Category: समाचार

  • शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

    शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

    काठमाडौं । राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा भएको छ।

    बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन्। एकता घोषणा क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

    एकता घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने बताइएको छ।

  • नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा सामान्य बढोत्तरी भएको छ । मंगलबार १६ अंकले बढेको नेप्से आज ६ अंकले बढेको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले घटेर जम्मा ४८ करोडमा सीमित भएको छ ।

    बुधबार नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँ बराबरको १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ समूहको घटेको छ । माइक्रोफाइनान्स समूहकाे परिसूचक सबैभन्दा धेरै ०.९६ प्रतिशतले बढेको छ ।

    आज नेशनल माइक्रोफाइनान्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे २ करोड र रिडी पावर २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    बुधबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२० प्रतिशतले बढेको छ । त्यसैगरी, अभियान लघुवित्त ८.१९, सपोर्ट माइक्रोफाइनान्स ७.८०, न्यादी हाइड्रोपावर ५.३९, पञ्चकन्यामाइ हाइड्रो ४.२३, विजया लघुवित्त ४.२०, सामलिङ पावर, आरएसडीसी लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देविको पूजा

    आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देविको पूजा

    काठमाडौं । आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आरधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र रहन्छ । सोहीकारण देवीलाई चन्द्रघण्टा भनिएको मानिन्छ । चन्द्रघण्टा देवीको आराधना गरे शारीरिक र मानसिक कष्टबाट छुटकारा पाउने मान्यता छ ।

    नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना हुन्छ । नवरात्रभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ ।

  • सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान

    सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान

    सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान भएको छ । जिल्लाको कपुरकोटमा बुधबार बिहान जिप सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार जारी छ ।

  • सल्यानमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

    काठमाडौं । सल्यानमा बुधबार बिहान भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोटमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका ३ मुलपानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको हो ,। मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीको सनाखत भएको छैन । दुर्घटनामा सख्त घाइते एक जनाको उपचारका लागि दाङको तुलसीपुर लैजाने तयारी छ । जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको थियो । जीपमा ९ जना सवार थिए ।

  • आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?

    आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?

    काठमाडौं । आज राती १२ बजेबाट निर्वाचन आचारसंहित लागु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको हो । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ ।

    आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् ।

    संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । उनीहरुले आफ्नो कार्यालय र आवास कुनैपनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन् । आचारसंहिताले सरकारी कर्मचारीलाई कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरेको छ । कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।

    सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुनेछ । कुनै परियोजना वा विकास समितिमा आवद्ध कर्मचारीले पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नपाउने आचार संहितामा व्यवस्था छ ।

    निर्वाचनमा खटिने कर्मचारीले कुनै उम्मेदवारको पक्षविपक्ष लिन नहुने नियम बनाइएको छ । सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेद्वारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ । विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले तटस्थता अपनाउनुपर्नेछ । उनीहरुले कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।

    गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायतका काम गर्न पाउने छैनन् । यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ ।

    आचारसंहितामा राजनीतिक दलहरुले सभ्य र अनुशासित भई चुनाव प्रचारप्रसार गर्नुपर्ने नियम बनाइएको छ । प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।

    दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ र आयोगको अनुमतिपछि उनीहरुले हेलिकप्टर प्रयोग गर्न पाउने भएका छन् ।

    आचारसंहितामा प्रधानमन्त्रीदेखि स्थानीय तहको कार्यपालिका सदस्य यसरी मुख्य प्रचारक भएर प्रचार प्रसारमा हिँड्न बन्देज लगाइएको छ । कार्यपालिकाको पदमा नरहेका व्यक्तिमात्रै मुख्य प्रचारक बन्न सक्ने देखिएको छ ।

    दलहरुलाई प्रचारप्रसारका कार्यक्रम गर्दा एक अर्कालाई नबिथोल्न भनिएको छ । सार्वजनिक ठाउँमा दलको झण्डा र चिह्न राख्न नपाउने भएको छ । यस्ता कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।

    दलको कार्यालयमा समेत तोकिएको आकारमा भन्दा ठूला चुनाव चिह्न र झण्डा राख्न पाइने छैन । मनोनयन र घरदैलो कार्यक्रममा जाँदा बढीमा २५ जनाको टोली हुनुपर्ने नियम छ । त्यस्तो कार्यक्रममा बाजा, गाजा र झाँकी समावेश गर्न रोक लगाइएको छ । सवारीसाधन प्रयोगका क्रममा समेत निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।

    रेडियो, टिभीले तोकिएको समयावधिभित्र रहेर दलहरुको प्रचार सामग्री प्रशारण गर्न पाउनेछन् । तोकिएको सीमामा रहेर पत्रपत्रिकामा पनि प्रकाशन गर्न पाउनेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचन सामग्री प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।

