Category: समाचार

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।

    विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

  • पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?

    पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?

    काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जसमध्ये ५३ जना नेपाली रहेका छन् ।

    ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

  • दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

    दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

    काठमाडौं । प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍् ।

    बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विस्तृत विवरण लिन त्यहाँ पुगेका हुन् ।

    पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।

    दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् भने तत्काल उद्धार गर्न निर्देशन पनि दिइसकेका छन् ।

  • यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)

    यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)

    काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

    काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

    अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।

    नेपाली यात्रुः

    किसान आचार्य
    निशान्त आचार्य
    शालिगराम आचार्य
    सडकात अलिमिया
    पूर्ण बहादुर गुरुङ
    जितेन्द्र बहादुर कुँवर
    एलिना बन्ड्रो
    अनिशा बानियाँ
    स्लक भट्ट
    निरा छन्त्याल
    आशिमा गुरुङ
    अनुशा गुरुङ
    बेलमान गुरुङ
    विजयकुमार गुरुङ
    जीवनकला गुरुङ
    माया गुरुङ
    लक्कि गुरुङ
    शिवकुमार गुरुङ
    सिता गुरुङ
    यमुना गुरुङ
    यास्मिन गुरुङ
    रविन हमाल
    सन्जय जैसवाल
    सोनु जैसवाल
    रचना काफ्ले
    सीता कुमारी खड्का
    अनिल कुमार राजभार
    भगवती कुँवर
    अविशेक कुश्वाह
    ओम माया गुरुङ
    सुस्मा पाण्डे
    हरि परियार
    लक्ष्मी परियार
    रिता परियार
    अरुण पौडेल
    लक्ष्मी पौडेल
    प्रसिद्धि पौडेल
    त्रिभुवन पौडेल
    पोजन राना
    सविना रायमाझी
    राजन सापकोटा
    अनिल शाही
    संगिता शाही
    जमुना शर्मा
    विशाल शर्मा
    युवराज शर्मा
    मोहन श्रेष्ठ
    डा. शोना दिवाकर
    बन्दना सुनार
    राजुसिंह ठकुरी
    चुर्ण थापा
    गणेश थापा
    लवराज तिमिल्सिना

    विदेशी यात्रु

    मेरोल लभ
    आयूरी ल्यागीन
    भिक्टर ल्यागीन
    जेनितसन्डरा पालाभेकिनो
    भिक्टोरिया अतुनिना
    इलिना बण्डुरो
    रुअनकालुम क्रिघ्टोन
    एलेक्जेण्डर आइरिडोरे

    शिशुहरु

    कृष परियार
    प्रसिद्धी पौडेल
    आयुर्दि शर्मा
    बेबी शर्मा
    अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

  • पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो

    पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो

    काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

    अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

    दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालि सकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।

  • ६८ जना यात्रु बोकेको यति एयरको पोखरामा जहाज दुर्घटना

    ६८ जना यात्रु बोकेको यति एयरको पोखरामा जहाज दुर्घटना

    काठमाडौं । पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ।

    काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो।

    पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकोले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ।

    विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

  • नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

    नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको छ । यसअघि निगमले असार ३० गते एक अर्ब ३५ करोड र असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको थियो ।

    निगमले असोजमा बुझाएको किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ र नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपियाँ गरी जम्मा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ रहेको थियो ।

    निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । १५ वर्षभित्र तिरिसक्ने गरी लिइएको यो ऋणको एक वर्षमा ब्याज मात्रै एक अर्ब २६ करोड रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै निगमले १५ वर्षकै लागि कर्मचारी सञ्चय कोषबाट पनि ११ अर्ब ९९ करोड रुपियाँ ऋण लिएको थियो । ऋण सहमतिअनुसार वाइडबडी र न्यारोबडीको ६०\६० किस्ता तिर्नुपर्छ ।

    जहाज खरिदका लागि ऋण लिँदा दुवै संस्थालाई वार्षिक चार÷चार किस्ता तिर्ने सहमतिअनुसार रकम लिएको निगमले असारभन्दा अघि २०६७ पुसमा किस्ता बुझाएको थियो । निगमलाई २०५४ सालदेखि ऋण लगानी गर्दै आएको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले सरकारको जमानीमा वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएको थियो ।

  • नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज

    नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज

    काठमाडौं । नारायणी नदीमा आइतबारबाट मिनी पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले १ माघबाट क्रुज सीप सञ्चालनमा आउने बताएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन नसकेको कम्पनीको भनाई छ । सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले बताएका छन् ।

    आइतबार १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने उनको भनाई छ । तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता २०० हो । यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । क्रुज सीपको टिकट दर सात सय रहेको छ ।

    ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं. १६ मंगलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ ।

  • नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

    नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

    काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डद्वारा जारी सन्देशमा भनिएको छ, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ ।’ माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् ।

    मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

    RSS

  • माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

    माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

    ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

    विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनको भनाइ छ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्सासपूर्वक मनाउने गर्दछन् । विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन् ।

    ‘सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपति भण्डारीले भनेकी छन् । माघीका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपश्चात घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाइ रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ । रासस

  • आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

    आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

    काठमाडौं । आज माघे संक्रान्ति विभिन्न समुदायले छुट्टाछुट्टै पर्वका रुपमा मनाउँदैछन् । थारु र मगर समुदायले यो पर्व विशेष रुपमा मनाउँछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पर्वका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।

    माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।

    तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने विश्वास गरिन्छ ।

    उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।

    माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

    तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।

    आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

    सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

    माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

    यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

    माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पंक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।

    RSS

  • माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

    माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गरेका छन् । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गरेका हुन् ।

    बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाडौं आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

    गृहमन्त्री लामिछानेले उनीहरूलाई धर्ना छोडेर घटनाको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष टोलीले छानबिन गरिरहेको जानकारी गराए । उनले गत सोमवार सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।

    गृहमन्त्री लामिछानेसँगको भेटमा अधिकारकर्मी रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको तर न्याय नपाउञ्जेल धर्ना नछाड्ने बताए ।

  • गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

    गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

    काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् ।

    मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका छन् । सुरुमा उम्मेदवारी दर्ता गरेका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन । गएको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा धिताल गोरखा १ (१) बाट निर्वाचित भएका थिए ।

  • प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ

    प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए । उनले पहिलो विदेश भ्रमण भारतबाट गर्ने संकेत समेत गरेका छन् ।

  • सुरक्षा खतरा बढेको बन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

    सुरक्षा खतरा बढेको बन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्। आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका हुन्।

    महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ।

    सुकुमबासी बस्ती अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि सुरक्षा जोखिम बढेको आशंका गरिएको छ ।

  • बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

    बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

    काठमाडौं । बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक निर्वाचित भएका छन् । तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन्।

    उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात बहुमत प्राप्त भएको थियो ।

    सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।

    कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरे। नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गरेकी हुन्।

    ११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

  • हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित

    हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित

    काठमाडौं । शुक्रबार सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

    देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहनेछ।

    सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। काठमाडौंसहित बागमती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाडौंसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको हो।

    आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि काठमाडौंसहित पहाडी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ। तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ। यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ। हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसो न्यानो हुनेछ।


    हिमपात तथा हल्का वर्षा र तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ

  • आज छुट्दैछन् सन्दीप

    आज छुट्दैछन् सन्दीप

    काठमाडौं । बलात्कार अभियोगमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त बन्दैछन् । उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुट्न लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्छ ।

    उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेसँगै उनी थुनामुत्तध्m हुने भएका हुन् । नाबालिकामाथि बलात्कार गरेको आरोप उनीमाथि छ । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् ।

    जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । भदौ २१ मा सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो ।

  • घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

    घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

    काठमाडौं । कम्यूनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । शुक्रबार दिउँसो एक कार्यक्रम आयोजना गरी पार्टीले घनश्यामलाई पार्टी प्रवेश गराउन लागेको हो । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै बसे ।

    गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरे । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए । एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।

