Category: समाचार

  • प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

    प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

    ७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी रहने भएका छन् ।

    यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो। प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरी उनिहरुका जायज माग सम्बोधन गर्दै आएका छन् ।

  • पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं, ६ साउनः बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका–८ बेरियाइमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको छ ।

    यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ झमसिङटारमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्ल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका–९ सिमराभनानिपुर चोकमो अटो र भारतमा दर्ता भएको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचारकक्षले जनाएको छ ।

    त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेकोे मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ ।

  • अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

    अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

    गण्डकी, ६ साउनः अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

    मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो । मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो ।

    पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले ज्यान गुमाएका छन् । भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो ।

    एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको हो । मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मुत्यु भएको थियो । लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८०/८१ मा २१ र आव २०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो ।

    लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८०/८१ मा २१ र आव २०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

    “हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।”

    पदयात्रामा लडेर मृत्यु हुने गरेका घटना बर्सेनि दोहोरिने गरेका छन् । लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै नगई समूहमा या पथप्रदर्शक लिएर जानुपर्छ । कम उचाइ भएको ठाउँबाट गाडीमा एकैपटकमा मुक्तिनाथलगायत उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ ।

    स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक दिवस गुरुङले बताउनुभयो । पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा ५०० भन्दाबढीको उचाइ पार नगर्न सुझाव दिनुभयो ।

  • श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

    श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

    काठमाडौँ, ६ साउनः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो ।

    श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

    कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनुपर्ने तथा श्रमिकका उजुरीउपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

    श्रम कानुनअनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने तथा श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्नुपर्नेलगायत विषय विभागले जारी गरेको परिपत्रमा उल्लेख छ । हेल्लो सरकारबाट प्राप्त गुनासो सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउनसमेत विभागले निर्देशन दिएको छ ।

  • दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

    दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

    दाङ, ६ साउनः गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो । सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो ।

    जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्रगतिमा सवारी चलाएका कारण भएको निष्कर्ष दिएको छ । दुवै घटना सडक दुर्घटनाका उदाहरण मात्र हुन् । यसैबीच, दाङ जिल्लामा आव २०८२/८३ मा ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भयो ।

    मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भए । त्यस्ता दुर्घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका थिए ।

    सडक दुर्घटना हुनुका मुख्यकारण तीव्रगति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडककोे अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ । प्रहरीले यस्ता दुर्घटना नदोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ । यसैबीच, पछिल्लो समय ट्राफिक प्रहरीले जतथाभावी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ ।

  • मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

    मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

    काठमाडौँ, ६ साउन : यही साउन १ गते मिटरब्याज (अनुचित लेनदेन) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।

    त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

    बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ । यस्तै, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले हवाई उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो । त्यसैगरी, यसैबीच, आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

  • दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

    दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

    दाङ, ६ साउनः तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री हुन् । दुवै जनाले ठेक्कामा काम गर्ने हुँदा पानीट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयले उनीहरुलाई पानीट्याङ्कीमा मृतक अवस्थामा देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गए राति प्रयोग गरेको मोटरसाइकल पनि घटनास्थल नजिक फेला परेको थियो । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    काठमाडौँ, ६ साउनः आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो ।

    सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ । मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनुभएको छ ।

    सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ ।

    ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तरराष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ । यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठन मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।

  • बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

    बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

    काठमाडौँ, ६ साउनः बैंकिङ्ग कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो ।

    दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए । अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो । —

  • दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

    दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

    भद्रपुर (झापा), ६ साउन : झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ ।

    दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो ।

    सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर क्षती पुगेको थियो । श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए ।

    सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

    प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

    संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

    काठमाडौँ, ६ साउनः नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

    नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

    झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो । शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


    काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

  • पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    काठमाडौँ, ६ साउनः पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक/एक र भूकम्पका दुई वटा घटना भएका छन् ।

    विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो । वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

    बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ ।

  • लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ


    काठमाडौँ, ६ साउनः नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।

    यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

  • ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    काठमाडौँ, ६ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै अगाडि बढ्ने विषयमा बृहत्तर छलफल भएको छ । त्यसका लागि तीन तहका सरकारबीच समन्वय सुदृढ गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विषयगत समितिको बैठकमा महत्वपूर्ण छलफल भएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा विषयगत समितिका अध्यक्ष विराज भक्त श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको बैठकमा सङ्घीयताको मर्मअनुसार ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै आपसी समन्वय कायम गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ, कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सहभागी हुनुहुन्थ्यो ।

    बैठकमा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सरजुकुमार वैद्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरू, विभिन्न प्रदेशका मन्त्रालयका सचिव, विद्युत् विकास विभाग तथा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक र नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशकलगायतको सहभागिता थियो ।

    बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८३ सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यपत्रसहित प्रस्तुति गर्नुभएको थियो । यस्तै, जलस्रोत विधेयक सम्बन्धमा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

    बैठकमा जलस्रोत र ऊर्जाको क्षेत्रमा अवसरको न्यायोचित बाँडफाँड गर्दै सङ्घ प्रदेश र स्थानीय तहबीच समन्वय थप सुदृढ बनाउने, जलस्रोतको सदुपयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, जलस्रोतको दुरुपयोगलाई निरुत्साहित गर्ने निर्णय बैठकले गरेको छ ।

    जलस्रोतलाई केवल वस्तुका रूपमा नभई बहुआयामिक महत्वका स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो । त्यसैगरी, जल तथा ऊर्जा आयोगलाई संस्थागत स्मरणलाई थप विकास गर्दै ज्ञान केन्द्र (नलेज सेन्टर) का रूपमा विकास गर्ने, खडेरी, भूमिगत जलस्रोतको अत्यधिक दोहन तथा पानीको पुनर्भरण अभावलाई ध्यानमा राखी ‘वाटर अडिट’ गर्ने विषयमा पनि साझा धारणा बनेको छ ।

    बैठकले जलस्रोत नियमनलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने, अर्थ मन्त्रालयको सहमतिमा ‘रिभर बेसिन मास्टरप्लान’ कार्यान्वयन अघि बढाउने तथा सञ्चार र समन्वयलाई केन्द्रीकृत राख्दै अधिकारलाई पूर्ण रूपमा विकेन्द्रीकरण गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ । यस्तै, जलस्रोत र सिँचाइ क्षेत्रमा परम्परागत तथा आदिवासी ज्ञान, सीप र आधुनिक वैज्ञानिक प्रविधिलाई समायोजन गर्दै जनचेतनामूलक कार्यक्रमलाई सरकारी नीति तथा कार्यक्रममा निरन्तर समावेश गरिने उल्लेख छ ।

    बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकले ऊर्जा मिश्रण, विद्युत् चुहावट नियन्त्रण तथा सामाजिक न्याय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । बैठकका सहभागीहरूले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको एकीकृत विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

  • आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

    आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ


    काठमाडौँ, ६ साउनः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् । प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।

  • धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


    युवराज पाण्डे / रासस
    नेपालगन्ज, ६ साउनः बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा बढेको छ ।

    कृषि कर्ममा गोरुको महत्व आफ्नै खालको थियो । तर आजकल न त गोरु देख्न पाइन्छ, न त किसानले गोरु धपाएको नै भेटिन्छ । जिल्लाभरका खेतमा अहिले ट्याक्टर र पावर टिलर कुदिरहेका छन् । यसले किसानलाई समय बचत हुनाका साथै रोपाइँको काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ । बाँकेको जानकी गाउँपालिका–३, कर्मनाका किसान सुन्दर खटिकले समयसँगै धान रोपाइँ प्रणालीमा पनि परिवर्तन बताउनुहुन्छ । आफूले धेरै वर्षदेखि ट्याक्टरको सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आएको उहाँले जानकारी दिनुभयो ।


