Category: समाचार

  • विश्वकपमा नकआउट समिकरण पुरा, कुन टीम कोसँग भिड्दै ?

    विश्वकपमा नकआउट समिकरण पुरा, कुन टीम कोसँग भिड्दै ?

    काठमाडौं । फिफा विश्वकप २०२२ मा समूह चरणका खेल सम्पन्न भएका छन् । यससँगै अब नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्ड भिडेका थिए । जसमा क्यामरुन र स्वीटजरल्याण्डले जित निकाले । जितका वावजुत क्यामरुन घर फर्कियो । सर्बियालाई ३–२ ले हराएको स्वीटजरल्याण्डले अन्तिम १६ मा स्थान बनायो । हारे पनि ब्राजिल समूह जी को विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

    २२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको छ ।हरेक समूहमा ४(४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ । हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् ।

    नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट पुग्नेमा युरोपबाट सर्वाधिक ८ राष्ट्र छन् । एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २÷२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् । समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरे ।
    कुन टिमको खेल कोसँग ?

    मंसिर १७
    नेदरल्याण्ड्स विरुद्ध अमेरिका

    अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

    मंसिर १८

    इंग्ल्याण्ड विरुद्ध सेनेगल

    फ्रान्स विरुद्ध पोल्याण्ड

    मंसिर १९ गते

    जापान विरुद्ध क्रोएसिया

    ब्राजिल विरुद्ध दक्षिण कोरिया

    मंसिर २० गते

    मोरक्को विरुद्ध स्पेन

    पोर्चुगल विरुद्ध स्वीटजरल्याण्ड

  • धनुषामा जन्ती बोकेको जिप दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    धनुषामा जन्ती बोकेको जिप दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    जनकपुर । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किदै गरेको जिप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृतकको पहिचान खुलिनसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

  • अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

    अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे मेयर बालेन र एमाले नेता भीम रावलबीच सवाल जवाफ भएको छ । मेयरको राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावलले आशंकासहित प्रश्न उठाएका थिए । बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको बताएका छन्। यस्तै अनुमति लिएपछि मात्रै भेट गरेको उनले दाबी गरेका छन्।

    त्यसअघि उनीसँगको भेट अनुमती बीना भएको भन्दै रावलले प्रश्न उठाएका थिए । ‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन ? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ’, भन्दै रावलले स्टाटस राखेका थिए।

    उक्त स्ट्याटसको जवाफमा बालेनले ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको’ बताएका छन् । ‘हामीले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेर भनेका थियौं,’ उनले लेखेका छन्, ‘त्यसपछि मात्रै हामीले भेट्ने अनुमति दिएका हौं।’

    बिहीबार अमेरिकाका राजदूत र बालेनको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटघाट भएको थियो। ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौं,’ बालेनले लेखेका छन्, ‘थप एमसिसी मार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौ ।’

  • रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

    रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परे अनुसार प्रहरीले अनुसन्धा थालेको हो ।

    मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमडौंंलाई त्यसबारे बुझ्न पत्राचार गरेको थियो । त्यसक्रममा ‘अनुसन्धान गर्नुपर्ने’ विषयहरु देखिएको भन्दै प्रशासनले छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको सञ्चारमाध्यमले जनाएका छन् । लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएका थिए । नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्यागेको कुनै औपचारिक प्रमाणपत्र नदेखाएको उजुरीमा उल्लेख छ ।

    त्यसरी नागरिकता त्याग गर्दा पनि कानूनतः पुर्नप्राप्तिको प्रक्रियामा जानुपर्नेमा उनले पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता र उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा उल्लेख छ । अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमन विभागको समस्या समाधान भएपछि अरु कुनै प्रक्रियामा नगएको लामिछानेले सार्वजनिक रुपमा भनेको उजुरीमा उल्लेख छ । त्यसैले लामिछानेले दल दर्ता गर्दा निर्वाचन आयोगलाई गुमराहमा राखेको दाबी उजुरीमा बताइएको छ ।

  • ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क

    ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क

    एजेन्सी । मानव मस्तिष्कलाई अहिलेसम्मको सबैभन्दा जटिल जैविक संरचनाका रुपमा लिइन्छ ।

    विज्ञानले मस्तिष्कलाई पूर्ण रूपमा नबुझेपनी न्यूरोसाइन्सको विस्तारित क्षेत्रमा अनुसन्धानकर्ताहरूले प्रगति गरिरहेका छन्। यसैक्रममा एलन मस्कले मानव मस्तिष्कमा चिप राखेर परीक्षण शुरु गर्न लागेका छन् ।

    मस्कको कम्पनी न्युरलिङ्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कको परीक्षण गर्ने भएको हो । बुधबार आयोजित शो एण्ड टेलु कार्यक्रममा एक प्रस्तुति दिँने क्रममा उनले मानिसको टाउकोमा चिप प्रत्यारोपण गरिने जानकारी दिए ।

