Category: समाचार

  • परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत

    परराष्ट्र मन्त्री देउवाको चीन भ्रमण स्वीकृत

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।

    उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन् । परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

  • जलवायु परिवर्तनसँग जुध्न धनी देशले विकाससिल देशलाई वर्षेनी ३ सय अर्ब डलर दिने वाचा पुरा होला ?

    जलवायु परिवर्तनसँग जुध्न धनी देशले विकाससिल देशलाई वर्षेनी ३ सय अर्ब डलर दिने वाचा पुरा होला ?

    काठमाडौं । धनी देशले विकासोन्मुख देशलाई जलवायु परिवर्तनको तयारी रोकथामका लागि सघाउन भन्दै हालसम्मकै उच्च ३०० अर्ब डलर दिने बाचा गरेका छन्। अजरबैजानमा आयोजित राष्ट्रसङ्घीय जलवायु सम्मेलन सीओपी २९ मा त्यसबारेको छलफल ३३ घण्टा लम्बिएको थियो र त्यो विफल हुने सङ्घारमा पुगेको थियो। राष्ट्रसङ्घीय जलवायु निकायका प्रमुख साइमन स्टिलले भने “यात्रा कठिन भए पनि हामीहरूले सम्झौता गरेका छौँ।” तर ती वार्ताहरू गत वर्ष पारित गरिएका समझदारीमा अडिग रहन विफल रह्यो जसमा देशहरूलाई “फोसिल इन्धनबाट पर जाने तयारी थाल्न” आह्वान गरिएको थियो।

    अफ्रिकी समूहका वार्ताकारहरूले त्यस रकमलाई धेरै ढिलो, धेरै कम बताए । भारतीय प्रतिनिधिले मामुली मात्रा भने। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले आफ्नो अपेक्षा त्योभन्दा अझ महत्त्वकांक्षी नतिजामा रहेको बताए। अमेरिका, ब्रिटेन र ईयूले भने सम्झौताको स्वागत गरेका छन्। आइतवार दिउसो विकासोन्मुख देशहरूसहित जलवायु परिवर्तनको खास जोखिममा रहेका राष्ट्रहरू वार्ता छाडेर निस्किएका थिए। साना टापुहरूको देशको एक अलाइन्सकी अध्यक्ष सेडरिक चुस्टरले भनेः “हाम्रा टापुहरू डुबिरहेका छन् भन्दा मैले बढाइचढाइ गरिरहेकी छैन, यस्तो कमजोर सम्झौतासाथ हामी हाम्रा देशका मानिसहरूसँग फर्किउम् भन्ने कसरी अपेक्षा गर्न सक्नुहुन्छ ?”

    तर स्थानीय समय अनुसार आइतवार दिउसो तीन बजे सम्झौतामा केही परिवर्तन गरिएपछि देशहरूले त्यसलाई अन्ततः पारित हुँदा त्यसलाई ताली र गडगडाहटसाथ स्वागत गरिएको थियो। यद्यपि भारतका तर्फबाट आएको चर्को मन्तव्यले व्यापक निराशा अझै कायम रहेको दर्साउँथ्यो। “हामी यसलाई स्विकार्न सक्दैनौँ‘ प्रस्तावित लक्ष्यले हाम्रो केही कुरा समाधान गर्दैन। यो हाम्रा देशहरूको अस्तित्वका लागि आवश्यक जलवायु कदम अनुकूल छैन,” उक्त रकमको आकार निकै सानो रहेको बताउँदै लीला नन्दनले सम्मेलनमा भनिन्।

    स्वीट्जरल्याण्ड, माल्दिभ्स, क्यानडा र अस्ट्रेलियाले विश्वव्यापी रूपमा फोसिल इन्धनको प्रयोग घटाउनेबारे व्यक्त भाषा निकै कमजोर रहेको भन्दै विरोध जनाए। बरु उक्त निर्णय सन् २०२५ को आगामी जलवायु वार्तासम्मलाई पर सारियो। अजरबैजानको राजधानी बाकुमा सन् २०२४ को जलवायु सम्मेलन आयोजना गरिएको हो । गरिब देशहरूले जलवायु परिवर्तनबाट त्यसका लागि ऐतिहासिक रूपमा गरेको योगदानको तुलनामा बढ्ता मार खेपिरहेको स्विकार्दै त्यस्तो अतिरिक्त रकम दिने बाचा गरिएको हो।

