Category: समाचार

  • क्रसर उद्योग सर्तसहित खुल्ने

    क्रसर उद्योग सर्तसहित खुल्ने

    काठमाडौं । सरकारले क्रसर उद्योग सर्तसहित खुलाएको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

    विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उनले उल्लेख गरेका छन् । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् । क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो । यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।

  • रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने

    रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको मुद्दाकोमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो।

    शुक्रबार बहस सकिने छ । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे ।

    खाजापछि सरकार र रवि लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए ।

  • गृहमन्त्रीले दिए आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर सान्त्वना

    गृहमन्त्रीले दिए आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर सान्त्वना

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।

    अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधवार बिहान निधन भएको थियो ।

  • आईसीयूमा बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित जाने राज्यमन्त्री कार्कीको कटाक्ष

    आईसीयूमा बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित जाने राज्यमन्त्री कार्कीको कटाक्ष

    काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्य आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री डा तोसिमा कार्की आलोचना सुरु भएको छ।

    सामाजिक सञ्जालमा ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयू गएको भन्दै आलोचना भएको हो । फेसबुक र ट्वीटरमा उनको कार्यशैलीप्रति असन्तुष्ट पोख्नेको लर्को लागेको छ ।

    आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । उक्त भिडियो समाजिक सञ्जालतिर सार्वजनिक भएको छ ।

    मन्दिरा नाम गरेकी एक ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो। तर, राज्यमन्त्रीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डक्टर हो नि, आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लिएर जान जरुरी हो, लैजान मिल्छ? त्यो ठाँउको संवेदनशिलतालाई किन गम्भीर रुपमा लिनु भएन? तपाईं पनि मिडियाबाजी गरेर हिट हुने बिचार गर्नु भाको होर?’

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्कीले बिरामीलाई भेटेको भन्दै कटाक्ष गरेका छन्। उनले लेखेका छन्, ‘राज्यमन्त्री तोसिमा कार्की राम्रो सम्भावना भएकी व्यक्ति हुन्। राजनीतिमा उनको प्रवेश स्वागतयोग्य छ। बिरामी भेट्न जानु राम्रो हो। तर, ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयूमा जानु स्वयं चिकित्सक पनि रहेकी कार्कीको काम ठीक लागेन।’

  • किर्तिपुर अस्पतालले प्रेम आचार्यको उपचार शुल्क नलिने

    किर्तिपुर अस्पतालले प्रेम आचार्यको उपचार शुल्क नलिने

    काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च नि:शुल्क हुने भएको छ ।

    किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको हो ।

    उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको थियो । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।

    उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।

    उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् ।

  • संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

    संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

    काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको अस्पतालले जनाएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । सरकारी सञ्चारमाध्यम गोरखा पत्रका अनुसार आचार्यको बुधबार बिहान ५ बजे निधन भएको हो । डा. किरण नकर्मीले यसको पुष्टी गरेका हुन् । डा. नकर्मीका अनुसार उनको ८०प्रतिशत भाग जलेको थियो ।

    नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुगेकी थिइन् । गम्भीर बिरामीसँग अन्तरर्वार्ता शैलीमा गरेको उनको कुराकानीको यतिबेला आलोचना समेत भइरहेको छ ।

  • गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई

    गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबारबाट अन्तिम सुनुवाइ हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित भएको थियो ।

    उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ। सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि सर्वोच्चले अन्तरिम आदेश नदिँदा उनले शपथ लिने बाटो खुलेको थियो। पुस ६ मा बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।

    लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको हो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

    साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।


    विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ।

    तर उनले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ। लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

  • पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा

    पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा

    काठमाडौ । पश्चिम नेपालमा आज पनि वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ ।

  • पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

    पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

    काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो। गौमुल गाउँपालिका १ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएको समेत समाचारमा उल्लेख छ ।

    मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।


    बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा आंशिक क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

  • फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा

    फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा

    काठमाडौं । पोखराबाट स्याङ्जा उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरिएको छ । पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए ।

    तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर उडानमा पाइलटले यात्रुले दिएको लोकेसनमा सबैभन्दा सुरक्षित स्थान हेरेर अवतरण गराउने निर्णय लिन सक्छन् । तर, फुटबल खेल भइरहेको मैदानमा मानवीय गतिविधि हुने र यसले हेलिकोप्टरको सुरक्षामा जोखिम हुने जान्दाजान्दै अवतरण गराएपछि उनी कारवाहीको दायरामा आएका हुन् ।