    सिक्का आकारको न्यूरालिङ्क उपकरण, जसलाई लिङ्क भनिन्छ, एक सटीक सर्जिकल रोबोटद्वारा खोपडीमा फ्लश प्रत्यारोपण गरिन्छ।

    रोबोटले लिङ्कबाट केही न्युरोन्समा हजारौं लघु थ्रेडहरू जोड्दछ। प्रत्येक धागो मानिसको कपालको व्यासको चौथाई हुन्छ।

    चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । मस्कले भने कि कम्पनीका दुई एप्लिकेसनहरूले दृष्टि पुनर्स्थापना गर्ने लक्ष्य समेत राखेको छ ।

  • बालेनको एक्सन-‘आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी भए क्षतिपूर्ति तिर्नुपर्ने’

    बालेनको एक्सन-‘आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी भए क्षतिपूर्ति तिर्नुपर्ने’

    काठमाडौं । काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ त्यही पार्टी/समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ।

    महानगरले शुक्रवार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको कुनै संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य कसैले आन्दोलनबाट नोक्सानी, क्षति, नष्ट र अतिक्रमण गरेमा कारबाही नियम ल्याएको हो ।

    सामुदायिक सम्पत्तिमा नोक्सान पुर्‍याएमा कानूनबमोजिम कारबाही गरी क्षतिपुर्तिसमेत भर्ने महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको महानगरले उल्लेख गरेको छ ।

    त्यसैगरी, ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत तथा सम्भार संरक्षण गर्ने कानूनी दायित्त्वसमेत स्थानीय तहलाई तोकेको महानगरले जारी गरेको सूचनामा बताइएको छ ।

  • त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक वायुसेवाका उडान आजपनि दिनभर प्रभावित हुने

    त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक वायुसेवाका उडान आजपनि दिनभर प्रभावित हुने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज पनि प्रभावित हुने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान भएका उपकरणको परीक्षणका लागि बिहीवारदेखि भइरहेको क्यालिब्रेसन उडानका कारण आन्तरिक वायुसेवाको उडान प्रभावित हुनेछन् ।

    यसका लागि अहिले १० बजेदेखि १ बजेसम्म र २ बजेदेखि ५ बजेसम्मका लागि नोटिस टु एयरम्यान (नोटाम) जारी गरिएको छ । नोटामको समयमा विमानस्थलबाट हुने उडान तथा अवतरण हुँदैन ।

  • सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत

    सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनमा सहभागी हुने संकेत गरेका छन् । उनले बिहीबारबाट काठमाडौंमा शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका उनले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरे । बिहीबार नै गृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनले भेटेका छन् ।

    राउत तराईमा उदयमान शक्ति बनेका छन् । उनले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मत अन्तरले हराउँदै सप्तरी २ बाट जितेका हुन् । उनको दल राष्ट्रिय दल बनिसकेको छ । जसका कारण उनी अब गठबन्धनमा समेत बार्गेनिङ गर्न सक्ने शक्तिका रुपमा उदाएका छन् । उनले किसानका मागलाई प्राथमिकतमा राख्दै चुनावमा होमिएका थिए । जसका कारण उनको दललाई जनताले रुचाएका छन् ।

  • दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

    दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

    मतगणना शुरु हुन बाँकी तीन वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ । जस अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । शुक्रबार बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् ।

    हालसम्म ३६६७ मत गणना भइसकेको छ । प्रदेश सभा तर्फ प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् । प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।


    उता, बाजुरा र स्याङ्जा क्षेत्र नं. २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम लिएका छन् । बिहानको मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६ मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याइरहेका छन् ।

    स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् । गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ । यी तीन क्षेत्रमा विवादका कारण मतगणना रोकिएको थियो । दोलखाका १० क्षेत्रमा बिहीबार पुनः मतदान भएपछि अहिले धमाधम गणना भइरहेको छ ।

  • सीके राउत र प्रधानमन्त्रीबीच भेट

    सीके राउत र प्रधानमन्त्रीबीच भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।

    यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

  • नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ ।

  • काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने

    काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने

    काठमाडौं । काठमाडौँमा दोहोरी साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु ४ बजेसम्म खोल्न पाइने भएको छ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समय तोकेको छ ।

    जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् ।

    त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    यस्ता व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय तोकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

  • बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित

    बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित भएका छन् ।

    पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्दै ओन्दोलनमा उत्रिएका हुन् ।

    पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। बागबजार क्षेत्रमा महानगरले पार्किङ गर्न निषेध गरेको छ। यसअघि सो क्षेत्रको सडकमा पार्किङ गरिएका सवारीलाई महानगरले नियन्त्रणमा लिएको थियो।