    उहाँले यस वर्ष पनि दुई बिघा जमिन (बटैया) अधियामा खेती गर्नुभएको छ । खेतीका लागि ट्याक्टर प्रयोग गरेर खेत जोतेको बताउँदै उहाँले प्रतिघण्टा रु दुई हजार पाँचदेखि तीन हजारसम्म शुल्क तिरेको जानकारी दिनुभयो । “केही किसानले आफ्नै घरमा ट्याक्टर राखेका छन, तर हामीसँग छैन । त्यसैले पैसा तिरेर जोत्न लगाउँछौँ,” उहाँले भन्नुभयो ।

    अहिले धेरै किसानका घरमा खेत जोत्नका लागि गोरु वा राँगा नभएकाले अधिकांश किसानले ट्याक्टर वा पावर टिलरकै सहायताले खेत जोतेर धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । “अहिलेसम्म जति पनि रोपाइँ भएको छ, केहीमा पावर टिलर र केहीमा ट्याक्टरको रोटाभेटर प्रयोग गरेर खेत जोतिएको छ,” उहाँले भन्नुभयो । किसान खटिकले खेत जोत्नका लागि यान्त्रिकीकरण बढ्दै गएको उल्लेख गर्दै रोपाइँ गर्ने मजदुरले पनि प्रतिदिन रु ५०० देखि ८०० सम्म ज्याला लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलखाद, रोपाइँ गर्ने मजदुरको ज्याला र ट्याक्टरलाई तिर्नुपर्ने रकमका कारण धानखेतीको लागत बर्सेनि बढ्दै गएको छ ।”

    समयमै रासायनिक मल नपाउँदा धान उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उहाँले न्यून आय भएका किसानलाई सहुलियत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले धान रोपाइँ पहिलेभन्दा आधुनिक बन्दै गएको छ । उपकरणको प्रयोग बढेको छ । उहाँले किसान यान्त्रिकीकरणतर्फ लागेका छन् । उहाँले भन्नुभयो, “अहिले किसानले गोरु र राँगा पाल्न छाडेका छन् । त्यसैले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा बढिरहेको छ ।” प्रमुख घिमिरेका अनुसार पछिल्लो समय स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि औजार वितरण गर्दै आएका छन् ।

    जिल्लामा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसानले अझै रोपाइँ जारी राखेका छन् । विशेषगरी कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ ।

    नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षदेखि खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखेको बताउनुभयो । “अहिले जमाना फेरिएको छ । किसानले ट्याक्टर र पावर टिलरबाट खेत जोतेर लाभ लिइरहेका छन्,” उहाँले भन्नुभयो ।

    उहाँले यस वर्ष ‘राम’ धानको खेती बढी भएको र ‘हाइब्रिड’ जातका धानको रोपाइँ पनि उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । किसान शेखले विगतका वर्षको तुलनामा खेतमा रोपाइँ गर्ने मजदुरको पारिश्रमिक पनि बढेको छ । हाल दिनभर काम गरेबापत रु ६०० देखि रु ९०० सम्म पारिश्रमिक लिन थालेका छन् । “अहिले धेरैले आफ्नै घरमा ट्याक्टर र पावर टिलर राख्न थालेका छन्, तर हामीले भने ट्याक्टरबाट खेत जोताएर भुक्तानी गरेका थियौँ,” उहाँले भन्नुभयो ।

    कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले प्रदेश सरकार स्थापना भएपछि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ती उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको उल्लेख गर्दै पछिल्लो समय उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन भइरहेको बताउनुभयो । जिल्लाको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

  • मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

    मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि


    तेहरान, ५ साउन (रासस/एएफपी) :

    यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भए पछि इरानले खाडीमा अस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानहरू लगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करहरू मा आक्रमण गरी रोकेको जनाइएको छ ।