  • महासेठ चेतावनी-‘लक्ष्मी महतोलाई ‘लक्ष्मी’ झैं पुजिन्छ, पक्राउ गरेर देखाउनुस्’

    महासेठ चेतावनी-‘लक्ष्मी महतोलाई ‘लक्ष्मी’ झैं पुजिन्छ, पक्राउ गरेर देखाउनुस्’

    काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठ आफ्ना पार्टीका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् ।

    संसदको आजको बैठकमा महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अदालतले अझसम्म दोषी करार नगरेको दाबी गर्दै महासेठले महोत्तरीमा उनलाई लक्ष्मीलाई झैं पूजा गरिने तर्क गरे।

    ‘अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई दोषी करार गरेको छैन,’ ‘महोत्तरीको गाउँमा लक्ष्मी पूजामा झै उहाँलाई पूजा गरिन्छ।’

    ‘लक्ष्मी महतोको पनि यो देशमा प्रधानमन्त्री बन्ने अधिकार छ। उहाँ माननीय हुनुुहुन्छ,’ महासेठले भने।

    महतोमाथि ‘अपराधी’ शब्द प्रयोग नगर्न उनले आग्रह गरे। ‘आज लक्ष्मी महतोमाथि जुन ‘अपराधी’ भन्ने शब्द प्रयोग भएको छ। अहिलेसम्म अदालतले दोषी करार गरेको छैन।

    शंकाको घेराभित्र राखिएको छ। थुनछेक गरेर अर्थात् थुनामा राखेर कारबाही गर्ने कुरा उठाएको छ,’ सांसद महासेठले भने, ‘अपराधि नै हो भनेर निर्णय गरेको छैन।

    त्यो बेला अपराध हेर्नुभएन ? पहिलेको सरकारले लक्ष्मी महतोको मुद्दा आजको होइन। सात वर्षभन्दा बढी भइसक्यो असईको हत्या भएको।’

    सांसद महतोलाई पक्राउ गर्न एमालेको कुनै पनि नेताहरूबाट बाधा अवरोध नआउने पनि उनले बताए। ‘अदालतले लक्ष्मी महतोलाई अपराधी नभनेकाले उनी दोषी नभएको उनले बताए।

    महतोलाई अदालतले अझसम्म दोषी करार नगरेको दाबी गर्दै महासेठले महोत्तरीमा उनलाई लक्ष्मीलाई झैं पूजा गरिने तर्क गरे।

    ‘अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई दोषी करार गरेको छैन,’ महासेठले भने, ‘महोत्तरीको गाउँमा लक्ष्मी पूजामा झै उहाँलाई पूजा गरिन्छ।’

    लक्ष्मी महतोले प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदान गरेका थिए। प्रहरीको खोजी सूचीमा रहेका उनले मतदान गरेको खुलेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो।

  • २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

    २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

    काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले ​गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

    समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल रहेका छन्।

    यस्तै, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवास नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन्। मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको छ।

    नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो।

  • कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

    कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

    काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । मंगलबार बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र २-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

  • ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा

    ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा

    काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यद्दपी यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा भने कम हो । चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घट्दा व्यापार घाटा समेत घटेको पाइएको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० दशमलव ६८ प्रतिशतले कमी आएको छ । आयात सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपैयाँको भएको छ ।

    गत आवमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजारको भएको थियो । यस वर्ष निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँ मात्र भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९६ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो।

    आयातमा कमी आएसँगै व्यापार घाटा १९ दशमलव १५ प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रहेको थियो। कुल वैदेशिक व्यापार २१ दशमलव ८९ प्रतिशतले कमी भई आठ खर्ब ७३ खर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बरारको भएको छ ।

  • पानी पार्ने प्रणाली नेपाली भित्रियो

    पानी पार्ने प्रणाली नेपाली भित्रियो

    काठमाडौ । पश्चिम नेपालबाट मौसमी प्रणाली नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा प्रवेश गरेको छ । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज राति र बुधबारसम्मै पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । कर्णालीका हिमाली जिल्लामा भने बिहानैदेखि हिमपात भइरहेको छ । बिहीबार भने मौसम आंशिकदेखि समान्य बदली भए पनि वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ । मौसम बदली भइराखे पनि यसपटक हिउँद लागेदेखि नेपालमा पानी पर्न सकेको छैन ।

  • कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

    कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ ।

    राष्ट्रपति भण्डारीले कलाकारहरूलाई राष्ट्रको अमूल्य सम्पदाको संज्ञा दिँदै उनीहरुको साधना र मौलिक सिर्जनाले राष्ट्रलाई विश्वसामु चिनाएको बताइन् । उनले कला क्षेत्रले नेपाली चलचित्रले रोजगारीको र्जना गर्ने र अर्थतन्त्रलाई बलियो पार्न मद्दत गरेको बताइन् । उनले नेपाली चलचित्र र कलाकारहरूले भोग्नुपरेका दुःख र समस्यालाई अन्त्य गर्न नेपाल सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

