Category: समाचार

  • चौतर्फी आलोचनाका बीच मध्यराती आयो प्रधानमन्त्रीको स्टाटस

    चौतर्फी आलोचनाका बीच मध्यराती आयो प्रधानमन्त्रीको स्टाटस

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् । घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएका छन् । मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’

    उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधामन्त्रीले आह्वान गरेका छन् ।

    प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’

    सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छन् । प्रधानमन्त्री शाहले सामाजिक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गइसकेको छ । धार्मिक कारणलाई उचाल्दै भड्किएको हिंसा कम गर्न समयमै पहल नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना भइरहेको छ ।

  • सुनसरी घटनामा प्रधानमन्त्री मौन, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक

    सुनसरी घटनामा प्रधानमन्त्री मौन, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक

    १२ साउन, काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । यस घटनामा प्रधानमन्त्री बालेन शाह मौन छन् । रास्वपा सभापति लामिछानेले छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा बोलाएका छन् । छलफलमा संसदमा रहेका सबैे दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।

    सबै दललाई पत्राचार गरिएको छ। सभापतिले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गरेको सभापतिको सचिवालयले जनाएको छ । अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

  • सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

    सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

    १२ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्नेगरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् । उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पारे ।


    आज सूचना र तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताए । छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेललगायतको सहभागिता थियो ।

    भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरुले सन् २०२७ को जनवरीमा काठमाडौँमा आयोजना हुने चौथो ‘एनआरएनए ग्लोबल नलेज कन्भेन्सन–२०२७’ को तयारीबारे जानकारी गराएका छन्। उक्त सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ।

    छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले विभिन्न स्थानमा आधुनिक डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइरहेको बताउँदै ती परियोजनामा स्वदेशी तथा विदेशी लगानी दुवैको आवश्यकता रहेको बताए । एआई, डाटा सेन्टर, डिजिटल पूर्वाधार र सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उनले लगानीकर्ताका लागि थप सहज वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विदेशमा बसोबास गर्ने नेपालीले स्वदेशप्रति गहिरो माया राख्ने र देशका लागि केही गर्न चाहने भावना सकारात्मक रहेको उल्लेख गरे ।

    त्यस सम्भावनालाई नीतिगत रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालमा सीप, प्रविधि र पुँजी भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । अहिले सरकारले सुशासन र नागरिक सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक संस्कारमा समेत परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सुधारका प्रयासमा विभिन्न समस्या तथा व्यवधान आए पनि निरन्तर अघि बढ्ने स्पष्ट पारे ।


    “अहिले जहाँ हेरे पनि सुधार गर्नुपर्ने मात्रै देखिन्छ । हरेक ठाउँमा समस्या र चुनौतीका चाङ छन् । नियत सही हुँदा पनि काम गर्ने क्रममा व्यवधान आउन सक्छन् । अहिले के गर्नेभन्दा पनि कसरी गर्ने भन्ने विषय बढी महत्वपूर्ण बनेको छ” उनले भने । सरकारले प्रक्रियामुखी कार्यशैलीभन्दा नतिजामुखी कार्य सम्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए । नीति, योजना र बजेट कार्यान्वयनमा व्यावहारिक सुधार गर्दै सुशासन र डिजिटल प्रणालीको विस्तारमा सरकार केन्द्रित रहेको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ छ।

    एनआरएनएका प्रतिनिधिहरुले पनि सरकारले अघि सारेका डिजिटल रूपान्तरण, विद्युतीय शासन, कृत्रिम बौद्धिकता, सुशासन तथा डिजिटलाइजेसनका कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । कृषि, पर्यटन, सूचना प्रविधि, नवप्रवर्तन तथा अन्य उत्पादनमूलक क्षेत्रमा ज्ञान, सीप र लगानीमार्फत एनआरएनले सहयोग गरिरहेको उल्लेख गर्दै एनआरएनले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटसँग मेल खाने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको एनआरएनएले जानकारी दिएको छ।

    एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीलाई निश्चित अधिकारसहितको नागरिकता उपलब्ध गराउने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै त्यसको कार्यान्वयनलाई थप सहज बनाउन आग्रह गरिन् । उनले गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधनका लागि तयार भएको विधेयकलाई पनि सरकारले शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

    गैरआवासीय नेपालीले नेपालमा सम्पत्ति खरिद–बिक्री, सवारीचालक अनुमतिपत्र प्राप्ति लगायतका सेवामा विभिन्न व्यावहारिक समस्या भोग्नुपरेको तथा आफ्नै देश आउँदा समेत भिसासम्बन्धी जटिलताको सामना गर्नुपरेको उनले उल्लेख गरिन् । “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने अवधारणाअनुसार सरकारले व्यावहारिक नीति अवलम्बन गर्न सके नेपालमा थप सीप, प्रविधि र पुँजी भित्रिने विश्वास उनले व्यक्त गरिन् ।


    छलफलको क्रममा एनआरएनएका उपाध्यक्ष ज्ञानेन्द्र रेग्मीले विदेशमा रहेका नेपालीले वर्तमान सरकारसँग ठुलो अपेक्षा राखेको बताउँदै संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका राजनीतिक अधिकारबाहेकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखे । उनले गैरआवासीय नेपालीका हितमा केही सकारात्मक नीतिगत व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुन नहुने बताउँदै विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    एनआरएनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारको उच्चस्तरीय तथा आधिकारिक सहभागिताको अपेक्षा गरिएको पनि एनआरएनले जनाएको छ । त्यस्ता सम्मेलनमार्फत विश्वभर छरिएर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, उद्यमी र लगानीकर्ताको ज्ञान तथा अनुभवलाई नेपालको आर्थिक, सामाजिक र प्राविधिक विकाससँग जोड्ने उद्देश्य रहेको एनआरएनएले जनाएको छ।

  • सुनसरी घटनामा उच्च संयम अपनाउन रास्वपाको आह्वान

    सुनसरी घटनामा उच्च संयम अपनाउन रास्वपाको आह्वान

    १२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

    कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै रास्वपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टीले कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ।

    विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको मागसमेत गरिएको छ। रास्वपाले यस दुःखद् घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै आफ्ना स्थानीय समितिका सदस्यलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

  • मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम, रातमा सवारी चलाउन रोक

    मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम, रातमा सवारी चलाउन रोक

    १२ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढमुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

    मुग्लिन,नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर सो सडकखण्डमा सवारीआवगमन सुचारु गरिएको थियो ।

  • कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    १२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।


    ‘तत्पश्चात् शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए । राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

    राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रुपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस गरेको उल्लेख गरेका छन् ।

  • सुनसरी घटनामा बोल्यो प्रधानमन्त्री कार्यालय, संयमता अपनाउन आग्रह

    सुनसरी घटनामा बोल्यो प्रधानमन्त्री कार्यालय, संयमता अपनाउन आग्रह

    १२ साउन, काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण जनाएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराएको छ ।

    उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नु पर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतस् विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    साथै, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ । ‘नेपाली समाजले संदियौदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने र धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ । यस परिस्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा सरकारले आह्वान गरेको छ ।

  • प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

    प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

    १२ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए ।

    उक्तप्रश्नको जवाफमा प्रवक्ता जैसवालले भने,’पहिलो प्रश्नकोबारेमा म जानकार छैन । नेपालका प्रधानमन्त्रीको भ्रमणकोबारे निमन्त्रणा गइसकेको छ ।’

    प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले केही साता अघि भारत भ्रमण गरी भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको खबर थियो । यो प्रसंगतर्फ इंगित गर्दै पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता जैसवालले त्यसबारे आफूलाई जानकारी नरहेको बताएका थिए।

  • स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी

    स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी

    १२ साउन, काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

    मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल गरिरहेकी छिन् ।


    मन्त्रालयले मंगलबार सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो। मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक,जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्‍याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ।

