Category: समाचार

  • देशभर ठूलो वर्षको सम्भावना

    देशभर ठूलो वर्षको सम्भावना

    काठमाडौं । न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ । महाशाखाका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ ।

    आइतबारदेखि भने यसको प्रभाव कम भए पनि पानी पर्ने क्रम भने रोकिने छैन । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा उल्लेख छ ।


    पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

  • एक वर्षमा दोब्बरले बढ्यो महँगी दर

    एक वर्षमा दोब्बरले बढ्यो महँगी दर

    काठमाडौं । नेपालमा एक वर्षमा महंगी दोब्बरले बढेको छ । गत वर्ष साउनको तुलनामा यस वर्षको साउनमा महँगी झन्डै दोब्बरले बढेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत मात्र थियो ।

    साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य ९.१८ प्रतिशत रहेको छ । खाद्यतर्फ सबैभन्दा धेरै घिउ तथा तेलको १९.५८ प्रतिशत र गैरखाद्यतर्फ यातायात क्षेत्रको २३.८८ प्रतिशत मूल्य बढेको छ ।

  • विदेशी मुद्राको सञ्चितिबाट वस्तु तथा सेवा आयात गर्न सक्ने समय बढ्यो

    विदेशी मुद्राको सञ्चितिबाट वस्तु तथा सेवा आयात गर्न सक्ने समय बढ्यो

    काठमाडौं । विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो । असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो ।

    त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ । सरकारले वैशाखदेखि विभिन्न १० वटा वस्तुको आयातमा सर्तसहित कडाइ गरेको थियो । यसको प्रभावले आयातको परिमाण घटेको हो । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २९ करोड रुपियाँ बराबरको मात्र भएको छ ।

    अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा आव २०७९÷८० को साउनमा कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ । साउनमा निर्यात पनि घटेको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा कुल निर्यातमा २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपियाँ मात्र भएको छ । आयात घट्दा व्यापार घाटा १०.४ प्रतिशतले घटेर एक खर्ब १६ अर्ब रुपियाँ कायम भएको छ ।

    आयात घट्दा मुलुकबाट बाहिरिने रकम पनि घटेकाले त्यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थितिमा परेको देखिएको छ । साउनमा चालू खाता घाटा १६ अर्ब २६ करोड रुपियाँ पुगेको छ जब कि गत वर्ष साउनमा यस्तो घाटा ४७ अर्ब २९ करोड रुपियाँ थियो । त्यस्तै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो साउनमा यस्तो स्थिति ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा थियो ।

  • काठमाडौं महानगरमा डेङ्गु विरुद्ध हटलाइट सेवा शुरु

    काठमाडौं महानगरमा डेङ्गु विरुद्ध हटलाइट सेवा शुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ ।
    संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

    उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका छन् ।

    डेंगु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको भन्दै मेयर बालेनले डेंगु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

  • काठमाडौं महानगर विरुद्ध आन्दोलित एमालेको तेस्रो शक्तिशाली संगठन जिफन्ट निकट फुटपाथ व्यापारी

    काठमाडौं महानगर विरुद्ध आन्दोलित एमालेको तेस्रो शक्तिशाली संगठन जिफन्ट निकट फुटपाथ व्यापारी


    काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अतिक्रमण खाली गराउने अभियानलाई एमालेका नेताहरूले खुलेरै विरोध गरिरहेका छन् ।

    नेता महेश बस्नेत बालेनको यो अभियानलै ठाडो चुनौती दिँदै आएका छन् । एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेका जिफन्टको अध्यक्ष हुन् विनोद श्रेष्ठ । गोदावरीमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट पुनः विनोद श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका छन् ।

    त्यही जिफन्टको नेतृत्वमा महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन् ।

    जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

    जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरे ।

    महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ।

    सडक तथा गल्लीहरूमा व्यापार गर्ने व्यवसायीहरुको नाममा आन्दोलन चर्काउन सक्रिय मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेकपा एमालेको जन वर्गीय संगठन हो । जिफन्टलाई एमालेले युवा संघ, अनेरास्ववियु पछि तेस्रो शक्तिशाली संगठनको रुपमा मान्यता दिएको छ ।

  • विप्लवका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता

    विप्लवका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता

    काठमाडौं । सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ।

    भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेकपाका नेता-कार्यकतामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै गत २७ भदौको मन्त्रिपरिषद्ले मुद्दा खारेज गरेको दाबी गरेको छ।

