Category: समाचार

  • काठमाडौंका आकासे पुल मर्मत गरिने

    काठमाडौंका आकासे पुल मर्मत गरिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन्।

    पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ। कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ। दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएकी थिइन्।

    महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो। तर हालसम्म चार वटा मात्र निर्माण भएको छ। महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन।

    हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ। त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चाबहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ। रासस

  • हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

    हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

    काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

    आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेसँगै प्रतिवन्ध हट्ने भएको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ ।

    सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो ।

  • समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?

    समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ५ लाख ६० हजार ६७ मतगणना गरिएको छ।

    मंगलबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत कटाएको छ । समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ । समानुपातिकतर्फ अब बाजुरा र दोलखाका मत गणना जारी छन्।

    एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ अर्थात २५.७१ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ अर्थात २.८३ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ अर्थात २.५७ प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।

  • थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग

    थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग

    काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

    सुकुम्बासी नाममा राजनीति भइरहेको भन्दै प्रदर्शनकारीले असली सुकुम्बासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाहीको माग गरेका छन् ।

    उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।

    महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाएको छ । महानगरको गेटमा पुगेकाहरूले भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

    उनीहरुले सुकुम्बासीहरुलाई हटाइछाड्न पनि माग गरेका छन्। ‘यस काठमाडौं महानगरपालिकाका प्रमुख/उपप्रमुख एवं नगर प्रहरी लगायत सम्पूर्ण महानगरपालिकाका समग्र कर्मचारीहरुबाट जतिसुकै कष्ट, यातना झेल्नु परे पनि आफ्नो कर्तव्य र दायित्वबाट नहट्नु’, ज्ञापनपत्रमा भनिएको छ, ‘कथित सुकुम्वासीको घर टहरा हटाई राजधानीको सौर्न्दता, शान्ति र मैत्रीपूर्ण वातावरण कायम गर्ने काममा सहकार्य, सहयोग, समर्थन र ऐक्यवर्द्धता जाहेर गर्दछौँ।’

    स्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भई स्थानिय जनताहरु प्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिएको ज्ञापनपत्रमा उल्लेख छ ।

  • काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

    काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

    काठमाडौं । काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो ।

    महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।

    काठमाडौं महानगरले सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९र८० का १५ विज्ञापनमा वैकल्पिक पर्नेले आवेदन दिन पाउने उल्लेख गरिएको छ ।

    अस्थायी तथा बैकल्पिक योग्यता क्रममा भएका सिभिल, आर्किटेकट, इलेक्टिकल र स्ट्रक्चर इन्जिनियरलाई ७ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ।

    महानगरको सूचना अनुसार आठौं दिनदेखी निवेदन दिने उम्मेदवारहरु मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने उल्लेख रहेको छ।

    लोकसेवाको प्रवेश पत्रको प्रतिलिपि, स्नातक पास गरेको प्रमाण र निवेदन पेश गर्न आग्रह गरेको छ।

  • महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

    महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

    काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र पठाउने तयारी रहेको जनाइएको छ ।

    गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न भनेको छ ।

    दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समेत जोड दिएका छन् । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । सो क्रममा मानिसहरु घाइते भएका छन् । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको हो ।

  • नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

    नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

    काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो।

    ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए। सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए। सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

    छलफलमा दार्चुलाका प्रजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए। छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए। भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो।

    भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए। भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए। स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन्।

  • पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

    पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

    काठमाडौं । पेनाल्टीमा चुक्दा उत्कृष्ट प्रदर्शन जारी राखेको जापान विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्रोएसिया भने फिफा विश्वकप २०२२ को अन्तिम ८ मा पुगेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएको हो । त्यसपछि पेनाल्टी शुटआउटमा गरिएको हो ।

    लिभाकोभिचले तीन पेनाल्टी बचाएका थिए । उनले ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गरे। क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार पोष्टमा लागेको थियो ।

  • गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

    गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले आगामी दिनमा अझ एकतावद्ध रहने बताएका छन् । चार दलका शीर्ष नेताले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने उल्लेख गरेका छन् ।

    ‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

    उनीहरूले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यबादसमेत दिएका छन्। निर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामनासमेत उनीहरूले दिएका हुन्। निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको चार दलका शीर्ष नेताको भनाइ छ। ती असमझदारीबारे आगामी दिनमा थप समीक्षा गरिने उनीहरूले उल्लेख गरेका छन्।

    मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। ‘मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी छ,’ उनीहरूले भनेका छन्।

  • दिपक मनाङे समाजवादीमा प्रवेश

    दिपक मनाङे समाजवादीमा प्रवेश

    गण्डकी प्रदेश सांसद तथा प्रदेश युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका छन् । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

    ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।

  • माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

    माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

    काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

    मंसिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बयान दिएका छन् ।

    बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परेकी थिइन् ।

    शिवनाथ गाउँपालिका–६ की मायाको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको थियो ।

    कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् ।

    शिवनाथ गाउँपालिका–४ घर भएका कोलीले नै मायाको हत्या गरेको दाबी प्रहरीको छ ।

  • माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

    माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

    काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाइ स्थगित गरेको छ ।

    सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको मुद्दाले सुनुवाइको हेर्न नभ्याउने हुँदै स्थगित गरेको हो ।

    एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दिएका थिए । ३० चैत २०७८ मा सर्वोच्च अदालतले यो मुद्दाको पूर्ण सुनुवाइ गर्नु भनी आदेश दिएको थियो ।

    ओलीले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई कारबाही नगर्नु गैरसंवैधानिक भएको रिटमा जिकिर गरिएको छ।

  • डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा

    डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा

    काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन्।

    डा कार्कीले सांसद निर्वाचित भएपछि काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन्।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

    तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

    तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

    यही विवादका कारण डा.कार्कीको चर्चा थप चुलिएको थियो।

  • प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कसले कहाँ जिते ? (विवरणसहित)

    प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कसले कहाँ जिते ? (विवरणसहित)

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

    सोमबार बिहान दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा आएको हो ।

    प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी बनेको छ ।

    यसैगरी चौथो स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले १० क्षेत्रमा जितेको छ। जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ सिट ल्याएका छन्।

    आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा विजय प्राप्त गरेको छ।

    यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बराबर १ सिट जितेका छन् भने यसपटकको चुनावमा ५ जना स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा सदस्य बनेका छन्।

    समानुपातिकतर्फको मतगणना सकिन अब केही दिन लाग्नेछ ।

    नेकपा( एमाले)

    १. ताप्लेजुङ – योगेश भट्टराई
    २. पाँचथर – वसन्तकुमार नेम्वाङ
    ३. इलाम–२ – सुवास नेम्वाङ
    ४. झापा–२ – देवराज घिमिरे
    ५. झापा–४ – एलपी साँवा लिम्बू
    ६.झापा–५ – केपी शर्मा ओली
    ७. धनकुटा – राजेन्द्र राई
    ८. पर्सा–३ – राजकुमार गुप्ता
    ९. अर्घाखाँची – टोपबहादुर रायमाझी
    १०. प्युठान – सूर्य थापा
    ११. मकवानपुर–२ – महेशकुमार बर्तौला
    १२. कास्की–२ – विद्या भट्टराई
    १३. पर्वत – पदम गिरी
    १४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
    १५. रुपन्देही–५ – वासुदेव घिमिरे
    १६. सोलुखुम्बु – मानवीर राई
    १७. उदयपुर–२ – अम्बरबहादुर रायमाझी
    १८. ललितपुर–२ – प्रेमबहादुर महर्जन
    १९. सिरहा–१ – रामशंकर यादव
    २०. बाँके–१ – सूर्यप्रसाद ढकाल
    २१. बैतडी – दामोदर भण्डारी
    २२. कपिलवस्तु–१ – बलराम अधिकारी
    २३. कञ्चनपुर–१ – तारा लामा तामाङ
    २४. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
    २५. कास्की–३ – दामोदर पौडेल
    २६. सर्लाही–३ – हरिप्रसाद उप्रेती
    २७. मोरङ–२ – ऋषिकेश पोखरेल
    २८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
    २९. रुपन्देही–१ – छविलाल विश्वकर्मा
    ३०. रुपन्देही–२ – विष्णु पौडेल
    ३१. पाल्पा–१ – नारायण आचार्य
    ३२. कास्की–१ – मनबहादुर गुरुङ
    ३३. काभ्रे–२ – गोकुल बाँस्कोटा
    ३४. बारा–३ – ज्वालाकुमारी शाह
    ३५. बारा–१ – अच्युत मैनाली
    ३६. पाल्पा–२ – ठाकुर गैरे
    ३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ
    ३८. धनुषा–३ – जुलीकुमारी महतो
    ३९. सुनसरी–२ – भीम आचार्य
    ४०. गुल्मी–२ – गोकर्ण विष्ट
    ४१. महोत्तरी–१ – लक्ष्मी महतो
    ४२. इलाम–१ – महेश बस्नेत
    ४३. धनुषा–४ – रघुवीर महासेठ
    ४४. सुनसरी–३ – भगवती चौधरी

