Category: समाचार

  • थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

    थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

    बैंकक । थाइल्यान्डमा पानीजहाज डुब्दा भएको दुर्घटनामा तीन दर्जन सैनिक वेपत्ता भएका छन् । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थाई नौसेनाका प्रवक्ताका अनुसार ‘एचटीएमएस सुखोथाई’ पानीजहाजमा एक सय जनाभन्दा बढी नौसैनिक सवार थिए । थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनार नजिकै रहेको बेला जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि दुर्घटना भएको थियो ।

    नौसेनाले सार्वजनिक गरेका तस्बिरमा कडा छाल पार गर्ने क्रममा जहाज एक छेउबाट डुब्ने क्रममा ढल्किरहेको देखिन्छ । दुर्घटनालगत्तै उद्धार अभियान सुरु गरिएको भए पनि ३१ जना नाविक बेपत्ता भएको नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बताएका छन् । बेपत्ता सैनिकको खोजी भइरहेको मोन्ट्राडपालिनले भनाइ छ । ‘हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं,’ उनले भने, ‘जहाजको ‘अपरेटिङ सिस्टम’ ले काम गर्न छाडेपछि जहाजले नियन्त्रण गुमाएको थियो ।’

    दुर्घटनामा परेको जहाज सन् १९८० को दशकमा निर्मित भएको बीबीसीले जनाएको छ । जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको प्रवक्ता सुखोथाईले बताए । उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी छ । घटनापछि उद्धार गरिएका ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

    थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले एक विज्ञप्ति जारी गर्दै अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । ‘घटनापछि विकसित घटनाक्रमलाई मैले नजिकबाट नियालिरहेको छ । पाँच जना गम्भीर घाइते भएका छन्,’ प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

    चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

    सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोका कारण दुई जनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको समाचार एजेन्सी राससले जनाएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ। केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो। दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए।

    एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दै आएका थिए। किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङ्ग्रिएर ज्यान गएको बताए। स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए।

    रमेशको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएकोबारे आफूलाई पनि कसैले जानकारी नगराएको वडाध्यक्ष रायले बताए। उनले चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको बताए।

  • मंगलबार पनि उच्च भेगमा हिमपातको सम्भावना

    मंगलबार पनि उच्च भेगमा हिमपातको सम्भावना

    काठमाडौं । मंगलबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एक\दुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू भागका एकरदुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ । बुधबार मौसममा समान्य बदली हुने सम्भावना छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ ।

  • आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द

    आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द

    काठमाडौं । आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए ।

    उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

    नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।

    काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।

    काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।

    बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

  • झापामा दम्पत्ति मृत फेला

    झापामा दम्पत्ति मृत फेला

    झापा । झापामा एक दम्पत्ति मृत फेला परेका छन् । झापाको चारआली जंगलमा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ । सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका १३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो। उनीहरू श्रीमान–श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतक अर्जुनधारा नगरपालिका(११ बस्ने ५२ वर्षीय नेत्रकुमार इङनिम लिम्बू र उनकी ४२ वर्षीया श्रीमती सञ्जु लिम्बू छन्। उनीहरू मंसिर २१ गतेपछि परिवारको सम्पर्कमा नभएको बताइएको छ । डिएसपी पाठकका अनुसार शव केही गलिसकेको पनि छ। एउटाको डोरी चुँडिएर भुइँमा खसेको अवस्थामा शव फेला परेको थियो। स्थानीयले दिउँसो दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको देखिएको छ ।

  • कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने

    कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने

    काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ।

    सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

    यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको हो ।

    संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उमेदवारी दिने तयारी गरेका छन् ।

    संसदीय दलमा ८९ जनाले निर्वाचन प्रकृयामा भाग लिनेछन् । उमेदवारी दर्ता भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । यसअघि भोलि बिहान ८ देखि १० बजे सम्मलाई समयसीमा तोकिएको थियो ।

  • वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

    वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका(१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ ।

    वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ ।

    पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र हिलो नआउने गरी पानी राजधानी ल्याउने विषयमा सरोकारवाला निकायसँग छलफल चलिरहेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । यस्तो संरचनाले सामान्य अवस्थामा आउने बाढी रोक्नेछ । विसं २०७८ असार १ मा आएजस्तो करिब एक शताब्दीमा आउने बाढी भने यो संरचनाले नधान्ने आयोजनाले जनाएको छ । सामान्य बाढी धान्ने भएकाले ‘हेडवक्र्स’ नबनेसम्मका लागि यो संरचना बनाउन लागिएको हो ।

