Category: समाचार

  • तापक्रम घट्दै, चिसो बढ्दै

    तापक्रम घट्दै, चिसो बढ्दै

    काठमाडौं । मनसुन अन्त्य भएसँगै नेपालमा तापक्रम घट्ने क्रम शुरु भएको छ । खासगरी देशभर न्यूनतम तापक्रम घट्न थालेको हो । दिउँसो भने बादल नलाग्दा घाम चर्किने गरेको छ । यसले अधिकतम तापक्रममा ठूलो गिरावट आएको छैन । मंगलबार काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ । सोमबार १२ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो ।

    देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको छ ।

  • बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

    बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् ।

    कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ । सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

  • झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

    झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार साँझ मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकलाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।

    मत्यु हुनेमा मे३प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे५प १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५ः२५ बजे मृत्यु भएको हो । घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ ।

  • निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

    निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने जनाएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना–प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो ।

    त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताएका छन् । उनका अनुसार निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको छ ।

    फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ ।

  • सत्यमोहन जोशीको निधनको शोकमा मंगलवार सार्वजनिक बिदा

    सत्यमोहन जोशीको निधनको शोकमा मंगलवार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले कात्तिक १ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालय सोमबार एक विज्ञप्ति जारी गरी शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएको हो ।

    १०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

  • मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

    मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

    काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा पर्ने एक मात्र नेपाली उम्मेदवार चुनावी अभियानमा लागेका छन् ।

    नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विनोद चौधरी मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा लागेका हुन् ।

    चौधरीले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को सिसानी, प्रतापपुर क्षेत्रमा चुनावी अभियान शुरु गरेका छन् ।

  • भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

    भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

    काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ४७ मिनेट जुरेको जनाएको हो ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

  • भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन

    भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन

    नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष चुन्न सोमबार मतदान हुने भएको छ । भारतको पुरानो राजनीतिक पार्टी कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्न लागेको छ । कंग्रेसको अध्यक्षका लागि मालिकार्जुन खार्गे र शशि थरूर चुनावी मैदानमा छन्। टाइम्स अफ इन्डियाका अनुसार अध्यक्षको दौडमा ८० वर्षका खार्गे थरूरभन्दा अघि छन्। कर्नाटका राज्यबाट माथिल्लो सदन राज्यसभा सांसद छन्। केरलाबाट लोकसभा सदस्य रहेका ६६ वर्षीय थरूरले पनि आफूले चुनाव जित्ने दाबी गरेका छन्। खार्गे र थरूरमध्ये एक जनालाई अध्यक्ष चुन्न पार्टीका प्रतिनिधिहरूले केन्द्रीय कार्यालयसहित विभिन्न प्रदेशमा रहेका ६७ वटा मतदान केन्द्रबाट मत हाल्नेछन्।

    भारतभरिबाट कंग्रेसका करिब ९ हजार प्रतिनिधि मतदानमा सहभागी हुने उल्लेख गरिएको छ। मतगणना बुधबारदेखि सुरू हुनेछ। सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए। सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए।

  • एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

    एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

    दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुई जना किशोर–किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।,

    उनीहरु तीन दिनअघि बाट सम्पर्क बिहिन थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेसँगै गाउँमा शोक छाएको छ । घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान थलेको छ ।

  • राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा रिटको सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो । बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो।

    नेकपा (एमाले)का विष्णु पौडेलविरुद्ध रूपन्देही २ मा नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उमेदवारी बदरविरुद्ध सर्वोच्चमा परेको रिट दिएका थिए ।

    श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।

    गुरुङको उमेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो ।

    आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका थिए । गुरुङलाई ०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।

  • खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित

    खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित

    काठमाडौं । सरकारले देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो।

    आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको हो।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

    थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

  • शताब्दी पुरूषको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

    शताब्दी पुरूषको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

    संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका परिसरमा पुगेर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका हुन् ।

    १०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

    श्रद्धाञ्जली दिँदै देउवाले जोशीको चिरकालसम्म सम्झना रहने गरी सरकारले योजना बनाएर काम गर्ने बताए ।

    जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।

  • शताब्दी पुरूष सत्यमोहन जोशीको दाहसंस्कार नहुने, पार्थिव शरीर अध्ययनका लागि राखिने

    शताब्दी पुरूष सत्यमोहन जोशीको दाहसंस्कार नहुने, पार्थिव शरीर अध्ययनका लागि राखिने

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । जोशीको शरीरमा नगल्ने खालको केमिकल प्रयोग गरेर अध्ययनका लागि किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि राखिने भएको हो ।

    जोशीले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार राख्न लागिएको हो ।

    जोशीको किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।

    किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।

    परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो।

    केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। किस्ट अस्पतालले जोशी दम्पत्तिको नि:शुल्क उपचार गर्दै आएको छ।

