Category: समाचार

  • झापामा एक महिला मृत फेला

    झापामा एक महिला मृत फेला

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् ।

    छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो । गंकुमारीका श्रीमान भारतमै बस्दै आएको वडाध्यक्ष आङ्गबोले बताए । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।

  • रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला

    रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला

    काठमाडौं । रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति समेत मृत भेटिएका छन् । अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१ वर्षीय चन्द्रसिंह पुन पनि भूमे ४ को खुल्खुले खोलाको खोंचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलले जानकारी दिएका छन् ।

    ढाटी र समीरको हत्याको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चन्द्रसिङ पुनको शव पनि फेला पारेको हो । तीनैजनाको शवको मचुल्का उठाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले बताएा छन् ।

  • धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

    धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

    काठमाडौं । धनगढीमा ड्यूटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राती ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै एक व्यक्तिले हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिएको छ ।

    प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।

  • नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै

    नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भएको छ । मंगलबार राति अबेर मतदान सकिएको हो । ‘राति १२ बजे तिर मतदान सकिएको थियो । नेताहरुका अनुसार मत गणना बुधबार बिहानबाटै सुरु गर्ने तयारी छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको छ ।

    अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं भिडेका छन् । महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष उम्मेदवार बाबुराम भट्टराईले मतदानपछि झन्डै ५ दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताए ।


    ‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकता सहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास’, उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन्।

  • चन्द्रागिरिमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु

    चन्द्रागिरिमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु

    काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ टौखेल सालिक मार्गस्थित सुमित्रा शर्मा पौडेलको घरको कम्पाउन्डमा इनार खन्ने क्रममा पुरिएर एक जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार माथिबाट माटो खसेर पुरिँदा अचेत अवस्थामा उद्धार गरी घाइतेलाई तत्काल उपचारको लागि सतुंगलस्थित नेपाल एपिएफ अस्पताल लगिएको थियो।

    प्रवक्ता बोहोराका अनुसार मृत्यु हुनेमा सुनसरी इनरूवा गा.पा. ५ घर हुने ४० वर्षीय लिडे उराउ छन्। कामदार पुरिएको सूचना प्रहरीले पाएपश्चात् प्रहरी निरीक्षक माधव प्रसाद चौधरी, प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको कमाण्डमा २० जना टोली परिचालित थियो।

  • भ्रष्टाचार सूचकांकमा खस्कियो नेपालको स्थिति

    भ्रष्टाचार सूचकांकमा खस्कियो नेपालको स्थिति

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालको अवस्था गतवर्षभन्दा खस्किएको छ । गत वर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपाली ३४ अंक सहित १०७ औ स्थानमा छ ।

    गत वर्ष नेपालभन्दा राम्रो अवस्था भएका केही मुलुकहरुको अवस्था खस्किएकाले वरीयताक्रममा मात्रै नेपाल एक स्थानमा अगाडि भएको हो । ‘अहिले विश्वव्यापी सूचकांकको औसत अंक नै ४३ हो । त्यसमा पनि ५० अंकभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुक मानिन्छ’, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अध्यक्ष मदनकृष्ण शर्माले भने, ‘२र३ अंक सुधार हुनुलाई पनि सामान्य मानिन्छ । तर नेपालको अवस्था सुधारोन्मुख छैन ।’

    ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा भ्रष्टाचार बढेको भन्ने आम बुझाइले नेपालको अवस्था थोरै खस्किएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारमाथि आम धारणा बटुल्ने क्रममा आफै सर्वेक्षण गर्दैन ।

    विभिन्न संस्थाहरुले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका वारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ । विभिन्न निकायहरुले गरेको सर्वेक्षणलाई विश्लेषण गरेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्छ ।

  • अर्थसचिव उपाध्यायको स्वागत, घिमिरेको बिदाई

    अर्थसचिव उपाध्यायको स्वागत, घिमिरेको बिदाई

    काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत र यसअघि सचिव डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव उपाध्यायलाई अर्थमा र अर्थ सचिव घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

    कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन इमान्दारीपूर्वक योगदान गरेको उल्लेख गर्दै उनको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताए ।


    अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव घिमिरेले विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिका प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन आफूले सदा सहयोग गर्ने बताए ।

