Category: समाचार

  • जनकपुरमा ओलीको रेल सवारी

    जनकपुरमा ओलीको रेल सवारी

    जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा नेपालको रेल चढेका छन् । उनले जनकपुर–जयनगर रेल चढेका हुन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिनु परेपछि जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगर गुडेको छ ।

    पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उनले टिकट नै किनेका थिए । काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

  • बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

    बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँगको सहकार्य लामो समयसम्म जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्म मात्र नभएको बताए । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रचण्डले देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनु पर्छ भनेर सहकार्य गरिएको बताए ।

    संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताए । प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनको भनाई छ । प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको बताए ।

  • अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

    अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ ।

    शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो ।

    अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ ।

    नापी अधिकृत उत्तम भट्टराईसहितको टोलीले रेखांकन गरेसँगै महानगरको डोजरले सो क्षेत्रमा रहेका टहरा र संरचना भत्काउ शुरु गरेको हो ।

    नदी उकासको सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको हो ।

    आजै थप संरचना भत्काउने तयारी भइरहेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

  • म्यादी प्रहरीमा दोब्बर आवेदन

    म्यादी प्रहरीमा दोब्बर आवेदन

    काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर भन्दा बढीले आवेदन परेको नेपाल प्रहरीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो । आवेदन भने २ लाख ३२ हजार ८८ जनाको परेको छ । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

    आवेदन दिने म्याद बिहीबार सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी गराएका छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

    मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, वाग्मतीबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५०, प्रदेश १ बाट ३५ हजार ८ सय २६ र काठमाडौं उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् ।

    दरखास्त दिने सबैलाई शुक्रबार सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउँछन् ।

  • मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

    काठमाडौं । बिहीबार मकवानपुरमा बस दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा एक जनाको सनाखत भएको छैन । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका मकवानपुर प्रहरीले जनाएको छ । बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो ।

  • नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

    नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दरर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।
    राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको छ ।


    राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै सर्वोच्चमा कानुन व्यवसायी, कानुनका विद्यार्थी र सर्वसाधारणले समेत रिट हालेका छन् । अधिवक्ता सुनील रञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले तोकेको १५ दिनसम्म पनि प्रमाणीकरण गरेकी छैनन् । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ ९४०बमोजिम संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेश माग गरिएको छ । त्यस्तै विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई स्वविवेकको अधिकार संविधानले नदिएको उल्लेख गरेका छन् । उनीहरुले रिटलाई अग्राधिकार दिन पनि माग गरेका छन् ।

  • दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

    दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

    दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताएका छन् । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

  • रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

    रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

    रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटनामा परेको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

    काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ । मृतकको सनाखत भइसकेको छैन ।

  • प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

    प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच पूर्वआइजिपी खनाल एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे ।

    कार्यक्रममा पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मिया लगायतका व्यक्तिहरु पनि एमाले प्रवेश गरेका छन् ।

    खनाल प्रहरीमा रहँदै ओली निकट मानिन्थे । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।

  • काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

    काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो।

    दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

    दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई हेटौंडाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसका चालक भने फरार छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

  • डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

    डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

    काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

    तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, काठमाडौंमा ५ हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ५ हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

    तथ्यांक अनुसार हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १९ हजार ७६६ पुगेको छ । डेंगुको कारण यो वर्ष २५ जनाको मृत्यु भएको भइसकेको छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

    यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

  • वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

    वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ।

    महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो।

    बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।

    त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न लागेको महानगरपपालिकाका प्रहरीले जनाएको छ ।

    फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।

    वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो।

  • कपन आगलागीमा ज्यान गुमाउने तीन जनाकै पहिचान

    कपन आगलागीमा ज्यान गुमाउने तीन जनाकै पहिचान

    काठमाडौं । काठमाडौंको कपनमा भिषण आगलागीमा परी ज्यान गुमाउने तीन जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाण्डौ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको छ ।

    ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार जारी छ । बुढानीलकण्ठ नगरपालिका– ११ कपनमा बुधबार बेलुका आगलागी भएको हो ।

  • आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै

    आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन थाल्दैछ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

    थुनुवा\कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । अस्थायी मतदात नामावलीमा नाम समावेश गर्न (प्रदेश\जिल्ला निर्वाचन अधिकारी) को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्नेछ ।

    अस्थायी मतदाताको विवरण रुजु गरी कात्तिक १ गते सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने तालिका छ ।

    कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने, दाबी विरोधको निवेदन उपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

    संकलित अस्थायी मतदाता नामावली तथा निर्धारित मापदण्डका आधारमा अस्थायी मतदान केन्द्रको सिफारिस जिल्ला तहमा रहेको अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिले गर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

  • खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु

    खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु

    दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो । उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा खोला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

  • कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक

    कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक

    काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन भएको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य रहेका छन् । बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णग गरेको छ।

    उक्त उपसमितिले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नेछ ।
    यस्तै छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नविनता’ को दृष्टि केन्द्रमा राखेर ‘नेपाली कांग्रेसको घोषणापत्र’ निर्माण गर्ने घोषणापत्र तयारी समितिले जनाएको छ । बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सदस्य सचिव डा.प्रदिप पराजुलीले जानकारी दिए ।

  • कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

    कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित एक घरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । कपनको राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी रहेको घरमाआगलागी भएको हो । घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    एजेन्सी सञ्चालकले भुइँतलामा राखेका सिलिन्डर पड्किएको र त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल उद्धार गरिएको बताइएको छ । शव टिचिङ अस्पतालमा लगिएको छ । मृतकको पहिचान भइसकेको छैन । दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी भने नियन्त्रणमा लिइएको छ ।

  • कपनमा भिषण आगलागी, एक जनाको मृत्यु

    कपनमा भिषण आगलागी, एक जनाको मृत्यु

    काठमाडौं । कपनको एक घरमा भीषण आगलागी भएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास बुधबार राती अबेरसम्म जारी छ । कपनको राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डर पड्किएर ठूलो क्षति भएको प्रहरीको अनुमान छ ।

    घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

  • यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था

    यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

    महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् ।

    महनगरले १० दिन भित्रमा सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा/ सम्पत्ति कर र सोको जरिवाना बुझाउन आग्रह गरेको हो।

    महानगरले बहालमा लगाएको भए बहालमा लिने दिने बीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल कर सहित बुझाउन अनुरोध गरेको छ।

    १० दिन भित्रमा नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गर्ने भनेको छ।v पछिल्लो समय महानगरले लामो समयदेखि कर नबुझाउने संघसंस्थाहरूबाट राजस्व संकलन गरिरहेको छ ।

    1. बुद्धबारी कम्प्लेक्स, वडा नं १२,२०७३
    2. सिग्नेचर अपार्टमेन्ट, वडा नं १२,
    3. काठमाडौं इन्जिनियरिङ्ग कलेज
    4. नेपाल रेडक्रस सोसाइटी, वडा नं १३,२८,
    5. ब्लु बर्ड ईन्भेष्टमेन्ट, वडा नं १३,
    6. होटल प्लाटिनियम (महावीर प्यालेस ) वडा नं १३,
    7. आदर कम्प्लेक्स, बल्खु, वडा नं १४,
    8. ब्याट्री कारखाना, बालाजु, वडा नं १६,
    9. सिद्धार्थ वनस्थली स्कूल, वडा नं १६,
    10. एडभान्स अटोमोबाइल्स प्रा.लि., वडा नं २०,
    11. भि.जि. अटोमोबाइल्स प्रा.लि., वडा नं २०,
    12. आदर्श नगर बिजनेश प्रा.लि., वडा नं २२,
    13. रञ्जना ट्रेड सेन्टर, वडा नं २२,
    14. नेपाल स्काउट, वडा नं २६,
    15. नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडीज प्रा.लि, पुतलीसडक, वडा नं २८,
    16. नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशन प्रा. लि., पुतलीसडक, वडा नं २८,
    17. स्टार होल्डीङ्ग, पुतलीसडक, वडा नं ३०,
    18. पुण्य मेन्सन प्रा.लि, पुतलीसडक, वडा नं ३०,
    19. रिद्धिसिद्धि डेभलपर्स, वडा नं ३२,
    20. वरुण वेभरेज नेपाल प्रा.लि., वडा नं ३२,
    21. रविन्द्र बहादुर मल्ल, वडा नं १,
    22. सुभाष कुमार घिमिरे / सानुभाई बखुन्छे, वडा नं १,
    23. मसिना अमात्य, लाजिम्पाट वडा नं १,
    24. रविना श्रेष्ठ, लाजिम्पाट, वडा नं २,
    25. शिशु अर्याल, वडा नं २,३१,
    26. योगनाथ पौडेल, वडा नं १६,
    27. प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार, वडा नं २०,
    28. बसुन्धरा तुलाधर, वडा नं २२,
    29. पुरुषोत्तम संघई, वडा नं २८,
    30. किरण संघई, वडा नं २८ काठमाडौं ।
    31. जय नेपाल हल, हात्तिसार, वडा नं १,
    32. इम्पेरियल अपार्टमेन्ट, वडा नं १, –
    33. सगरमाथा इन्स्योरेन्स क. लि, वडा नं १,
    34. ग्लोबल ट्रेडिङ्ग कन्सर्न, वडा नं १,
    35. पुजा इन्टरप्राइजेज प्रा.लि. वडा नं १,
    36. ल्याण्डमार्क होटल, वडा नं १,
    37. ॐ सान इन्टरनेशनल कलेज, वडा नं ७,
    38. क्लर्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, वडा नं ११,
    39. सिभिल मल, सुन्धारा, वडा नं ११,
    40. सि.टि.सि मल, सुन्धारा, वडा नं ११,
    41. एन आर टी क्लव, वडा नं ११, काठमाडौ ।
  • दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन

    दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन

    काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २ , सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ र धादिङमा १ जनाको मृत्यु भएको बताएका छन् ।

    यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती मध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

    यसैगरी, काठमाडौंमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

    ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

    काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएकोमा राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै वक्तव्य जारी गरेको छ ।

    बैठकपछि जारी गरेको धारणामा भनिएको छ, ‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ।’

    मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।

    राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेको भन्दै अहिले आलोचना भइरहेको छ। साउन २९ गते भण्डारीले विधेयकलाई आफ्नो सन्देश सहित पुन: संसदमै पठाएकी थिइन।

    संसदका दुवै सदनबाट पारित गरेर फेरि सरकारले विधेयक प्रमाणिकरणक लागि भण्डारीलाई भदौ २० मा पठाएको थियो।

  • सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै

    सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे सत्तारुढ दलबीच छलफल हुने भएको छ । सत्तारुद दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने थियो । सभामुखले २० भदौमा पठाएका थिए ।

    तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण नभएपछि नेपालमा नयाँ बहस प्रारम्भ भएको छ । बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ ।

  • धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

    धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन

    काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आज सेनाको हेलिकप्टर धनगढी पुगेको थियो । स्काई ट्रकबाट डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने सरकारको प्रयास असफल भएको छ ।

    उता, डा. केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको बताइएको छ । बुधबार फेरि वार्ता हुने भएको छ । ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

  • गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति

    गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति

    काठमाडौं । अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरेको छ ।
    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।

    सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो । उनलाई ‘मेड इन यूएस’ लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको पाइएको छ । उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

  • याङ्ग्री र लार्केको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउन सुरू

    याङ्ग्री र लार्केको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउन सुरू

    काठमाडौं । मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ ।

    सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६० र १ हजार ८०० मिलिमिटर (एमएम) का ठूला पाइप बिच्छ्याउन थालिएको हो ।

    दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो ।

    पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा १ हजार ४०० मिलिमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    दोस्रो चरणमा १ हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले जानकारी दिए ।

    सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप बिच्छ्याइने छ । साँढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने १ हजार ६०० मिलिमिटरको पाइप बिच्छ्याइने छ । याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उनले सुनाए।

    वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।

    हवास उई कङ्काई कम्पनी जेभीले पाइप बिच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । रु दुई अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए ।

    सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप बिच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप बिच्छ्याइनेछ ।

  • नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका

    नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका

    काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

    तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, काठमाडौंमा ४ हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ ।

    यस्तै, दाङमा एक हजार १४९, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२ तथा काभ्रेमा १५६ जनामा संक्रमण पुष्टी भएकोे छ ।

    अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार ४९४ पुगेको छ । डेंगुको कारण यो वर्ष २१जनाको मृत्यु भएको भइसकेको छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ । सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

    यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

  • चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’

    चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’

    काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो ।

    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए ।

    ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ ।

    यस्तै, चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ।

    कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ ।

    कार्यालयका प्रवक्ता भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए ।

  • शेयर बजारमा उच्च अंकको गिरावट कायमै, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    शेयर बजारमा उच्च अंकको गिरावट कायमै, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ ।
    लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ ।

    साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । आइतवार १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५ करोड बढीको शेयर किनबेच भएको छ ।

    नेप्सेका अनुसार कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यसैगरी, बरुण हाइड्रो ८.१९, ग्रीन डेभलपमेन्ट बैंक ७.९४, समृद्धि फाइनान्स ६.७२, अपर सोलु ६.६५, नारायणी विकास बैंक ६.५५, सिनर्जी पावर र हिमालयन ऊर्जाको शेयर मूल्य ६.२१ प्रतिशतले घटेको छ ।

  • ४८ दलले बुझाए समानुपातिकको बन्द सूची

    ४८ दलले बुझाए समानुपातिकको बन्द सूची

    काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ ।

    समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो । प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

  • गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु

    गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय स्रोतलाइ उदुत गर्दै स्थानीय संचार माध्यमले लेखेका छन् । 

    रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।