काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा महतले प्रधानन्यायाधीश जबराले पूर्वाग्रही बयान दिएको भन्दै विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउन माग गरेका हुन् ।
उनले भने भने,‘न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले पूर्वाग्रही, आवेगमा आएर, स्मरण शक्ति गुमाएर, चरित्रहत्या गर्ने र कसैको जयजयकार गर्ने गरेकोले कानूनमा भएको व्यवस्थाअनुसार विशेषज्ञ चिकित्सकबाट उनको मानसिक स्वास्थ्य जाँच गर्न समितिको ध्यानाकर्षण गराउँछु ।’ महतले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजीनामा गरेर जाँदा प्रतिनिधिसभाको बोझ कम भएको टिप्पणी गरे ।
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको हो ।
मंगलवार २२७ कम्पनीको १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको ३२ लाख ९ हजार ९८३ कित्ता शेयर किनबेच भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । सोमवार ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । एक कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ उन्नती लघुवित्त कम्पनीको शेयरमुल्यु ९.६८ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज सानिमामाई हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । हिमालय एभरेष्ट इन्सोरेन्सको ६ प्रतिशले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालय एभरेष्ट इन्सोरेन्सको कम्पनीको भएको छ । यसको आज ९ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।
रिडी पावरको ९ करोड ११ लाख र सानिमामाई हाइड्रोपावरको ८ करोड ५५ लाख बढीको कारोबार भएको छ ।
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल निश्चित गरेको छ । यसअघिको चुनावको भन्दा १३२ धेरै मतदान स्थल भ्थप भएका छन् यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ मतदान स्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।
मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ । साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदानस्थल निर्धारण गरिएको छ भने १६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदानस्थल निर्धारण गरिएको छ ।
आयोगका अनुसार २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ । मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन गरिएको हो ।
मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।
पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा दुर्व्यवहार भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर पाँच दिन म्याद लिएर हिरासतमा राखेको छ।
दुर्ब्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीले धरौटी लिएर हिरासतमुक्त गर्न सक्ने कानुनी प्रावधान छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबार हिरासतमा राखेको छ।
भिएसएफमा बायोमेट्रिक लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो।
गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा विष्टसहित तीन जनाको नाम सिफारिस भएको छ ।
एमालका दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा परेका छन् । । क्षेत्र नं २ बाट विष्टको स्थानमा तीन जनाको सिफारिस भएको छ ।
केन्द्रीय उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो ।
गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा भने पार्टी सचिव बिष्टसहित प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर २ को क प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल, र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् ।
प्रदेश ख मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।
काठमाडौं । मनाङ र हुम्लाबाहेक नेपालका ७५ वटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसको ठूलो प्रकोप ललितपुर र काठमाडौंमा देखिएको छ । ललितपुरका कतिपय परिवारका सबै सदस्यमा डेङ्गी देखिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौंमा ८ सय ८८ जना छन् ।
डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ । डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ ।
अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । समुदायमा डेङ्गी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।
कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहनु पर्छ । लामखुट्टे नियन्त्रण नै डेङ्गी रोकथामको मुख्य उपाय हो । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ जथाभाबी औषधि नखान पनि डाक्टरको सुझाव छ ।
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजिएको भन्दै सरकारको यो कदमको भने विरोध भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । कांग्रेस र माओवादीका सांसदहरुले भने विधेयकको समर्थन गरेका छन् । मन्त्रिपरिषदबाट पारित भएर हिजो प्रतिनिधि सभामा पेस भएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनदेखि गणना गर्ने र नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनदेखि अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान शुरु गरेको छ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो।
२५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका हुन्।
वडाले यसअघि पनि पटक–पटक हटाउन माइकिङ्ग अनुरोध गर्दै आएको थियो । वडा नं। २५ का अध्यक्ष राजेश डंगोलले निरन्तरको आग्रहलाई नमानेपछि सूचना निकालको बताए ।
उनले पछिल्लो आग्रहलाई नेटेरे प्रहरी लगाएर खाली गराइने बताएका छन् । उनले मन्दिर तथा सम्पदामा व्यापार गर्न नदिइने स्पष्ट पारे ।
उक्त क्षेत्रमा रहेका सन्तानेश्वर महादेव मन्दिर, भवानी शंकर मन्दिर क्षेत्र, असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ(बायाँ रहेका पसलहरु हटाउन अल्टिमेटम दिइएको हो।
काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ ।
आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह गरेको हो ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीद्धारा जारी विज्ञप्तिमा प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने जनाइएको छ । यी क्यासिनोलाई कर बुझाउन पटकपटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५र०७६ देखि नै नबुझाएको महानगरले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्।
निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै राजीनामा घोषणा गरेको बताए ।
‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने।
संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको उनले बताए। पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले बताए।
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।
आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।
श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए ।
यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।
न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो ।
डीआईजी कोइरालाले झन्डै नाै वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।
पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए ।
तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो ।
काठमाडौं । राष्ट्रिय सभाबाटहुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने भएको छ । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रवार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।
यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले विधायन समितिमा पठाए पनि संशोधन भएन । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक हुबहु पारित भएपछि यसबाट राष्ट्रपतिको अपमान भएको टिप्पणी हुँदै आएको छ । अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। सिंहदरबारमा ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश जबराको बयान दिनेछन्। राणासँग बुधबार र बिहिबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको हो।
बुधबार र बिहिबार दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका थिए। पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै केही समय लाग्ने देखिएको छ।
काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।
नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनले विभिन्न पर्यटकीय स्थलको समय अवलोकन गर्ने भएका छन् ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए ।
उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे । अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए ।उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।
काठमाडौं । माध्यमिक तह (कक्षा १२) को परीक्षाफल प्रकाशित हुँदा निरासाजनक नतिजा आएको छ यस वर्ष आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परे । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार नतिजा सार्वजनिक गरेको हो । जसमा एक लाख ८८ हजार ४१० जना नन ग्रेडेडमा परे । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर पढ्न पाउँछन् । त्यसमा पनि निरासाजनक नतिजा आउनुलाई शिक्षा बिदहरु भने सकारात्मक संकेत मान्दैनन् ।
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए । एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । उनीहरुमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् ।
दुई विषयसम्म नन ग्रेडेड ल्याएकाले परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्छ । यसरी हेर्दा ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३।६ जीपीए कटाएका थिए ।
यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी मात्र देखिए । ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको छ । यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।
कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १३२ जना मध्ये १ हजार २८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ । ४३ जनाको परीक्षाफल रद्द भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
निर्वाचन आगामी ४ मंसिरमा हुँदैछ । उनलाई कास्कीको क्षेत्र नम्बर १ बाट पनि सिफारिस गरिएको छ । थापा भने काठमाडौं ४ मै उठ्ने तयारीमा छन् । २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उदयपुर । उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ । प्रहरीले आफन्त भित्रकै एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ । उनले हत्या गरेको स्वीकार समेत गरेका छन् । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेतको विभत्स अवस्थामा शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार नरबहादुर र राजकुमार बीचको सामान्य विवादका कारण हत्या सम्मको अवस्था आएको पाइएको छ । यद्दपी प्रहरीले थप अनुसन्धान जारी रहेका कारण विस्तत विवरण सार्वजनिक गरिसकेको छैन । प्रहरीका अनुसार जंगलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेर मारेको पाइएको छ ।
राजकुमार कुलोबाट खेतमा पानी लगाउँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । त्यसपछि श्रीमतीलाई आक्रमण गरेका थिए । त्यसपछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको प्रहरी अधिकारीहरुको भनाई छ ।
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिए । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र धु्रवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।
सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको जनाएको छ ।