    पछिल्लो समयको झडपमा कम्तिमा तीन जना अमेरिकी सैनिकको मृत्यु भए पछि, संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उदेश्य हर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु भएको जनाइएको छ । यसअघि इरानी सेनाले कुवेत र बहराइनमा हवाई रक्षा प्रणाली, राडार स्थापना र प्रशासनिक भवनहरूसहित अमेरिकी सुविधालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

    मिसाइल आक्रमणको अझै निर्णायक र शक्तिशाली तयारी थालिएको आईआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि चर्को मुल्य तिर्नुपर्ने चेतावनी दिनु भएको थियो भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्णरूपमा भड्किएको बताउनुभएको थियो ।

    द्वन्द्वका कारण गत जुलाई –७ देखि लगभग एक सय जना अमेरिकी सैनिकहरू घाइते भएको पेन्टागनले जनाएको छ । यसैबिच तेहरानका यमनी सहयोगी, हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको विस्तार गर्ने धम्की दिएका छन् । हुथीहरूको यस्तो कदमले रियादको केही तेल निर्यातका लागि हर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठुलो असर पार्ने आकलन गरिएको छ ।

    साउदी अरेबियाले भने हुथी विद्रोहिको खतराको कडा निन्दा गर्दै यसले भाइचारा यमनी जनता र उनीहरूको सरकारलाई समर्थन गरिरहेको बताएको छ । अप्रिलमा जारी गरिएको युद्धविराम र जुनमा गरिएको सम्झौता ध्वस्त भए पछि मध्यपूर्व युद्ध पुनः भड्किएको छ ।

    तेहरानले हर्मुजको जलमार्गमा आफ्नो नाकाबंदी पुनः लागु गरेको छ भने वासिङ्टनले इरानका बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइ रहेको छ । विश्व वजारमा तेलको आयात गर्ने मुख्य जलमार्ग प्रभावितहुने गरी भएको लामो युद्धले तेलको मूल्य बढेर उच्च स्तरमा पुगेको थियो ।

    हाल हर्मुज अवरुद्ध भएता पनि साउदी अरेबियाले यसको लाल सागर बन्दरगाह यानबु हुँदै लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाइएको छ । कूटनीतिक आदान–प्रदान बिच, हर्मुजको जलमार्गमा, रिभोलुसनरी गार्ड्सले मङ्गलबार जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा ट्याङ्करमा विस्फोटको गराउदा ठुलो आगलागी हुनुका साथै तिनीहरूलाई नियन्त्रणमा लिएको जनाइको छ ।

    युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले यस अघि ओमानको तटमा एउटा अज्ञात प्रक्षपण तेल ट्याङ्करमा ठोक्किएको रिपोर्ट गरेको थियो । पछिल्लो लडाइँको बावजुद, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक आदान–प्रदान जारी रहेको बताउनुभएको छ ।

    इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि इस्लामाबादमा रहेको जनाइएको छ भने उहाँले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । यसैबीच लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।

  • निराश रोहिङ्ग्याको समुद्री पलायन

    निराश रोहिङ्ग्याको समुद्री पलायन

    कक्स बजार (बङ्गलादेश), ५ साउन (रासस/एएफपी । म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ समुद्री यात्राका क्रममा रोहिङ्ग्याका लागि सबैभन्दा घातक वर्ष बनेको थियो भने सन् २०२६ मा पनि मृत्यु र बेपत्ताको क्रम रोकिएको छैन । २५ वर्षीया राहेला बेगम त्यही जोखिमपूर्ण यात्राबाट जीवित फर्किन सफल हुनुभएकामध्ये एक हुनुहुन्छ ।

    सन् २०१७ मा म्यान्माको राखाइन राज्यबाट भागेर बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुग्नुभएकी उहाँले शिविरमा बढ्दो कठिनाइपछि गत अप्रिलमा मलेसिया जाने उद्देश्यले समुद्री यात्रा सुरु गर्नुभएको थियो । करिब २८० जना यात्रु बोकेको डुङ्गा चार दिनपछि अन्डमान सागरमा डुबेपछि उहाँ दुई दिन र एक रात काठको एउटा पाटामा अडिएर समुद्रमा बग्नुभएको थियो ।

    अन्ततः उद्धार जहाजको ध्यानाकर्षण भएपछि उहाँको ज्यान जोगिएको थियो । “मैले एउटा काठको फलेक समात्न सफल भएँ । त्यसैको सहारामा दुई दिन र एक रात बिताएँ । म मृत शरीरजस्तै समुद्रमा तैरिरहेको थिएँ, धेरै प्रयासपछि मात्र टाउको उठाएर उद्धारकर्ताको ध्यान खिच्न सकेँ”, उहाँले भन्नुभयो ।

    हाल कक्स बजार क्षेत्रमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । बङ्गलादेश सरकारले उनीहरूलाई शिविरबाहिर स्वतन्त्र रूपमा आवतजावत गर्न वा रोजगारी गर्न नदिने नीति अपनाएको छ । यही अवस्थाले धेरैलाई समुद्री मार्गबाट मलेसिया, इन्डोनेसिया र थाइल्यान्ड पुग्ने जोखिमपूर्ण निर्णय गर्न बाध्य बनाइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ मा छ हजार ५०० भन्दा बढी रोहिङ्ग्याले समुद्री मार्गबाट शिविर छोड्ने प्रयास गरेका थिए । तीमध्ये करिब ९०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए । यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।

    यस वर्ष जनवरीदेखि मेसम्म मात्रै कक्स बजारका शिविरबाट दुई हजार ३०० जनाले समुद्री यात्रा थालेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो । मानव बेचबिखन गर्ने गिरोहले राम्रो जीवनको आश्वासन दिँदै शरणार्थीलाई प्रलोभनमा पार्ने गरेका छन् ।

    कक्स बजारबाट करिब एक घण्टाको दूरीमा रहेको टेकनाफबाट यात्रुहरूलाई ट्रलरमार्फत समुद्रमा पु¥याइन्छ र त्यसपछि ठूला जहाजमा सारेर दक्षिणपूर्वी एसियातर्फ पठाइने गरेको छ ।

    नाम नखुलाउने सर्तमा एक तस्करले प्रत्येक यात्राबाट आफूले दुई लाख ५० हजार टकासम्म आम्दानी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँका अनुसार यस्तो सञ्जाल बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड र मलेसियासम्म फैलिएको छ । बङ्गलादेशी अधिकारीहरूले भने मानव बेचबिखन नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका छन् ।

    तटरक्षक बलका लेफ्टिनेन्ट मोहम्मद रनक रहमानका अनुसार यस वर्ष मात्रै ६१८ जना मानव बेचबिखनका पीडितको उद्धार गरिएको छ । नाफ नदी क्षेत्रमा नियमित गस्ती भइरहेको र थप घटना रोक्न अधिकतम सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।

    यद्यपि स्थानीय अधिकारीहरूले सीमित स्रोतसाधनका कारण मानव बेचबिखनको सञ्जाल नियन्त्रण गर्न कठिन भइरहेको स्वीकार गरेका छन् । कक्स बजार अदालतका सरकारी वकिल तौहिदुल अन्वरका अनुसार हाल करिब ५०० वटा मानव बेचबिखनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् ।

    उहाँले अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुने र तस्करहरूको प्रभाव बलियो रहेकाले कारबाही चुनौतीपूर्ण बनेको बताउनुभयो । स्थानीय प्रहरी प्रमुख ए.एन.एम. साजेदुर रहमानले रोहिङ्ग्याहरू जुनसुकै मूल्य चुकाएर पनि शिविरबाट बाहिरिन चाहने भएकाले समस्या अझ जटिल बनेको उल्लेख गर्नुभयो ।

    युनाइटेड रोहिङ्ग्या काउन्सिलका अध्यक्ष सैयद उल्लाले शिविरको कठोर जीवन नै पलायनको मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार धेरै शरणार्थी दैनिक दुई छाक खाना र अत्यन्त न्यून आर्थिक सहयोगमा जीवन गुजार्न बाध्य छन्, त्यसैले राम्रो भविष्यको आशामा उनीहरू जोखिमपूर्ण यात्रा रोजिरहेका छन् ।

