिम विरोधका लागि आग्रह गरेका थिए । सरकारले आफ्ना मागहरू सम्बोधन नगरेसम्म खानले समर्थकहरूलाई राजधानीमै बस्न आव्हान गरेका छन् ।

    आइतबार राति पनि खान समर्थकहरूले कतिपय स्थानमा खानको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए । ७२ वर्षीय खानले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका छन् । तर उनले आफूमाथि सुनियोजित तवरले मुद्दा लगाइएको बताउँदै आएका छन् ।

    कानुनी रूपमा दोषी ठहर गरिएको भएपनि उनी पाकिस्तानमा अझै लोकप्रिय छन् । गत सेप्टेम्बरमा पनि दशौं हजार खान समर्थकले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । खानको रिहाइको माग गर्दै प्रदर्शनकारीहरू राजधानी इस्लामावादतर्फ अघि बढेपछि सरकारले जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । तर प्रदर्शनकारीले सरकारी प्रतिबन्धको उल्लंघन गरेका थिए ।

  • प्रधानमन्त्रीको चीन भ्रमणबारे नेताहरुले के दिए सुझाव ?

    प्रधानमन्त्रीको चीन भ्रमणबारे नेताहरुले के दिए सुझाव ?

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बोलाएको पूर्वप्रधानमन्त्रीहरुकोसँगको छलफलमा उनले आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।


    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिमरुप दिने बताइन् । उनले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताइन् ।

    छलफलमा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यका बाहिर रहेका कारण अनुपस्थित भए । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारे ।

  • पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले के भने ?

    पूर्वप्रधानमन्त्रीहरुसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको भन्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।”

    उनले अगाडी भने, “हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्छौँ । त्यस कारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) का बिचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।”

    उनले चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए ।

    उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने बताए ।

  • एनपीएलको टिकट दर सार्वजनिक

    एनपीएलको टिकट दर सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ ।

    त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।

  • कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त

    कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त

    काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

    तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए । पछि मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

    अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै काठमाडौं प्रहरीले पूर्वमन्त्री अधिकारीलाई २६ कात्तिकमा बिराटनगरस्थित उनको निवासबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । तर, मुद्दा बुझाउने बेला आधार प्रमाणहरु हेर्दा उनलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै सरकारी वकिलले अन्य ११ जनालाई मात्र प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।