    जेठ अगावै संरचना बनाइने

    वर्षामा पनि पानी राजधानी ल्याउन सकिने गरी अस्थायी संरचना बनाउने प्रस्ताव तयार भएको उनले बताए । यस्तो संरचना आगामी जेठ अगावै बनाइने छ ।

    वर्षामा पनि पानी ल्याउन बनाइने अस्थायी संरचनाका लागि खर्च पनि धेरै नलाग्ने आयोजनाले जनाएको छ । कम खर्चिलो र थोरै समय लगाएर वर्षाका ५ महिनामा पनि मेलम्चीको पानी राजधानीवासीका धारामा झार्न आयोजनाले पहल थालेको हो ।

    आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जेठसम्म वर्षामा पनि पानी आउने संरचना बनाउन अहिले काम गरिरहेको निर्माण व्यवसायीलाई नै काम दिने गरी मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए ।

    निर्माण व्यवसायीको छनोटको प्रक्रियाबाट अघि बढ्दा असारदेखि मेलम्चीको पानी राजधानी ल्याउन निरन्तरता दिन नभ्याइने आयोजनाले जनाएको छ । हाल मेलम्ची खोलाको दैनिक १७ करोड ५० लाख लिटर पानी राजधानीमा आइरहेको छ । तर राजधानीमा माग भने ४३ करोड लिटर पानीको छ ।

    बागमती स्रोतबाट हाल दैनिक नौ करोड लिटरसम्म पानी पूर्ति भइरहेको छ । खानेपानी मन्त्रालयले राजधानीका काठ क्षेत्र र सीमा जोडिएका जिल्लाका स्रोतबाट पनि छिटो राजधानीमा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जनाएको छ ।

    विसं २०७७ चैत तेस्रो साता पहिलोपटक राजधानी आइपुगेको मेलम्चीको पानी २०७८ जेठ अन्तिम साता वर्षाको बाढी सुरुङमा छिर्न सक्ने भन्दै बन्द गरिएको थियो ।

    त्यसबेला ‘हेडवक्र्स’को काम भइरहेको भनिएको थियो । २०७८ असार १ मा मेलम्ची खोलाको मुहानमाथि भ्रेमाथानबाट झरेको लेदोसहितको बाढीले खानेपानी आयोजनाको संरचनामा क्षति गरेको थियो । बाढीले संरचनासँगै ‘हेडवक्र्स’मा पनि क्षति भएको थियो ।

    क्षतिपछि हेलम्बु गाउँपालिकाको समेत सहयोगमा संरचना निर्माण गरेर २०७८ चैतमा दोस्रोपटक राजधानीमा मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछि जल तथा मौसम विज्ञान विभागलगायत सरोकार भएका निकायको अनुमान अनुसार बाढी आउने सम्भावना बढेपछि २०७९ असारदेखि फेरि बन्द गरिएको थियो । दोस्रोपटक बन्द गरिएको मेलम्चीको पानी २०७९ मङ्सिर तेस्रो साता तेस्रो पटक राजधानी ल्याइएको हो ।

    ‘हेडवर्क्स’ निर्माण अध्ययन जारी

    ‘हेडवर्क्समा पनि क्षति भएपछि हाल खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडीबी)ले यस विषयमा अध्ययन गरिरहेका छन् ।

    विज्ञसहितको टोलीले पहिलेकै ठाउँमा हेडवर्क्स बनाउन सकिन्छ कि सकिन्न भनेर भौगोलिक अध्ययन भइरहेको आयोजनाका प्रवक्ता पन्तले बताए। अध्ययन प्रतिवेदन बनाएर हेडवर्क्स निर्माण गर्दा असार अगावै नसकिने भएकाले वर्षामा पनि पानी ल्याउन अस्थायी संरचना बनाउने प्रस्ताव आयोजनाले अघि सारेको हो ।

    अहिले हेडवक्र्स निर्माण नभएकैले वर्षामा पनि मेलम्चीको पानी राजधानी ल्याउन नसकिएको आयोजनाले जनाएको छ । हालसम्म मेलम्ची खानेपानी आयोजनामा रु ३१ अर्ब ११ करोड खर्च भइसकेको छ ।

    चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गरेका कारण पनि आयोजनाका काममा असर गरेको छ । समिति खारेजीको निर्णयले अहिलेसम्म कर्मचारी तलब पनि पाएका छैनन् ।

