Category: समाचार

  • बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

    बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

    काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

    केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो ।

    सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा २५ लाख नगद र ३५ तोला सुनसमेत बरामद गरेको थियो ।

    केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

    गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

    यसअघि तीन लाख रुपैयाँ घुस लिएको प्रहरीको उजुरी छानबिन शाखामा छानबिन भइरहेको थियो ।

  • प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

    प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने भएका छन् । मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको १५ प्रतिशत तलब नलिने निर्णय सोमबारे भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले कम्तीमा चालु आर्थिक वर्षभरि वृद्धि भएर आएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको हो ।

    ‘प्रतिकात्मक रुपमा यसै वर्षदेखि राष्ट्रसेवकहरूको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षसम्मका मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरिएको छ‚’ बैठकपछि पत्रकारहरूलाई मन्त्रिपरिषद्का निर्णय सुनाउँदै मन्त्री पौडेलले भने ।

  • बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    बझाङ । बझाङमा गतराति ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो ।

    उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ । झोलुङ्गे पुलको सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटनाम परेको बताइएको छ ।

  • अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

    अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

    काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाएको छ । यो निर्णय आगामी पुस २४ (जनवरी ८ बाट लागु हुने छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार विज्ञप्ति निकाल्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने बताएको हो । यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः सूचारु गरेको छ । अब यात्रुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड नेगेटिभ रिपोर्ट भए पुग्छ ।

    डिसेम्बरको सुरूमा भएको सरकार विरोधी प्रदर्शनपछि सी जिनपिङ प्रशासनले शून्य कोभिड नीतिलाई केही खुकुलो बनाएको हो । पछिल्लो समय क्वारेन्टिनमा बस्नु पर्ने अवधि भने निकै कम गरिएको थियो। शुरूमा तीन साताको अनिवार्य क्वारेन्टिन तोकिएकोमा हाल पाँच दिनमात्र क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ। प्रतिबन्धहरु खुकुलो पारिएपछि चीनमा कोरोना संक्रमणको दर र अस्पतालहरुमा बिरामीको चाप हृवात्तै बढेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

    संक्रमणको दर बढेसँगै चीनले कोभिड संक्रमितको दैनिक तथ्यांक सार्वजनिक गर्ने काम पनि बन्द गरेको छ। चीनमा दैनिक हजारौँ मानिसले ज्यान गुमाइरहेको हुन सक्ने आशंका गरिएका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । मार्च २०२० देखि चीन आउने सबै अन्तर्रष्ट्रिय यात्रुले अनिवार्य केन्द्रीकृत क्वारेन्टाइन बस्नुपरेको थियो।

  • अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

    अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

    काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी छ । मंगलबार काठमाडौंमा यस सिजनकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । यस दिन न्यूनतम तापक्रम ४.४ सेल्सियस मापन भएको छ । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

    यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा भने सफा हुने महाशाखाले जनाएको छ । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।

  • नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

    नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जनतामा आशा जगाएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए । ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’


    अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको उनले जानकारी दिए ।
    राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहेको भन्दै उनले भने, ‘देशका अगाडि रहेका समस्याहरु सम्बोधन गर्ने केन्द्रित हुने संकल्प गरेका छौं ।’

  • गृहमन्त्री लामिछाने बने सरकारको प्रवक्ता

    गृहमन्त्री लामिछाने बने सरकारको प्रवक्ता

    काठमाडौं । गृहमन्त्री रवी लामिछाने सरकारको प्रवक्ता बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उनको पार्टी अध्यक्षकै नेतृत्वमा सरकारमा गएको हो ।

    प्रधानमन्त्री प्रचण्डसहितको मन्त्रिमण्डलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएको थियो । त्यसपछि मन्त्रिहरुले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहणपछि साँझ मात्र मन्त्रिपरिषद बैठक बसेको हो ।

  • सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

    सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

    काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्टसहितका सेवा वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय भएको छ ।

    राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय समेत गरेको छ ।

  • प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन्।

    उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।

    पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

    नेकपा (एमाले)का राजेन्द्र राई, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

  • दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

    दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् ।

    उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका हुन् ।

    यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

    यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।

    सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन्।

  • प्रचण्डको निर्देशन-‘बालुवाटार निवासमा नयाँ तथा भड्किलो सामान खरिद नगर्नू’

    प्रचण्डको निर्देशन-‘बालुवाटार निवासमा नयाँ तथा भड्किलो सामान खरिद नगर्नू’

    काठमाडौं । वनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएका हुन् ।

    प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

  • राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

    राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्।

    प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सरकारमा सहभागी नहुने भनेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले खबर पठाएको ब्रिफिङ गरेका थिए।