  • मकवानपुरमा स्कुटर  दुर्घटना, तीन जनाको मृत्यु

    मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

    हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याए लगत्तै (सवा १२ बजे) डाक्टरले मृत घोषणा गरेका थिए ।

    इलाका प्रहरी कार्यालय मनहरीका अनुसार गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

  • अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

    अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको हो । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका छन् ।
    विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैदको फैसला भएको छ ।

    उनीसँग घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीसहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । नेपाल सरकारको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

    उजुरी छानबिनको साटो अख्तियारका आयुक्त राजनारायण पाठकले न्यौपानेसँग सम्पर्क अघि बढाउँदै अनियमितताको फाइल बन्द गरिदिने प्रलोभनमा ७८ लाख रुपैयाँ घूस लिएको पुष्टी भएको छ । घूस लिएर फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरिएको थियो । त्यसपछि पाठकले पदबाट राजीनामा दिएका हुन् ।

  • सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

    सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई रहा गर्न आदेश गरेको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने भएको छ ।

    लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्रमार्फत सम्पर्क गर्न नपाउने आदेशमा उल्लेख छ । उनीमाथि बलात्कारको आरोप लागेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

  • सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

    सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनले नेपाल छाड्ने पाउने छैनन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।

  • बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

    बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

    काठमाडौं । गठबन्धनकै प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् ।

    बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

    सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो ।

    संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

    स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन्। यसअघि बुधबार साँझ ‌ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनको निवास बालकोट पुगेका थिए।

  • आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

    आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् ।

    आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।

    ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

    उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

    उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

    उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उनको भनाइ छ ।

  • सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

    सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो ।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

    अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

    प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन् । त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन् ।

    मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।

  • बिहीबार कस्तो रहने छ मौसम ?

    बिहीबार कस्तो रहने छ मौसम ?

    काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।

    विभागले आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु\कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य,सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाको पछिल्लौ विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरी न्यूनतम तापक्रम माइन शून्य दशमलव नै डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल टेलिकमले ल्यायो विण्टर प्याकेज, के-के छन् सुविधा ?

    नेपाल टेलिकमले ल्यायो विण्टर प्याकेज, के-के छन् सुविधा ?

    काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’ लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ। विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ। यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रू १९९ देखि रू ६९९ सम्मका सुलभदरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन्।

    यस अफरअन्तर्गत रू ६९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    यस्तै पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको रू ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अननेट ८०० मिनेटको भ्वाइस प्याक र रु। ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ। सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु। ५९९, ७९९, ९९९ र १४९९ का असीमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन्।

    यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीबी डेटा प्रयोग गर्न सकिने ३० दिनको रु ५९९ को प्याक उपलब्ध छ। यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ।

  • कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

    कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

    कैलाली । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका(९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

    विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

    काठमाडौं । सन् २०२३ मा विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो आउटलुक सार्वजनिक गर्दै विश्व बैंकले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत मात्र रहने बताएको छ । ६ महिनाअघि ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको छ ।

    विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

    अन्य प्रान्तको तुलनामा दक्षिण एसियाका मुलुकहरुको अनुमानित आर्थिक वृद्धिदर केही सन्तोषजनक देखिएको छ । सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रृलंकामा गरिबीको संख्या बढ्दै जान सक्ने रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा माल्दिभ्स र भारतको आर्थिक वृद्धिदर राम्रो देखिएको छ । विश्व बैंकले पछिल्लो पटक सन् २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ तथा भारतको ६.९ प्रतिशत अनुमान गरेको छ ।

    त्यस्तै नेपालको ५.१ प्रतिशत, बंगलादेशको ५.२, भुटानको ४.१ र पाकिस्तानको २ प्रतिशत रहने अनुमान गरेको छ । श्रीलंकाको भने ४.२ प्रतिशत ऋणात्मक हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा माल्दिभ्सको ८, श्रीलंकाको १, बंगलादेशको ६.२, भुटानको ३.७, भारतको ६.६, नेपालको ४.९ तथा पाकिस्तानको ३.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान छ ।