Category: समाचार

  • उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

    उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

    काठमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औं पटक रक्तदान गरेका हुन् ।

    लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कयौंपटक रक्तदान गरेको जानकारी गराए ।

    ‘यो जस्तो पवित्र कार्य अर्को कुनै छैन, अहिलेका युवामा रक्तदान प्रति उत्सुकता, संलग्नता र अग्रसरता देख्दा आफूलाई सन्तोषको अनुभूति हुन्छ’ लिङ्देनले भने ।

  • आज सोनाम ल्होछार, सार्वजनिक बिदा

    आज सोनाम ल्होछार, सार्वजनिक बिदा

    काठमाडौं । आज देश तथा विदेशमा समेत सोनाम ल्होछार २८५९ मनाइँदैछ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउने गरिन्छ । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

    महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।

  • सोमबारबाट हिउँदे वर्षा सुरु हुने

    सोमबारबाट हिउँदे वर्षा सुरु हुने

    काठमाडौं । नेपालमा सोमबारबाट हिउँदे वर्षा हुने भएकोछ । आइतबार मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । तर, सोमबार र मंगलबार भने वर्षा हुने संयोग छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ ।

    बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ । आज दिउँसो पनि प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू-भागमा मौसम सफा रहनेछ। आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू-भागको मौसम सफा रहनेछ । सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु

    सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु

    सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा –प्र–०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

    दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका दैलेख भैरवी गाउँपालिका(५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्ने अवस्थामा छन् । दुर्घटनाको कारण खुलेको छैन ।

  • उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य

    उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य

    काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले अहिले सत्तामा उपप्रधानमन्त्री धेरै हुँदा सुशासन नआउने भन्दै आलोचना गरेका छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै धेरै उपप्रधानमन्त्री किन बनाइयो भनेर प्रश्न गरेका छन्। ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकताकै कोणमा यति उपप्रधानमन्त्री बनेको हो ? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साही बनाउँछ ?,’ उनले प्रश्न गरे ।

    उपप्रधानमन्त्री चाहिएकै भएपनि मन्त्रालयसम्मत नभएको पनि बताएका छन्। उपप्रधानमन्त्री बनाएपनि परराष्ट्र मन्त्री, रक्षा मन्‍त्री जस्ता मन्त्रालयलाई दिनुपर्ने उनको भनाइ थियो। यस्ता पदहरू आवश्यकताको आधारमा नभई कुनै व्यक्तिलाई खुसी बनाउनको लागि सिर्जना भइरहेको बताएका छन्।

    ‘हामी आवश्यकताको आधारमा पद सृष्टी गर्छौं कि व्यक्तिलाई खुशी बनाउन पद सृष्टी गर्छौं। केही लामो समयदेखि हामी भागबन्डाको राजनीति हेरिरहेका छौं। यो भागबन्डाको राजनीतिले देशलाई सुशासनको दिशामा लान्छरु भागबन्डाको राजनीतिले व्यक्तिलाई खुसी बनाउने राजनीतिले के देशलाई समृद्धिको दिशामा लान्छरु,’ उनले भनेका छन्।

  • कोटेश्वरमा कोइला बालेर सुतेका  चार  जना बेहोस, उपचार जारी

    कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, उपचार जारी

    काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् । शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ ।

    बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का रहेका छन् । घटना भएको थाहा हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई सिभिल अस्पताल पुर्‍याएको थियो । अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको छ ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा बनिन् उपसभामुख

    राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा बनिन् उपसभामुख

    काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए ।

    जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहेका छन् । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित शनिबार चिसो अनुभव हुनेछ । मौसम बदली भएको र घाम चर्को नहुँदा तापक्रम कम भइहरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको हो । कतैकतै फाट्टफुट्ट हिमपात भएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र मधेस प्रदेश तथा प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आज काठमाडौंमा न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको थियो ।

    काठमाडौंको उच्चतम तापक्रम हिजो १८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै जोमसोम, जिरी र जुम्लामा न्यूनतम तापक्रम माइनसमा रहेको छ । जोमसोममा माइनस ६ दशमलव ५, जुम्लामा माइनस ३ र जिरीमा माइनस १ दशमलव ३ डिग्री रहेको छ । पोखरामा ४ दशमलव ९, भैरहवामा ८, डडेलधुरामा ५, दिपायलमा ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

  • पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ

    पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।
    मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ ।

    सोहीकारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले जनाएका छन् । भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधै सकारात्मक रहेको बताएको समेत मन्त्री किरातीले उल्लेख गरेका छन् । नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्न सक्छन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।

