Category: समाचार

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८ रुपैयाँ थियो ।

    हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । सोही अनुसार नेपालमा पनि मूल्य घटेको हो ।

  • ६० वटा ‘ड्राइभिङ लाइसेन्स’ निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस

    ६० वटा ‘ड्राइभिङ लाइसेन्स’ निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात ब्यवस्था विभागमा सिफारिस गरेको छ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने शर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

    निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक, ३५ पटक कारवाही १ जना, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना, १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमतिपत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो।

    उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो। ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ। सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटकपटक कारवाहीमा परेको समेत प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए।

  • धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’

    धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’

    काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ।

    विवाद बढ्दै जाँदा मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

    कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन ।

    तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए।

    उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए।

    ३ जना कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्व्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

    उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको’ उल्लेख गरेका छन् ।

  • सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार

    सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको जनाएकी छिन् । उनले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी हुन् । उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल\डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको बताएकी छिन् ।

    कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको बताएकी छन् ।

  • आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई

    आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई

    काठमाडौं । सरकारले आजबाट सवारी साधनको जाँजपासमा कडाई गर्दैछ । प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने बताइसकेको छ । जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने भएको छ ।


    वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको छ । वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुने र गाडी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने प्रावधान छ ।

  • चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला

    चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । बुधबार र बिहीबार गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले जनाएको छ। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले ९केटो० गैंडा मृत भेटिएको थियो। उक्त केटोको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

    बिहीबार पनि अमलटारी सेक्टरकै लामिचौर पोष्टअन्तर्गतको गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको तिवारीले बताए। बिहान करिब ६ बजेको समयमा गस्ती टोलीले अन्दाजी १५ वर्षको उक्त गैंडा मृत अवस्थामा भेटेको उनले बताए। अन्दाजी १५ वर्षको पोथीको अर्को गैंडासँग जुधेर मृत्यु भएको अनुमान गरिएको छ। उक्त गैंडाको खाग र खुर सुरक्षित छ। चितवन निकुञ्जका अनुसार यस आर्थिक वर्षभित्र ५ वटा एक सिंगे गैंडाको मृत्यु भएको छ।

  • राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

    राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

    तिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

    सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

    कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताए ।

    यस निर्वाचनबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेशसभामा पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएको उनले जानकारी गराए । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएको उनको भनाइ छ ।

    आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

    सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत उच्च अधिकारी सहभागी थिए ।

  • आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै

    आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज बुझाउँदैछ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाउँदैछन् । निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । तर आयोगले अन्तिम मतपरिणाम बुधबार नै सार्वजनिक गरेको थियो ।

    आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने छ । आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन बुझाउने छ । आयोगबाट प्रतिवेदन बुझेपछि नयाँ सरकार गठनको बाटो खेल्नेछ ।

    केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्न सक्छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदले समर्थन गर्नुपर्छ ।

  • आपराधिक घटनामा दोषि ठहर भएकालाई उन्मुक्ति नदेउ : आयोग

    आपराधिक घटनामा दोषि ठहर भएकालाई उन्मुक्ति नदेउ : आयोग

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति दिन ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ। बुधबार आयोगले आपराधिक घटनाका दोषी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई उन्मुक्ति दिन ल्याइएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा ल्याएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

    अध्यादेशको प्रावधानले अदालतको निर्णयरफैसलाबाट दोषी किटान भएका र गम्भीर मानव अधिकार उल्लङ्घन र फौजदारी कसुरका मुद्दाहरू समेत फिर्ता लिने वा आममाफी दिने सम्भवना रहन्छ। उक्त कार्यले विधिको शासन, लोकतन्त्र र पीडितको स्वच्छ न्यायमा असर पर्नुका साथै दण्डहीनतालाई समेत प्रश्रय पुग्ने देखिन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट मानव अधिकार संस्कृतिको निर्माणमा गम्भीर चुनौती सिर्जना भएको छ।’

    जुनसुकै उद्देश्यले गरेको कार्य भए पनि प्रचलित कानूनको दृष्टिमा अपराध भएको र उक्त आपराधिक कार्यको दायित्व अपराध गर्ने व्यक्तिले नै लिनुपर्ने आयोगले जनाएको छ। यस्तै, आयोगले आपराधिक ठहर भएको व्यक्तिले कानून बमोजिम कारबाही हुनुपर्ने भनाइ छ। आपराधिक घटनालाई राजनीतिक दृष्टिले मात्र हेर्दै जाने गए नागरिकहरूको राज्यप्रतिको आशा एंव भरोसा टुट्दै जाने अवस्था सिर्जना हुने आयोगले बताएको छ।