    उहाँले रोहिङ्ग्या सङ्कटको दीर्घकालीन समाधान म्यान्मामा स्थायी शान्ति स्थापना र सुरक्षित स्वदेश फिर्ती नै भएको बताउनुभयो । तर सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा जारी द्वन्द्व अझै रोकिएको छैन ।

    अमेरिकास्थित संस्था एसीएलइडीका अनुसार उक्त द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कक्स बजारस्थित बाँस र त्रिपालले बनेको आफ्नो अस्थायी बासमा फर्किनुभएकी राहेला बेगमले समुद्री दुर्घटनासँगै आफ्नो स्वतन्त्र जीवनको सपना पनि डुबेको बताउनुभयो । “भगवानले मलाई कतै पनि शान्ति दिनुभएन । आफ्नै देशमा पनि होइन, यहाँ पनि होइन”, उहाँले पीडाभाव व्यक्त गर्नुभयो ।

  • कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

    कीर्तिपुरमा जलेको कारबाट शव निकालियो


    काठमाडौँ, ५ साउन : काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ ।

    स्थानीयका अनुसार बा५च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेलापारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले सो कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको बताउनुभयो । आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको जानकारी पनि उहाँले दिनुभयो । उक्त घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

  • शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

    शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो



    काठमाडौँ, ५ साउन : सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गर्नुभएको छ ।


    प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागु नगर्ने निर्णय गरिएको बताउनुभयो । “यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो,” प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

    तीन प्रतिशत समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    उहाँले करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्यसहित उक्त व्यवस्था ल्याइएको बताउनुभयो । उहाँले नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न आफूहरुको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनुभयो ।

    “सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत शय्या र निजी क्याम्पस तथा विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।”

  • स्थानीय तहसङ्ग सम्बन्धित जनगुनासो मुख्यसचिवबाट सम्बोधन गरिने

    स्थानीय तहसङ्ग सम्बन्धित जनगुनासो मुख्यसचिवबाट सम्बोधन गरिने


    काठमाडौँ, ५ साउन : ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा त्यसप्रकारका गुनासा मुख्यसचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

    “स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का पट्टा र निर्माण कार्यमा अनियमितता भ्रष्टाचार र बेथितिलगायतका गुनासोहरु हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न पोर्टलमार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरु नेपाल सरकारका मुख्य सचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

  • शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा

    शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा


    काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ ।

    आज सामाजिक सञ्जालमार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरुले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनुभएको छ ।

    “निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्, धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो”, उहाँले भन्नुभएको छ, “निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो, सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन ।”

    प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक हुनुपर्ने धारणा राख्नुभयो । –

  • नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल

    नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल


    जनकपुरधाम, ५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनुभएको छ ।

    जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभयो । तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताउनुभयो ।

    नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउनुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो । नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना

    सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना

    काठमाडौँ, ५ साउन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो ।

    एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले छ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताउनुभयो ।

    उहाँका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ । उद्योग विभागले मधेस प्रदेश सरकार मातहत पर्ने छ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ । यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना सङ्कलन गरेको थियो ।

    नमूना सङ्कलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ । मन्त्री यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदीलाई प्रदूषित गराएको खण्डमा आवश्यक निरीक्षण गरेर जरिवाना गर्नका लागि निर्देशन दिनुभएको छ ।

  • काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

    काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो


    काठमाडौँ, ५ साउन : काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताउनुभयो ।

    “दुर्घटना हुनु आफैँमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ ।

    “शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन्”, सुवेदीले भन्नुभयो । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।

  • वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

    वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

    काठमाडौँ, ५ साउनः विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।

    यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७० सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ । यसैगरी, ३३ केभी क्षमताको १३२ सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिइएको छ । उत्पादन अनुमतिपत्र पाएका २९ आयोजना छन् ।

