Category: समाचार

  • प्रदेश १ को मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल, पहिले एमालेका हिक्मत कार्की

    प्रदेश १ को मुख्यमन्त्रीमा आधा–आधा कार्यकाल, पहिले एमालेका हिक्मत कार्की

    काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ।

    सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आगामी मुख्यमन्त्रीका लागि अघि सार्ने तयारी गरिएको हो।

    नेकपा माओवादी केन्द्र र नेकपा माओवादी केन्द्रबीच आधा–आधा कार्यकालको समझदारी भएको छ ।

    बिहीबार बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले पहिलो कार्यकाल अर्थात साढे २ वर्ष नेकपा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै बाँकी अर्को कार्यकाल अर्थात साढे २ वर्ष नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउनेछ ।

    सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ५ बजे सकिँदैछ । गठबन्धनको निर्णय अनुसार आजै नेकपा एमाले संसदीय दलको नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

    कार्कीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका गरि झण्डै दुई तिहाई सांसदको समर्थन रहनेछ । कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र मानिन्छन्।

    पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।

    ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ। प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

  • राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु

    राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको तयारी थालेको छ । निर्वाचन माघ २५ मा तोकिएको छ र आयोगले राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए ।

    आयोगले एक सूचनामार्फत संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि भोलिदेखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुने निर्वाचन अयोगले जनाएको छ ।

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा

    गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा

    काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा बनेको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाज १०ः ३० बजे रेसुङ्गा विमानस्थल प्रस्थान थर्नेछ । जहाज ५५ मिनेटको उडानमा गुल्मी पुग्नेछ ।
    यो विमानस्थल ३३ करोड लागतमा बनेको हो । यहाँ पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग छ । यहाँ साना जहाजमात्र उड्न सक्छन् । यहाँ २०७५ जेठ २५ मा धुले मैदानमा परीक्षण उडान भएको हो । आज रेसुंगा नगरपालिकाले नगरभर बिदा दिएको छ ।

  • बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने

    बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने

    काठमाडौं । वाम एकताको पहल लिन नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली बनाउने भएको छ । आइतबार बस्ने राजनीतिक समितिको बैठकले वार्ता टोली गठन गर्ने भएको हो । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई बढाउने बारे आज छलफल हुने नेताहरुले बताएका छन् ।


    समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने भएको हो । मंसिर ४ को निर्वाचनमा नेसपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो ।

  • वृहत बाम एकताका लागि माओवादीले पहल थाल्ने

    वृहत बाम एकताका लागि माओवादीले पहल थाल्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ । साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ ।

    यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले बृहत वाम एकताको पहल गर्ने कार्यदल संयोजक महराले बताएका छन् ।

  • कार्यदलले सरकारको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझायो

    कार्यदलले सरकारको साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझायो

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

    त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरू पनि उपस्थित थिए ।

    न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य थिए ।

    १४ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सरकारमा सहभागी राजनीतिक दलका घोषणापत्रमा रहेका साझा विषय, सुशासन, भ्रष्ट्राचार नियन्त्रण, सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य लगायतका विषय समावेश छन् । न्यूनतम कार्यक्रमलाई आदर्श मानेर काम अघि बढाउने योजना रहेको नेताहरुले जनाएका छन् ।

  • सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा

    सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा

    काठमाडौं । सत्तारुढ दलले राप्रपाको पहिलो सर्त मान्ने भएका छन् । जसका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन सहज हुने भएको छ । दलहरुबीच भएको सहमति अनुसार २७ पुसमा सार्वजनिक विदा हुने छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने बारे सहमति जुटाएको छ ।

    राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो । कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’

  • गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आएन अन्तरिम आदेश, पद कायमै रह्यो

    गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आएन अन्तरिम आदेश, पद कायमै रह्यो

    काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश नदिएसँगै उनको सबै पद कायम रहेको छ । रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने विवादमा ११ माघ २०७९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका लामिछाने चितवन २ बाट निर्वाचित भएका छन् । अमेरिकी ग्रिनकार्ड त्यागेपछि लामिछानेले नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया नचालेको भन्दै लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले निर्णय नदिएपछि सर्वोच्चमा रिट पर्‍यो ।