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत

    काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४० दलका ४ हजार बढी उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २८५ जनाको जमानत जफत भएको हो । जुन कुल उम्मेदवारको ७६ प्रतिशत भन्दा बढी हो ।

    १० प्रतिशत मत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

    प्रतिनिधि सभा र प्रदेशसभाको दुबैतर्फ गरी ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको हो । यस्तै आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी समेत जफत गरेको छ ।

    समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ भने पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ।

    यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।

  • रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, सांसद पद खारेजीको माग

    रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, सांसद पद खारेजीको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदलतमा रिट दायर भएको छ ।

    चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको सांसद पद खारेजी मागसहित सिन्धुली घर भइ हाल काठमाडौंमा बस्दै आएका युवराज पौडेल ‘सफल’ले रिट हालेका हुन्।

    लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानूनी व्यवस्था विपरित उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै पौडेलेले रिट दायर गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि प्रतिनिधि सभा सदस्यको रुपमा उपस्थित हुन र कार्य गर्न नदिन रिटमा माग गरिएको छ।

    ‘नेपालको संविधानको धारा १३७ (२)(ख) को क्षेत्राधिकार प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचन आयोग ऐन, २०७४ को दफा १६ बमोजिम निज रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी निजलाई सांसद पदबाट मुक्त गरी पाउँ र उक्त ऐनको दफा १६(२) बमोजिमको कार्य गर्नु भनी विपक्षी निर्वाचन आयोगको नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ रिटमा भनिएको छ ।

  • निर्वाचन आयोगको प्रतिवेदन : संघ र प्रदेशमा कति दलले मान्यता पाए ?

    निर्वाचन आयोगको प्रतिवेदन : संघ र प्रदेशमा कति दलले मान्यता पाए ?

    काठमाडौं । निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन पेश गरिने बताए ।

    साथै आगामी पौष २ गते प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका माननीय प्रदेश प्रमुखज्यूहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी प्रमुख आयुक्त थपलियाले दिए ।

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

    आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० र र प्रदेशसभा २२० गरी ३३० सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई निर्वाचित हुने उम्मेदवारहहरूको नामावली निर्वाचन कानुन बमोजिम क्लस्टर मिलाएर पठाउन आयोगले गत शुक्रबार पत्राचार गरेको थियो ।

    यसैगरी आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित हुनुभएको छ भने प्रदेश सभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।

    त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

    प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

    त्यसैगरी प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

  • निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

    निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

    काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी छ ।

    भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकतर्फबाट तथा सात वटा प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिकतर्फबाट सांसद चयन हुने व्यवस्था छ ।

  • काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

    काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

    काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये १३ जनाको पहिचान खुलेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ।

    बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको छ । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो। बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बसमा ३९ यात्रु सवार थिए।

  • काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    काठमाडौं । काभे जिल्लाको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बेथानचोक(४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो । १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले पुष्टी गरेका छन् ।

    मृतकको पहिचान भने भइसकेको छैन । शिर मेमोरियलमा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार जारी छ । जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।

  • काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु

    काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु

    काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

    काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ । विस्तृत खबर आउन बाँकी छ ।

  • थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

    थारु र मुस्लिमलाई मधेसीको सूचीबाट हटाउने मधेसी आयोगको निर्णय

    काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ।

    आयोगको २० मंसिरमा बसेको बैठकले मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेकोहो।

    मधेशी आयोगले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाइएको आयोगले जनाएको छ।

    थारु र मुस्लिम समुदायका विभिन्न संघसंगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए। सो उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको हो।

    मधेशी आयोगले २०७८–७९ को वर्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो।

  • अध्यादेश ल्याउनु परेको कारणबारे सरकारको स्पष्टीकरण के छ ?

    अध्यादेश ल्याउनु परेको कारणबारे सरकारको स्पष्टीकरण के छ ?

