Category: समाचार

  • ‘नियमसम्मत काममा हस्तक्षेप हुँदैन, सरुवा-बढुवाका लागि नेताको दैलोमा गए कारबाही गर्छु’

    ‘नियमसम्मत काममा हस्तक्षेप हुँदैन, सरुवा-बढुवाका लागि नेताको दैलोमा गए कारबाही गर्छु’

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन्।

    प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका हुन् ।

    लामिछानेले मन्त्रालय र आफ्नो तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताए ।

    उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

    उनले प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन प्रहरी अधिकारीहरूलाई आग्रह गरे।

    प्रहरीको तलब, रासन, भत्तालगायत अन्य सेवा सुविधामा पुनरवलोकन गर्न आफू तयार रहेको गृहमन्त्री लामिछानेको भनाइ छ।

    उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’

  • एमडीएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित

    एमडीएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित

    काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली अनिश्चितकालको लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि एमडीएमएस प्रणाली अनिश्चित कालको लागि स्थगित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

    ‘तत्काल यो सेवा पूर्ण रूपमा सुरू नगर्न निर्देशन दिनुभएको छ। यसलाई थप व्यवस्थापन गरेर मात्रै अघि बढाउनू भन्नुभएको छ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयलाई कार्यान्वयन गर्न भन्सार विभागको पनि प्रत्यक्ष संलग्नता हुन्छ। त्यता पनि समन्वय गर्नुपर्ने संकेत गर्नुभएको छ।’

    भन्सार विभाग र प्राधिकरणको समन्वयनको आवश्यकता भएको प्रधानमन्त्रीको भनाइ रहेको उनले बताए।

    यसअघि प्राधिकरणले हिजोसम्म परीक्षणका रुपमा र आजदेखि पूर्णरुपमा एमडीएमएस लागु गर्ने तयारी गरेको थियो । भन्सार छलेर ल्याइएका मोबाइल फोन ब्लक गर्ने उद्देश्यले यो प्रणाली लागु गर्ने निर्णय गरिएको थियो ।

    अहिले विदेशबाट ल्याएका फोनहरु समेत दर्ता गर्नुपर्ने र पर्यटकको हकमा अन्योलताको बिषयलाई लिएर यसको विवाद भएसँगै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएको देखिन्छ ।

    प्रधानमन्त्रीको निर्देशनपछि अब, कहिले एमडीएमएस लागु हुन्छ भन्ने निश्चित मिति तय भएको छैन्

  • विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन

    विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् ।

    सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएपछि अर्थमन्त्रीलाई प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

    भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो।

    नेपाल दूरसञ्चार प्राधिकरणले ‘एमडीएमएस’ प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको थियो ।

  • तराईमा हुस्सुका कारण जनजिवन प्रभावित

    तराईमा हुस्सुका कारण जनजिवन प्रभावित

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा हुस्सु लाग्नुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान काठमाडौंको आकाश पनि धुम्म छ। चिसो बढेको छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    यस्तै आज राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध

    उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध

    न्युयोर्क

    बिदेशबाट नेपाल आँउदा नेपालीहरुले परिवार तथा आफन्तका लागि लिएर आउने एउटा फोन तथा ल्यापटपमा समेत भन्सार शुल्क लगाउने नेपाल सरकारको नयाँ नियमको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको छ ।
    नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नयाँ नियम प्रवासी नेपाली श्रमिकहरूको हित विपरितको भएको भन्दै नेकपा एमालेको अन्तररास्ट्रिय सँगठन प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको हो ।

    मञ्चले डिसेम्बर २९ तारिखका दिन एक बिज्ञप्ति जारी गर्दै भनेको छ; विदेशमा वर्षौंसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाईल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीहरूमाथिको निर्मम शोषण हो ।

    लाखौं प्रवासी नेपालीहरुको “रेमिट्यान्स “ले देशको मुख्य अर्थतन्त्र धानेको अवस्थामा छ । यस्तो महत्त्वपूर्ण सहयोगलाई नजरअन्दाज गरी प्रवासमा रहेका नेपालीहरुलाई शोषण गर्ने खालको “उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य” गर्ने नेपाल सरकारको निर्णय पक्षपातिपूर्ण एवम् अव्यवहारिक भएको भन्दै अध्यक्ष सञ्जय थापाद्वारा जारी बिज्ञप्तिमा मन्चले यस्तो अव्यवहारिक निर्णयलाई तत्काल खारेज गर्दै लाखौं प्रवासी नेपालीहरूको हितमा काम गर्न नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले अगामी पुस १५ (शुक्रबार) देखि मोबाइल बजारलाई नियमन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दै छ । सोही प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आउने भएपछि भन्सार कार्यालयले पनि त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिने मोबाइल फोन ल्याउदा शुल्क तिनुपर्ने व्यवस्था ल्याएको हो ।

  • मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

    मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

    काठमाडौं । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । धवार र बिहीबार कुल एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । जसमा एक सय तीन जना नेपाल प्रहरी र ९१ जना सशस्त्र प्रहरी रहेका छन् ।