    सरकारको यो निर्णयसँगै जेलमा रहेका नेकपाका ४० नेता कार्यकर्ता रिहा हुने बाटो खुलेको छ भने विप्लवसहितका नेतामाथि लागेको मुद्दाहरु फिर्ता हुने भएको छ ।

    कतृत्व्य ज्यानदेखि, राज्य विप्लव, संगठित, हातहतियार तथा खरखजना, बिस्फोटक पदार्थलगायतका मुद्दा नेकपाका नेता-कार्यकतामाथि लागेको छ ।

    सरकारको निर्णयलाई नेपाल कम्युनिस्ट पार्टीले स्वागत समेत गरेको छ। ‘देउवा सरकारको यो निर्णयलाई नेपाल कम्युनिष्ट पार्टी स्वागत गर्दछ। प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री गोबिन्द बन्दी कोइराला र महान्यायधिवत्ता खम्मबहादुर खातीलगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

    नेपाल कम्युनिष्ट पार्टीको धारणा

    १) नेपाल कम्युनिष्ट पार्टी र केपी ओली नेतृत्वको सरकार वीच वार्ता भई २०७७ फाल्गण २१ गते तिन वुँदे सहमतिमा हस्ताक्षर भएको विषय नेपाली राजनीतिमा स्थापित नै छ । अपशोच सहमति भएको पाँच महिनासम्म चलेको ओली सरकार सहमति कार्यान्वयन नगरेरै विगठन भयो ।

    २) शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनेको तेस्रो दिनमा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. विप्लव र प्रवत्ता क. प्रकाण्ड वीच वार्ता भई तिन वुँदे सहमति प्रति सरकार प्रतिबद्ध रही कार्यान्वयन गर्ने सहमति भएको थियो ।

    ३) सहमति कार्यान्वयनको उदेश्यमा प्रधानमन्त्री देउवा, गृहमन्त्री वालकृष्ण खाड र नेकपाका वार्ता टोली प्रम्ुख क. प्रकाण्ड वीच वालुवाटारमा भएको भेटवार्तामा तीन वुँदे सहमति कार्यान्वयनको प्रकृया अगाडी बढाउन देउवा सरकारका तर्फवाट गृहमन्त्री वालकृष्ण खाणलाई जिम्मा दिने सहमति भयो ।

    ४) तत् पश्चात नेकपा र सरकारको वार्ता टोलीवीच तिन वुँदे सहमति कार्यान्वयन, मुद्धा खारेजी र बन्दी नेता ÷कार्यकर्ता रिहा गर्ने विषयमा पटक पटक वार्ता र सहमति भई कार्यान्वयनको प्रकृया अगाडी बढी नै राखेको थियो । यसै वीचमा ललितपुर जिल्ला अदालतले २०७९ साउन ६ गते निर्णय गरी १६ गते सार्वजनिक गरेको नेकपाका महासचिव क. विप्लव, प्रवत्ता क. प्रकाण्ड लगायतका नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि वार्ता र सहमतिवाट हासिल भएका उपलव्धीहरु माथी तुषारापात भयो । देशको राजनीतिक परिस्थिति वार्ता र सहमतिका विरुद्ध बन्न थाल्यो । यसले नेकपा, नेपाली जनता र वार्ताद्धारा तिन वुँदे सहमति यथासिघ्र कार्यान्वयन होस भन्ने भावना र चाहनामा गंभिर आशंका, चिन्ता र अविश्वास पैदा गर्यो । अवस्था पुरै नकरात्मक दिशातिर जान थाल्यो ।

    ५) विषय र परिस्थितिको यही गंभिर्यतालाई दृष्टिगत गरी २०७९ भाद्र २२ गते गृहमन्त्री बालकृष्ण खाणसंगको भेटवार्ता र भाद्र २३ गते प्रधानमन्त्री देउवा लगायतको सरकारी टोलीसंगको भेटवार्ता एवं सहमति अनुसार देउवा सरकार तीन वुँदे सहमति प्रति प्रतिवद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारुकताका साथ अगाडी वढाउने र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रीपरिषद्को वैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायीक प्रकृतिका मुद्धाहरुलाई यथाशिघ्र फर्छ्योट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को वैठकले निर्णय गरेको छ । सरकार र नेकपा वीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयले तिन वुँदे सहमति कार्यान्वयनलाई गु्णात्मकता प्रदान गरेको छ ।

    ६) देउवा सरकारको यो निर्णयलाई नेपाल कम्युनिष्ट पार्टी स्वागत गर्दछ । प्रधानमन्त्री शेर वहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाण, कानुन मन्त्री गोबिन्द बन्दी कोईराला र महान्यायधिवत्ता खम्म बहादुर खाती लगायत वार्ता प्रकृयामा सहभागी सवैलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।

    ७) तिन वुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिष्ट पार्टीको दायीत्व प्रति पार्टी इमान्दार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरसः कार्यान्वयन गर्न दृढ भएको कुरापनि स्पष्ट गर्दछौँ ।

    क्रान्तिकारी अभिवादन सहित !

