Category: समाचार

  • सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

    सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

  • टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

    टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

    काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट प्रभावितहरुका लागि नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ ।
    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

    त्यसको सोही दिन दिउँसो पुनः ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । टर्की र सिरिया क्षेत्रमा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । भूकम्पमा परी आज (बिहीबार) बिहानसम्म १५ हजार ३८३ जनाको मृत्यु भइसकेको छ ।

  • एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

    एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

    उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

    ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन भएको थियो। तर विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल नेतृत्वको सरकार ढलेको हो। रावलले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

  • प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

    प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा भेटवार्ता भएको छ ।

    प्रदेश सरकार ढल्ने अवस्थामा पुगेपछि संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुगेका हुन् । निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि सरकार जोखिममा परेको छ। ३ बजे बस्ने तय भएको संयन्त्रको बैठक बस्दै नबसी स्थगित भएको हो।

  • माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

    माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

    काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको छ ।

    पहिलो वरीयतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डरहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रोमा त्यसपछि उपाध्यक्षहरु क्रमश कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् ।

    उपमहासचिवको वरियतामा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन परेका छन् । क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ ।

    बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो ।

    प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

  • फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक,रावलले विश्वासको मत पाउने सम्भावना न्यून

    फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक,रावलले विश्वासको मत पाउने सम्भावना न्यून

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ।

    आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। यसअघि बुधबार बस्ने तय भएको बैठक नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउनकै लागि भनेर बिहीबार सम्मलाई स्थगित भएको थियो।

    ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।

    सावल मुख्यमन्त्री नियुक्त हुँदा भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन थियो।

    नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्।

    नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।

    रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

  • अघि बढ्यो रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी अनुसन्धान

    अघि बढ्यो रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी अनुसन्धान

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढाएको छ।

    लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न नागरिकता, राहदानीलगायत कागजात मगाएको हो । गत मंगलबार युवराज सफलले प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा निदेवन दिएका थिए।

    सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ।

    रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ।

    अमेरिकी पासपोर्ट लिएर नातेदार भिसामा नेपाल छिरेका रवि लामिछानेले त्यसकै १६ दिनमै नेपाली राहदानी बनाएका थिए।

  • हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट  चलाउन पाइने गरी सेवा थपिने

    हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने गरी सेवा थपिने

    काठमाडौं । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने गरी बाटो खुलेको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको हो । यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले निर्देशिका जारी गरेको हो ।

    निर्देशिका अनुसार नेपाली आकाशमा १० हजार फिटभन्दा माथिको उचाइमा उडानमा रहेको जहाजमा यस्तो सेवा दिइनेछ । ट्याक्सिङ, उडान वा अवतरणका दौरान र १० हजार फिट भन्दा तलको उचाइमा भने कुनै पनि जहाजमा यस्तो सेवा यात्रुले चलाउन पाउने छैनन् । यसअघि नेपालको आकाश हुँदै अन्य मुलुकमा जाने वायुसेवा कम्पनीहरुको उडानका दौरान चलिरहेको वाइफाइ तथा अन्य फ्रिक्वेन्सी सेवाहरु काटिने अवस्था थियो । त्यसमा पनि नेपालको आकाश हुँदै उचाइमा उड्ने विदेशी जहाजहरुमा चलिरहेको सेवा अब नेपाली आकाशमा ‘ओभरफ्लाइङ’ गर्दा समेत सेवा अवरुद्ध हुने छैन ।

    प्राधिकरणका अनुसार नेपाली कम्पनीहरुले समेत संसारका धेरै मुलुकमा प्रयोगमा आएको यो सुविधा प्रयोग गर्नेबारे चासो राखेसँगै निर्देशन जारी गरी यसको प्रयोग गर्ने बाटो खुला गरिएको हो । इनफ्लाइट कम्युनिकेसन सर्भिस सर्भिस प्रदायक कम्पनीले स्याटलाइट अपरेटरबाट इन्टरनेट नेटवर्क सेटअप गर्छन् । प्राधिकरणका अनुसार इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिस आन्तरिक तथा बाह्य दुवै कम्पनीहरुले उपलब्ध गराउन सक्ने भएका छन् ।