  • रुग्ण उद्योग साझेदारीको ढाँचामा सञ्चालनको ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह

    रुग्ण उद्योग साझेदारीको ढाँचामा सञ्चालनको ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रसँग प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनमा ल्याउनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरेका हुन् ।

    उनले मुलुकमा कानुनहरू सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमिता पाइएमा निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराए । उनले मुलुकमा पैसा भएर मात्रै विकास नहुने भएकाले पैसा आर्जनका लागि विकास गर्नुपर्ने सोचका साथ लाग्नुपर्नेमा जोड दिए । परिषद्का सदस्यहरूले सार्वजनिक–निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगवृद्धि, व्यापार घाटा कम गर्ने, अध्यादेशहरूको कार्यान्वयन, निर्माण व्यवसाय र आयोजना छिटो सम्पन्न गर्ने विषयमा आफ्ना राय–सुझाव दिएका थिए ।

    सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्‍याउन ५ असोज २०७५ को मन्त्रिपरिषद् निर्णय बमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो । परिषद्को सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ लगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को बैठक भएको हो ।

    बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयास, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभाव, विकास निर्माणमा भएका प्रगति, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो । बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।

    बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

  • गोसाइँकुण्डको जमेको पानीमाथि किन लगाइयो हिड्न प्रतिवन्ध

    गोसाइँकुण्डको जमेको पानीमाथि किन लगाइयो हिड्न प्रतिवन्ध

    काठमाडौं । रसुवाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ। पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए ।

    पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ ।

    स्थलगत पैदलयात्रा तथा हेलिकोप्टरबाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्ने थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयको भनाइ छ । पण्डित तथा पुरोतिहरूले देवताका पनि देवता महादेव भगवान् शिव विराजमान रहेको स्थानमा पुण्य कमाउन जाने भक्तजनसहित अन्य सर्वसाधारण कुण्डमाथि हिँड्नु धार्मिक दृष्टिले शुभकार्य नरहेको उल्लेख गर्दै जानअन्जानमा यसरी कुण्डमाथि हिँडिसकेकाले घर नजिकको जलाशयमा गई महादेवको प्रतीक स्थापना गरेर क्षमापूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताए ।

    एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्नसक्ने डर र अर्कोतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहेकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्ने समेत स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि बाह्रै महिना भक्तजन पुग्ने गर्दछन्।

  • दक्षिण कोरियामा बेरोजगारी दर कम

    दक्षिण कोरियामा बेरोजगारी दर कम

    काठमाडौं । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ ।

    गत वर्ष रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या अक्टोबरमा १२।४ प्रतिशत, नोभेम्बरमा २।२ प्रतिशत र डिसेम्बरमा ९।० प्रतिशतले वृद्धि भएको थियो । व्यावसायिक, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा आवेदकहरूको कमी आएको तर निर्माण उद्योगमा यो दरमा सामान्य वृद्धि भएको छ ।

    दक्षिण कोरियामा बेरोजगारहरूलाई रोजगारी खोज्न मद्दत गर्न सरकारले सहयोग प्रदान गर्छ र यो राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । जनवरीमा रोजगारीको लाभ प्राप्त गर्नेहरूको सङ्ख्या कुल छ लाख रहेको थियो र यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो । रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको कुल भुक्तानी ३.८ प्रतिशतले बढेर ९७४.७ बिलियन वोन (६७०.१ मिलियन अमेरिकी डलर) पुगेको छ । रासस–सिन्ह्वा

  • कतारमा गैरकानूनी बसेका आप्रवासीलाई घरफिर्तिको अवसर

    कतारमा गैरकानूनी बसेका आप्रवासीलाई घरफिर्तिको अवसर

    काठमाडौं । कतारमा अलेखबद्ध ९भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका० रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ । कतारको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयको सूचनालाई उद्धृत गर्दै कतारमा रहेको नेपाली दूतावासले अलेखबद्ध नेपाली श्रमिकलाई तीन महिनाभित्र घर फर्किन सक्ने योजनालाई अवसरका रूपमा लिन आग्रह गरेको हो ।