    ३० भाद्र २०७९

    ………

    प्रकाण्ड

    प्रवक्ता

  • काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

    काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

    काभ्रे । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरोले ठुलीमायाँको घरमा रहेका केहि बाख्रा समेत पुरिएको छ । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो ।

  • १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

    १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

    सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

    ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ। सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

  • भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

    भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुतावासका अनुसार भेटका क्रममा पौड्याल र विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुरा भएको छ ।

    यसअघि मंगलबार पौडेल र क्वात्राबीच सचिवस्तरीय बैठक सम्पन्न भैसकेको छ। बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ । अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ । बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

  • आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

    आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

    प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन । प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने आजबाट भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ ।

    मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ । यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

    संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

    काठमाडौं । नेपालमा नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाल्ने सम्भावित कदमका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । विदेशमा बस्ने नेपाली मूलका नागरिकबीच पनि यो विधेयकका विषयमा महत्वपूर्ण हेराइ र चर्चा रहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा यो विधेयकले नै टुंगो लाग्ने भएका कारणले विदेशमा बस्ने नेपाली मूलका नागरिकलाई थप चासो र सरोकार रहनु स्वभाविक हो । नेपालमै रहेका अनागरिकका लागि त झन् यो महत्वपूर्ण हुने नै भयो ।
    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७९को विधेयक दोस्रो पटक राष्ट्रपति कार्यालय पुगेको १५ दिन पुग्नै लागेको छ । तर, राष्ट्रपतिबाट भएका विभिन्न प्रकारका परामर्सले विभिन्न प्रकारका आशंका व्यक्त भएका छन् । पहिलो पटक साउन १६ गते राष्ट्रपति कार्यालय पुगेको विधेयकमाथि विभिन्न प्रश्न उठाएर सन्देशसहित फेरि साउन २९ मा प्रतिनिधिसभामा पठाएइएको थियो । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपति भण्डारीको सन्देशमाथि कुनै पनि सुनुवाइ नगरेरै विधेयक जस्ताको तस्तै प्रक्रियागत हिसाबले फेरि राष्ट्रपति कार्यालय पठाइएको छ ।


    आउँदो हप्ता संवैधानिकरुपमा राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने विधेयकको भविष्य टुंगो लाग्ने देखिन्छ । तर, राष्ट्रपतिका पछिल्ला भेटघाट र नेताहरुसँगको सवालजवाफले उनले संविधानको पालना गर्छिन भन्नेमा शंकाहरु व्यक्त भएका छन् । राष्ट्रपतिले पाँचदलीय गठबन्धले आफ्नो अपमान गरेर विधेयक जस्ताको तस्तै पठाएको भन्दै विभिन्न भेटवार्तामार्फत उचित कदम चाल्ने बताउन थालेकी छन् । उनलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ दिने देखिएको छ ।


    के होला त राष्ट्रपतिको कदम ?
    नेपालको संविधानको धारा ११३ को उपधारा ५अनुसार कुनै पनि विधेयक कानूनकोरुपमा धारणा गर्नका लागि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, धारा ११३अनुसार संघीय संसदबाट पारित भएर आएको विधेयक प्रमाणीकरण गर्ने, सुझावसहित फिर्ता पठाउने, त्यसरी फिर्ता पठाएको विधेयक संशोधन वा जस्ताको तस्तै आएमा १५ दिनभित्र प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । यो धारालाई आधार मानेर हेर्दा अब नागरिकता विधेयक संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।


    संवैधानिक कानूनका जानाकार कानुन व्यवसायी शालिकराम सापकोटाले राष्ट्रपति संविधानको पालक पनि भएकाले धारा ११३अनुसार विधेयक प्रमाणीकरण गर्नुको अन्य विकल्प नभएको बताउँछन् । तर, राष्ट्रपति भण्डारीले आफ्नो सुझावलाई व्यवास्था गरिएकाले जुनसुकै कदम उठाउन सक्ने उनी निकट स्रोतले बताएको छ । उनले विधेयक प्रमाणीकरण गरेमा सहज ढंगले नेपालको राजनीतिक बाटो र चुनावी वातावरण सहज तरिकाले अगाडि बढ्ने छ । तर, उनले अन्य कदम चालेमा नयाँ विवाद सुरु हुनेछ । जसले फेरि एक पटक नेपालमा राजनीतिक दलहरुबीच चर्को विवाद र बहस हुनेछ ।