    कार्यक्रममा चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकताको रूपमा राख्न, कर अनुसार छुटको व्यवस्था गर्न, पर्यटकीय स्थलमा बिना लागत फिल्म छायाङ्कन गर्न, चलचित्र विकास बोर्ड स्वायत्त गर्न, चलचित्र उद्योग ऐन पास र लागु गर्न, चलचित्रकर्मीका लागि ठोस नीति बनाउन, पशुपति विकास कोषभित्र चलचित्रकर्मीका लागि श्रञ्दाञ्जलि गृह बनाउने लगायतका माग कलाकारहरूले राष्ट्रपति सामु राखेका छन् ।

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र मनोरञ्जनका लागि मात्रै नभएर यसले सिङ्गो देशको भौगोलिक अवस्था र कला संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत गरेको बताए । नेपाली चलचित्रलाई नेपालीले नै माया नगरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष केसीले चलचित्र ऐन छिटो पास भएमा तथा नेपाली चलचित्र स्टुडियो र सिनेमा एम्बेसी छिटो सञ्चालनमा ल्याउने हो भने नेपाली चलचित्र विकास गर्न सजिलो हुनेमा बताए ।

  • अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

    अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको भन्दै राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिए ।

    नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शीर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

    पूँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि उनले निर्देशन दिए । असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशीघ्र असुल उपर गर्न निर्देशन दिँदै उनले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पुरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनाहरुलाई प्राथमिकता दिन आग्रह गरे ।

    राजस्व परिचालनमा रहेका बेथितिको श्रृंखलाहरु टुटाउन गृहप्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उनले राजस्व परिचालनलाई प्रभावकारी बनाउनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालयहरुका सचिवलाई निर्देशन दिए ।

    वैदेशिक स्रोत परिचालनमा पनि कमजोरीहरु रहेको बताउँदै उनले अनुदान र ऋण परिचालनका लागि अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसमा तदारुकता लिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए । वैदेशिक सहयोगलाई परिणाममुखी र उपलब्धिमूलक बनाउन प्राप्त सहयोगलाई उत्पादनशिल क्षेत्रमा लगानी हुने गरी नीति तथा कार्यक्रम समावेश गर्न पनि निर्देशन दिए ।

    अर्थमन्त्रालयका सचिव तोयम रायाले मितव्ययिता र खर्च कटौती सम्बन्धी कार्य अर्थ मन्त्रालयले सुरु गरिसकेको र अन्य मन्त्रालले समेत कार्यान्वयन गर्ने अपेक्षा गर्दै नियमित प्रकृतिका काममा थप बजेट नमाग्न आग्रह गरे ।

    राजस्व सचिव डा।रामप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रणमा सबै निकायले सहयोग गर्न, राजस्व छुट माग गर्ने विषयमा गम्भीर हुन तथा गैरकर राजस्व संकलनमा सकृयताको लागि अनुरोध गरे ।

    अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्व ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको जानकारी गराए । उनले पूँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको र चालुतर्फ ५ खर्ब ९४ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।

    वित्तिय व्यवस्थातर्फ १ खर्ब ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । कार्यक्रममा पूँजीगत खर्च बढी विनियोजन भएका १२ वटा मन्त्रालयका सचिवहरु उपस्थित थिए ।

  • नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस

    नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ।

    हङकङ विमानस्थलमा जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो। उनिहरुमाथि अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको आरोप छ ।

  • हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त

    हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त

    काठमाडौ । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नियुक्तभएका छन् ।

    सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट नेता सोमवार राजनीतिक सल्लाहकार नियुक्त भएकबा हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्।

  • राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय,चुनाव पछि सार्न नहुने अडान

    राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय,चुनाव पछि सार्न नहुने अडान

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

    बैठकले उम्मेदवार दिनु अगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल गर्ने र सकेसम्म सर्वसम्मत गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    प्रवक्ता महतले राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने भन्दै कुनै पनि कारणले चुनाव पछि सार्न नहुने अडानमा कांग्रेस रहेको बताए ।

  • स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

    स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ


    काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    नेपाल टी-२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।

    सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ।

    नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

    राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल उपनेतामा विराजभक्त श्रेष्ठ बनेका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई उपनेता बनाएको हो । प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक सन्तोष परियार बनेका छन् ।