    नागरिक उन्मुक्ति पार्टीले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।

    प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । स्वतन्त्र हैसियतमा जितेका रेशम चौधरीका बाबु लालबीर पनि नागरिक उन्मुक्ति पार्टीमै आवद्ध छन् ।

    सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताए ।

  • न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक

    न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक

    काठमाडौं । औषधि व्यवस्था विभागले लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक लगाएको छ ।

    विभागले एक सूचना जारी गर्दै लोमस ले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

    लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स ००१ बिक्रीमा रोक लगाएको हो ।

    सो ब्याचको औषधि प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । साथै बजारमा हाल रहेको सो ब्याचको औषधि तुरुन्त फिर्ता गर्न र प्रयोगसमेत नगर्न नगराउन विभागले सबैमा सूचित गरेको छ ।

  • डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा

    डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा

    काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

    सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा २५ लाख नगद र ३५ तोला सुनसमेत बरामद गरेको छ ।

    केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

    गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

    यसअघि तीन लाख रुपैयाँ घुस लिएको प्रहरीको उजुरी छानबिन शाखामा छानबिन भइरहेको थियो ।

  • रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

    रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।

    उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको रास्वपा सभापतिकै नेतृत्वमा सरकारमा जाने तयारी थालेको हो ।

    महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ ।

    उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।

  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

    नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीन र भारतले बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत लिएका छन् । चीनले समेत प्रधानमन्त्री प्रचण्डको सफल कार्यकालका लागि शुभकामना दिएको छ।

    प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँराजदूतावासका तर्फबाट बधाई दिइएको छ । चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत उनलाई बधाई दिएका हुन्। चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिएका छन्।

  • प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

    प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण अगाडी सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक आज बस्ने भएको छ । सरकारमा पठाउने मन्त्री टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

    बैठक बिहान ८ बजे बोलाइएको बैठक सुरु भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

  • प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

    प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

    सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित उनी प्रधानमन्त्री बनेका हुन् ।

  • १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

    १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड

    काठमाडौं । नेपालको राजनीति पछिल्लो साढे दुई दशकयता आफ्नो इशारामा चलाउन सफल व्यक्तिमा पर्छन् पुष्प कमल दाहाल प्रचण्ड । २०५२ सालमा जनयुद्ध सुरु भएयता उनले जे जस्तो चाहेका छन्, राजनीतिले उस्तै मोड लिएको छ । नेपालमा राजतन्त्रकालिन व्यवस्था उन्मुलनदेखि गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड पुनः एक पटक शान्तीपूर्ण राजनीतिाबाट मुलुकको कार्यकारी पदमा पुग्न सफल भएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै हुनेछ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए । यसमध्ये दोस्रो कार्यकाल सफल मानिन्छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म विसं २०११ साल मङ्सिर २६ गते ढिकुरपोखरी २ कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गरेका छन् । २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट राजनीति थालेका प्रचण्ड २०३१ सालमा मार्क्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो ।

    चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक सङ्घको महासचिव बनेका प्रचण्ड २०४० सालमा अनेयुसङ्घको अध्यक्ष बने । युवक सङ्घको अध्यक्ष बनेपछि उनी पार्टी नेतृत्वमा छलाङ मार्न थाले ।

    उनी २०४१ सालमा नेकपा मसालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिट ब्युरो सदस्य बने । २०४२ मा पार्टी विभाजनपछि उनी मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर कान्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडेलगत्तै पार्टी प्रमुख अर्थात् २०४६ मा महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म पार्टीको प्रमुख पदमा आसिन छन् । प्रचण्डकै नेतृत्वमा माओवादीले २०५२ सालदेखि १० वर्ष सशस्त्र युद्ध लडेको थियो ।

    २०७८ पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पनि उनी अध्यक्ष निर्वाचित भए । यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उनी एक थिए । उनी २०६४ सालमा सम्पन्न संविधान सभा चुनावमा काठमाण्डौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । उनी २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बने ।

    संविधान सभाको दोस्रो चुनाव २०७० सालमा काठमाण्डौ १० बाट पराजित भए पनि उनी सिरहा ५ बाट निर्वाचित बने । २०७३ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री बने । २०७४ सालको चुनावमा उहाँ चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा उनी गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका हुन् ।

  • क्षणभरमै रित्तियो कांग्रेस

    क्षणभरमै रित्तियो कांग्रेस

    आइतबार बिहानसम्म सत्ता राजनीतिको सबैभन्दा शक्तिशाली दल क्षणभरमै प्रतिपक्षी बनेको छ । कांग्रेस वर्तमान संसदको सबैभन्दा ठूलो दल हो । तर, गठबन्धन जोगाउन गम्भीर नबन्दा कांग्रेसले आफ्नो शक्तिमात्र गुमाएन, ५ वर्ष ढुक्कसँग चलाउन सक्ने महत्वपूर्ण पदहरु समेत गुमाएको छ । यसमा राष्ट्रपति, सभामुखदेखि प्रदेश सरकारहरु समेत पर्छन् । अब कांग्रेसले ७ वटै प्रदेशमा प्रतिपक्षमा बस्नु पर्ने भएको छ ।