    प्रारम्भिक सुनुवाइका क्रममा अन्तरिम आदेश नदिएको संवैधानिक इजलासमा शुक्रबार दुबै पक्षले बहस गरेको थियो । रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेकोे नेपाली नागरिकता कायम नभएको जिकिर गरेका थिए । सरकारी र लामिछानेका कानुन व्यवसायीहरुले भने अन्तरिम आदेश जारी हुन नहुने बताएका थिए । संवैधानिक इजलासले नागरिकता कायम रहे नरहेको र सांसद हुन योग्य भए नभएको विषयमा छिटो छरितो रुपमा सुनुवाइ गरेर निरुपर्ण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    आदेशमा भनिएको छ, अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम ओदश जारी गर्नु मनासिव देखिएन ।’ यससँगै तत्कालका लागि रविको सांसद पद जोगिएको छ । तर पूर्ण सुनुवाइका लागि ११ माघको पेशी तोकेको छ । यो सुनुवाइ कुनै पक्षको अनुरोधमा नरोकिने संवैधानिक इजलासले प्रष्ट पारेको छ । र, रविको उम्मेदवारीबारे निर्वाचन आयोगले गरेको निर्णयको सक्कल, रविले अध्यागमन विभागमा पेश गरेको कागजात र त्यसमा भएको कारबाही ७ दिनभित्र झिकाउन आदेश दिएको छ ।

  • गृहमन्त्री लामिछानेको सुरक्षामा अब एउटा मात्र गाडी खटिने

    गृहमन्त्री लामिछानेको सुरक्षामा अब एउटा मात्र गाडी खटिने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’

    उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने बताउँदै भनेका छन्, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’

    साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्था बाहेक आफूबाट त्यस्तो गतिविधि नहुने भनेका छन् । व्यक्तिगत कामका लागि कतै जानु परे वा विदाका दिनमा हिँड्नु परे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । भनेका छन्, ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु ।’

  • दौरा सुरुवालसहितको प्रचण्डको अफिसियल फोटो सार्वजनिक

    दौरा सुरुवालसहितको प्रचण्डको अफिसियल फोटो सार्वजनिक

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अफिसियल फोटो सार्वजनिक गरिएको छ । सरकारकै निकायले दौरा सुरुवाल सेटको पासपोर्ट साइजको फोटो सार्वजनिक गरेको हो ।

    नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा पद तथा गोपनियताको सपथ लिएका थिए ।यसअघि प्रधानमन्त्री हुँदा कोट, पाइन्ट, टाइ र टोपीको फोटो प्रचलनमा ल्याइएको थियो ।

  • चुनावमा मारिएकाको परिवारलाई १० लाख, निराकर पाण्डेको शव ल्याउन लागेको खर्च सरकारले व्यहोर्ने

    चुनावमा मारिएकाको परिवारलाई १० लाख, निराकर पाण्डेको शव ल्याउन लागेको खर्च सरकारले व्यहोर्ने

    काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि आगामी माघ २५ गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको उपनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई जानकारी गराएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

    त्यस्तै सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

    मृतकको परिवारलाई १०-१० लाख आर्थिक सहयोग दिने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

    यस्तै कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने उनले बताए ।

  • मधेस प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ६ दिनको समय

    मधेस प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ६ दिनको समय

    काठमाडौं । मधेस प्रदेशमा सरकार गठनका लागि ६ दिनको समय दिएको छ ।

    मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते बिहीबार बेलुकी ४ बजेसम्मको समय सीमा दिएका हुन् ।

    नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा २ अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

    त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

    मधेस प्रदेशमा २३ सांसदसहित नेकपा एमाले सबभन्दा ठूलो दल छ । कांग्रेसको २२, जसपाको १६, जनमतको १३, माओवादीको ९, नेकपा एसको ७ र लोसपाको ९ सांसद छन् । ५ स्वतन्त्र सांसद छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको १/१ सांसद रहेका छन् ।

  • पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीको श्रद्धान्जली

    पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीको श्रद्धान्जली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा १६ जना घाइते भएका छन् । प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।’

  • तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर

    तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर

    काठमाडौं । तराई मधेसका सबैजसो जिल्लामा शीतलहर चलेको छ । शीतलहर अझै केही दिन लम्बिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरुका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक नभएको अवस्था नै शीतलहर हो ।

    अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको छ । शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ ।

    यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

  • आजबाट स्वस्थानी व्रत सुरु

    आजबाट स्वस्थानी व्रत सुरु

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

    बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर(घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश ९हालको साँखु क्षेत्र०को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।

    स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

    यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन रु भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटनामा पर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका भएको प्रहरीले जनाएको छ । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जनाएका छन् ।

    रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटनामा परेको हो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताएका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् ।

  • प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री

    प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए ।

    भेटमा महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना व्यक्त गरेको थियो । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । सो क्रममा महासंघले प्रधानमन्त्री दाहाललाई बधाई दिएको थियो । भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहाव हुने १० सेवामा टाइम कार्ड लागु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहाव हुने १० सेवामा टाइम कार्ड लागु

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित सय अवधि तोकेर सेवा प्रवाहको व्यवस्था मिलाएका छन् । प्रजिअ उपाध्यायका अनुसार अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने छन् ।

    उनका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ ।

    त्यस्तै शुक्रबारबाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५ वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने प्रबन्ध पनि सुरु गरेको छ । त्यस्तै ७५ वर्षमाथिका वृद्धवृद्धालाई प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको प्रजिअ उपाध्यायले जानकारी दिए ।

  • एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा

    एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा

    काठमाडौं । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा थालेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु भएको छ । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाको टोली यात्रामा सहभागी छ । कालो दौरासुरुवाल, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुकसहित शाहकालीन पोसाकमा सजिएका सेनाको सार्दुलजंग गुल्मको टुकडी र रिपुमर्दन गणले गोरखाबाट यात्रा सुरु गरेका हुन् । गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोष दुरीको यात्रा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते टुंगिने छ ।

    यात्राको पहिलो दिन सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपककुमार बानियाँले राष्ट्रिय झन्डा तथा टर्च गोरखा खण्डको नेतृत्व गर्ने रिपुमर्दन गणका यात्रामा सहभागी नेपाली सेनालाई हस्तान्तरण गरे । टर्च, नेपालको राष्ट्रिय झन्डा, सेनाको पहिलो कम्पनीहरु ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर०को झन्डासहित यात्रा सुरु भएको हो । सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।

    रिपुमर्दन गणले यात्राको पहिलो दिन बिहीबार हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–वोर्लाङसम्मको यात्रा पूरा गर्ने छ । गोरखा खण्डको नेतृत्व सेनाको रिपुमर्दन गणका उपसेनानी वम बोगटीले गरेका छन् । पहिलो दिनको गोरखा खण्डको यात्रामा ३० जनाको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

  • गण्डकीमा प्रदेशमा सरकार गठनको दाबी पेस गर्न गर्न ४ दिनको समय

    गण्डकीमा प्रदेशमा सरकार गठनको दाबी पेस गर्न गर्न ४ दिनको समय

    काठमाडौं । गण्डकी प्रदेशमा सरकार गठनका लागि ४ दिनको समय दिएको छ ।

    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय सीमा दिएका हुन् ।

    नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा २ अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

    त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

  • प्रधानमन्त्री कार्यालयको निर्देशन-‘प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू’

    प्रधानमन्त्री कार्यालयको निर्देशन-‘प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू’

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन निर्देशन दिएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन शाखाका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेले गृह मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास), बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।’

  • बागमती प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ५ दिनको समय सीमा

    बागमती प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ५ दिनको समय सीमा

    काठमाडौं । बागमती प्रदेशमा सरकार गठनका लागि ७ दिनको समय दिएको छ ।

    बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान भएको हो ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा २ अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

    त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

    ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् ।

    अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ  ।

    कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।

  • चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

    चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

    काठमाडौं । कोरोना संक्रमण फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रुमाथि कडाई गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्। चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो। यसैबीच हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूले सुझाव दिएको बिबिसीले जनाएको छ। युरोपेली संघका बहुमत सदस्य राष्ट्रहरू चीनबाट आउने यात्रीमा यात्रा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट यस्तो सिफारिस आएको हो।

    यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले शुरू भइसकेको छ। युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन्। कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनले यात्रा सहज पारेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमाका अनुसार चीनले अहिले व्यापक मात्रामा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ।

    बिरामीको चापले अस्पतालहरू भरिएका छन्। विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ। यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ। बेइजिङले गत डिसेम्बरयता कोभिडबाट जम्मा २२ जनाको ज्यान गएको पुष्टि गरेको छ। जुन विवरण विश्लेषकहरूको तथ्याङ्कसँग मेल नखाने बिबिसीले दाबी गरेको छ।

    वैज्ञानिक तथ्याङ्कसम्बन्धी यूकेको एअरफिनिटी कम्पनीको आकलन अनुसार चीनमा दैनिक २० लाखभन्दा बढी सङ्क्रमण र १४,७०० मृत्यु भइरहेको हुन सक्छ। यसअघि चिनियाँ सरकारले आफ्नो देशबाट जाने यात्रुहरूको आगमनमा कडाइ गर्ने देशहरूको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही भएको भन्दै आफूले बदला लिनसक्ने चेतावनीसमेत दिएको थियो।

  • तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित

    तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित

    काठमाडौं । तराई मधेशभेगमा शीतलहर सुरु भएको छ । जसका कारण जनजिवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ ।

    अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतलहर चलेको मानिन्छ । मंगलबार नै तराई मधेशका जिल्लामा शीतलहर चलेको हो । तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो ।


    अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक–दुई दिन कायमै रहने भएको छ । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पनि दिउँसोको समयमा केही कम हुनेछ । काठमाडौंमा आजको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो ।

  • मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने

    मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको जानकारी गराएका छन् । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताए । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने। यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए। ‘बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छु, उनले भने।

    मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका कामरकसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए। यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ। बैठकमा समसामयिक राजनीति र राहदानी विभागको सिस्टम डाउनबारे पनि छलफल भएको गृहमन्त्री लामिछानेले जानकारी दिए ।

  • प्रयोगमा नरहेको ‘सिम कार्ड’ अर्को व्यक्तिलाई बेच्न रोक

    प्रयोगमा नरहेको ‘सिम कार्ड’ अर्को व्यक्तिलाई बेच्न रोक

    काठमाडौं । सर्वोच्च अदालतले प्रयोगमा नरहेका ‘सिम कार्ड’ अर्को व्यक्तिलाई बेच्न रोक लगाएको छ ।

    न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गोपनीयताको हकका विषयलाई सम्बोधन गर्दै प्राधीकरणको सो निर्देशन तत्काल कार्यन्वन गर्न अन्तरिम आदेश जारी गरिएको हो ।

    कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६ महिना पछि पुनः वितरण गर्न मिल्ने दूरसञ्चार प्राधीकरणबाट जारी भएको निर्देशन तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

  • नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको छैन, भ्रम फैलाइयो : क्यान

    नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको छैन, भ्रम फैलाइयो : क्यान

    काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला नेपाल क्रिकेट संघ (क्यान)ले अस्वीकार गरेको छ ।

    क्यानले बुधबार वक्तव्य जारी गर्दै क्यानले प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ नभएको प्रस्ट पार्दै भ्रामक तथा मिथ्या सूचनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन आग्रह गरेको हो ।

    नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    ‘नेपाल क्रिकेट संघको आयोजनामा यही २०७९ पुस ७ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ/स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलिएको अनेक भ्रामक वा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानले विज्ञप्‍तिमा भनेको छ ।

  • काठमाडौंको गेस्ट हाउसमा ३४ वर्षीया महिला मृत फेला

    काठमाडौंको गेस्ट हाउसमा ३४ वर्षीया महिला मृत फेला

    काठमाडौं । काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

    मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा रोल्पाको मागदी गाउँपालिका–७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत फेला परेकी हुन्।

    उनी सुतेकै अवस्थामा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पुन विगत ३ दिनदेखि उक्त गेस्ट हाउसमा बस्दै आएकी थिइन्।

  • सुदूरपश्चिम प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ७ दिनको समय

    सुदूरपश्चिम प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ७ दिनको समय

    काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि ७ दिनको समय दिएको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गतेभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

    प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

    प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनसहित पुस २७ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेका छन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न भनिएको हो ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा २ अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

    त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

    ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सांसद छन् ।

  • बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित

    बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित

    काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आज पनि देशभर यात्रा र जनजिवन प्रभावित बनेको छ । तराईका जिल्लामा हुस्सु तथा कुहिरोले जनजिवन बढी प्रभावित बनेको हो । कम भिजिभिलिटीका कारण आज बिहान आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान मात्र नियमित छ ।

    बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा पनि लागेको हुस्सु क्रमश सफा हुँदैछ। देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    दिउँसो गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन्।