    नेपाल प्रहरी केन्द्रीय मुख्यालय नक्सालमा र सशस्त्र प्रहरी आफ्नो मुख्यालय हलचोकमा हाजिर भएका छन् । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको छ ।

  • प्रभु साहले खोले नयाँ पार्टी

    प्रभु साहले खोले नयाँ पार्टी

    काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन भएको छ। साहलाई रौतहट क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साहले साथ दिएका छन्। उनी संसदीय विभाग प्रमुख बनेका छन्। त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी कुन्दन कुशहवाले लिएका छन् भने चन्द्रभूषण साह प्रचारप्रसार विभाग प्रमुख बनेका छन्। नेकपा एमालेबाट कारबाहीमा परेका पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख बनेका छन्।

    आम जनता पार्टी गठन गरेका प्रभु साहले एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यसपटक समेत गरी रौतहट क्षेत्र नं ३ बाट उनी चार पटक विजयी भइसकेका छन्। एमाले छोड्नुअघि उनी पार्टीको स्थायी कमिटी सदस्य थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साहले एमाले रोजेका हुन्। उनले तीन वटा निर्वाचन नेकपा माओवादीको तर्फबाट जितेका हुन्। साह पटक पटक मन्त्री समेत भइसकेका छन्।

  • बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहको सहयोग

    बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहको सहयोग

    काठमाडौं । काठमाडौं महानगरले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागे‍को छ।

    बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेका हुन् ।

    सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो।

    ‘थापाथलीस्थित वाग्मती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ ।

    यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ उक्त पत्रमा उल्लेख छ ।

  • पूजाआजा गरेर सरकारी निवास पुल्चोकमा सरे गृहमन्त्री रवि लामिछाने

    पूजाआजा गरेर सरकारी निवास पुल्चोकमा सरे गृहमन्त्री रवि लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

    लामिछानेले बिहीवार पूजाआजा गरेर मन्त्री निवास (क्वाटर) प्रवेश गरेका हुन् । उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो ।

  • सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक पार्टीका नेताहरू भेट्न रोक

    सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक पार्टीका नेताहरू भेट्न रोक

    काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई राजनीतिक पार्टीका नेताहरूलाई भेट्न रोक लगाएको छ । गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार एक विज्ञप्ति जारी गर्दै अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएका छन् ।

    कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि उनले बताएका छन्।

  • सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

    सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजकमा चयन भएका छन् ।

    बिहीवार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजकमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए ।

    ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ । यसका लागि हामीले संयोजक तोकेका हौँ,’ लामिछाने भने ।

    उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताए ।

    बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने बताएका थिए ।

    १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । जसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

  • ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

    ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

    काठमाडौं । ट्वीटरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट ‘लक’ गरेको छ । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट लक भएको हो ।

    कांग्रेसका सभापति शेर बहादुर देउवापछि प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रचण्डकै फोटो अपडेट गरिएको थियो । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट ‘लक’ गर्नु अर्थपूर्ण देखिन्छ ।

    लक भएको अकाउन्टबाट राखेरका सूचना तथा सन्देशहरु अरुले हेर्न तथा कमेन्ट गर्न सक्दैनन् ।

    प्रचण्डको सचिवालयले भने के खासै ठूला समस्या नभएकोले एकाउन्ट लक गरिएको बुझ्ने काम भइरहेको बताएको छ । अ चानक केही परिवर्तन गर्दा लक हुनसक्छ, यसलाई सामान्य लिनुपर्ने सचिवालयको भनाइ छ । अचानक कभर, फोटो परिर्वतन भएर नै लक भएको हुन सक्ने आशंक गरिएको छ ।

  • सत्ता गठबन्धनको बैठक आज

    सत्ता गठबन्धनको बैठक आज

    काठमाडौं । सरकारलाई समर्थन गरेका ७ दलका नेताबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो आह्वान गरेका छन् । यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले एक्लै कुराकानी गरेका छन् । पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

    पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन्। तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए।

    यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।

  • गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

    गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर नागरिकको लामो लाइनबारे जानकारी लिएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।
    मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेको गृह मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नियुक्त नभएकाले प्राप्त जिम्मेवारीका आधारमा उनले बुधबार राहदानी विभागको अनुगमन गरेका हुन् । उनले त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । गृहमन्त्री लामिछाने अहिले फिल्डमा उत्रिएर काम गरिरहेका छन् ।

  • जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

    जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

    टोकियो । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा २७१ ज्नाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ ।

    देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो । राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ संक्रमित थपिएका छन् । देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना छन् । यो मंगलबारको भन्दा ५ कम हो । टोकियोमा पनि कोभिडका गम्भीर बिरामी घटेर ४९ मा आएको छ ।

  • राप्रपा सरकारमा सहभागी हुने

    राप्रपा सरकारमा सहभागी हुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने भएको छ ।

    यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन ।

  • बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

    बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सरकारी निवास वालुवाटार सरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी हुन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरे ।

    ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलोगरी प्रवेश गरेका थिए । सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छ । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन छ ।

  • गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।

    पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।

    दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।

  • कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

    कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

    संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ १६ मत ल्याए भने बहादुरसिंह लामाले  २१ मत ल्याएका छन् ।

    दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

    गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

  • विशेष चेकिङको क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारवाही

    विशेष चेकिङको क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारवाही

    काठमाडौं । काठमाडौँ उपत्यकामा बुधवार बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

    जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।

    त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ८ ओटा स्कुल बसका चालकलाई पनि कारवाही गरीएको छ ।

    सवारीको अवस्था ठिक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरु रहेका छन् ।

    यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।

    सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेकोकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

  • संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवास खुमलटारमा

    संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवास खुमलटारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

    कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै ओली खुमलटार पुगेका हुन् ।

    संसद विघटनपछि ओली दुई वर्षपछि पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । ओली र प्रचण्ड एक ठाउँमा उभिएसँगै पुनः वाम एकताको चर्चा हुन थालेको छ ।

  • काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

    काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा आज अझ चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनकै सबैभन्दा कम हो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घट्छ । आकाश सफा भएको बेला न्यूनतम तापक्रम घट्छ । यी दुवै अवस्थामा जाडो बढ्ने गर्छ ।

    अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । यो हुस्सु कुहिरो दिउँसोपख हट्दै जानेछ ।

  • बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

    बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

    बाग्लुङं । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्पको महसुस भएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

  • कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई  वितरण

    कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण

    काठमाडौं । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो ।

    दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिए । उनका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ ।


    हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले सिन्धुलीका किसानलाई वितरण गरेको हो । उत्पादनको हिसाबले कोरियाका टप ९परीक्षण भएका० दुई वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ ।

    डा श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाई ल्याइएको बताउनुभयो । दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारका लागि ल्याएको उनको भनाइ थियो । उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए ।

    नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको डा श्रेष्ठले बताए । उनले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याइएको बताए । गाईलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईको क्षमता प्रतिबेत आठदेखि १६ हजार लिटर दूध रहेको बताइएको छ । रासस

  • सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

    सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना रकम वृद्धि गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको हो । ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको छ । यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो।

    तर अब यी शीर्षकमा न्यूनतम १५०० रूपैयाँ जरिवाना हुनेछ। ‘पहिले न्यूनतम ५०० देखि अधिकतम १५०० रूपैयाँसम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अब न्यूनतम नै १५०० रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो ।
    २०७५ सालमा प्रत्यायोजित अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको प्रहरीको भनाई छ । यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनीकरण हुने विश्वास प्रहरीको छ ।


    न्यूनतम १५०० रूपैयाँ जरिवाना हुने १६ कसूर

    १. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
    २. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
    ३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
    ४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
    ५. एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा
    ६। अवस्था ठिक नभएको सवारी चलाएमा
    ७. राति बत्ती नबाली सवारी चलाएमा
    ८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
    ९. नम्बर प्लेट नराखी सवारी चलाएमा
    १०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
    ११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
    १२. लापरवाहीका साथ सवारी चलाएमा
    १३.सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
    १४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
    १५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
    १६.हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा

  • कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

    कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

    काठमाडौं। नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ।

    संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएका छन्।

    गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका सदस्य गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने विज्ञप्तिमा उल्लेख छ। यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको शपथ भने लिएका थिए।

    गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो।

    सुशील कोइराला सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका गुरुङमाथि काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ। अख्तियारले उनीमाथि २०७५ माघमा मुद्दा दायर गरेको थियो। मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले भ्रष्टाचार अभियोग लागेका व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था गरेअनुरूप अदालतमा गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले संसदीय गतिविधिमा सहभागी नगराउन आग्रह गर्दै संसद सचिवालयलाई पत्राचार गरेको थियो।

  • पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

    पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन्।

    प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ।

    संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ।

  • कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

    कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

    मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताएका छन् ।

  • महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस

    महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई सिफारिस गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेका बताइएको छ ।

    पोखरेल नेपालको संविधानको धारा १५७ (१) बमोजिम महान्यायाधिवक्ता हुँदै छन् । संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ ।

    पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।

  • राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, सेन्सर सिफारिस चार दिनअघि लिए हुने

    राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, सेन्सर सिफारिस चार दिनअघि लिए हुने

    काठमाडौं । नेपाल चलचित्र संघको चर्को दबावपछि चलचित्र विकास बोर्डले प्रदर्शनसम्बन्धी नियम संशोधन गरेको छ।

    सोमवार बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरदेखि राति हल सञ्चालन गर्ने नियम संशोधन गरेको हो।

    रातिको समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा पहिले नै बोर्डलाई जानकारी गराए हुने निर्णय गरिएको छ। यसअघि राति ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम थियो।

    त्यसपछि चलचित्र प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई जानकारी गराउनुपर्ने प्रावधान थियो।

    त्यस्तै बोर्डमा जाँच सेन्सरका लागि सिफारिस लिन चलचित्र प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियम थियो।

    बैठकले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ। अब कुनै पनि फिल्मले रिलिजको चार दिनअघि सिफारिस लिनुपर्नेछ।