    नेपालमा दर्ता भएका विमानमा आईएफसी सेवा उपलब्ध गराउन चाहने नेपालका वायुसेवा कम्पनीले आफूले कस्तो सेवा प्रदान गर्न चाहेको सो बारे खुलाएर निवेदन दिने सक्ने भएका छन् । आईएफसी सेवा प्रदायकबारे जानकारी, एयरलाइन्स र आईएफसी सेवा प्रदायक कम्पनी बीचको समझदारी, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस पत्र, अन्य आवश्यक कागजात नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएसँगै वायुसेवा कम्पनीले यो सेवा सञ्चालनको अनुमति पाउने छन् ।

    त्यसका लागि ‘नो अब्जेक्सन प्रमाणपत्र (एनओसी)’ नेपाली वायुसेवा कम्पनीका लागि जारी गर्न सक्छ । एनओसी र अनुमति पत्र जारी गरी सञ्चार मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राकिकरणलाई जानकारी गराउने भएको छ ।

    विदेशी वायुसेवा कम्पनीले यस्तो सेवा लिन चाहेमा नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस लिई दूरसञ्चार प्राधिकरणमा अनुमति लिन निवेदन दिनुपर्छ । यस्तो सेवा विमान ग्राउन्डमा रहेका बेला, अवतरणको बेला र जमिनबाट १० हजार फिट भित्र रहेको अवस्थामा प्रयोग गर्न पाइने छैन । यस्तो सेवाले दूरसञ्चार सेवा प्रदायको फ्रिक्वेन्सीलाई प्रभावित गर्न पाउने छैन ।

  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

    काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्। सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार बनेका दसौदीले ४ हजार २६ मतभार प्राप्त गर्दै विजयी भए । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ तीन मत बदर भएको छ। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।

  • टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

    टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

    काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितलाई सघाउन मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ’, उनले भने, ‘त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । प्रचण्ड ओलीको बालकोटस्थित निवासमा पुगेका छन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।


    राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान एमालेको छ । गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको छ ।
    सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमालेले राष्ट्रपति पद आफूले लिन प्रयास गरिरहँदा कांग्रेस समेत राष्ट्रपति पदको दौडमा छ । प्रचण्ड आफ्नो रोजाइको व्यक्ति राष्ट्रपति बनेको हेर्न चाहन्छन् ।

  • टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

    टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

    काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय भन्दा माथि पुगेको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

    एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।

    विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्। हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्।

    उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ। अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७।७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । देशको पहाडी भभेगमा आंशिक बदली भएको छ । तराईका थोरै क्षेत्रमा कुहिरो लागेको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने भएको छ ।
    आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना छ ।

    प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार पनि प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नं. १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ । शुक्रबार पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ ।

  • युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

    युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

    काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले नेपाल सरकारलाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। प्रशासक पावरले मंगलबार सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग दिने घोषणा गरेकी हुन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुने युएसएआइडीले जनाएको छ।

    युएसएआइडीका अनुसार उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो। लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गर्ने भनिएको छ।

    नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धीहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने युएसएआइडीले जनाएको छ। साथै यसले मानव बेचबिखनविरूद्ध लड्न पनि सहयोग पुग्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

    उक्त लगानीमा प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म छुट्याएको छ। ‘उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्‍ट छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

  • नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको निर्णायक खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

    नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

  • प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान

    प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु पहिले फेसबुकमा नाम उल्लेख गरेका व्यवसायीमाथिको आरोपबारे भाटभटेनीका सञ्चालन मीनबहादुर गुरुङ, व्यवसायी उपेन्द्र महतोसहित विभिन्न व्यवसायी १२ जनासँग बयान लिएको छ ।

    जसमा पवन गोल्यानको गोल्यान एग्रो र नक्सालस्थित सान इन्टरनेसनल कलेजका प्रतिनिधिसँग, बालकुमारीस्थित क्याथफोर्ड कलेज र थापाथलीस्थित सुजुकी शोरुमका सञ्चालकसँग रहेका छन् । लामो फेसबुक स्ट्याटस र उनकी पत्नीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

    मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी बिटमा डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाइएको नेपाल प्रहरीको बिट महानगरले भत्काएको हो ।

    मंगलबार दिउँसो नगर प्रहरीसहित गएको टोलीले प्रहरी बिटमा डोजर चलाएको हो । उक्त बिटलाई अन्य ठाउँमा सार्ने सहमती भएपछि भत्काइएको नगर प्रहरीले जनाएको छ ।

    पछिल्लो समय महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रम तीव्र बनाएको छ ।

    यसअघि महानगरले नयाँ बानेश्वर, न्यूरोड, धोबिखोला करिडोर लगायत दर्जनौं ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइसकेको छ ।

  • उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?

    उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?

    काठमाडौं । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको हो ।

    नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि फार्ममा रहेका चार हजार पाँच सय कुखुरा र दुई हजार पाँचवटा अन्डा नष्ट गरिएको छ । बर्डफ्लु देखिएका अन्य दुई फार्मलाई निगरानीमा राखिएकाले मङ्गलबारसम्म नष्ट गरिसक्ने मन्त्रालयले जनाएको छ । खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धानबाट गत शुक्रबार पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

  • टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

    टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

    टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको आंकडा ४३ सय नाघेको छ । राज्य सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा मात्र २ हजार ९२१ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । १३ हजार २९३ मानिस घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवन ध्वस्त भएका छन्।

    राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताएका छन् । उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ। सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

    देशभरि हजारौं घाइते भएका छन्। टर्कीको भूकम्प प्रभावित क्षेत्रमा धेरै सिरियाली युद्ध शरणार्थीहरू पनि छन्। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार टर्कीले ३.६ मिलियन सिरियाली शरणार्थीलाई राखेको छ। जुन कुनै पनि अन्य देश भन्दा बढी छ। भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्धार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ। टर्की र सिरियाका उद्धारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन्।

  • युएसआइडी प्रमुख आज नेपाल आउँदै

    युएसआइडी प्रमुख आज नेपाल आउँदै

    काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

    राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम गरहेको छ । यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल हुनेछ ।

    पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त भेटघाटमा । यूएसएड र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।

    साथै, यूएसएडले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ । अर्थमन्त्रालय स्रोतका अनुसार पावरले यूएसएडको एउटा परियोजना समेत उद्घाटन गर्ने कार्यक्रमको तयारी भएको छ ।

  • यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत

    यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत

    काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ। यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो।

    आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरू पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगका पदाधिकारी नेपाल फर्किएका हुन्।

    उक्त फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। त्यो बेला सिंगापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययनसमेत भएको छ।

    विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ। उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगका सदस्यसचिव लामिछानेले बताए।

    आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो। आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो। आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए। उनीहरू अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन्

  • मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति

    मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने गरी सजाय सुनाएको छ । उनलाई सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका थियो ।

    माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो  । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

    पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।

  • पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध जिल्ला अदालत तनहुँमा परेको बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए।

  • प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी

    प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

    सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो । रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

    आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू शिक्षामन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमाका कार्कीले पदबाट राजीनामा दिएका थिए ।

    रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्यालले आइतबार राजीनामा दिएका थिए। रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राखेको छ।

    यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए।

  • राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

    राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

    काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो।

    माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।

  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

    राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

    काठमाडौं । भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

    लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

    उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए ।

    देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।

  • देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप

    देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप

    काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूह संस्थापन र इतर पक्षबीच झगडाबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

    शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

    स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा आफूसहित गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको शेखर समूहका आरोप छ ।

  • आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने

    आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत भएका छन् । विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक भएका हुन् ।

    नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका इन्चार्ज लक्ष्मण पन्तको नेतृत्वमा युरोप, दक्षिणपूर्व एसिया र पश्चिम एसियाका यूएई, कतार, साउदी अरबका प्रवास समन्वय समितिका सदस्यहरू तथा सम्बन्धित मुलुकमा रहेका राष्ट्रिय समितिका सदस्यहरूसहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रवासी नेपालीको हितमा आयोग गठनको माग गरिएको हो।

    प्रवासमा रहेका नेपालीका मागका विषयमा दशकौँदेखि आवाज उठाइए पनि आजसम्मका कुनै पनि सरकारले यसतर्फ ध्यान नदिएकाले दुःख भोग्न बाध्य भएको गुनासो प्रतिनिधिमण्डलका सहभागीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष व्यक्त गरे । इन्चार्ज पन्तका अनुसार प्रवासीका धेरै समस्या छन्। हाल कायम श्रम मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका आफ्ना अन्य जिम्मेवारी धेरै हुने र प्रवासीका समस्या समाधान गर्न पूर्ण अधिकार नभएका कारण समस्या बल्झिँदो अवस्था रहेका छन्।

    प्रवासी नेपालीलाई दोहोरो नागरिकताका विषयमा अझै पनि अन्योल छ। रेमिट्यान्समा निर्भर नेपालजस्तो देशमा छुट्टै मन्त्रालय वा त्यो नभए शक्तिशाली आयोग जरुरी भइसकेको भन्दै प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको थियो। प्रवासमा आफ्ना नागरिकलाई श्रममा पठाउने छिमेकी मुलुक भारतमा छुट्टै मन्त्रालय छ। श्रीलङ्कामा प्रवासी नागरिकको समस्या हेर्ने र समाधान गर्ने छुट्टै संयन्त्र छ। फिलिपिन्समा पनि त्यहाँको सरकारले शक्तिशाली आयोग बनाएर समस्या समाधान गरिरहेको छ।

  • नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन

    नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन

    काठमाडौं\बीबीसी । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताए। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताएका छन्।

    रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा केही घण्टा अघि मात्र रेज्निकोफले नयाँ आक्रमणबारे प्रतिक्रिया दिएका थिए। जेलेन्स्कीको दलका एक युक्रेनी राजनीतिज्ञका अनुसार उनको ठाउँमा सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभ नियुक्त हुनेछन्। रक्षामन्त्रालयमा भ्रष्टाचारसम्बन्धी घटनाको शृङ्खलाकाबीच यो परिवर्तन भएको हो। केही रक्षा अधिकारीहरूले सेनाका लागि खाद्यान्न खरिदका लागि तय गरिएको कोष हिनामिना गरेको आशङ्कासहित विवरणहरू सार्वजनिक भएका थिए। रेज्निकोफले ती विवरणको खण्डन गरेका छन्।

    युक्रेनी सांसद डेभिड अरखामियाले आइतवार युद्धले कर्मचारी सम्बन्धी नीतिहरू निर्देशित गर्नेू बताउँदै फेरबदलको घोषणा गरेका हुन्। युक्रेनमा पश्चिमी हतियार ल्याउने प्रयासमा खटिएका रेज्निकोफले अब स्ट्रयाटिजिक इन्डस्ट्रीजु मन्त्रीको जिम्मेवारी वहन गर्नेछन्। राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार विरोधी अभियानका रूपमा धेरै वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।

    यसअघिको पत्रकार सम्मेलनमा रेज्निकोफले तत्काल नयाँ आक्रमण गर्न रुससँग स्रोतहरू तयार नरहेको बताएका थिए। तर, फेब्रुअरी २४ मा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेको एक वर्षको पुगेको उपलक्ष्यमा त्यसो गर्न सक्ने बताएका हुन्। उनका अनुसार रुसले पूरै पूर्वी डोनबास कब्जा गर्नुका साथै युक्रेनको दक्षिणी भेगमा आक्रमण सुरु गर्ने ठानिएको छ।