  • नेपाल एयरलाइन्सले नयाँदिल्लीमा दैनिक दुई उडान गर्ने

    नेपाल एयरलाइन्सले नयाँदिल्लीमा दैनिक दुई उडान गर्ने

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान गर्ने भएको छ ।

    पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएकोमा अब फेरि साताको १४ उडान गर्ने भएको हो ।

    गत महिना कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ ।निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अब दैनिक दुई उडान गर्नेछ ।

    तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।

  • स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ

    स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज गुरुङ

    काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् ।

    नेकपा नेकपा (एमाले)की पद्माकुमारी अर्याललाई पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।

    कांग्रेसका गुरुङले पाँच हजार ३१४ मत पाएका छन् भने भने एमालेकी अर्यालको तीन हजार ९८७ मत पाएकी छिन् । यस्तै, स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ३८४ मत प्राप्त गरेका छन् ।

    अर्यालको स्थायी बसोबास रहेको वालिङ नगरपालिकाको वडा नं। १ मा समेत धनराज गुरुङले १९२ मतको अग्रता लिएका हुन् । । उक्त वडामा पद्मा अर्यालले अग्रता लिने एमालेको भनाइ थियो ।

  • सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

    सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।

    कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई ११२ मतले पराजित गरेका हुन् ।

    कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

    प्रदेशसभातर्फको गणनामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

  • दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी

    दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी

    काठमाडौं । दोलखाका १० निर्वाचन क्षेत्रमा आज निर्वाचन भइरहेको छ । विवादका कारण यी क्षेत्रको मतगणना हुन सकेको थिएन । आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान गराएको हो । बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

    ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

  • बैतडीमा एक युवती मृत फेला, एक घाइते

    बैतडीमा एक युवती मृत फेला, एक घाइते

    बैतडी । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहारको समेत घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेको प्रहरीको भनाई छ ।

    मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका रहेको बताइएको छ । उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको प्रहरीले जनाएको छ । खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

  • चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ

    चुनावपछि फ्रेस हुन सुकुटे’ पुगे प्रचण्ड, सुनकोसीमा र्‍याफ्टिङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे पुगेका छन् ।

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् ।

    सभामुख सापकोटा पार्टीमा नजिकका विश्वासपात्र हुन् । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

    सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्‍याफ्टिङ्ग पनि गरेका छन् । दाहाल सुकुटे स्थित सुकुटेबीच रिसोर्टमा बसेका छन्। अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ।

  • समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

    समानुपातिकतर्फ ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी थ्रेस होल्ड कटाउन संघर्षरत

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १ लाख ७१ हजार ३६३ मतगणना गरिएको छ।

    प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

    समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

    बुधवार ४:१५ बजेसम्मको गणना अनुसार एमाले २७ लाख २० हजार ६९२मतसहित शीर्ष स्थानमा रहेको छ ।

    नेपाली कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५५७ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५ मत पाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७८ मत पाएको छ । यस्तै जसपाले ३ लाख ८ हजार ९६४ मत पाएको छ ।

    जनमत पार्टीले ३ लाख ७६ हजार १९९ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले २ लाख ९० हजार १९६ मत ल्याएको छ ।

    नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३७, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ८३३ मत प्राप्त गरेका छन्।

    राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।

  • स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने, मत गणना गर्न आयोगको निर्देशन

    स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नहुने, मत गणना गर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

    निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतगणना सुचारू गर्न निर्देशन दिएको हो।

    नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।

    एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो।

    एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन। यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए।

  • एक करोड मत गन्दा एकीकृत समाजवादी थ्रेस होल्ड पार भएन, माओवादी र स्वतन्त्रपार्टीको हैसियत समान

    एक करोड मत गन्दा एकीकृत समाजवादी थ्रेस होल्ड पार भएन, माओवादी र स्वतन्त्रपार्टीको हैसियत समान

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४१ हजार १२८ मतगणना गरिएको छ।

    बुधवार बिहान १२:३५ बजेसम्मको गणना अनुसार एमाले २७ लाख ९९४ मतसहित शीर्ष स्थानमा रहेको छ ।

    नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४५ हजार ३४५ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत पाएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १४३ मत पाएको छ । यस्तै जसपाले ३ लाख ९६ हजार ४५१ मत पाएको छ ।

    जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले २ लाख ८२ हजार ६०६ मत ल्याएको छ ।

    नागरिक उन्मुक्ति पार्टीले दुई लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४८ हजार ७५६, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ६४३ मत प्राप्त गरेका छन्।

  • फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

    फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

    काठमाडौं । देशभर निर्वाचनको अन्तिम नतिजा आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म १६१ सिटको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको छ । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सबैभन्दा फराकिलो मत अन्तरले जित्ने सांसद बनेका छन् । उनी चितवन २ मा उम्मेदवार थिए । कुल ८४ हजार ३१५ मत खसेको यस क्षेत्रबाट लामिछानेले ४९ हजार ३०० अर्थात् ५८।.७ प्रतिशत मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राज्यमन्त्री उमेश श्रेष्ठले मात्र १४ हजार ९८८ मत पाए ।

    लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् । उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले जिते । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७४३ मत ल्याए ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २२९ मतान्तरले चुनाव जिते । रोल्पाबाट नेकपा एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरेका उनले ४१ हजार ७१४ मत पाए । बुढामगरले १६ हजार ४८५ मत ल्याए । मोरङ–३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरे । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराए ।

    रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले एमालेका कैलाश ढुंगेललाई १६ हजार ३६९ मतान्तरले हराए । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले जितिन् । गोरखा–१ मा कांग्रेसका राजेन्द्र बजगाईले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेको निर्वाचन आयोगको तथ्यांक छ ।

  • प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?

    प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?

    काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनयता ३ दिन भित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको थियो । तर, आज १० औं दिन सम्पन्न भइसक्दा समेत पुरै नतिजा आएको छैन । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।


    सुनसरी ४ मा मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडी छन् । कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत पाएका छन् । तर, दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । यसमध्ये कतिपय स्थानमा पुनः मतदान नै गर्नुपर्ने भएको छ ।

    मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७÷७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एकएक ठाउँमा जितेका छन् ।

  • कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

    कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आगामी प्रधानमन्त्रीमा गगन थापाको दावि रहनेमा एक मत भएका छन् । दुई महामन्त्रीबीच मंगलबार भेट भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरे । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताए । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिन मात्र नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्न आएको बताए ।

    उता, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्न आफ्नो आवश्यकता रहेको बताए । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए ।

  • केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

    केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा आक्रोससहित प्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले कडा प्रश्न गरेका हुन् । उनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा किन समस्या समाधान नगरेको भन्दै ओलीलाई प्रश्न गरेका छन् ।

    उनले भनेका छन्, ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन ।’ बालेन अगाडी लेख्छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’

    उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् । ‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ?’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।’

    मेयर बालेनले अब परिस्थिति फेरिइसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’, उनले चेतावनी दिएका छन् ।

  • एकीकृत समाजवादीले भन्यो-‘परिणाम हामीले सोचेको जस्तो छैन, तर सत्ता गठबन्धनमै रहन्छौं’

    एकीकृत समाजवादीले भन्यो-‘परिणाम हामीले सोचेको जस्तो छैन, तर सत्ता गठबन्धनमै रहन्छौं’

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ।

    निर्वाचन परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले परिणाम सोचेजस्तो नआए पनि गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो।

    ‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौं, यो परिणाम हामीले सोचेको जस्तो छैन,’ बैठकबारे प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

    चुनावको अन्तिम नतिजा आउन बाँकी रहेकाले विस्तृत समीक्षा पछि गरिने बताए। नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ।

  • थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन सर्वोच्चको आदेश

    थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ।

    न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै उक्त आरक्षणको नछुट्याउन आदेश गरेको हो ।

    ‘अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट गत कात्तिक २० मा जारी भएको अन्तरिम आदेश कायम रहनु वाञ्छनीय नहुँदा उक्त मितिको अन्तरिम आदेश रद्द गरिएको छ,’ आदेशमा उल्लेख छ ।

    आदेशमा प्रतिनिधित्व सुनिश्चिततामा विविधतामा कलष्टर छुट्याएको पदलाई सय प्रतिशत मान्दा थारु समुदायका लागि ६ दशमलव ६ प्रतिशत छुट्याउन नसक्ने उल्लेख छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव मधुकुमार मरासिनीले थारु कल्याणकारिणी सभाको केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरीविरुद्धको निवेदन दिएका थिए। थारु समुदायका व्यक्तिले मधेसी तथा आदिवासी र जनजाति दुवै क्लस्टरबाट सहभागिता जनाउन पाउने भएकाले प्रतिनिधित्व सुनिश्चितामा द्विविधा नभएको उल्लेख गर्र्दै अन्तरिम आदेश खारेजीको माग गरिएको थियो।

  • मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

    मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

    सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

    सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो ।

    सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ । गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ ।

  • समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान

    समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान

    बर्दीया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ ।

    गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उनको भनाइ छ ।

    सरकारले धानको समर्थन मूल्य निर्धारण गरे पनि केन्द्रीय कार्यालयबाट आवश्यक बजेट र निर्देशन नआएको र आफू त्यसको पर्खाइमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताए। उनले भने, ‘यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउन छौँ ।’

    एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरिया बर्दियाको तथ्याङ्क अनुसार यसवर्ष ५० हजार २५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्ष भन्दा बर्दियामा यस पटक धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । पश्चिम नेपालमा धेरै धान उत्पादन हुनेमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्छन् ।रासस