Category: समाचार

  • केही स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

    पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु


    काठमाडौँ, ५ साउन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन् । “सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो भने ११ जाना घाईते भएका छन् । उक्त घटनाबाट नौ जिल्ला प्रभावित छ । पहिरोबाट दुई घाइते र ११ जिल्ला प्रभावित छन्”, उनले भने । प्राधिकरण्का अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् ।

    प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब रु १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा छ वटा चौपाया पनि क्षति भएको छ ।


    पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण तथा तीन वटा बाढीका घटना भएको प्राधिरकणको तथ्याङ्कमा उल्लेख छ । ती घटनाबाट ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जाना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ । शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम, भारी र अति भारी वर्षाका कारण बाढीपहिरो, डुबान जस्ता विपद्का घटना बढ्न सक्ने भन्दै प्राधिकरणले प्रतिकार्यका लागि व्यापक तयारी गरेको थियो ।

    अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ । विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा


    काठमाडौँ, ४ साउन : जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ । जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ ।

    विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ । सो अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७.० मिलिमिटर वर्षा भएको छ

    अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ । विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने



    काठमाडौँ, ४ साउनः सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशानसन र अर्थमन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ । चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ । बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पु¥याउने खालका कानुनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

  • शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौँ, ४ साउनः सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकले कार्यसूचीअन्तर्गत मन्त्रालय-निकायले पूर्णरुपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैँले त्यसको प्रगति ‘ट्रयाकिङ’ गर्ने निर्णय गरेको छ ।

    ‘विजनेश प्रोसेस रि–इन्जिनियरिङ’ मार्फत पहिचान गरिएको अनावश्यक प्रक्रिया, कागजात तथा तहहरु हटाइ निर्णय निर्माण छिटो, सरल र नागरिकमैत्री बनाउने बैठकको निर्णय छ । बैठकले जेन–जी आन्दोलनका सहिद परिवार र घाइेतका लागि गत असार १८ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने, कर्मचारीको क्षमता विकास, विपद् पूर्वतयारी र प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययितालगायत २२ बुँदे निर्णय गरेको छ ।

  • खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

    खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु


    काठमाडौँ, ४ साउनः नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालका अनुसार, २४ महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ ।

    चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोपरेशन फण्डको आर्थिक सहयोग रहेको परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट, कृषि पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहेको बताए । एअफएओकी निर्देशक हुआ याङले यस परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गरे । काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने उक्त परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ ।

    परियोजना कार्यान्वयनबाट महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु–अनुकूलन क्षमता सुदृढ पार्ने छ । सहकार्यले अन्तरराष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा एफएओका प्रतिनिधि केन शिमिजुलगायत उच्च अधिकारी, सङ्घीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान सङ्गठन र सरोकारवालाको सहभागिता थियो ।

  • उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

    उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

    गण्डकी, ४ साउन : पोखरा उच्च अदालतमा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या गत आवमा शून्यमा झरेको छ । अदालतमा एक वर्षदेखि १८ महिनाभित्रका आठ, छ महिनादेखि एक वर्षभित्रका एक सय ७७ र छ महिनाभित्रका तीन सय १४ मुद्दा मात्र बाँकी छन् । चार सय ९९ मुद्दा पछर्योट हुन बाँकी रहेको अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए ।

    अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका सात सय ५० र नयाँ दर्ता भएका १३ सय १९ गरी गत आवमा दुई हजार ६९ मुद्दा रहेकामा १५ सय ७० अर्थात ७५.८८ प्रतिशत मुद्दा फर्छोट भएका थिए । उच्च अदालतले आव २०८१/०८२ मा लक्ष्यको ७८.०७ प्रतिशत मुद्दा फछर्योट गरेकामा गत आवमा भने फछर्योट दर केही घटेको हो । गत आवमा फछर्योट भएका मुद्दामध्ये देवानी प्रकृतिका चार सय ७५, फौजदारी मुद्दा नौ सय तीन र रिट एक सय ९२ रहेका छन् । सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत अदालतले मुद्दाको फछर्योटमा तीव्रता दिँदै आएको उप–रजिष्ट्रार पनेरुले बताए ।

    छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फछर्योटमा सुधार आएको उहाँको भनाइ छ । उच्च अदालतले जुनसुकै प्रकृतिका मुद्दालाई १८ महिनाभित्रमा फछर्योट गर्ने र दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा पु¥याउने लक्ष्यसहित न्याय सम्पादन गर्दै आएको थियो ।

    उच्च अदालतले मुद्दाका मिसिलको विद्युतीय अभिलख राख्ने कार्यलाई पनि अगाडि बढाएको छ । गत आवमा पाँच सय ४४ मिसिलको विद्युतीय अभिलेख तयार पारिएको जनाइएको छ । अदालतले हालसम्म पाँच हजार तीन सय ४१ थान मिसिलको विद्युतीय अभिलेख राखेको छ ।

  • स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

    स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

    काठमाडौँ ४ साउनः साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए ।

    त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो । खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

  • शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    न्यूयोर्क, ३ साउन (राससएएफपी) । फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पङ्तीका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उनको ठीक पछाडि छन् । तर उनले फाइनलको एक खेल खेल्न अझै बाँकी छ । फाइनल दुवै खेलाडीको रेकर्ड चर्चाको केन्द्र बनेको छ ।

    फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तस्बिर पूरै बदलिदिएको छ ।

    लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई यो बर्षको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्नेछन् । नेपाली समय अनुसार आइतबार राती १२ः४५ बजे सुरु हुने विश्वकप फाइनलअघि सबैको ध्यान यो कुरामा छ ।

    –सर्वाधिक गोलकर्ता एम्बाप्पे–

    फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पु¥याएका छन् । उनले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गरेका छन् । उल्लेखनीय कुरा के छ भने उनले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने ।

    –मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका–

    अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेल्नुभएको छ र ३३ खेलमा २१ गोल गरेका छन् । सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिएका थिए । तर एम्बाप्पेले पछि उनीहरूलाई उछिने । अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। उहाँलाई यसका लागि दुई गोल चाहिन्छ ।

    –क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा–

    जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा झर्नुभएको छ भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन् । इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा छन् । इङ्ल्यान्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाउनुभएको थियो । यो रेकर्ड अहिलेसम्म कायम छ ।

    अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गरे भने उनी एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् ।

  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व

    चितवन, ३ साउनः अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए । सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।

    एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् । गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ । काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको छ ।

  • सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

    सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

    सुदूरपश्चिम, ३ साउनः सुदूरपश्चिमका सबैजसो जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हाल प्रदेशका हिमाली, पहाड र तराईका सबैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जनाएको हो । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा भएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९ दशमलव छ मिलिमिटर पानी परेको छ भने अत्तरियामा १२ मिलिमिटर पानी परेको छ ।

    यहाँका नदीमा पानीको बहाव सामान्यतया चेतावनी तह पुगेको जनाउँदै आजको तुलनामा सोमबार बढी पानी पर्ने सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्न सक्ने साहले बताए । “आजको भन्दा भोलि बढी पानी पर्ने पूर्वानुमान छ । त्यसो हुँदा नदी तथा खोलामा पानीको तह बढ्न सक्छ । त्यसैले नदी तटीय क्षेत्रमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ”, उनले भने ।

    आज राति सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि कार्यालय जानकारी दिएको छ ।

  • सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    गण्डकी, ३ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधनका लागि पहिला प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।


    “सुशासन, संविधानको संस्थागत विकास र सङ्घीयताको सवलीकरणका लागि संविधान संशोधन गर्ने विषयलाई नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमै उल्लेख गरेको थियो”, सभापति थापाले भने, “सुशासन अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा हो, नयाँ पुस्ताले पनि यही विषय उठाइरहेको छ, सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस प्रारम्भ गरौँ ।”

    संविधान संशोधनको विषयले ठीक ढङ्गले लय पक्रेन भने मुलुक नयाँ द्वन्द्वमा जाने उनको भनाइ थियो । “संविधान केवल कागजी दस्तावेज मात्र होइन, यो त जीवन्त प्रकृया हो”, सभापति थापाले भने, “संविधान संशोधनका विषयलाई ऐतिहासिक दृष्टिकोण र चेतबाट हेनुपर्छ, यो आवेश र उत्तेजनामा आई गर्ने कुरा होइन, संविधान संशोधन आफैमा संवेदनशील विषय हो ।”

    लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र संविधानवादका आधारभूत विषयबाहेक संविधान संशोधनका हरेक मुद्दामा नेपाली कांग्रेस बहस गर्न तयार रहेको सभापति थापाले उल्लेख गर । उनले नेपाली कांग्रेस राष्ट्रिय राजनीतिक शक्ति भएकाले लोकतन्त्र र नागरिक अधिकार रक्षाको मुख्य जिम्मेवारी पनि कांग्रेससँग रहेको धारणा राखे ।


    “संसद्मा सानो पार्टी भए पनि राष्ट्रिय भूमिकाका हिसाबले हामी राष्ट्रिय पार्टी हो”, सभापति थापाले भने, “संविधानको सर्वोच्चता र नागरिक अधिकारमाथि कुनै पनि किसिमको खेलवाड हुन हामी दिँदैनौँ ।” नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरुप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने उनले बताए ।

    प्रदेश सरकार र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने सभापति थापाले जिकिर गरे । सरकारसँग कांग्रेसले कुनै पूर्वाग्रह नराख्ने उनले उल्लेख गरे । पाँच वर्ष सरकार चलाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको उल्लेख गर्दै सभापति थापाले सरकारले कमीकमजोरी गर्दा भने प्रमुख प्रतिपक्षी दलका हिसाबले सधैँ खबरदारी गरिरहने बताए ।


    विचार गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयतालाई थप सुदृढ गनुपर्ने बताए । सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका विकृतिलाई हटाउनुपर्ने उनको भनाइ थियो । सङ्घीय सरकारले कानुन निर्माण नगरेका कारण पनि प्रदेश सरकारका कानुन कार्यान्वयनमा चुनौती देखिएको मुख्यमन्त्री पाण्डेले बताए ।


    प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लले लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा आँच नआउने गरी संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । विचार गोष्ठीमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, प्रजातान्त्रिक विचार समाज, कास्कीका अध्यक्ष शिशुकला पराजुलीलगायतले संविधान संशोधनको आवश्यकता र औचित्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

    विचार गोष्ठीमा अधिवक्ता कपिलमणि दाहालले संविधान संशोधनका विषयमा कार्यपत्र गरेका थिए । कार्यपत्रमाथि गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चिरञ्जीवी शर्माले टिप्पणी गरेका थिए ।

  • राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

    राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

    चितवन, ३ साउन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ । वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो ।

  • कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

    कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

    काठमाडौँ, ३ साउन । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

    विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताइन् । “आज साँझसम्म कोशी नदीको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ”, उनले भनिन् ।

    विष्टका अनुसार नदीको जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

    उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए । विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • आज दिनभर उपत्यकामा सडक जलमग्न

    आज दिनभर उपत्यकामा सडक जलमग्न

    काठमाडौँ, ३ साउनः लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन् । ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ । ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढेको बताए ।

    उनका अनुसार सडकमा पानी जमेपछि सवारीसाधन एउटै लेनबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना हुँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ । “अहिले ट्राफिक व्यवस्थापन सहज हुँदै गएको छ । आज सार्वजनिक बिदाको दिन भएर पनि सजिलो भयो । तर सडकमा पानी जम्दा दुर्घटनाको जोखिम भने बढिरहेको छ । एउटै लेनबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अवस्था छ”, उनले भने ।


    सुवेदीले वर्षाका कारण आज साँझ पनि माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको जानकारी दिँदै दीर्घकालीन रूपमा प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताए । वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सुवेदीको आग्रह छ ।

  • बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

    बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

    काठमाडौँ, ३ साउनः अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ ।

    विभागका अनुसार आज अपराह्न गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको थियो । जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो । विभागको बाढीविद् सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता दिन नपर्ने बताOg\ . अहिले उक्त नदीको जलसतह सतर्कता तह कम छ , जलसतह घटेर २ दशमलव २ मिटर नदीमा जल सतह पुगिसक्यो,” उgn] elgg\ . विभागका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गर्नेछ । विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

  • उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

    उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

    काठमाडौँ, २ साउनः उद्योग विभागले आर्थिक वर्ष २०८२\८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने रु ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।

    विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु तीन अर्ब ९१ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । त्यसैगरी ऊर्जामूलक क्षेत्रअन्तर्गत चार वटा परियोजनाका लागि रु सात अर्ब १६ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा रु २३ अर्ब १८ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