    राष्ट्रपति भण्डारीले तीनवटा विकल्पमा छलफल गरिरहेको स्रोतको भनाइ छ । पहिलो विकल्पकारुपमा उनले १५ दिनको समयसीमाभित्रै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेछिन् । दोस्रो प्रमाणीकरण नगर्ने र तेस्रो विकल्पकारुपमा प्रमाणीकरण नगर्ने तथा राजीनामा दिने । पहिलो र तेस्रो विकल्पमा पुगेमा देशमा नयाँ प्रकारको द्वन्द्वको अवस्था आउँदैन् । तर, दोस्रो विकल्पले देशमा फेरि एक पटक अस्थिरता ल्याउने निश्चित छ । संवैधानिक कानूनका ज्ञाताहरुले राष्ट्रपतिलाई दोस्रो विकल्पमा जान संविधानले कुनै पनि छिद्रसमेत नदिएको बताउँछन् ।


    संविधान दिवसको दिन राष्ट्रपतिको कदम !
    नेपालमा संविधान दिवसको दिन आम नागरिकसम्म पुगेका यी प्रश्नको उत्तर आइसकेको हुनेछ । सरोकारवाला गैरआवासीय नेपालीसहित अनागरिकको पीडा भोगिरहेका व्यक्तिका लागि अबको हप्ता राष्ट्रपतिबाट आउने कदमले अर्थपूर्ण महत्व राख्नेछ । विधेयक प्रमाणीकरण भएमा नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता लिने बाटो खुल्नेछ । त्यस्तै गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नागरिकता प्राप्त हुनेछ भने नेपाली आमाबाट नेपालमै जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने छन् ।


    प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक प्रमाणीकरण भएमा नेपालमा फेला परेका तर, बाबुआमाको ठेगाना नभएका नाबालकले पनि वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको मात्र प्रयोग गर्नेछन् । उनीहरुले नेपालको राजनीतिक अधिकार प्राप्त गर्न नसक्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली नागरिकले यसलाई दोस्रो दर्ताको नेपालीको पहिचान भएको टिप्पणी गरेका छन् ।


    असोज ४ गतेभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । अहिले राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका प्रतिनिधि, संवैधानिक कानूनका विज्ञ, नागरिक समाजका अगुवा, पूर्व सुरक्षा अधिकारीलगायतसँग नागरिकता विधेयकका विषयमा निरन्तर छलफल गरिनै रहेकी छन् । उनले वैवाहिक अंगीकृत र आमाका नाममा नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने लगायतका विधेयकका प्रावधानमा पुनर्विचार हुनुपर्ने तर्क गरिरहेकी छन् ।

    संविधानविद् राधेश्याम अधिकारीले समयमा नै राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने बताउँछन् । तर, एमालेका केही नेताहरुले राष्ट्रपतिलाई विशेषाधिकार भएको दावी गरिरहेका छन् । यो विधेयक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको थियो । त्यसलाई फिर्ता लिएर सरकारले नयाँ विधेयककोरुपमा दर्ता गरेको थियो ।


    एक पटकको नेपाली सधैँको नेपाली नारा हरायो
    नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार विधेयकमा गैरआवासीय नेपाली नागरिकताको प्राप्तिका आधारहरु तोकिएका छन् । ‘विदेशी मुलुकको नागरिकता प्राप्तगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’ उल्लेख गरिएको छ ।

    गैरआवासीय नेपाली नागरिकता लिनका लागि विभिन्न कागजात संलग्न राखेर मन्त्रालय समक्ष निवेदन दिनुपर्ने प्रावधान पनि राखएको छ । विधेयकअनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र पनि उपलब्ध गराउनु पर्नेछ ।


    त्यस्तै साविकमा नेपालको नागरिकता लिइ नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ । गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिएपछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिनेछ । त्यसरी नागरिकता प्राप्त गर्ने व्यक्तिले तोकिए बमोजिम सपथ गराउनु पर्ने व्यवस्था पनि विधेयकमा रहेको छ ।

    गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुठ्टो विवरण लिइ त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान पनि विधेयकमा रहेको छ ।


