Category: समाचार

  • कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

    कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

    काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् ।

    त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् ।

    त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०, लगायतका अंक लेखिएका हुन्छन् ।

    अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

    ए, वी, सी र डि लेखिएको हुन्छ जसअनुसार ए ले शुरुको वर्षको पहिलो ३ महिना भन्ने बुझनुपर्छ । त्यसैगरी बी ले अप्रिल, मे र जून महिनालाई संकेत गर्दछ । त्यस्तै सि ले त्यसपछिको ३ महिना र डी ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई बुझाउछ ।

    त्यसैगरी सिलिण्डरको घाटीमा लेखिएको १८,१९,२०,२१,२२,२३ र २४ जस्ता अंकले त्यस बर्षसम्म ग्याँसको मिति रहने स्पष्ट रुपले चिन्न सकिन्छ ।

    यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ।

    यस्तै एक्सपायर्ड डेट बाँकी रहेपनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

  • कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

    नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको हो ।

    नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ।

    सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ।

  • ग्याँस सिलिण्डर पड्किँदा दुई जना घाइते

    ग्याँस सिलिण्डर पड्किँदा दुई जना घाइते

    काठमाडौं । दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौराका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

    घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ । लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।

  • ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

    ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

    काठमाडौं । सोमबार यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनका क्रममा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक ९डीएसपी० खुमलाल भुसाल सदस्य छन् ।

  • ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

    ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

    काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

    उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो।

    कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ। उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

  • सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

    सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

  • सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

    सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

    काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर बनेको छ। कीर्तिपुर अस्पतालले उनीहरुको उपचार नेपालमा सम्भव नहुने भन्दै सिघ्र देशबाहिर लैजान समेत सिफारिस गरेको छ । सांसद भण्डारीका २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको छ ।

    उनको फोक्सोमा समेत असर परेको अस्पतालले जनाएको छ । गतराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका हुन् । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा उपचार जारी छ ।

  • शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

    शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

    काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।
    यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेंगीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो।

    महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजकसमेत रहेका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए। कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आउने छन्। फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
    महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ।

    साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ। पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ। फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए। महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ। मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुर्‍याएका हुन्।

    फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ।

  • हज यात्रामा जानेका लागि निवेदन खुला

    हज यात्रामा जानेका लागि निवेदन खुला

    काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला भएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

    हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्नेछ ।

  • ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

    ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

    काठमाडौं । ग्याँस सिलिण्डर विस्फोटमा परी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गत राति ग्याँस सिलिण्डर विस्फोट भएको छ । राति खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको हो ।

    उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार जारी छ । चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर पुगेको छ ।

  • वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

    वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

    काठमाडौं । वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दुःख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

    पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका ५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ बस्‍ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका -९ घर भई हाल सूर्यविनायक नगरपालिका(२ बस्‍ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्‍यपुर ठिमी बस्‍ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

    पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए ।

  • पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक

    पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक

    काठमाडौं । जहाज दुर्घटना जाँच आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १२ बाट जहाज अवतरणमा रोक लगाएको छ । आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटना यसै दिशामा भएको थियो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रनवे १२ मा अवतरणको अनुमति दिनु अगाडी पर्याप्त अध्ययन गर्न समेत भनेको छ ।

    उता, दुर्घटनाको अन्तिम केही सेकेण्डमा जहाजमा पाइलटको कमाण्ड समेत परिवर्तन भएको पाइएको छ । दुर्घटना जाँच आयोगका अनुसार दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए । जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ ।

    त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उल्लेख गरेको छ । अवतरणका दौरान गराउने क्रममा पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेको समेत पाइएको छ । उनले जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् ।

    जसमा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमाण्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो ।

    त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो । यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ ।

  • रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने

    रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने

    काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्ष निकालेको छ । पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय गरेको हो ।

    सर्वोच्चमा सांसद पदसम्बन्धी रिटमा सुनुवाइ हुँदा नै पौडेलले गृह मन्त्रालयमा लामिछानेविरुद्ध राहदानीसम्बन्धी विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अहिले प्रहरीले छानबिन गरिरहेको छ ।

    लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

    तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।

  • संसद अवरोध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

    संसद अवरोध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा संलग्नको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।

    सांसद गंगाराम चौधरीले प्रतिनिधिसभाको बुधबारको बैठकमा लाल आयोगको प्रतिवेदन र निर्दोष राजबन्दीको रिहाइको माग गर्दै संसद अवरोध गर्ने चेतावनी दिएका हुन् ।

    ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा पनि आन्दोलन सुरु भयो । नभए सडक पनि ठप्प हुनेछ’ चौधरीले भने । ‘कानुन एउटाले पालना गर्नुपर्ने र अर्कोले लत्याउने हुँदैन । राज्यले झुटा मुद्दा लगाएर थारुहरूलाई थुन्न पाइँदैन ।

    अब हामी चुप लागेर बस्नेवाला छैनौं । या त राज्यले हाम्रा मान्छेलाई तुरुन्त छोड्नुपर्‍यो होइन भने टीकापुर घटनाका दोषी देखाइदिने तागत हामीसँग पनि छ ।’

  • लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ

    लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।


    ब्युरोले काठमाडौं महानगरपालिका–२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र नगद ४ लाख ५ हजार रुपैयाँसहित सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ मा पक्राउ गरेको थियो । शेर्पा २०७० असार ७ मा हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको पाइएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।

    शेर्पामाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट माघ २५ मा, धनुषा औरही गाउँपालिका–३ कपटोलका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका–३ कपटोलका ४५ वर्षीय जाकिर नदाफलाई माघ २६ मा पक्राउ गरेको हो ।

    काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ का २४ वर्षीय दीपक तामाङलाई काठमाडौं महानगर–१६ बालाजुबाट नगद ६ हजार रुपैयाँसहित माघ २७, नुवाकोट शिवपुरी गाउँपालिका–८ का २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगर–२२ काठमाडौं मलबाट नगद ६ हजार रुपैयाँसहित माघ २७ मा प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंका मुख्य डिलर शेर्पालाई फैज अहमदले पटनाबाट लागूऔषध खरिद गरी पठाउन रिहासदलाई जिम्मा दिने गरेको, रिहासदले तरकारी बोक्ने गाडीमा लागूऔषध लुकाई जाकिर नदाफलाई गाडीमा राखेर काठमाडौं पठाउने र जाकिर नदाफले शेर्पालाई दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । फैज अहमद बिक्री गरेको लागूऔषधको रकम लिन आफैं काठमाडौं आउने गरेको खुलेको छ । उनले लागूऔषध बिक्रीको १७ लाख ७५ हजार रुपैयाँ बुझिसकेको समेत प्रहरीले जनाएको छ ।

    ब्युरोले २३ किलो ८ ग्राम लागूऔषध चरेससहित थाइल्यान्डका ४ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता डीएसपी नारायण रञ्जितकारका अनुसार ब्युरोबाट खटिएका प्रहरीले माघ २८ मा काठमाडौंबाट बैंकक जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४८ वर्षीया याओवालुक जुआब्स्री, ४२ वर्षीया परिचार्ट पम्प्रुक, २५ वर्षीय नाटापोल ट्रिचैया, १९ वर्षीया नट्नारी ट्रिचैया छन् । उनीहरुले लगेजभित्र फल्स बटम बनाई चरेस थाइल्यान्ड लैजान लागेका थिए ।

    प्रहरीले माघ २७ मा सिनामंगलस्थित एक होटलबाट अवैध लागूऔषध १ ग्राम खैरो हेरोइनसहित मोरङ लेटाङ नगरपालिका–२ का ३४ वर्षीय रोशन रिसाललाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न आरोपमा मोरङ केराबारी गाउँपालिका–३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं महानगर–३२ कोटेश्वरस्थित अर्को होटलबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्रामसहित पक्राउ परेका छन् ।

    यस्तै, कोटेश्वरस्थित एक होटलबाट १२ ग्राम लागूऔषध खैरो हेरोइन र डिजिटल तराजुसहित एक भारतीय नागरिक पनि समातिएका छन् । भारत बिहार मधुवनी जयनगर हथलेटेवा–४ का ३२ वर्षीय श्रवणकुमार महरालाई माघ २९ मा ब्युरोले पक्राउ गरेको हो ।

  • अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

    अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ। सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो।

    एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ। अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मालगायत दाबेदार छन्। अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ। साथै अनुशासनलगायत विभिन्न आयोग पनि गठनको तयारी छ।

  • राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

    राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

    रु. २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

    नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

    महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

  • सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

    सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

    काठमाडौं । सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो । सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ ।

    त्यस्तै अनुसन्धान प्रक्रिया समीक्षा गर्न धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ । बाँकेबाट काठमाण्डौ आएर ४८ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका महिलाहरूले सहमतिपछि धर्नाका कार्यक्रम स्थगित गरिएको छ ।

  • वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

    वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेका हुन् । उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए ।

    चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । चिकित्सकीय भाषामा उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । पुनको पहिला पटक थाइल्याण्ड उपचार भएको थियो । त्यसपछि उनलाई चीनमा लगेर उपचार गरिएको थियो ।

  • सरकारका काम प्रभावकारी बनाउने निर्णय

    सरकारका काम प्रभावकारी बनाउने निर्णय

    काठमाडौं । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।   

    “सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो । आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ”, उनले भने ।

    बैठकले नियमितरुपमा यस प्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ । राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरू कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।     

    बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, उनले भने ।

    बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उनको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

  • दूतावासमा श्रमिक डेक्स राखिने

    दूतावासमा श्रमिक डेक्स राखिने

    काठमाडौं ।  नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो।

    माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो।

    विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धी माघ २५ गतेको निर्णयमा भनिएको छ, “विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेशस्थित सबै नेपाली नियोगमा श्रमिकका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगहरूमा श्रम डेस्क स्थापना गर्ने सम्बन्धमा यही मिति २०७९।१०।२५ गते सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ। त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै “डेडिकेटेड फोकल प्वाइन्ट” तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।”

  • भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

    भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।

    अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

    सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उनले बताए । उनले अघि भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’

  • आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने

    आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने

    काठमाडौं । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको सङ्घले जनाएको छ ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘‘२०७९ माघ २७ गते नेपाल चिकित्सक सङ्घका  आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।,’’ सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

  • राष्ट्रपतिले दिइन दिवाभोज

    राष्ट्रपतिले दिइन दिवाभोज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गरेकि छिन् ।

    राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नुभएको हो । दिवा भोजमा सङ्घीय संसद्का नवनिर्वाचन सदस्यको उपस्थिति थियो ।
    सङ्घीय संसद्का सदस्यसँगै दिवाभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ । दिवा भोज कार्यक्रममा विभिन्न कार्यक्रमसमेत गरिएको छ । 

  • निहारिका राजपुतले गरिन् शिवराज श्रेष्ठसँग विवाह

    निहारिका राजपुतले गरिन् शिवराज श्रेष्ठसँग विवाह

    काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । माघ १६ मा धनुषा जिल्ला अदालतमा तीन वर्षसम्म प्रेम चलेको र उमेर नपुगेकै कारण विवाह नगरिएको स्वीकार मिलापत्रमा गरिएको थियो । दुवै जना पतिपत्नीको सम्बन्धमा रहेर छोरा जन्मिएको स्वीकार गरिसकेका छन् ।काठमाडौं ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

    काठमाडौं । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

    गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेरहदका कारण सेवानिवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

    काठमाडौं । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

    समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।

    केन्द्रीय बैंकले गरेको समीक्षामा भनिएको छ, “२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ ।” यसले ऋणीलाई केही राहत प्रदान गर्नेछ ।

    यस्तै, साना तथा मझौला उद्योग–व्यवसायसञ्चालनका लागि सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई गत पुस मसान्तसम्ममा सक्रिय वर्गमा रहेको रू दुई करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आगामी असार मसान्तभित्र पुनःसंरचना तथा पुनः तालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्क्रिय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवं सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्नेलगायत व्यवस्था पुनरावलोकन गर्ने नीति लिइएको छ ।

  • खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

    खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए ।

    लामो समय देखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग विक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान बाइबा छन् ।

    सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौँ–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

    त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

    गैँडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको उनी बताउँछन् । ‘उनले सम्झना भन्ने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको छ’, सिंह भन्छन्, ‘कमलाले काठमाडौँ लैजान वीरमानसहितको सहयोग लिएको पाइएको छ ।’ चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौँसम्म खाग ल्याएर लाखौँ रुपैयाँमा विक्री गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

  • भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

    भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

    काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०,००० भन्दा बढी पुगेको छ। यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ। अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ। उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन्।

    टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्। प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ। विहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनुलगायत समस्याका कारण अवरोध निम्तिरहेको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै ‘हाम्रो आँखा अगाडि देखा परिरहेको” चेतावनी दिए। विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए।

    विहीवार इडलिब प्रान्तको बाब अल(हवा क्रशिङ हुँदै उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता पठाइएको छ। सिरियाली सरकार पक्षधर सेना नियन्त्रित क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्र सङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो। गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत सहायता पठाउने अनुमति दिन आग्रह गरे।

  • राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

    राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन्। विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार बेलुकी ट्वीट गर्दै उनले यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने उल्लेख गरेका छन्। ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन। यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ,’ भट्टराईले भने।

    गत मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। सत्ता गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ताघटक दल नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरेको प्रदेश सभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे। सुदूरपश्चिममा बिहीबार नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ।

    सत्ता गठबन्धनकै समर्थनमा बनेको सरकार एक महिनामै ढलेपछि सात दलीय सत्ता गठबन्धनभित्र असन्तुष्टिसमेत देखिएका छन्। नागरिक उन्मुक्तिले भने जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने अडान राख्दै आइरहेको छ। यो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने पनि नागरिक उन्मुक्तिको अडान छ।
    भट्टराईले अब हुने राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने पनि बताएका छन्। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छन् भने सत्ता साझेदार दल नेकपा एमालेले पूर्वसहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ। तर प्रधानमन्त्रीलाई गत पुस २६ मा विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि संसदको ठूलो दलको हैसियतमा राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ। साथै भट्टराईले अर्थतन्त्रमा गम्भीर संकट देखा परेकोसमेत उल्लेख गर्दै भनेका छन्, ‘अब पनि द्वन्द्व कि सहमतिको बाटो ?’