    आइतबार बनेको नयाँ गठबन्धनबाट माओवादी र एमालेले भने सोच भन्दा राम्रो लाभ पाउने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी भने सबैभन्दा धेरै गुमाउनेमा पर्छन् । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउने निश्चित थियो
    । सात वटा प्रदेशमध्ये कम्तीमा चार वटामा मुख्यमन्त्री अनि प्रदेश प्रमुखलगायतमा कांग्रेसको दाबी स्वभाविक थियो ।

    आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट लागेसँगै कांग्रेसको हातबाट धेरै चिज गुमेको छ । अब कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेशमा मुख्यमन्त्रीलगायतका पद पाउने सम्भावना सकिएको छ ।

  • प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ

    प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

    स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै

    प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने दाबी पेश गरेका छन् ।

    सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित दाबी पेश गरेका हुन् ।

    गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।

    बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको थियो ।

    प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्।

    सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।

  • लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन

    लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन

    काठमाडौं । लामो कटुतालाई अन्त्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमतिपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेका छन्।

    सत्ता समीकरणको लामो रस्साकस्सीबीच नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि खुसी भएका मा‌ओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले बार्दलीबाट अभिवादन गरेका हुन्।

    यो सहमतिसँगै शीर्ष नेताहरु प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति निवास पुगेका छन्।

    शीतलनिवास प्रस्थान गर्नुअघि ओली र प्रचण्डले ओली निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका थिए। यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बार्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो। प्रचण्डले समेत कैयौं पटक आफ्नो भाषणमा ओलीलाई बार्दलीमा पुर्‍याइदिएको अभिव्यक्ति दिँदै आएका थिए।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी नागरिकको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।

  • एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

    एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

    काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । वैठकमा साढे २ वर्षपछि भने एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ ।

    माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत बनेको हो । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

    सरकार बनाउने सुहमतिअनुसार दाबी राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाइने छ । प्रचण्डलाई नेतृत्व दिन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, सीके राउतको जनमत पार्टीका ६ तथा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद जोडिने छन् ।

  • प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वैठकको सहमति

    प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वैठकको सहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेकासहितका दलहरुबीच सहमति भएको छ।

    आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो।

    नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए। आज बिहानसम्म सत्ता गठबन्धनको सरकार बन्ने आँकलन गरिए पनि एकाएक माहोल बालकोटतर्फ मोडिएको थियो।

    प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

  • तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक

    तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक

    काबुल । अफगानिस्तानमा केटीहरुले अब गैरसरकारी संस्थामा काम गर्न नपाउने भएका छन् । यसअघि उच्च शिक्षामा रोक लगाएको तालिवान सरकारले अब एनजीओमा काम गर्न समेत रोक लगाएको बीबीसीले जनाएको छ । अफगान सरकारको यस निर्णयको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । तालिवानले भने यस निर्णयको बचाउ गरेको समाचारमा उल्लेख छ ।

    एनजीओमा काम गर्ने केटीहरुले हिजाब लगाउँन नपाउने र यो शरिया क़ानूनको उल्लंघन भएको उसको तर्क छ । केही दिन पहिला मात्र यहाँ महिलालाई विश्वविद्यालय जान रोक लगाउने निर्णय भएको थियो । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले यस्तो निर्णय अफगानिस्थानका लागि विनासकारी हुने प्रतिक्रिया दिएका छन् ।

  • काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन

    काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन

    काठमाडौं । काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनको सबैभन्दा कम हो । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । अहिले देशभरकै तापक्रम निरन्तर कम भइरहेको छ ।

    जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान छ ।

  • प्रधानमन्त्रीमा दावि गर्न राष्ट्रपतिले दिएको समय आज सकिने

    प्रधानमन्त्रीमा दावि गर्न राष्ट्रपतिले दिएको समय आज सकिने

    काठमाडौं । सरकार गठन गर्न दाबी गर्न राष्ट्रपतिले दलहरुलाई दिएको समय आज सकिने भएको छ । आइतबार साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिने छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।

    दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास गरेको छैन । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेस गरिने बताएका छन् ।

  • पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा

    पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा

    धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनी शुक्रबार धनुषा पुगेका थिए । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्न रातो कार्पेट ओछ्याइएको थियो ।

    सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरे । उनले शुक्रबार साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भई पूजापाठ गरेका थिए । पूर्वराजाको साथमा पूर्वमहारानी कोमल शाह समेत छिन् ।

  • नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

    नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरिएको बताएको छ । मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन् ।

    विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।