    यसपालिको नयाँ व्यवस्था अनुसार, उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा नै अनुमानित खर्च रकम र त्यसको स्रोत खुलाउनुपर्नेछ । त्यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ र खर्च गर्ने पदाधिकारी तोक्नुपर्नेछ । त्यसको सबै विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । २५ हजारभन्दा बढी चन्दा लिएमा बैंकिङ च्यानलमात्रै प्रयोग गर्नुपर्नेछ ।

    आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्रका साथ सम्पत्ति विवरण समेत पेश गर्नुपर्ने नियम बनाएको छ । गोप्य रहने त्यस्तो विवरण उम्मेदवार निर्वाचित भएमा सार्वजनिक हुने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

    निर्वाचित हुन नसकेका उम्मेदवारहरुले सम्पत्ति विवरण फिर्ता लैजान पाउनेछन् । फिर्ता नलैजानेहरुको विवरण नष्ट गरिने आचार संहितामा उल्लेख छ ।

  • ब्यूतिने भयो कृषि औजार कारखाना, महाविर पुनको आविष्कार केन्द्रले पायो जिम्मेवारी

    ब्यूतिने भयो कृषि औजार कारखाना, महाविर पुनको आविष्कार केन्द्रले पायो जिम्मेवारी

    काठमाडौं । सरकारले कृषि औजार कारखाना ब्यूताउने भएको छ । आगामी १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले कारखाना जिम्मा लगाएको हो । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

    ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । । सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालनको सम्झौता गरेको अर्थ मन्त्रालयले जनाएको छ । तीन महिनाको अग्रिम सूचना दिएर भने दुई पक्षले जुनसुकै बेला सम्झौता रद्द गर्न सक्ने गरी सम्झौता भएको छ ।

    मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलो पटकलाई नेपाल सरकार अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन गर्नु पर्ने भएको छ । केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्री गर्ने समेत जिम्मा पाएको छ ।

    बिक्री–वितरणबाट प्राप्त रकम कारखानाको सञ्चालन एवं स्तरोन्नती गर्ने खर्च गरी प्रचलित कानुन बमोजिम करपछि रकममध्ये ५० प्रतिशत कोष खडा गरी बाँकी ५० प्रतिशत रकम वार्षिक रुपमा नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने समेत शर्तमा उल्लेख छ । कारखाना करिब तीन दशकदेखि बन्द रहेको थियो ।

    सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुसार आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । यसअघि मन्त्री शर्माले २१ जेठमा वीरगञ्ज पुगेर कारखानाको स्थलगत निरीक्षण गरेका थिए ।

    सम्झौतापछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिठ्ठा परेको जस्तो महसुस भएको बताए । आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता उनको छ ।

  • कोटेश्वर-सूर्यविनायक सडक रातैभर उज्यालो हुने, ४५० स्मार्ट लाइट जडान

    कोटेश्वर-सूर्यविनायक सडक रातैभर उज्यालो हुने, ४५० स्मार्ट लाइट जडान

    काठमाडौं । काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै खर्चमा कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरेको हो ।

    आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ ।

    काठमाडौं महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए ।

    ‘सडक बत्ती जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ, यसबाट सहरी सौन्दर्यता पनि बढेको छ,’ घिसिङले भने ।

    प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

    स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्को महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

    प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति जडान गरिरहेको छ ।

    यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

  • सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

    सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।

    आजै महानगरपालिकालेटुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी तथा फलफूल बजारको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ ।

    उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।

    उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी दिइन्। उनले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन्।

    उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन् । ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य बस्तु विक्रि गरिरहेको भेटिएमा हाम्रो हटलाईन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै रहनु भएकी उपमेयर डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ ।

    तपाईँहरुले खवर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ ।’ बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।

    उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी दिइन्। उनले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन्।

    ‘दशैंको समयमा धेरै अनियमितता हुने देखिएको छ। बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन्’, उनले भनिन् ‘कारबाहीभन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ। सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानुनी कारबाही गर्नेछौँ।’

    अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो। जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन्।

  • रातो स्टीकर लागेको खसी बोका खान अयोग्य, आजबाट स्वास्थ्य परीक्षण

    रातो स्टीकर लागेको खसी बोका खान अयोग्य, आजबाट स्वास्थ्य परीक्षण

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ । पशुसेवा विभागका अनुसार दशैंलाई लक्षित गरी खसीबोकाको स्वास्थ्य परीक्षण गरिने छ । दशैँमा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने आशंकाका बीच स्वास्थ्य परीक्षण गर्न लागिएको हो । आजदेखि १८ गते नवमीसम्म ५० जना पशु चिकित्सक विभिन्न बजारमा अनुगमनमा खटिने भएका छन् ।