    विधेयकअनुसार अब गैरआवासीय नेपाली संघ एनआरएनएले भनेजस्तै विदेशका नियोग तथा दूतावास अर्थात कन्सुलर सेवा लिईरहेका नेपालका कन्सुलर सेवा कार्यालय मार्फत गैर आवासीय नागरिकता प्राप्त गर्न अब नसकिने भएको छ । अर्को गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको राहदानी प्राप्त गर्न सक्ने छैनन् । गैरआवासीय नागरिकता लिन नेपाल आउनु पर्ने भएको छ ।

    एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको नारा अब सकिएको छ । पुरानै नागरिकताको निरन्तरताका लागि लड्नुपर्ने गैरआवासीय नेपाली संघ एनआरएनएका तीन तीन जना अध्यक्षले आफ्नो पदका लागि मात्रै लडिरहेका छन् । गैरआवासीय नेपालीलाई सजिलो र सहज हुने व्यवस्थाका लागि पहल गर्न एनआरएनए नेतृत्व चुकेकोछ ।

  • अस्पताल भर्ना भए अनसनरत डा. केसी

    अस्पताल भर्ना भए अनसनरत डा. केसी

    धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

    डा.केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ब्लड प्रेसर निकै घटेको र ब्लडमा सुगरको मात्रा पनि कम देखिएको बताइएको छ । धनगढी पुगेर सोमबार साँझदेखि २० औं पटकको सत्याग्रह थालेका डा. केसीको स्वास्थ्यमा मंगलबार रातिदेखि समस्या देखिन थालेको थियो । स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन ।

  • राप्रपामा जाने भए रवीन्द्र मिश्र

    राप्रपामा जाने भए रवीन्द्र मिश्र

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा जाने भएका छन् । उनलाइ राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता दिने भएको हो ।
    विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    मिश्रको पद उपाध्यक्ष हुनेछ । उनले यसअघि सहअध्यक्ष पद माग्दै आएका थिए । असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि एकता प्रक्रिया टुंग्याउने गरी उनले राप्रपामा छलफल अगाडी बढाएका छन् ।

  • नेपालमा थप ११९ जनामा कोरोना संक्रमण, १३० डिस्चार्ज

    नेपालमा थप ११९ जनामा कोरोना संक्रमण, १३० डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

    मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो।

    बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

    सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो ।

    महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अभियानअन्तर्गत काम भइरहेको बताए ।

    यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचनामा डोजर चलाउने अभियान सञ्चालन गर्दै आएको छ ।

  • चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने

    चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने

    काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका बहालवाला न्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।

    समितिको बुधबार बसेको बैठकले जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

    समितिमा बयान दिने क्रममा राणाले सर्वोच्च अदालतका न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको नाम लिएर विभिन्न आरोप लगाएका छन् । बैठकले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ । आजको बैठकले सो निर्णय गरेको विश्वकर्माले बताए ।

    जबराले बयानमा एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतको नाम लिएका थिए ।

    गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

  • बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

    बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्।

    राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार– जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ। नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ।

    बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताए।

    उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उनले बताए। ‘बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ’, उनले भने।

    मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो उनले औँल्याए। बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

    बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उनले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुपर्ने बताए। बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गरेका छन्।

    उनले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरेका छन्।

  • बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक

    बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको भ्रमणका कारण पछिल्लो तीन दिन देखि काठमाडौंमा सवारी साधनले निकै सास्ती पाएका छन् । यसले पैदल यात्रुले समेत ठूलो कष्ट बेहोर्नु परेको छ । यो क्रम बुधबार पनि जारी रहने छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।

    आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

    त्यस्तै आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

  • चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

    चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।

    ली चान्सु गत सोमबार काठमाडौं आएका थिए । सोही दिन उनले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । उनी सापकोटाकै निमन्त्रणामा नेपाल आएका हुन् । चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

  • सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण

    सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण

    काठमाडौं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

    महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए । नेपालको सार्वजनिक ऋण २० खर्ब भन्दामाथि पुगेको छ ।

  • राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण

    राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएका विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

    उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

    यसैगरी सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • ‘माधव नेपालको पार्टीले  थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’

    ‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताएका छन् ।

    लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मंगलबार पोखरा पुगेका अध्यक्ष ओलीले कुन–कुन जिल्लाको कुन–कुन बुथ कब्जा गर्ने भन्ने रणनीति बनाएको आफूलाई जानकारी आएको बताए ।