  • सुनसरीमा सामान्य बन्दै जनजीवन, हटाइयो कर्फ्यु

    सुनसरीमा सामान्य बन्दै जनजीवन, हटाइयो कर्फ्यु

    १२ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद रिजालले कर्फ्यु जारी गरेका थिए । स्थिति सामान्य बन्दै गएपछि मध्यरातदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    सूचनामा लेखिएअनुसार पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु हटाइएको हो । कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

  • गोकर्णेश्वरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    गोकर्णेश्वरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    १२ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंले जनाएको छ । गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

    उनको नेपाल मेकिडल कलेज अत्तरखेलमा उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए । यसैगरी ललितपुरको चापागाउँमा एक गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ वटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • लमजुङमा पहिरो, बाबु छोरीको मृत्यु

    लमजुङमा पहिरो, बाबु छोरीको मृत्यु

    १२ साउन, काठमाडौं । लमजुङ, मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार घर भत्काउँदा बाबु–छोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे दुई बजे चितिखोलाबाट भाटवेशी ल्याएको कुलो भत्किएर स्थानीय बिष्णुदत्त सुवेदीको ढुंगा माटोले बनेको दुई तले कच्ची धन्सारमा क्षति पुगेको हो । मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता बिक रहेको जिल्ला प्रहरी कार्यायल लमजुङले जनाएको छ ।

    पहिरोमा परी टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया र जेठी छोरी १६ वर्षीय अस्मिता घाइते छन् । उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी आए लगतै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो ।

  • ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

    ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

    १२ साउन, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी ४८ जना बचतकर्तालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले बचत फिर्ता गरेको हो।

    समितिका अनुसार बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीका आधारमा निर्धारित प्राथमिकता बमोजिम बचत फिर्ता गर्ने कार्य आगामी दिनमा पनि नियमित रूपमा जारी रहने छ। समितिले सहकारी ऐन, २०७४, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तथा सरकारको १०० दिने कार्ययोजनाअनुसार बचतकर्ताको मागदाबी र प्राथमिकताका आधारमा बचत फिर्ता गरेको जनाएको छ।

  • पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

    १२ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई विगतमा सफाई पेश गर्न १५ दिनको म्याद दिएको थियो। उक्त अवधिभित्र उनिहरुले पेश गरेको सफाई सन्तोशजनक नदेखिएकोले दोस्रो पटकका लागि ३० दिनको म्याद दिई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ।

    उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । सूचना अनुसार २ जना कर्मचारी नापी अधिकृत हुन्। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो ।

    मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले ३० दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    १२ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ ।

    महाशाखाका अनुुसार मङ्गलबार दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका थोरै स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशको हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशको हिमाली भू–भागका थोरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । रासस

  • लैङ्गिक हिंसा र विभेदसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि तीन मन्त्रालयसँग सहकार्य

    लैङ्गिक हिंसा र विभेदसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि तीन मन्त्रालयसँग सहकार्य

    काठमाडौं, साउन १२। लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत तथा सामाजिक बहिष्करणसँग सम्बन्धित उजुरीहरूको प्रभावकारी सम्बोधन, पीडितमैत्री सेवा प्रवाह तथा आवश्यक कानुनी, नीतिगत र संस्थागत सुधारलाई थप प्रभावकारी बनाउने उद्देश्यले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्यका लागि औपचारिक अनुरोध गरेको छ।

    माननीय मन्त्री सिता बादीको मन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आधिकारिक पत्राचार गर्दै आ–आफ्नो कार्यक्षेत्रभित्र आवश्यक सहजीकरण, समन्वय तथा पहल गर्न अनुरोध गरिएको हो।

    मन्त्रालयले गृह मन्त्रालयसँग लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसँग सम्बन्धित उजुरीहरूको प्रभावकारी, छिटो र भेदभावरहित सम्बोधन सुनिश्चित गर्न सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबीच आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