    दूतावासका अनुसार कतार सरकारले कतारको कानुनमा भएको व्यवस्थाबमोजिम प्रवेश वा आवासीय अनुमतिसम्बन्धी व्यवस्था उल्लङ्घन गरी कतारमा बसिरहेका आप्रवासीले स्वदेश फर्किन तीन महिनाभित्रमा आवेदन दिन सक्ने छन् । यस अनुसार भिसाको म्याद सकिएर कागजातविहीन भएका कतारमा बसिरहेकाका लागि स्वदेश फिर्ती सहज हुने छ । यस्तो सेवा लिन चाहनेले दोहास्थित नेपाली दूतावासमा सम्पर्क गरी प्रक्रियाका विषयमा जानकारी लिनसमेत दूतावासले आग्रह गरेको छ ।

  • संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

    संसद बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

  • हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ

    हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने र हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका हुन् ।

    हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषयमा इजरायलको तर्फबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको छ । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो ।

    हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पुर्‍याइरहेको आरोप लगाएको छ ।

  • हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?

    हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?

    काठमाडौं । हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो ।

    हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा गरिए पनि नयाँ घोषणसँगै अन्यौल छाएको छ । हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले लेखेको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ ।

    हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’ इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

    हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शनिबार हमासले बन्धकहरु रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने र हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका छन् ।

  • अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू

    अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू

    काठमाडौं । चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो । चीनले फेब्रुअरी ४ तारिखमा यस्तो योजना घोषणा गरेको थियो । अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर रहेको छ । यस्तै अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा १० प्रतिशत आयात शुल्क लगाएको छ ।

    यस्तै चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ । तीमध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि नभइ नहुने सामग्री हुन् । चीनले अघिल्लो हप्ता अमेरिकी प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धमा अनुसन्धान पनि शुरु गरेको छ । यसैबीच आज अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्ले जुनसुकै देशबाट अमेरिका भित्रने स्टील र अल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् । यसले अमेरिका–चीन व्यापारमा थप असर गर्नेछ । चीन विश्वका प्रमुख स्टील र अल्मुनियम उत्पादक देशहरुमध्ये एक हो ।

  • कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध

    कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् । भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।

    ‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई छलेर जान खोजियो भने निरंकुशता हावी हुन्छ । त्यसैले अध्यादेशबाट देश चलाउने संस्कार त्यागेर संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।’

    नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् । कांग्रेस नेता एनपी साउद, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतका नेताले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेका थिए ।

  • नो केवलकार समूह र सरकारबीचको वार्ता असफल, थप आन्दोलनका कार्यक्रम घोषणा

    नो केवलकार समूह र सरकारबीचको वार्ता असफल, थप आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं । वार्ताप्रति सरकार संवेदनशील नबनेको र आन्दोलनरत पक्षलाई थकाउने रणनीतिमा देखिएको भन्दै पाथीभरा क्षेत्रको नो केबलकार समूहले थप संघर्षका कार्यक्रम घोषणा गरेको छ। मुक्कुम्लुङ सेमुक्तु मुक्तुबो माङ (पाथीभरा) धार्मिक स्थलमा केबलकार बनाउन नहुने अडान राख्दै आएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् पुनः संघर्षका कार्यक्रम घोषणा गरेको हो।

    ‘माघ २२ गतेका दिन सरकारी वार्ता समिति र आन्दोलनरत पक्षको वार्ता सहजीकरण समितिबीच वार्ताको वातावरण बनाउन ६ बुँदे समझदारी भएको थियो। सो समझदारी बमोजिम वार्ताको न्यूनतम वातावरण बनाउनका लागि अनिश्चितकालीन यातायात बन्द स्थगन गरिएको तर सरकारले विनाशर्त बन्दी रिहाइ गर्नुका साटो धरौटीमा रिहाइ गरेको, हालसम्म केबलकार निर्माण कार्य पनि नरोकेको, उच्चस्तरीय सरकारी वार्ता समिति गठन नगरेको पाइयो,’ संघर्ष समितिले भनेको छ।

