Category: समाचार

  • माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

    माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

    काठमाडौं । माओवादी छाडेर एमाले छिरेका प्रभावशाली नेता प्रभु साह एमालेबाट समेत अलग भएका छन् । उनले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको विरोधमा साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनले एमाले सत्ताका लागि मात्र राजनीति गर्ने पार्टी भएको समेत बताएका छन् । जसपामाथि विभिन्न आरोप लगाउँदै साहले एमाले नेतृत्वले गठबन्धन गरेपछि आफू स्वतन्त्र उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं ।’

    कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ नभएको उनको भनाई छ । साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।

  • एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा

    एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा

    काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

    एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेका तर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्।

  • बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि बादल काठमाडौंबाट चुनाव लड्न मानेनन्

    बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि बादल काठमाडौंबाट चुनाव लड्न मानेनन्

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन् ।

    बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो ।

    तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय गरेका थिए ।

  • कांग्रेसबाट अर्बपति विनोद चौधरीलाई प्रत्यक्षमा टिकट

    कांग्रेसबाट अर्बपति विनोद चौधरीलाई प्रत्यक्षमा टिकट

    काठमाडौं । अर्बपति तथा व्यापारी विनोद चौधरीलाई यसपाली नेपाली कांग्रेसले प्रत्यक्षमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ।

    उनलाई पार्टीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बा उम्मेदवार बनाउने भएको हो।

    यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

  • रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने

    रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।

    उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका हुन्।

    आइतबार बिहान सञ्चारकर्मीमाझ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने बताएका छन्।

    स्वतन्त्र उम्मेदवारका रुपमा रहने सत्ता गठबन्धनले पनि समर्थन गर्ने भन्दै प्रचण्ड र आफूसँग भएको कुरा पत्रकार सम्मेलनमा यसरी सुनाए।

    ‘उहाँहरुले तपाईं स्वतन्त्र रहनुस्, हाम्रो चुनाव चिह्नमा लड्नूस् भन्नुभएको थियो। म आफैं गएको एक वर्ष वाम एकताको कुरा गरेबापत किनारामा परेको मान्छे। यसर्थ वाम एकताको यो झण्डा मेरो राजनीतिक आजको झण्डा हो।

    यसलाई कमजाेर हुन दिने खालको कुनै कुरा नगरौं भन्ने मलाई लाग्छ। तपाईंले भन्नुभएको प्रस्तावका लागि धन्यवाद छ। तपाईंहरुले मलाई स्वतन्त्र नै हुन दिनूस् भनेर मैले भनें। त्यसका लागि उहाँले मैले प्रधानमन्त्री तथा कांग्रेस सभापतिसँग कुरा गर्नुपर्छ भन्नुभयो।

    राति साढे १२ बजेतिर कमरेड प्रचण्डले मलाई फोन गरेर भन्नुभयो – प्रधानमन्त्रीसँग पनि मैले कुरा गरिसकेको छु। माधव कमरेडसँग पनि कुरा गरेको छु, तपाईंलाई हामीले समर्थन गर्छाैं।

    हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन। हाम्रो सम्पूर्ण शक्ति तपाईंको पक्षमा लाग्छ। तपाईं अघि बढ्नूस् भनेर भन्नुभयो। यसरी मैले गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा आज गएर आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छु।’

    उनले आफू वाम लोकतान्त्रिक उम्मेदवार भएको दाबीसमेत गरेका छन्। रुपन्देही १ मा माओवादीको भाग परेको थियो।

  • ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार

    ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार

    काठमाडौं । माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्।

    सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने भएको हो।

    काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ।

    २०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएकी घर्ती त्यसपछि उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्। २०७४ मा उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन्।

    अन्तरिम संसद र पहिलो संविधानसभामा सांसद रहेकी घर्ती त्यसबेला खेलकुद मन्त्री बनेकी थिइन्।

  • कमल थापा सूर्य चिन्हबाट चुनाव लड्दै

    कमल थापा सूर्य चिन्हबाट चुनाव लड्दै

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने गरी एमालेसँग सहमती गरेका हुन् ।