    जोशी बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा ललितपुरमा जन्मेका हुन्।

    नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षणमा लागेका उनलाई नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।

  • सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने

    सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने

    काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा घोषणा गरेको छ ।

    आइतबार किष्ट मेडिकल कलेजमा जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त जनाकारी गराएका हुन् ।

    जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरमै राखिएको छ ।

  • आठौं संस्करणको टी–२० विश्वकप आजबाट

    आठौं संस्करणको टी–२० विश्वकप आजबाट

    काठमाडौं । आठौं संस्करणको टी–२० विश्वकप आजबाट सुरू हुँदैछ। अष्ट्रेलियामा चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता दुई चरणमा चल्नेछ । पहिलो चरणमा समूह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९ः४५ बजे सुरू हुनेछ। दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ ।

    पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन्। यस्तै समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन्। पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरू हुनेछन्।

    सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन्। सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् । सुपर १२ मा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

  • सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

    सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीका योगदानलाई राज्यले सधैं सम्झिइरहने प्रतिक्रिया दिएका छन् । जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनी २४ दिनदेखि किष्ट अस्पतालमा उपचारत थिए । जोशीको निधनको खबरले आफूलाई दुखि बनाएको देउवाले आज ट्वीट गर्दै उल्लेख गरेका छन्।

    उनले भनेका छन् , ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ,’ उनले भनेका छन्, ‘उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

  • सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा संयुक्त प्रशिक्षण दिँदै

    सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा संयुक्त प्रशिक्षण दिँदै

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा कार्यकर्तालाई चुनावी रणनीतिबारे संयुक्त प्रशिक्षण दिँदै छन् । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम छ। उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिनेछन्।

    कार्यक्रममा सत्ता गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्। सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । यससँगै सबै प्रदेशमा सोही मोडलको प्रशिक्षण सञ्चालन गरिने भएको छ ।

  • शरीर नै दान गरेका थिए  शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

    शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

    काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ । उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ ।

    उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए । अस्पतालले उनको निशुल्क उपचार गरिरहेको थियो । शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका हुन् ।

  • रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

    रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको१०३ वर्षको उमेरमा निधन भएको हो ।

    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट स्रोतलाइ उदृत गर्दै संचारमाध्यमले पुष्टि गरेका छन् ।

    जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

  • प्रचण्डले घुमे गोरखा दरवार

    प्रचण्डले घुमे गोरखा दरवार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए ।

    पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए । उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताए ।

    दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा छन् । उनले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीब्र बनाएका छन् । रासस

  • विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर

    विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर

    काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ ।

    ढुकुटीमा विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो । अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयातको प्रतिबन्ध २९ मंसिरसम्म कायम रहनेछ ।

    सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई थप कडाई गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

  • राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु

    राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु

    पोखरा । नर्वौं राष्ट्रिय खेलकुद पोखरामा औपचारिक रुपमा शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको हो । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित राष्ट्रिय खेल अभियान प्रारम्भ भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् ।

    भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे । उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।


    यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन्

  • शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

    शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य जटिल

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनको ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइहरको छ । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बनेको अस्पतालले जनाएको छ । जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम गर्न छाडेको चिकित्सकले बताएका छन् । उनमा ब्लड प्रेसर ह्वातै घट्ने समस्या देखिएको छ ।

    निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् । स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो । अहिले जोशीलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिनुपरेको अवस्था छ ।

  • राष्ट्रिय खेलकुदको उद्घाटन आज

    राष्ट्रिय खेलकुदको उद्घाटन आज

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रपतयोगिता आज औपचारिक रुपमा शुरु हुँदैछ । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनमा पुग्दैछन् । उदघाटन समारोहको सबै तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिले जनाएको छ ।

    राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् । नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

  • ३१ असोजसम्म उम्मेदवारी फिर्ता लिने बागीलाई कांग्रेसले कारवाही नगर्ने

    ३१ असोजसम्म उम्मेदवारी फिर्ता लिने बागीलाई कांग्रेसले कारवाही नगर्ने

    काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीवार विज्ञप्ति निकालेर असोज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उम्मेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फुकुवा हुने उल्लेख छ ।

    बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो । पार्टीबाट निष्कासित गरेको एक दिन नबित्दै कांग्रेसले आज उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । नेपाली कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहदेखि केन्द्रीय सदस्य दिनेश कोइरालासम्मले बागी उम्मेदवारी दिएका छन् ।

  • सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

    सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

    काठमाडौं । सत्ता गठबन्धनले चुनावी कमाण्डर रामचन्द्र पौडेललाई तोकेको छ । सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । बिहीवार बसेको गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ ।

    यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।

    सत्ता गठबन्धनले कात्तिक ४ गते बिहान ११ बजे पोखरा, त्यही दिन दिउँसो २ बजे बुटवल, कात्तिक ५ गते दिउँसो ११ बजे विराटनगर, त्यही दिन दिउँसो २ बजे जनकपुर, कात्तिक ६ गते बिहान ११ बजे धनगढी, कात्तिक ६ गते दिउँसो २ बजे सुर्खेत र कात्तिक ७ गते बिहान काठमाडौंमा भेला गर्ने भएको छ ।

  • ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

    ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

    काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले एमाले नछाड्ने घोषणा गरेका छन् । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न पार्टीको क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिएनन् । उनीजस्तै टिकट नपाएका घनश्याम भुसालले एमाले छाडेसँगै भीम रावलप्रति समेत धेरैको चासो थियो । तर, रावलले भने एमाले नछाड्ने घोषणा गरेका छन् ।

    अछाम १ बाट तीन पटक सांसद निर्वाचित भइसकेका उनी प्रभावशाली नेता मानिन्छन् । माओवादी केन्द्र छोडेर आएका झपट बोहोरा उनको स्थानमा उम्मदेवार बनेका छन् । एमाले नछाडे पनि रावले बोहोराको पक्षमा खुल्छन वा खुल्दैनन् भन्ने निश्चित छैन । रावलले टिकट नपाएको र एमालेको टिकट वितरण पद्धतिबारे आएका प्रश्नमा म गहन अध्ययन गरिरहेको छु, उचित समय आएपछि बोल्नेछु भनेका थिए ।

    रावलले बिहीबार पत्रकार सम्मेलन आयोजना गरे। जसमा उनले अध्यक्ष ओलीमाथि कडा आलोचना गरे । पत्रकार सम्मेलनका लागि उनले पाँच हजार शब्दको वक्तव्य तयार पारेका छन् । जसको सारमा उनले भनेका छन्, ‘टिकट वितरण प्रणाली स्वेच्छाचारी र अन्यायपूर्ण छ।’ आफू पनि त्यसैको शिकार भएको उनको भनाई छ । एमालेमा विवाद हुँदा समाधानको प्रयास गर्ने १० बुँदे पक्षधरलाई प्रतिशोध साँध्नकै निम्ति अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कुनै योगदान नभएकालाई टिकट दिएको उनको भनाई छ ।

    पार्टीभित्र विधि र पद्धतिको वकालत गर्नेहरूलाई षडयन्त्रपूर्वक नेतृत्वले पाखा लगाएको उनले आरोप लगाए । एमाले अध्यक्ष ओलीले निकटहरूसँग १० बुँदे पक्षधरले पार्टीको अनुशासन उल्लंघन गरेकाले आत्मालोचना गर्नुपर्ने बताउँदै आएका थिए। पार्टीभित्र अनुशासनका कुरा गर्ने अध्यक्ष ओलीलाई नै रावलले प्रश्न गरेका छन्, ‘होली वाइनका प्रवर्द्धक एकनाथ ढकालले समानुपातिकको टिकट पाउने, एमालेका कार्यकर्तामाथि दमन गर्ने र पार्टीले प्रतिक्रियावादी भनेको व्यक्तिलाई मकवानपुरमा चुनाव चिन्ह दिने, एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने काम कुन विधि, अनुशासन र पद्धतिभित्र पर्छ ?’

    अछाम(१ मा अन्तरघात गरेर आफूलाई हराउन नसकिने निष्कर्षमा पुगेपछि ओलीले टिकट नदिएको रावलको दाबी छ। क्षेत्र र जिल्लाबाट सर्वसम्मत सिफारिस हुँदासमेत आफूलाई टिकट नदिनुले अछाम जिल्ला कमिटीको अपमानका साथै पार्टीको हित र एकतामा आघात पुर्‍याएको रावललको जिकिर छ।

    ‘एमालेमा कुनै योगदान नगरेको र सिफारिसमै नपरेको व्यक्तिलाई अघि सार्ने अध्यक्ष केपी ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छारी, अन्यायपूर्ण र गलत छ। यस्तो निर्णयले पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको अपमान भएको छ र पार्टीको हित र एकतामा आघात पुर्‍याएको छ।’

  • जसपाका मन्त्री हटाइए

    जसपाका मन्त्री हटाइए

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएका छन् । सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि सपाका चार जना मन्त्रीको पद समेत गुमेको हो । जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।

    राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेकी छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि आफूहरूले सत्ता गठबन्धन छोडे पनि सरकार नछोड्ने बताएका थिए ।

  • नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए

    नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत नेपाल आए

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आएका हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।

    ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेनसमेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउनुहुनेछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ।’

    राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए । थम्पसन यसअघि अमेरिकाका लागि दक्षिण तथा मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवको जिम्मेवारीमा थिए । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई थियो ।

    थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

  • युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान

    युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालको मतदान

    काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा नेपालले मतदात गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरे । नेपालले यस प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।

    उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।