    नो केबलकार समूहले ताप्लेजुङका प्रतिनिधि सभाका सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। ‘उनी एकल जातीय वर्चश्व कायम गर्न र रैथाने आदिवासी संस्कृति र अस्तित्व ध्वस्त पार्न तल्लीन रहेको मात्र नभएर पर्दा पछाडिको केबलकार मालिक पनि उनै हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ,’ समूहले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनेको छ, ‘जनप्रतिनिधिले जनताको इच्छा, आकांक्षा र मागप्रति संवेदनशील हुनुपर्नेमा दलाल माफिया कर्पोरेटको पक्षपोषण गर्नु आफैमा रहस्यमयी र शंका गर्नुपर्ने अवस्था बनेको छ।’

    सरकार आफ्नो प्रतिबद्धताप्रति इमानदार नभएको समूहको आरोप छ। वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको र निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएको उनीहरूले बताएका छन्। ‘हिजो माघ २७ गते बेलुकीसम्ममा उच्चस्तरीय वार्ता समिति गठन गर्न सरकारसमक्ष माग राखिएकोमा सरकार गम्भीर नभएको, निर्णायक उच्चस्तरीय वार्ता समिति नबनाइ अलमलाउने, थकाउने र लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएर जसरी पनि केबलकार बनाउने मुडमा सरकार रहेको देखिएको हुँदा सडकमा जान बाध्य भएका छौं,’ समूहले विज्ञप्तिमार्फत् भनेको छ।

    समूहले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमईको सेवा बहिष्कार गर्ने संघर्षको कार्यक्रममा उल्लेख गरेको छ। फागुन ६ देखि ८ गतेसम्म मुक्कुम्लुङ बचाऔं पदयात्रा कार्यक्रम गर्ने घोषणा गरेका छन्। त्यस्तै केवलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने पनि कार्यक्रम राखेका छन्।

    केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने र काठमाडौं, इटहरी र बिर्तामोडमा केबलकार विरोध सभा आयोजना गर्ने उनीहरूको तयारी छ। त्यस्तै केबलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत् संघ सरकारलाई विरोधपत्र बुझाउने पनि उनीहरूको तयारी छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने र विदेशस्थित दूतावासबाट पनि विरोधपत्र पठाउने उनीहरूको तयारी छ।

  • निकुन्ज नजिकका जलविद्युत आयोजनामा सहजीकरण गर्न निजी क्षेत्रका लगानीकर्ताको माग

    निकुन्ज नजिकका जलविद्युत आयोजनामा सहजीकरण गर्न निजी क्षेत्रका लगानीकर्ताको माग

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सोमबार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक भेट्दै इप्पानले राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको हो ।

    पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको एउटा फैसलाका कारण विभिन्न संरक्षण क्षेत्रका नाममा रहेको वन क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाउने अवस्था सिर्जना भएको निजी क्षेत्रको गुनासो छ ।

    इप्पानका अध्यक्ष गणेश कार्कीले उक्त फैसलाका कारण नयाँ आयोजना बनाउन नसकिने, बनेका आयोजनाको बिजुली पनि प्रसारण लाइन बनाउन नदिएर खेर जाने अवस्था आउने हुँदा निर्माणाधीन आयोजनामा भइरहेको लगानी असुरक्षित हुने खतरा बढेको बताए । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले फैसला पुनर्विचार नभए नेपालमा थप एउटा पनि जलविद्युत् आयोजना नबन्ने अवस्था आउने बताए । सबै आयोजना संरक्षण क्षेत्रमा नपरे पनि प्रसारण लाइन कुनै न कुनै संरक्षण क्षेत्रमै पर्ने र प्रसारण लाइन बनाउन नपाए अहिले बनिरहेका आयोजनाकै बिजुली पनि प्रवाह नहुने हुँदा थप आयोजना बनाउने ठाउँ नै नरहेको डाँगीले बताए ।

    ‘अदालतलाई देखाएर देशलाई बन्धक बनाउन मिल्दैन। अहिलेको फैसलाले संरक्षण क्षेत्रमा एउटा नल पनि गाड्न नमिल्ने भएको छ’ नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले विभिन्न संरक्षण क्षेत्रका नाममा राखिएका संरचनाले विकास निर्माणमा निकै ठूलो प्रभाव पारेको भन्दै यसलाई कसरी संशोधन गर्न सकिन्न भन्ने विषयमा आफू छलफलमा लागिसकेको बताए।