    नयाँ बाचा अनुसारको यस रकम सरकारी अनुदान र ब्याङ्क र व्यवसायजस्ता निजी क्षेत्रमार्फत आउनेछ। जसले देशहरूलाई नवीकरणीय ऊर्जाको प्रयोगका लागि फोसिल इन्धनबाट छुटकारा पाउँदै जान सघाउनेछ। उक्त सम्मेलनमा जलवायु परिवर्तनको तयारीमा खर्च हुने रकम तीन गुणाले बढाइने प्रतिबद्धता समेत व्यक्त भएको छ। ऐतिहासिक रूपमा जलवायु परिवर्तनका लागि उपलब्ध हुने ४० प्रतिशतजति सहायता मात्र त्यसतर्फ जाने गरेको छ।


    ३०० अर्ब डलरको बाचा गरिरहँदा देशहरूले सन् २०३५ सम्ममा जलवायु परिवर्तन रोकथाममा सघाउनका लागि १.३ ट्रिलियन डलर चाहिनेमा सहमत भएका छन्। यस वर्ष अहिलेसम्मकै तातो वर्ष हुने लगभग निश्चित देखिन्छ। यसबीचमा ठूला उष्णलहर र घातक आँधीहरू सामना गरिएका छन्।
    बीबीसीको सहयोगमा

  • उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा सिफारिस

    उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

    आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्न सार्वजनिक बिदा दिन भनेको हो ।

    स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन समेत आयोगले भनेको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।

    आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

    मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ । उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

    आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन’, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ । यही मंसिर १६ गते आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । आयोगले सबै मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ ।

  • चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

    चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए ।

    सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए ।

    सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

  • आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि

    आइपीएलमा खेलाडीमाथि करौडौंको दाउ, पन्त २७ करोडमा बिक्रि

    काठमाडौं । आइपिएल २०२५ का लागि मेघा अक्सन आइतबारबाट सुरू भएको छ। विभिन्न आठ टोलीले अक्सन सूचीमा समावेश ५७७ खेलाडीका लागि बोली लगाइरहेका छन्। दुई दिनसम्म चल्ने अक्सनमा पहिलो दिनमा कीर्तिमानी रकममा विकेकिपर ब्याटर ऋषभ पन्त बिक्री भएका छन्। उनलाई लखनउ सुपर जायन्टले कीर्तिमानी रकम २७ करोड भारूमा टोलीमा आबद्ध गरेको छ ।

    त्यसको केहीबेरअघि ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए। उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो। यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो। अर्शदीप सिंहलाईे १८ करोड भारूमा पञ्जाबले किनेको छ । कागिसो रबाडालाई १०.७५ करोड भारूमा गुजरातले किनेको छ । जोस बटलरलाई १५.७५ करोड भारूमा गुजरातले किनेको छ ।

  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

    महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

  • सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी

    सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी

    काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा एक दम्पत्ति मृत भेटिएका छन् । दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । मृत भेटिएका दम्पत्तिमा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती हुन् । उनीहरुको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । सुनसरीबाट काठमाडौं आइपुगेका बाबुआमालाई समेत उनीहरू नेपाल आएको भन्ने जानकारी नरहेको अनुसन्धानबाट खुलेको छ । छोरा–बुहारीले आफूहरू नेपाल आउनका लागेको भन्ने केही जानकारी नगराएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।

    मृतक दम्पतीले २ वर्षअघि सन् २०२२ मा क्यानडा जाँदा २ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएको खुलेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । सुनसरीबाट मृतकका बाबुआमा आउँदा उनीहरूले नाती समेत काठमाडौं लिएर आएका थिए । मृतक दम्पतीका ती छोरा अहिले ४ वर्षका छन् । घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।

  • फोहोरको जरिमाना सम्बन्धी पत्र एमालेले बुझ्न मानेन

    फोहोरको जरिमाना सम्बन्धी पत्र एमालेले बुझ्न मानेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिमाना पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिमाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरु आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।


    गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो । हानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ । एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली केहीबेर कार्यालय परिसरमा रोकिएर फर्किएको छ ।

  • नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने

    नेपाल एयरलाइन्सले माथिल्लो दरको टिकट नबेच्ने

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ । निगमले आइतबार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो ।

    ‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘यसबाट यात्रुलाई सहज हुने विश्वास छ ।’ निगमले उपलब्ध गराएको भाडा दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए नियमानुसार कडा कारबाही गर्न सप्रमाण जानकारी गराउन आग्रह गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ कात्तिकदेखि विभिन्न निर्माणका काम जारी रहेका कारण दैनिक १० घण्टा उडान बन्द हुँदै आएको छ । यही मौकामा हवाई टिकटमा ठगी र कालोबजारी भइरहेको गुनासो यात्रुबाट आएपछि सरकारले सबै अन्तर्राष्ट्रिय वायुसेवालाई हवाई भाडा पुनरावलोकन गर्न आग्रह गर्दै आएको छ ।

  • सरकारले घटायो भन्सार दर

    सरकारले घटायो भन्सार दर

    काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

    चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको बताइएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो ।


    उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

  • गौरवका आयोजनाबारे प्रधानमन्त्रीले लिए व्रिफ्रिङ

    गौरवका आयोजनाबारे प्रधानमन्त्रीले लिए व्रिफ्रिङ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ ।

    ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् । हालसम्म ८० प्रतिशत प्रगति भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना र पशुपति क्षेत्र विकास कोष रहेका छन् भने ५० देखि ८० प्रतिशत सम्पन्न भएका आयोजनामा पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण कोशी कोरिडोरमार्ग, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना, लुम्बिनी विकास कोषलगायत छन् ।

    अन्य आयोजना १० देखि ५० प्रतिशतको प्रगतिको स्थितिमा छन् भने १० प्रतिशतभन्दा कम काम भएका आयोजनामा बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

    बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिन के(के गर्न सकिन्छ ? वर्तमान सरकार आएपछि नयाँपनका साथ कामलाई गति दिन के(के नयाँपन गरियो ? भन्ने विषयमा आयोजना प्रमुखहरुबाट सुझाव लिएका थिए । प्रधानमन्त्री ओलीले सधैं झैं काम गरेर नपुग्ने भएकाले नयाँ र परिवर्तित सोचका साथ उत्पादन र रोजगारी वृद्धि गर्नेगरी आयोजना अघि बढाउन आवश्यक रहेकाले उत्पादन गर्न सम्भव हुने क्षेत्रमा मुलुकलाई आत्मनिर्भर गराउन किन नसक्ने भन्ने प्रश्नलाई ध्यानमा राख्नुपर्ने बताए ।

    छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, खानेपानीमन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र आयोजना प्रमुखहरूको सहभागिता रहेको थियो ।

  • भारतीय सेनाध्यक्षले गरे मुक्तिनाथमा पूजाअर्चना

    भारतीय सेनाध्यक्षले गरे मुक्तिनाथमा पूजाअर्चना

    काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । मुस्ताङमा रहेको मुक्तिनाथमा उनले पूजाअर्चनासमेत गरे । त्यस्तै द्विवेदीले आजै पोखरामा रहेको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।

  • राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

    राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

    काठमाडौं । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध भएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस पसेको अनुमान गरिएको छ । त्यसपछि सेवा अवरुद्ध हुन पुगेको राहदानी विभागले जनाएको छ । राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प छ । नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै काम रोकिएको छ ।

    सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध छ । सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा समेत प्रभावित बनेको हो । विभागले राहदानीको तथ्याङ्क व्यवस्थापन प्रणालीमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जानकारी गराएको छ । विभागमा दैनिक झन्डै छ हजार पाँच सय प्रति विद्युतीय राहदानीका लागि आवेदन आउने गरेको छ ।

  • टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति

    टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति

    काठमाडौं । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क विश्वमा सबैभन्दा धनी व्यक्ति हुन् । उनको पुनरागमन यसमा मात्र सिमित छैन, उनी मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयी भएसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।


    फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई पछिल्लो साढे तिन वर्षयताकै उच्च पुगेको छ । यसको मूल्य प्रतिशेयर ३५२ डलर नाघेको छ । मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको छ ।

    विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ । मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत शेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो ।

    अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ र त्यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ । त्यस्तै दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ । स्पेस एक्समा मस्कको शेयरहिसा ४२ प्रतिशत रहेको छ । अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनकोभन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ ।

    त्यसयता टेस्लाको ४० प्रतिशतले बढेको छ । आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताहरुको मनोबल बढेको छ । वालस्ट्रिट जर्नलका अनुसार आगामी ट्रम्प प्रशासनले टेस्लालगायतका कम्पनीलाई फाइदा पुग्नेगरी नीति अख्तियार गर्नेछ ।

  • अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो

    अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो

    काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार २२ नोभेम्बर मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले लेखेको छ । मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ।

    कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ। त्यहाँको प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।

    त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको पनि नेपालमदरको समाचारमा उल्लेख छ। त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ।

  • विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

    विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट


    काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएकाे थियाे । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएकाे हाे । प्रतिव्यक्ति २ सय रूपैया शुल्क ताेकिएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने साे रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएकाे छ ।
    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहिबार बसेकाे मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।
    सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ।
    त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।
    त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।

  • सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित एक जना पक्राउ

    सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित एक जना पक्राउ

    काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३–००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उक्त गाडी चितवनबाट हेटौंडासिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

  • भारतमा १० माओवादी विद्रोहीको झडपमा परी मृत्यु

    भारतमा १० माओवादी विद्रोहीको झडपमा परी मृत्यु

    काठमाडौं । भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हाल सम्म दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको जनाइएको छ भने विद्राह छत्तीसगढ राज्यको दुर्गम जङ्गल क्षेत्रमा भएको थियो ।


    ‘अहिलेसम्म दश जना माओवादीको शवका साथै विद्रोहीबाट धेरै स्वचालित हतियारहरू बरामद गरेको’ प्रहरीको माओवादी विरोधी कारबाहीका प्रमुख विवेकानन्द सिन्हालाई उदृत गर्दै एएफपीले जनाएको छ । यसैबीच भारतका गृहमन्त्री अमित शाहले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘पूर्ण आक्रमण’ को सामना गर्न चेतावनी जारी गरेका छन् । सरकारी तथ्याङ्क अनुसार सुरक्षा बलले गरेको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोहीको मृत्यु भएको छ ।

  • शंकर पोखरेलको आरोप : बालेन एमालेविरुद्ध परिचालित छन्

    शंकर पोखरेलको आरोप : बालेन एमालेविरुद्ध परिचालित छन्

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    आयोजकले नै सफा गरिसकेको अवस्थामा पनि जरिवानाको पर्चा पठाउनुले नै मेयर बालेन एमालेविरुद्ध परिचालन भएको बुझ्न सकिने उनको दाबी छ । ‘काठमाडौं महानगरका मेयर वालेन नेकपा९एमाले०का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’

    महानगरले जरिवाना पर्चा सार्वजनिक गरेको समयमा स्वयंमसेवकहरु कार्यक्रमस्थलमै फोहर संकलन गरेर गाडीमा राखिरहेको, मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम भइरहेको उनले बताएका छन् । ‘तर पनि मेयरको ध्यान सरसफाइमा नभई जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो’, उनले लेखेका छन् । महासचिव पोख्रेलले एमालेको जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि भएको उल्लेख गरेका छन् ।

  • दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना

    दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
    फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिकालाई जरिवाना रकम तिर्नुपर्नेछ । एमालले आज शक्ति प्रदर्शन गरेको हो ।

  • काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

    काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

    काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २ सय अर्थात ४०.२४ प्रतिशत व्यवसाय नै दर्ता नगराइ पसल सञ्चालन भएको पाइएको छ । यसरी अनुगमन गरिएका पसलमध्ये ४ सय ३८ किराना, १८ मिठाइ, १९ ड्राइ फुड, ७ मसला र १५ डेरी पसल थिए ।

    अनुगमन प्रतिवेदन अनुसार २९ कात्तिकदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेस्टुरेन्ट अनुगमन क्रममा ५२ व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा (८६.५८ प्रतिशत) मा व्यक्तिगत सरसफाइ कमी देखिएको थियो । ४० वटा (७६.९२ प्रतिशत) को भान्सा र कार्यस्थल सरसफाइमा कमी देखियो । १३ वटा (२५ प्रतिशत) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो । बिहीबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव एवं कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेस गर्दै यससम्बन्धी जानकारी दिएका थिए ।

    ‘बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचप, जामजस्ता खाद्यवस्तुमा म्याद सकिएको भेटिएको छ । रसायन भएका वस्तुसँगै खाद्यवस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसर सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढकतराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए,’ प्रतिवेदनमा छ ।

    यस्तै मिठाइ पसलमा स्वीकृत कोलटार रङ प्रयोग गरिए पनि मात्रा नमिलाएको, तेल बारम्बार प्रयोग गरिएको, मिठाइमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडा सरसफाइमा उचित ध्यान नदिइएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

  • उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा निजी क्षेत्र समेत समावेश

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा निजी क्षेत्र समेत समावेश

    काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थप गरिएका सदस्यलाई नियुक्तिपत्र र कार्यादेश प्रदान गरे ।

    अर्थमन्त्री पौडेलले नवनियुक्त सदस्यलाई बधाई दिँदै आयोग अर्थतन्त्रका समस्या पहिचान र समाधान उपाय पहिल्याउन सक्षम हुने विश्वास व्यक्त गरे । आयोगमा निजी क्षेत्रको सहभागिताले अपनत्व बढ्नुका साथै जिम्मेवारी पनि थपिएको बताए । उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालले देश बनाउने कार्यमा निजी क्षेत्रलाई समावेश गरेकोमा सरकारलाई धन्यवाद दिँदै अर्थतन्त्र सबल बनाउन सक्षम हुने विश्वास व्यक्त गरे ।

    परिसंघ अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा आमुल परिवर्तन महसुस हुने गरी योगदान पुर्‍याउन सक्ने बताए । चेम्बर अध्यक्ष अग्रवालले आयोगमा निजी क्षेत्र समावेश गराएकोमा धन्यवाद दिँदै आफूहरूलाई जिम्मेवारी थपिएको र जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्ने बताए । आयोग अध्यक्ष रामेश्वर खनालले एक महिनामा गरेका गतिविधि र आगामी कार्यक्रमबारे जानकारी गराए ।

    अर्थतन्त्र सुधारका लागि सुझाव दिन अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले गत असोजको तेस्रो हप्ता पूर्व अर्थसचिव खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो । आयोगको सदस्यमा राष्ट्रिय योजना आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा। विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा। कल्पना खनाल छन् ।

  • हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

    हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

    काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मका उडानमा उच्च हवाई भाडा लिएको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै हिमालयले उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने घोषणा शुक्रबार गरेको हो ।

    कम्पनीका अनुसार ‘वाई’ क्लास भाडा नर्मल इकोनोमी क्लासकोे उच्चतम श्रेणीको भाडादर हो । यात्रुलाई सहज भाडादर उपलब्ध गराउन ६ मंसिरदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट नबेच्ने निर्णय भएको हो । हिमालयले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन तथा नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा २५ कात्तिकदेखि अर्को सूचना जारी नहुन्जेल सबै ‘ग्रुप टीबीए’ (सामूहिक खरिद) बुकिङ निलम्बन गरिसकिएको छ । हिमालयले सबै ट्राभल एजेन्सीलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकेको जनाएको छ । त्यस्तै ट्राभल एजेन्सीलाइ सातामा कम्तीमा दुई पटक इमेल पठाइरहेको र कसैले कालोबजारी गरेको भेटिए कानुनी कारबाही गरिने कम्पनीको भनाइ छ ।

  • २०८४ मङ्सिर सम्म यहि समीकरण रहन्छ : प्रधानमन्त्री

    २०८४ मङ्सिर सम्म यहि समीकरण रहन्छ : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

    ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’

    प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।

    तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए ।

    ‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, मेरो अवधि म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।’

  • प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

    प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । जसलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने छ । एमालेले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको दावि गर्दै आएको छ । उसको प्रदर्शनले आज दिनभर सडक भने प्रभावित हुनेछ ।

  • पाकिस्तानमा बसमा अन्धाधुन्ध आक्रमण, कम्तिमा ४१ जना मारिए

    पाकिस्तानमा बसमा अन्धाधुन्ध आक्रमण, कम्तिमा ४१ जना मारिए

    काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् ।

    आक्रमणको जिम्मा कसैले लिएको छैन । बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।

  • सभामुख घिमिरे आज कम्बोडिया जाने

    सभामुख घिमिरे आज कम्बोडिया जाने

    काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ ।

    सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।

  • मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
    प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।

    दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    दुई मोटरसाइकलमा चार जना सवार थिए । ओभरटेक गर्न खोज्दा दुई वटा मोटरसाइकल ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

  • भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

    भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी चिन्ह प्रदान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
    राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन् । उक्त मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत थिए । नेपाल र भारतका सेनाबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान गर्ने परम्परा छ ।

  • विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन

    विदेश जाने हवाई टिकटमा कृतिम अभाव भएको बारे छानविन गर्न समिति गठन

    काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।

    हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए । सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।