    पर्यटन क्षेत्रका लागि दुई सय २७ परियोजनामा रु १३ अर्ब ९९ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । त्यसैगरी सूचनाप्रविधिमूलक क्षेत्रमा सात सय २७ परियोजनाका लागि रु दुई अर्ब ८३ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

  • वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

    वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान

    काठमाडौँ, २ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल) को व्यापार\व्यवसाय नगर्न सरोकार भएका सबैलाई अनुरोध गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैरकानुनी रूपमा फुटवेयरको व्यापार\व्यवसाय नगर्ने\नगराउने विषयमा सूचना जारी गर्दैसरोकार भएका सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको हो ।

    विभागले बजारमा लेवल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको भनी विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएको सम्बन्धमा गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा ऐनले तोके बमोजिमको लेवल लगाउनुपर्ने जनाएको छ ।

    विभागले सोही ऐनको दफा ८ मा भएको व्यवस्था अनुसार पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नसमेत अनुरोध गरेको छ । विभागले सोही ऐनको दफा ११ मा वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायत कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको जनाएको छ ।

    विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन हुन सूचित गरेको छ । विभागले कानुन विपरितका कार्य भएगरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने व्यहोरा सबैलाई जानकारी गराएको छ ।

  • मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

    मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

    काठमाडौँ, २ साउनःदेशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

    उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।

  • घुँगी खोज्न गएकाको डुबेर मृत्यु

    घुँगी खोज्न गएकाको डुबेर मृत्यु

    चितवन, २ साउनः बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो । आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।

  • लागूऔषधसहित २२ जना पक्राउ

    लागूऔषधसहित २२ जना पक्राउ

    काठमाडौँ, २ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार\चार, सुनसरी र काठमाडौँबाट दुई\दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक\एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाइएको छ ।

  • भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

    भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

    काठमाडौँ, २ साउनः काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

    सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो ।

  • पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

    पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

    बेइजिङ, २ साउन (रासस–एएफपी) । वाशिङ्गटनले अमेरिकामा पत्रकारहरूको बसाइ अवधि छोट्याउने नियम अन्तिम रूप दिएको भोलिपल्ट चीनले शुक्रबार ‘प्रतिकारात्मक कदम’ चाल्न सक्ने चेतावनी दिएको छ। यसमा चिनियाँ नागरिकहरूलाई सबैभन्दा कडा सीमा लागू हुने भएको छ। सेप्टेम्बरदेखि लागू हुन सक्ने यो परिवर्तनअनुसार विदेशी पत्रकारहरूलाई अमेरिकामा मात्र २४० दिन ९करिब आठ महिना० बस्न पाइने छ, तर त्यति नै थप अवधिको विस्तारका लागि आवेदन दिन सकिनेछ ।

    वाशिङ्गटनको गृह सुरक्षा विभागले प्रस्ताव गरेको नियमअनुसार चिनियाँ नागरिकहरूलाई भने केवल ९० दिनको बसाइ सीमा तोकिएको छ र नयाँ आवेदनपछि ९० दिनको विस्तार मात्र सम्भव छ । “चीनले विशिष्ट देशहरूलाई लक्षित गर्दै अमेरिकाले गरेको भेदभावपूर्ण कार्यको दृढतापूर्वक विरोध गर्दछ,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ताले भने । “चीनले अमेरिकालाई चिनियाँ पत्रकारहरूप्रति लागू गरेको भेदभावपूर्ण नीति तत्काल खारेज गर्न माग गर्दछ,” लिन जियानले नियमित पत्रकार सम्मेलनमा भने ।


    “चीनले पारस्परिक प्रतिकारात्मक कदम चाल्ने अधिकार सुरक्षित राख्छ,” उनले भने । नयाँ अमेरिकी भिसा सीमाहरू ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको मुख्य एजेन्डा बनाएको व्यापक आप्रवासन कडाई अभियानको हिस्सा हुन् । यसमा ठूला शहरहरूमा आक्रामक कारबाहीदेखि लिएर नागरिकताको कानुनी बाटोमा नयाँ प्रतिबन्धहरू समावेश छन् ।

    मिडिया अधिकार समूहहरूले नयाँ नियमको आलोचना गरेका छन् । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले बिहीबार एएफपीलाई दिएको प्रतिक्रियामा यस सीमिततालाई ‘आक्रोशजनक’ निर्णय भएको बताएको छ । नयाँ नियमहरू रिपब्लिकनहरूको बाहुल्यता रहेको अमेरिकी काङ्ग्रेस (संसद्)बाट समीक्षा हुन बाँकी छन् ।

  • भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

    काराकास, २ साउन (रासस–एएफपी) । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

    नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् । भूकम्पमा घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ । यद्यपि अधिकांश घाइते उपचारपछि अस्पतालबाट घर फर्किसकेको अधिकारीहरूले जनाएका छन् ।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुनर्निर्माणका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिए । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताको सम्बोधनका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) प्रयोग गर्न सहयोग गरिएको बताए ।
    भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन् ।

    उनीहरू अस्थायी शिविरमा बस्दै आएका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था नभएको जनाइएको छ । भेनेजुएलासँग आइएमएफमा करिब पाँच अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात रहेको छ । निकोलस मादुरोलाई राष्ट्रपति नमानिएका कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो । यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनःसुरु गरेका थिए । सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो ।

  • फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    जनकपुरधाम, २ साउनः दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।


    दाइजोको विषयलाई लिएर गत २०६५ साल भदौ ३ गते विहान ९ बजेको समयमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते चन्द्रिकाको भारतको बिहार राज्यको पटनामा उपचार गराउँदा उपचार हुन नसकि पुनःधरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरारमध्ये रामनाथ रायलाई खोजी गर्ने क्रममा गाउँबाटै पक्राउ गरी थप अनुसनधान गरिरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

  • उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    नेपालगन्ज, २ साउनः उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ ।

    शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्न सफल भएको जानकारी दिए । फर्छ्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्वन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् ।

    न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उनले बताए ।


    अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट हुँदा ८०९ मुद्दा चालु अवस्थामा छन् ।

    वार्षिक कार्ययोजना अनुसार अदालतले दुई हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्यअनुसार ७७ दशमलव ७ प्रतिशत उपलब्धि हासिल भएको छ ।

    विगत तीन आर्थिक वर्षको तथ्याङ्कले भने फर्छ्यौट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८०–८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१–८२ मा ७५दशमलव ७४ प्रतिशत फछ्र्योट भएको थियो भने आर्थिक वर्ष २०८२–८३मा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फर्छ्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ ।

    अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरणकार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको उनले जानकारी दिए । बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२–८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा दुई हजार ७३३ र बर्दियामा एक हजार ३१२ मुद्दा फछ्र्योट भएका छन् ।

    बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ वटा मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फर्छ्यौट भएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यसअनुसार बाँके जिल्ला अदालतको फछ्र्योट दर करिब ३८ दशमल ८ प्रतिशत रहेको छ ।

  • आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, २ साउनः जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।

    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।


    विभागका अनुसार सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु पर्नेछ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ । आज राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

    सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

    काठमाडौँ, १ साउनः सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाबीच फर्जी लिखतहरू खारेज गर्दै मिटरब्याज उन्मूलनको घोषणा गर्ने सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट कुशवाहाले हस्ताक्षर गरे ।


    सहमति अनुसार लामो समयदेखि आर्थिक सामाजिक विसङ्गतिका रूपमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई आर्थिक अपराध तथा कुप्रथाका रूपमा लिँदै यसम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्नका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने र सो घोषणासँगै नागरिकमाथि आपराधिक तथा दुषित मनसायका साथ बनाइएका मिटरब्याजसँग सम्बन्धित फर्जि लिखतहरू (तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेशन, छिनुवा पास, बाध्यकारी चेक आदिं स्वतः अवैध हुने सहमति भएको सम्झौतापत्रमा उल्लेख छ ।

    मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन लागू गर्ने, मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्न गृह मन्त्रालयले तीन महिनाभित्र विधेयकको मस्यौदा तयार गरी कानून निर्माणको प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ ।

    ‘मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी ऐन’ लागू गर्ने सहमति पनि भएको छ । उक्त ऐनमा मिटरब्याजसम्बन्धी अपराधको परिभाषा र कसुरको व्यवस्था कायम गर्ने, पीडितले गुमाएको चलअचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार, आपराधिक लाभलगायत गतिविधिबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टालगायत क्षेत्रमा परिचालन गरी शहरी मिटरब्याजीबाट व्यक्तिहरूको उठिबास लाउने समस्या समाधान गर्न कानूनी व्यवस्था गर्ने र मिटरब्याजबारे न्याय निरुपण गर्न मिटरब्याजसम्बन्धी मुद्दा हेर्ने न्यायाधीकरणको व्यवस्था गर्ने प्रावधान राखिएका छन् ।