    ‘अदालतलाई देखाएर देशलाई बन्धक बनाउन मिल्दैन। अहिलेको फैसलाले संरक्षण क्षेत्रमा एउटा नल पनि गाड्न नमिल्ने भएको छ,’ बर्तौलाले भने । यो समस्या समाधान पहिलो विकल्प भनेको सरकारले राजपत्रमा सूचना निकालेर सीमा हेरफेर गर्नु रहेको र दोस्रो विकल्पमा यसलाई पुनर्परिभाषित गर्नु रहेको बर्तौलाको भनाइ छ । अहिलेकै ऐन टेकेर संसदीय आयोग बनाएर यी सबै कुरा छानबिन गरेर सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिन सकिने उनले बताए ।

    ‘होइन भने देशलाई समृद्ध बनाउने जुन सम्भावना छ, त्यो प्रयोगमा नआएरै खेर जाने अवस्था आउन सक्ने पनि देखिन्छ,’ बर्तौलाले भने । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले तस्करले काठ बेच्न हुने तर जनताले ढलेका रुख पनि काट्न नपाउने कानुन संशोधन हुनुपर्ने बताए । उनले ५० प्रतिशत वन क्षेत्र पुग्न लागेको नेपालमा मलेसियाबाट काठ ल्याउनुपर्ने अवस्था अन्त्य गर्न आफूले आवाज उठाउने बताए ।

    त्यस्तै इप्पान उपमहासचिव प्रकाश दुलालले अमेरिकाले विश्वसँग गरेका सम्झौताबाट पछि हट्न हुन्छ भने नेपालले पनि विकास विरोधी सम्झौताबाट पछि हट्नुपर्ने बताए । वातावरण संरक्षणका नाममा भएका यस प्रकारका फैसलाले जलविद्युत् आयोजना निर्माण मात्रै नभएर कुलोसमेत खन्न नपाउने भएकाले समग्र विकास निर्माण नै ठप्प हुने उनको भनाइ थियो ।

    नेपालको कुल भूभागको २३ प्रतिशत विभिन्न नामका संरक्षित क्षेत्रको नाममा रहेको इप्पानका कार्यसमिति सदस्य भरत पराजुलीले बताए । उनले नेपालमा ६१ लाख हेक्टर वन क्षेत्रफल पुगेको भन्दै ‘यति सानो देशमा कति वन चाहिने हो रु विकास निर्माण सबै ठप्पै पारेर कस्तो मुलुक बनाउन खोजेको हो ?’ प्रश्न गरे ।

  • नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा

    नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा

    काठमाडौं । नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको छ ।

    उक्त शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बझाङ पुगेका थिए । उनले साइपाल गाउँपालिकामा एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गरे । योसँगै सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

  • ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने एमाले निकट विद्यार्थी नेताहरु पक्राउ

    ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने एमाले निकट विद्यार्थी नेताहरु पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलमा दुई प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दिनेश सिग्देल र रमेश फुलारा प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरू दुवै जना नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेता हुन्। यस घटनामा थप व्यक्ति फरार छन्। उनीहरूले बिहीबार मध्यराति क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटिएका दुई जनामाथि कुटपिट भएको हो।

    प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। उनीहरू काठमाडौं महानगर २७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका थिए। त्यतिबेला ६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका थिए। प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो। कुटपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ।

    कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको थियो। यस्तै जवान विष्टको दायाँ आँखामुनि सुन्निएको थियो। क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी कर्मचारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो।

  • बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

    बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको बताइएको छ ।

    सूचनापछि एसएसपी अधिकारी सहितको टोलीले छापा मारेर आइतबार २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घरबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ। प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने बताएको छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । सोमबार देशका धेरैजसो ठाउँमा मौसम बदली हुने भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो । बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो पनि लागेको छ ।


    आज दिउँसोदेखि साँझसम्म कोशी प्रदेशका केही स्थानमा वर्षासमेत हुने महाशाखाको पूर्वानुमान छ । बाँकी सबै प्रदेशको हिमाली र पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।

    कोशीसहित, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । थोरै ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली भू(भागमा हिमपात र तराईमा हुस्सु–कुहिरो लागेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • संसद बैठक आज पनि, के छ कार्यसूचीमा ?

    संसद बैठक आज पनि, के छ कार्यसूचीमा ?