    रक्षामन्त्रीले सोमवारदेखि युक्रेनी सेनाले जर्मन निर्मित लेपर्ड टू ट्याङ्कको तालिम सुरु गर्ने जानकारी दिए। रेज्निकोफले युक्रेनले १५० किलोमिटर परसम्म प्रहार गर्नसक्ने लामो दुरीका नयाँ क्षेप्यास्त्रहरू सुरक्षित गरेको तर ती रुसी भूभागमा प्रयोग नगरिने बताए। उनका अनुसार ती युक्रेन नियन्त्रित रुसी एकाइहरू विरुद्ध मात्र प्रयोग गरिने छ। ‘म हामीले यो युद्ध जित्ने कुरामा ढुक्क छु, रेज्निकोफले भने। तर, पश्चिमी लडाकु विमानहरू नआइपुगेको खण्डमा अझै धेरै मानिसहरूले ज्यान गुमाउने उनले बताए।

    युक्रेनमा पश्चिमी हतियारहरूको प्रवाहका बाबजुद बाख्मुत क्षेत्रमा रुसको प्रभाव बढ्दो छ। उसले त्यहाँ थप सेनाहरू पठाइरहेको छ। रुसमा भाडाको अर्धसैनिक समूह वाग्नरले यस क्षेत्रमा थुप्रै लडाइँहरूको नेतृत्व गरेको छ। उक्त समूहका प्रमुख येभगेनी प्रिगोजिनका अनुसार सहरका केही क्षेत्रहरूमा सडकैपिच्छे भयानक लडाइँहरू भएका छन् र युक्रेनका सशस्त्र सेनाहरू ूजित्नको लागि हरेक प्रयास गरिरहेका छन्।“

    रुसी सेनाले महिनौँदेखि बाख्मुत कब्जा गर्ने प्रयास गर्दै आएका छन्। रुसले करिब एक वर्षअघि युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछिको यो सबैभन्दा लामो युद्ध हो। डोनबास क्षेत्रलाई आफ्नो पूर्ण नियन्त्रणमा लिने रुसी उद्देश्यको पूर्तिका लागि उक्त भूभाग कब्जा गर्नु उसको लागि निकै महत्त्वपूर्ण छ। यसले हालैका महिनाहरूमा युक्रेनमा प्रभाव गुमाएको रुसको भाग्य परिवर्तनको समेत सङ्केत गर्न सक्छ।

    आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले भने ‘डोनेट्स्क क्षेत्रमा भयङ्कर युद्धहरू भइरहेका छन् र परिस्थिति कठिन छ।’ तर, आफूहरूसँग आफ्नो रक्षा गर्नु र जित्नुको विकल्प नभएको उनले बताए। यूकेको रक्षा मन्त्रालयले रुसी सेनाले बाख्मुतलाई घेरा हाल्दै जाँदा युक्रेनी सेनाहरू झन्झन् दबिँदै गएको जनाएको छ।

    उसका अनुसार त्यहाँ जाने दुई मुख्य सडकहरूमा आक्रमणको खतरा रहेको छ। फरक घटनाक्रममा उत्तर(पूर्वी सहर खार्किभमा आवासीय भवनहरूमा भएको आक्रमणमा पाँच जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै डोनेट्स्क क्षेत्रमा रकेट आक्रमणको क्रममा अन्य पाँच जना घाइते भएका क्षेत्रीय नेता पाभ्लो किरिलेन्कोले बताएका छन्।

  • गैंडाको संरक्षणमा ५ मुलुकबीच सहकार्य हुने

    गैंडाको संरक्षणमा ५ मुलुकबीच सहकार्य हुने

    काठमाडौं । गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति जुटेको छ । गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो । चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो सकिएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार बैठकले ‘एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ जारी गरेको । नेपाल, भारतमा रहेका ठूलो एकसिङ्गे गैँडा भुटानसम्मै ओहोरदोहोर गर्छन् भने इन्डोनेसिया र मलेसियामा पनि सानो खाले गैँडा पाइन्छ । नेपालमा चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटामा गरेर ७ सय ५२ वटा ठूलो एकसिङ्गे गैँडा रहेको तथ्याङ्क छ । नेपालले गैँडा संरक्षणमा महत्त्वपूर्ण सफलता हात पारे पनि बेलाबेला चोरी सिकारका घटना हुने गरेका छन्।