Category: समाचार

  • टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

    कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षका सन्देश कार्की घाइते भएका छन् ।

  • सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ

    सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे संघीय सरकारको साथ मागेको छ । सोमबार थापाथलीमा झडप भएको थियो । सो क्रममा महानगरका प्रहरीहरु घाइते भएका छन् । केही मानिसहरुले मेयर बालेन्द्र साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । सो भिडियो सामाजिक सञ्जालमा राख्दै बालेनले संघीय सरकारको साथ मागेका हुन् ।

    सोमबारको घटनापछि सोमबार नै बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गरेको बताइएको छ । थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेका थिएइ । त्यसपछि तनाव सुरु भएको थियो । महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

    सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो ।

  • सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?

    सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछाने सांसद भएदेखि नै चितवनमा सक्रिय छन् । उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुने भन्दै आफुले काम थालेको बताएका छन् । ‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति यही नै हो,’ उनले भनेका छन्।

    सांसद भएपछि गरेका कामका विवरणबारे उनले ४ बुँदा सार्वजनिक गरेका छन्। जसमा बिजुली र रासायनिक मलका लागि पहल गरेका विवरण छन्। ‘मेरो निर्वाचन क्षेत्र चितवन( २ को इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ का विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश टेन्डर आह्वान गरेर विद्युत लाइन विस्तार हुने भएको छ। विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल विद्युत लाइन विस्तार गर्न छलफल भएको छ।

    अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ,’ उनले भनेका छन्। उनले कालिका नगरपालिकाको विद्युत नपुगेका पहाडी भेगमा पनि तत्काल विद्युत विस्तार हुने बताएका छन्।

    ‘चितवनका किसानले वर्षौंदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेको छु। दुवै भेटघाट निकै फलदायी बनेका छन्,’ उनको भनाइ छ। उनले समसामयिक राजनीतिबारे पनि नजिकबाट नियालीरहेको उल्लेख गरेका छन्।

    ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालीरहेका छौं। निर्वाचनको पूर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं,’ उनले भनेका छन्।

  • मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?

    मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?

    काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

    एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने पनि उनले सुनाए। आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरूङ सफा गर्नेछ। सुरूङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ। पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ।

    यो सञ्जालमार्फत् अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्। वर्षामा बाढी आएर सुरूङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो।

    विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो। मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ।

  • अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने

    अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने

    काठमाडौं । यूरोपेली यूनियनले एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको छ । यसबारे युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले पुनः स्थलगत परीक्षण गर्ने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे परीक्षण गरेको थियो । त्यसपछि आएको सूचीमा नेपाल निरन्तर परेसँगै यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो राखेको थियो ।

    ईयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयूले ‘अनसाइट असिस्मेन्ट असिस्मेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन् । यो टीमले मूख्यतया कर्मचारी नियमावलीमा प्राधिकरणले गरेको नीतिगत परिवर्तन र त्यसको कार्यान्वयनको अवस्थाबारे स्थलगत रुपमा परीक्षण गर्न चाहेको छ ।

    प्राधिकरणले कर्मचारीले नियमावलीमा संशोधन गर्दै नियामककारी भूमिका र सञ्चालनकारी भूमिकामा रहेका कर्मचारीहरु एक अर्को भूमिकामा सरुवा हुन नसक्ने गरी प्रावधान ल्याएको छ । यसअघि ईयूले एक टोली गत अक्टोबरमा नेपाल पठाएको थियो । यो टोलीले ६ देखि ८ अक्टोबरमा नेपालमा हवाई सुरक्षाबारे अडिट गरेको थियो । यो टोलीले १०–११ नोभेम्बरमा आफ्नो प्रतिवेदन ईयू एयर सेफ्टी कमिटीमा बुझाएको थियो । तर, त्यसपछि ईयूले नयाँ एयर सेफ्टी लिस्ट निकालेको थियो ।

  • महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी

    महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुमाथि उजुरी परेको छ । महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले धारिलो हतियार, ढुंगा, मुढासहितका सामग्री बोकेर आपराधिक मनसायले महानगर प्रहरी बलका प्रमुख सहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको उनले बताए ।

    आक्रमणबाट गम्भीर घाइते भएका नगर प्रहरी शर्मिला बोगटी सहित तीन जनाको आईसीयमा राखेर उपचार भइरहेको बताइएको छ । सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट पटक-पटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भएतापनि नहटाएको महानगरले जनाएको छ । प्रवक्ता मानन्धरका अनुसार समितिको अनुरोधमा महानगर प्रहरी बलका प्रमुखसहितका नगर प्रहरीको टोली सुकुम्बासी बस्ती खाली गराउन पुग्दा आक्रमणमा परेको बताए ।

  • ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

    ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।

    आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो ।

    विवरण पेस गर्दा तोकिएको हद ९सीमा० बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।

    निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।

    विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ।

  • चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै

    चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै

    काठमाडौं । चिनियाँ वायुसेवा प्रदायक कम्पनी चाइना साउदर्नले फेरि काठमाडौंमा नेपालमा नियमित उडान गर्ने भएको छ ।

    एयरलाइन्सले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको हो ।

    यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने कम्पनीले जनाएको छ ।

    एयरलाइन्सका अनुसार काठमाडौंमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० बजे ग्वाङझाउका लागि उड्ने छ ।

    कम्पनीले १ वर्षपछि पुनः यो रुटमा उडान सुरु गर्न लागेको हो ।

  • बागमतीको सुकुम्बासी बस्तीमा महानगर पसेपछि  कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार

    बागमतीको सुकुम्बासी बस्तीमा महानगर पसेपछि कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ ।

    सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

    वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

    सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग मिलेर काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर चलाउन लागेको हो।

    अहिले काठमाडौं महानगरका प्रहरीहरु डोजरसहित त्यहाँ पुगेका छन्। यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गरिएको थियो।

  • चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन

    चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन

    काठमाडौं । चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ। राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेको बीबीसीले लेखेको छ । प्रदर्शनकारीहरूले सीको शून्य(कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक परीक्षण, क्वारन्टिन र लकडाउनहरू समाविष्ट छन्।

    उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि त्यहाँ कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्। लकडाउनका कारण आगलागी भएको भवनमा उद्धार प्रभावित भएको प्रदर्शनमा उत्रिएकाहरूको आरोप छ। यद्यपि, सरकारी निकायहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्। अहिले प्रदर्शन चेङ्दु र सिआनका दक्षिण(पश्चिम सहरहरू र वुहानमा पनि सुरु भएको छ।

    करिब तीन वर्षअघि वुहानबाटै कोभिड सङ्क्रमण सुरु भएको ठानिन्छ। प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरूले खाली ब्यानरहरू समातेको दृश्य देखिन्छ। उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि सेतो कागज र खाली ब्यानर बोकेका हुन्। खाली ब्यानरहरू चीनमा सेन्सरशिपको प्रतीक हुन्। चिनियाँ सरकारले समाजमा अत्यधिक रोक लगाएको छ।

    त्यहाँ सरकार र त्यहाँका नेताहरूको आलोचना गर्नुले आम मान्छेलाई ठूलो जरिवाना लगाइन सक्छ। लाखौँ मानिसहरू तीन वर्ष लामो प्रतिबन्धबाट आजित भएका छन् र अहिले उनीहरूको निराशा उत्कर्षमा पुगेको छ। साङ्घाईमा जारी विरोध प्रदर्शनबारे रिपोर्टिङका क्रममा एक जना बीबीसी पत्रकारलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएका थिए।

  • समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा

    काठमाडौं । समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना भइसकेको छ । जस अनुसार एमालेको मत २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत पाएइका छन् ।, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । माओवादी चौथो स्थानमा झरेको छ ।

    राप्रपाको ५ लाख ४२ हजार, जसपाको ३ लाख १४ हजार, जनमत पार्टीको २ लाख ५१ हजार र एकीकृत समाजवादीको २ लाख ४७ हजार मत आएको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ ।समानुपातिकमा बदर मत यकिन छैन । राष्ट्रिय दल बन्न कम्तिमा ३ लाख मत ल्याउनु पर्छ ।

  • सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी

    सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी

    धरान । सुनसरी १ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन् । सुरुवाती गणनामा तामाङले अग्रता लिएकी थिइन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याए ।

    माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाए ।

  • विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन

    विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन

    काठमाडौं । फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बने पनि कठिन भएको छ । स्पेन भने सहज अवस्थामा छ। समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता लियो। उनलाई जोर्डी अल्बाले पास उपलब्ध गराए ।

    त्यसपछि दबाबमा परेको जर्मनीले ८३ मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि फुलक्रुगले गोल गरे । बराबरीसँगै समूहको शीर्षमा स्थानमा रहेको स्पेनको चार अंक भएको छ। दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको तीन तीन अंक छ। जर्मनी एक अंक जोडेर पुछारमा छ। अब अन्तिम चरणमा जर्मनी र कोस्टारिका तथा जापान र स्पेनबीच खेल हुनेछ। स्पेनबाहेक अरु तीन टिमलाई अन्तिम १६ मा पुग्न अनिवार्य जित चाहिन्छ ।

  • आज विवाह पञ्चमी, जनकपुरमा विशेष तामधाम

    आज विवाह पञ्चमी, जनकपुरमा विशेष तामधाम

    जनकपुर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी मनाइंदैछ । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको थयो । सोही विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।

    आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंबर गरिनेछ । बाजागाज, झाँकी र किर्तनसहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंबर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