    नेपाली कांग्रेस

    १. मुस्ताङ – योगेश गौचन
    २. मनाङ – टेकबहादुर गुरुङ
    ३. काठमाडौं–१ – प्रकाशमान सिंह
    ४. काठमाडौं–३ – सन्तोष चालिसे,
    ५. काठमाडौं–४ – गगनकुमार थापा
    ६. काठमाडौं–५ – प्रदीप पौडेल
    ७. रसुवा – मोहन आचार्य
    ८. ललितपुर–१ – उदयशमशेर जबरा
    ९. तनहुँ–२ – शंकर भण्डारी
    १०. डडेलधुरा – शेरबहादुर देउवा
    ११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी
    १२. पर्सा–४ – रमेशकुमार रिजाल
    १३. सुर्खेत–२ – हृदयराम थानी
    १४. ओखलढुंगा – रामहरि खतिवडा
    १५. झापा–१ – विश्वप्रकाश शर्मा
    १६. पर्सा–१ – अजयकुमार चौरसिया
    १७. गोरखा–१ – राजेन्द्र बजगाईं
    १८. म्याग्दी – खमबहादुर गर्बुजा
    १९. अछाम–२ – पुष्पबहादुर शाह
    २०. कैलाली–४ – वीरबहादुर बलायर
    २१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
    २२. कञ्चनपुर–३ – रमेश लेखक
    २३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
    २४. दैलेख–२ – दिक्पालकुमार शाही
    २५. कञ्चनपुर–२ – एनपी साउद
    २६. तनहुँ–१ – रामचन्द्र पौडेल
    २७. बाँके–३ – किशोरसिंह राठौर
    २८. नवलपुर–१ – शशांक कोइराला
    २९. धादिङ–२ – रामनाथ अधिकारी
    ३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना
    ३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे
    ३२. सप्तरी–३ – दिनेशकुमार यादव
    ३३. नवलपुर–२ – विष्णुकुमार कार्की
    ३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का
    ३५. बर्दिया–२ – सञ्जय गौतम
    ३६. दाङ–३ – दीपक गिरी
    ३७. नवलपरासी–१ – विनोद चौधरी
    ३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
    ३९. धनुषा–२ – रामकृष्ण यादव
    ४०. स्याङ्जा–१ – राजु थापा
    ४१. गुल्मी–१ – चन्द्र भण्डारी
    ४२. मोरङ–६ – डा. शेखर कोइराला
    ४३. मोरङ–३ – डा. सुनील शर्मा
    ४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
    ४५. संखुवासभा – दीपक खड्का
    ४६. तेह्रथुम – सीता गुरुङ
    ४७. कैलाली–५ – डिल्लीराम पन्त
    ४८. सप्तरी–४ – तेजुलाल चौधरी
    ४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी
    ५०. मुगु – ऐनबहादुर शाही
    ५१. मोरङ–१ – डिगबहादुर लिम्बू
    ५२. रामेछाप – पूर्णबहादुर तामाङ
    ५३. महोत्तरी–४ – महेन्द्रकुमार राय
    ५४. उदयपुर–१ – डा. नारायण खड्का
    ५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
    ५६. स्याङ्जा–२ – धनराज गुरुङ
    ५७. बाजुरा – बद्रीप्रसाद पाण्डे