    प्रहरी र प्रशासनलाई निस्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भने ‘कुट्ने, काट्ने, मार्ने र थुनाउने योजना बनाएका छन् । कांग्रेस आफै सत्तामा बसेर चुनाव गराउन नपाए भाग नलिने भन्नुको अर्थ यही रहेछ ।’

    चुनावको मुखमा जनता भड्किन्छन् भनेर अहिले एसपीपी रोकिएको हो, चुनावपछि सरकार बनाउन पाए कांग्रेसले एसपीपी पारित गर्ने बताए ।

    माधव नेपालको पार्टीले थ्रेसहोल्ड नकटाउने दाबी गरे । नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’

    माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ ।

  • पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार १३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको छ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा मृत्यु हुनेको संख्या शून्य रहेको छ।

  • शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

    शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

    काठमाडौं । केही दिनदेखि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन बजार दोहोरो अंकले बढेको हो ।

    मंगलवार बजार मापक सूचक नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको हो ।

    मंगलवार २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । सोमवार ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.३० प्रतिशतले बढेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु) शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, मैलुङ खोला जलविद्युत् ७.७६, सानिमा लार्ज क्याप फण्ड ६.६७, युनिभर्सल पावर ४.६७, रिभर फल्स पावर ४.२४, मितेरी डेभलपमेन्ट बैंक ४.१२, गणपति लघुवित्त ४.०३, किसान लघुवित्त, महुली लघुवित्त र नबिल इक्वीटी फण्डको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार नेपाल बैंकको डिभेञ्चरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

    आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावरको साढे ५ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स पौने ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

    डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

    काठमाडौं । चिकित्सक डा. गोविन्द केसी धनगढीमा आमरण अनसन बसेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन थालेका हुन् । सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्नेसहितका विभिन्न माग राख्दै उनी आमरण अनसनमा बसेका हुन् ।

    माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अनसन सुरु गरेका हुन् । डा. केसीले जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेसमेत बताएका छन् । उनले जनसंख्या बढे अनुसार सरकार िअस्पतालको क्षमता बढाउन समेत माग गरेका छन् ।

  • मिटर ब्याजीविरुद्ध २२८९ उजुरी

    मिटर ब्याजीविरुद्ध २२८९ उजुरी

    काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक भइसकेका छन् भने ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । त्यस्तै ७ वटा उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    कार्यदलले गत भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ जिल्लाका मिटरव्याजीसँग छलफल गरेको थियो । उजुरीहरूको विश्लेषण गर्दा ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको कार्यदलले जनाएको छ । प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकाल समाप्त भएको छ । तर स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रक्रियालाई निरन्तरता दिने गृह मन्त्रालयले जनाएको छ ।

  • चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

    चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

    काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने लगायतका ६ बुँदे समझदारी भएको छ ।

    १. दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।

    २. दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।

    ३. दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् । ।

    ४. दुवै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरुको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिका बीच सदभाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् ।

    ५. दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालन सम्बन्धी अभ्यासका वारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकार बीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरु बीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन् ।

    ६. दुबै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् ।

  • केराउ, सुपारी र कालो मरिचको आयात खुला

    केराउ, सुपारी र कालो मरिचको आयात खुला

    काठमाडौं । सरकारले आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ । २१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० सुपारी र एचएसकोड ०९०४.११.३० (कालोमरिच) को पैठारी गर्न अनुमति दिने निर्णय सरकारले गरेको हो । नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो ।

  • ‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री

    ‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।

    नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आज यहाँ आयोजना गरेको Building Back Better and Greener with Sustainable Hydropower विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलविद्युत आयोजनाहरूको दिगो विकासका लागि भरपर्दो र बलियो संरचनाहरु निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताइन् ।

    मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्डहरु तयार गरी लागू गरेको स्पष्ट पारिन् ।

    हरित ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरूको छलफलबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

    जलवायु परिवर्तनको कारण अप्रत्यासित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रास लगायतका असरहरू भोग्नु परिरहेको उल्लेख गर्दै उनले दिगो रूपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्त्वपूर्ण हुने बताइन् ।

    गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब–स्टेशनह निर्माणमा विशेष प्राथमिकता दिईएको बताउँदै मन्त्री भुसालले जलविद्युतको विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिइन् ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो ।

    सोमवार २२५ कम्पनीको ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ ।

    नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, सामुदायिक लघुवित्त ५.८७, अपर हेवाखोला ४.१५, दोर्दीखोला ४.१४, माउन्टेन इनर्जी, शिवश्री हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    रिडी पवरको २ करोड ७९ लाख र हिमालय डिस्टिलरीको २ करोड ५६ लाखको कारोबार भएको छ ।