    परियार समानुपातिक र बिराजभक्त प्रत्यक्ष निर्वाचित सांसद हुन् । संसदीय दलको वैठकअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो । वैठकले संगठन विस्तार कार्यविधि पारित गरेको छ ।

  • सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

    सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सोमबार भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो । समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।

    संसदलाई सरकारले विजनेश उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ । देवराज नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र लगायत दलले समर्थन गरी बिहीबार सभामुख पदमा निर्वाचित गराएका थिए ।

  • केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

    केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

    काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ प्राविधिक टोली स्वदेश फिर्ता भएको छ । यो टोली तीन साता नेपाल बसेको थियो । टोलीले सम्भाव्यता अध्ययनका लागि भौगोलिक अवस्थिति बारे जानकारी लिएको बताइएको छ । २५ र २६ पुसका दिन टोली रसुवा पुगेको थियो । टोलीले सम्भाव्यता अध्ययन गर्ने ठाउँ हेरेको रेल विभागले जनाएको छ ।

    प्राविधिक टोलीले स्थान हेरेर फर्किएपछि अब रेलमार्ग निर्माणको प्रक्रियाले गति लिएको निष्कर्ष विभागको छ । प्राविधिक टोली पुनः फागुनमा नोपल आउने बताइएको छ । रेलमार्गको सम्भाव्यता अध्ययन गर्न पुस १२ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटी अझै टुंगो लागेको छैन । सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने छ ।

  • कांग्रेस पदाधिकारी बैठक आज

    कांग्रेस पदाधिकारी बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बोलाइएको छ । सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेसमा १३ जना पदाधिकारी छन् ।

    कोषाध्यक्ष पद रिक्त छ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनको रणनीति र पार्टीको आन्तरिक विषयमा बैठकमा छलफल हुनेछ ।

  • आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

    आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

    काठमाडौं । आज रातीबाट वर्षा हुने मौसमी प्रणाली सुदुरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने भएको छ । त्यसअगाडी दिनभर भने मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्नेछ ।

    सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

  • चितवनमा अर्को गैंडा मृत फेला

    चितवनमा अर्को गैंडा मृत फेला

    चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिवार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।
    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

    भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए । तिवारीका अनुसार प्राकृतिक कारणले गैँडाको बच्चा मरेको हुन सक्छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मरेको रेकर्ड छ ।

  • स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर

    स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर

    काठमाडौं । स्थानीयबासिन्दाको ढुंगामुढाबीच धरान उपमहानगरपालिकाले अतिक्रमण गरी बनाएको घरमा डोजर चलाएको छ ।

    आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्। सोही घर उपमहानगरले भत्काएको हो।

    उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।

    यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

    त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ। नगरको डोजर आउने सूचना पाएपछि स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए। त्यो समूहलाई धरान ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बूको साथ थियो।

    यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए।

  • जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या

    जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या

    काठमाडौं । जनकपुरधामका दुई युवकको सीमावर्ती क्षेत्र भारतमा अपहरण गरी हत्या गरिएको छ। करिब दुई साताअघि न्वारनको भोज खान गएका युवकको आइतबार भारतको सीतामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएको छ।

    १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव शव फेला परेको हो।

    भारतमा शव फेला परेपछि भारतीय प्रहरी र नेपाल प्रहरीको समन्वयमा परिवारजनले शवको सनाखत गरेका छन्।

    मृतक दुवैजना एकै परिवारका हुन्। सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो।

    सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए। २० लाख रुपैयाँ लिने सहमति भएको परिवारजनले जनाएका छन्।

    दुवै शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ।

  • बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

    बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

    काठमाडौं । बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा आएको छ। समयमै उपचार र दादुरा रुबेलाविरुद्धको तीव्र खोप अभियानपछि संक्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् ।

    तीमध्ये सबैभन्दा धेरै नेपालगञ्जका २०३ जना बालिबालिका दादुरा प्रभावित भएका छन् ।

    नेपालगन्जमा पहिलोपटक १२ पुसमा दादुरा देखिएको थियो। यहाँका एक ३१ महिने बालकको मृत्यु भएको छ।

    दादुरा संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालयले ६ महिनादेखि १५ वर्षमुनिका ८९ हजार ४५८ बालबालिकालाई लक्षित गरी दादुरा रुबेलाविरुद्दको खोप अभियान सञ्चालन गर्दै आएको छ । जसमध्ये शनिबारसम्म ७२ हजार ९३९ जनाले खोप लगाएको तथ्याङ्क छ ।

    नेपालबाट सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने सरकारको नीति छ।