    माओवादी केन्द्र

    १. सिन्धुली–२ – लेखनाथ दाहाल
    २. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
    ३. बागलुङ–२ – देवेन्द्र पौडेल
    ४. रोल्पा – वर्षमान पुन
    ५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
    ६. जाजरकोट – शक्तिबहादुर बस्नेत
    ७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
    ८. दाङ–२ – रेखा शर्मा
    ९. रुकुम पश्चिम – जनार्दन शर्मा
    १०. खोटाङ – रामकुमार राई
    ११. भोजपुर – सुदन किराँती
    १२. मोरङ–४ – अमनलाल मोदी
    १३. हुम्ला – कार्जेन लामा
    १४. नुवाकोट–१ – हितबहादुर तामाङ
    १५. खोटाङ – रामकुमार राई
    १६. काभ्रे–१ – सूर्यमान तामाङ
    १७. सर्लाही–२ – महिन्द्र राय यादव
    १८. दोलखा – गंगा कार्की

    नेकपा (एकीकृत समाजवादी)

    १. अछाम–१ – शेरबहादुर कुँवर
    २. बारा–४ – कृष्णकुमार श्रेष्ठ
    ३. दैलेख–१ – अमरबहादुर थापा
    ४. सल्यान – प्रकाश ज्वाला
    ५. डोटी – प्रेमबहादुर आले
    ६. बझाङ – भानुभक्त जोशी
    ७. रौतहट–१ – माधवकुमार नेपाल
    ८. डोल्पा – धनबहादुर बुढा
    ९. धादिङ–१ – राजेन्द्र पाण्डे
    १०. दाङ–१ – मेटमणि चौधरी

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. काठमाडौं–७ – गणेश पराजुली
    २. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
    ३. काठमाडौं–२ – सोबिता गौतम
    ४. काठमाडौं–६ – शिशिर खनाल
    ५. ललितपुर–३ – तोसिमा कार्की
    ६. चितवन–२ – रवि लामिछाने
    ७. चितवन–१ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १. बाँके–२ – धवलशमशेर जबरा
    २. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
    ३. मकवानपुर–१ – दीपकबहादुर सिंह
    ४. झापा–३ – राजेन्द्र लिङ्देन
    ५. चितवन–३ – विक्रम पाण्डे
    ६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
    ७. रुपन्देही–३ – दीपक बोहरा

    जनता समाजवादी पार्टी, नेपाल

    १. पर्सा–१ – प्रदीप यादव
    २. सप्तरी–१ – नवलकिशोर साह
    ३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
    ४. सिरहा–२ – राजकिशोर यादव
    ५. बारा–२ – रामसहायप्रसाद यादव
    ६. धनुषा–१ – दीपक कार्की
    ७. सुनसरी–१ – अशोक राई

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

    १. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
    २. सर्लाही–१ – रामप्रकाश चौधरी
    ३. महोत्तरी–२ – शरतसिंह भण्डारी
    ४. महोत्तरी–३ – महन्थ ठाकुर

    नागरिक उन्मुक्ति पार्टी

    १. कैलाली–३ – गंगाराम चौधरी
    २. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
    ३. कैलाली–२ – अरुणकुमार चौधरी

    जनमत पार्टी

    १. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

    राष्ट्रिय जनमोर्चा

    १. बागलुङ–१ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी

    १. भक्तपुर–१ – प्रेम सुवाल

    स्वतन्त्र

    १. बर्दिया–२ – लालवीर चौधरी
    २. सर्लाही–४ – अमरेशकुमार सिंह
    ३. मोरङ–५ – योगी मण्डल
    ४. रौतहट–३ – प्रभु साह
    ५. रौतहट–२ – किरण साह

  • दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

    दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

    काठमाडौं । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन(माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन्।

    एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्।

    कार्की ३१८ मत अन्तरले निर्वाचित भएका हुन् ।

    कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । दोलखामा ८५ हजार ६ सय मत खसेको थियो ।

    यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्‍याएको छ ।

    अहिले समानुपातिकको गणना भइरहेको छ ।

  • ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु

    ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु

    काठमाडौं । चक्रपथ अन्तर्गत ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभर बन्ने भएको छ । संरचना निर्माणको काम सोमबारबाट शुरु हुन लागेको हो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएको छ । आगामी शुक्रबारबाट काम थाल्ने तयारी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम–एस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ ।

    २०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु भएको थियो । चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिँदैछ । सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको हो । सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको बन्नेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् ।

    पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् । फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । ओभरपासमा सवारीसाधन चढ्न दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम बन्ने भएको छ । चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

    फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ ।

    कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक

    चुनावको समिक्षा गर्न आज सत्तारुढ गठबन्धनको बैठक

    काठमाडौं । निर्वाचनपछि पहिलो पटक सत्तारुढ गठबन्धनको संयुक्त समिक्षा बैठक बस्ने भएको छ । यस बैठकमा नयाँ सरकार गठनबारे समेत छलफल हुने भएको छ । चुनावी नतिजा अब अन्तिम चरणमा पुगेको छ । यससँगै दलहरु समिक्षामा जुटेका हुन् । बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जितेका छन् ।

    चुनावी नतिजाबाट सत्तारुढ र प्रतिपक्षी नेकपा एमाले नै संतुष्ट भने छैन । दलहरुबीच अन्तर्घातको समेत आरोप–प्रत्यारोप चलिरहेको सन्दर्भमा आज संयुक्त बैठक बस्न लागेको हो । नयाँ सरकार गठनमा समेत सबै दलले आफ्नो दावी छाडेका छैनन् । दलहरु रणनीतिमा जुटेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने विषयमा सहमत भएपनि पहिले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विवाद कायमै छ ।

  • नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ

    नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजले नेपालको मात्र नभई विश्व अर्थतन्त्र अहिले जटिल बन्दै गएको बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) सँगको छलफलमा उनले संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिंदा मुद्रास्फीति उच्च भई ब्याजदर बढेको बताइन् ।

    वर्तमान विषम परिस्थितिलाई सहज बनाउन सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानी पूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनको भनाइ छ । नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको बीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रबर्द्धनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

    छलफलमा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएका कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गरे । उनले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानीको प्रत्यक्ष असर आयातमा परेको बताए । उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रबर्द्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सके मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दीगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्नेमा उनको जोड थियो ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फन्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफैं पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आईएमएफ र सीबीफीनबीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको औल्याए ।

    सीबीफीनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, ब्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आईएमअफका प्रतिनिधिसमक्ष आग्रह गरे ।

  • इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो

    इंग्ल्याण्ड क्वाटरफाइनलमा, सेनेगल हार्यो

    काठमाडौं । इंग्ल्याण्ड विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । सेनेगलमाथि ३–० गोल अन्तरको जित निकालेको इंग्ल्याण्डले फिफा विश्वकपमा यात्रा जारी राखेको छ । अब उसको भेट क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँग हुनेछ । दोहास्थित अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा केही कमजोर देखिएको थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

    पहिलो हाफ सकिनु केहि सेकेण्डअघि कप्तान ह्यारी केनले टीमको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा इंग्ल्याण्डका लागि अन्तिम गोल बुकायो साकाले गरे । इंग्ल्याण्डले सन् १९६६ मा विश्वकप उचालेको हो ।

  • हवाई यात्रुले उडिरहेको  जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने

    हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने

    काठमाडौं । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्। उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको बीबीसीले लेखेको छ । यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन।


    युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिइएको छ। यस्तो प्रविधि तयार भएपछि मानिसहरूले उडिरहेको विमानबाट पनि फोन गर्न सक्छन् र मोबाइल डेटाको प्रयोग गर्न सक्छन् र गीत सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्छन्।

    आन्तरिक बजारका लागि ईयू कमिसनर टिएरी बेर्टोँले यो योजनाले “मानिसहरूलाई नवीन सेवाहरू उपलब्ध गराउने” र युरोपेली कम्पनीहरू फस्टाउने बताए। “उच्च क्षमता र द्रुत गतिको सञ्जालले उपलब्ध गराउने सुविधाका सम्भावनाहरू अब आकाश पुग्न सक्दैन भन्ने हुँदैन,” उनले भने। युरोपेली आयोगले निश्चित फ्रिक्वेन्सीहरू विमानहरूका लागि सन् २००८ बाटै आरक्षित गरेको छ।

    कतिपय विमान सेवाहरूले यसअघिबाटै उडानका क्रममा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्। तर यस्तो सेवा ऐतिहासिक रूपमै धीमा छ। विमानमा रहेका मानिसहरूको सम्पर्क जमिनसम्म पुर्‍याउन भू उपग्रह उपकरणको भर पर्ने भएकाले यस्तो इन्टरनेट सुस्त हुन्छ। नयाँ प्रणाली फाइभ जी प्रविधिमा आधारित हुने भएकाले यसअघि उपलब्ध हुने सेवाभन्दा निकै तीव्र हुनसक्छ।