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको हो ।
शुक्रवार कारोबारको २ घण्टामा २१९ कम्पनीको ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको घटेको छ ।
झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स र रुरुजलविद्युत्का शेय धनीले करिब १० प्रतिशत कमाएका छन् ।
नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड र अरुण काबेली साढे २ करोडको कारोबार भएको छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्। शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त गर्नुपर्ने बताए।
‘त्रिभुवन विश्वि विद्यालयमा तमाम समस्या छन्। ती समस्याको समाधान सहमतिबाट गरौं,वार्ताबाट गरौं। विश्वविद्यालयलाई तालामुक्त गरौं,’उनले भने। उनले विश्विविद्यालयलाई तालामुक्त गर्न अभियानमा जुट्न समेत आग्रह गरे। शिक्षा सुधार्न सकिएन भने केही पनि सुधार्न नसकिने उनको भनाइ छ।
पठनपाठन राम्रो हुनलाई विश्विविद्यालयहरु राम्रो हुनुपर्ने उनले बताए। उनले भने,’ शिक्षा सुधारका लागि विश्वविद्लाय राम्रो हुनुपर्छ। विश्वविद्यालय सुधारका निम्ति विश्विविद्यालमा भौतिक पूर्वाधार, शिक्षण सिकाइमा सुधार र कानुनी सुधार हुनु आवश्यक छ।’
उनले शंकरदेव क्याम्पसमा नेपालको मात्र नभइ अन्य देशका विद्यार्थीहरु पढ्न आउने वातावरण बनाउन आग्रह गरे। उनले भने,’ म्यानेजमेन्टको क्षेत्रमा शंकरदेव क्याम्पस राम्रो छ। यो क्याम्पसलाई हेर्नलायक बनाउनुपर्छ।’ उनले शंकरदेव क्याम्पस भवनको पुनरसंचरनाको लागि आफूले सक्दो सहयोग गर्ने बताए।
काठमाडौं । शुक्रबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । अहिले देशभरकै मौसम बद्ली भएको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्धावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना छ ।
राति गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । भोलि बेलुकादेखि क्रमिक रुपमा मौसममा सुधार आउने अपेक्षा गरिएको छ ।
काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। यससँगै पार्टीको व्यापक आलोचना भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। यसको मतलव सो निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएमा उनी उम्मेदवार बन्ने निश्चित छ । उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्।
उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका छन् ।
पाल्पा । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमा पहिरो गएपछि यातायात आवागमन पुनः ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्साललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था छैन । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटम भित्रै भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । यो पछिल्लो ५ वर्षमा कम्पनीले उठाएको मनोरञ्जन कर वापतको रकम हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर महानगरलाई बुझाउनु पर्छ ।
फनपार्कले व्यवसाय कर र घर बहाल कर भने तिरेको छैन । ६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको हो । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्छ । पछिल्लो समय जनताबाट रकम उठाए पनि सरकारलाई बुझाउनु पर्ने रकम नबुझाएका व्यापारिक फर्महरुमाथि महानगरपालिकाले कारवाही तिब्र बनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना र डेंगुको महामारीका बीच हैजाको संक्रमण बढ्न थालेको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।
काठमाडौं । पद्मश्री गौरव नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिले प्रतिष्ठित आँखा चिकित्सक तथा मानव सेवी रुइतलाई पद्मश्री गौरव रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहले पाउने भएको छ ।
पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं यस वर्ष पनि कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
क्यान्सर पिडित बालबालिकाहरुलाई सहयोग गर्दै आएको दिर्घजिवी स्वयंसंवी संस्था एवं लाइन्स क्लव डिस्ट्रिक्ट ३२५ के अन्तर्गत जोन २१ (ट्रिजा ढकाल) र जोन २८ (सुलोचना मानन्धर) को आयोजनामा राजधानीमा दुई दिने ‘चाइल्डहुड क्यान्सर सर्भाइभर मिट’ सम्पन्न भएको छ ।
भदौ १० र ११ मा आयोजित बरिस्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, लाइन्स क्लव डिस्ट्रिक्ट ३२५ केका गभर्नर राजेन्द्र कुमार बाटाजु, यमन श्रेष्ठ ,नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. ब्रिजेसराज घिमिरे, भक्तपुर क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विषेशज्ञ डा. शुष्मा गुरुङ् एवं 2022 मिस अर्थ अवार्ड विजेता डा. सरिषा श्रेष्ठ को उपस्थिति रहेको थियो ।
‘वी आर द होप फर द रेष्ट’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको मुख्य उद्धेश्य क्यान्सर रोकथाममा सघाउ पुर्याउन उक्त रोग प्रतिको आम सोच परिवर्तन गर्दै समाजमा सचेतना जगाउनु रहेको आयोजक संयोसेवी संस्था अध्यक्ष समिर श्रेष्ठले बताउनुभयो । संस्थाले विगत एक दशक देखि क्यान्सर पिडित बालबालीकालाई सेवा गर्दै आएको छ ।
कार्यक्रमको पहिलो दिन क्यान्सर जितेका १९ जना बालबालिका र उहाँहरुको अभिभावकको अनुभव आदान प्रदान गरिएको थियो भने दोस्रो दिन हाइकिङ्ग र भिडियो सुटिङ्ग भएको थियो । कार्यक्रमको अवसर पारेर दिर्घजिवी स्वयंसेवी संस्थाले ९ सदस्यीय “दिर्घजिवी क्यान्सर सरभाइभर ग्रुप” पनि गठन गरेको छ । ग्रुपले आगामी दिनहरुमा क्यान्सर पिडित बालबालिकाहरुको सहयोगका लागि काम गर्नेछ ।
कार्यक्रममा डायल अप मिडिया प्रा.लि., प्रभु बैंक, नेपाल क्यान्सर अस्पताल, एक्सेलेन्ट सेक्युरिटी सर्भिस, सिप्पी ब्यूटी पार्लर, लाइनस क्लव डिष्ट्रिक्ट ३२५ के विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोग रहेको थियो ।