    समितिलाई निरन्तरता दिने सैद्धान्तिक सहमति सरकारले जनाए पनि निर्णय भने नहुँदा काममा असर गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । समिति खारेजीको अवस्थामा रहँदा मेलम्चीको दोस्रो चरणमा राजधानी ल्याइने याङ्री र लार्केको काम पनि प्रभावित भएको छ ।

    मेलम्ची खानेपानी आयोजनाले स्थानीयवासीले उठाएका सवालमा ध्यान नदिँदा जुनसुकै बेला समस्या आउने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ ।

    आयोजनाले मेलम्ची बाढीले भत्काएको सडक, पुललगायत संरचना निर्माणमा पहल नगरेको, पानीको महसुल स्थानीय सरकारलाई दिनुपर्ने शुल्कको निर्णय नगरेको उनको गुनासो छ ।

  • कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक

    कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक

    काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक भएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो।

    दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

    आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

    पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ।

    पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। सोही दिन ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोधको समय राखिएको छ।

    पुस ५ गते नै दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्मा उम्मेदवारले नाम फिर्ता लिनसक्नेछन्।

    उम्मेदवारको अन्तिम नामावली पुस ५ गते दिउँसो ३ बजे हुने कार्यसूचीमा उल्लेख गरिएको छ। पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने जनाइएको छ।

  • सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने

    सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने

    काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते सपथ लिने भएका छन्।

    सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि सपथ ग्रहणको समय तोकेको छ।

    सपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ।

    कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरि त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ।

    सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए। उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

    राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ। संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध चयन गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

  • माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला

    माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता चयन गरेको छ ।

    सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

    त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

    समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीबाट प्रत्यक्षमा १० जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन्।

  • समाजवादीको संसदीयको दलको बैठक बस्दै

    समाजवादीको संसदीयको दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
    संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो ।

    एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुने सम्भावना छ। साथै आइतबार एकीकृत समाजवादीले सचिवालय बैठक गरेको थियो। विचार मिल्ने दलहरूसँग एकतावद्ध भएर जाने विषयमा उक्त बैठकमा छलफल भएको थियो।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । सोमबार देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। मंगलबार पनि देशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।

  • एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक

    एम्बाप्पेले जिते गोल्डेन बुट, फाइनलमा गरे ह्याट्रिक

    काठमाडौं । फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जित्न सफल भएका छन् । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा ह्याट्रिक गरेको एम्बाप्पेले एम्बाप्पेले गोल्डेन बुट जिते । यो विश्वकपमा ७ गोल गरेका छन् ।

    विश्वकपको फाइनलमा एम्बाप्पेले गरेको ह्याट्रिक विश्वकपमा विरलै मानिन्छ । यसअघि इंग्ल्याण्डका लागि होस्र्टले १९६६ मा पनि ह्याट्रिक गरेका थिए । रोमान्चक खेलमा हारे पनि फ्रान्सले सेकेन्ड हाफपछि उत्कृष्ट फुटबल खेलेको छ ।

  • अर्जेण्टिना विश्व च्याम्पियन

    अर्जेण्टिना विश्व च्याम्पियन

    काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे ।

    त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । २–१ ले पछि परेको फ्रान्सको तेस्रो पेनाल्टी अउरेलियनले बाहिर प्रहार गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३–१ मा पुर्‍याए ।

    फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका लागि चौथो पेनाल्टीलाई गोञ्जालो मोन्टेलले जाली चुमाए । यसअघि खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो ।


    ८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे ।

    निर्धारित ९० मिनेटमा दुवै टिमबाट २(२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए । तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । त्यसपछि भने गोल भएन ।

  • ७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान

    ७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

    निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकी हुन्।

    आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

    संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

  • तीन वर्षपछि शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण दर

    तीन वर्षपछि शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण दर

    काठमाडौं। तीन वर्षपछि नेपालमा कोभिड- १९ संक्रमणदर शून्यमा झरेको छ । नेपालमा विसं २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए।

    झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज २ जना संक्रमणमुक्त भएका छन्।

    मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

  • कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?

    कतार विश्वकप विजेताले कति पाउनेछ पुरस्कार ?