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।

    सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा पनि अध्यादेश पेश गर्ने कार्यसूची भने छैन ।

  • नागार्जुनका मेयरविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

    नागार्जुनका मेयरविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

    काठमाडौं । पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गरेको छ । अख्तियारको दाबी अनुसार, कुल २८ करोड ६५ लाख रुपैंयाको सम्पत्ति जोडेका बस्नेतले १९ करोड ९५ लाख रुपैयाँ मात्रै कानुनी रुपमा कमाएका थिए । अरु बाँकी रकम भ्रष्टाचारबाट आर्जन भएको अख्तियारको दाबी छ ।

    यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरुको विवाहको भोजमा गैरकानुनी रुपमा खर्च गरेको अख्तियारको दाबी छ । उनले विवाहित छोरालाई व्यक्तिगत खर्च भनी रकम दिएको, विवाहित छोरीलाई पनि रकम दिएको, दान भनेर रकम दिएको अनि घरमा काम गर्ने सहयोगीहरूलाई पनि गैरकानुनी रुपमा आर्जित सम्पत्तिबाट खर्च दिएको अख्तियारको दाबी छ ।

    उनी नागार्जुन नगरपालिकाको मेयर भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ । नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

  • मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

    मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् । प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको प्रचण्डले बताए ।

    संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा प्रचण्डले भने, ‘ जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताएका हुन् ।

    ‘म अहिले विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको होइन । तर, जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ,’ उनले भने । पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै प्रचण्डले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए ।

    उनले संविधान मिचेर तथा राष्ट्रपतिलाई निरिह बनाएर वर्तमान सरकार गठन भएको जिकिर गरे । ‘संविधान मिचेर, राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर, निरिह बनाएर बनेको सरकार हो यो,’ प्रधानन्यायाधीशसमेत उपस्थित कार्यक्रममा उनैलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सम्माननीय प्रधानन्यायाधीश यहीँ हुनुहुन्छ । संविधानको धारा ७६ को २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः ७६ को ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । तर, संविधान मिचेर यो सरकार बन्यो ।’

    उनले लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर बन्ने सरकार लोकतान्त्रिक हुन नसक्ने भन्दै सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको बताए । त्यसअघि नै संविधानलाई ट्र्याकमा ल्याउने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

  • चीनमा पहिरोमा परी कम्तिमा २९ वेपत्ता

    चीनमा पहिरोमा परी कम्तिमा २९ वेपत्ता

    काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन सहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।

  • चक्कु देखाएर धम्काई किशोरीको बलात्कार

    चक्कु देखाएर धम्काई किशोरीको बलात्कार

    काठमाडौं । धनगढीमा किशोरीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् । घट्ना बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

    धनगढीको एक विद्यालयमा अध्ययन गर्दै आएकी किशोरीलाई बाटो छेकेर युवकले चक्कु देखाई आफूसँग जबर्जस्ती गरेको उनको उजुरी छ । युवकले डरत्रासमा पारेर आफूलाई घरमा लगी करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छिन् । अभियुक्त पत्ता लागिसकेको प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन् । उनका अनुसार पक्राउ गर्न प्रहरी परिचालित गरिएको छ ।

  • काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

    काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

    काठमाडौं । काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।

    प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो । घटनाको यकिन विवरण आउने क्रममा रहेको बताएको छ । घाइतेहरुको ट्रमा सेन्टर, कीर्तिपुर अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुगेका छन् ।

  • सुर्खेतमा बस दुर्घटना : ४० जना घाइते

    सुर्खेतमा बस दुर्घटना : ४० जना घाइते

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेततका उपपरीक्षक रूपेश खड्काले जानकारी दिए ।

    उनका अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। घाइते उद्दारकार्य भइरहेको प्रहरीले जनाएको छ।

  • पाकिस्तानमा शरण लिइरहेका १८ हजार अफगानी शरणार्थी स्वदेशी फिर्ता

    पाकिस्तानमा शरण लिइरहेका १८ हजार अफगानी शरणार्थी स्वदेशी फिर्ता

    काठमाडौं । गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ ।

    सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानुनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयनपछि फर्केका छन् । अफगानिस्तानको काम चलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आग्रह गरिरहेको छ । रासस-सिन्ह्वा