    स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ । राम र सीताको विवाहको लागि जानकी मन्दिर प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई सिंगारिएको छ ।

    वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ ।

    आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न हुने छ । मंगलबार रामकलेवा गरी जन्ती एवं साधुसन्तालाई बिदाइ गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । विवाहपञ्चमी अवलोकन गर्न नेपाल तथा छिमेक देश भारतको विभिन्न स्थानबाट आएका दर्शनार्थीले जनकपुर खचाखच भर्न थालिएको छ ।

  • दोलखाका १० क्षेत्रमा पुनः मतदान हुने

    दोलखाका १० क्षेत्रमा पुनः मतदान हुने

    काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । मंसिर ४ गते आइतबार भएकै निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका ६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन आयोगको आइतबारको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा यही मंसिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ ।

    आयोगको बैठकले ती मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाहीका लागि आयोगमा विवरण पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ । वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा सय वटा मतपत्र अर्धकट्टीसमेत हराएको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस भएको छ ।

  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित

    काठमाडौं । इलाम-१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।

    खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो । खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए ।

  • फागुन मसान्तभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    फागुन मसान्तभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    काठमाडौं । आगामी फागुन मसान्त भित्र देशभरका सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्नुपर्ने भएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक २८ गतेको बैठकले फागुन मसान्त भित्र सम्पूर्ण सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जोड्नु पर्ने निर्णय गरेको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ अनुसार यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब फागुन भित्रै सम्पूर्ण सरकारी संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारीसाधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जोडी सक्नु पर्नेछ।

    इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गई अनलाइन आवेदन दिन सकिनेछ। त्यसपछि नजिकैको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी प्लेट जडान गर्न सकिन्छ।

    विभागले इम्बोस्ड नम्बर प्लेटको जडानले चोरी पैठारी, अपराधिक क्रियाकलाप र राजस्व छली रोकिने बताएको छ ।

  • जसपा पनि बन्यो राष्ट्रिय पार्टी, समानुपातिकमा कट्यो तीन लाख मत

    जसपा पनि बन्यो राष्ट्रिय पार्टी, समानुपातिकमा कट्यो तीन लाख मत

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ सिट जितिसकेको जसपाले समानुपातिकमा पनि तीन लाख मत कटाएको छ ।

    ८७ लाख मतगणना हुँदा उसले तीन लाख ३३० मत पाइसकेको छ । राष्ट्रिय पार्टी हुन कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने थ्रेस होल्ड छ । जसपाले सो थ्रेस होल्ड कटाउने निश्चित भएको हो ।

    समग्रमा २३ लाख ९१ हजार ७७८ मतका साथ नेकपा एमाले शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २२ लाख ८३ हजार ६९० मतका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द्रको मत ९,९९,८९० पुगेको छ ।

    यस्तै चौथो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले ९,५८,७०३ मत पाउँदा पाँचौ स्थानको राप्रपाले ५,०९,४४२ मत पाएको छ । छैटौं स्थानमा जसपा रहेको छ । सातौं स्थानमा सीके राउतको जनमत पार्टीले मत २,३५,८०१ पाउँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावदीले २,३५,३५९ मत पाएको छ ।

  • ‘एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुग्छ’

    ‘एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुग्छ’


    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् ।

    आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका हुन् । उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन आन्दोलन गर्ने उल्लेख गरे ।

    निर्वाचनको मतगणना भइरहेको उल्लेख गर्दै चार, पाँच वटा सिटले मात्रै काँग्रेस र एमालेबीच पहिलो र दोस्रो शक्ति हुने उनकाे भनाइ छ ।

    उपमहासचिव रिमालले एमालेको पपुलर भोट ३२ लाख पुग्ने र पपुलर भोटमा एमाले पहिलो पार्टी बन्ने बताए । उनले आफूहरू सरकारमा रहेमा औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने जिकिर गरे । पाँच वर्ष भित्रमा अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ छ ।

  • १५५ सिटको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

    १५५ सिटको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

    काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५२, एमाले ४१, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवार ७÷७ ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) ६, स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक÷एक ठाउँमा जित हासिल गरेका छन् । समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । देशभर अझै १० स्थानमा कतै गणना शुरु भएको छैन भने कतै गणना जारी छ ।

  • माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित

    माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित

    काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए ।

    यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् । माओवादीका महासचिव देव गुरुङ समेत यस पटक एमालेसँगै पराजित भएका छन् ।

  • पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी

    पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी

    काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे ।

    नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।

  • वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित

    वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा वर्तमान मन्त्रीपरिषद्मा रहेकामध्ये ४ जना मन्त्री सांसदमा पराजित भएका छन् । शनिबार गृहमन्त्री बालकृष्ण खाँड पराजित भए ।

