Category: समाचार

  • टर्कीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    टर्कीमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमाना नजिक टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ४ः१७ मा गाजियनटेप सहर नजिक १७।९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको युएसजीएसले जनाएको छ।

    यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९।९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो। भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्। विवरण भने सार्वजनिक भइसकेको छैन ।

  • प्रधानमन्त्रीले आज प्रमुख सचेतकहरुसँग छलफल गर्ने

    प्रधानमन्त्रीले आज प्रमुख सचेतकहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल आयोजना गरेका छन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राखिएको छ । प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति

    रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति

    काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको समेत बताएको छ । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’

    साथै, महासंघले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको पनि बताएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघले कडा शब्दमा निन्दा गर्दै त्यसलाई फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न पनि महासंघ माग गरेको छ । आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाले आफ्नो दोहोरो नागरिकता र राहदानीको विषय निरन्तर उठाएकोमा गाली गरेका थिए ।

  • प्रचण्ड र विप्लव बीच भेट, के भयो समझदारी ?

    प्रचण्ड र विप्लव बीच भेट, के भयो समझदारी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ । भेटमा नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्रीलाई भेट गरेका हुन्।

    सो क्रममा माओवादी धारका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकताबारे नेताहरूबीच छलफल भएको बताइएको छ । उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको समेत बताइएको छ ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले दिए राजिनामा

    राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले दिए राजिनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

    बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसला अनुसार सांसद पद गुमाएका आफ्ना सभापति रवि लामिछाने गृहमन्त्रालयमा फर्कन नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

  • सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायमै

    सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायमै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने,तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

  • कांग्रेसको विरोध, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’

    कांग्रेसको विरोध, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’

    काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको आलोचना गरिरहेका थिए । आफू नेतृत्वको सरकार हटेर कांग्रेस नेतृत्वको सरकार बनेपछि अहिलेको सरकार बन्दासम्मको अवधिमा अर्थतन्त्रमा देखिएको नाकारात्मक सूचकलगायका बारेमा बताइरहेका थिए ।

    सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए । ओलीले बोल्दाबोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए ।

    उनले सरकार गठन भएदेखि अहिलेसम्म प्रतिनिधिसभामा उक्त न्युनतम साझा कार्यक्रम नदेखाइएको उनको भनाइ थियो ।

    खतिवडाले भने,‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’ खतिवडाले नियमापत्ति जनाएपछि ओलीले उनलाई जवाफ फर्काएका थिए । ओलीले भने,’उहाँहरूले यस्तो गरिरहनुहुन्छ सभामुख महोदय ।’

  • राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध

    राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेको छ । बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ। बैठकलगत्तै पार्टी सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन्। बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको स्रोतले जनाएको छ । यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा सूचना लिक भएको भन्दै सबै केन्द्रीय सदस्य र सांसदहरूको मोबाइल एकै ठाउँमा जम्मा गरेर राखिएको छ ।

  • संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद

    संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्।

    पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ।

    रास्वपाले आजको बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ। बैठकलगत्तै पार्टी सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन्। रास्वपाबाट इन्दिरा राना उपसभामुख बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद रहेका छन्।

  • नेपालको पहिलो गभर्नर राणाको निधन

    नेपालको पहिलो गभर्नर राणाको निधन

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई उदृत गर्दे सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।

    जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली हुने भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ। आइतबार दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।


    प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार पनि आंशिकदेखि सामान्य बदली भई प्रदेश नं. १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • रास्वपाको शनिबार राती बसेको बैठक निष्कर्षविहिन, आज पुनः बस्ने

    रास्वपाको शनिबार राती बसेको बैठक निष्कर्षविहिन, आज पुनः बस्ने

    काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई शनिबारसम्मको अल्टिमेटम दिएको थियो । तर, सो दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट ग्रिन सिग्नल नपाएको रास्वपाले शनिबार राती बैठक डाक्यो । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको थियो ।

    मध्यरातसम्म चलेको बैठकमा कुनै निष्कर्ष आउन सकेन । सोहीकारण संयुक्त बैठक आजका लागि बोलाइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ । सरकारमा बस्ने कि नबस्ने भनेर आइतबार नै निर्णय लिनेतयारी रहेको बताइएको छ ।

  • गृह मन्त्रालयबारे अझै लागेन टुंगो

    गृह मन्त्रालयबारे अझै लागेन टुंगो

    काठमाडौं । गृह मन्त्रालयबारे शनिबार समेत कुनै निर्णय हुन सकेन । यद्दपी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको स्थायी कमिटी बैठकपछि उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।’

    गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो । पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । लामिछानेको मागमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाउँदै आएका छन् ।

    यी विषयमा प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा हुने बताएका हुन् । रास्वपाले शनिबारसम्म आफूलाई गृहमन्त्रालयको जिम्मेवारी दिन अल्टिमेटम दिएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा उक्त विषयमा छलफल गर्ने र आफ्नो कुरा राख्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकले गरेको निर्णय हो । तर, यसबीचमा संयन्त्रको बैठकसम्म बसेको छैन ।

