Category: समाचार

  • रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

    रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

    काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्।

    बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन : प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

    शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।

  • कांग्रेसका सांसद बस्नेतले लिए प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा

    कांग्रेसका सांसद बस्नेतले लिए प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिएका छन् । उनले आचार्यका परिवार बसेको सिनामंगलमै पुगेर प्रत्यक्ष रूपमा भेटी यसको व्यवस्थाको जिम्मा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

    सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘ स्व. प्रेम प्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल मार्फत गरेको थिए र आज प्रेम प्रसाद ज्युको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँ सँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु । जय नेपाल !’

    गत मंगलबार संसद भवनअगाडि नयाँ बानेश्वरमा आचार्यले शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए। कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

  • नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

    नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

    काठमाडौं । नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। । स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने नागरिकता लिन पुगेका हुन्।

    सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।

    लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।

    यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

  • एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

    एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

    काठमाडौं । सरकारले एक दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

    कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् ।

    यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट्रक्सन कुरिनटार, पुष्कर प्रसाद गौतम नेतृत्वको अन्जना निर्माण सेवा भरतपुर चितवन, रानी कुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिवहरी पुडासैनी नेतृत्वको बी मेनेजमेन्ट प्रालि पोखरालाई पनि कालोसूचीमा राखिएको छ ।

  • आजै नागरिकता लिने तयारीमा रवि

    आजै नागरिकता लिने तयारीमा रवि

    काठमाडौं । रवि लामिछानेले आजै नागरिकता लिने भएका छन् । नेपाली सञ्चारमाध्यमहरुका अनुसारआइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका हुन् । उनलेगृह मन्त्रालयसँग समन्वय गरी नागरिकता लिन लागेको बताइएको छ ।

    लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको हो । लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए।

  • कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने

    कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने

    काठमाडौं । कर्णाली र सुदूरपश्चिमका केही भू भागमा आज पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

    ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  • गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

    गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए ।

  • सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

    सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा शनिबार दुई घण्टा उडान अवतरण अवरूद्ध बनेको छ । अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो । उडान अहिले सामान्य बनिसकेको छ । उडान रोकिएपछि यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको थियो ।

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकोहो । विमानस्थल भित्रका सर्भरहरुमा समस्या आउँदा बेला बेला उडान प्रभावित बन्ने गरेका छन् ।

  • पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

    पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

    काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) सिंगापुर लगिएको छ । साथमा दुर्घटना जाँच आयोगका तीन पदाधिकारी समेत शुक्रबार सिंगापुर प्रस्थान गरेका छन् । एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर लागेका हुन् । उनीहरु एक साता सिंगापुरमा रहने छन् ।

    आयोगको टोलीले त्यहाँको यातायात मन्त्रालय मातहतको ‘ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो’(टीएसआईबी)मा यतिको जहाजबाट निकालिएका एफडीआर र सीभीआरका डाटा डाउनलोड, डिकोट तथा विश्लेषण गर्ने छन् । सीभीआरमा चालक दलले आपसमा गरेको कुराकानी तथा काठमाडौं र पोखरा विमानस्थलका टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरसँग गरेको संवाद हुन्छ । एफडीआरबाट प्राप्त जहाजका अन्य प्राविधिक जानकारी हुन्छन् ।

    यी दुई उपकरणबाट प्राप्त हुने जानकारीबाट दुर्घटनाको कारण पहिचान गर्न सकिने बताइएको छ । जाँचमा दुर्घटनामा मृत्यु भएका नागरिकका मुलुकले तोकेका प्रतिनिधि सिंगापुरमा हुनेछन् । यो जाँचमा वायुयान संचालक, वायुयान निर्मातालगायत भने सहभागी हुादैनन् । गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावलीका अनुसार, यस्ता दुर्घटनामा जाँच तथा अध्ययनको खर्च नेपाल सरकारले ब्यहोर्नु पर्छ । दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जनाको घटनास्थलमै निधन भएको थियो ।

  • भोकमरी सूचकांकमा नेपालको सुधार

    भोकमरी सूचकांकमा नेपालको सुधार

    काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ भन्ने सन्देश हो । यसअघि सन् २०१४ मा नेपालले २१.२ अङ्क पाएको थियो।

    यस अध्ययनमा बालबालिकामा हुने कुषोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। समग्रतामा हेर्दा नेपालको अवस्थामा सुधार देखिए पनि प्रदेशगत आधारमा भने ठूलो असमानता देखिएको छ ।

    भोकमरीका कारण बालबालिकामा देखिएको पुड्कोपनको अवस्थालाई नियाल्दा कर्णाली प्रदेश सबैभन्दा पछाडि परेको छ। यस प्रदेशमा पुड्कोपनको ४७.८ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ४०.९ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको देखिन्छ। त्यस्तै बागमती प्रदेशमा २२.६ प्रतिशत र गण्डकी प्रदेशमा २२.६ प्रतिशत छ।

  • इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

    इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

    काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तीमा सातको मृत्यु भएको छ । घटनामा दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

    जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् । जेरुसेलममा भएको आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिएको बीबीसीले लेखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि हिंसात्मक घटना भएका हुन् ।

  • खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

    खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

    काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको भनाई छ । दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने बताएका हुन् ।

    मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए । बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर सो रकम जम्मा भएको उनले बताए । संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए । विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

    काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीले जनाएको छ ।

    अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पार्टीले तयारी गरिरहेको बताइएको छ ।

  • एसईई परीक्षाको तालिका सार्वजनिक

    एसईई परीक्षाको तालिका सार्वजनिक

    काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

  • चितवन २ मा पुन: निर्वाचन हुने

    चितवन २ मा पुन: निर्वाचन हुने

    काठमाडौं । चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि निर्वाचन आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।

    चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको छ ।


    राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर छोटो समयमै निर्वाचन लडेका लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।

  • रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

    रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

    काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ।

    सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो।

  • नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

    नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

    काठमाडौं । गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दामा पराजित भएका छन् ।

    लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

    शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेले नेपाली नागरिकता पुन: प्राप्तिमा प्रक्रिया नपुर्याएकाले उनको उम्मेदवारी तथा सांसद पद खारेज गरिएको छ ।

  • राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने

    राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । बिहीवारबाट शुरु भएको स्थायी कमिटी बैठक राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्दै सकिएको हो । अर्को बैठक माघ १६ गते ११ बजे बस्नेछ ।

  • प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

    प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् ।

    ‘प्रचण्ड’ले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने भन्दै असन्तुष्ट जनाएका छन् । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा भनेका छन् ।

    बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने मत राखेका छन् । नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

    त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए । राष्ट्रपतिमा एमालेले दाबी गर्दै आएको छ भने कांग्रेस पनि आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।

  • रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो

    रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटको अन्तिम सुनुवाइ सकिएको छ।

    शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गरेका थिए ।

  • गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना

    गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । सुनुवाई बुधबारबाट सुरु भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहस उठेको छ ।

    दुवैतर्फका वकिलहरूका बहस सकिएपछि मुद्दामा सर्वोच्चले फैसला गर्छ । फैसला आजै आउने सम्भावना छ । लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।

    लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

  • कस्तो रहनेछ शुक्रबारको मौसम ?

    कस्तो रहनेछ शुक्रबारको मौसम ?

    काठमाडौं । नेपालमा शुक्रबार बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछभने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबारसम्म कर्णाली? सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।

  • होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

    होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने

    काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले माघ ११ गतेदेखि नै लागू हुने गरी सो व्यवस्था खारेज गरिदिएको छ।

    यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो। अहिलेसम्म यसरी शुल्क लिनका लागि नियम कानुनले समेत उनीहरूलाई छुट दिएको थियो। श्रम ऐन २०७४ को दफा ८७ को ३ र श्रम नियमावलीको दफा ८२ ले अतिरिक्त सेवा शुल्क उठाउने छुट दिएको थियो। त्यसरी लिएको सेवा शुल्क श्रमिकलाई बाँड्नुपर्ने व्यवस्था थियो।

    उक्त कानुनी व्यवस्था संविधानको धारा ४४ र ११५ मा रहेका प्रावधान, उपभोक्ता संरक्षणका लागि निर्माण गरिएका कानुन, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार गरिएका मान्यता र जारी गरिएका मार्गदर्शनलगायत कुनै दृष्टिले हेर्दा पनि उचित र न्यायोचित नभएको फैसलामा उल्लेख छ।

    ‘संविधान प्रतिकूलका कानुन मान्य हुँदैनन्, त्यसैले विवादित कानुनलाई अमान्य र बदर घोषित गर्नुपर्ने अवस्था आयो,’ फैसलामा भनिएको छ, ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट किटानी रूपमा शुल्कको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएकोमा बाहेक रोजगारदाताले सामूहिक सम्झौताको आधारमा शुल्क असुल गर्न नपाउने भएकाले त्यसरी सामूहिक सम्झौताबमोजिम शुल्क लिने कार्य नगर्नूर नगराउनू र त्यस्ता कार्य रोक्नू।’

  • कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

    कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

    काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

    बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन् । मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएको बताइएाको छ ।

    उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका छन् । छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका छन् ।

  • महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड

    महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म अनधिकृत रुपमा राखिएका ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड) हटाएको छ । पटक पटक ‘अल्टिमेटम’ दिँदा समेत व्यवसायीले नटेरेपछि मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो । शहरको सौन्दर्य बढाउन भन्दै होर्डिङ्ग बोर्डसँगै साइन बोर्ड हटाउने अभियान थालेको थियो ।

    गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

    सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

    महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो । भने, १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ ।

    गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

  • जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ

    जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ

    काठमाडौं । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको शिला रुद्राभिशेकसहित अयोध्याका लागि बिदाइ गरिएको छ।

    कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो। श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको हो ।

    देव शिला भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर पुजिनेछ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्।

    नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र र्यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो।

    रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो। गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए।

    नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि आज श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको नगर प्रमुख केसीले जानकारी दिए।

  • श्रीपञ्चमी र सरस्वती पूजा आज

    श्रीपञ्चमी र सरस्वती पूजा आज

    काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ ।

    सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।

  • ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

    ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत

    काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

    सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो । बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।

    भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो । संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । पहिलो गणतन्त्र परेड सन् १९५५ मा राजपथमा आयोजना गरिएको थियो । यो कार्यक्रममा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मुहम्मद मुख्य अतिथि थिए ।

  • मौसममा पश्चिमी वायुको प्रभाव आज पनि

    मौसममा पश्चिमी वायुको प्रभाव आज पनि

    काठमाडौं । बिहीबार पनि केही भेगमा मौसम अदल बदली हुने भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने भएको छ ।

    आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

  • चोर समाते १० हजार पुरस्कार पाइने

    चोर समाते १० हजार पुरस्कार पाइने

    प्यूठान । प्यूठानमा चोर समाते १० हजार पुरस्कार पाइने भएको छ । गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ पछिल्लो दुई हप्तालाई हेर्ने हो भने प्यूठानमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद र गरगहनासहित लाखौंको लुटपाट भएको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्म गरी दर्जनौं ठाउँमा चोरी भएको छ ।