    त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित कानुनी व्यवस्थाको पुनरावलोकन, आवश्यक संशोधन तथा नीतिगत सुधारका लागि सहकार्य गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग स्थानीय तहसम्म सेवा प्रवाह, समन्वय संयन्त्र तथा सामाजिक न्यायसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणका विषयहरू एउटै निकायको प्रयासबाट मात्र समाधान हुन नसक्ने भएकाले अन्तरमन्त्रालयीय समन्वय, साझा जिम्मेवारी र एकीकृत कार्यसम्पादनमार्फत पीडितले समयमै न्याय र सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु यस पहलको मुख्य उद्देश्य हो।

    मन्त्रालयमार्फत प्रेषित पत्रमा भनिएको छ, “मन्त्रालयमा प्राप्त हुने अधिकांश उजुरी तथा गुनासाहरू लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत, विभेद तथा सामाजिक बहिष्करणजस्ता सामाजिक न्यायका सवालहरूसँग सम्बन्धित हुने गरेका छन्। यस्ता प्रकृतिका उजुरी तथा गुनासाहरू संवेदनशील, बहुआयामिक, कानुनी तथा प्रशासनिक पक्षसँग अन्तरसम्बन्धित हुने भएकाले तिनको प्रभावकारी सम्बोधन, सेवा प्रवाहमा भेदभावरहित वातावरणको सुनिश्चितता, कानुनी तथा नीतिगत सुधार तथा आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ।”

    यस पहलले लैङ्गिक हिंसा तथा सबै प्रकारका विभेदविरुद्ध राज्यका निकायबीचको समन्वयलाई संस्थागत गर्दै पीडितमैत्री, उत्तरदायी र प्रभावकारी सेवा प्रणाली निर्माणमा महत्वपूर्ण आधार तयार गर्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ।

  • सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

    सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

    काठमाडौं, ११ साउन । सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गरेका छन् । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


    सरकारी वार्ता टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल सहभागी थिए । सहमतिअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीमा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ । साथै एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृतिलगायतका तयारी पनि तत्काल पूरा गरिने उल्लेख छ ।


    सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्तिलगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनमै, बढीमा तीन महिनाभित्र, अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ ।


    चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, नियमावली तथा तोकिएका मापदण्डअनुसार मात्र सिट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सिट संख्या नबढाइने, तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ ।

    छात्रवृत्तिसम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने सहमतिमा उल्लेख छ ।
    यस्तै, चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैर–नाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष पेश गर्नेछ । उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहित प्रतिवेदन बुझाउनेछ ।
    सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक पूर्वाधार तथा सेवा विस्तारमा संघ तथा प्रदेश सरकारले प्राथमिकताका साथ समन्वय गर्ने पनि सहमतिमा उल्लेख छ ।
    सहमतिपत्रमा २०८२ भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट तथा विनाशका घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीसँग सम्बन्धित भ्रष्टाचार तथा अपराधका घटनाको निष्पक्ष छानबिनलाई थप तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।


    यसैगरी, विगतका सहमतिहरूको कार्यान्वयन अवस्थाको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधि रहने गरी तीन महिनाभित्र कार्यदल गठन गरिनेछ। कार्यान्वयनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति रहने व्यवस्था गरिएको छ ।

  • अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने

    अव्यवस्थित तार हटाउने काम समयसीमाभित्र नसक्ने निकायलाई कारबाही गरिने

    काठमाडौँ, ११ साउन : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।

    दुई मन्त्रीले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिनुभएको हो । सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा रुटमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।


    अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणले साउन १५ गतेभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित प्रगति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नागरिकले प्रत्यक्ष परिणाम महसुस गर्ने गरी निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै काममा ढिलाइ गर्ने कुनै पनि निकाय वा व्यक्तिलाई छुट नहुने स्पष्ट पारे ।