    ती आयोजनाको क्षमता एक हजार ८५७ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ तीन आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । ती आयोजनाको क्षमता ३१ मेगावाट छ । विभागले वार्षिक रुपमा करिब रु तीन अर्ब ५० करोड बराबरको रोयल्टी सङ्कलन गर्ने गरेको छ । प्राप्त भएको रोयल्टी रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने गरेको छ ।

    त्यसबाट प्रदेश र स्थानीय तहको आर्थिक उन्नयन र विकासमा महत्वपूर्ण योगदान पुगेको विभागले जनाएको छ । विभागले हालसम्म जारी गरेको उत्पादन अनुमतिपत्रमध्ये जलविद्युत्तर्फ २६४ आयोजना छन् । ती आयोजनाको कूल क्षमता १२ हजार ३३६ मेगावाट छ । सौर्य ऊर्जातर्फ कूल १० आयोजना छन् ।

    ती आयोजनाको कूल क्षमता ७४ दशमलव छ मेगावाट छ । प्रसारण लाइनतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ । यस्तै, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताको एक हजार ६०८ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ । त्यस्तै, ३३ केभी क्षमताको ३३७ सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिनुभयो ।

  • सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध


    काठमाडौँ, ५ साउनः सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो ।

    सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले रु २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ । यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ रु तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ उपलब्ध गराएको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ रु ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ रु ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ ।

    पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।

  • तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

    तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट


    काठमाडौँ, ५ साउनः तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् ।

    पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन् । कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका, कपलिवस्तुको शुद्धोधन गाउँपालिकाले बजेट ल्याएका छैनन् । कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहले बजेट ल्याएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय

    गत असार भित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।

    संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारको, असार १ गते प्रदेश सरकार र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ । स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्यालगायत कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ । विपद्को समयमा कार्यालय नछाड्न निर्देशन यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले विपद्को संवेदनशील समयावधीभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रुपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ । देशका विभिन्न स्थानमा अविरल बर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै प्रकारको बिदामा रहेको भए उक्त बिदा छोट्याइ यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ । विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै विशेष कारणबस कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएका सम्बन्धित निकायको पूर्वस्वीकृति लिइ जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालय छाड्न मन्त्रालयले पत्राचार गरेको छ ।

  • पूर्वसहमति नलिइ सरकारी निकायले सवारीसाधन खरिद गर्न नपाइने

    पूर्वसहमति नलिइ सरकारी निकायले सवारीसाधन खरिद गर्न नपाइने


    काठमाडौँ, ५ साउन : विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

    सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ ।

    कार्यालयको कार्य सम्पादनजका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ । भाडामा लिने घर पूर्ण रुपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री खर्च, भक्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायत प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाई खर्च गर्नुपर्नेछ । सार्वजनिक खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

    भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाई सरकारी कोषको प्रभावकारी उपयोगका लागि मासिक नगद योजना तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ । नगद प्रवाहलाई व्यवस्थित गर्न रु एक अर्ब बढीको भुक्तानी दिनुपर्ने भएमा सात दिनभित्रै अर्थमन्त्रालयलाई अनिवार्य अनिवार्य जानकारी गराउनुपर्नेछ । आयोजना तथा कार्यक्रम कार्यान्वयनको सिलसिलामा सिर्जना हुन सक्ने वित्त जोखिमको आँकलन गरी वित्त जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेछ ।

    अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायका अनुसार, ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पुँजीगत खर्चएमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ । बजेट कार्यान्वयनमा आइपरेका समस्या, कारणहरु उल्लेख गरी राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने व्यवस्था मिलाउन मार्गदर्शनमा आग्रह गरिएको छ । प्रत्येक दुई महिनामा अर्थ मन्त्रालयमा हुने बजेट कार्यान्वयनसम्बन्धी समीक्षा हुनेछ ।