    काठमाडौं । विश्वकप फुटबल विजेताले पाउने रकममा वृद्धि हुँदै गएको छ । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन्।

    नेपालीमा हिसाब गर्दा यो रकम करिब ५ अर्ब ४४ करोड हुन आउँछ । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो।

    यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछ भने तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार पाउने छ। चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछ।

    यस्तै, क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउँदा अन्तिम १६ मा पुग्ने टिमले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । विश्वकपमा छनोट भएका ३२ टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन्।

    कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ।

  • स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने

    स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने

    काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए ।

    उनले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित बेगर बिदा पनि बस्न नपाइने बताए ।

    ती अधिकारीले आफूखुशी कार्यलय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारीविना कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको छ ।

    मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति विना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ ।

  • अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै

    अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै

    काठमाडौं । अनुत्पादक क्षेत्र भनिए पनि बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा लगानी वर्षेनी बढ्दै गएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा घरजग्गामा कर्जा लगानी ६९.३७ प्रतिशतले बढेको छ ।

    यद्यपि, राष्ट्र बैंकको कडाइका कारण पछिल्लो १ वर्ष यता भने घरजग्गामा कर्जा लगानी केही सुस्त देखिएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले ५ वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँले व्यक्तिगत घरजग्गामा कर्जा प्रवाह गरेका छन् ।

    आर्थिक वर्ष २०७४/ ७५ सम्म बैंकहरुले घरजग्गामा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । ५ वर्षको अवधिमा बैंकहरुको घरजग्गाका कर्जा लगानी औसतमा वार्षिक औसतमा ११ प्रतिशतले वृद्धि हुँदै गएको छ ।

    संस्थाहरूले चालु वर्षको तीन महिनामा १५ अर्ब रुपैयाँ व्यक्तिगत आवास कर्जा र रियलस्टेट सेक्टरमा लगानी गरेका छन् । गत वर्ष मात्र १५ प्रतिशतले ऋण लगानी बढाएको तथ्यांकले देखाउँछ ।

  • मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ

    मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ

    रुपन्देही । रुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दासलाई पक्राउ गरेको छ ।

    महन्तले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।

    आज बिहान उनलाई मटिहानी बाट पक्राउ गरिएको स्थानीयले बताएका छन ।

  • आँबुखैरेनी नजिकै सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध

    आँबुखैरेनी नजिकै सडक भासियो, पृथ्वीराजमार्ग अवरूद्ध

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।

    आइतवार बिहान करिब १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

  • माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

    माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?

    माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति नजुटेको बताइएको छ ।

  • नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै

    नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै

    काठमाडौं । नेपाली कांग्रेस नयाँ सरकार गठनबारे छलफलमा जुट्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसको भनाई छ ।

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पहिलो चरणमा प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

  • क्रोएसिया बन्यो तेस्रो

    क्रोएसिया बन्यो तेस्रो

    काठमाडौं । क्रोएसिया विश्वकपमा तेस्रो बनेको छ । जारी विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २–१ गोलअन्तरले हराउँदै तेस्रो स्थान सुरिक्षित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो ।

    सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा शक्तिशाली देशका रुपमा आफूलाई चिनाउन सफल भएको छ । प्लेअफ खेलको सुरुवात शानदार र विस्फोटक रह्यो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । तर, अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।

    मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो । तर, डिफ्लेक्ट भएपछि बलले पोष्टको दिशा लियो, जसलाई मोरक्कोका प्रोफोलिक गोलकिपर यासिन बोनोले पनि अनुमान गर्न सकेनन् । पहिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केही राम्रा अवसरको उपयोग गर्न सकेन ।

    जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ । कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

  • निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

    निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ ।
    आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

    ती टोलीले सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम भने निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ ।

  • प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा

    प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने भन्दै ललितपुर महानगरपालिकाको प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।

    प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जबाफदेही हुनुपर्ने बताए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरेका छन् । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए ।

    प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमुना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षणको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे ।

  • नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु

    नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु

    काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ ।

    ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । नेपाली सेनाका अनुसार विपत् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सो संयुक्त अभ्यास सुरु गरिएको हो ।

    यस संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपत् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्नेछन् । नेपाली सेनाबाट ३३४ जना र भारतीय सेनाबाट ३३४ जना सहभागी रहेको उक्त संयुक्त अभ्यास पुस १४ गते सम्पन्न हुनेछ । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास अहिलेसम्म दुवै देशमा गरी १५ पटक सम्पन्न भइसकेको छ ।

  • उच्च भेगमा हिमपातको सम्भावना

    उच्च भेगमा हिमपातको सम्भावना

    काठमाडौं । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी गराएको हो । देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू–भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। साथै देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोसमेत बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

    सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

    सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो ।

    पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी गराएका छन् । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी रहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।