    काठमाडौं । नेपाल सरकारले हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेकाले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्टीकरण दिएको छ ।

    सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम निर्णय गरी जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

    अध्यादेशमा संहिताको २०७४ को ११६ को उपदफा (८) पछि (९) थपिएको छ । अध्यादेशको ९ बुँदामा कुनै पनि राजनीतिक दल वा समूहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई सरकारसँग सहमति गरेको भए त्यो राजनीतिक दल वा समूहका नेता कार्यकताविरुद्ध नेपाल सरकार बादी भई चलाइएका मुद्दा फिर्ता लिने उल्लेख छ । त्यस्ता मुद्दा फिर्ता लिन जुनसुकै अदालतमा विचाराधीन रहेको भए पनि बाधा नपर्ने थपिएको बुँदामा उल्लेख छ ।

  • सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति

    सुन्धाराको मुल धारा नष्ट गरिएपछि काठमाडौं महानगरपालिकाको आपत्ति

    काठमाडौं । धरहरा र यसको आसपासका संरचना बनाउने क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट गरिएको छ । सोमबार सो संरचनामा डोजर चलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन् । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने बताए । उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरे ।

    रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु (काठको लामो पाइप) नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं २२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो ।

    सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।

    प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारे । सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ ।

    रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए ।

    सो अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।

    ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सय वर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार(पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

  • भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते

    भारतीय र चिनियाँ सैनिकबीच सीमामा झडप, कैयौं घाइते

    काठमाडौं । भारती र चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको पुष्टी गरेका छन् । झडपमा कैयौं घाइते भएको खबर छ । यद्दपी संख्या यकिन भएको छैन । भारतीय पत्रिका ट्रिब्युन इन्डियाले भारतीय सेनाको उच्चस्रोतलाई उद्धृत गर्दै समाचारको पुष्टी गरेको हो ।

    विवादास्पद सो क्षेत्रमा विगतमा पनि दुवै देशका सैनिक आमने सामने हुँदै आएको खबरमा लेखिएको छ । शुक्रबार राति भएको तवाङको याङत्सेमा झडप भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ । भारतीय पक्षले चिनियाँ सैनिकहरू पनि घाइते भएको दाबी गरेका छन् ।

    अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ र त्यसमा आफ्नो सार्वभौमिकता दाबी गर्ने गरेको छ । यसअघि २०२० जुन महिनामा पनि दुवै देशका सैनिकहरुबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । सो क्रममा २० भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसअघि भुटान र चीनबीच सीमा विवाद रहेको दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच आमने(सामने भएका थिए ।

  • जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले पुष्टी गरेका छन् ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवारी चालक भगवतीमाई गाउँपालिका २ दैलेखका मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का छन ।

    उता, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते छेडागाड नगरपालिका–२ का जयलाल अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको बताइएको छ ।

  • माफी दिने अध्यादेश ल्याउने सहित यस्ता छन् सरकारका सात निर्णय

    माफी दिने अध्यादेश ल्याउने सहित यस्ता छन् सरकारका सात निर्णय

    काठमाडौं । सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन् ।

    यी हुन् बैठका निर्णयहरु

    १) सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुईजना महिला सदस्य थप गर्ने ।

    २) गोदक–सोयाक १३२ केभी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।

    ३) मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

    ४) नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलव्ध गराउन स्वीकृति दिने ।

    ५) कालिगण्डकी करिडोर न्यू बुटवल बर्दघाट आयोजनाको २२० केभी प्रशारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

    ६) राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रामआधार साहलाई नेपाल इञ्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टर तर्फको विशिष्ठ श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापना गर्ने ।

    ७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नेपाल इञ्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टरतर्फका सचिव सुरेश आचार्यलाई सहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।

  • ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने

    ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने

    काठमाडौं । ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः शुरुवात गरेको छ ।

    यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् ।

    ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ ।

    एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ । अर्थात् अब आइफोन प्रयोगकर्ताले ट्वीटरमा ब्लू टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

    यसअघि अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेका थिए ।

    चौतर्फी विवादपछि प्रयोगकर्ताबाट लिने शुल्क घटाएर ८ डलरमा झरेका थिए ।

  • काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो

    काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो

    काठमाडौं । सोमबार काठमाडौंमा यस सिजनकै सबैभन्दा चिसो कायम भएको छ । आज न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

    न्यूनतम तापक्रम घट्दै जाँदा देशैभर चिसो बढेको हो । हिमाली जिल्लामा हिमपात समेत शुरुभएको छ । तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुन थालेको छ । दिउँसो भने घाम लाग्दा चिसो महसुस हुदैन । सोमबार समेत दिउँसोको मौसम सामान्यतया सफा रहने भएको छ ।

  • सत्ताका लागि संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसभित्रै तीव्र विरोध

    सत्ताका लागि संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसभित्रै तीव्र विरोध