    “साउन १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता गरिएको थियो, तर अहिलेको प्रगति हेर्दा लक्ष्यअनुसार काम अघि बढेको देखिँदैन । यो समस्या कुनै एक निकायको मात्र होइन, हामी सबैको साझा कमजोरीका कारण सिर्जना भएको हो । अब सबै निकायबीच प्रभावकारी समन्वय गरेर समाधानमा केन्द्रित हुनुपर्छ´´ उनले भने “नागरिकले परिणाम चाहेका छन्, त्यसैले काममा ढिलाइ गर्ने छुट कसैलाई छैन । निर्धारित समयभित्र काम भए नभएको निरन्तर अनुगमन हुनेछ र जिम्मेवारी पूरा नगर्ने निकाय तथा व्यक्तिलाई आवश्यक कारबाही गरिनेछ ।”


    सञ्चारमन्त्री तिमिल्सिनाले प्रयोगमा नरहेका केबल तत्काल हटाउन निर्देशन दिँदै पोलमा तार झुण्ड्याउने सेवा प्रदायकले नै त्यसलाई हटाउने जिम्मेवारी पनि लिनुपर्ने बताए । कामका क्रममा कुनै कानुनी, प्राविधिक वा प्रशासनिक समस्या आए तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियामकको भूमिका निर्वाह गर्न तथा सबै सेवा प्रदायकबीच समन्वय गरी स्पष्ट समयसीमासहितको एकीकृत कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए ।


    उनले वर्षायामका बाबजुद निरन्तर काम गरिरहेका प्राविधिक जनशक्तिको प्रशंसा गर्दै कामको गति अझ तीव्र बनाउनुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि अव्यवस्थित तार व्यवस्थापन र भूमिगत केबलिङ दुवै कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै निकाय जवाफदेही हुनुपर्ने बताए ।

    उनले न्युरोड र विशालबजार क्षेत्रमा तार व्यवस्थापनपछि सहरी सौन्दर्यमा आएको सुधार उदाहरणीय रहेको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि त्यही ढाँचामा काम विस्तार गरिने जानकारी दिए । उनले भने, “अव्यवस्थित तार हटाउने अभियान सरकार वा कुनै एक संस्थाको एकल प्रयासबाट सफल हुँदैन । नियामक निकाय, सेवा प्रदायक र स्थानीय तह सबैले एउटै लक्ष्यका साथ काम गर्नुपर्छ । यो नागरिकको सुरक्षासँग मात्र होइन, व्यवस्थित र सुन्दर सहर निर्माणसँग पनि जोडिएको विषय हो ।´´

    अनुगमनका क्रममा मन्त्रीद्वयले विद्युत् वितरण पूर्वाधारको अवस्थासमेत अवलोकन गरे । सरकारले काठमाडौँका विभिन्न छ क्षेत्रमा पाइलट परियोजनाका रूपमा तार व्यवस्थापन अभियान सञ्चालन गरी त्यसबाट प्राप्त अनुभवका आधारमा अन्य क्षेत्रमा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ । यसका लागि विषयगत मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक कानुनी सुधारको प्रक्रिया पनि अघि बढिरहेको छ ।्


    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षात्का कारण कार्यसम्पादनमा केही ढिलाइ भएको जानकारी दिँदै साउन १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य अब थप १५ दिनभित्र पूरा गर्ने गरी काम भइरहेको बताए । उनका अनुसार धेरै स्थानमा पोलमा रहेका तार कसको स्वामित्वका हुन् भन्ने पहिचान गर्न कठिनाइ भएको, कतिपय तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नभएको तथा सडक क्षेत्रमा दिउँसो काम गर्न नपाउने व्यवस्थाका कारण पनि काम प्रभावित भएको छ ।


    हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने कार्य तीव्र रूपमा भइरहेको छ भने काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका अन्य स्थानमा पनि चरणबद्ध रूपमा व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ । साथै, सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तारमा संस्थाको स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिइएको छ ।


    सरकारले गत असार ३१ गते नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणको काम सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसअघि जेठ २८ गते दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न छ क्षेत्रमा चरणबद्ध रूपमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउन निर्देशन दिएको थियो ।


    अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम बढ्नुका साथै सहरी सौन्दर्यसमेत प्रभावित भएको छ । यो समस्या निराकरण गर्न सरकारले अभियानकै रुपमा घोषणा गरी समयबद्ध, समन्वित र परिणाममुखी बनाउँदै राजधानीलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने लक्ष्यका लिएको छ ।

  • सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

    सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

    ११ साउन, काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।

    सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

  • सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

    सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

    ११ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो । प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन् ।

    कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ। इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको भन्दै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।

  • गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी किन गोली चलाउनु पर्यो ?

    गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी किन गोली चलाउनु पर्यो ?

    ११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन्। सभापति थापाले आइतबार राति एक जनाको मृत्यु र ९ जना घाइते हुने गरी भएको घटनामा आज विज्ञप्ति जारी गर्दै सरकारलाई सोधेका छन्, ‘सरकारसँग प्रश्न छ, नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनले घटनाको निष्पक्ष छानबिन गर्न र संयम रहन पनि उनले आग्रह गरेका छन्। साथै उनले यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

    यस्तो छ विज्ञप्ति

    सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु। यस दुस्खद घटनामा ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

    सरकारसँग प्रश्न छ, नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो। परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुस्खद छ।

    अतस् यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगरियोस्।

    हाम्रो आग्रह छ, अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गरियोस्। साथै, यस कठिन घडीमा संयमता र सदभाव महत्वपुर्ण रहन्छ। अतस् कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सद्भाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गर्दछु।

    गगनकुमार थापा, सभापति

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन

    ११ साउन, काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे ।


    त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे ।

    उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबिच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिए । हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबिचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।

    यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले विगत सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए । नागढुङ्गा सुरुङ दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीक भएको उनको भनाइ थियो ।

    नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडिए) तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताए । उनले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गरे ।
    राजदूत माएदाले परियोजनामा योगदान पु¥याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । आगामी वर्षौंसम्म नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकार्यको प्रमुख उद्देश्य रहेको उनले बताए ।

    त्यस अवसरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गरे । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उनको भनाइ थियो ।

    उनले जापानी र नेपाली इन्जिनियरहरूले भौगोलिक जटिलता तथा प्राविधिक चुनौतीबीच काँधमा काँध मिलाएर काम गरेकाले यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न भएको बताए । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ ।

    सुरुआती सम्झौताअनुसार आयोजना विसं २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।

    यसअघि सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र काठमाडौँबाट बाहिरिँदा रु ६० दस्तुर तोकिएको छ ।

    मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २०० तथा मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर निर्धारण गरिएको छ । नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डमा यात्रा समय घटाउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

    राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

    ११ साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए ।

    नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई मिसन मोडमा अघि बढाउन पनि उनले निर्देशन दिए। नेपालमा कर संकलनको विगतको तथ्याङ्क हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सैह्य हुँदैन । राजस्व संकलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ,’अर्थमन्त्री डा.वाग्ले भने, अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस्। करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर संकलन गर्नुहोस्।’


    कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले कर संकलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरूले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने उनकाे भनााइ छ । कर प्रशासकहरू कम्फरटेबल जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ . इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड ।’


    भन्सार, राजश्व र आन्तरिक करतर्फका कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेले बताए । नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।


    सो क्रममा उहाँले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिए ।
    उनले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयहरूलाई निर्देशन दिए । भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि उनले आग्रह गरे ।

  • पिक आवर’मा तीन हजार २४८ मेगावाट पुग्यो बिजुली माग

    पिक आवर’मा तीन हजार २४८ मेगावाट पुग्यो बिजुली माग

    ११ साउन, काठमाडौं । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन्।

    यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ। कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको छ।

    वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको छ। सातवटा प्रदेश कार्यालय र काठमाडौंमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ।

  • साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

    काठमाडौँ, साउन ११ गते । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।
    बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले बताइन् ।


    यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबार साउन ४ गतेभन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ । गत हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ ।

    दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाको पनि विशेष सेवा एवं सहभागिता रहेको छ ।

    साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजाआराधना गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए । बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ः०० बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८ः३० देखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने छ ।

    मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो लाम भने नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

    पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि लाम लागेको जनाइएको छ । यसैगरी, देशभरका शिवालयमा पनि भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन् । रासस

  • गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु

    गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु

    ११ साउन, नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु भएको छ।
    स्थानीयले अचेत अवस्थामा देखेपछि खबर गरेलगत्तै अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले दुवै महिलालाई उपचारका लागि नगर अस्पताल भेडाबारी पुर्‍याएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

    मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिएकाले त्यसको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

    ११ साउन, काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक ई. सञ्जय पन्थीका अनुसार सोमबार बिहान सुरुङमार्ग उद्घाटन हुँदैछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्नेछन् । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने छ । सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने छ ।

    आयोजनाका उपनिर्देशक पन्थीका अनुसार आजबाट सुरुङमार्गमा सबै सवारीसाधन सञ्चालनमा आउन सक्दैनन । तीन महिनासम्म परीक्षणकाल सञ्चालन हुनेछ । केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवतजावत गर्न दिई परीक्षणकाल सञ्चालन गरिने छ ।

    निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको छ । निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको छ । आयोजनाको काम सम्झौताभन्दा झन्डै दोब्बर समयमा सम्पन्न भएको छ ।

    सम्झौता अनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ८० महिनामा आयोजनाको काम सम्पन्न भएको हो । कुल २५ अर्ब रुपियाँ खर्च भएको छ । निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपियाँ खर्च भएको हो । १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋण रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो ।

    यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको छ । आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर लामो छ । आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारीसाधनको प्रकार हेरेर ६० देखि छ सय रुपियाँसम्म शुल्क तिर्नुपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ ।

  • चन्द्रागिरी तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    चन्द्रागिरी तीनथानामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    ११ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्कोमा बिहान ४ बजे मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन् । उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
    प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सुनसरीका ५ स्थानमा लाग्यो अनिश्चितकालिन कर्फ्यु

    सुनसरीका ५ स्थानमा लाग्यो अनिश्चितकालिन कर्फ्यु

    ११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।

    आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

    सोमबार बिहान कप्तानगन्जको अवस्था सामान्य छ । थप दुर्घटना हुननदिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगन्जको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

    हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नूनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गापा कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।

    भुटाहा बजार क्षेत्रको पूर्व तर्फ मोरीया धार खोला, पश्चिम तर्फ इदगाहा फिल्ड, उत्तर तर्फ सुनसरी खोला र दक्षिण तर्फ हरिनगर गापा कार्यालयसम्म कर्फ्यु छ ।

    कप्तनगंज बजार क्षेत्रको पूर्व तर्फ यादव टोल, पश्चिम तर्फ पाँचौ सिमल मावि, उत्तर तर्फ कृष्ण मावि र दक्षिण तर्फ नेपाल( भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी भएको छ ।

    घुस्की बजार क्षेत्रको पूर्व तर्फ कासमिया मदरसा, पश्चिम तर्फ प्रहरी चौकी घुस्की, उत्तर तर्फ इशा हार्डवेयर र दक्षिण तर्फ हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु लागेको छ ।

    देवानगंज बजार क्षेत्रको पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिम तर्फ मोरीया खोला, उत्तर तर्फ चिउरा मिल र दक्षिण तर्फ गाउँपालिकाको कार्यालयसम्म कर्फ्यु आदेश जारी भएको हो ।

    आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो । दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन राति प्रहरीले गोली चलाएको थियो ।

    झडपपछि राति करिब १२ बजे सुरक्षा समितिको बैठक बसेको थियो । राति साढे १२ बजे प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज बिहान ७ बजेबाट लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका थिए । स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभरी नै निषेधाज्ञा जारी गरेको छ ।

  • सुनसरीमा दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

    सुनसरीमा दुई पक्षबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

    ११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । ८ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ ८ जना घाइते भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।

    झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ । २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

    झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् । प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ । घटनाको थप विवरण आउने क्रममा छ ।