    आफुले एमालेको सहयोगमा चुनाव लड्न थालेको थापाले जानकारी गराएका हुन् । एमाले अहिले स-साना दलसँगको गठबन्धनमा लागेको छ ।

  • प्रत्यक्षतर्फको उम्मेदवार दर्ता आज, देशभर चुनावी माहोल

    प्रत्यक्षतर्फको उम्मेदवार दर्ता आज, देशभर चुनावी माहोल

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुने कार्यतालिका छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगको भनाई छ ।

    आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको उल्लेख गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन्।

    उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन् । आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरेका छन्।

    प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट पारे।

    उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए।

    निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ।

  • समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक

    समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आइतबार बिहान सार्वजनिक गरेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

    अब समानुपातिकमा पाएको मतका आधारमा पहिलो प्राथमिकतामा रहेको क्रम सूचीबाट सांसद छानिने छन् । खासगरी समाजका सबै वर्ग, समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न यो व्यवस्था कार्यान्वयनमा रहेको छ ।

    सूची डाउन्लोड गर्नुहोस

  • काठमाडौंमा राप्रपाका उम्मेदवार को को ?

    काठमाडौंमा राप्रपाका उम्मेदवार को को ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका दसवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ । एमालेसँग तीन निर्वाचन क्षेत्रबाहेक अन्यमा सहमति जुट्न सकेको छैन । सोहीकारण राप्रपाले काठमाडौंको प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ उम्मेदवार तय गरेको हो ।

    प्रतिनिधिसभाको काठमाडौं १ बाट राप्रपाले रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने भएको छ । २ मा नवराज सिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ, ५ मा रामप्रसाद उप्रेती, ६ मा विष्णुप्रसाद शर्मा, ७ मा ध्रुवविक्रम मल्ल, ८ मा प्रकाश रिमाल, ९ मा देवेन्द्र प्रधान र १० मा बलराम थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा

    घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा

    काठमाडौं । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेका छन् । शनिबार फेसबुक पेजमा स्टाटस राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका छन् । उनलाई आगामी निर्वाचनमा एमालले टिकट दिएको छैन ।


    यस्तो छ घनश्यामको घोषणा..
    देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनालाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनावद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।

    नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु १ सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।
    घनश्याम भूसाल
    मणिग्राम, रुपन्देही

  • एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए

    एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए

    काठमाढौं । सत्तारुढ गठबन्धनले १६ सिट दिँदा असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग भने १७ सिटमा चित्त बुझाएका छन् । दुई पार्टीबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको छ । यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।

    प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । यी क्षेत्रमा मित्रबत प्रतिस्पर्धा गरिने समेत दुई पार्टीबीचको समझदारीमा उल्लेख छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

  • एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला

    एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला

    काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै निवासमा मृत फेला परेका छन् । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उनी घरकै बाथरुममा लडेको अवस्थामा भेटिएका हुन् । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए ।

    सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य हुन् ।

  • गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ

    गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ

    काठाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझाएको जनता समाजवादी एमालेसँग गठबन्धन गर्न पुगेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्तारुढ गठबन्धनमा आएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा गयो । साउनमा जसपा विभाजन भयो ।

    तर उपेन्द्र यादव पक्ष बाबजुद गठबन्धनमा रहिरह्यो । ३० वैशाखको स्थानीय चुनावपछि भने जसपा गटबन्धनप्रति असन्तुष्ट देखिएको थियो । विराटनगर महानगरपालिकाको उपमेयरमा छोरा अमरेन्द्र पराजित भएपछि अध्यक्ष यादवले धोका भएको बताएका थिए । त्यसयता एमालेसँग सम्पर्क बढाएको जसपा सत्ता गठबन्धनको सिट बाँडफाँटमा सक्रिय सहभागी थियो । जसपाले प्रतिनिधिसभामा १६ सिट पाउने निश्चित जस्तो भएको थियो । तर, सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको उसले अरु दलसँग तालेमल गर्ने ढोका खोल्यो ।

    जसपाले एमालेसँग समेत मधेस प्रदेशका १६ सहित २४ सिटमा दाबी गरेको छ । एमाले २२ सिट दिन तयार भएको छ । उता, लोसपा नेताहरु भने सत्तारुढ दलसँग नजिकबनेका छन् । उनीहरुले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेका छन् । गठबन्धनले ८ सिट दिन सहमती जनाएका छन् । शुक्रबार कांग्रेसको ८४, माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको २० र राष्ट्रिय जनमोर्चाको २ सिट टुंगाइएको छ ।

  • माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?

    माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?

    काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको विवाद टुंगिएको छ । यससँगै नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । यो पार्टीले २० सीट पाएको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।

    एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुनेछन् ।

    कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१ बाट उम्मेदवार बन्ने छन् ।


    प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

  • भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी

    भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी

    नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति तीव्र आलोचना गर्ने वरिष्ठ नेता भीम रावलले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएइपछि पार्टी भित्र चरम असन्तुष्टी बढेको छ । उनले टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा गरेका छन् । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

    एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेको छ । सोहीकारण शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

    उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसीरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ ।’ पार्टी कार्यक्रताले समेत एमालेको यो निर्णयको खुलेर विरोध गरिरहेका छन् ।

  • प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित

    प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित

    काठमाडौं । आगामी प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उठ्ने निश्चित भएको छ । उनी चितवन क्षेत्र ३ बाट यसअघि निर्वाचित भएका थिए । यस पटक पनि गठबन्धनबाट उनलाई उठाउन ठूलो जोडबल थियो । तर, कांग्रेस भित्रको गगन, शेखर समूहले असहयोग गर्ने देखिएसँगै प्रचण्ड सुरक्षित स्थानमा सरेका हुन् । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र समेत गोरखा नै हो । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् ।

    यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन् । बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई ‘अन्तर हृदयदेखि स्वागत’ गरेको बताएका छन् ।

    भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । उता, प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले षडयन्त्र चिर्न प्रचण्डले चितवन छाड्नु परेको बताएकी छिन् । यद्दपी त्यो कस्तो षडयन्त्र हो भन्ने चाँही उनले खुलाएकी छैनन् ।

  • जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु

    जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु

    जुम्ला । जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    प्रहरी निरीक्षक जोशीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

    घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । हेलिकोप्टर झिकाएर उनीहरुलाई उपचार गर्न सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर बाटाहरु सबै बन्द भएकाले हेलिकोप्टर झिकाउनुको विकल्प छैन ।

  • काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुँरिदा तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

    पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको समेत प्रहरीको भनाई छ । मध्यरातमा गएको पहिरोपछि बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

  • मौसममा सुधार देखिँदै,  पश्चिम भेगमा अझै जोखिम

    मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम

    काठमाडौं । नेपालमा निरन्तर जारी भारती वर्षा क्रमशः सुधार भइरहेको छ । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट पूर्वी नेपालमा भने मौसममा सुधार हुँदै जाने भएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने भएको छ ।

    नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कन्चनपुरको शान्तिपुर बेलौरी, बर्दियाको रम्भापुर, नवलपुरको दुम्कौली, तनहुँको अत्रउलीटार तथा पाल्पाका अर्चले र गण्डाकोटमा भारी वर्षा भइरहेको छ । यी स्थानहरुमा पर्ने महाकाली, बबई र काली गण्डकी जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण खतराको संकेत देखाइएको छ । २४ घण्टाको अवधिमा पाल्पामा सबैभन्दा बढी २११ मिलिमिटर वर्षा मापन भएको छ ।

  • बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

    बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

    बारा । बिहीबार बिहान भएको बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालक फरार छन् । १६ जनामध्ये १४ जनाको सनाखत भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान साढे १० बजे बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।

    मृत्यु हुनेमा जिल्ला बारा कलैया उपमहानगर पालिका २ बस्ने अन्दाजी वर्ष ४० को लिलाराज चौधरी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, सोही ठाउँ कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कँडेलको छोरा अन्दाजी वर्ष १४ को सफल कँडेल, जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १६ बस्ने वर्ष ६५ को सोमप्रसाद चौरसिया, सोही ठाउँ बस्ने वर्ष ३६ कि मन्निदेवी चौरसिया, जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका ७ बस्ने वर्ष ५६ कि शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष १९ कि स्वस्तिका श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापालाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।