    यस्तो इन्टरनेट १०० एमबीपीएसको गतिमा चल्न सक्छ र एउटा चलचित्र केही मिनटभित्रै डाउनलोड गर्न सकिन्छ। यूकेस्थित उडान सुरक्षा कमिटीका प्रमुख कार्यकारी डाई विटिङ्हम मोबाइलले विमानलाई गर्न सक्ने असरबारे पर्याप्त जानकारीको अभावका कारण मोबाइलमा हुने फ्लाइट मोड ऐतिहासिक रूपमै महत्त्वपूर्ण रहेको बताउँछन्।

    “यसले स्वचालित उडान नियन्त्रण प्रणालीमा हस्तक्षेप गर्न सक्छ भन्ने चिन्ताहरू थिए,” उनी भन्छन्। “तर अनुभवले के देखायो भने यस्तो हस्तक्षेपको जोखिम धेरै नै कम हुने रहेछ। तर पनि उडानमा रहेको समयमा मोबाइललाई सधैँ एअरप्लेन मोडमा राख्न सिफारिस गरिँदै आएको छ।” अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भएका थिए। यसले विमानको उचाइ मापनमा समेत प्रभाव पर्न सक्ने ठानिएको थियो। तर यूके र युरोपेली सङ्घका देशहरूमा यो कुनै समस्या नहुने विटिङ्हम बताउँछन्।

    “यहाँ हस्तक्षेपको सम्भावना अति नै न्यून छ। हामीसँग फाइभ जी का लागि छुट्टै फ्रिक्वेन्सी छ र अमेरिकाको तुलनामा कम क्षमताको प्रणाली छ,” उनले भने। “यात्रा गरिरहने मानिसहरू फाइभ जी प्रयोग गर्न मन पराउँछन्। नियामक निकायहरूले त्यसको सम्भावना पनि खोल्दै जान्छन् तर उनीहरूले गरेका कामहरू सुरक्षित भएको निश्चित गर्नका लागि केही चरणहरू पार गर्नुपर्ने हुन्छ।”

  • दोलखामा पुनः माओवादीले लियो अग्रता

    दोलखामा पुनः माओवादीले लियो अग्रता

    काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतगणना जारी छ । जहाँ सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ। आइतबार बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेका थिए । तर, पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्।

    जारी मतगणनाको ४९६३५ मत गणनामा माओवादीका कार्की २१ हजार ४१२ मतसहित अघि लागेका छन्। त्यहाँ एमालेका शिवाकोटी २१ हजार १४३ मतसहित पछि परेका छन्। शिवाकोटीलाई कार्कीले २६९ मतले उछिनेका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले २६९१ मत ल्याएका छन्।

  • माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

    माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले सत्ता गठबन्धनको विकल्प नखोजेको स्पष्टीकरण दिएका छन् । आइतबार पदाधिकारी बैठकपछि उनले सरकार गठन गर्ने सन्दर्भमा माओवादीले सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । गठबन्धनको विकल्पका बारेमा छलफल नै नभएको उनको भनाई छ । गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भएको उनको भनाई छ । सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएको भन्दै महासचिव गुरुङले गठबन्धन तोडिनुपर्ने कुनै कारण समेत नभएको बताए ।

    ‘गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था त होइन, गठबन्धन तोड्नुपर्छ भन्ने कुरा त होइन, पार्टीले गठबन्धनको विकल्प सोचिसकेको छैन’ उनले सञ्चारकर्मीसँग भने । शनिबार माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए । चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको बताइएको छ ।

  • दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल

    दोस्रो खेलमा स्कटल्याण्डसँग हार्यो नेपाल

    काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग हारेको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै भेटायो । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गरेको थियो । तर, कम लक्ष्यका कारण स्कटल्याण्डले ७ विकेटको क्षतिमा लक्ष्य भेटायो । यस जितपछि ३० खेलबाट ४४ अंक जोड्दै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लेको छ । साथै अर्को वर्ष हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा यो टीम छनोट समेत भएको छ ।