  • गृहमन्त्री भन्छन्: नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ

    गृहमन्त्री भन्छन्: नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपी समातिने र नयाँहरु फरार हुन नपाउने भन्नेमा हेक्का रहेको बताएका छन् । कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला गृहमन्त्री लामिछानेले पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् । आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै गृहमन्त्री लामिछानेले भनेका छन्, ‘पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।’

    उनले भोट माग्दा गरेका वाचाहरू नबिर्सिएको बताएँदै जनताको जीवन बदल्न मेहनत गरिरहेको बताएका छन् । ‘धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनु चाहिँ पर्छ १’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी १ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए । संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

  • उपसभामुखको निर्वाचन आज

    उपसभामुखको निर्वाचन आज

    काठमाडौं । आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

    मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

  • चितवनमा तस्करले मारे दुई वटा गैंडा

    चितवनमा तस्करले मारे दुई वटा गैंडा

    चितवन । चितवनमा तस्करले दुई वटा गैंडा मारेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेको निकुन्जले जनाएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् ।

    स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । चालु आर्थिक वर्षमा निकुञ्जमा चोरी शिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

  • हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

    हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर कोइरी पक्राउ परेका छैनन् ।

    बिहीबार सभामुखको निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी बैठकमा उपस्थित भएको नभएको निक्र्यौल गर्न माग गरेका थिए । शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    उनको विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’ कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।

  • कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत, १४ जना सांसद विपक्षमा

    कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत, १४ जना सांसद विपक्षमा

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शर्माले मुख्यमन्त्री नियुक्त भएको दशौं दिनमा विश्वासको मत पाएका हुन्।

    शुक्रबार प्रदेशसभा बैठकमा ३९ सांसद् उपस्थित भएकोमा मुख्यमन्त्री शर्माको पक्षमा २५ मत खस्दा विपक्षमा १४ मत खसेको थियो ।

    शर्माको पक्षमा माओवादी केन्द्रका १३, एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसद्ले मत हालेका हुन्।

    नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।

  • मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि…

    मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि…

    काठमाडौं । मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि आयोजक नै अन्योलमा परेको छ ।

    व्यानरमा कार्यक्रमको प्रमुख अतिथिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री डा.तोसिमा कार्की पनि सहभागी भएर रिबन काट्न तम्सिएपछि अन्योल देखिएको हो ।

    वीर अस्पतालको क्याथ ल्याब सेवा उद्घाटनमा व्यानरमा प्रमुख अतिथि गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री कार्की पनि सहभागी थिइन्।

    राज्यमन्त्री चिकित्सक नै भएकाले आउने इच्छा गरेपछि पछि बोलाइएको थियो ।

    व्यानरमा मन्त्रीले मात्रै उद्घाटन गर्ने लेखिए पनि मन्त्री र राज्यमन्त्री दुवैलाई रिबन काट्न अस्पतालले दुई कैँचीको व्यवस्था गरेको थियो। मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएको देखिन्छ।

  • संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

    संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

    यसअघि आजै उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् ।

    पदबहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने पहिलो निर्णय गरेका छन् ।

    सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफूले पाएको बताए । उनले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने विश्वस्त रहेको बताए ।

    घिमिरे सत्ता गठबन्धनको समर्थनमा सभामुख निर्वाचित भएका हुन् । सभामुख निर्वाचित भएसँगै उनले एमाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरिसकेका छन् ।

  • नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

    नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच घिमिरेले सभामुख पदको सपथग्रहण गरेका हुन् ।

    सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

  • धरानमा खुकुरी प्रहार गरी एक जनाको हत्या

    धरानमा खुकुरी प्रहार गरी एक जनाको हत्या

    धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
    खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्। स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए।

    उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए। भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए।

    गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ। मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। हत्याको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना

    पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक(दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

    बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ ।

    राति पनि हिमपातको सम्भावना छ । महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू-भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

  • उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

    उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

    काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

  • खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

    खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं। ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले उक्त मापदण्ड अगाडि सारेका छन् ।


    अर्थ मन्त्रालयको मापदण्डानुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ । यस्तै, दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेरिनेछ । अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमितरूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राखिने भएको छ । यस्तै, खर्च घटाउनका लागि अति आवश्यक बाहेकका सेमिनार, तालिम गोष्ठी नगर्ने, गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरू प्रयोग गरिनेछ ।

    स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने, बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे वाफत दिइँदै आएको सुविधा नदिने, यदि दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने व्यवस्था गरिएको छ ।

    अति आवश्यक विना एसी, हिटर र पङ्खाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालादारीमा कामकाज नलगाउने र बैठकहरू कार्यालय समयभित्र मिलाउने व्यवस्था मापदण्डमा गरिएको छ । यसबाट सकारात्मक सुरुआत हुने मन्त्रालयले अपेक्षा गरेको छ ।

  • फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

    फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

    काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर ल्याण्ड गरेको छ । त्यसपछि आयोजकले पाइलट र यात्रुमाथि हातपात गरेका छन् । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए ।

    उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको डंगोलले बताएका छन् । वायुसेवा सञ्चालक संघले पाइलटमाथि भएको कुटपिटको विरोध गरेको छ । पाइलटले यात्रुले दिएको लोकेसनमा हेलिकप्टर अवतरण गराएको भन्दै सो क्रममा भएको कुटपिटको संघले विरोध गरेको हो । संंघले कुटपिटमा उत्रिएको समूहमाथि कारवाहीको माग गरेको छ ।

  • प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

    बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

    बिहीबार भएको मतदानका क्रममा २६८ जना सांसद उपस्थित थिए। उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

    प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

  • माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन महामन्त्री शर्माको चेतावनी

    माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन महामन्त्री शर्माको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरिएको टिप्पणी गरेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक अर्कोलाई बनाएर प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास भएको टिप्पणी गरेका हुन् ।

    उनले पहिलो दल भएकाले शीतल निवासमा दाबी गर्नु स्वभाविक भएको बताए । माछा र ढोक्साको कथा हालेर आफ्नै जिल्लामा नेताले भनेको कुरामा जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले केही दिनअघि संसदमा विश्वासको मत लिँदा कांग्रेसले माछाका लागि ढोक्सा थामेको हो भने सफल नहुने भनि गरेको टिप्पणीमा जवाफ दिए ।

    उनले आफूहरुले ढोक्सा नथापेको दाबी गर्दै माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन चेतावनी दिए।

    उनले भने,‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउनभन्दा संविधानले नचिनेको नबनाउँ भन्ने तर अहिले सँगैको मित्र प्रधानमन्त्री हुँदा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउन हामीले ढोक्सा थाप्नेभन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको संज्ञा दिन चाहन्छु ।’

  • आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

    आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

    काठमाडौं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सदनमै मौनधारण गरेका छन्।

    सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका हुन्।

    रोस्ट्रममा बोलिरहेका उनले मधेसका सहिदलाई अरु कसैले उठेर सम्मान गर्छन् कि गर्दैनन् भन्दै मौन धारण सुरु गरेका थिए।

    जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए। राउतले रोष्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए ।

  • सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

    सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

    बिहीबार सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन्। बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गरेका थिए।

    तर उनको कुराको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले दबाब नदिन भनेका हुन्।

    ‘माननीयज्यू (रामहरि खतिवडा) ले फरार रहेका मानिस संसदमा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन’, उनले भने, ‘प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।’

    महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो।

    गृहमन्त्री लामिछानेले पटक-पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।

  • मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने

    मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने

    काठमाडौं । अब मन्त्रीहरुले विदेशी कुटनीतिक नियोगका प्रतिनिधि वा विदेशबाट आएका प्रतिनिधिलाई भेट्दा अनिवार्य परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने भएको छ । बुधबार सिंहदवारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि यस्तो निर्णय गरेको हो ।

    कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारका उच्च अधिकारीहरुले विदेशी कूटनीतिक आचारसंहिता २०६८ मा रहेको व्यवस्था अनुसार सो निर्णय भएको बताइएको छ ।

  • काठमाडौं–बेइजिङ उडान पुनः सुरु

    काठमाडौं–बेइजिङ उडान पुनः सुरु

    काठमाडौं । तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने जनाएको छ ।

    माघ २८ गतेदेखि हरेक शनिबार काठमाडौँ–बेइजिङ उडान गर्ने तयारी रहेको एयरलाइन्सले जनाएको छ । चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले काठमाडौँ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा, चीन र नेपालको राजधानीबीच सिधा उडान पुनः सुचारु भएको छ ।

  • पश्चिम नेपालमा वर्षाको सम्भावना

    पश्चिम नेपालमा वर्षाको सम्भावना

    काठमाडौं । आज मौसममा बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ । आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।

    यसपटक हिउँद सुरु भएदेखि अहिलेसम्म पानी परेको छैन । पहाडी क्षेत्रमा आकाशे पानीको भरमा खेती लगाएका किसानहरू चिन्तित छन् । उनीहरूले वर्षा पर्खिरहेका छन् । आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । जसका कारण तराईको जनजीवन प्रभावित भएको छ । हुस्सु र कुहिरोले सडक र हवाई यातायात पनि प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

  • मुलुकले पाउनेछ आज नयाँ सभामुख

    मुलुकले पाउनेछ आज नयाँ सभामुख

    काठमाडौं । नेपालले आज नयाँ सभामुख पाउने भएको छ । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।

    यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए । सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

    सभामुख निर्वाचित हुन बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ । सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।