    उनीहरुले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुनेगर्छ ।

    जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी आउँछ ।

  • रवीन्द्र मिश्रले विवेकशील पार्टीबाट दिए राजीनामा, राप्रपा जाने

    रवीन्द्र मिश्रले विवेकशील पार्टीबाट दिए राजीनामा, राप्रपा जाने

    काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा गरेका छन् । सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्। उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्। मिश्र राप्रपामा जाने तयारीमा छन्। उनले झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम सम्वर्द्धनवादी राष्ट्रवादी शक्तिको निर्माणमा आफु लागेको बताएका छन् ।

    पार्टी छाड्नु आफ्नो जीवनकै एक सबैभन्दा कठिनतम निर्णय भएको समेत उनको भनाई छ । लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय नभएको उनको भनाई छ

  • मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टी

    मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टी

    काठमाडौं । मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर एक जनाको मृत्यु भएको पुष्टी भएको छ । सोमबार दिउँसो हिउँ पहिरोमा परेर क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा हेलिकप्टरहरु पुगे पनि दिनभर मौसम प्रतिकुल भएपछि समस्या भएको पर्यटन विभागकी अधिकृत यशोदा अर्याललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । पहिरोमा परी १२ जना घाइते भएका थिए। तीमध्ये ९ जनाको उद्धार हुनै बाँकी छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

  • नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै

    नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै

    काठमाडौं । अब नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कोे अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । एयरलाइन्सले सोमबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको हो ।

    आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

    उनका अनुसार अब नेपाल एयरलाइन्सको वेबसाइटमार्फत विश्वको जुनसुकै कुनाबाट एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

    उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’

    नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

  • दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान

    दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान


    काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ ।

    यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो ।

    तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैंका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । दसैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

    यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।

    सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए ।

    महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ ।

    यातयात व्यवसायीले पनि दसैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

    अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारी साधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

  • मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

    मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

    काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।

    चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    पहिरोमा परि मनास्लु आरोहणका लागि गएका पाँच नेपाली आराही हिमपहिरोमा पारी वेपत्ता भएका भएका छन्।

    हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्।

    प्रहरीको अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्।

    बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर परिचालन गरिएको छ ।

    तर मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्।

    प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो।

  • पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टी

    पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टी

    काठमाडौं । थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २६२४ नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८२५ र एन्टिजेनबाट १७९९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    मन्त्रालयका अनुसार थप ८४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ११७८ पुगेको छ।

  • नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

    नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

    काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।

    काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस वर्ष डेंगुका बिरामीको संख्या २५ हजार ५४३ पुगिसकेको छ।

    यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौं उपत्यकामा १६ हजार बढी लाई डेंगु भएको छ ।

    सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् ।

    यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

    म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीका लागि छनोट प्रक्रिया थालिएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी छ । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । १४ असोजसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका छ ।

    छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने छ । असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म उनीहरुले तालिम हुनेछ । नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गरिन्छ ।

  • आजबाट सवारी साधनलाई रुट परमिट खुला

    आजबाट सवारी साधनलाई रुट परमिट खुला

    काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।

    आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।


    काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।

    आइतबार भक्तपुरको जगातीमा यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका २७ वटा भाडाका गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १२ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो ।


    नियन्त्रणमा लिएका १२ गाडीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने मात्रै नभइ उपत्यकाभित्रै चल्ने गाडीलाई लक्षित गरेर सुरक्षा जाँच बढाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उपत्यकामा दशैँका बेलामा सडक खाली हुँदा चालकले तीव्र गतिमा गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता प्रवृत्ति देखिएकाले थप सुरक्षा जाँच गर्न लागिएको कार्यालयले जनाएको छ ।

    यस्तै, आजदेखि छतमा यात्रा गर्न नदिन, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन र चालकले जाँडरक्सी खाएर गाडी चलाएको छरछैन भनेर कडाइका साथ जाँच हुँदैछ । यस्तै, यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन यात्रुलाई प्रहरीको अनुरोध छ ।

  • न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

    न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ।

    कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि ‘डाइभर्सन’ गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ। प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।

  • बडा दशैं शुरु, आज घटस्थापना

    बडा दशैं शुरु, आज घटस्थापना

    काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

    पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

    यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा सेवन गर्ने गरिएको छ ।

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० ः २३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादसैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

    नवरात्र भनेर समेत चिनिने दशैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताएए ।

    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

    असोज १९ गते देवी विसर्जनको साइत बिहान १० : ३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ स् ५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

    विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

    पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

    आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

    रासस

  • दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

    दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

    काठमाडौं । भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि हुँदा व्यापार घाटा साढे दुई खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा आयात २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यसअनुसार दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ अर्ब पुगेको हो । भन्सार विभागको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ ।