    लिग टु मा सबै ३६ खेल नै खेलिसकेको ओमानको समेत ४४ अंक छ । रनरेटमा स्कटल्याण्ड शीर्षमा छ । नेपाल २२ खेलपछि १८ अंकसहित छैटौं स्थानमा छ । पहिलो खेलमा नामिबियालाई हराएको स्कटल्याण्डले नेपाललाई हराएर शृंखलामा लगातार दोस्रो जित निकाल्यो । स्कटल्याण्डका लागि क्रिस्टोफर म्याब्रिड्जले सर्वाधिक ४३ रन बनाए । नेपालका लागि सागर ढकाल, गुलशन झा र ललित राजवंशीले समान २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १३७ रन बनाएको थियो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले सर्वाधिक २९ रन बनाए ।

  • यी हुन् संसदमा सहभागी हुन पाउने राष्ट्रिय दलको मान्यता नपाउने दलहरु

    यी हुन् संसदमा सहभागी हुन पाउने राष्ट्रिय दलको मान्यता नपाउने दलहरु

    काठमाडौं । प्रतिनिधिसभामा १२ वटा राजनीतिक दल सहभागी हुन पाउने भएका छन्।

    यीमध्ये ७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

    राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन् ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन्। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने कानुनी व्यवस्था छ।

    नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म थ्रेसहोल्ड कटाउन हम्मेहम्मे देखिएको छ।

  • बाजुराबाट कांग्रेसका बद्री पाण्डे विजयी

    बाजुराबाट कांग्रेसका बद्री पाण्डे विजयी

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

    पाण्डे नेकपा एमालेका कर्णबहादुर थापालाई ५हजार ५सय ४१ मतले पछि पार्दै निर्वाचन भएका हुन्। पाण्डेले ३१ हजार ७ सय ८९ मत प्राप्त गर्दा थापाले २६हजार २सय ४८ मत प्राप्त गरे।

    राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

  • प्राधिकरणले फेरि भन्यो-‘सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिन भित्र खाली गर्नू’

    प्राधिकरणले फेरि भन्यो-‘सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिन भित्र खाली गर्नू’

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ ।

    ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ । काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले आग्रह गरेको छ ।

    प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी समेत दिएको छ।

    यसअघि एकीकृत बागमती सभ्यता विकास समितिको आह्वानमा नदी किनारका संरचना हटाउन खोज्दा महानगरपालिकामाथि आक्रमण भइरहेको छ ।

  • गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दै सेना

    गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दै सेना

    काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेपछि डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको छ । शंकास्पद वस्तु भेटिए पछि सो क्षेत्रलाई प्रंहरीले सिल गरेको थियो । आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट गराइएको थियो । त्यसबेला समेत घरमा क्षति पुगेको थियो । अहिले बास्कोटा लोकन्थलीस्थित घरमा भने नभएको बताइएको छ । उनी काभ्रेस्थित घरमा रहेको बेला भक्तपुरमा यस्तो वस्तु राखिएको हो । शंकास्पद वस्तु कसले राखेको बारेमा नखुलेको समेत प्रहरीले बताएको छ ।

  • आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । प्रतियोगिता नामिबियामा चलिरहेको छ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि दुबै टीमले अंक बाँडेका थिए । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई हराएको छ ।

    नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ । पहिलो खेलमा नेपालले आफ्नो इनिङ्स पूरै ब्याटिङ गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए पनि अन्य खेलाडी चल्न सकेका थिएनन् । आज नेपालले त्यसमा सुधार ल्याउनु पर्ने आवश्यकता छ ।

  • सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश

    सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । उनका अनुसार सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको छ ।

    माओवादीको बैठकमा अपेक्षा अनुसार सिट नआएको विषयमा समेत छलफल भएको बताइएको छ । चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने बताइएको छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ।

  • ज्ञानेन्द्र शाही भन्छन् : एमसीसीबारे संसदको पहिलो बैठकमै कुरा उठ्छ

    ज्ञानेन्द्र शाही भन्छन् : एमसीसीबारे संसदको पहिलो बैठकमै कुरा उठ्छ

    काठमाडौं । जुम्लाबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठ्ने बताएका छन् । निर्वाचित भएपछि शनिबार पहिलो पटक काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने जानकारी दिए ।

    आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए । ‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’