    सहमतिपत्रमा भनिएको छ, “मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम वडा कार्यालयमा लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको निस्सा तथा बैंक तथा वित्तीय संस्था वा कुनै विद्युतीय माध्यममार्फत कारोबार गरेको प्रमाण पेश नगरेको तथा एक पक्षको मात्र उपस्थितिमा प्रमाणीकरण गरेको लिखतलाई आधिकारिकता नदिने व्यवस्था गर्ने ।”

    वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटरब्याजमा लगाउनेहरूमाथि कडा कारबाहीको व्यवस्था गरिनेलगायत विषय सहमतिपत्रमा उल्लेख गरिएका छन् ।

  • विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

    विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

    काठमाडौँ, १ साउनः विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    आदेशमा भनिएको छ, “विष्णु प्रसाद पौडेललको सम्बन्ध, सलंग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुवाट खुल्न नसकेको, आरोप दाबीको कसुरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबारसमेत सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने खुल्न नसकेकोे अवस्था हुँदा उल्लिखित तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग) को अवस्था विद्यमान रहेको देखियो ।”


    अदालतले उपाध्याक्ष पौडेलको आरोपमाथि उनले इन्कारी बयान दिएको, संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको जनाएको छ ।

    ‘प्रस्तुत आरोपदाबीको मूल आरोपदाबीको रुपमा यस अदालतमा दर्ता भई कारबाही युक्त अवस्थामा रहेको ०८२–१५४ को सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी दीपक भट्टले अनुसन्धान अधिकृत समक्ष तथा अदालत समक्ष बयान गर्दा निजको नाममा रहेको उल्लिखित कम्पनीहरुको नाममा श्रीराम टोवाको उद्योग प्रालिबाट शेयर खरिद गर्ने क्रममा यी प्रतिवादी विष्णुप्रसाद पौडेलले सहजीकरण गरेको भन्नेको कुनै पनि तथ्य खुलाएको वा पोल गरेको देखिँदैन, तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि प्रतिवादी विष्णुप्रसाद पौडेललाई साधारण तारिखमा राख्नू’, आदेशमा उल्लेख छ ।

    उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । पौडेलमाथि श्रीराम टोबाको कम्पनीको शेयर दीपक भट्टलाई दिलाउन अर्थमन्त्री भएका बेला पौडेलले भूमिका खेलेको आरोप थियो ।

  • कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    काठमाडौँ, १ साउनः नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता-विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ । सो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो ।

    भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले सन् २०२५ नोभेम्बर ४ तारिखमा ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम नियमावली, २०१९’ मा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

    उक्त निर्णय कार्यान्वयन गराउन नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको थियो । सोहीअनुसार कोलकाता भन्सारले सन् २०२६ फेब्रुअरी २६ तारिखमा कोलकाता र हल्दियाबाट वीरगञ्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।

    कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँगको समन्वयमा आज कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको महावाणिज्य दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले संयुक्तरुपमा हरियो झण्डा देखाइ रेल कार्गोको शुभारम्भ गर्नुभयो ।

    भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) को रेल ¥याकमार्फत प्रस्थान गरेको सो पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ रहेका छन् । उक्त कार्गोमा ४० फिटका ४० वटा उच्च क्षमताका कन्टेनर रहेका महावाणिज्य दूतावासले जनाएको छ । ती कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम जडान गरिएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर रेलमार्फत सिँधै विराटनगर पठाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

    सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यनू लागतको ढुवानी हुनेछ । कोलकाताबाट छुटेको करिब २४ घन्टामा उक्त कार्गो रेल विराटनगर आइपुग्नेछ । यसबाट सबै प्रकारका वस्तु आयातमा सहज हुनेछ । विगतमा वीरगञ्जमा मात्र यसखालको रेल कार्गो सुविधा उपलब्ध भएकामा अब विराटनगरमा रेल कार्गोमार्फत कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुला भएको छ ।

    यससँगै बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई समग्र व्यापार पारवहन लागत उल्लेखनीय रूपमा न्यूनीकरण हुने, व्यापार सहजीकरणमा मद्दत पुग्ने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने विश्वास लिइएको छ ।