    तथ्यांकअनुसार भदौसम्म भएको कुल आयात गत आर्थिक वर्षको यसै महिनासम्मको तुलनामा १३.०१ प्रतिशतले कम हो । गत आवमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम भएको हो । गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो । चालु आवको पहिलो दुई महिनामा वैदेशिक व्यापारको आकार भने ३ खर्ब नाघेको छ ।

    तथ्यांक अनुसार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । पहिलो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । सबैभन्दा ठूलो व्यापार घाटा समेत यसै वस्तुमा रहेको छ ।

  • व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

    व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको गरेको हो ।

    उनलाई यसअघि मासिक २५ हजार दिइन्थ्यो । त्यसलाई वृद्धि गरी ५० हजार पुर्‍याइएको हो ।

    त्यस्तै वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नर्स उपलब्ध गराउने निर्णय गरिएको छ ।

    ७ असोजमा गरेको मन्त्रिपरिषद्को निर्णयमा दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकट क्षेत्र घोषणा गर्नेसहितका विभिन्न १३ निर्णय गरेको छ ।

  • गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

    गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ ।

    राष्ट्रपति विद्या देवी भण्डारीले संसद्‍को दुवै सदनबाट पारित सो नागरिकता विधेयकलाई रोकेपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू लगायत सम्बन्धित सबै समक्ष आग्रह गरेको हो ।

    संघका प्रवक्ताद्वय शिवकुमार बरुवाल र सोम सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपाल र नेपालीको समृद्धिका लागि गैरआवासीय नेपाली संघ नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज लगायत समस्त नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    विज्ञप्तिमा दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूकाबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रूप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरूलाई दुखित बनाएको उल्लेख छ ।

    विज्ञप्तिको पूर्णपाठ

    नेपालको संविधान २०७२ को धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सुनिश्चित गरिएको नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, संसद्‍को दुवै सदनबाट पारित हुँदा हामी सम्पूर्ण गैरआवासीय नेपालीहरू अत्यन्तै हर्षित भएका थियौं ।

    दुवै सदनबाट पारित उक्त विधेयकले गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र गैरआवासीय नेपालीहरूसँग रहेको सीप, ज्ञान, साधन र श्रोतको लगानी नेपालमा भित्र्याउन सहज बनाउने कुरामा हामी विश्वस्त छौं ।

    दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूकाबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरूलाई दुखित बनाएको छ ।

    संविधान जारी भएको सात वर्ष सम्म पनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून बन्न नसकिरहेको परिस्थितिमा सवै पक्षहरूको अथक प्रयासबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुवै सदनबाट पारित भैसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरू बन्न ढिलाई हुने अवस्थाको सिर्जना प्रति गैरआवासीय नेपालीहरू अत्यन्तै चिन्तित छन् र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ ले ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको छ ।

    संघ नेपालको संविधान २०७२ को धारा १४ ले व्यवस्था गरे अनुसार नै गैरआवासीय नेपाली नागरिकताका लागि निरन्तर प्रयासरत रहने छ र छिट्टै यो विषयले निकास पाउने कुरामा विश्वस्त छ ।

    गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ र यसको गम्भीरतालाई ध्यान दिँदै सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई केही समय धैर्यधारण गरी दिनु हुन हार्दिक अपील गर्दछ ।

    नेपाल र नेपालीको समृद्धिका लागि गैरआवासीय नेपाली संघ नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज लगायत समस्त नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि गैरआवासीय नेपाली संघ नेपाल सरकार, नेपालका राजनीतिक दलहरू लगायत सम्बन्धित सबै समक्ष हार्दिक आग्रह गर्दछ ।

    शिव कुमार बरुवाल
    सोम सापकोटा
    प्रवक्ता

  • अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

    अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

    काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

    नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।

    सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिए ।

    यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राख्नुपर्ने भएको छ ।

    होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका ४०० भन्दा बढी होटल व्यवसायी आबद्ध छन् ।

  • नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

    नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्शमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

    न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो ।

    इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ। सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ।

    संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए।

    नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्।

    राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।

  • बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

    बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको वसुन्धारामा गत राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राति पौने २ बजे बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनी महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग तिलिङ्गेटारमा प्रहरी कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

    आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

    काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक दलबीच छलफल गर्दैछ । आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाइएको हो।


    आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो।

  • आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

    आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज नेपालको सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

    अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

    काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको हो ।

    तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ ग्रिडका प्रमुख ई. विनोद लोहनीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । लोहनीका अनुसार अरिङ्गालको गोला पोलिसकिएकाले आइतबार बिहानबाट तार जोड्ने काम सुरु हुँदैछ । मातातीर्थ(हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् । त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो ।