काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।
स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो ।
रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो साता कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अबिलम्व आवश्यक प्रकृया सुरु गर्न आग्रह गरेका थिए ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ ।
कार्यालयको इण्टरनेट नचल्दा सेवा अवरुद्धका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ ।
विमानस्थलमा नेपाल टेलिकमको इण्टरनेट जडान गरिएको छ ।
यसअघि विमानस्थलमा सरकारी सर्भर डाउन हुँदा सेवा प्रभावित भएको थियो । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ ।
काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले २०० देखि नौ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको छ ।
सामान्य माग्दै हिँड्नेलाई २०० देखि नागाबाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको हो ।
महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अरू मुलुकबाट पनि साधुसन्त आएका थिए ।
काठमाडौं । इजरायलले आइतबार बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ । एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सन् २०११ मा सिरियमा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्षित गरेर आक्रमण गर्दै आएको छ । यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन ।
इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भएको तथा १५ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन् ।
इजरायली सेनाले सिरियामाथि हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन । आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमितरूपमा उसले निगरानी तथा आवश्यकताअनुसार क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन् । रासस\एएफपी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाली कांग्रेसका शीर्ष नेताले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा आइतबार साँझ बालुवाटार पुगेका थिए ।
भेटमा कांग्रेस नेताहरुले औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् । माओवादीको पदाधिकारी बैठक आज बस्दैछ ।
काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष औपचारिक आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने बताएका थिए । सोही अनुसार आज पदाधिकारी बैठक बस्न लागेको नेताहरुले बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत हुन सकेको छैन ।
काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा १९१ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । ७ अध्यागमन विभागका अनुसार ३९ वटा मुलुकका ती नागरिक नेपालबाट निष्काशनमा परेका हुन् । नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका, कारवाहीमा परेका, भिसा अवधि समाप्त भएका लगायत विदेशीहरु निष्काशनमा परेका हुन् । निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यस अवधिमा ८५ जना चिनियाँ नागरिक निष्काशनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी र बेलायती नागरिक छन् ।
नेपालबाट १२–१२ जना बेलायती र अमेरिकी नागरिक यस अवधिमा निष्काशनमा परेको विभागको तथ्यांक छ । युक्रेन र रसियाका १र१ जना नागरिक समेत नेपालबाट निष्काशनमा परेको विभागको तथ्यांक छ । पाकिस्तानका १०, उज्जेकिस्तानका ९, कोरिया र श्रीलंकाका ६र६ जना नागरिक निष्काशनमा परेको विभागले जनाएको छ ।
बंगलादेश, अष्ट्रेलिया, फ्रान्सका ४र४ जनालाई नेपालबाट निष्काशित गरिएको छ । यस अवधिमा रोमानिया, फिलिपिन्स, म्यानमार, नर्वे, केन्या, इटाली, इजरायल, इरान, इण्डोनेसिया, ग्वाटेमाला, कोलम्बिया, ब्राजिल, भुटानसहितका नागरिक निष्काशनमा परेको विभागको आंकडामा उल्लेख छ ।
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले थालेका सुधारका प्रयासबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेका छन् । विभिन्न कार्यदल बनाएर भौतिक विकास, यातायात र सुशासन क्षेत्रमा सुधारका लागि थालिएका प्रयासहरुले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् ।
आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणाम दिने गरी काम थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । ‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ,’ उनले भने, ‘त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।’ प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए । ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको भन्दै विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढ्न आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवम् यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए ।
उनले त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औल्याए । त्यसक्रममा पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराजआचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले प्राथमिकतामा जोड दिन खोजेको विषयबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरे ।
आचार्यले समस्या आम जनताले समाधान भएको र सुधारको महसुस गरे नै विकासको सार्थकता रहने र संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेबताए । त्यसका लागि ऐन र प्रशासन सुधार अनिवार्य भएको बताए । पौडेलले भने कार्य संचालन तहका समस्या समाधान गरी बिचौलियाको सामना गर्नुपर्ने बताए ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् ।
कीर्तिपुरस्थित अनेरास्ववियूको दोस्रो स्थायी कमिटीको बैठकमा नेपालले भने नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए।
अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन भत्किने हो? ठेगान छैन।’
अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने अध्यक्ष नेपालले दाबी गरे। गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ।
अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्कसमेत गरे ।
अध्यक्ष नेपालले भने, ‘अहिले फेरि मण्डलेहरु जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईहरुले । मण्डलेहरुको रोग एमाले भित्र घुसेको छ । त्यहीबाट एमाले केन्द्रीय सदस्य अझै पनि छन कि कारबाही गरिसक्यो थाहा छैन । एमालेमा सम्मानपूर्वक बसिरहेकै छ । त्यो भनेको चाँही कम्युनिष्ट पार्टीको निम्ति जालमर्दो कुरा हो ।
‘कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भने, ‘त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो। त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो? राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह २-४ जना मान्छे वरिपरि देखेपछि जोस्सिएको टिप्पणी गरेका छन्।
आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गरेका हुन् ।
‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।
एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए।
सो बारेमा आलोचना बढेको भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘पानीले आफ्नो लेभल आफैं मिलाउने’ भन्दै घुमाउरो जवाफ दिए।
उनले पूर्वराजा ज्ञानेन्द्र आफैं राजनीतिमा हिँडिरहेको भन्दै धेरै कुरा गर्न आवश्यक नभएको पनि टिप्पणी गरे।
काठमाडौं । आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १० देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने तय छ ।
उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिका समेत सार्वजनिक गरिसकेको छ । आउँदो चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक गरिएका छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उमेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उमेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।
यस्तै, चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी छन् ।
‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उनले सन्देशमा उल्लेख गरेकी छन् ।
नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गरेकी छन् ।
उनले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गरेकी छन् ।
‘सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ’, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ,’यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।’
काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन्
काठमाडौं । ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । भारतको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने योजना रहेको डाक्टर सुनिल केस्वानीले जानकारी दिएका छन् । भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरले जानकारी दिएका छन् ।
भण्डारीको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो । गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारी र आमा हरिकला भण्डारी घाइते भएका थिए । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।
काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । ग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७।३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो ।
यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् । २७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे । आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।
त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे । नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो । रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए ।
काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नेछन् ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।
नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको विसं १८१९ देखि सुरूवात भएको हो ।
देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी गरेको गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेना आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।
सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।
नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तीस जातिको फूलबारीजस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।
विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको खण्डमा १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ । यसैबीच विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गरेको छ । सेना दिवसका अवसरमा यसपटक भारतीय सेनाका पूर्व पाँच प्रमुख समारोहमा भाग लिन यहाँ आइसकेका छन् ।
द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।
सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।
काठमाडौं । भारतको मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको शरीरमा रहेको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उपचारमा संलग्न डा. मुकेश मिश्रालाई उद्धृत गर्दै कांग्रेस नेथा योगराज कँडेलले जानकारी दिएका छन्
। शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना दिइने चिकित्सकहरूले बताएको उपचार समन्वयमा गएका नेता कँडेलले जानकारी दिए । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।
काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए ।
पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ । महाशिवरात्रि भव्यरुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ । तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ । हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । महाशिवरात्रिका अवसरमा भारतका गोवद्र्र्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यसपटक नेपाल आउएका छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औंल्याएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् ।
महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गरिन् । उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताएकी छन् ।
मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने राष्ट्रपति भण्डारीको भनाइ छ ।
पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत खण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने शुभकामना सन्देशमा उल्लेख छ । पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरूपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थलका रूपमा रहिआएको राष्ट्रपति भण्डारीले बताइन् ।
उनले प्रकृतिसँग अभिन्न रूपले जोडिएको शिव शक्तिमा सिर्जनात्मक एवं संहारकारी शक्तिको समान प्रतिनिधित्व भएको पाइने विश्वास व्यक्त गरिन् । ‘पशुपति क्षेत्रको आधार हुनुका साथै काठमाडौं उपत्यकाको मुख्य जलाधार क्षेत्र मानिने वागमति, रुद्रमती, इच्छुमती नदीलगायत मुलुकभरि फैलिएका पानीका स्रोत स्वच्छ र सफा राख्न आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएकी छु’, शुभकामना सन्देशमा भनिएको छ ।
काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउँछन् ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।
कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
पाँच वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागू पदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानूनी कारबाही गर्ने उनले बताए ।
काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो ।
यो सिरिजमा नेपालको नामिबियासँग दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।
काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेण्डरमै’ समेट्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सन्तुलन मिलाउनका लागि पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् । मन्त्रिपरिषद बैठकले गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन सफलतापूर्वक सकिएको सचिवालयले जनाएको छ।
चिकित्सकका अनुसार डा. भण्डारीको अर्को अप्रेशन तयारी पनि भइरहेको छ। त्यसका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गर्दैछन्। सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो।
काठमाडौं । ट्राफिक प्रहरीले राइड सेयर गरेर भाडा उठाएपछि पठाओ, इन्ड्राइभर जस्ता सेवाका मोटरसाइकल चालकहरुलाई कारबाही गरेको छ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो,’ ट्राफिक प्रहरीले भनेको छ । ट्राफिकले अलाइनमै सेवा दिनेलाई कारवाही गरेको हो वा अफलाइन राइड दिनेमाथि कारवाही गरेको हो भन्ने खुलेको छैन ।
उपत्यकाको विभिन्न स्थानबाट २० जना मोटरसाइकलका चालकलाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । यात्रु चढाउन नमान्ने १० जना ट्याक्सी चालकलाई पनि बिहीबार नै कारबाही गरेको छ । सार्वजनिक सवारी चालकले खाली रहेको अवस्थामा यात्रु लिन इन्कार गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९अनुसार ५ सय देखि १५ सयसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले बताए ।
काठमाडौं । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् । नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो। आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो। हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्। तर गोवर्द्धन मठका शङ्कराचार्य नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन्।
उनी यसअघि पनि पटक पटक नेपाल आएका थिए। यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्। पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको छ । जनकपुरमा आयोजित कार्यक्रममा उनले नेपाल हिन्दू राष्ट्र भएको बताएका थिए । शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ। शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दू महासङ्घले जनाएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती विश्वका विभिन्न देशहरूलाई हिन्दू राष्ट्र बनाउनु पर्ने पक्षमा मत राख्ने गर्छन्।
तीन वर्षअघि उनले संयुक्त राष्ट्र सङ्घले भारत, नेपाल र भुटानलाई हिन्दू राष्ट्रको मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। अङ्ग्रेजी अनलाइन पिपल्स रिभ्यूका अनुसार गत वर्ष जनकपुरमा आयोजित एउटा कार्यक्रममा त उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न कुनै नेता आवश्यक नपर्ने बताउँदै भनेका थिए, “म घोषणा गर्छु( नेपाल हिन्दू राष्ट्र हो।” भारतीय सञ्चार माध्यमका अनुसार उनले सन् २०२५ सम्ममा भारत हिन्दू राष्ट्र बन्ने घोषणा पनि गरेका छन्। उनले नेपाल र भारतबीच रहेको सीमा विवादबारे पनि आफ्नो धारणा सार्वजनिक रूपमा प्रकट गर्ने गरेका छन्।
काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताएका छन् ।
भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। शुक्रबार २ वटा शल्यक्रिया गर्ने तयारी गरिएको चिकित्सकहरूले जानकारी दिएको उनले बताए।
भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो।
भण्डारीको यसअघि कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो। आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो।
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । ९६२ मत पाएर बडाल अध्यक्ष चुनिए । अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाए ।
यसैगरी अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भए ।
काठमाडौं । नुवाकोटमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन। बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। बस सडकबाट २० फिट तल खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।
काठमाडौं । बागमतीको मुहानक्षेत्र धापम बनेको जलाशयको बिहीबार उद्घाटन गरिएको छ । सुन्दरीजलबाट १८ किलोमिटर टाढा रहेको धाप ड्यामको उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदीको बहाव बढाउने बागमती एकीकृत सभ्यता विकास समितिले जनाएको छ ।
धाप ड्याममा आयोजित समारोहमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ड्यामको निर्माण बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे । धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन पनि दिए । जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने लिङ्देनले उल्लेख गरे ।
शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए । परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्याउन निर्देशन दिए ।