    जिल्ला बारा कलैया उपमहानगर पालिका १० बस्ने वर्ष ३५ कि नाजलिन खातुन, सोही ठाउँकी वर्ष २६ को ईताजत अन्सारी, बाराको जितपुरसिमरा उपमहानगर पालिका २२ बस्ने वर्ष २८ को सुरेश बिक, जिल्ला ओखलढुङ्गा बस्ने पूर्व प्रहरी नायब निरीक्षक लालबहादुर बोगटी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कँडेल, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ५ बस्ने वर्ष ५० को सन्तोषकुमार राय रहेको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका २ को हेटौडा अस्पतालमा शव रहेको र नामथर वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ । घाइते सबैलाई उपचारको लागी ९ जनालाई हेटौडा, ४ जना वीरगन्ज र १९ जनाको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

    गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

    काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै थालेपछि त्रिवेणीमा रहेको गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।
    रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानालाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ । गण्डक ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

    गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उहाँको भनाइ थियो । पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उनले आग्रह गरेका छन् । गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।

    पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा जोखिम बढ्ने चेतावनी दिएको छ ।

  • पहिरोका कारण देशका मूख्य राजमार्ग अवरुद्ध

    पहिरोका कारण देशका मूख्य राजमार्ग अवरुद्ध

    काठमाडौं । निरन्तरको वर्षा र बाढी पहिरोका कारण दशैंको समयमा मूख्य राजमार्गहरु अवरुद्ध बनेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । उता, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।

    बिहान ४ बजेतिर गल्याङ-८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ । निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।


    मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको छ ।

  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्ललाई उदृत गदै सञ्चारमाध्यमले जनाए अनुसार बुधबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

  • निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

    निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

    काठमाडौं । नेपालका अधिकांश स्थानमा अविरल जारी वर्षाका कारण जोखिम बढेको छ । यसले नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा पानीको बहाव उल्लेख्य बढाएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।


    बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको छ । उक्त सूचनामा लेखिए अनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । बाढी बढ्दो क्रममा छ ।

    प्यूठानको स्वर्गद्वारी, दाङको बेलझुण्डी, पाल्पाको गण्डाकोट, जाल्पा, अर्चले, रुपन्देहीको लुम्बिनी, नवलपुरको देउराली, स्याङ्जाको मालुङ्गा, तनहुँको अत्रुलिटार, चितवनको गोविन्द वस्ती कास्कीको जुम्लेटी र लामपाटन केन्द्रमा भारी वर्षा भएर खतराको संकेतसम्म पुगेको छ ।

    यसैगरी कोशी, कर्णाली, नारायणी, महाकाली, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र तीनका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल सामान्य अवस्थामा छ । आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

    यसैगरी झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ ।

    यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेको बाढी सूचना केन्द्रले जनाएको छ । असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने छ ।

  • राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

    राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गरेको राष्ट्रपति कार्यालयको भनाई छ ।

    राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान वितरण गरेकी छिन् । आज नेपालसहित विश्वभर रहेका हिन्दु धर्मावलम्बीले विजया दशमी धुमधामसहित मनाइरहेका छन् ।

  • पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

    पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट दशैंको टिका थाप्न चाहनेहरुले आज ३ बजेपछि टिका ग्रहण गर्न सक्ने भएका छन् । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने यस पटक सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । उनको स्वास्थ्य कारण टिका वितरणको कार्यक्रम स्थगित भएको हो । राष्ट्रपति कार्यलयमा आज दुईथरि कार्यक्रम छ ।

    विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ । डेंगुका कारण पूर्व राजा भने दशैंमा शक्तिपीठमा समेत सहभागी भएनन् ।

  • आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

    आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

    काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।


    घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

    समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।

  • पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु

    पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु

    काठमाडौं । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ ।

    बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

    बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।

  • मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

    मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

    काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए ।

    पहिरामा परेका शेर्पा भने वेपत्ता भएका थिए । उनको शव सोमबार दिउँसो भेटिएको छ । उनको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ । गत सोमबार हिमपहिरामा परी सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।