  • बानेश्वरमा बाबु-छोरी मृत फेला

    बानेश्वरमा बाबु-छोरी मृत फेला

    काठमाडौं । काठमाडौंको बानेश्वरमा बुवा–छोरी मृत भेटिएका छन् । शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका १० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा–छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

    एसपी मैनालीका अनुसार उक्त घरमा भित्रैबाट बन्‍द गरिएको थियो। श्रीमती बाहिर गएकी थिइन्। उनी घर फर्किएपछि श्रीमान शौचालयमा झुन्डिएको र ७ वर्षीया छोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला परेको समाचारमा उल्लेख छ घटनाको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो।

    अहिले मुचुल्काको काम भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बालिका ‘फरक क्षमता’की थिइन्। बालिकाको हत्या गरी बुवाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाबारे विस्तृतमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज राष्ट्रिय सवतन्त्र पार्टीले गृह मन्त्रालय दिन दिएको अल्टिमेटमको अन्तिम दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । भेट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको हो ।

    भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । पछिललो समय सत्ता गठबन्धनमा खटपट आएको छ । यसले कांग्रेसलाई अर्को गठबन्धन निर्माणमा सहज बन्दै गएको छ ।

  • गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

    गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिने भएको छ । तर, अहिलेसम्म यस बारे कुनै सहमति जुटिसकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान छ ।

    बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।

    आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्य गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अडानमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।

    पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपाकै भागमा परेको भन्दै ओलीले प्रचण्डलाई दबाब दिइरहेका छन् । सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पद गएको छ । सर्वोच्चको आदेशपछि नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दावि गरिरहेका छन् ।

  • मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

    मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका छन् ।

    “मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उनले भने, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ। यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ।’’

    भेटमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सके रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए । प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।

    प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताएका छन् उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी गराउँदै उनले कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • सर्वाेच्चको आदेश : बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

    सर्वाेच्चको आदेश : बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

    काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा (सङ्घ, प्रदेश र स्थानीय) कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको छ ।

    नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

    आदेशमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई ३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरूको वृद्धि विकासमा असर पुग्न सक्ने देखिएकाले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न भनेको छ ।

    अदालतले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू निजामती सेवा सम्बन्धी ऐन बमोजिम उम्मेदवार हुन पाउने व्यवस्था गरेको स्मरण समेत गराएको छ ।

  • बली दिन भारत पुर्‍याइएकी १६ वर्षे बालिकाको उद्धार

    बली दिन भारत पुर्‍याइएकी १६ वर्षे बालिकाको उद्धार

    काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा बली दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार भएको छ ।

    बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक’तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ’,ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।

    उनले भने, “प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।”

    निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, “हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं। दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।”

    पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ ।

    भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो ।

    आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

    अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले दिए । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।

    पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ ।

  • सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

    सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको कैफियत प्रतिवेदन झिकाउर्न आदेश दिएको छ ।

    न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी दिएको आदेश उच्च अदालत पाटनले उल्टाइदिएको थियो ।

    तर १० वर्षभन्दा बढी कैद सजाय हुने जघन्य कसुरमा अभियुक्तलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश बेरितको भएको भन्दै महान्यायाधिवक्ता कार्यालय निवेदन लिएर सर्वोच्च अदालत गएको थियो ।

  • नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

    नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

    काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् ।
    बिहीबार पक्राउ परेका उनलाई कैलाली प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलान गरेको हो ।

    ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । उनलाई सुरक्षा संवेदनशीलता भन्दै बाँकेबाट जहाजमा काठमाडौं ल्याएर जहाजमै धनगढी लगिएको थियो ।

    फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् ‍चौधरीको रिहाइकाे माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

    २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

    याे मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।

  • भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

    भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेको पाइएको छ । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उल्लेख छ । बेचबिखनमा परेकी किशोरी कुवेतमा पुर्याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ । गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।

    मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ । उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्याएपछि एक हजार तीन सय कुवेती दिनारमा बिक्री गरिएको थियो । बेचबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौनशोषण तथा चर्को श्रम शोषणमा गरेका छन् ।

    पीडित युवतीले कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कुटपिट हुने गरेको प्रहरीको बयानमा उल्लेख गरेका छन् । उपरीक्षक मल्लले बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरीलगायतका आरोपमा फसाउने गरिएको बताएका छन् ।

    कुवेतमा रहेका मानव तस्करका गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिई थप शोषण गरिएको थियो । यस्ता घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजी जारी रहेको समेत ब्युरोले जनाएको छ ।

  • सन्दीपलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा आज सुनुवाई

    सन्दीपलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा आज सुनुवाई

    काठमाडौं । बलात्कारको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि जेलमा थिए । तर, उनलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशपछि अहिले उनी राष्ट्रिय टीममा समेत परिसकेका छन् । यो निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ । मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको हो ।


    ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल भएको आधार लिएर बिहीबार निवेदन दर्ता गरिएको हो । दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

    मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु लागेको छ। देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन।

    जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। यस्तै भोलि शनिबार प्रदेश नं= १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

    आइतबार पनि प्रदेश नं= १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईमा बिहान र बेलुकीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

    सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।

    दुबै नेताले २ दिनको समय मागेकाले पर्खिनो निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

    रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो । वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।

  • सांसद अरुण चौधरी पक्राउ

    सांसद अरुण चौधरी पक्राउ

    काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ परेका छन् ।

    आगजानी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनी बाँकेको वैजनाथ गाउँपालिका–२, गावरबाट आज पक्राउ परेका हुन् ।

    २०७० सालमा ट्याक्टरमा आगो लगाएको घटनामा जिल्ला अदालत कैलालीले उनीमाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको निम्ति सांसद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सांसद चौधरी उन्मुक्ति पार्टीका नेता हुन् ।

  • रविलाई न्याय गर्नु पर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

    रविलाई न्याय गर्नु पर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

    काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको हो । ।

  • आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

    आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् ।

    उनले सामाजिक सञ्जालमा मौनता तोड्ने बताउँदै लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

    अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो।

  • नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

  • माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

    माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

    काठमाडौं । नेपालको राजनीतिक इतिहासमा माघ १९ गतेलाई कालो दिनका रुपमा स्मरण गरिँदैछ ।

    वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो ।

    आजकै दिन प्रजातान्त्रिक व्यवस्थामाथि धावा वोल्दै पूर्व राजा ज्ञानेन्द्रको निरङकुश राजतन्त्रले सत्ता हत्याएकोले आजको दिनलाई कालो दिनको रुपमा चिनिन्छ ।

    शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

    रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए।

    दरबार हत्याकाण्डपछि राजगद्धी सम्हालेका राजा ज्ञानेन्द्रले शान्ति सुरक्षाको पुनःस्थापना र प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने नाममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डललाई २०६१ माघ १९ मा अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गरी शासन सत्ता आफनो हातमा लिएका थिए । तर, राजा ज्ञानेन्द्रको शासन सत्ताको त्यही महत्वकांक्षाले आज राजतन्त्रको अवसान गराउन सफल भयो ।

    ज्ञानेन्द्रको निरङकुसताका विरुद्ध राजनीतिक दलहरु आन्दोलनमा उत्रिए तर त्यस आन्दोलनलाई शाहि सरकारले दमन गर्यो । एक वर्र्ष सम्म पनि आन्दोलन गर्दा पनि ज्ञानेन्द्रको दमनका विरुद्ध जनताहरु सहभागीता हुन सकेन ।

    यसबाट तत्कालीन संसदवादी दलहरु माओवादी समक्ष सहमती गर्न वाध्य भए र माओवादी संग वार्ता गरे । यसैक्रममा द्धन्द्ध माओवादी र सात राजनीतिक दलबीच २०६२ मंसिरमा ऐतिहासिक १२ बुँदे समझदारी भयो ।

    तत्कालिन संसदवादी सात दलहरु र नेपाली राजनीतिमा सशस्त्र जनयुद्धमा होमिएको माओवादीबीच दिल्लीमा भएको १२ वुदे संझौतामा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने, संविधानसभाको निर्वाचन गर्ने लगायतका सहमतीमा संयुक्त आन्दोलनको लागि एकता गर्ने आधार बन्यो । माओवादी र संसदवादी दलहरुविचको सहमतीपछि आन्दोलनले चर्कोरुप लियो ।

    आन्दोलनमा व्यापक जनसहभागिता भयो भने दमनका विरुद्ध लाखौ लाख जनताहरु सडकमा उत्रिए । १९ दिन सम्म चलेको आन्दोलमा २९ जना शहिद भए । यहि आन्दोलनको कारणले राजतन्त्रले घुडा टेक्यो र जनतासामु आत्मसमर्पण गर्यो । माओवादी र संसदवादी दलहरुविचको १२ वुदे समझदारीको आधारमा भएको आन्दोलन नै २३८ वर्र्ष लामो राजसंस्था अन्त्यको कारण पनि बन्न पुग्यो ।

    राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को शाही घोषणा

    प्यारा देशवासीहरू,

    १. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।

    २. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो।

    राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए।

    आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।

    प्यारा देशबासीहरू,

    ३. प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्‍यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो।

    सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो।

    जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं।

    आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो।

    शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन।

    राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।

    ४. नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन।

    नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो।

    प्यारा देशबासीहरू,

    ५. राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्।

    सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ।

    शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ।

    शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।

    ६. नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ।

    जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ।

    प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो।

    हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।

    ७. सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो।

    राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७ को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।

    प्यारा देशबासी,

    ८. सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ।

    हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।

    ९. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।

    प्यारा देशबासी,

    १०. आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ।

    वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ।

    नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।

    ११. यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ।

    अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।

    १२. निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।

    १३. प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो।

    शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।

    प्यारा देशबासीहरू,

    १४. हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्।

    राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।

    १५. आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ।

    यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौ।

    श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।

    जय नेपाल।”