    त्यस अघि ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसाल, युवातथा खेलकुदमन्त्री महेश्वररात गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भए ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना जारी छ। मन्त्रिपरिषद्का १६ मन्त्रीमध्ये छ जना निर्वाचित भइसकेका छन्।

  • गृहमन्त्री बालकृष्ण खाँड पराजित

    गृहमन्त्री बालकृष्ण खाँड पराजित

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्। बोहराले ३६,७१७ मत पाएर निर्वाचित भए ।सुरुवाती मतगणनाबाटै झिनो मतअन्तरले प्रतिस्पर्धा गरिरहेका खाँड २६८१ मतले पछि परे। उनले ३४,०३६ मत पाए। पूर्वमन्त्री समेत रहेका बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन एमालेका उपमहासचिव घनश्याम भुसालसँग पराजित भएका थिए।

    अघिल्लो निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका खाँड यो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका खाँड २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रको रूपमा चिनिएका खाँड यसअघि रक्षा र सिंचाइमन्त्री तथा शिक्षा तथा खेलकुद राज्यमन्त्री भइसकेका छन्। बोहरा पनि पञ्चायतकाल देखि प्रजातन्त्रकालसम्म पटक पटक मन्त्री र सांसद भइसकेका छन् ।

  • माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते

    माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते

    धनुषा । धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए ।

    तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाए । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।

  • रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ

    रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । जस अनुसार उनको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ रहेको उनको दावि छ । यसमा कार्यालय सामग्रीको खर्च भने नजोडिएको उनको भनाई छ । आजबाट खुसीयाली मनाउने सबै कार्यक्रम समेत रोकिएको उनले बताएका छन् । आफु उद्घाटन र भाषणमा नआउने समेत स्पष्ट पारेका छन् । त्यसको साटो जनप्रतिनिधि पठाउने उनको उद्घोष छ ।

    उनले भोजभतेरमा समेत निम्ता नगर्न भनेका छन् । मिडियासँग आफु नबोल्ने र यो काम प्रवक्ताले गर्ने समेत उनको भनाई छ । हरेक ४÷४ महिनामा सार्वजनिक सुनुवाई हुने र त्यसमा आफु उपस्थित हुने उनको भनाई छ । उनले सम्पत्ति विवरण समेत छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

  • १४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?

    १४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?

    काठमाडौं । प्रतिनिधिसभातर्फ शनिबार बिहानसम्म कुल १४६ सिटको नतिजा आएको छ । प्रत्यक्षमा कुल १६५ सिटका लागि निर्वाचन भएको हो । यसमा प्रत्यक्षमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४९ सिटमा विजयी नतिजा निकालेको छ । कांग्रेसका ५ उम्मेदवार मत गणनामा अगाडी छन् । एमालेले ३८ सिटमा जित निकालिसकेको छ । उसका ६ उम्मेदवार अगाडी छन् । माओवादी केन्द्रले १६ सिटमा जित हाँसिल गरेको छ । उसका २ उम्मेदवार अगाडी छन् ।

    एकीकृत समाजवादीले १० सिटमा जित निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जितेको छ । एक सिटमा अग्रता लिइरहेको छ । राप्रपाले ६ सिटमा जितेको छ । एक स्थानमा अग्रता लिइरहेको छ । जसपाले ५, लोसपाले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा वियजी हाँसिल गरेका छन् । स्वतन्त्रसहित अन्य दल ८ स्थानमा विजयी भएका छन् ।

  • गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो

    गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो

    नेपाली कांग्रेसकी नेता सुजाता कोइराला पराजित भएकी छिन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । यो गिरिजा प्रसाद कोइराला निर्वाचित भइरहने क्षेत्र हो । तर, सुजाता भने एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल ३३ हजार १४८ मत ल्याउँदै विजयी भए । कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छिन् ।


    यसअघि कोइराला सुनसरी क्षेत्र नम्बर ५ (हाल ४) बाट पराजित भएकी थिइन् । उनी पराजित भएको दुवै क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले पटक पटक निर्वाचन जितेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी सुनसरी ५ बाट उम्मेदवार बनेकी थिइन् । तर पराजित भइन् । सुनसरी क्षेत्र नम्बर ५ बाट गिरिजाप्रसाद कोइराला २०५१ र २०५६ मा निर्वाचित भएका थिए । यो पटक पनि बुबाकै क्षेत्र मोरङ २ बाट उम्मेदवार बनेकी थिइन् । गिरिजाप्रसादले २०४८, ०५१ र ०५६ मा मोरङ–१ बाट चुनाव जितेका थिए, उक्त क्षेत्र हाल मोरङ–२ मा पर्छ ।

  • नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

    नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

    काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाए । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।

  • आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत

    आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परे आफ्नो पार्टी तालमेल वा गठबन्धनमा जोडिन सक्ने संकेत गरेका छन् शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताए ।

    ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौं,’ उनले भने। लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने बताए ।