    काठमाडौं । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ता गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेसँगै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा तीव्र विरोध शुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत भएको तर्क गरेका छन् ।

    त्यसो त सामाजिक सञ्जालमा अधिकांश व्यक्तिले सरकारको अचानक आएको यो निर्णयको विरोध गरेका छन् । अबको केही सातामै संसद बसी औपचारिक रुपमा विधेयक ल्याउने ढोका खुला थियो । तर, सरकारले हठाथ अध्यादेश ल्याउने निर्णय आइतबार गरेको हो । नयाँ सरकारमा नागरिक उन्मुक्ति र जनमत लगायतका पार्टीहरुलाई सहभागी गराउन उनीहरुका सर्त पूरा गर्न सरकारले अध्यादेश ल्याउन लागेको हो ।

    अहिले नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् । नयाँ सरकारका गठनमा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सहमतिमा ल्याउन कांग्रेस, माओवादी लगायतका नेताहरुले छलफल गरिरहेका छन् । ती पार्टीका नेताहरुले सत्तागठबन्धनसँग मुद्दा फिर्ता र बन्दी रिहाइको सर्त राखिरहेका छन् । उनीहरुका सर्तलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

  • जेलमा रहेका रेशम चौधरी छुटाउन अध्यादेश ल्याएपछि रविले गरे कडा आलोचना

    जेलमा रहेका रेशम चौधरी छुटाउन अध्यादेश ल्याएपछि रविले गरे कडा आलोचना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेशको कडा विरोध गरेका छन् । उनले अध्यादेश फिर्ता हुनुपर्ने समेत तर्क राखेका छन् । सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसद छलेर उक्त अध्यादेश ल्याएको भन्दै रास्वपाका सभापति लामिछानेले अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताए ।

    ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? (हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र, १–२ हप्ता पनि कुर्न नसकिने ?,’ सभापति लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन्। अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको उनको तर्क छ । ‘नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो। यो तत्काल फिर्ता हुनपर्छ,’ लामिछानेले भनेका छन् ।

    सरकारले मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

  • समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै

    समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै

    काठमाडौं । समानुपातिक निर्वाचन पद्दतीबाट निर्वाचित भएका सांसदको नाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको हो । ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गरिने छ । यससँगै नयाँ संसदले पूर्णता पाउने छ । निर्वाचन आयोगले का अनुसार आज समय अपुग भएमा मंगलबारसम्म सूची सार्वजनिक भइसक्ने भएको छ ।

    दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ ।

    गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए । ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।

  • राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम उठाउने समूह पक्राउ

    राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम उठाउने समूह पक्राउ

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

    ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, पसलबाट रकम असुल गरेको पाइएको छ ।

    पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

    उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटर प्याड, नगद रसिदसहित पाँच लाख आठ हजार छ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।
    उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरूको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

  • रेशम चौधरी रिहाई गर्न सरकारले ल्यायो अध्यादेश

    रेशम चौधरी रिहाई गर्न सरकारले ल्यायो अध्यादेश

    काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिने तयारी गरेको छ । सो प्रयोजनका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको छ ।

    दफा ११६ मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख छ । सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो। नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो। उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको साहारा लिएको हो।

    सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन। सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ। अध्यादेश सरकारले राष्ट्रपति समक्ष पठाए पनि जारी हुन बाँकी रहेको छ ।

  • हनी ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

    हनी ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौं । हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जना पक्राउ परेका छन् । प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुष प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी छन् ।

    पीडित भनिएका दाङका ४५ वर्षीय पुरुष विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला हुन् । सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गए र व्यक्तिगत सम्बन्ध बन्यो । कृष्णाले सुरुदेखि नै आर्थिक लाभ लिँदै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरुषले हालसम्म ३५ लाख रुपैयाँ दिइसकेका थिए । उनमा लोभ बढ्दै गयो र आफूले भने जति पैसा नदिए बलात्कारमा फसाइदिने भन्दै बार्गेनिङ गर्न सुरु गरिन् ।

    ‘सुरुदेखि नै आर्थिक सहयोग लिँदै आएको र पछि ठूलो लोभमा परेर बार्गेनिङ गर्न सुरु गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले भनेकाछन् । घरजग्गा समेत किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ गर्न थालिन् ।

    त्यसक्रममा उनले कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग लिइन् । उनले पीडित पुरुषलाई मात्र नभएर उनको परिवारलाई समेत धम्याउँन थालिन् । पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको प्रहरी नायव उपरीक्षक गौतमले बताए । प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।